जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्ण पाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,

– आज सिङ्गो मानवजाति कोभिड-१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सङ्क्रमितहरु निको भएर घर फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु । हाम्रो पुस्ताले भोगेको सर्वाधिक गंभीर चुनौतीमध्येको यस महामारी विरुद्ध कठिन लडाइँमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछु ।

– नेपाल पनि कोरोना विरुद्धको लडाइँमा होमिएको छ। देशमा सङ्क्रमणको पहिलो केस पहिचान भएदेखि यता तपाई हाम्रो साझा प्रयत्नले संक्रमितहरुको संख्या ९ जनामा मात्र सीमित गर्न सकिएता पनि हामी उच्च जोखिममा छौं।

– दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाइँहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु । दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नु पर्ने श्रमिकहरु सर्वाधिक मर्कामा हुनुहुन्छ । धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्नु परेको छ । विद्यार्थीहरुको पढाइ छुटेको छ । जेलमा यन्त्रणापूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु ।

– तर नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने तपाइँहरु सबैलाई थाहा छ । लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयाशमा ठूलो सहयोग पुगेको छ । तर समस्या अझै यथावत छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदैछ । त्यसैले आजबाट थप ८ दिनको लागि लकडाउनको अवधि बढाउन हामी वाध्य भएका छौं । सबै कठिनाइहरु झेलेर यस अभियानमा पूर्ण साथ दिनु हुने तपाइँहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्यता र सहयोगका लागि अनुरोध गर्दछु ।

– सीमित पूर्वाधार, स्वास्थ्यसामग्री तथा उपकरणका बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रीम मोर्चामा संलग्न सबै राष्ट्रसेवकहरुले देखाउनु भएको कर्तव्यपरायणता सराहनीय छ । हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरु दिउँसोको चर्को घाम होस् या रातिको अँध्यारो, निरन्तर सेवामा खटिइरहनु भएको छ । मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव एवं कतिपय अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरुले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपाई हामीलाई यस महामारी बिरुद्ध लड्न थप हौसला मिलेको छ ।

– यस्ता सङ्कटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरुको भूमिका कति प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट देखिएको छ । म आ–आफ्नो तहमा सङ्क्रमण फैलिन नदिन र विपन्न परिवारहरुलाई राहत पुर्‍याउन अहोरात्र खटिरहनु भएका जनप्रतिनिधिहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । यस क्रममा स्थानीय समुदायहरु र सामाजिक सङ्घसंस्थाहरुको क्रियाशीलता पनि उल्लेखनीय रहेको छ ।

– बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एकजनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौं । यसले थप सजगता र सावधानीको माग गरेको छ । महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको छ ।

– कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समग्र कामको अगुवाइ गरिरहेको छ । यसका अतिरिक्त, आम जनसमुदाय, राजनीतिककर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरुको संयुक्त ‘कमाण्ड’को रुपमा ‘कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)’ स्थापना गरिएको छ । यसले युद्धस्तरमा कामको समन्वय, निर्देशन र सम्पादन गर्छ । पहिचान गर्ने, परीक्षण गर्ने र उपचार गर्ने सबै कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्न यसका ४ संरचना (अप्स) खडा गरिएको छ । बिरामी ओसारपसार (पिआरटी) को उपयुक्त व्यवस्था गरिएको छ ।

– सिसिएमसी, हामी सबैको साझेदारीमा सञ्चालन हुने संरचना हो । .मुख्यमन्त्रीको संयोजनमा प्रदेश तहमा र स्थानीय तहको वडास्तरसम्मै यस संरचनाको सञ्जाल निर्माण गरिएको छ । स्थानीय तहका वडास्तरसम्म वडा अध्यक्षको संयोजनमा हुने संयन्त्रले आप्mनो वडामा सरकारद्वारा घोषित राहत वितरण गर्नेछ । बिरामी छन्÷छैनन्, औषधि–उपचार पाए÷पाएनन्,  बेरोजगार विपन्नहरुले खान पाए÷पाएनन् त्यसको अनुगमन तथा व्यवस्थापन समेत गर्ने छ ।

– मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको छ । ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा हुनुहुन्छ । ३ हजार २ सय ५९ क्षमताको आइसोलेशन वेड तयार गरिएको छ, हाल त्यहाँ ९५ जना उपचारत हुनुहुन्छ । सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ ।

– यस अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरिएको छ ।  हिजोसम्म १ हजार ८ सय ९०  जनाको परीक्षण गरिसकिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण (र्‍यापिड डिटेक्सन टेस्ट-आरडिटी) विधिमार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको छ । सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको छ । भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ ।

दाजुभाइ दिदीबैनीहरु !
– यसबीच हजारौँको संख्यामा नेपालीहरु घर फर्किनु भएको छ । उहाँहरुमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ । उहाँहरुलाई पुनः आग्रह छ-स्वघोषणा गरेर जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा जानुहोस् । तपाइँहरुको लापर्बाही स्वयं तपाइँको परिवार र सिङ्गो समुदायका लागि निकै महङ्गो पर्न सक्छ ।

– नेपालमा लकडाउन सुरु भएपछि नेपाल-भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले  भोग्नु परेको अप्ठेरो र उहाँहरुको भावनालाई हामीले बुझेका छौँ । तर सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ । भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि रहनु भएका २ हजार १ सय ४७ नेपालीहरुलाई उतै क्वारेण्टाइनमा राखिएको छ । सीमाको वारीपट्टि रहेका करिब ७००  भारतीय नागरिकहरुलाई हामीले क्वारेण्टाइनमा राखेका छौं । लकडाउनलाई प्रभावकारी बनाउन र संभावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो भन्ने सबै देशबासीले महसुस गर्नु नै भएको छ । निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरुलाई देशभित्र भित्र्याइने छ ।

– विश्वव्यापी रुपमा सङ्क्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरुमा पनि सङ्क्रमण देखा परेको छ । केहीको दुःखद निधन समेत भएको छ । लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ । सङ्कटको यस घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव उहाँहरुप्रति छ । हाम्रा दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्यामा समाधानमा क्रियाशील छन् । गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन् । विदेशमा रहेका नेपालीहरुको स्थितिका बारेमा सम्माननीय राष्ट्रपतिज्यू स्वयंले नेपाली दूतावासहरु मार्फत जानकारी लिनु भएको छ । नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसंग मैले टेलिफोन संवाद सुरु गरेको छु । परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ । मेरो आग्रह छ- सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ । सङ्कटका काला बादल अवश्य हटेर जानेछन् ।

