जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • प्रहरीले आफ्नो दशैँ बिर्सेर रातदिन खटिइरहेका छन्

प्रहरीले आफ्नो दशैँ बिर्सेर रातदिन खटिइरहेका छन्

‘पछिल्लो पटक मैले लामो विदा लिएर आफ्नो गाउँमा परिवारसँग दशैँ मनाएको वि सं २०५२ सालमा हो,’ केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोख्रेलले आफ्नो दशैँ अनुभव सुनाउनुभयो, ‘त्यसपछि फेरि कहिल्यै त्यस्तो अवसर नै जुटेको छैन ।’

केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकृत विश्वराज पोखरेलले प्रहरीमा प्रवेश गरेको २७ वर्ष भयो । करिब तीन दशक लामो यस यात्रामा चाडवाडले हर्षोल्लास भन्दा पनि जिम्मेवारी बोकेर आउने उहाँ बताउनुहुन्छ । वि सं २०४९ सालमा प्रहरी सेवामा नियुक्त हुनुभएको उहाँले जनयुद्ध शुरु हुनुअघि २०५२ सालमा ओखलढुङ्गामा दशैँ मनाउनुभएको थियो । त्यसै वर्ष विवाह पनि भएकाले त्यो दशैँ पोखरेलका  लागि खास थियो । त्यसपछि ओखलढुङ्गाको आशीर्वाद थाप्न जाने मौका मिलेको छैन उहाँलाई ।

हुन पनि, आफ्नो दैनिकीबाट केही दिन सापट लिएर अधिकांशले आफ्नो परिवार र आफ्ना आफन्तको माझमा रमाइलो गर्दै मनाउँछन् दशैँ । तर, सबैजना नयाँ लुगामा ठाँटिएर टिका थाप्न तयार भइरहँदा उनीहरुको सुरक्षाको निम्ति आफ्नो बर्दीमा तैनाथ रहनुपर्ने छुट्टै जिम्मेवारी हुन्छ, प्रहरीमाथि ।


आफूले दशैँ मनाउने भन्दा पनि अरुका निमित्त दशैँ मनाउने सहज वातावरण सिर्जना गर्नुपर्ने अहम् जिम्मेवारी भएकाले पनि चाडवाडको समय झन् बढी व्यस्तता हुने बताउनुहुन्छ पोखरेल । ‘बर्दीको ओज अचम्मको हुन्छ, एकपटक लगाइसकेपछि चाहे व्यक्ति बर्दीमा होस् या नहोस् उसलाई सधैं आफू अन्य व्यक्तिको सुरक्षाको लागि खटिएको छु भन्ने अनुभूतिले पछ्याइरहन्छ,’ पोखरेल भन्नुहुन्छ ।
दशैँमा छुट्टी नपाइने, पाइएपनि अप्रत्यासित घटना भएमा तुरुन्तै ‘ड्युटी’मा उपस्थित हुनुपर्ने जस्ता कुरा सामान्य हुन् सुरक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागि । पोखरेल पनि त्यसबाट अलग रहनुभएको छैन ।

त्यसैले त दशैँमा आफ्ना परिवारसँग रमाइरहेको वेला बर्दीले बोलाएकै कारण साइतको टिका छोडेर काममा जानुपरेको छ उहाँले । २०५३ सालमा इन्सपेक्टर हुँदाताका साइतको टिका छाडेर अपराधी पक्रन जानुपरेको क्षणका बारेमा सुनाउँदै उहाँले भन्नुभयो, ‘म हनुमान ढोकाको अपराध महाशाखामा कार्यरत थिएँ, काठमाडौंको सोह्रखुट्टेमा छुरा प्रहार भएको घटना सुन्नसाथ मैले दशैँमा साइतको टिका छाडेर घटनास्थलमा जानुपरेको थियो ।’
वकिल बन्छु भनेर ओखलढुङ्गाको रुम्झाटारबाट काठमाडौंको यात्रा तय गर्नुभएको पोखरेललाई जीवन यात्राले ‘बर्दी’सम्म डो¥यायो । बर्दीको शानसँगै आउने यसका चुनौतीहरुका बारेमा बुझ्दै जाँदा वेग्लै किसिमको ‘थ्रिल’ अनुभव भएको बताउनुहुन्छ विश्वराज । ‘जति दुःख भयो उति नै आनन्द पनि आउँछ यस पेशामा,’ मुस्कुराउँदै उहाँ आफ्नो वाक्यलाई प्रष्ट्याउनुहुन्छ, ‘दशैँमा आफ्नो परिवारलाई समय दिन नसक्नुको पीडालाई देशभरिका नागरिकको रातो निधार र मुस्कुराइरहेको मुहारले भुलाइदिन्छ ।’

अहिले पोखरेलको काँधमा सारा देशमा हुने घटना र प्रहरी गतिविधिको जानकारी दिनुपर्ने जिम्मेवारी छ । निकै संवेदनशील ओहोदामा भएकाले पनि २४ घण्टै तैनाथ रहनुपर्ने उहाँ बताउनुहुन्छ । ‘सबै नागरिकले सुरक्षितसाथ दशैँ मनाउनु नै हाम्रो लागि सफल दशैँ हो,’ उज्यालो मुहार र गहकिलो आवाजमा विश्वराज भन्नुहुन्छ, ‘हामीले सत्य, सेवा र सुरक्षाको शपथ जो लिएका छौं ।’

त्यस्तै, सुदूर पश्चिमको धनगढी घर भएका महानगरीय प्रहरी परिषद् काठमाडौंका एसपी अशोक सिंहले ६ वर्ष भयो आफ्ना परिवारसँग दशैँ नमनाएको । यो वेला सबैभन्दा बढी अपराधिक क्रियाकलाप नै राजधानीमा हुने भएकाले राजधानीको सुरक्षा ‘आफ्नो दशैँ’ भन्दा धेरै महत्त्वपूर्ण भएको उहाँ बताउनुहुन्छ ।

