जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

थप एकमा देखियो कोरोना संक्रमण

नेपालमा कोभिड १९ (कोरोना भाइरस) को अर्का एक जना संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक पदाधिकारीले  बताए । संक्रमितको अन्य जानकारी भने खुलाइएको छैन ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

एटीएम नभएका ठाउँमा ११ देखि १ बजेसम्म शाखा खुल्ने

नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले एटीएम नभएका शाखा हरेक दिन ११ बजेदेखि १ बजेसम्म शाखा खोलेर बैंकिङ सेवा प्रदान गर्ने निर्णय गरेको छ । तर, यसरी शाखा खोल्दा स्थानीय सरकारसँग समन्वय गरेर खोल्नुपर्ने छ ।

संकटको अवस्थामा सर्वसाधारणले बैंकमा राखेको पैसा झिक्न पाउन् भन्ने उद्देश्यले एटीएम नभएका शाखा खोल्ने निर्णय गरिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

एटीएम भएका शाखाहरु भने बन्द हुने छन्। एटीएम बुथहरु सञ्चालन हुने छ। बैंकहरुले एटीएममा नियमितरुपमा पैसा हाल्ने छन्।

शाखा कार्यालय बन्द भएका बैंकहरुले त्यहाँको ब्राञ्च म्यानेजर र सेकेन्ड म्यानको नाम, नम्बरलगायतका विवरण सबैले देखिने ठाउँमा राख्नु पर्ने छ। बैंकहरुले आफ्नो वेवसाइटमा पनि यस्तो सूचना राख्नुपर्ने निर्णय भएको छ । जसअनुसार सर्वसाधारणले ब्राञ्च म्यानेजरलाई सम्पर्क गरेर बैंकको शाखामा जाने वा अन्य किसिमले कारोबार गर्न सक्नेछन् ।

यस्तो संकटको अवस्थामा बाहिरबाट सामानहरु ल्याउनुपर्ने भएकाले बैंकहरुले एलसी, ग्यारेन्टी, ट्रेजरीजस्ता सेवाहरु मूख्य कार्यालय र तोकिएको शाखाबाट दिनेछन् ।

एटीएम भएकै ठाउँमा पनि कसैलाई अत्यावश्यक परेको अवस्थामा ब्राञ्च म्यानेजरलाई सम्पर्क गर्नुपर्ने हुन्छ । र, स्थानीय प्रशासनले अनुमति दिएको खण्डमा निश्चित समय खोलेर सेवा दिइने उनले जानकारी बताए ।

यसरी खोलिएका शाखामा काम गर्ने कर्मचारीको सुरक्षाका लागि मास्क, स्यानिटाइजर लगायतको व्यवस्था स्थानीय सरकारसँगको सहकार्यमा पर्नुपर्नेछ । शाखा २ देखि ३ जना कर्मचारीले चलाउने छन।

काठमाडौं उपत्यकाका हकमा भने बैंकहरुले  कम्तिमा ३ वटादेखि ६ / ७ वटासम्म शाखाहरु सञ्चालनमा ल्याउने छन् । त्यसका लागि बैंकहरुले जिल्ला प्रशासन कार्यालयबाट पास लिइसकेको छन् ।

कोरोना अस्पतालमा मृत्यु भएका यादवको नतिजा नेगेटिभ

चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ । उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीसंगै अन्य शङ्कास्पद विरामीहरुको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । सोही अस्पतालमा उपचाररत अर्का एक र भरतपुर अस्पतालमा उपचाररत ८ जनाको पनि नतिजा नेगेटिभ आएको हो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार कोरोना अस्पतालका अन्य चार जनाको नमूना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा पठाइएको छ । वीरगञ्ज–२२ जगन्नथापुरका ३० वर्षीय यादवको कोरोना अस्पतालमा उपचारका क्रममा मङ्गलबार विहान ९ः३० बजे मृत्यु भएको थियो ।

