जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

महालक्ष्मी विकास बैंकद्वारा महानगरिय प्रहरी कार्यालय रानीपोखरीलाई खाद्यान्न सामाग्री हस्तान्तरण

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गते देखि देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमीकहरुलाई राहत स्वरुप महालक्ष्मी विकास बैंकले रु. चार लाख बराबरको खाद्यान्न सामाग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको छ ।

उक्त खाद्यान्न बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गर्नु भएको थियो । बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने विश्वास बंैकले लिएको छ ।

बैंकले यस विषम परिश्थितिमा सम्पुर्ण जनतालाई घ रभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

राष्ट्र बैंकको कोरोना कोषमा १ करोड ५ लाख सहयोग

नेपाल राष्ट्र बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कायमुकाय गभर्नर चिन्तामणि शिवाकोटीको संयोजनामा बसेको बैंक व्यवस्थापन बैठकले यस्तो सहयोग गर्ने निर्णय गरेको हो । बैंकले अधिकृत स्तरभन्दा तल्लो तहका कर्मचारीको ६ दिन, सेकेण्ड र थर्ड क्लास अफिसरको ९ दिन र फ्रष्ट क्लासभन्दा माथिका कर्मचारीको १२ दिनको तलव सरकारले जम्मा गरेको कोषमा सहयोग गर्न लागिएको राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

‘राष्ट्र बैंक कोषबाट यस्ता कुनै पनि सहयोग गर्न पाइदैन,’ उनले भने ‘अप्ठ्यारो परिस्थितिमा यसरी सहयोग गर्ने गरिएको छ । हाल नेपाल राष्ट्र बैंकमा करिब एक हजार एक सय कर्मचारी छन् । कर्मचारीको स्तरअनुसारको तलव काट्दा हुन आउने एक करोड चार लाख ८२ हजार रुपैयाँ कोरोना कोषमा सहयोग गर्ने उनले बताए ।

कुमारी बैंकको राष्ट्रिय कोभिड नियन्त्रण कोषमा सहयोग

कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा योगदान पुर्याएको छ । प्रत्येक प्रदेशबाट रु १० लाखको दरले बैंकले कूल रु ७० लाखको सहयोग पुर्याउने भएको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले उक्त रकम सहयोग पु¥याएको हो ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा रू. १० लाखका दरले जम्मा हुने गरी कोरोना भाइरसको रोकथामका साथै न्यून आमदानी भएका अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो सहयोग रकम उपलब्ध गराएको हो ।

यही चैत्र १९ गते बुधबारका दिन केन्द्रिय प्रदेशका मूख्यमन्त्री श्री डोर मणि पौडेलज्यूलाई एक समारोहबीच बैंकका तर्फबाट हेटौडा शाखा प्रबन्धक श्री कृष्ण शर्माज्यूले सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

यसैगरी, बैंकको तर्फबाट प्रदेश नं ५ मा सोही प्रदेशका मूख्यमन्त्री श्री शंकर पौडेललाई बुटवलका शाखा प्रबन्धक सुदन खत्री र कर्णाली प्रदेशमा उक्त प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई सुर्खेतका शाखा प्रबन्धक हिमाल मुढभरीले सहयोग रकम हस्तान्तरण गर्नुभयो । बैंकको यस सहयोगप्रति सम्बन्धित सरकार प्रमुखहरुले धन्यवाद ज्ञापन गर्दै सरकार मात्र नभई हरेक नेपाली संघसंस्था एवं नागरिकको संयुक्त प्रयास र योगदानले मात्र उक्त महामारी एवं विपदको समयमै न्यूनीकरण एवं नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।

लक्ष्मी बैंक १९औं वर्षमा प्रवेश

लक्ष्मी बैंक स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । स्थापनकालदेखि नै आफ्ना ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएको बैंकले आगामी दिनमा पनि उक्त सेवालाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।

बैंकले आगामी दिनमा पनि ग्राहकहरुलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्न डिजिटल बैंकिङ्गलाई व्यापक एवं सुदृढ बनाउँदै लैजाने तथा नविनतम डिजिटल प्रोडक्ट सेवाहरु थप गर्ने जानकारी गराएको छ । साथै, बैंकले ग्राहकहरुमा आवश्यक ज्ञान र सचेतना बढाउन विशेष रुपले ‘डिजिटल सेवा प्रयोगको लागि साक्षरता अभियान’ संचालन गर्ने प्रतिवद्धता जनाएको छ ।