– विश्वव्यापी महामारी विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य र समन्वयको खाँचो छ । विश्वव्यापी  सङ्कटको घडीमा आफ्नो सरहदभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारहरुको हो । नेपालले सीमित साधनस्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकहरुको सक्दो हेरचाह गरिरहेको छ । हाम्रो विश्वास छ– असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरुबाट माया र संरक्षण पाउने छन् ।

– आउने २ साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुने छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिने छ । यसै हप्ताबाट प्रयोगमा ल्याइएको र्‍यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास गरेका छौँ । यस परीक्षण मार्फत् संभावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए÷नभएको सुनिश्चित गरिनेछ । समुदाय स्तरको परीक्षणको लागि उच्चस्तरीय निर्देशक समिति र सिसिएमसीले संभावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको छ । थप सुनिश्चितताको लागि क्वारेण्टाइनमा तोकिएको अवधि पूरा गरेकाहरुको समेत परीक्षण गरिने छ । यसका लागि यहाँहरुको पूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।

– महामारीको बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नु नपरोस् भनेर सरकारले स्थानीय तहहरुको संयोजनमा राहत वितरण गरिरहेको छ ।

– अर्थतन्त्रलाई गतिशील राख्न आवश्यक सुरक्षाविधि सुनिश्चित गरी कतिपय मेगा प्रोजेक्टहरुको निर्माण जारी राखिएको छ । सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरिरहेको छ ।

– म विश्वास दिलाउन चाहन्छु- सङ्कटको बेलामा पनि र सङ्कटपछि पनि सरकार तपाइँहरुसँगै रहेर नेपालको आर्थिक विकासलाई गति दिन क्रियाशील हुनेछ ।

दिदीबहिनी तथा दाजुभाईहरु !

– महामारी बिरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ हो भन्ने हामीलाई थाहा छ । आजसम्मको तपाईहरुको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको छ । अबको लडाईँको जीत, तपाईहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ । तपाईहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ । यसैलाई ध्यानमा राखी उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ । राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ । आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था सहित सरकार, तपाईहरुको समग्र सुरक्षामा प्रतिवद्ध छ ।

– चिकित्सक टिमसँगै अग्रभागमा रही काम गरिरहेका सबै सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरु, राष्ट्रसेवक कर्मचारीहरु, ड्राइभर, हेल्पर, सफाई कर्मचारी लगायत कोरोना भाइरसका विरुद्धको उपचारमा संलग्न सबै श्रमिकहरुको भूमिका चिकित्सकीय टीमका सदस्य सरह नै महत्वपूर्ण हुने हुँदा सोही सरह भत्ता÷बीमा सहित सरकारले तपाईहरुको समग्र सुरक्षाको बन्दोवस्त गर्छ । यस अभियानमा परिचालन हुने समुदायमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेवीहरुलाई रु. १ हजार ५ सय भत्ताको थप व्यवस्था गरिएको छ ।

– गत चैत ७ गतेको सम्बोधनमा मैले यस महामारीसँग जुध्नका लागि हाम्रो आप्mनै व्यवहार र दैनिकीमा परिवर्तन गर्न आग्रह गरेको थिएँ । यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न भन्नेमा जोड दिन चाहन्छु । जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । यो हामी सबैको साझा लडाईं हो र समाजको हरेक सदस्य यस लडाईंमा आफैं एउता सिपाही हो भन्ने कुरा हामीले मनन गर्न सक्नु पर्दछ । यसो गरेर हामीले कोरोना भाइरसलाई परास्त गर्न सक्दछौं ।

दाजुभाइ दिदीबहिनीहरु !

– यस खालको महामारीसँग जुझ्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ । मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ  । विकसित, सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरुलाई समेत आच्छु आच्छु पारिरहेको यस महामारी विरुद्ध जुझ्न हाम्रो जस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्नु स्वाभाविकै हो ।  यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्तिमा परेको छ । मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्यसामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप-प्रत्यारोप समेत चलिरहेको छ ।

– नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र  सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ । सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र  प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ ।

समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।

– सरकार र जनताबीचको, राजनीतिक दलहरुबीचको, राज्य र समाजका सबै अङ्गहरुबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त हो । संसदको साझा सङ्कल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दल सहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरुको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई यस सन्दर्भमा मैले राष्ट्रिय शक्तिको रुपमा लिएको छु । आगामी दिनमा पनि यस्तो समझदारी र एकता निरन्तर रहने कुरामा म विश्वस्त छु ।

– सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौं भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ । मेरो आग्रह छ– मानव जातिलाई नै चुनौती दिइरहेको यस सङ्कटसँग जुझिरहेको बेला हाम्रो ध्यान यसै लडाइँमा एकाग्र गरौँ । अरु छलफल र कामहरु त स्थिति सामान्य बनेपछि गरौँला नै !

– स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र सरकारले गरेका निर्णयहरु जनसमक्ष पु¥याउन सञ्चारमाध्यमहरुले खेलेको भूमिका सराहनीय छ । मेरो आग्रह छ, सङ्कटको बेलामा आशावादको, सङ्कटमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सामूहिक आत्मविश्वासको र बलियो सामाजिक–राष्ट्रिय एकताको निर्माणका लागि सञ्चारमाध्यमहरुले अझ जिम्मेवार भूमिका खेल्नुहोस् ।

– म एकपटक फेरि दोहर्‍याउन चाहन्छु– विभिन्न मुलुकहरुको अनुभवले भनिरहेको छ, यस महामारी बिरुद्धको युद्धमा सामाजिक दूरी सबैभन्दा उपयुक्त हतियार हो । सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो । तसर्थः यस अवधिको लकडाउनलाई जतिसुकै कष्टकर भएपनि हरतरहले सफल पार्न हामी एक होऔं ।

– मानव जातिले इतिहासमा यस्ता धेरै महामारीमाथि विजय हासिल गर्दै आएको छ । नेपालले त समकालीन इतिहासमै धेरै अप्ठ्यारा चुनौतीहरुको सामना गरेको छ, विजय हासिल गरेको छ । ५ वर्ष अगाडिको विनाशकारी भूकम्प र पाँच वर्षमा भएको पुनर्निर्माणले नेपाली जनताको धैर्यता र साहसको नमूना प्रस्तुत गरेका छन् । पटक–पटक लड्नु, धुलो टक्टक्याउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानव जातिको स्वभाव हो, उसको अदम्य विशेषता हो । यही विशेषताकै बलमा हामीले यस सङ्कटमाथि विजय हासिल गर्ने छौं ।

– यस महामारी विरुद्ध हामीले समयमै चालेको कदमका कारण सयौंको जीवन जोगिएको छ । आउने केही हप्ता हामीले अलिकति साह्रो÷गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिन्छ । आउनु होस्, फेरि एकपल्ट ५ वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तै धैर्यता र साहस प्रदर्शित गरौँ ।

धन्यवाद ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्ण पाठ)

नवनियुक्त गभर्नर अधिकारीले सम्हाले कार्यभार

नवजनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज सपथ ग्रहण लिएका छन । सर्वाेच्च अदालतमा प्रधानन्यायधीश चालेन्द्र सम्सेर राणाले आफ्नो कार्यकक्षमा अधिकारीलाई सपथ खुवाएका हुन ।

कोरोना भाईरसका कारण सपथ ग्रहण कार्यक्रममा २५ जनाभन्दा बढि सहभागी नहुने जनाईएको छ । सपथ ग्रहण कार्यक्रममा उच्च पदस्थ कर्मचारीको मात्र सहभागतिा रहने छ ।

राष्ट्र बैंकको १७ आँै गभर्नरका रुपमा उनलाई सोमवारको मन्त्रीपरिषदले नियुक्त गरेको हो ।

नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलवार पदभार सम्हालेका छन । उनले सर्वाेच्च अदालतमा प्रधानन्यायधीश चोलेन्द्र सम्सेर राणाद्धारा नेपार राष्ट्र बैंकको गभर्नर पदको सपथ खाएपछि मंगलवार नै पदवहाली गरेका हुन । उनले ११ बजेर ३८ मिनेटमा कार्यभार सम्हालेका हुन ।

प्रोमोटर, शेयरधनी, ग्राहक र आम नेपालीको स्वास्थ्यको कुरा ठूलो हो, अरु पछि सोचौला

रमेश अर्यालय नेपालको बैंकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने नाम होइन आधा जीवन नै बैकिङ्ग क्षेत्रमा विताएका रमेश अर्याल नेपालको ८ अर्ब चुक्ता पुँजी भएको सबल र सक्षम बैंक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत छन् ।

अर्यालले एनसीसी बैंक सम्हाले पछि बैंकले विद्यमान चुनौती र अप्ठ्यारालाई पार गर्दै बैंकको पूँजी मात्र पु¥याएनन् । बैंकको काँचुली फेर्ने काम गरे भन्दा अब चाहि फरक पर्दैन । उनीकै नेतृत्वमा ४ वटा विकास बैंक मर्ज भएर एउटा सक्षम, सबल र अब्बल बैंक बन्यो एनसीसी बैंक ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको ठूलो एनसीसी बैंक लिमिटेडले सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको एनसीसी बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार गर्न केही शाखाहरु संचालन गरि नेपालभर सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ?

शाखा खुलेको मात्रै छ कि कारोबार छ । बैंकको कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । आगामी चैत्र महिनामा आउने बैंकहरुको वित्तिय विवरणमा कोरोना भाईरसले कस्तो असर गर्ने देखिन्छ र कारोना बिरुद्ध लड्ने राज्य कोषमा एनसीसी बैंकले के कस्तो राहत दिएको छ । यिनै र यस्ता विषयमा चर्चित बैंकर एवं एनसीसी बैंक लिमिटेडका सीइओ रमेश अर्यालसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० सीइओ सर देश लकडाउनमा छ, नेपालमा कोरोना भाईरसका केही लक्षण पनि देखा परेको छ । यो विषम अवस्थामा कस्तो सेवा दिनु भएको छ ?
एनसीसी बैंकले १२२ वटा शाखा सञ्जाल मध्ये ४०÷५० वटा शाखा खोली देशभरी ग्राहकलाई सेवा दिएको अवस्था छ । कारोबार घटेको छ । हामीले हाम्रो वेवसाईटमा स्टाफको नाम, नम्बर र शाखा खोल्ने सूचना दिएका छौं । अहिले एटिएम र मोबाइल बैकिङ्गबाटै कारोबार भएको अवस्था छ । कार्ड नभएका सूचना प्रविधिका एप नलिएका ग्राहकका लागि १० बजेदेखि १ बजेम्म शाखा खोली सेवा दिएका छौं ।

० करिब ५० शाखा खोली देशभरी सञ्चालन गरेको बताउनु भयो । यो महामारीको बेला कर्मचारीहरुको स्वास्थ्यका बारेमा कति सचेत हुनुहुन्छ नि ?
सचेत मात्रै छैन । सावधानीपूर्वक काम गरेका छौं । ल्याउने पु¥याउने देखि लिएर सुरक्षाका सबै उपायका बस्तु हामीले कर्मचरीलाई दिएक छौं । भीडभाड छैन । कारोबार कम छ तापनि अत्यावश्यक सेवा भित्र बैंक र वित्तिय क्षेत्र पर्न आएकोले सेवा दिने दायित्व हामी बैंकरको छ । यो विशम परिस्थितिमा हामीले कर्तव्य निष्ठाका साथ सेवा दिएको अवस्था छ ।

० यो विशम परिस्थितिमा बैंकसम्म पुगी काम गर्ने कर्मचरीहरुको लागि विमा लगायतका सहुलियतका प्याकेज ल्याएको हो र ?
यो अत्यन्तै आप्ठ्यारो र विशम परिस्थितिमा सबै कर्मचारी साथीहरुले पनि योगदान दिने हो । सुविधा लिने बेला पक्कै होइन । कर्मचरीको स्वास्थ्य ठूलो कुरा हो । त्यसबारे बैंक सचेत छ । चनाखो छ । यो बेला बैंकबाट भन्दा पनि एटिएम र मोबाइल बैंकिङ्गबाटै कारोबार हुने गरेकोले कम कर्मचरीले काममा पठाएको अवस्था छ ।

० कर्मचारीहरुलाई भोलि केही भैहाल्यो भने बैंकले कसरी लिन्छ त ?
यो बेला बैंक सबै कुरा गर्न तयार छ । हामीले लकडाउनको पैसा कटाएको छैन । उहाँहरुको स्वास्थ्यबारे बैंकले ख्याल गर्ने कुरामा दुई मत छैन ढुक्क भए हुन्छ ।