अस्पतालले यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्ष्ण भइ कोरोना अस्पतालमा उपचारका लागि आएका थिए । चितवन मेडिकल कलेजबाट कोभिड– १९ को आशङ्कामा उनलाई रिफर गरिएको थियो । उनको मृत्युसँगै कोरोना हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको थियो ।

एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं

“तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।” विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ ।

कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्यकर्मीको टोलीसहित घरमै गएर उपचार गर्ने रणनीति बनाएको हो । जिल्लाका ९० वडामध्ये ८९ वडामा सडकको सजिलै पहुँच भएकाले घरघरमै गएर उपचार गर्न सम्भव भएको जिल्ला जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले बताउनुभयो । “कोही विरामी भए । एक कल फोन गर्नुहोस् । उपचार लागि तपाईको घरमै आउँछौंं”, उहाँले भन्नुभयो, “कोराना फैलिन नदिनका लागि विरामीको घरदैलोमा उपचार गर्न थालेका छौं ।” कोही विरामी हुँदा घरबाट बाहिर नआउन स्वास्थ्य कार्यालयले जिल्लाबासीलाई आग्रह समेत गरेको छ ।

स्वास्थ्य कार्यालयले सूचनासँगै ९ स्थानीय तहका एम्बुलेन्स र त्यसको चालकको मोवाइल नम्बर सहितको सूचना जारी गरेको छ । यी नम्बरहरुमा फोन आउनासाथ तुरुन्त त्यही पुगेर विरामीलाई जिल्ला अस्पतालमा ल्याइने जनस्वास्थ्य अधिकृत रेग्मीले जानकारी दिनुभयो । “हामीले जिल्लाका सबै एम्बुलेन्स चालकहरुको नम्बर सामाजिक सञ्जाल, रेडियो र सम्पूर्ण स्वास्थ्य चौकीका सूचना पार्टीमा टाँसी सकेका छौं”, उहाँले भन्नुभयो ।

सबैले यो अनुरोधलाई आत्मसाथ गरे कोही कसैले उपचार नपाएर यो लक डाउनमा ज्यान गुमाउन नपर्ने उहाँको भनाइ छ । लकडाउन भएको बेला उद्दारका लागि १० एम्बुलेन्स तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमितका लागि दैलेख अस्पतालमा १५, महावुमा ५, दुल्लू नगरपालिका ५, भगवतीमाई गाउँपालिकामा ५ वटा आइसोलेशन शैय्या र नारायण क्याम्पसमा १०० शैय्याकोे क्वारेन्टाइन तयार पारिएको उहाँले जानकारी दिनुभयो । देशभर लकडाउन ः स्वास्थ्यकर्मी जुवातासमा कोराना भाइरस (कोभिड–१९)को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ ।

यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रिझेको पाइएको छ । गाउँपालिकाको सिमाना गिताचौरमा स्थापित ‘हेल्थ डेस्क’मा खटिएका स्वास्थ्य चौकी काँसिकाँधमा कार्यरत अहेव यूवराज शाही स्थानीयवासीसँग तास रिझेको पाइएको हो । जुवातासबाट एकअर्कामा सरूवा रोगहरू सर्न सक्ने चिकित्सकहरूको भनाइ छ ।

गाउँपालिकाले कोभिड–१९ प्रतिकार्य योजना अन्र्तगत गाउँपालिकाका ४ वटा सिमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई पाउने सेवा सुविधामध्ये थप आधा महिना बराबरको सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको जनाएको छ । कोरोनाको त्रास ः गाउँघर असुरिक्षत बन्दै, शहर सुरक्षित हँुदै विश्वभरि महामारीको रुप लिएको ‘कोभिड –१९’ ले दैलेख जिल्ला सरमुकामलगायत अन्य बजार सुनसान छन् भने गाउँघरमा चहलपहल बढ्दै गएको छ ।

शहरदेखि भारत वा तेस्रा मुलुकबाट गाउँमा मानिस फर्किएपछि शहर सुनसान र गाउँतिर चहलपहल बढेको हो । विदेशबाट फर्किएकालाई स्वास्थ्य चेकजाँच गरि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्थाले शहर सुरक्षित छ भने गाउँघरमा ‘हेल्थ डेस्क’ वा क्वारेन्टाइन नहुँदा जोखिम बढदै गएको स्थानीयवासीको भनाइ छ ।

