जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

टेकुमा उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो ।

तर बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताए ।

चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालले दिएको जानकारीअनुसार उनीहरु दुवैको स्वास्थ्य अवस्था भने सामान्य छ ।

महालक्ष्मी विकास बैंकद्वारा महानगरिय प्रहरी कार्यालय रानीपोखरीलाई खाद्यान्न सामाग्री हस्तान्तरण

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गते देखि देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमीकहरुलाई राहत स्वरुप महालक्ष्मी विकास बैंकले रु. चार लाख बराबरको खाद्यान्न सामाग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको छ ।

उक्त खाद्यान्न बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गर्नु भएको थियो । बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने विश्वास बंैकले लिएको छ ।

बैंकले यस विषम परिश्थितिमा सम्पुर्ण जनतालाई घ रभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

राष्ट्र बैंकको कोरोना कोषमा १ करोड ५ लाख सहयोग

नेपाल राष्ट्र बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कायमुकाय गभर्नर चिन्तामणि शिवाकोटीको संयोजनामा बसेको बैंक व्यवस्थापन बैठकले यस्तो सहयोग गर्ने निर्णय गरेको हो । बैंकले अधिकृत स्तरभन्दा तल्लो तहका कर्मचारीको ६ दिन, सेकेण्ड र थर्ड क्लास अफिसरको ९ दिन र फ्रष्ट क्लासभन्दा माथिका कर्मचारीको १२ दिनको तलव सरकारले जम्मा गरेको कोषमा सहयोग गर्न लागिएको राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

‘राष्ट्र बैंक कोषबाट यस्ता कुनै पनि सहयोग गर्न पाइदैन,’ उनले भने ‘अप्ठ्यारो परिस्थितिमा यसरी सहयोग गर्ने गरिएको छ । हाल नेपाल राष्ट्र बैंकमा करिब एक हजार एक सय कर्मचारी छन् । कर्मचारीको स्तरअनुसारको तलव काट्दा हुन आउने एक करोड चार लाख ८२ हजार रुपैयाँ कोरोना कोषमा सहयोग गर्ने उनले बताए ।

कुमारी बैंकको राष्ट्रिय कोभिड नियन्त्रण कोषमा सहयोग

कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा योगदान पुर्याएको छ । प्रत्येक प्रदेशबाट रु १० लाखको दरले बैंकले कूल रु ७० लाखको सहयोग पुर्याउने भएको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले उक्त रकम सहयोग पु¥याएको हो ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा रू. १० लाखका दरले जम्मा हुने गरी कोरोना भाइरसको रोकथामका साथै न्यून आमदानी भएका अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो सहयोग रकम उपलब्ध गराएको हो ।

यही चैत्र १९ गते बुधबारका दिन केन्द्रिय प्रदेशका मूख्यमन्त्री श्री डोर मणि पौडेलज्यूलाई एक समारोहबीच बैंकका तर्फबाट हेटौडा शाखा प्रबन्धक श्री कृष्ण शर्माज्यूले सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

यसैगरी, बैंकको तर्फबाट प्रदेश नं ५ मा सोही प्रदेशका मूख्यमन्त्री श्री शंकर पौडेललाई बुटवलका शाखा प्रबन्धक सुदन खत्री र कर्णाली प्रदेशमा उक्त प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई सुर्खेतका शाखा प्रबन्धक हिमाल मुढभरीले सहयोग रकम हस्तान्तरण गर्नुभयो । बैंकको यस सहयोगप्रति सम्बन्धित सरकार प्रमुखहरुले धन्यवाद ज्ञापन गर्दै सरकार मात्र नभई हरेक नेपाली संघसंस्था एवं नागरिकको संयुक्त प्रयास र योगदानले मात्र उक्त महामारी एवं विपदको समयमै न्यूनीकरण एवं नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।

लक्ष्मी बैंक १९औं वर्षमा प्रवेश

लक्ष्मी बैंक स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । स्थापनकालदेखि नै आफ्ना ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएको बैंकले आगामी दिनमा पनि उक्त सेवालाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।

