जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको छः आईएमएफ

राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको छः आईएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मुलुकका बाह्य सूचक सकारात्मक अवस्थामा रहे पनि आन्तरिक आर्थिक गतिविधिमा कमी आएकाले अर्थतन्त्रमा चुनौती कायमै रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकले समयमै ल्याएको कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको, मुद्रास्फीति घटाएको र कोभिडपछिको आर्थिक पुनरुत्थान बलियो रहेको कोषले औंल्याएको हो ।

कोषले जारी गरेको आर्टिकल फोर प्रतिवेदनमा सरकारले अर्ध–वार्षिक बजेट समीक्षामार्फत वित्तीय जोखिम न्यूनीकरणलाई सम्बोधन गर्न खोजेकाले भविष्यमा त्यसले सकारात्मक प्रभाव पार्ने जनाइएको छ । यद्यपि यसअघि लामो समयसम्म आयात प्रतिबन्धको निर्णयले नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको प्रतिवेदनको दाबी छ । कोषको प्रतिनिधिमण्डलले नेपालको वित्तीय तथा मौद्रिक नीतिसँगै समग्र आर्थिक अवस्थाको अध्ययनबाट हरेक वर्ष आर्टिकल फोर प्रतिवदेन तयार गर्छ ।

आर्थिक वर्ष सन् २०२२/२३ को पहिलो ६ महिनामा राजस्वमा आएको १६.५ प्रतिशतको गिरावट, सरकारी खर्चमा भएको ११.२ प्रतिशतको वृद्धि र ब्याजदर बढ्ने जस्ता कारणले नेपालको आन्तरिक अर्थव्यवस्थामा चुनौती कायम रहनुका साथै पुँजीगत बजेट खर्चसमेत सन्तोषजनक नरहेको कोषको मूल्यांकन छ ।

चालु आर्थिक वर्षको वित्तीय घाटा ४.५ प्रतिशत पुग्ने कोषको अनुमान छ । चालु खाता घाटा भने जीडीपीको ५.२ प्रतिशत पुग्ने उसको प्रक्षेपण गरेको छ । यद्यपि आर्थिक वर्षको आगामी अवधिमा पर्यटन क्षेत्रमा केही सुधार हुने तर वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूका कारण उक्त सन्तुलन खासै फाइदाजनक नहुने कोषको अनुमान छ । रुस–युक्रेन युद्धले बढाएको महँगीलगायत कारणले नेपालको ऊर्जा, खाद्य सुरक्षाजस्ता क्षेत्रमा सुस्तता आउन सक्ने भन्दै कोषले विश्वव्यापी मन्दीको असर विस्तारै नेपालले पनि झेल्नुपर्नेमा सचेत गराएको छ ।

चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ४.४ प्रतिशत रहने र आगामी वर्ष यो दर ५.१ प्रतिशत पुग्ने कोषको प्रक्षेपण छ । यो राष्ट्रिय तथ्यांक कार्यालयले गत साता सार्वजनिक गरेको भन्दा बढी हो । कार्यालयले चालु आर्थिक वर्षमा उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएको, खाद्यान्न र तेलको घट्दो अन्तर्राष्ट्रिय मूल्य, नियमित हुँदै गएको भारतको मुद्रास्फीति र नेपालको घट्दो घरेलु मागका कारण यस वर्ष नेपालको मुद्रास्फीति ७.१ प्रतिशत हाराहारीमा रहने कोषको अनुमान छ । सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति दर ७ प्रतिशतभित्रै कायमै राख्ने लक्ष्य राखेको थियो ।

केही महिनादेखि रोकिएको आईएमएफले नेपाललाई प्रदान गर्ने विस्तारित कर्जा सुविधा (एस्टेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) अन्तर्गतको दोस्रो किस्ता स्वीकृत भएको छ । अमेरिकाको वासिङ्टन डीसीमा बसेको आईएमएफ सञ्चालक समिति बैठकले ईसीएफअन्तर्गतको दोस्रो किस्ता भुक्तानी दिने निर्णय गरेको हो । विस्तारित कर्जा सुविधा लिँदा नेपालले गरेको प्रतिबद्धता समीक्षा गर्दै दोस्रो किस्ता भुक्तानी दिने निर्णय गरेको हो । यसअघि आफूले गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै आईएमएफले करिब एक वर्षदेखि दोस्रो किस्ताको भुक्तानी रोकेको थियो । यो निर्णयसँगै अब नेपालले दोस्रो किस्ता ५ करोड २८ लाख अमेरिकी डलर (करिब पौने ७ अर्ब रुपैयाँ) पाउने भएको हो । आईएमएफले ०७८ पुस २८ मा ईसीएफअन्तर्गत करिब ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने निर्णय गरेको थियो ।

1020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?