जिल्लाका ११ स्थानीयतहमध्ये आठविस नगरपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिका, भवतीमाई गाउँपालिका र दुल्लू नगरपालिकामा आइसोलेशन शैय्या तयार पारिएको छ भने अन्य गाउँपालिकामा न त क्वारेन्टाइन शैय्या तयार पारिएको छ, न त आइसोलेशन शैय्या नै । ती गाउँपालिका र नगरपालिकामा आइसोलेशन शैय्या र क्वारेन्टाइन नहुँदा विदेशबाट फर्किएका मानिस निर्धक्कसाथ गाउँघरमा जाने गरेका छन् । स्वास्थ्य जाँच नै नगरी गाउँघरमा जानाले कोरोना भाइरसको सङ्क्रमण फैलिने त्रास बढेको ठाटीकाँध– १ का नामबहादुर शाहीले बताउनुभयो । “गाउँपालिकाले ‘हेल्थ डेस्क’ आइसोलेशन शैय्या र क्वारेन्टाइन नबनाउँदा भारत वा तेस्रो मुलुकबाट गाउँ फर्किएका मानिस निर्धक्क घर आएका छन, यसले जनतामा त्रास फैलाएको छ ।

क्वारेन्टाइन बनाउन गाउँपालिका उदासिन बनेको छ”, उहाँले आरोप लगाउनुभयो । “हेल्थ डेस्क राकममा छ । त्यहाँभन्दा सात्तला, टुनीवगर, सिगौडी घर भएका मानिस स्वास्थ्य चेक जाँच नगरेर घर लाग्छन । गाउँमा आएकालाई क्वारेन्टाइन छैन् । क्वारेन्टाइन नहुँदा घरमै बस्नुपर्ने बाध्यता छ । त्यसैले शहर भन्दा गाउँघर असुरक्षित बन्दै गएका हुन्”, आठविस नगरपालिकाका चन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा भारतबाट फर्किनेको लर्को लागेर आएका छन् । स्वास्थ्य केन्द्रमा डाक्टर छैनन् । गाउँपालिकाले कोरोना बारे जनचेतना जगाउने काम गरेको छैन । सूचना जारी मात्र गरेको छ ।

यसले जोखिम बढाएको छ ।” त्यसैगरि कोभिड– १९ सङ्क्रमणबाट बच्नका लागि चामुण्डा विन्द्रासैनी नगरपालिकाले घरदैलो अभियान गरि स्थानीयवासीमा जनचेतना फैलाउने काम गरेको छ भने भने कर्णाली राजमार्गस्थित साँगेतडा बजार र मध्यपहाडी राजमार्गको पादुकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने नगरप्रमुख सूर्यबहादुर शाहीले जानकारी दिनुभयो । सङ्क्रमणलाई फैलिन नदिनका लागि तेस्रो मुलुक वा भारतबाट घर फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइन राख्ने निर्णय गरेको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताउनुभयो । सोमबार बसेको विपद् व्यवस्थापन समितिको वैठककले सो निर्णय गरेको हो । उहाँले भन्नुभयो, “भारतबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र स्वास्थ्य जाँचपछि मात्रै घर जान दिने निर्णय भएको छ ।”

भारत तथा तेस्रो मुलुकबाट गाउँपालिकामा आउने स्थानीयवासी तथा विदेशी नागरिकलाई स्वास्थ्य चेकजाँचका लागि पञ्चदेवल मावि रावतकोट र गौरी मावि बाँलेकाँडामा क्वारेन्टाइन निर्माण गर्ने तयारी गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट गाउँपालिकामा आउनेहरुको नाम, ठेगाना, आएको स्थान लगायतको विवरण वडासचिव मार्फत सङ्कलन गर्ने गाउँपालिकाले जनाएको छ । दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले दुल्लू अस्पताल र विनायकमा क्वारेन्टाइन बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सबै वडाअध्यक्षलाई भारत वा विदेशबाट फर्किएकाको लगत सङ्कलन गर्ने काम गरेका छौं । ती सबैलाई स्वास्थ्य चेक जाँच गर्नका लागि स्वास्थ्यकर्मीलाई घरदैलो अभियानामा खटाउने छौं ।”

जिल्ला विपद् व्यवस्थापन समितिले भारत वा तेस्रो मुलुकबाट घर फर्केका लागि नारायण क्याम्पसमा १०० शैय्याको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । विदेशबाट वा तेस्रो मुलुकबाट फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेक जाँच राम्रो देखिए मात्र घर पठाउने नगरप्रमुख घनश्याम भण्डारीले बताउनुभयो ।

ग्यास खरिदबिक्रीमा नयाँ नियम

सरकारले मंगलबार बिहानबाट देशभर लकडाउन लागू गरेपछि नेपाल आयल निगमले खाना पकाउने ग्यासको सहज बिक्री वितरणका लागि बुधबारबाट लागु हुने गरी नयाँ नियम ल्याएको छ।

आयल निगमका अनुसार ग्यास उद्योगहरूले डिलरमार्फत ग्याँस बिक्री वितरण गर्ने कार्य अर्को सूचना नआएसम्म लागि बिक्रेतालाई पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बर लगायतका विवरण खुल्ने कागजात अनिवार्य गरेको छ।

त्यस्तै, ग्यास उद्योगीहरुले आफूसँग भएको ग्याँसको शुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा स्टाण्डवाई बसेको बुलेटको परिमाण गोदाममा भरिराखिएको सिलिण्डरको परिमाण र आंघल्ला दिन बिक्री वितरण गरिएको परिमाणसहितको क्लोजिङ स्टक देखिने विवरण आयल निगमलाई बुझाउनुपर्नेछ।

मासिक रुपमा ‘एक परिवार एक सिलिन्डर’का आधारमा वितरण प्रणाली अपनाई उपत्यकाको लागि निगम केन्द्रीय कार्यालय, निगमको स्थानीय कार्यालय भएको जिल्लामा स्थानीय कार्यालय र ३० निगमको कार्यालय नरहेको जिल्लामा, जिल्ला प्रशासन कार्यालयमा यस्तो जानकारी दिनुपर्नेछ।

बिक्रेताले यसरी ग्यास बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रष्ट खुलेको रेकर्ड राख्नु पर्ने व्यवस्था समेत निगमले गरेको छ। उक्त रेकर्डका आधारमा जिल्ला प्रशासन वा निगमले अनुगमनको जुनसुकै बेला माग गर्न सक्नेछ।

वर्तमान अवस्थामा ग्यास उद्योगहरुको भण्डारण अत्याधिक न्यून रहेको हुनाले ग्यास उद्योगको भण्डारण गृहलाई नेपाल आयल निगमले नेपाल सरकारको आकस्मिक परिस्थितिजन्य मागलाई धान्नको लागि भण्डारण गृहको रुपमा प्रयोग गर्नसक्ने निर्णय पनि निगमले गरेको छ। यस्तो भण्डारण गृहमा गरिने मौज्दात सम्बन्धित उद्योगको भण्डारण क्षमताको करिव ५० प्रतिशत सम्म हुने र एक महिना भित्र उक्त कार्य पुरा गर्ने व्यवस्था मिलाइने जानकारी निगमले दिएको छ।

अत्यावश्यक सेवाको सुनिचितताको लागि प्रत्येक ग्यास उद्योगले आफनो उद्योगको २ दिनको सिलिण्डर बिक्री बराबरका परिमाण तयारी अवस्थामा राख्नु पर्ने र तयारी अवस्थामा राखिएको सिलिण्डरको बिक्री वितरण उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयले दिएको निर्देशन बमोजिम गर्नु पर्नेछ।

बैकिङ्ग सेवा सम्वन्धि जानकारी सम्बन्धमा

कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिरहेको र नेपालमा समेत यसको प्रभाव वढ्दै गैरहेकोले उक्त कोरोना भाईरसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लक डाउन गर्ने निर्णय गरे सँगै यस डेभलपमेन्ट बैंकले हाम्रा ग्राहक महानुभावहरुमा दिदै आएको सेवामा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै यस बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी वैकिङ्ग सेवा लिनुहुन हाम्रा सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गरिएको जानकारी गराइन्छ ।

वर्तमान अवस्थाले ग्राहक महानुभावरहरुलाई यस डेभलपमेन्ट बैंकबाट प्राप्त हुने सेवामा कठिनाई हुने तर्फ यस डेभलपमेन्ट बैंक सजग रहेको व्यहोरा सम्पूर्ण ग्राहक महानुभावहरुलाई जानकारी गराउँदै यस विशम परिस्थितिमा यस डेभलपमेन्ट बैंकका आदरणीय ग्राहक महानुभावहरुमा आधारभुत बैकिङ्ग सेवा सम्वन्धि कुनै कठीनाई भएमा प्रदेश नं. १ उमेश खड्का ९८५२०५५०६३, संजिव वराल ९८५२६६५३३३,गोरखा क्षेत्र महेश अधिकारी ९८५१०३८२५४, सन्दिप श्रेष्ठ ९८५६०४४२४४,काठमान्डौं क्षेत्र आश कुमार जरेजु९८४१६९१०५१, विश्वरन्जन पाण्डे ९८४१७३७६१८,प्रदेश नं. २ युवक ठकुरी ९८०४८४८८५०, दिपक भण्डारी ९८४९९१०८८७, मकवानपुर क्षेत्र रुपक मैनाली ९८५१०५१८३५ रविन कुमार भट्ट ९८५८०३५८१५, पोखरा क्षेत्र बुद्धि प्रसाद तिवारी ९८५६०५६३७८ रिता शाक्य ९८५६०३७०९०, भरतपुर क्षेत्र दिपेन्द्र सुवेदी ९८५६०२९८५५, अजित भट्ट ९८४५०४८०९०, बाग्लुङ्ग क्षेत्र हरि अधिकारी ९८५७६२६६००, बुटवल क्षेत्र बालकृष्ण पाण्डेय ९८५७८३१६५९, दाङ्ग क्षेत्र सुशिल वस्नेत ९८४८०५८६१२, नेपालगन्ज क्षेत्र जयन्द्र खड्का ९८५८०२२९५१, राम बहादुर विक ९८४८०२२६७६, देव राज न्यौपान ९८५८०७५५००, कर्णाली प्रदेश सुरेन्द्र वहादुर विष्ट ९८४८०२६८९२, सुदुर पश्चिम प्रदेश देवेन्द्र वम ९८५१११७७२७, गणेश साउद ९८६४३०५२६३ मा सम्पर्क गरी यस डेभलपेन्ट बैंकबाट प्रदान हुने आधारभुत बैंकिङ्ग सम्बन्धी सेवाका बारेमा जानकारी लिनुहुनेछ ।

तीन डीआईजीको एआईजीमा बढुवा

सरकारले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गरेको हो ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिले १५ फागुनमै लम्साल, क्षेत्री र पाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री मृर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद बैठक बस्न नसकेकाले सिफारिस उपर निर्णय हुन समय लागेको थियो ।

हाल सुदूरपश्चिम प्रहरी प्रमुख रहेका लम्साल वर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ब्याची हुन् । उनीहरुले २५ असार २०४७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

क्षेत्री र पाल १९ वैशाख २०४९ मा नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृत हुन् । क्षेत्री र पालमध्ये एक जनाले २४ असार २०७६ पछि नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् । यदि ३० वर्षे सेवाअवधि हटे ठाकुरकै कार्यकाल लम्बिनेछ ।

हाल क्षेत्री केन्द्रीय प्रहरी प्रवक्ता छन् भने पाल आतंकवाद र विशेष प्रकृतिको अनुसन्धानमा खटिने विशेष ब्युरोको नेतृत्व गरिरहेका छन् ।

कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । अहिले कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।

आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

लक डाउनमा खाद्यले मोबाइल भ्यानबाट चामल

लक डाउन भएपछि उपभोक्तालाई खाद्यान्नको  अभाव हुन नदिन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मोबाइल भ्यानबाट सेवा दिने भएको छ।

कम्पनीले आफ्नो बिक्री कक्ष बन्द नगरी सेवा  दिने  र कम्पनीका गाडीहरु  समेत बन्द नगर्ने बताएको छ। कोरोना भाइरस(कोभिड-१९) फैलन नदिन सरकारले राजधानीमा लक डाउन गरेपछि  खाद्य कम्पनीले मोबाइल भ्यानबाट २४ सै घण्टा सेवा दिने भएको छ। कार्यालय समयमा मात्रै सञ्चालन हुँदै आएका कम्पनीका आउटलेटहरु थप समयसम्म संचालनको ब्यबस्था समेत मिलाएको छ।

कम्पनीले मोबाईल भ्यान मार्फत उपभोक्ताहरुलाई पायक पर्ने स्थानमै पुगेर सेवा दिने तयारी रहेको कम्पनीका नायब महाप्रवन्धक श्रीमणी खनालले बताए। ‘कार्यालय समयमा मात्रै आउटलेट सञ्चालनमा थिए, अहिलेको अवस्थामा उपभोक्ताहरु बिक्री कक्षमा आउन असम्भव छ, मोबाईल भ्यान मार्फत सेवा दिन्छौ’ उनले भने।

कोरोना भाइरस संक्रमणको त्रासले सरकारको यसलाइ समयमै  सर्जकता अपनाउन  भिडभाड कम गर्न, अत्यावश्यक सेवा बाहेक सबै कामहरु बन्द गर्न आग्रह गरेको छ। उनका अनुसार शहर लक डाउन भएपछि  उपभोक्तालाइ खाद्यान्नको  अभाव हुन नदिन मोबाइल भ्यानबाट बिक्रीको तयारी सुरु भएको छ।

कम्पनीले खाद्यन्न अभाव नहोस् भन्नका लागि काठमाडौंका लागि मात्र  थप १ लाख टन चामल नियमित बिक्रीको  लागि  खरिद गर्न लागेको समेत जनाएको छ । कोरोनाका कारण बजारमा  अभाव हुने डरले  हाल उपभोक्ताहरुले खाद्यान्नको बिक्री गरी केही समयको लागि पुग्ने मौज्दात राखिसकेका छन् । कम्पनीसँग हाल २६ हजार टन चामल मौज्दात रहेको पनि खनालले जानकारी दिए।

हाल कम्पनीको ३ वटा खुद्रा बिक्री कक्षबाट  खाद्यान्न तथा इन्डक्शन चुलो बिक्री भइरहेको छ । हालको समयलाई मध्यनजर गर्दै  उपभोक्ताको सर्हजका लागि कम्पनीले  केही समयमा जाउलाखेल र सुर्यविनायकमा थप बिक्री कक्ष खोल्ने भएको छ। सय भन्दा बढी स्थानमा बिक्री कक्ष बनाएको कम्पनीले आपूर्तिमा केहि समस्या नआउने भन्दै सर्वसाधारणलाई आश्वस्त पारे।

डिलर र विभिन्न सहकारीबाट बिक्रीको काम भइरहने  र कार्यालय समयमा मात्र संचालन हुने बिक्री कक्ष अवस्था आए कम्पनीले समय थपेर पनि संचालन गर्ने उनले जानकारी दिए।

लक डाउन भएपछि नेपाल साल्ट ट्रेडिङ  कर्पोरेशनले पनि सरकारको नियम अनुसार तोकिएको ठाउँबाट बिक्री गर्ने भएको छ। कोरोनाको कारण एसटीसी ग्यास, चिनी तथा नुन अभाव हुन नदिने भन्दै आगामी ६ महिनासम्मको  मौज्दात रहेको कम्पनीका सुचना अधिकृत कुमार राजभण्डारीले बताए। कम्पनीले हाल तीनवटा बिक्री कक्षबाट बिक्री गरिरहेको छ।

बीमासम्बन्धी विशेष व्यवस्था

बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले ‘लकडाउन’ गरेको अवस्थामा सो अवधिका लागि बीमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ ।

समितिले सूचनामार्फत निर्जीवन बीमा कम्पनीहरुले बीमालेखको अवधि समाप्त हुनुअघि नै बिमितलाई पर्याप्त सचूना उपलब्ध गराई सूसुचित हुने व्यवस्था गरिएको साथै बीमालेख जारी गर्दा वा नवीकरण गर्दा जुनसुकै माध्यमबाट बीमा शुल्क सङ्कलन गर्ने व्यवस्था समेत गरिएको जनाएको छ ।

यसैगरी जीवन बीमा कम्पनीतर्फ हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था समेत गरिएको छ ।

बीमाको नियमनकारी निकाय बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेको वर्तमान अवस्थामा सो अवधिका लाागि उक्त व्यवस्था गरिएको इजाजतपत्र प्राप्त सबै बीमा कम्पनी, बिमित, एवं सर्वसाधारणलाई एक सूचनामार्फत जानकारी गराउनुभएको हो ।

कोरोनाले घोडेजात्रा स्थगित

नेपाली सेनाले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिनमा टुँडिखेलमा आयोजना गर्ने घोडेजात्राका सबै कार्यक्रम कोरोना भाइरसको सङक्रमणके जोखिमका कारण स्थगन गरेको छ । सोमबारसम्म जात्राको तयारी गरिएकामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सरकारले मङ्गलबारदेखि देशभर लकडाउन गरेको छ ।

लकडाउनका कारण नेपाल प्रहरी खटिइसकेकाले आदेश आएमा प्रहरीको सहयोगका लागि खटिन तयारी अवस्थामा बस्नुपरेको उल्लेख गर्दै घोडेजात्राको कार्यक्रम स्थगित गरिएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले राससलाई जानकारी दिनुभयो । जात्राको प्रभावले थप सङ्क्रमण फैलन सक्ने भएकाले पनि यस वर्ष रोक्नुपर्ने अवस्था आएको सेनाले जनाएको छ । जात्राका लागि टुँडिखेलमा सेनाले सबै तयारी पूरा गरेको थियो ।

विगत वर्षमा घोडेजात्रामा २४ खेल प्रदर्शन गर्ने गरेकामा यस वर्ष १५ खेलमात्र प्रदर्शन गर्ने सेनाको तयारी थियो । यसका लागि अभ्यास र साजसजावट लगायत तयारी पनि पूरा भएको थियो । विशिष्ट अतिथि, अतिथि लगायत नबोलाई सीमित मानिसका बीच सेनाले यस वर्ष साङ्केतिक रुपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको थियो । साङ्केतिक रुपमा पनि मनाउन उपयुक्त वातावरण नदेखिएपछि स्थगन गरिएको हो ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । कोरोना भाइरसका सन्त्रासका कारण सबैतिरका घोडेजात्रा प्रभावित भएका छन् ।

अमेरिकी डलरको भाउमा उच्च वृद्धि

विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो ।

कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको मूल्य अनुसार एक अमेरिकी डलरको बिक्री दर १२२ रुपैयाँ ३४ पैसा र खरिद दर १२१ रुपैयाँ तोकिएको छ ।

डलरको तुलनामा भारु कमजोर भएर १ अमेरिकी डलर बराबर भारु ७६ पुगेकाले त्यसको प्रभाव नेपाली मुद्रामा समेत परेको हो । गत फागुन १८ गते अर्थात मार्च एक तारिखका दिन अमेरिकी डलर एकको खरीददर ११५ रुपैयाँ २० पैसा रहेको थियो भने बिक्री दर ११५ रुपैयाँ ८० पैसा रहेको थियो । केन्द्रीय बैंकका अनुसार यूरो एक बराबर खरीद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै पाउण्ड स्ट्रलिङ एक बराबर खरीददर १४० रुपैयाँ ११ र बिक्री दर १४० रुपैयाँ ८० पैसा तोकिएको छ ।