बैंकले आगामी दिनमा पनि ग्राहकहरुलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्न डिजिटल बैंकिङ्गलाई व्यापक एवं सुदृढ बनाउँदै लैजाने तथा नविनतम डिजिटल प्रोडक्ट सेवाहरु थप गर्ने जानकारी गराएको छ । साथै, बैंकले ग्राहकहरुमा आवश्यक ज्ञान र सचेतना बढाउन विशेष रुपले ‘डिजिटल सेवा प्रयोगको लागि साक्षरता अभियान’ संचालन गर्ने प्रतिवद्धता जनाएको छ ।

एनआईसी एशिया बैंकको घरैबाट निःशुल्क अनलाईन खात खोल्ने सकिने

बन्दाबन्दी (लकडाउन)का कारण सडकमा मानिसहरुको चहलपहल निकै पातलो छ । सधैं जाम भइरहने सडकहरु अहिले सुनसान छन् । सरकारले लकडाउनको समय चैत २५ सम्म थप गरी कडाइका साथ लागु गरिरहेको छ ।

विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सिर्जित यो विषम अवस्थामा आफ्नो बैंकिङ्ग आवश्यकता कसरी पूरा गरिरहनुभएको छ ? घर भित्रै बसेर भइरहेको कोरोनासँगको लडाइँमा सरकारलाई साथ दिन एनआईसी एशिया बैंकले घरैबाट निःशुल्क अनलाईन खात खोल्ने सुविधा दिएको छ ।

जसले गर्दा खाता खोल्न बैंकको शाखा सम्म पुग्ने समयको बचतसँगै ग्राहकहरुलाई सहज पनि भएको छ । एनआईसी एशिया बैंकका अनुसार निम्न ८ चरणमा घरबाटै निःशुल्क खाता खोल्न सकिनेछ ।

स्टेप १
निःशुल्क अनलाइन खाता खोल्नको लागि सबैभन्दा पहिले बैंकको आधिकारिक वेबसाइटमा जानुपर्छ । एनआईसी एशिया बैंकको आधिकारिक वेबसाइट एनआईसी एशिया बैंक डटकम जुनसुकै ब्राउजरबाट खोल्न सकिनेछ ।

स्टेप २
बैंकको वेबसाइट खुलिसकेपछि त्यहाँबाट बैङ्कको बारेमा विभिन्न जानकारी लिन सक्नुहुनेछ । तर, अनलाइन खाता खोल्नको लागि भने दोस्रो चरणमा वेबसाइटको दायाँ कुनामा रहेको ‘अप्लाई नाउ’ मा क्लिक गर्नुपर्छ। त्यसपछि आएका तीन विकल्पमध्ये अनलाइन अकाउन्ट ओपनिङ छान्नुहोस् ।

स्टेप ३
बैंकले दुबै मुद्दती खाता र बचत खाता अनलाइन खोल्न सकिने सुविधा दिएको छ । तपाईं कुन बचत खाता वा मुद्दती खाता कुन खोल्न चाहनुहुन्छ सोही खाता छनोट गर्नुहोस् ।

बचत खाता खोल्न चाहनुहुन्छ भने पनि त्यसभित्र तपाईंले न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यु सुपर चामत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यु सुपर चमत्कारिक बचत खाता, न्यु सुपर चामत्कारिक बाबुनानी बचत खाता र न्यु सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाताहरुमध्ये कुनै एउटा खाताको छनोट गर्नुपर्छ ।

खाताको बारेमा तथा खाताका अन्य विशेषताहरु जान्न मन लागेमा ‘भिउ डिटेल्स’ मा जान सक्नुहुनेछ । यसअघि नै आफूले खोल्ने खाताबारे तय भइसकेको छ भने तल रहेको अप्लाई अनलाइन मा क्लिक गर्न सकिने बैंकले जनाएको छ ।

स्टेप ४
त्यसपछिको चरणमा यसअघि बैंकमा खाता भए/नभएको पक्का गर्नुपर्छ। त्यसपछि तपाईंले ‘एसेप्ट द ट्रम एण्ड कन्डिसन अफ एनआइशी एशिया बैङ्कमा क्लिक गर्नुपर्नेछ ।