एनआईसी एशिया बैंकको घरैबाट निःशुल्क अनलाईन खात खोल्ने सकिने

बन्दाबन्दी (लकडाउन)का कारण सडकमा मानिसहरुको चहलपहल निकै पातलो छ । सधैं जाम भइरहने सडकहरु अहिले सुनसान छन् । सरकारले लकडाउनको समय चैत २५ सम्म थप गरी कडाइका साथ लागु गरिरहेको छ ।

विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सिर्जित यो विषम अवस्थामा आफ्नो बैंकिङ्ग आवश्यकता कसरी पूरा गरिरहनुभएको छ ? घर भित्रै बसेर भइरहेको कोरोनासँगको लडाइँमा सरकारलाई साथ दिन एनआईसी एशिया बैंकले घरैबाट निःशुल्क अनलाईन खात खोल्ने सुविधा दिएको छ ।

जसले गर्दा खाता खोल्न बैंकको शाखा सम्म पुग्ने समयको बचतसँगै ग्राहकहरुलाई सहज पनि भएको छ । एनआईसी एशिया बैंकका अनुसार निम्न ८ चरणमा घरबाटै निःशुल्क खाता खोल्न सकिनेछ ।

स्टेप १
निःशुल्क अनलाइन खाता खोल्नको लागि सबैभन्दा पहिले बैंकको आधिकारिक वेबसाइटमा जानुपर्छ । एनआईसी एशिया बैंकको आधिकारिक वेबसाइट एनआईसी एशिया बैंक डटकम जुनसुकै ब्राउजरबाट खोल्न सकिनेछ ।

स्टेप २
बैंकको वेबसाइट खुलिसकेपछि त्यहाँबाट बैङ्कको बारेमा विभिन्न जानकारी लिन सक्नुहुनेछ । तर, अनलाइन खाता खोल्नको लागि भने दोस्रो चरणमा वेबसाइटको दायाँ कुनामा रहेको ‘अप्लाई नाउ’ मा क्लिक गर्नुपर्छ। त्यसपछि आएका तीन विकल्पमध्ये अनलाइन अकाउन्ट ओपनिङ छान्नुहोस् ।

स्टेप ३
बैंकले दुबै मुद्दती खाता र बचत खाता अनलाइन खोल्न सकिने सुविधा दिएको छ । तपाईं कुन बचत खाता वा मुद्दती खाता कुन खोल्न चाहनुहुन्छ सोही खाता छनोट गर्नुहोस् ।

बचत खाता खोल्न चाहनुहुन्छ भने पनि त्यसभित्र तपाईंले न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यु सुपर चामत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यु सुपर चमत्कारिक बचत खाता, न्यु सुपर चामत्कारिक बाबुनानी बचत खाता र न्यु सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाताहरुमध्ये कुनै एउटा खाताको छनोट गर्नुपर्छ ।

खाताको बारेमा तथा खाताका अन्य विशेषताहरु जान्न मन लागेमा ‘भिउ डिटेल्स’ मा जान सक्नुहुनेछ । यसअघि नै आफूले खोल्ने खाताबारे तय भइसकेको छ भने तल रहेको अप्लाई अनलाइन मा क्लिक गर्न सकिने बैंकले जनाएको छ ।

स्टेप ४
त्यसपछिको चरणमा यसअघि बैंकमा खाता भए/नभएको पक्का गर्नुपर्छ। त्यसपछि तपाईंले ‘एसेप्ट द ट्रम एण्ड कन्डिसन अफ एनआइशी एशिया बैङ्कमा क्लिक गर्नुपर्नेछ ।

त्यसभन्दा मुनि अनलाइन खाता खोल्न आवश्यक कागजातहरुको बारेमा जानकारी राखिएको छ । नेपाली नागरिकको हकमा अनलाइन खाता खोल्नको लागि पीपी साइजको एउटा फोटो, नागरिकताको प्रमाणपत्रको फोटोकपी र विदेशी मुद्राको खाता खोल्दा भने विदेशी मुद्रा आम्दानीको स्रोत पनि देखाउनुपर्छ ।

विदेशी नागरिकको हकमा भने यस बाहेक भिसा मिति सहितको पासपोर्ट र एनआरएनको कार्ड पनि आवश्यक पर्छ ।

त्यसपछि

एनआईसी एशिया बैंकको शर्तहरुमा मञ्जुरी जनाइसकेपछि कम्प्यूटरमा एउटा फर्म देखापर्छ । उक्त फर्ममा आफ्नो नागरिकतामा भए बमोजिमको नाम, वतन, फोन नम्बर, जन्ममिति आदि भर्नुपर्ने हुन्छ ।

योसँगै फर्मको दायाँ भागमा रहेको सिल्भर, गोल्ड र डाइमण्डमध्ये कुनै एउटा खाता छनोट पनि गर्नुपर्छ । फर्ममा आवश्यक सबै तथ्य भरिसकेपछि अन्तमा रहेको प्रोसेसमा क्लिक गर्नुहोस् ।

अन्त्यमा

यसरी फर्ममा दिएको सूचना सबै सही छ भने खाता खुलेको जानकारी पाउन सकिन्छ । फर्ममा उल्लेख गरेको इमेल ठेगानामा खाता खुलेको आधिकारीकता दिने कोर्ड आउनेछ ।

यसरी घरैभित्र बसेर खाता खोल्दा बैङ्कसम्म पुग्ने समय लाग्ने समयको पनि बचत हुन्छ । त्यसपछि घरबाटै मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैङ्किङ जस्ता डिजिटल बैङ्किङको सुविधा समेत लिन सकिनेछ ।

यस कठिन परिस्थितिमा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले सबै विद्युतीय बैङ्किङ माध्यमबाट हुने अन्तर बैङ्क रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाइ टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गर्न सकिने सुविधा दिएको छ ।

यस बाहेक, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् ।

प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल-पेट्रोलको मूल्य

नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

साल्ट ट्रेडिङको मोबाइल भ्यान चिनी, तेल, गेडागुडी बोकेर मुख्य/मुख्य चोकमा

लकडाउनका बेला खाद्यान्न अभाव नहोस् भनेर सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले मोबाइल भ्यानबाट बिक्री वितरण सुरु गरेको छ।

साल्ट ट्रेडिङले नुन, चिनी, मैदा, दाल तथा गेडागुडी बिक्री सुरु गरेको हो। मोबाइल भ्यानबाट काठमाडौं, ललितपुर र भक्तपुरलगायतका ठाउँमा खाद्यान्न बिक्री सुरु गरिएको हो।

उपभोक्ताको माग अनुसार भ्यान पठाउने गरको साल्ट ट्रेडिङका सुचना अधिकृत कुमार राज भण्डारीले बताए।  वडाबाट माग आएपछि त्यही ठाउँमा खाद्यन लिएर भ्यान जाने गरेको उनले बताए।

एउटा मोबाइल भ्यानबाट दैनिक १५ हजारदेखि ३५ हजार रुपैयाँको  बिक्री हुने गरेको राजभण्डारीले बताए। हालसम्म भ्यानबाट तीन लाख ६५ हजार ८ सय ७५ रुपैयाँको व्यापार गरिसकेको उनले भने। काठमाडौं र नारायणघाटमा गरेर मासिक ९१ लाख ३२ हजार ८ सय दुई रुपैयाँको बिक्री भएको छ।

कालिमाटीमा रहेको साल्ट ट्रेडिङमा ग्राहकहरु किनमेलका लागि आइरहेका छन्। कोरोना भाइरसको सुरक्षा अपनाउँदै बिक्री वितरण गरिरहेका राजभण्डारीले जानकारी दिए। लक डाउनका कारण नुन, चिनीको माग बढिरहेका छ। खाद्यान्न र ग्यासको अभाव नहुने पनि उनले भने। जनशक्तिका कारण घुम्ती सेवाबाट समयमै खाद्यान्न पुर्याउन भने गाह्रो भइरहेको छ।

घुम्ती सेवाबाहेक साल्ट ट्रेडिङले कालिमाटी, सतुंगल र कोटेश्वरबाट आउटलेट राखी खाद्यान्न र ग्यासको बिक्री गर्दै आइरहेको छ।  हाल लकडाउनका समयमा  हुने चर्को मुल्यवृदि र खाद्यान्नबाट उपभोक्तालाई केहि राहत दिन  मोबाइल भ्यानबाट घुम्ति सेवा दिइरहेको उनले बताए।

३ वटा भ्यानले हरेक दिन फोनको आधारमा छुट्टाछुट्टै ठाउँहरुमा खाद्यान्न लिएर जाने गरेको छ। प्याकिङ गरिएका सामानहरु मात्रै मोबाइल भ्यानले बिक्री गर्दै आएको छ। हालको अबस्थालाई बुझेर एक व्यक्तिले  २ केजीसम्म किन्न मिल्ने व्यवस्था  गरिएको छ।

ग्यास र चामलको माग उच्च भएपनि भ्यानमा ठाउँ कम हुने भएकोले अन्य खाद्यान्न मात्र बिक्री गरिरहेको उनले बताए।

बुधबार उपत्यकाका सामाखुसी चोक, गोंगबु, टोखा, झिर टोखा, खुसिँबु, नयाँबजार, बालाजु, रिंगरोड, कुपण्डोल, सानेपा, गसिंगाल, पाटनलगायतका क्षेत्रहरमा खाद्यान्न बिक्री गरिरहेको छ।

राष्ट्रिय वाणिज्य बैंकले कोरोना रोकथाम कोषमा डेढ करोड

राष्ट्रिय वाणिज्य बैंकले  कोरोना भाइरस रोकथाम एवं नियन्त्रण कोषमा डेढ करोड सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम हालेको हो।

बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता १९६०००००११०१ मा सो रकम जम्मा गरिएको जनाएको छ।  लकडाउनमा समेत बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे जनाएको छ।

बैंकले असार मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतमा शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ।

सातैवटा प्रदेश सरकारद्धारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि रकम जम्मा गर्न बैंकको विभिन्न शाखा कार्यालयहरुमा खाता खोलेको बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रदेश १ सरकारले २१२०००५८८१०१, प्रदेश २ ले १२२०५०३०००००१, बागमती प्रदेशले १३००५०३०००००२, गण्डकी प्रदेशले ३०२०००१८८३०१, प्रदेश ५ ले ३१२०५०३०००३०१, कर्णाली प्रदेशले ४०८०५०३०००००० र सुदूर पश्चिम प्रदेशले ४१७०५०३०००००३ राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका छन्। ती खातामा सरकारी र गैरसरकारी संस्थाले रकम हाल्न सक्नेछन्।

विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ ।

स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।

त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्यायो ।

तर विना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भयो ।

विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरे । साथै ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको उनले बताए ।

श्रेष्ठकाअनुसार पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । यस्तै भोलि २ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्ने हो तर त्यसको सम्भावना देखिँदैन । यो कहिले ल्याउने भनेर प्रस्ताव पनि नगरेकाले सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालो सूचीमा राख्न आग्रह गर्ने निर्णय भएको श्रेष्ठले बताए ।

विभागले अब नयाँ खरिद प्रक्रिया सुरु गर्नेछ । तीन दिन मात्र समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने निर्णय भएको विभागका महानिर्देशक श्रेष्ठले बताएका छन् ।

उनले सस्तोमा सामान ल्याउन निवेदन दिन पनि सप्लायर्सहरुलाई आह्वान गरेका छन् ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार अनुसन्धान आयोगमा उजुरी

स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ।

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले मन्त्री  ढकालविरुद्ध आइतबार अख्तियारको वेबसाइट मार्फत उजुरी  दिएका हुन्।

उजुरीमा भनिएको छ, ‘मिडिया अनि आम नागरिकले प्रश्न उठिरहँदा पनि स्वास्थ्य मन्त्री अनि प्रधानमन्त्रीबाट जवाफ दिन नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शङ्का उब्जिएको देखिएको छ। साथै, विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको कुरा समेत मिडियामा आइसकेको छ। तसर्थ, यी छानबिनका विषय हुन्।’

नेता पौडेलले उजुरी दिए लगत्तै अख्तियारको प्रवक्तासँग कुरा गरि उजुरी दर्ता भएको जानकारी समेत लिइसकेका छन्। उजुरीमा बुँदागत विवरण समेत राखिएको जनाइएको छ।

एनआईसी एशिया बैंकले अब्बल र पृथक रुपमा बैकिङ्ग सेवा प्रदान गरेको छ

रोशन कुमार न्यौपाने बैकिङ्ग उद्योगमा चिनाई राख्नु पर्ने नाम होइन । नेपालको बैकिङ्ग क्षेत्रमा अब्बल नाम भित्रै पर्दछ । नेपालको सबै भन्दा धेरै शाखा सञ्जाल र ग्राहक भएको कर्जा प्रवाह, डिपोजिट र नाफामा सबै निजी क्षेत्रका बैंकहरुमा अब्बल र सक्षम सावित भैसकेको एनआईसी एशिया बैंकका सीइओ हुन रोशन कुमार न्यौपाने ।

सबै भन्दा बढि शाखा सञ्जाल र ग्राहक भएको बैंकका सबै भन्दा कान्छा सीइओको उपनामले चिचिने रोशन कुमार न्यौपाने चाटर्ड एकाउटेण्ट पनि हुन् ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही चैत्र ११ गतेदेखि २५ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।
यस्तो अवस्थामा पनि सबैभन्दा ठूलो एनआईसी एशिया बैंकले सेवा प्रदान गरिरहेको अवस्ता देखिन्छ । । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको एनआईसी एशिया बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न शाखाहरु खोलेर सेवा दिइरहेका देखिन्छ ।

यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ? एनआईसी एशिया बैंक मात्रै खुलेको छ कि ? कारोबार पनि भइरहेको छ । बैंकको कर्मचारीहरुका सुरक्षा विधि कस्तो अपनाइएको छ ? बैंक र बैंकरहरुले यो विशम परिस्थितिमा राज्यलाई कस्तो योगदान दिएका छन् । यी आदि विषयमा एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० देश पूर्ण लकडाउनको अवस्थामा छ । कोरोना भाईरसका कारण जनता त्रसीत छन् । घरबाट बाहिर जाने अवस्था छैन । यस्तो बेला नेपालको सबैभन्दा बढि शाखा सञ्जाल र ग्राहक भएको एनआईसी एशिया बैंकले कस्तो सेवा दिएको अवस्था छ ?
हामीले अब्बल र पृथक रुपमा सेवा प्रदान गरेका छौं । यो विशम परिस्थितिमा पनि हामी लगायत २७ वाणिज्य बैंकहरुले सेवा दिनु आफूमा राम्रो पक्ष पक्कै हो । तर, ग्राहकहरुको सख्या अत्यन्तै कम छ । साच्चै भन्नुपर्दा हामीले बैंक ग्यारेन्टी, एलसी जस्ता सेवा पनि ग्राहकहरुलाई दिएको अवस्था छ ।

यो समय घरमै बसी इन्टरनेत बैकिङ्गबाट कारोबार गर्ने बेला हो । अहिले हाम्रो डिजिटल बैंकिङ्गका धेरै सुविधा छन् । ग्राहकले यी सेवा प्रयोग गरेको देखिन्छ । हामीले भिडियो कन्फेन्सबाट देशभरी कुरा गरेर हाम्रा लाखौं ग्राहकलाई सेवा दिएका छौं ।

० कति शाखा सञ्जालबाट एनआईसी एशिया बैंकले सेवा प्रदान गरेको अवस्था छ ?
घरैमा बसी डिजिटल बैकिङ्ग सेवाबाटै कारोबार गरौं भनेको अवस्थामा पनि पनि एनआईसी एशिया बैंकले १ दिन विराएर फरक÷फरक शाखा खुलाएको छ । हामीले प्रदेश १ मा ९ वटा प्रदेश २ मा ११ वटा, प्रदेश ३ मा ७ वटा, प्रदेश ४ मा १ वटा, प्रदेश ५ मा २ वटा, प्रदेश ६ मा १ वटा, प्रदेश ७ मा ४ वटा शाखा कार्यालय सञ्चालन गरि ग्राहकहरुलाई सेवा प्रदान गरेका छौं । एनआईसी एशिया बैंकल ग्राहक मैत्री बैंक भएकाले सेवा दिनु कुरालाई कुनै कन्जुसी हामी कहिले गर्दैनौ ।

० यति धेरै शाखा खोलर एनआईसी एशिया बैंकले कारोबार गरेको तपाईले बताईरहँदा यो कोरोना भाईरसको महामारकिा बेला कर्मचारी साथीहरुको सुरक्षाबारे कति चिन्तित रहनु भएको छ सीइओ साब ?
अत्यन्तै महत्वपूर्ण प्रश्न सोध्नु भयो । कर्मचारी साथीहरुको हाम्रा सम्पत्ती हुन् उहाँहरुको सुरक्षा नै हामी बैंकरहरुको पहिलो दायित्व हो । त्यसकारण हामीले माक्स, सेनिटाइजर र पञ्जा प्रयोग लगायत एटिएमलाई समेत सेनिटाईजिङ्ग गरेका छौं । कर्मचारी कम मात्रामा छन् । ग्राहक अझै कम मात्रामा आएको अवस्था छ । कारोबार सानो भएको छ । यो अवस्था घरबाटै सूचना प्रधिवीबाट डिजिटल बैकिङ्ग गर्नु उचित हुन्छ । यो समय भनेको आफू बाँच्ने र अरुलाई पनि बचाउने समय हो ।

० राज्यले ग्राहकका लागि ल्याएका सहुलियतका प्याकेजलाई कसरी लिनु भएके छ ।
यो अत्यन्तै सकारात्मक पक्ष हो । यसलाई हामीले सकारात्मक रुपमा दिएका छौं । यो साच्चै भन्दा आवश्यक नै थियो ।
अहिले केही सुविधा आएको छ । केन्द्रीय बैंकले जारी गरेको सर्कुलरलाई सकारात्मक रुपमा लिनुपर्छ । विद्युतीय कारोबारमा पनि शुल्क नलिने भन्ने कुरा आएको छ ।

अर्कोतिर चैत्र मसान्तमा १० प्रतिशत ब्याजमा मिनाह दिनसक्ने भनेको छ । बैंकले आफ्नो आम्दानीबाट दिने भन्ने कुरा छ । राज्यले गरेको निर्णय पालना गर्नु हाम्रो कर्तव्य हो । दायित्व हो । असार मसान्तसम्म कर्जाहरुको सावाब्याज तिर्ने समय दिएको छ । यसले ग्राहकलाइ ठूलो राहत मिलेको देखिन्छ । भूपेन्द्रजी । हामी यहि समाजका मान्छे हौं । समाजलाई केही गर्नु पर्दछ भन्ने हाम्रो पनि सोच छ । अप्ठयारो अवस्थामा ग्राहकहरुलाई साथ र सहयोग हामी बैंक र बैंकरले नदिए कसले दिन्छ ?

० नेपाल सरकारले विश्वव्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरस बिरुद्ध राष्ट्रिय स्तरको कोष स्थापना गरेको छ । यसमा तपाईको बैंकको कस्तो सहयोग रहन्छ त ?
पहिलो चरणमा हाम्रो एनआईसी एशिया बैंकले तत्कालै आवश्यकतालाई महसुस गरी खाद्यान्नका केही सामाग्री राज्यलाई दिएको अवस्था छ । केही बैंकर र उद्योगी धरानाहरुले कोषमा रकम दिएको अवस्था छ । दोस्रो कुरा यो अवस्थामा बैंक खोलेर सेवा दिनु नै महत्वपूूर्ण कुरा हो । राज्यलाई सहयोग गर्ने दायित्व हाम्रो पनि हो । हाम्रो दायित्व समाजमा बढेको छ । हामी यही समाजकै मान्छे हौं । बैंकरहरु यो विशम र अप्ठ्यारो परिस्थितिमा राज्यलाई साथ दिन तयार छन् ।

० विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसले नेपालको बैंकिङ्ग प्रणालीलाई कस्तो असर पर्ला ?
यो समय चिन्ताको विषय भनेको मानवीय क्षती बचाउनु, आफू बच्नु र अरुलाई पनि बचाउनु हो । अर्थतन्त्र आज नभएर भोलि राम्रो होला । विश्व अर्थतन्त्रमा असर परेपछि नेपालमा नपर्ने कुरै भएन । रेमिटेन्स ठप्प छ । कलकारखाना, उद्योग धन्दा, व्यापार व्यवसाय सबै ठप्प छ ।

यसले लामो समय यस्तै अवस्था भयो भने नेपालको बैकिङ्ग प्रणाली तग्रिन केही समय चाही पक्कै लाग्ने अनुमान छ । तर, मानव जीवन रहे अरु कुरा त विस्तारै भई हाल्छ नि । आत्तिनु पर्ने अवस्था छैन । यो बेला ग्राहकलाई पैसा नभएर दाल, चामल, औषधी मुलो किन्न नपाउने अवस्थामा हामी हाम्रा लाखैं ग्राहकहरुलाई अप्ठ्यारोमा पार्दैनौ । पैसा बैंकमा छ फोन गर्नुहोस् हामी तपाईलाई तत्कालै सेवा दिने तप्पर छौं । प्रतिवद्ध छौं । निराश नहुनुहोस । स्वास्थ्य जीवन जीउनु होस् परिवाससंग बस्नुहोस् ।

० लकडाउन बढेको बढेको छ । फेरि बढ्ने संकेत देखिन्छ । यस्तो अवस्थामा तपाईहरुले कस्तो पूर्व तयारी गर्नु भएको छ ?
यो अवस्था आउदै छ भनेर पूर्व तयारीकै साथ हामी बैंकरहरु बसेका थियौ । आयो अब कोरोना भाईरस बिरुद्ध सबै एक भएर लड्नुपर्दछ । त्यसकारण घरबाट सूचना प्रविधीको माध्यामबाटै डिजिटल बैकिङ्गमा जोड दिनुपर्दछ । यसबाट तपाई सुरक्षित हुनुहुन्छ । एटिएम एउटा माध्याम मात्रै हो । सबै भन्दा सुरक्षित भनेकै घर भित्रैबाट काम गर्नु हो ।

साँचै भन्दा हामी भन्दा विकशीत र शक्तिशाली राष्ट्रहरुले समेत पूर्व तयारी नगरेको बेला हामीले त के पो गर्न सक्दछौ । तर, यसले एउटा महत्वपूर्ण पाठ हामी नेपालीलाई सिकाएको चाही पक्कै छ ।

थप एक सातासम्म लकडाउन भइसकेको छ । यसले सबै कुरा स्तब्ध भइसकेको छ । अझै अर्थतन्त्रमा ठूलो क्षती पु¥याइसहेको छ । आगामी बजेटमा पनि यसको असर पक्कै पनि देखिन्छ । विकासका कुरा पनि पछाडी पार्छ । विकसित देशमा जस्तै ठूलो राहत प्याकेत ल्याउने अवस्था देखिदैन । चलिरहेको काम एक्कासी ठप्प बन्द हुँदा त्यसको असर पर्छ । तर, आत्तिनु पर्दैन समय बलवान छ । सबैकुरा ठीक हुँदै जान्छ । तर मानव क्षती हुनु भएन नि ।

० नेपालकै ठूलो शाखा सञ्जाल र ग्राहक भएको बैंकको सबै भन्दा कम उमेरको सीइओ तपाई लकडाउनमा घरमै समय विताएका करोडौं जनतालाई के सन्देश दिन चाहानुहुन्छ ?
पहिलो कुरा त आफू बचौं अरुलाई पनि बचाउ । मानव रहे जीवन रहे, सबै कुरा देखिन्छ । त्यसकारण घरभित्रै बसौ । अर्को कुरा आज कोरोना भाईरसले विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध छटपटाईरहेका छन् ।

बिरामी छन् । सरकारले गरेको लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ । जीवन रहे सबैहुन्छ । जीवन नरहे केही हुँदैन स्वास्थ रहौं । सुखी रहौं । घरमै बसी नयाँ नयाँ सृजना गरौं मोबाइलबाटै डिजिटल कारोबार गरौं । परिवारसंगै दिन विताउ ।
अर्को कुरा विदेशबाट आउनु भएका सबै साथीहरु घरमै क्वाराइनटाइनमा बसौ । केही भए अस्पताल जाउँ । आफूलाई बचाऔं र अरुलाई पनि बचाउ ।