ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको छ । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा आह्वान गरेको हो । उक्त सभा मंसिर २७ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर र सोही हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण र सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई लघुवित्तको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
यसैगरी चालु आवको लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षकको नियुक्ती गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तीको प्रस्ताव पारित गरिनेछ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।