त्यसभन्दा मुनि अनलाइन खाता खोल्न आवश्यक कागजातहरुको बारेमा जानकारी राखिएको छ । नेपाली नागरिकको हकमा अनलाइन खाता खोल्नको लागि पीपी साइजको एउटा फोटो, नागरिकताको प्रमाणपत्रको फोटोकपी र विदेशी मुद्राको खाता खोल्दा भने विदेशी मुद्रा आम्दानीको स्रोत पनि देखाउनुपर्छ ।

विदेशी नागरिकको हकमा भने यस बाहेक भिसा मिति सहितको पासपोर्ट र एनआरएनको कार्ड पनि आवश्यक पर्छ ।

त्यसपछि

एनआईसी एशिया बैंकको शर्तहरुमा मञ्जुरी जनाइसकेपछि कम्प्यूटरमा एउटा फर्म देखापर्छ । उक्त फर्ममा आफ्नो नागरिकतामा भए बमोजिमको नाम, वतन, फोन नम्बर, जन्ममिति आदि भर्नुपर्ने हुन्छ ।

योसँगै फर्मको दायाँ भागमा रहेको सिल्भर, गोल्ड र डाइमण्डमध्ये कुनै एउटा खाता छनोट पनि गर्नुपर्छ । फर्ममा आवश्यक सबै तथ्य भरिसकेपछि अन्तमा रहेको प्रोसेसमा क्लिक गर्नुहोस् ।

अन्त्यमा

यसरी फर्ममा दिएको सूचना सबै सही छ भने खाता खुलेको जानकारी पाउन सकिन्छ । फर्ममा उल्लेख गरेको इमेल ठेगानामा खाता खुलेको आधिकारीकता दिने कोर्ड आउनेछ ।

यसरी घरैभित्र बसेर खाता खोल्दा बैङ्कसम्म पुग्ने समय लाग्ने समयको पनि बचत हुन्छ । त्यसपछि घरबाटै मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैङ्किङ जस्ता डिजिटल बैङ्किङको सुविधा समेत लिन सकिनेछ ।

यस कठिन परिस्थितिमा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले सबै विद्युतीय बैङ्किङ माध्यमबाट हुने अन्तर बैङ्क रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाइ टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गर्न सकिने सुविधा दिएको छ ।

यस बाहेक, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् ।

प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल-पेट्रोलको मूल्य

नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

साल्ट ट्रेडिङको मोबाइल भ्यान चिनी, तेल, गेडागुडी बोकेर मुख्य/मुख्य चोकमा

लकडाउनका बेला खाद्यान्न अभाव नहोस् भनेर सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले मोबाइल भ्यानबाट बिक्री वितरण सुरु गरेको छ।

साल्ट ट्रेडिङले नुन, चिनी, मैदा, दाल तथा गेडागुडी बिक्री सुरु गरेको हो। मोबाइल भ्यानबाट काठमाडौं, ललितपुर र भक्तपुरलगायतका ठाउँमा खाद्यान्न बिक्री सुरु गरिएको हो।

उपभोक्ताको माग अनुसार भ्यान पठाउने गरको साल्ट ट्रेडिङका सुचना अधिकृत कुमार राज भण्डारीले बताए।  वडाबाट माग आएपछि त्यही ठाउँमा खाद्यन लिएर भ्यान जाने गरेको उनले बताए।

एउटा मोबाइल भ्यानबाट दैनिक १५ हजारदेखि ३५ हजार रुपैयाँको  बिक्री हुने गरेको राजभण्डारीले बताए। हालसम्म भ्यानबाट तीन लाख ६५ हजार ८ सय ७५ रुपैयाँको व्यापार गरिसकेको उनले भने। काठमाडौं र नारायणघाटमा गरेर मासिक ९१ लाख ३२ हजार ८ सय दुई रुपैयाँको बिक्री भएको छ।