‘राजधानीको सुरक्षाको लागि मात्रै यस वर्ष ४ हजारभन्दा बढी प्रहरी खटाइएको छ,’ सिंह भन्नुहुन्छ, ‘ममात्र होइन ती ४ हजार प्रहरीले आफ्नो दशैँ बिर्सेर रातदिन फिल्डमा खटिइरहेका छन् ।’

राजधानीको सुरक्षाको विषयमा उहाँ थप्नुहुन्छ, ‘आउटर रिङ, इन्टर मेडिएट रिङ र कोर रिङ अर्थात् क्रमशः नाका, रिङ रोड क्षेत्र र त्यसभित्रका क्षेत्र गरेर हामीले ३ वटा तहमा राजधानीलाई सुरक्षा दिइरहेका छौं ।’

त्यसो त दशैँमा घर जान नपाएका फौजीहरुले आफ्नै कार्यक्षेत्रलाई घर मान्छन् । आफूभन्दा माथिल्लो ओहोदाका प्रहरीबाट टिका र आशीर्वाद थाप्छन् । रमाइलो गर्छन् । सिंहले ६ वटा दशैँ यसैगरी मनाउनुभएको छ र यसपालि पनि यसैगरी मनाउने बताउनुहुन्छ उहाँ । भन्नुहुन्छ, ‘हामी फौजीलाई के दशैँ, के तिहार !

महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेका प्रहरी नायव उपरिक्षक सन्तोष सिंह राठौरलाई भने दशैँ सँगसँगै ठमेल क्षेत्र सुरक्षाको उत्तिकै चटारो छ । भन्नुहुन्छ, ‘सबैभन्दा बढी पर्यटक भित्रिने समय यही भएकाले दशैँमा आफ्ना जनताको सुरक्षा त छँदै छ, विदेशीहरुका निमित्त पनि सुरक्षित र व्यवस्थित वातावरण कायम गर्ने जिम्मेवारी छ ।’

‘फेरि यसपालि असोज २४ गते पुलिस डे र त्यस लगत्तै चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण कार्यक्रम भएकाले राजधानीका कुनै पनि प्रहरीले छुट्टि पाएका छैनन्,’ राठौर थप्नुहुन्छ ।

त्यसैले यस वर्ष सबैजनाले आफूभन्दा सिनियर प्रहरीको हातबाट टिका थापेर दशैँ मनाउने योजना रहेको उहाँले सुनाउनुभयो ।
‘हामीले न्यास्रो मान्यो भने हामीभन्दा साना प्रहरी जवानहरुको हालत के होला ?’ गर्विलो लवजमा उहाँ भन्नुहुन्छ, ‘हामी त बर्दीमै टिका थाप्छौं ।’

दशैँको रमझम छ । रेडियो, टिभीले मञ्जुश्री धुन बजाउँछन् । मौसमले काँचुली फेर्छ । पढाइ र कमाइका लागि घरको सँघार नाघेका छोराछोरी फर्किन्छन् । गाउँ खुसी देखिन्छ । आकाशमा चङ्गा उड्छ, युवायुवती पिङमा मच्चिन्छन् । मीठोमसिनो खाने, नयाँलुगा फेर्ने, टिकाजमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने आखिर वर्षभरिमा आफ्नै लागि बाँच्ने समय यही न हो ।

ढोकामा ताल्चा लगाएर शहरबाट सपरिवार निर्धक्क गाउँतर्फ लाग्छन् । चाडवाडको मौका छोपेर चोरको विगविगी हुँदा पनि घरबेटीको आँखामा चैनको निन्द्रा पर्छ । टिकट काउन्टरमा हुने लफडा होस् या बाटामा आइपर्ने झमेला सबैबाट मुक्त भएर सबैजना आनन्दले चाडवाडको वेला आफ्नो परिवार, आफ्ना आफन्तसँग रमाइलो गर्छन् । हो, हामी यति निश्चिन्त हुन हाम्रो सुरक्षाको लागि खटिएका प्रहरीमाथी हामीलाई पूर्ण विश्वास छ ।किनकी हामीलाई थाहा छ, हाम्रा फौजीले हाम्रो सुरक्षाको जिम्मेवारी लिएका छन् ।

त्यसो त राष्ट्रसेवक यी कर्मचारीको भावना र वेदना समेटेर बनाइएको गीत हो, ‘फौजीलाई कुन हो दशैँ, कुन हो चाड तिहार ?’ रेडियो, टिभीमा यो वेला मञ्जुश्री धुनसँगै सबैभन्दा बढी घन्किने यो गीतमा चाडवाडका वेला फौजीले गर्ने गाउँघर र परिवारको सम्झनालाई शब्दमा उनिएको छ । गीतको भिडियोमा प्रहरी जवान बर्दीमै रातो टिका र जमरामा सजिएर नाचगान गरेको देखिन्छ । जो सुकैको मुटु निचोर्ने यस गीतमा फौजीको आत्मा बोल्छ । हाम्रा सुरक्षाका लागि आफ्नो खुसी सहजै त्याग्ने सम्पूर्ण राष्ट्रसेवकलाई बडा दशैँको शुभकामनासहित हाम्रो सलाम ।  (एसपी अशोक सिंह र प्रहरी नायव उपरिक्षक सन्तोष सिंह राठौरको तस्विर उहाँकै सामाजिक सञ्जाल फेसबुकबाट लिइएको

9995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका