जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

लकडाउन थप्ने तयारी राहात प्याकेजबारे मन्त्रीपरिषद बैठक बस्दै

आज ४ बजे मन्त्रीपरिषद बैंठक बस्न लागेको हो । सरकारले कोरोना भाइरस फैलिन नदिन ६ दिन अघि गरेको लकडाउन थप एक साता लम्याउने तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज मन्त्रिपरिषद बैठक बस्ने र लक डाउन थप १ साता थप गर्ने सरकारको तयारी छ । सरकारले गरेको लकडाउन यही चैत्र १८ गते विहान ६ बजेसम्म कायम रहनेछ भने पुनः एक साता लकडाउन थपिन सक्ने बताइएको छ ।

पाटन अस्पतालमा सनराइज बैंकद्घारा व्यक्तिगत सुरक्षात्मक उपकरण सहयोग

सनराइज बैंकल पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ । आइतबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालमा २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ डा.विष्णु प्र. शर्मालाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताउनु भयो ।
विश्वलाई नै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको छ ।

त्यसमा पनि सीमित स्रोत साधनबाट समेत अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय छ । यो कठिन परिस्थितीमा काम गरिरहनु भएका तमाम डाक्टर र नर्सहरुले हौसला प्रदान गर्न सानो सहयोग गरेका हौं बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने भनेर प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताउनु भयो ।

एउटै मास्कको ७५० रुपैयाँ मूल्य

जनकपुरमा मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि शनिबार जनकपुरधाम–४ का ३६ वर्षीय राजेशकुमार झालाई पक्राउन गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार प्रादेशिक अस्पताल जनकपुरस्थित बजरङ्ग जनरल स्टोरमा मास्क प्रतिथान रु ७५० र पञ्जा प्रतिपोका रु ५०० मा बिक्री गरिरहेको अवस्थामा झालाई पक्राउ गरिएको हो। झालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

त्यसैगरी शुक्रबार बढी मूल्य लिएर खाना पकाउने एलपी ग्यास र खाने नुन बिक्री गर्ने दुईलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका–११ बस्ने ४५ वर्षीय जयप्रकाश साह र वडा नं १४ बस्ने ४७ वर्षीय नरेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जयप्रकाशलाई ग्यास भण्डारण गरेर राखेर उपभोक्तालाई नदिएको र नरेशले नुन प्रतिकेजी रु ३५ मा बिक्री गरेको भन्दै पक्रउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। यसअघि प्रहरीले बिहीबार आलु, प्याज र ग्यास कालोबजारी गर्ने ११ जनालाई पक्राउ गरेको थियो। लकडाउन भएयता जनकपुरबाट कालोबजारी गर्ने १७ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्ने सबैले लकडाउनको मौका छोपेर खाद्यान्न, तरकारी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक सामग्री कालोबजारी गरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कोरोना रोकथामका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोड ५० लाख सहयोग गर्ने

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सरकारद्वारा कोरोना रोकथामाका लागि स्थापित कोषमा १ करोड ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

बैंकको सोमबार साँझ बसेको संचालक समितिको बैठकले कोरोना रोकथामका लागि सरकारलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बिजशालालाई जानकारी दिए ।

सरकारले कोरोना रोकथामका लागि कोष स्थापना गरी सबै क्षेत्रबाट सहयोगको आह्वान गरेसँगै नेपालका बैंकहरुले त्यहाँ सहयोग गर्ने क्रम बढेर गएको छ । कोषमा हालसम्म नेपाल बैंकले १ करोड, कृषि विकास बैंकले १ करोड २५ लाख, ग्लोबल आइएमई बैंकले १ करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

सोमबार नै उद्योगपति बसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा गरेका थिए । आइतबार साँझ एनआरएनएले १ करोड सहयोगको घोषणा गरेको थियो भने अन्य क्षेत्रबाट समेत कोषमा सहयोग आउने क्रम जारी रहेको छ ।

कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु

स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु कोरोना भाइरस संक्रमणबाट भएको छ । पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया राजकुमारी टेरेसाको मृत्यु हिजो (शुक्रबार) भएको हो ।
राजकुमारी टेरेसाको मृत्यु भएको शाही परिवारले पुष्टि गरेको छ । उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
स्पेनमा हालसम्म ५ हजार ८ सय १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ भने ७२ हजार २ सय ४८ जनामा संक्रमण भएको पुष्टि भएको छ । शनिबार मात्रै स्पेनमा ६ सय ७४ जनाको मृत्यु भएको छ । – एजेन्सी

इटली र स्पेनसँग सीमा जोडिएको फ्रान्समा पनि कोरोनाको विध्वंश

पछिल्लो १८ घण्टामा इटलीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८८९ थपिएसँगै यो भाइरसबाट सो देशमा ज्यान गुमाउनेको संख्या १० हजार माथि पुगेको छ ।

मार्च २८ को १८ घण्टाको अवधिमा इटलीमा ८८९ संक्रमितले ज्यान गुमाएका हुन् । योसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको छ ।

ज्यान गुमाउनेको संख्यासँगै इटलीमा कोरोनाबाट संक्रमित हुनेको संख्या समेत बढिरहेको छ । यो १८ घण्टाभित्र मात्र त्यहाँ ६ हजार नयाँ संक्रमित फेला परेका छन् । कुल संक्रमितको संख्या बढेर ९२ हजार ५ सय नजिक पुगेको छ ।

संक्रमितमध्ये अझै पनि ३८०० बढी जटिल अवस्थामा छन् ।

अन्य दिन झै यो १८ घण्टामा इटलीपछि सबैभन्दा बढी संक्रमितको मृत्यु हुने देशमा स्पेन दोश्रो नम्बरमा छ । यो अवधिमा स्पेनमा समेत ६७४ ले ज्यान गुमाएका छन् । योसहित सो देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ५२९ पुगेको छ।

स्पेन र इटलीसँग सीमा जोडिएको फ्रान्समा समेत संक्रमणको अवस्था भयावह बन्न थालेको छ । पछिल्लो १८ घण्टामा मात्रै फ्रान्समा ३१९ संक्रमितको मृत्यु भई कुल मृतकको संख्या २३१४ पुगेको छ । यो दिन फ्रान्समा ४६०० बढी नयाँ संक्रमित भेटिएका छन् । योसहित फ्रान्समा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ३७ हजार ५०० भन्दा बढी पुगेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा समेत मृत्यु हुनेहरुको लिस्टमा २४१ थपिएका छन् । योसहित अमेरिकामा समेत ज्यान गुमाउनेको संख्या २ हजार नजिक पुगेको छ । यो दिन अमेरिकामा सबैभन्दा बढी १२ हजार २०० बढी नयाँ संक्रमित फेला परेका छन् । यहाँ कुल संक्रमितको संख्या १ लाख १६ हजार माथि पुगेको छ ।

इरानमा पनि यो दिन १३९ थप संक्रमितको मृत्यु भएको छ । यहाँ मृतकको संख्या २ हजार ५०० माथि पुगिसकेको छ ।

चीनमा थप ३ संक्रमितको मृत्यु भएको छ भने त्यहाँ ५४ जना नयाँ संक्रमित फेला परेका छन् ।

बेलायतमा समेत भाइरसको संक्रमण तीव्र भएको छ । मृत्यु दर समेत त्यहाँ ह्वात्तै बढेको छ । बेलायतमा पछिल्लो १८ घण्टाको अवधिमा २६० संक्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १९ पुगेको छ ।

यो अवधिमा नेदरल्याण्डमा ९३ जना, जर्मनीमा ५२ जना, बेल्जियममा ६४ जना, पोर्चुगलमा २४ जना, डेनमार्कमा १३ जना, इण्डोनेशियामा १५, फिलिपिन्समा १४ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितबाट विश्वभर मृत्यु हुनेको संख्या ३० हजार २९९ पुगेको छ । कुल संक्रमितको संख्या ६ लाख ५० हजार ७०० माथि पुगेको छ ।

पछिल्लो १८ घण्टामा मात्र विश्वभर २९५७ संक्रमितको ज्यान गएको छ । ५४ हजार ४०० बढी नयाँ संक्रमित भेटिएका छन् भने कुल संक्रमितमध्ये २५ हजार २०० बढीको अवस्था गम्भीर छ ।

हामीले घरबाटै ग्राहकलाई सेवा प्रदान गरेको अवस्था छ

बुबा दुर्गाप्रसाद उपाध्याय पोखरेल र आमा इन्दिरा पोखरेलबाट २०३५ सालमा जन्मिएका सुमन पोखरेल हाल नेपालकै नम्बर एक रेमिटान्स कम्पनी इन्टरनेशनल मनि एक्सप्रेस(आइएमई)को प्रमुख कार्यकारी अधिकृत(सीइओ)को रुपमा कार्यरत छन् । उनी रेमिटेन्स् कम्पनीहरुको छाता संस्था नेपाल रेमिटेन्स एसोसियसन (एनआरए)का अध्यक्ष पनि हुन् ।

नेपालमा औपचारिक क्षेत्रबाट भित्रिने रेमिटान्समध्ये करिब ५० प्रतिशत हिस्सा आइएमईबाटै आउने गर्छ । यति ठूलो रेमिटान्स कम्पनीलाई कुशलतापूर्वक संचालन गरिरहेका पोखरेलले सन् २००३ देखि बैंकबाट करिअर सुरु गरेका थिए । शंकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेपछि उनले एभरेष्ट बैंकबाट आफ्नो करिअर सुरु गरेका थिए । त्यहाँ चार वर्ष काम गरेपछि उनी ग्लोबल बैंकमा मेनेजर लेभलमा ४ वर्ष काम गरे । त्यसपछि आइएमईमा कार्यरत छन् । पहिला जनरल मेनेजरको रुपमा यो कम्पनीमा प्रवेश गरेका पोखरेल विगत ६ वर्षदेखि सीइओको जिम्मेवारीमा छन् । हाल उनी ग्लोबल आइएमई बैंकका संचालक समेत रहेका छन् ।
अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही चैत्र ११ गतेदेखि १८ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन र निस्कनु पनी हुँदैन ।

यस्तो अवस्थामा पनि नेपालका रेमिटेन्स् कम्पनीहरुले कसरी सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका रेमिटेन्स कम्पनीहरुले डिजिटल कारोबार सुचार गर्न सिमित आफ्ना केन्द्रीय कार्यालय खोलेर सेवा दिइरहेका छन् । यस्तो अवस्थामा केन्द्रीय कार्यालय खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ । नेपालमा रेमिटेन्सको वर्तमान अवस्था कस्तो छ । कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ र रेमिटेन्स नपाएका गुनासाहरु नेपाल राष्ट्र बैंकमा पुगेका छन् नि । यिनै विषयमा केन्द्रित रही आइएमईका प्रमुख कार्यकारी अधिकृत, नेपाल रेमिटर्स एसोसिएसन (एनआरए)का अध्यक्ष समेत रहेका सुमन पोखरेलसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानी ः

० पछिल्लो समय रेमिटेन्सको अवस्था कस्तो छ अध्यक्षज्यू ?
अहिले देश नै लकडाउनमा छ । विश्व नै कोरोना भाइरसको कारण रोइरहेको छ । हजारौंले ज्यान गुमाएका छन् । लाखौं कोरोनासंग संघर्ष गरिरहेका छन् । यो बेला पनि हामीले ग्राहकलाई सेवा प्रदान गरेको अवस्था छ । रेमिटेन्स ठप्प जस्तै छ । फोन गरेर भुक्तानी दिएका छौं । नयाँ खासै कारोबार भएको छैन । अवस्था असहज नै छ । चाँडो यो सहज हुने विश्वास लिएका छौं ।
७५ प्रतिशत रेमिटेन्स घटेको छ । पहिला सहज अवस्था जस्तो छैन नि ।

० तपाई रेमिटेन्स कम्पनीहरुको छाता संस्था नेपाल रेमिटेन्स एसोशियसनको अध्यक्ष पनि हो । मलाई भनिदिनु होस यो संवेदनशिल अवस्थामा कसरी कस्तो सेवा दिनु भएके छ ।
मैले अगाडी नै भनि सके हामीले सदा झै सेवा दिन त कठिन छ । शाखा खोलेको छैन । देश लकडाउनको अवस्थामै छ तर, पनि हुन सक्नेसम्मका सेवा सबै रेमिटेन्स कम्पनीहरुले दिएका छन् । हामी आईएमईले त नगर्ने कुरै भएन, केही केन्द्रीय कार्यालय खुलेका छन् । शाखा प्राय सबै बन्द नै छन् । स्टाफहरुकै फोन नम्बरबाट कारोबार घरमै बसेर पनि गरेका छौं । प्रस्टै भन्दा फोन गरेर भुक्तानी दिएको अवस्था छ ।

० विदेशबाट पठाएको पैसा नपाएको गुनासो नेपाल राष्ट्र बैंकमा पुगेको समाचार आएका छन् नि के यो सत्य हो अध्यक्षज्यू ?
गुनासो पुगेको होइन, यस्तो बेला रेमिटेन्स लिन कसरी जाने, कहाँ जाने भन्ने बारे बुझेको हामीले सूचना पाएका छौं । हामीले यस्तो देश नै लकडाउन भएको र कोरोना भाइरस बिरुद्ध हामी पनि लडिरहेको अवस्थामा सकेसम्म सेवा प्रवाह गरिरहेका छौं । सबै तिर बन्द छ । तर, पनि हामीले दिने सेवा हामी जसरी पनि दिन्छौं ।

० आईएमई पे बाट कस्तो कारोबार भएको छ । नेपालीहरुको संख्या कति छ । नयाँ रुपमा ल्याउनु भएको देखिन्छ ?
नयाँ त होइन पूरानै आईएमई पे हो । यसलाई केही मोडिफाई गरेर ल्याएका छौं । कोरोना भाइरसका कारण यसमा कारोबार बढेको छ । डिजिटल कारोबारमै जोड दिने कुरा राष्ट्र बैंकको पनि छ । हामी मात्रै होइन यस्ता धेरै छन् । उनीहरुको पनि कारोबार बढेकै देखिन्छ ।

० तपाईहरुको संस्था नेपाल रेमिटेन्स एसोशियसनले राज्यद्वारा कोरोना भाइरस बिरुद्ध लड्ने कोषमा कस्तो सहयोग गर्नु भएको छ त?
हामीले यो बेला ग्राहकलाई सेवा दिने हो । राज्यको कोषमा केही संस्थाहरुले दिएका पनि छन् । हामीले पनि यसबारेमा छलफल गर्ने छौं । आईएमई ग्रुपले भूकम्पको बेला ठूलो धनराशी सरकारलाई दिएकै हो । हामी सरकारसंगै छौं । राज्यलाई यो बेला सबैले सहयोग गर्नुपर्दछ नि ।

० विश्वव्यापी रुपमा फैलिएको हजारौंकै ज्यान दिएको लाखौलाई आक्रमण गरेको कोरोना भाइरसले नेपाली अर्थतन्त्रलाई चाहि कस्तो असर पार्ने देख्नु भएको छ ?
अहिले रेमिटेन्स ७५ प्रतिशत भन्दा बढि घटेको छ । पहिला जस्तो छैन । साच्चै भन्ने हो भने हाम्रो देश रेमिटेन्सबाट चलेको छ । भन्दा फरक नपर्ला । त्यसकारण विश्व बजारको अर्थतन्त्रलाई तहसनहस बनाएको बेला हामीलाई पनि ठूलो असर पर्ने प्रस्तै देखिन्छ । १ महिना भन्दा बढि लकडाउन लम्बिए हाम्रो अर्थतन्त्र तग्रिन लामो समय लाग्ने देखिन्छ । पहिला त बच्नु प¥यो । बचाउनु प¥यो । अनि मात्रै अरु कुरा आउने हुन् । त्यसकारण समय र परिस्थितिलाई ख्याल गर्नु पर्दछ ।

०विदेशबाट पैसा आउने क्रम अहिले पनि जारी छ त ?
कमै मात्रामा आएको छ । रेमिटेन्स आउने मुलुक खाडी, यूरोप र अमेरिका अहिले कोरोना भाइरसबाट त्रसित मात्रै छैन । रोईरहेको पनि छन् । हजारौ मरेका छन् । लाखौं विरामी छन् । यो बेलामा कम रेमिटेन्स नगन्य मात्रामा आएको छ ।

० लकडाउनको बेलामा कार्यालयमा कार्यरत कर्मचारीहरुको स्वास्थबारे कति सचेत रहनु भएको छ ?
कर्मचारी हाम्रो सम्पत्ती हुन् । हाम्रो पहिलो दायित्व उहाँहरुको स्वास्थकै हुन्छ । हामीले कर्मचारीहरुलाई सेनिटाईजर, माक्स र पञ्जाको पर्याप्त व्यवस्था गरेका छौं । टाढाबाट कारोबार गर्न भनेका छौं ।

० विश्पव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल अहिले लकडाउनमा छ । यो लम्बिने प्रस्टै देखिन्छ । यसको तयारी चाहि कस्तो गर्नु भएको छ त अध्यक्षज्यू ?
महत्वपूर्ण कुरा उठाउनु भयो । यो संक्रमणसंग आज संसारका कुनै पनि देशहरुले पूर्व तयारी गरेका थिएनन् । हामी भन्दा ठूला शक्तिशाली राष्ट्रहरुले आज उनीहरु पनि रोईरहेको अवस्था छ । यसले अर्थतन्त्रलाई ठूलो मात्रामा क्षती पु¥याएको छ । त्यसकारण हामी नेपालीहरुले यसबाट पाठ सिक्दै पूर्व तयारी गर्नुपर्ने आवश्यकता छ । त्यो हामी सबै मिलेर गर्नु पर्छ ।

० अन्यमा लाखौं ग्राहक र नेपाली जनतालाई केही भन्नु छ ?
हामी हाम्रा ग्राहकलाई सेवा दिने कुरामा कन्जुसी गर्दनौ । घरबाटै सेवा दिएका छौं । स्टाफहरुको फोन नम्बरहरु दिएका छौं । केही कार्यालय खोलेका पनि छौं । त्यहाँबाट पनि सेवा दिएका छौं । सचेत रहनुहोस्, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् । घरबाट बाहिर पटक्कै ननिस्कनुहोस् । राज्यलाई सहयोग गर्नुहोस् । भन्नु चाहान्छु ।

महासंघको ६५ औं स्थापना दिवसमा अध्यक्ष आचार्यको शुभकामना सन्देश

नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७६ चैत १६ गते आफ्नो स्थापनाको ६५ औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आमनेपाली सञ्चारकर्मीका साथै लोकतन्त्र, नागरिक अधिकारका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ । यसमा हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ केन्द्रीय समिति गर्व गर्दछ । आगामी दिनमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि हाम्रो संघर्षपूर्ण इतिहास र अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ दृढतापूर्वक लागिरहने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु ।

सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्ने आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ । यसैगरी राष्ट्रिय सम्वृद्धि र विकासका पक्षमा नेपाली मिडिया जगत् र आमसञ्चारकर्मीको योगदानप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

यतिवेला नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम छ । सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीबीच गुज्रिरहेको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत अभ्यास सुरु भएसँगै केन्द्र, प्रदेश र स्थानीय तहमा निर्वाचनमार्फत् जनप्रतिनिधिहरूले सरकार सञ्चालन गरेको दुई वर्षभन्दा बढी समय बितिसकेको छ । यसबीचमा सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्ने आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ । यसैगरी राष्ट्रिय सम्वृद्धि र विकासका पक्षमा नेपाली मिडिया जगत् र आमसञ्चारकर्मीको योगदानप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो । संघ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री सञ्चार नीति, कानून र संरचना निर्माणका लागि महासंघले पहल र खवरदारी गर्दै आएको स्मरण गराउन चाहन्छु । नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरुप सरोकार पक्षसँगको छलफल र सहमतिमा सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि नेपाल सरकार र सम्वन्धित निकायलाई महासंघले पटकपटक आग्रह गर्दै आए पनि हाम्रा सरोकारहरुको उचित सुनुवाई हुन सकेको छैन । प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेर सरकारले संसद्मा प्रस्तुत गरेका कतिपय कानूनमा आंशिक सुधार भए पनि हाम्रा सरोकारहरुको पर्याप्त सम्बोधन हुन सकेको छैन । जसका कारण सञ्चार क्षेत्रमा अझै पनि संघीयता कार्यान्वयन हुन सकेको छैन र संक्रमणकै अवस्था कायम छ । यस अवसरमा म पुनः महासंघसहित सरोकार पक्षसँग पर्याप्त छलफल र सहमतिमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी सञ्चारसम्बन्धी कानून अघि बढाउन आग्रह गर्दछु ।

पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आए पनि प्रवृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ । श्रमजीवी पत्रकारहरूका समस्या ज्यू का त्यू छन् । यस अवस्थामा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापना एवम् सञ्चार क्षेत्रका समस्या समाधानका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउदछु ।

महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चार माध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण, विज्ञापन परिषद्जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुर्नसंरचना, समानुपातिक विज्ञापन वितरण प्रणालीको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूमा म पुनः ध्यानाकर्षण गराउँदछु ।

पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आए पनि प्रवृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ । श्रमजीवी पत्रकारहरूका समस्या ज्यू का त्यू छन् । यस अवस्थामा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापना एवम् सञ्चार क्षेत्रका समस्या समाधानका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउदछु । महासंघ यी सबै समस्या समाधानका लागि सञ्चार क्षेत्रका विभिन्न संघ, संस्था र व्यक्तित्वहरुसँग बृहद एकता र साझेदारीका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

नेपाल पत्रकार महासंघ नेपालकै पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था हो । अहिले महासंघ मातहत १० प्रदेश समिति, ७६ जिल्ला शाखा, ४२ प्रतिष्ठान शाखा, ११ बैदेशिक शाखा र १२ एशोसिएट संस्था आवद्ध छन् । मुलुकका संघ संस्थामध्ये सबैभन्दा बढी समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्था बनेकोमा हामी गर्व गर्दछौ । महासंघले स्थापनादेखि नै निरन्तररुपमा लोकतान्त्रिक विधि र प्रक्रियावाट नेतृत्व चयन गर्नुका साथै नियमितरुपमा आफ्ना अधिवेशन र साधारणसभा गर्दै आएको छ । यस वर्ष महासंघको अधिवेशन सम्पन्न गर्नुका साथै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् केन्द्र, प्रदेश र शाखाहरुको नेतृत्व चयन गर्नुपर्ने दायित्व पनि हाम्रा सामु छ । यी जिम्मेवारी पूरा गर्न आम सदस्य साथीहरु र शुभेच्छुकहरुवाट विगतमा झै साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दछु ।

स्थापना दिवसको पूर्वसन्ध्यामा म नेपाल पत्रकार महासंघलाई शुभकामना तथा शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको यस दिनले हामीलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरणा दिने अपेक्षा गर्दछु ।

साथै, यसपटक विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको सक्रमणका कारण नेपालमा स्थापना दिवसका अवसरमा खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था रहेन । यस्तो अवस्थामा सम्पूर्ण सञ्चारकर्मी साथीहरुलाई कोरोनाको संक्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी सचेतनामूलक सामग्री प्रवाह गर्न आग्रह गर्दछु । आफू सुरक्षित रही सत्य, तथ्य र सन्देशमूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्वप्रति सबै पत्रकार सजग रहेको महासंघको विश्वास छ ।

महासंघको संस्थागत विकास र सहकार्यका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापक, पत्रकारिता सम्वद्ध संघसंस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील संघसंगठनको नेतृत्व तथा सदस्यहरूलाई हार्दिक आभार व्यक्त गर्दछु ।

महासंघ स्थापना दिवसको यस अवसरमा विभिन्न संचार माध्यमहरुमार्फत् महासंघको औचित्य, योगदान र अग्रजहरुको भूमिका एवम् नेपाली सञ्चार क्षेत्रका तमाम मुद्दाहरुबारे चर्चा, परिचर्चा र बहस अघि बढाउन म महासंघमा आवद्ध साथीहरुमा आग्रह गर्दछु । स्थापना दिवसका अवसरमा गत वर्षहरुमा महासंघका पूर्वसभापति तथा अध्यक्ष, उपसभापति, उपाध्यक्ष र महासचिवलाई सम्मान गरिएको छ । यस वर्ष पूर्वसचिव र कोषाध्यक्षहरुलाई सम्मानको कार्यक्रम केही समय पछि गरिने जानकारी गराउँदै महासंघको संस्थागत विकास र सहकार्यका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापक, पत्रकारिता सम्वद्ध संघसंस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील संघसंगठनको नेतृत्व तथा सदस्यहरूलाई हार्दिक आभार व्यक्त गर्दछु ।

नेपालको पाँचौ कोरोना भाइरस संक्रमण बाग्लुमकी युवती

बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।  उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अहिले संक्रमण देखिएकी बागलुङकी  युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई  पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ ।

अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

‘एनएफआरएस लागुगर्ने पहिलो बैंक हामी हौं’

पाली बैंकिङ बजारमा सानो तहदेखि उच्तहसम्म उस्तै छवि कायम राख्न सफल सन्तोष कोइराला अध्ययनशील बैंकरको रुपमा चिनिन्छन् । सरल, नम्र र पीआर क्षमताका हिसावले अब्बल देखिएका कोइरालाले २ दशक बैंकिङ क्षेत्रमा बिताइसकेका छन् । पहाडी जिल्ला भोजपुरबाट तराईको झापा झरेका खानदानी कोइराला परिवारका सदस्य सन्तोषले बैंकिङ करियरमा कहिल्यै पनि रोकिनु परेन । यद्यपि, उनका आफन्त र नातेदार बिभिन्न क्षेत्रमा सफल हुँदा पनि उनलेचाँहि आफ्नै बलबुतामा करिअर निर्माण गरे ।

सानिमा बैंकलाई सफल र बलियो बनाउने एउटा थिंक ट्यांक कोइरालालाई माछापुच्छ्रे बैंकले ठूलो मूल्य तिरेर भित्र्याएको थियो । यद्यपि, कोइरालाले माछापुच्छ्रेमा आफ्नो क्षमताको राम्रो प्रदर्शन गरिसकेका छन् । गत बुधबार साँढे १० बजे यस पंतिकार लाजिम्पाटस्थित एमबीएल टावर पुग्दा कोइरालाले ३ वटा मिटिङ सकाइसकेका थिए । एकै दिनमा आधा दर्जन मिटिङ र कार्यालयको नियमित काम अनि घरपरिवार र साथीभाईको अन्य जिम्मेवारीकासाथ समाजसेवाको काममा समेत संलग्न गराउन सफल कोइराला भविष्यमा नेपालका चम्किला बैंकर हुन् ।

साँढे२ घन्टा लामो कुराकानीमा अर्थतन्त्र र वित्तीय क्षेत्रको समस्यादेखि लोकतन्त्रको अवस्थासम्म व्याख्या गर्न भएका कोइरालाको अध्ययनमा धेरै रुची भए पनि समय व्यवस्थापन हुन नसक्दा चिन्ता लाग्दोरहेछ । भोजपुरको दुर्गम गाउँमा पहिलो श्रेणीमा एसएलसी पास गरेका कोइराला पढाईमा सँधैअब्बल रहे । आईएस्सी र वीकम पनि राम्रो नम्बर ल्याएपछि कोइराला दक्षिण भारतको चेन्नई (मद्रास)मा सीए पढ्न गए । पढ्न गएका उनी लामो बिरामी परेपछि झापामै फर्के र कलेजमा अध्यापन गराउन लागे । पछि त्रिविबाट एमबीए र नेदरल्याण्डको इरास्मस युनिभर्सिटीबाट एड्भान्स लिडरसिप एण्ड म्यानेजमेन्टमा डिप्लोमा गरे । बैंकरहरूका लागि सबैभन्दा आवश्यक पब्लिक रिलेसन स्किलमा कोइरालालाई अब्बलरुपमा चिनिन्छ । सरल मिजासका उनले एकपटक चिनेका व्यक्ति सधैंका लागि मित्र बनाउने खुबी राख्छन् । उनले साढे २ दशक बैंकिङमा बिताउँदा जम्मा ३ वटा बैंकमात्रै फेरेका छन् ।

सन २००० मा बैंक अफ काठमाडूबाट बैंकिङ सुरु गरेका उनले त्यहाँ साढे ४ वर्ष बिताए । त्यसपछि सानिमा विकास बैंकमा साढे ९ वर्ष बिताए । सानिमा बैंकलाई अब्बल विकास बैंक बनाउँदै बाणिज्य बैंकमा स्तरोन्नति गर्न कोइरालाले गरेको मेहनत सम्झिँदा उनलाई अहिले पनि गर्व लाग्छ । सानिमा बाणिज्य बैंकसमेत बनाएर सोटो समयमै माछापुच्छ्रे बैंक ज्वाइन गरे । सानिमाकै प्रवद्र्धकहरूले माछापुच्छ्रे बैंकमा लगानी गरेपछि कोइरालाई ठूलो जिम्मेवारीसाथ लगिएको थियो । माछापुच्छ्रे मा साढे ६ वर्ष काम गरिसकेका कोइराला २ वर्षअघि डेपुटी सीईओ बनेका हुन ।

सबैजसो बैंकहरू मर्जरमा जाँदै विजनेस बढाउँदै छन्, तर माछापुच्छ्रे बैंकचाहिँ सुस्त देखियो नि किन ?

हामीले मर्जरको कुरा अगाडि बढाइराखेको पनि हो । हाम्रो बोर्ड लेवलमा मर्जर कमिटी पनि छ । मर्जरका विषयमा केही कमर्शियल बैंकहरूसँग कुराकानी पनि भइरहेका छन् । अरू क्षेत्रीयस्तरका विकास बैंकहरूसँग कुरा भइरहेको छ । यसमा प्राइसिङका कुराहरू पनि छन्, स्टाफका कुराहरू पनि छन्, कुराकानीचाहिँ प्रसस्तरुपमा भएको हो, तर मेटरलाइजेसन चाहिँ हुन सकेन ।

स्टाण्डर्ड फाइनान्ससँग गरेको मर्जरपछि तनाव अझै बाँकी छ कि क्या हो ?

सबै तनाव सकिसक्यो, अब बाँकी केही छैनन् । अब हामी सम्भावित बैंक तथा वित्तीय संस्थाहरूको खोजीमा छौं ।

पहिले जनता बैंकसँग मर्जरको कुरा टुटेपछि माछापुच्छ्रे बैंकले मर्जरको कुनै पहल नै गरेन । प्रतिस्पर्धी धेरै भइसके अब एक्लै हिँड्न सकिन्छ त ?

त्यसैले हामीले नेटवर्क विस्तारमा लागेका छौं । अहिले १ सय ५९ वटा शाखाहरू विस्तार गरिसक्यौँ । पूर्वदेखि सुदूरपश्चिमसम्म हिमाल, पहाड र तराईसम्म माछापुच्छ्रे बैंकको नेटवर्क पुगिसक्यो । प्रतिफल ठूलो कुरा हो, क्यापिटल ठूलो भएर मात्र राम्रो हुने होइन । ठूलो बैंक भएर गभर्नेन्स र पूरा कम्प्लाई हुने भन्ने हो र ? त्यसको लागि अरू सबै इण्डीकेटरहरू आफ्नो अब्बलमा हुनुपर्छ । मर्जर भएर मात्र व्यवसाय विस्तार हुने होइन, क्रमिकरुपमा व्यवसाय गर्दै जाने हो ।

मुख्य कुरा हामीले बैंक ठूलो बनाउँदा क्यापिटल पनि ठूलै हुन्छ, झन्डै १६ अर्बको क्यापिटल हन्छ । त्यसमा प्रतिफल दिने बेलामा ८ अर्बमा दिए पनि १६ अर्बमा दिए पनि कमाउने एउटै हो ।लगानीकर्ताको साइटबाट हेर्दा रिटर्न एण्ड इक्विटी के हो भन्ने कुराले फरक पार्छ । उता रेगुलेटरको साइडबाट हेर्दाचाहिँ बैंकको साइज संख्याहरूलाई कम गराउन पर्छ भन्नेखालका कुरा आएका छन् । कति कम्प्लाइट छ कति गर्भनेन्समा कत्तिको बलियो भएर बसेको छ । कर्पोरेट गभर्नेन्सका कुरा, पोलिसीहरू प्रोसुडरहरू, राष्ट्र बैंकले जारी गरेका नियमहरू कत्तिको पालना गर्छन् भन्ने कुराहरू बैंक दर्रो हो कि होइन भन्ने अर्थ राख्छ जस्तो लाग्छ मलाई ।

नाफा कमाउने हिसाबले यति बढी भन्ने हिसाबले नभएर सुशासन कस्तो छ । बैंकहरूचाहिँ हरेक प्यारामिटरमा अब्बल छ, भन्ने हिसाबले बैंक राम्रो वा नराम्रो भन्ने छुटिनुपर्छ । माछापुच्छ्रे बैंकको सन्दर्भमा हेर्ने हो भने हामीचाँहि आफूलाई पूर्ण रुपमा कम्प्लाइट छ भन्छौं । राष्ट्र बैंकको रुपमा अब्बल छ । गोएमएलमा राष्ट्र बैंकको निर्देशन आउनेबित्तिकै हामीले अरूभन्दा छिट्टो काम गरिसकेको अवस्था थियो । एनएफआरएस लागू गर्ने पहिलो बैंक हो माछापुच्छ्रे बैंक ।

स्ट्रेन्थ त राम्रो छ भन्नु भयो, कति नम्बरमा पर्छ माछापुच्छ्रे बैंक ?

नाफालाई लिएर हेर्ने हो भने पुस मसान्तको समयलाई लिएर हेर्ने हो भने हामी १७/१८ मा पुगि सकेका छौं, नाफाको हिसाबले । किनभने कति बैंकहरू मर्जरमा गए हामी त एक्लै हिँडेका हौं । कम्प्लाइन्सको रुपमा हेर्ने हो भने हामी टपमा पुगिसकेका छौं । हामीले बैंकलाई जुन तरिकाले लगिराखेका छौं, त्यसले एकदम सन्तुष्ट छौं । कुनै प्यारामिटरलाई हरेर कति नम्बरमा राख्ने भन्ने कुरा हो । हामीचाहिँ बीच–बीचका बैंक हौं ।

बजार हेर्दा त एग्रेसिभ रुपमा अघि जानुपर्ने होइन, माछापुच्छ्रे बैंक एग्रेसिभ जाँदैन ?

एग्रेसिभरुपमा अघि बढेको छौं । छ महिनामा हेर्नुभयो भने लोनको ग्रोथमा हामी पाँच नम्बरमा छौं । डिपोजिटको ग्रोथ हेर्ने हो भने २ नम्बरमा छौं किनकी एसै वर्ष हामीले ८० वटा शाखा खोलेको हुनाले सबै अपरेटिङ कष्ट बढेर गयो । एचआर कष्ट पनि बढ्ने भैहाल्यो । त्यो कारणचाहिँ नाफा कम होकि भन्ने देखियो । अब शाखा विस्तार धेरै प्लान छैन । जति अहिले खोलेको शाखाहरूले दिने विजनेश र ग्रोथले दिने नाफाको हिसाबले माछापुच्छ«े बैंक धेरै माथि आउँछ भन्ने लाग्छ ।

ठूलो बैंक मर्ज गर्नुभन्दा साना संस्था गाभ्न फाइदा हुन्छ भन्छन्, कसरी फाइदा हुन्छ ?

ठूला बैंक हेर्ने हो भने क्यापिटल एडुकेसीको हिसाबले टाइट छन् । साना विकास बैंकहरू झन्डै १९/२० प्रतिशत एडुकेसी लिएर बसेका छन् । मर्ज गर्दा त्यहाँ आउने ग्यापले बढी विजनेश गर्न सकिन्छ । साना बैंकहरूमा साना–साना लोनहरू हुन्छ । सबै कोल्याटर बेस लोनहरू हुन्छ । केही गरी भोलि बिग्रने अवस्था आयो भने पोर्टफोलियो बिग्रन्छ, त्यसले ठूलो असर केही गर्दैन । मानव संशाधनको गुणस्तर एकदम कम हुन्छन् ।

खासमा साना विकास बैंकहरू हेर्दा सजिलो, ८०/९० स्वाप दिए हुने रैछन् । एचआर व्यवस्थापनमा खासै समस्या आउँदैन, सीईओको लेवललाई पनि डेपुटी म्यानेजर लेवलमा एड्जष्ट गर्न सकिन्छ । अरू स्टाफहरू पनि सानो सानो लेवलको र ब्रान्चहरू पनि धेरै नभएकोलाई लिन सजिलो हुन्छ । ठूलो कमर्सियल बैंक मर्ज गर्दा ठूलो इस्यू भनेको एचआर म्यानेमेन्टमा छ । एउटै लेवलमा भएका सीईओ डेपुटी सीईओलाई म्यानेज गर्न गाह्रो हुने । एउटै मान्छेले हुने ठाउँमा ३ जना राख्नुपर्ने त्यो कारणले एचआरको मूल्य पनि धेरै हुने हुन्छ । ब्रान्चहरू दोहोरिने एउटै ठाउँमा २/२ वटा ब्रान्च हुने । व्यावसायको हकमा भन्ने हो भने सबै बैंकको टाइट हुन्छन् । प्रतिफलको हिसाब गर्ने हो, ठूलो भएकापछि उस्तै–उस्तै देखिन्छ । सम्पत्ति क्वालिटी रैनछ जोडिने बैंकहरूमा ठूलो असर गर्छ । क्वालिटीको कुरामा हामीले कुन ग्राहकलाई कस्तो कति जोखिम लिएर लोन दिने भन्ने हुन्छ । हाम्रो प्यारामिटरमा हामीले विश्लेषण गरेको जोखिम वहन गरेर लोन दिन्छौँ त्योभन्दा अलि फ्लेक्जिवल भएर अर्को बंैकले गरेको रहेछ भने त्यो प्रोजेक्टलाई लिएर फेरि प्रोभिजन गर्नुपर्ने अवस्था आउँछ । मर्जरको पाटोमा धेरै कुरा हेर्नुपर्ने अवस्था छ ।

तपाईंले छोटो समयमै बैंकिङ क्षेत्रमा छलाङ मार्नुभयो । यसै बैंकमा पनि सीईओको अफर आएको थियो रे नि हो ?

मलाई सीईओको अफर आएको छैन । अहिलेसम्म सीईओको अफर कहीँ पाएको पनि छैन । स्वभाविकरुपमा डेपुटी सीईओको रुपमा काम गरेको २ वर्ष भइसक्यो त्यसकारण भोलिको दिनमा नकार्न त सकिँदैन, तर आजको दिनसम्म मलाई सीईओको अफर आएको छैन ।

सीईओ नकार्नुभएको भन्ने पनि चर्चा थियो नि ?

कुनै बेलामा मेच्यूरेटी लेवलमा अलि पुगेको छैन कि बजारले कसरी हेर्छ ? कुनै पनि ठाउँमा पुग्दा धेरै विचार गर्नुपर्छ । बजारले कसरी लिन्छ भनेर पनि हेर्नुपर्छ । भोलिका दिनमा डेपुटी सीईओमा काम गरेको नै २ वर्ष भैसक्यो । मेरो मेच्यूरेटी लेवल पुगेको छैन, होइन म सीईओ बन्दिनँ भनेकोचाहिँ छैन । भोलिको दिनमा डेपुटी सीईओ भएको कारणले गर्दा अब अवसर आयो भनेचाहिँ सोच्नुपर्ने हुन्छ ।

छोटो समयमै डेपुटी सीईओ हुनुमा तपाईंमा के छ त्यस्तो ?

लिडरसिप क्वालिटीको कुरा हो । म पनि विद्यार्थी कालदेखि नै पढाइमा अब्बल थिएँ । व्याचलरमा र युनिर्भसिटीमा पनि टप गरेको पढ्नमा रुचि भएको मान्छे हुँ । व्यावस्थापनमा काम गर्नमा एउटा लिडरमा हुनुपर्ने क्वालिटी भएर नै यो लेवलसम्म आइपुगेको जस्तो लाग्छ । आफ्नो मेहनत तथा लगनशिलताका कारण पनि होला ।

माछापुच्छ्रे बैंक पहिले एउटा समूहले चलाएर समस्या आएको र अहिले नयाँ समूह आएपछि सुध्रिएको हो ?

पुरानो बारेमा खासै थाहा भएन । म चाँही माछापुच्छ्रे बैंक र स्टाडर्ड फाइनान्स भएपछि म आएको हुँ । मर्ज भएको सात वर्ष भैसक्यो । त्यसपछि राम्रो नराम्रो भन्ने किसिमको छैन, जो आउनुभयो व्यावस्थापनलाई विश्वास गरेर आउनुभएको हो । मैले नै माछापुच्छ्रे बैंक आउँदा ३ करोडको नाफा थियो । अहिले १ सय ५६ करोड पुगिसक्यो । लामो समयदेखि लाभांश खान सकिरहेको थिएन २/३ वर्षदेखि हामीले बोनस सेयर र क्यास डिभिडेन्ट बाँडिरहेका छौं । लोनको कुरा गर्ने हो भने मैले सुरु गर्दा १६ अर्ब थियो २३ अर्ब डिपोजिट थियो, अहिले ९१ अर्बको लोनमा छौं र एक खर्ब प्लस डिपोजिट छ । बैंक एकदम राम्रो ट्र्याकमा छौं । रेगुलेटरले दिएको हरेक प्यारामिटर्स सबै पूरा गरेर आएको बैंक हो ।

बैंक जुनरुपमा अघि बढ्नुपर्ने हो नबढेको मान्नुहुन्छ ?

म मान्दिन, किनभने यो बैंक हो । यहाँ पहिलो काम भनेकै डिपोजिटरको इन्टेष्ट प्रोटेक्ट गर्ने हो । सिनियर म्यानेजमेन्ट टिमले जहिले पनि डिपोजिटरको इन्टेष्टलाई प्रोटेक्ट गर्नुपर्छ । बैंकिङ इन्डष्ट्र भनेको आजको भोलि दोब्बर–तेब्बर नाफा कमाउने व्यवसाय होइन । विस्तारै ग्रो गर्दै अगाडि बढ्ने हो । मेरो धारणा त फलाना बैंकले यति कमायो, उति कमायो भन्ने होइन । निक्षेपकर्ताको हितमा हेर्नुपर्छ । विगतमा कतिपयले आफ्नै पैसा राखेर फिर्ता नआउने अवस्था पनि देख्यौं । बैंकिङ इण्डष्ट्री भनेकै एग्रेसिभ ग्रोथ गर्ने होइन । अरू उद्योग चलाएजस्तो बैंक चलाउने होइन ।

माछापुच्छ्रे बैंकका प्रमोटरहरूलाई सानिमा बैंकमा भएको क्रसहोल्डिङ बेच्न राष्ट्र बैंकले निर्देशन दिएको थियो, के भयो ?

मलाई राष्ट्र बैंकले त्यस्तो निर्देशन दिएको जस्तो लाग्दैन । त्यो बेलामा पनि क्रसहोल्डिङ थिएन । आजको दिनमा यो बैंकमा क्रसहोल्डिङ छैन ।

प्रवद्र्धक समूहका हिसाबले माछापुच्छ्रे बैंक र सानिमा बैंक मर्जरको सम्भावना कतिको छ ?
यो प्रमोटरहरूलाई सोध्नुपर्छ, म्यानेजमेन्टले दिने उत्तर यसमा छैन ।

प्रमोटरलाई दिने प्रतिफल घटेको छ यस्तो कति समय रहला ?

अहिले राष्ट्र बैंकले जुनखाले निर्देशनहरू ल्याइराखेको छ । काउन्टर साइक्लिङ बफरका कुरा छ । स्प्रेडदरका कुरा छ । वेसरेट गणनाविधि छ, यै अवस्थामा यै कुरा रैरह्यो भने बैंकहरूको नाफा बढ्न सक्दैन । स्प्रेड खुम्चिएको छ । यी कुरा आउनुको पछाडि बैंकहरूले मर्जरमा इन्ट्रेस्ट राखुन भन्ने देखिन्छ । पछिल्लो समय करका कुरा आएका छन्, यसलाई स्पेव बाइ स्टेप गर्दैको भए हुन्थ्यो । अहिले लोनको डिमाण्ड नै कम छ ।

नेपालमा बाणिज्य बैंकहरू धेरै भएकोमा सबैको सहमति छ, घटाउने उपाय किन सफल भएको छैन ?

बाणिज्य बैंक धेरै भए १० वटामा झार्नुपर्छ भन्ने लाइमा म होइन । फ्रि मार्केटमा हिजोका दिनमा राष्ट्र बैंकले नै लाइसन्स दिएर आएका बैंकहरू हुन् । रेगुलेट कसरी गर्ने भन्ने हिसाबले राष्ट्र बैंकको जनशक्ति बढाएर बजारमा फ्रि जान दिनुचाहिँ ठिक हो जस्तो लाग्छ । मर्ज गराएर १०/१५ वटामा ल्याउँदा एकदमै राम्रो हुन्छ । विजनेश ग्रोथ हुन्छ नाफा बढ्छ भन्ने मलाई लाग्दैन । कम्पिटीसन त हुन्छ नै । यति धेरै बैंक थिएनन् भने अहिले ओलाङचुङगोलामा समेत बैंकको शाखा पुगेको छ । बैंक धेरै भएर देशको इकोनोमीलाई लस भएको छ र ? रेगुलेट गर्ने कुरामा कम संस्था हुँदा राम्रो रेगुलेट हुन्छ भन्ने हुन सक्ला ।

पछिल्लो समय बेंकहरूले सेयर कर्जामा जोड दिएका छन् । जसले गर्दा सेयर बजार बढिरहेको छ, यस्तो अवस्था कहिलेसम्म रहला ?

मार्जिन लेन्डिङ र रियल स्टेटमा लोन जाने भनेकोचाहिँ अरू रियल सेक्टरमा कम लोन भएका बेलामा जाने हो । हाम्रो बैंकको सेयर कर्जा एकदमै नोमिनल छ । रियल स्टेटमा पनि फोकस गरेर लागेका छैनौं । अरू क्षेत्रमा कर्जाको माग नभएपछि मार्जिन लेन्डिङमा आकर्षित हुने चलन हो ।

अधिकांश बैंकर सिईओहरूको सेयर बजारमा लगानी छ, तपाईकोचाहिँ कति छ ?

सुन्य लगानी छ । मेरो रियल स्टेट सेयरमा कुनै पनि लगानी छैन । हामीसँग खास पैसा पनि हुँदैन । सेयर बजारबाट

कोरोना संक्रमित किशोरीको परिवारको नमुना नै संकलन गरिएन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकी किशोरीको परिवारका सदस्यहरुको अझैसम्म कोरोना परीक्षण नगरेको पाइएको छ ।

चैत ४ गते फ्रान्सबाट दुबई हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण भएको १० गते पुष्टि भएको थियो । फ्रान्सबाट दुबईसम्म सँगै आएकी भियतनामी साथीलाई कोरोना भाइरसको संक्रमण भएपछि उनी बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु गएकी थिइन् ।

उनको टेकु अस्पतालमा उपचार भइरहेको छ । तर, अझैसम्म उनको परिवारका सदस्यहरुको समेत स्वाब संकलन गरेर परीक्षण गरिएको छैन । उनीहरुलाई कोरोना संक्रमणको कुनै लक्षण नदेखिएकाले नमुना जाँच नगरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले बताए ।

‘उहाँहरु अहिले होम क्वारेन्टाइनमा हुनुहुन्छ । कुनै लक्षण देखियो भने मात्र नमुना संकलन गरेर परीक्षण गर्छौं’ पाण्डेले भने, ‘कोरोनाको लक्षण नदेखिएकाहरुलाई क्वारेण्टाइनमा राख्ने मापदण्ड छ, परीक्षण गर्नुपर्दैन ।’

तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संक्रमितको संसर्गमा आएकाहरुको परीक्षणमा जोड दिएको छ । दक्षिण कोरिया, जापान लगायतका मुलुकमा गरिएको परीक्षणमा पनि लक्षण नदेखिएकाहरुमा पनि संक्रमण देखिएको छ ।

यसरी परीक्षण गरेकै कारण कोरोना भाइरसको नियन्त्रण प्रभावकारी भएको छ । तर, त्यसको ठिक विपरीत नेपालमा भने अत्यन्त कम मात्र नमुना जाँच भइरहेको छ ।

सनराइज बैंकद्घारा सातैं प्रदेशमा सुरक्षात्मक उपकरण वितरण गर्दै

सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ २५–२५ थान दिएको छ ।

कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिइ दिएको हो ।
शनिबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार शेन्चुरीलाई २५ थान पिपिइ हस्तान्तरण गर्नुभयो ।

साथै शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशिल शर्मालाई पिपिइ हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताउनु भयो ।

कार्यक्रमा बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने बताउनु भयो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले यस्तो अवस्थामा सन्राइज बैंकले सम्पुर्ण देश बासीलाई थोरै थोरै भए पनि मलम लगाउने उदेश्यले सातैं वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण उपकरण वितरण गर्ने जानकारी दिनुभयो ।