० कोरोना विरुद्ध लड्न राज्यको कोषमा एनसीसी बैंकको योगदान चाहि कस्तो छ नि ?
हामीले पनि राष्ट्रिय कोषमा ६५ लाख र ७ वटै प्रदेशमा ५/५ लाख गरि ३५ लाख दिएका छौं । सत्रै मिलाएर १ करोड पठाएका छौं । भूपेन्द्रजी हिजो आपत पर्दा हामीले राज्यलाई साथ दिएकै हौ । आज पनि दिने छौं । भोली पनि दिने हो । त्यसकारण हामी सबै मिलेर विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस बिरुद्ध लड्नु नै आजको पहिलो आवश्यकता हो ।

० सीइओ साब चैत्र मसान्तमा बैंकहरुको वित्तिय विवरण आउँदै छ । त्यसमा यो लामो लकडाउनले कस्तो असर पर्ला ?
भूपेन्द्रजी ग्राहक, प्रोमोटर, शेयरधनी र आम नेपालीहरुको स्वास्थ्यको ठूलो कुरा हो । यो बेला नाफा, नोक्सानको कुरा होइन । पहिला यो बुझ्नु जरुरी छ । त्यसपछि नाफा कमाउला नि । नाफा कमाउनु सकिन्छ । हिजो भुकम्प र नाकाबन्दी पछि पनि हामीले काम गरेर नाफा कमाएको इतिहास छन् । त्यसकारण जीवन रहे बैंक रहने हो ।

बैंक भए त नाफा कमाउने हो । त्यसकारण घरबाट सूचना प्रविधीका उपायहरुबाट मोवाइल बैंकिङ्ग, इन्टरनेट बैकिङ्गबाट कारोबार गर्न म आग्रह गर्दछु । एटिएमबाट औषधी र खाद्यन्नका सामान किन्ने पैसा झिक्नु उचित होला । बैंक आउने काम यो बेला गर्न उचित हुँदैन । घरमै बसी राज्यले दिएको निर्देश्न पालना गरौं र आफ्नो स्वास्थ्य प्रति सचेत र सजक बनौं ।

० कोरोना भाईरसका कारण भएको लामो लकडाउनबाट के पाठ सिक्न सकिन्छ ?
अत्यन्तै राम्रो प्रश्न सोच्नु भयो । हामी नेपालीले इतिहास पल्टाउने हो भने सबैकुरा देख्न पाएका थियो जस्तै नाकाबन्दी भूकम्प, राजनीतिका कुरा, समाज परिवर्तनका कुरा तर आज सोच्दै नसोचेको रोगसंग लड्नु परेको छ । यसैका कारण जीवनमा नदेखेको लकडाउनमा हामी छौं । यसको पालना जति राम्रो हुन्छ । यति नै हामी सुरक्षीत हुनेछौं ।

सरकारले समयमै लकडाउन गरेकाले हामी सुरक्षीत छौं । अहिले हाम्री भन्दा महान र शक्तिशाली राष्ट्रले पनि आपत खेपीरहेका छन् । सबै बन्द भए नाका देखि उडानसम्म यसले मानव जीवनमा कमी क्षती देखियो, अब औषधी उपचार र अस्पतालका भौतिक संरचनामा जोड दिनु पर्दछ । यसका लागि हामी बैंक र सबै बैंकर तयार छौं । हामी यहि समाजका मान्छे हौ । समाजमा हाम्रो दायित्व अझै बढेको छ । त्यसकारण जनता बचाउन, आफू र परिवार बचाउन राज्यसंगै हातेमालो गर्न बैंकिङ्ग उद्योग तयार छ नि ।

० फेरि लकडाउन बढेको छ । राज्यले ग्राहकहरुका लागि ल्याएको सहुलियतका योजना पर्याप्त छन् । यो बेला सीइओ साब ?
शुरुका दिनलाई त ठीक नै थियो । तर, अब चाहि अध्ययन गरेर अगाडी बढ्नु प¥यो नि । कुन क्षेत्रमा कस्तो असर परेको छ । त्यो पहिला अध्ययन गरिनु पर्दछ र पुनः राहतका कार्यक्रम ल्याउनु जरुरी छ ।

पर्यटन ठप्प छ । कर्जा लिएका ऋणीले किस्ता भुक्तानी गर्न सक्ने अवस्था नाजुक छ । घर धनीले घरभाडा छुट दिएपछि कर्जाका किस्ता आउने स्रोत बन्द हुने अवस्था होला । यी सबै विषयमा गम्भीर भएर चिसो दिमागले राष्ट्र बैंक, हामी बैंक र राज्य बसेर छलफल हुनु जरुरी पक्कै छ ।

० अहिले एटिएम चलेका छन् तर, पैसा नभएको कोरोना सुरक्षीत नभएको र साँझ परेपछि बन्द भएका गुनासो सुनिन्छ के यो सत्य हो ?
सबै झुट हो । एटिएम भनेकै कहिल्यै बन्द नहुने बस्तु हो । पहिलो कुरा दोस्रो कुरा पैसा सधै एटिएममा हुन्छ । यसको मनिटरिङ्ग बैंकहरुका केन्द्रीय अफिसबाट चौविसै घण्टा हुन्छ । तेस्रो कुरा सुरक्षाको छ । त्यहाँ पनि सुरक्षाको प्रबन्ध बैकहरुले मिलाएका छन् । एटिएमलाई पनि सेनिटाईजिङ्ग गरिएको छ । तापनि घरबाटै कारोबार गर्नु सुरक्षित रहुन हो । यो बिर्सनु पटक्कै भएन नि ।

० अर्थतत्रमा कोरोना भाईरसको असर कस्तो होला त ?
यसले अर्थतन्त्रका सबै क्षेत्र हान्ने निश्चित छ । अब अध्ययन गरी सहुलियतका राम्रा प्याकेज ल्याउनु जरुरी छ । हामीले थेगेकै हो । भूकम्प, नाकाबन्दी त्यसकारण धेरै आत्तिनु पर्ने अवस्था नआउला तर, विश्व बजारले चुनौति सामना गरेको बेला हामीलाई पनि छुने त पक्कै छ । अर्को कुरा जहाँ चुनौती छ । त्यहाँ अवसर पनि हुन्छन् । त्यो अवसरको पाठ सिक्दै अगाडी बढ्नु पर्दछ ।

० अन्त्यमा लाखौ ग्राहक, कर्मचरी, प्रोमोटर, शेयरधनी र जनतालाई केही भन्नु छ त ?
सबै भन्दा पहिला घर–परिवार होसियार भएर बसौ । रोगबाट टाढा बसौ । सूचना पालना गरौं । सबै स्वास्थ्यका कुरामा ध्यान दिउ ।
आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्रहरुमा भएको क्षतीको अध्ययन गरौं । त्यसकारण सरकारले गरेको लकडाउन पूर्णरुपमा पालना गरौं घरबाटै काम गरौं घरबाट वाहिर नजाउ ।

आफ्नो जीवनलाई बचाउने र अरुको जीवन बचाउ । साथै डब्लुएचओले भनेका सबैकुरा ध्यान दिएर पूरा गरौं । सोसल डिस्टेन्स पालना गरौं । मोबाइल बैकिङ्गबाट, इन्टरनेट बैकिङ्ग घरबाट कारोबार गरौं । राज्यले थप गरेको लकडाउन कठिन भए पनि पालना गरौं । यसले सबैको स्वास्थ्य सुरक्षीत हुनेछ ।

युएइका नागरिकसरह नेपालीले उपचार पाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ ।

विश्वभर कोरोना भाइरसको सङ्क्रमण भइरहेका बेला प्रधानमन्त्री ओलीले विदेशस्थित नेपालीहरुको अवस्थाबारे सम्बन्धित सरकारका प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग संवाद गर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सोमबार साँझ भएको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमानदार र परिश्रमी भएको बताउँदै उनीहरूले युएइको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

त्यहाँस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार युवराजबाट नेपालीहरूलाई युएइका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो । “विशिष्ट घडीमा युएइमा रहेका नेपालीहरूको हित र सुरक्षालाई उच्च महत्व दिई अभिभावकीय स्नेह र संरक्षकत्व प्रदान गर्नुभएकोमा प्रधानमन्त्री ओली र नेपालीहरूलाई युएइका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा युवराजप्रति आभार प्रकट गर्दछौं ।” राजदूत ढकालले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

नेपाल सरकारले पनि यहाँ रहेका विदेशी नागरिकलाई कोरोना भाइरस सङ्क्रमण भएमा आफ्ना नागरिकसरह उपचार र सुविधा दिने जनाउँदै आएको छ ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अपिल

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको सक्रमणबाट हजारौको मृत्यु  भैसकेको छ भने लाखौको संख्यामा  संक्रमित भएका छन् । विश्वव्यापी  यस भयाभह अवस्थामा नेपालमा पनि संक्रमण देखापरेको सन्दर्भमा थप संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सावधानी र सचेतना वारे संचार क्षेत्रको उत्तरदायित्वका सम्वन्धमा महासंघ  उपत्यका प्रदेश समिति कोभिड–१९ को जोखिम कारण उत्पन्न परिस्थितिमा पनि जनताको सूचना र समाचारको अधिकारलाइ अक्षुण्ण राख्दै आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील  प्रदेश समिति आवद्ध  र सवै सञ्चारकर्मीमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

“आफु बाँचौँ र अरूलाई पनि बचाऊ” भन्ने मन्त्रलाई आत्मसात् गर्दै मुलकमा देखिएको संक्रमणको चुनौती पूर्ण अवस्थामा  पनि आत्मविश्वास र मनोबल सहित  आफ्नो कर्म क्षेत्रमा निरन्तर  क्रियाशील हुुदै जनताको सूचना र समाचार प्राप्तिको हकलाइ  जिवन्त राख्न  पत्रकारिता जगतले  दृढ इच्छाशक्ति कायम राख्दै पेशागत आचारसंहिता पालना गरी खेलेको भूमिका आफैमा स्वागतयोग्य  रहेको छ ।

मुलुक लकडाउनको अवस्थामा रहेको संकट एवम् जोखिमपूर्ण स्थितिमा क्रियाशील सञ्चारकर्मी र सञ्चारमाध्यमको लागि विद्युत, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था,लकडाउन अवधिमा प्रकाशन आवद्ध पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी  पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन  भुक्तानी, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचार र जोखिम मोलेर कार्यक्षेत्रमा खटिने श्रमजीवि पत्रकारका लागि  स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री  सहित  तत्काल राहत प्याकेज घोषणा  गर्दै  सहजता प्रदान गर्न  किमार्थ विलम्न  नगर्न महासंघ उपत्यका प्रदेश समिति  सरकारको विशेष ध्यानकर्षण सहित जोडदार माग गर्दछ ।

साथै प्रदेश समितिआवद्ध एवम् सम्पूर्ण सञ्चारकर्मी साथीहरुलाई आफू सुरक्षित रही कोरोनाको संक्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी सचेतनामूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्वपूरा गर्दै सजग रहन समेत आव्हान गर्दछौं  ।

श्रीजन झा
महासचिव

मेगा बैंकद्वारा बागमती र कर्णाली प्रदेशलाई ५–५ लाख सहयोग

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारलाई सहयोग हस्तान्तरण जारी राखेको छ ।

कोरोना रोकथामका लागि प्रदेश सरकारलाई सहयोग मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले बागमती र कर्णाली प्रदेश सरकारलाई ५–५ लाख रुपैंया सहयोग गरेको हो । मेगा बैंक हेटौंडा शाखाका प्रबन्धक निरञ्जन देवकोटाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।

यसैगरी, मेगा बैंक वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ५ लाख रुपैंया सहयोग हस्तान्तरण गर्नुभयो ।

मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । सोही अनुसार, प्रदेश नम्बर १, २, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा यसअघि ५–५ लाख रुपैंया हस्तान्तरण गरिसकेको छ ।

नेपाल लाइफद्धारा कोरोना महामारी रोकथामकोषमा एक करोड

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसारको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. १ (एक) करोडको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले हस्तान्तरण गर्नुभयो ।

सोमबार सिंहदरवार स्थिति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले जनाउनु भयो । यस सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताउनु भयो ।

बैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय

सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि केशवप्रसाद भट्टराइ, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।

अधिकारी यसअघि पनि गभर्नरमा सिफारिसमा परेका थिए। उनीसँगै डा. चिरञ्जिबी नेपाल र गोपाल काफ्ले गभर्नरमा सिफारिस भएका थिए। तर नेपाललाई सरकारले गभर्नर बनाएको थियो।

नेपाल पाँच बर्षे कार्यकाल पुरा गरेर गत ५ गते अवकाश भइसकेका छन्। सरकारले गभर्नर नियुक्त गर्न सकिरहेको थिएन।

१८ गते अर्थमन्त्री डा. युवराज खतिवडाको समितिमा पुर्व गभर्नरका तर्फबाट विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरि बाँस्कोटालाई राखेर गभर्नर सिफारिस समिति बनाएको थियो।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्ने कानुनी ब्यवस्था छ। एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ। समितिले कुल तीन जनाको नाम सिफारिस गरेपछि सरकारले त्यसबाट एक जनालाई गभर्नर नियुक्त गर्नु पर्छ। त्यसै अनुसार महाप्रसाद अधिकारी गभर्नर नियुक्त भएका हुन्।

अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेसन’ मा सन् १९८९ मा स्नातक गरेका छन् भने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिएका छन्।

अधिकारी सन् २०१० को डिसेम्बरमा डेपुटी गभर्नर नियुक्त भएका थिए। त्यहाँ पाँच बर्ष काम गरेर अवकाश भएपछि लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।

उनीसँग ३० बर्ष केन्द्रीय बैंकमा काम गरेको अनुभव छ। त्यसबेला उनले केन्द्रीय बैंकको विभिन्न विभागमा बसेर काम गरेका थिए। उनले वित्तीय ब्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर उनले काम गरिसकेका छन्।

गभर्नरका लागि ३ जनाको नाम सिफारिस

अर्थमन्त्री ड. युवराज खतिवडाको संयोजकत्वमा गठित गठन भएको समितिले आगामी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ। सिफारिस समितिले डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको हो ।

अर्थन्त्रालय स्रोतका अनुसार, आजै गभर्नर नियुक्ति गर्नका लागि अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् । प्रधानमन्त्रीले रुचि देखाए आजै दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नर नियुक्त गर्नेछ ।

शिवाकोटी गत चैत ५ गतेदेखि कामु गभर्नरको जिम्मेवारीमा छन्। उनको पहलमा राष्ट्र बैंकले कोरोना भाइरसले समस्यामा परेका ऋणीलाई सहुलियत दिन प्याकेज ल्याएको थियो।

महाप्रसाद अधिकारी यसअघि पनि गभर्नरमा सिफारिस भयसकेका ब्यक्ति हुन्। उनी निवर्तमान गभर्नर डा. चिरञ्जिबी नेपालसँगै सिफारिसमा परेका थिए। तत्कालिन गभर्नर डा. युवराज खतिवडालाई सफल बनाउन अधिकारीको ठूलो हात छ। अधिकारीको पहलमा वित्तीय क्षेत्रमा थुप्रै सुधारहरु भएका छन्।

खनाल गत फागुनमा सचिवबाट अवकाश भएका हुन्। उनी अर्थसचिव हुँदा पदेन सदस्यका रुपमा राष्ट्र बैंक सञ्चालक समिति सदस्य पनि थिए।सिफारिसमा परेका खनाल अर्थमन्त्रालयका पूर्वसचिव हुन् ।

सिवकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर हुन् । सिवकोटी अहिले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा कार्यरत छन् ।अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् ।

नेपाल पत्रकार महासंघको अपिल

गोविन्द आचार्य, अध्यक्ष,नेपाल पत्रकार महासंघ

१) सर्वप्रथम विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको र नेपालमा उच्च जोखिमको चुनौति कायमै रहेको कोरोना संक्रमण नियन्त्रणका लागि अनेकौ कठिनाई र जोखिम मोलेर सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिक सामु पु¥याउने महत्वपूर्ण दायित्व बहन गर्दै आउनुभएका सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको उच्च प्रशंसा गर्न चाहन्छु । जस्तो सुकै असहजतामा पनि चुनौतिको सामना गर्ने र जोखिमपूर्ण क्षेत्रका अग्रभागमा रहेका सत्य तथ्य समाचार सामग्रीहरु निरन्तर प्रवाह गर्ने कार्यले पत्रकारिता समाजको सबैभन्दा धेरै बिश्वसनीय क्षेत्रको रुपमा रहँदै आएको तथ्य पुनः एक पटक उजागर हुन पुगेको छ । संकटपूर्ण अवस्थामा जिम्मेवारपूर्णढंगले पत्रकारिता गरिरहनुभएका सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा नेपाल पत्रकार महासंघ हार्दिक आभार प्रकट गर्न चाहन्छ ।

२) नेपालमा कोरोना संक्रमणले एउटा चरण पार गरेको छ । ‘लोकल ट्रान्समिसन’को अबस्था नेपालमा पनि देखिएको सरकारले जनाएको छ र अब यसको संक्रमण फैलन नदिनका लागि थप तयारी र नयाँ रणनीतिका साथ सरकार उभिएको छ । यो अवस्थामा पत्रकारहरु, जो अग्रपंक्तिका पात्रहरु हुन्, तिनीहरु अझ बढी गंभिर र सचेततापूर्वक प्रस्तुत हुन जरुरी छ । हाम्रो आफ्नो स्वास्थ्य सुरक्षा सबैभन्दा पहिलो र ठूलो बिषय हो । आफू सुरक्षित हुँदै समाज र देशभरका हरेक व्यक्तिलाई कसरी सुरक्षित हुने भन्ने सन्देश र सूचना प्रवाह गर्ने दायित्व नेपालका सबै संचार माध्यमको काधमा छ । यो महत्वपूर्ण दायित्व पूरा गर्न सिंगो सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति मातहतका सबै प्रदेश समिति, एशोसिएट संस्थाहरु, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्य साथीहरुमा हार्दिकताका साथ अपिल गर्दछ ।
यो चुनौति र संकटपूर्ण अवस्थामा अन्य समस्या र तमाम मतभेदहरुलाई थाति राखेर कोरोना सक्रमण नियन्त्रणका लागि एउटै मिसनका साथ अघि बढ्न तीन वटै तहका सरकार, राज्यका सवै निकाय, सबै राजनीतिक दल, नागरिक संघ संस्था , पेशाकर्मी, व्यवसायीलगायत सबैमा महासंघ आह्वान गर्न चाहन्छ ।

३) यो जोखिमको समयमा पत्रकार सुरक्षा र संचारमाध्यमको नियमितता एवम् प्रभावकारिताका लागि आबश्यक सामग्रीहरुको उपलब्धताका साथै राहत प्याकेज ल्याउन महासंघ सरकारको ध्यानाकर्षण गराउदछ । यो अबस्थामा फिल्डमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परिक्षण, विमा, पत्रकारले प्रयोग गर्ने संचार साधनमा सहुलियत, लकडाउनले असर गरेका पत्रकारहरुका लागि आबश्यक सामाग्रीको उपलब्धता, अप्ठ्यारामा परेका पत्रकाहरुलाई आर्थिक राहतलगायतका बिषयहरु समेटेर प्याकेजमै पत्रकारहरुको आत्मवल बढाउनका लागि राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी देखिएको छ । यसैगरी जटिल अवस्थामा पनि अनेकौ समस्यासँग जुधेर आफूलाई निरन्तरता दिइ जोखिम मोलेर सूचना तथा समाचार सामग्री प्रवाह गरिरहेका सञ्चारमाध्यमको हकमा पनि प्याकेज मै योजना बनाएर प्रोत्साहन गर्न तथा सबै सञ्चार माध्यमवाट कोरोना सक्रमण हुन नदिन जनचेतनामूलक सन्देश र सूचना प्रवाहका लागि सहकार्य गर्न महासंघ सरकारसँग आग्रह गर्दछ ।

सरकार र सञ्चारबीच सहकार्य गरी यो बेलामा आवश्यक सूचना, सचेतनाका साथै होम क्वारेन्टाइनमा बसेका बिद्यार्थीका लागि आबश्यक सामग्रीहरुको उत्पादन र प्रसारण गर्ने तर्फ योजना निर्माण गर्न पनि अत्याबश्यक देखिएको छ । यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउँदछु

४) नेपाल पत्रकार महासंघ नेपालका सबै पत्रकारहरुको साझा संस्था हो । यो संस्थाको बिशिष्ट चरित्रलाई हामीले चुनौतिपूर्ण समयमा प्रदर्शित पनि गर्दै आएका छौं । जस्तो जुकै संकट र चुनौतिका बीचमा पनि नेपालको संविधानको प्रस्तावनामै रहेको पूर्ण प्रेस स्वतनत्रताको सम्मान र पालना हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । यो बेला पनि हामीले आफ्नो दायित्व र जिम्मेवारी निभाइरहँदा निगरानी र खबरदारी गर्ने हाम्रो भूमिकालाई पूरा गरिरहेका छौं । महासंघ स्वतन्त्र र निर्भिक पत्रकारिताका लागि आबश्यक वातावरण निर्माण गर्न सरकारलगायत समाजका हरेक वर्ग र समुदायसँग अपिल गर्दछ ।

५) नेपाल पत्रकार महासंघले विगतदेखि विभिन्न मुद्दाहरु उठाउदै आएको छ्, जुन मुद्दाहरुप्रतिको हाम्रो निरन्तरको लडाईं जारी छ । त्यसैगरी हाम्रा सांगठनिक जीवनका केही महत्वपूर्ण दायित्व पनि निर्वाह गर्नुछ । संसोधित बिधानलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनका लागि पनि अझै हामिले धेरै काम गर्न बाँकी छन् । महासंघको काम, कारवाही र नेतृत्वसँंगका गुनासा, आलोचना वा अपेक्षाहरुलाई हामीले सधै स्वागत गर्दै आइरहेका छौ । यस्ता सवालहरु निरन्तर रुपमा प्रकट भइरहने तथा उपर्युक्त समयमा निश्चित विधि र प्रक्रियावाट त्यसलाई सम्बोधन गरिने परम्परा पनि छ । यतिबेला हाम्रा यी सबै सवालहरुलाई स्मरण र संस्थागत रुपमा संग्रहित गर्दै यो कोरोनाको भयावह अबस्थामा कोरोना संक्रमणको नियन्त्रणका लागि सिंगो सञ्चार क्षेत्र एकताबद्ध भई भूमिका खेल्न र आफ्नो सुरक्षामा बिशेष साबधानी अपनाउन सबैमा नेपाल पत्रकार महासंघकातर्फवाट हार्दिक अपिल गर्दछु ।

अन्त्यमा,
६) पत्रकारिताको सबैभन्दा ठूलो क्षमताका रुपमा अफवाह नियन्त्रण गर्ने क्षमतालाई पनि लिने गरिन्छ । यतिबेला फैलने कुनै पनि अफवाहले कोरोना सक्रमण भन्दा झनै ठूलो भयावह अबस्था सिर्जना गर्न सक्दछ । त्यसैले अफवाह फैलन नदिन तथा कसैले अफवाह फैलाएमा त्यसलाई तत्काल रोक्नका लागि र पुष्टि भएका एवम् तथ्यमा आधारित समाचार सामग्री मात्र प्रवाह गरेर कोरोना बिरुद्धको लडाईंमा योगदान पु¥याउनका लागि समस्तमा नेपाल पत्रकार महासंघ हार्दिक अपिल गर्दछ ।
मितिः २०७६ चैत्र २४ गते

यो समय नाफा घाटाको होइन जीवन जिउने र जनता बचाउने बेला हो

सुरेन्द्र भण्डारी नेपाली बैकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने नाम पटक्कै होइन । बैकिङ्ग इतिहासमा ३ दर्शक विताएका भण्डारी मिडियामा देखा पर्न त्यति रुचादैनन् । कुमारी बैंक बनाएर सिद्धार्थ बैंक पुगेपछि फेरि भण्डारी कुमारी बैंकमा फर्किए पछि कुमारी बैंक साच्चै भन्नुपर्दा मजबुद र अब्बल बैंक बनेको छ भन्दा अब फरक पर्दैन ।

भण्डारीको नेतृत्वमा रहेको कुमारी बैंकले ल्याएका बीमा र डिपोजिटका प्रोडक्ट राम्रै बजार पाएको देखिन्छ । नेपालको धेरै शाखा, एटिएम र ग्राहक भएको कुमारी बैंकका सीइओ हुन सुरेन्द्र भण्डारी ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । चैत्र २५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको ठूलो कुमारी बैंक लिमिटेडले सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको कुमारी बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न केही शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ?

शाखा खुलेको मात्रै छ कि कारोबार छ । बैंकको कर्मचरीको अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र आगामी चैत्र महिनामा आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र कारोना बिरुद्ध लड्ने राज्य कोषमा कुमारी बैंकले के कस्तो राहत दिएको छ । यिनै र यस्ता विषयमा पुराना बैंकर एवं कुमारी बैंक लिमिटेडका सीइओ सुरेन्द्र भण्डारीसंग आर्थिक बजार डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० सीइओ साव यो विषम र अप्ठ्यारो अवस्थामा कुमारी बैंकले ग्राहकहरुलाई कस्तो सेवा दिएको अवस्था छ ?
हामीले केही लिमिट शाखा खोली सेवा दिएका छौं । प्रत्येक जिल्ला १/२ वटा शाखा सञ्चालन गरेको अवस्था चाहि छ । हाम्रो बैंकको डिजिटल बैकिङ्ग सुविधा छन् ।

यी सूचना प्रविधीबाटै ग्राहकहरुले डिजिटल बैकिङ्गका कारोबार ग्राहक वर्गले घरबाटै गर्नु भएको तथ्याङ्कले प्रस्ट पारेको छ । तपाईलाई थाहा छ । मोबाइल बैकिङ्ग ल्याउने नेपालकै पहिलो बैंक कुमारी बैंक हो । कारोबार कम छ । ग्राहकको संख्या छैन । अत्यावश्यक भित्र पर्ने राहतका सामाग्री खाद्यान्न, औषधीका एलसीका कारोबार पनि केही भएकै छन् । परिस्थिति अनुसार नै चल्नुप¥यो नि ।

० यो कोरोना भाईरसको महामारीमा पनि जीवनलाई जोखिममा राखी काम गरिरहेका कर्मचारीहरुको स्वास्थ्य अवस्था बारे कत्तिको चिन्तित रहनु भएको छ ?
राम्रो प्रश्न गर्नुभयो । यसबारेमा धेरै सोच विचार गरेका छौं । कर्मचारी र गार्डहरुलाई खानाको व्यवस्था बैंकलेनै गरेको छ । कर्मचारी भाईबहिनीहरुको स्वास्थ्य सबै भन्दा ठूलो कुरा हो । यसका लागि चाहिने सबै स्वास्थ्यका सामग्री उपलब्ध छन् । सिमित शाखा खोलेका कारण कम कर्मचारी काममा छन् । अरुले घरबाटै डिजिटल प्रविधि मार्फत काम गरेको अवस्था छ ।

० यस्तो महामारी भएका बेला शाखा खोली काम गर्ने कर्मचारीलाई के कस्ता सहुलियतका प्याकेज ल्याउनु भएको छ नि ?
भूपेन्द्रजी कर्मचारी साथीहरु बैंकका पुँजी हो । उहाँहरुको बारे हामी नेतृत्व चनाखो छौं । केही सहुलियतका जस्तै भत्ता दिने इन्स्योरेन्स फुल गरिदिने । महत्वपूर्ण कुरा बारे छलफल गर्दैछौं । केही दिनमै निर्णय गर्ने छौं नि ।

० राज्यले स्थापना गरेको कोरोना विरुद्ध लड्ने कोषमा चाहि कस्तो सहयोग दिनु भएको छ, सीइओ साब ?
हाम्रो कुमारी बैंकले राज्यलाई सहयोग गर्ने निर्णय गरेका छौं । हामीले ७ वटै प्रदेशमा १०/१० लाख दिइसकेको छौं । अब यसले नपुग्ने देखिन्छ । त्यसकारण सञ्चालक समितिको बैठक गरि थप राहत दिने निर्णय हामी चाडौं ल्याउने छौं ।

अर्को कुरा यो कति लम्बिने हो र नेपालमा कस्तो क्षती कुने हो त्यो हेरेर हामी अगाडी बढ्ने छौं । हामी जहिले पनि सरकारलै साथमा छौं । हामी यही समाजका परिवार हौं । परिवारले परिवारलाई सहयोग गर्नु हामी बैंक र बैंकरको पहिलो कर्तव्य हुन जान्छ नि ।

० राज्यले बैंकका ग्राहकहरुका लागि पहिलो चरणमा ल्याएका राहतका प्योकजलाई चाहि कसरी लिनु भएको छ ?
हामीले सकारात्मक रुपमा लिएका छौं । शुरुका लागि यो ठिक होला तर, परिस्थितिको अध्ययन पछि फेरि थप सुविधा ल्याउनु जरुरी देखिन्छ । यो बढेर गयो भने त अवस्था दर्दनाक हुन्छ त्यसबारे यसको रोकथाम गर्न हामी नेपाली समयमै सचेत र सजक बन्नु जरुरी मैले देखेको छु ।

० सीइओ साब बैंकहरुले चैत्र महिनामा आउने वित्तिय विवरणमा कोरोना भाईरसको असर पर्ला त ?
भूपेन्द्रजी राम्रो प्रश्न सोध्नु भयो । नआउने कुरौ भएन । तर यो समय नाफा घाटाको होइन जीवन जिउने र जनता बचाउने बेला हो । नाफा घाटा त आईरहन्छ, गइरहन्छ । तर, मानव जीवन नरहे बैंक किन चाहियो । त्यसकारण जीवन बचाउन परिवार सुरक्षीत रहनु र जनता सुरक्षित राख्ने दायित्व हामी सबै ३ करोड नेपालीकै हो नि ।

० कोरोना भाईरसको पूर्व तयारी नेपालीमा भएको देखिदैन । यसबाट कस्तो पाठ सिक्नु पर्ला त ?
समय र परिस्थितिले सिकाउने जाने परम्परा विश्वभरी र हामी कहाँ पनि छ । लकडाउन हामी कसैले देखेको र भोगेको थिएनौ तर, अहिले लकडाउन पालना गरेका छौं । सबैभन्दा पहिला देशबासीलाई राम्रो हुनुप¥यो । अनि त अरु कुरा हुने हो । स्वास्थ्य नै मुख्य कुरा हो भन्ने सोच्नु प¥यो र यसका लागि पूर्वाधार विकासमा जोड दिनु प¥यो । त्यसका लागि हामी बैंक तयार छौं ।

० एडीवीले विश्वको अर्थतन्त्र ५.४ प्रतिशतमा गिरावट भएको तथ्य हालै सार्वजनिक गरेको र यसले नेपालको बैकिङ्ग प्रणालीलाई चाहि कस्तो असर पर्ला त ?
यो भविष्यले देखाउदै जाने कुरा हो । यो कति समय लम्बिने हो । त्यसमा पनि भर पर्दछ । विश्वमा अर्थतन्त्र र देशकै अर्थतन्त्र नाजुक भएपछि बैंक र वित्तिय क्षेत्रको अवस्था कस्तो हुन्छ कल्पना गर्न गाह्रो छ ।

० अन्त्यमा बैंकका लाखौ ग्राहक र नेपाली जनतालाई केही भन्नु हुन्छ ।
सबै भन्दा पहिला घर–परिवार होसियार भएर बाँचौ । रोगबाट टाढा बसौ । सूचना पालना गरौं । सबै स्वास्थ्यका कुरामा ध्यान दिउ ।
आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्रको अध्ययन गरौं । त्यसकारण सरकारले गरेको लकडाउन पूर्णरुपमा पालना गरौं घरबाटै काम गरौं घरबाट वाहिर नजाउ । आफ्नो जीवनलाई बचाउने र अरुको जीवन बचाउ ।