बैंकहरुले एकल अंकको स्थिर ब्याजदरमा घर कर्जाको स्किम ल्याउँदा समेत त्यस क्षेत्रमा जाने कर्जा भने सुस्त नै देखिएको छ। पछिल्लो दुई महिनामा यस क्षेत्रमा जाने कर्जा ०.५९ प्रतिशतले बढेको छ।
Tata
GBIME
Zonsen
यस अवधिमा वाणिज्य बैंकहरुबाट व्यक्तिगत आवासीय कर्जा पछिल्लो २ महिनामा १ अर्ब ८७ करोड रुपैयाँ मात्र प्रवाह भएको छ। वाणिज्य बैंकहरुबाट २०८१ असार मसान्तसम्म व्यक्तिगत आवासीय क्षेत्रमा ३ खर्ब १६ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा भदौ मसान्तमा आइपुग्दा ३ खर्ब १७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
असार मसान्तको तुलनामा भदौमा वाणिज्य बैंकहरुबाट व्यक्तिगत आवासीय कर्जा ०.५१ प्रतिशतले मात्र बढेको तथ्यांकले देखाउँछ।
नेपाल राष्ट्र बैंकले साउन दोस्रो साता ऋण प्रवाहमा लचकता अपनाएको थियो।यद्यपि, २० मध्ये ९ बैंकको कर्जा घट्न पुगेको छ।
राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरि कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरे पनि त्यसको प्रभाव देखिन सकेन।
अधिकांश बैंकहरुले स्थिर ब्याजदरमा एकल अंकको कर्जा स्किम सार्वजनिक गरेका छन्। नबिल बैंकले ७ वर्ष अवधिका लागि नबिल ढुक्क घर कर्जा ७.९९ प्रतिशत व्याजदरमा ल्याएको छ। तर, बैंकले साउन महिनामा व्यक्तिगत आवासीय कर्जा जम्मा २१ करोड ९ लाख रुपैयाँ विस्तार गरेको छ।
कुनै व्यक्तिले ८ प्रतिशत स्थिर ब्याजदरमा १० वर्षका लागि २० लाख रुपैयाँ घर कर्जा लिए मासिक ३० हजार रुपैयाँ किस्ता तिरे पुग्छ। मासिक ५० हजार रुपैयाँ आम्दानी हुनेले २५ देखि ३० लाखसम्म घर कर्जा पाउँछ। त्योभन्दा बढी कर्जा लिन आम्दानी पनि बढी चाहिन्छ।
बैंकहरुले ल्याएको स्किम घर बनाउन चाहनेहरुका लागि अहिलेसम्मकै आकर्षक हो। तर, बैंकहरुले ७ र ८ प्रतिशत स्थिर ब्याजदरका स्किम ल्याउँदा समेत यस क्षेत्रमा अपेक्षाजनकरुपमा कर्जा बढ्न सकेको छैन।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ तिलकराज पाण्डे स्थिर ब्याजदरका स्किम ल्याउँदा समेत कर्जा अपेक्षाजनकको माग नदेखिएको बताउँछन्।
‘पर्याप्त तरलताका कारण बैंकहरुले सस्तो ब्याजदरमा घर कर्जाको स्किम ल्याएका छन्। आकर्षक स्किम ल्याउँदा समेत कर्जा प्रवाह भने सुस्त देखिएको छ,’ पाण्डेले भने।
नेपाल बैंकले ७.३ प्रतिशत व्याजदरमा घर कर्जाको स्किम ल्याउँदा पछिल्लो दुइ महिनामा यो क्षेत्रमा जम्मा ४८ करोड ६ लाख ऋण प्रवाह भएको छ।
प्रभु बैंकका डेपुटी सीइओ मणिराज पोखरेल केन्द्रीय बैंकले घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गर्दासमेत कर्जा भने सुस्त रहेको बताउँछन्। उनका अनुसार घरजग्गाको कारोबार बढ़न नसक्दा नयाँ घर बनाउने क्रम नै सुस्त देखिएको हो।
‘घरजग्गाको कारोबार नै निकै सुस्त छ अनि कसरी ऋण जानु? ऋणको माग हुन त कारोबार हुनुपर्यो नि,’ उनले भने, ‘सस्तो ब्याजदरसहित केही वर्ष परिवर्तन नहुने स्किम ल्याउँदा पनि ऋणको माग नहुनुले अर्थतन्त्रमा समस्या कायमै छ भन्ने देखाउँछ।’
प्रभु बैंकको व्यक्तिगत आवासीय कर्जा असारको तुलनामा साउनमा १.२२ प्रतिशतले घटेको छ।
पछिल्लो दुई महिनामा बैंकहरुले प्रवाह गरेको कर्जाको विवरण नआए पनि घरजग्गा कारोबार निकै सुस्ताउन पुगेको छ। साउनको तुलनामा भदौमा घरजग्गा कारोबार २५ प्रतिशतले ओरालो लागेको छ। यसले कर्जाको माग बढ्नुको साटो घटेको देखाउँछ। व्यक्तिगत आवासीय कर्जा बढे त्यसले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्छ।
छड, सिमेन्ट, डेंट, गिटी बालुवा लगायत निर्माण सामग्री खपत हुँदा एकातिर उत्पादनमूलक उद्योग भाइब्रेन्ट हुन्छन् भने अर्कातिर रोजगारी पनि बढ्छ। यस्तै ढुवानीका साधनले पनि काम पाउँछन्।
अहिले घर बनाउन चाहनेका लागि निर्माण सामग्रीको मूल्य समेत घटेको अवस्था छ। तर, राष्ट्र बैंकको लचिलो नीति र बैंकहरुको आकर्षक स्किमका बाबजुद कर्जा सुस्त हुनुले बजार शिथिलताको अवस्थाबाट उठ्न नसकेको देखाउँछ।