कालिमाटीमा रहेको साल्ट ट्रेडिङमा ग्राहकहरु किनमेलका लागि आइरहेका छन्। कोरोना भाइरसको सुरक्षा अपनाउँदै बिक्री वितरण गरिरहेका राजभण्डारीले जानकारी दिए। लक डाउनका कारण नुन, चिनीको माग बढिरहेका छ। खाद्यान्न र ग्यासको अभाव नहुने पनि उनले भने। जनशक्तिका कारण घुम्ती सेवाबाट समयमै खाद्यान्न पुर्याउन भने गाह्रो भइरहेको छ।

घुम्ती सेवाबाहेक साल्ट ट्रेडिङले कालिमाटी, सतुंगल र कोटेश्वरबाट आउटलेट राखी खाद्यान्न र ग्यासको बिक्री गर्दै आइरहेको छ।  हाल लकडाउनका समयमा  हुने चर्को मुल्यवृदि र खाद्यान्नबाट उपभोक्तालाई केहि राहत दिन  मोबाइल भ्यानबाट घुम्ति सेवा दिइरहेको उनले बताए।

३ वटा भ्यानले हरेक दिन फोनको आधारमा छुट्टाछुट्टै ठाउँहरुमा खाद्यान्न लिएर जाने गरेको छ। प्याकिङ गरिएका सामानहरु मात्रै मोबाइल भ्यानले बिक्री गर्दै आएको छ। हालको अबस्थालाई बुझेर एक व्यक्तिले  २ केजीसम्म किन्न मिल्ने व्यवस्था  गरिएको छ।

ग्यास र चामलको माग उच्च भएपनि भ्यानमा ठाउँ कम हुने भएकोले अन्य खाद्यान्न मात्र बिक्री गरिरहेको उनले बताए।

बुधबार उपत्यकाका सामाखुसी चोक, गोंगबु, टोखा, झिर टोखा, खुसिँबु, नयाँबजार, बालाजु, रिंगरोड, कुपण्डोल, सानेपा, गसिंगाल, पाटनलगायतका क्षेत्रहरमा खाद्यान्न बिक्री गरिरहेको छ।

राष्ट्रिय वाणिज्य बैंकले कोरोना रोकथाम कोषमा डेढ करोड

राष्ट्रिय वाणिज्य बैंकले  कोरोना भाइरस रोकथाम एवं नियन्त्रण कोषमा डेढ करोड सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम हालेको हो।

बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता १९६०००००११०१ मा सो रकम जम्मा गरिएको जनाएको छ।  लकडाउनमा समेत बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे जनाएको छ।

बैंकले असार मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतमा शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ।

सातैवटा प्रदेश सरकारद्धारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि रकम जम्मा गर्न बैंकको विभिन्न शाखा कार्यालयहरुमा खाता खोलेको बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रदेश १ सरकारले २१२०००५८८१०१, प्रदेश २ ले १२२०५०३०००००१, बागमती प्रदेशले १३००५०३०००००२, गण्डकी प्रदेशले ३०२०००१८८३०१, प्रदेश ५ ले ३१२०५०३०००३०१, कर्णाली प्रदेशले ४०८०५०३०००००० र सुदूर पश्चिम प्रदेशले ४१७०५०३०००००३ राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका छन्। ती खातामा सरकारी र गैरसरकारी संस्थाले रकम हाल्न सक्नेछन्।

विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ ।

स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।

त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्यायो ।

तर विना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भयो ।

विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरे । साथै ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको उनले बताए ।

श्रेष्ठकाअनुसार पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । यस्तै भोलि २ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्ने हो तर त्यसको सम्भावना देखिँदैन । यो कहिले ल्याउने भनेर प्रस्ताव पनि नगरेकाले सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालो सूचीमा राख्न आग्रह गर्ने निर्णय भएको श्रेष्ठले बताए ।

विभागले अब नयाँ खरिद प्रक्रिया सुरु गर्नेछ । तीन दिन मात्र समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने निर्णय भएको विभागका महानिर्देशक श्रेष्ठले बताएका छन् ।

उनले सस्तोमा सामान ल्याउन निवेदन दिन पनि सप्लायर्सहरुलाई आह्वान गरेका छन् ।