बिमा पोलिसी वापतको किस्ता नियमित नतिर्ने बिमितको करोडौं रुपैयाँ बिमा कम्पनीहरुमै हराउने गरेको छ । नियमित किस्ता तिर्न नसकी बिमा सरेण्डर गर्न नपाएका बिमितको पैसा कम्पनीले फिर्ता नगर्दा करोडौं रुपैयाँ कोल्याप्स हुने गरेको हो ।
बिमा ऐन २०७९ अनुसार बिमा गरेर तीन वर्ष अवधिसम्म किस्ता वापतको प्रिमियम बुझाएका बिमितले आफूले तिरेको शुल्क फिर्ता लिएर बिमा त्याग गर्ने व्यवस्था छ । तर दोस्रो किस्ता मात्रै तिर्ने बिमितको हकमा ऐन मौन रहँदा बिमितले कम्पनीबाट रकम फिर्ता नपाएका हुन् ।
पोलेसी सरेण्डर वापतको पैसा नपाएको गुनासो बढ्न थालेपछि गत पुस ९ गते बसेको लेखा समितिको बैठकले किस्ता तिर्न नसक्ने बिमितले प्रिमियम बापत बुझाएको शुल्कको ७५ प्रतिशत रकम बिमा कम्पनीले फिर्ता गर्ने व्यवस्था गर्न नेपाल बिमा प्राधिकरणलाई निर्देशन दिएको थियो । किस्ता नतिरेको भन्दै ठूलो रकम बिमितलाई फिर्ता निदिने बिमा कम्पनीहरुलाई कारबाही गर्न पनि लेखा समितिले प्राधिकरणलाई निर्देशन दिएको थियो । तर प्राधिकरणले यसमा कुनै कदम चालेको देखिँदैन ।
बरु बिमा अभिकर्ताले निश्चित अवधिमा लगानी डलब हुने तथा चाहेको खण्डमा पैसा पाउने, बिमा पोलिसी नै धितो राखेर कर्जा पाउने जस्ता प्रलोभन देखाएर बिमितको आयस्रोत भन्दा बढी रकमको बिमा गराउने क्रम बढ्दो छ । पर्याप्त जानकारी बिना नै बिमा पोलिसी खरिद गर्ने बढ्दा बिचैमा छोड्नेको संख्या पनि बढ्न थालेको हो ।
त्यसो त बिमा प्राधिकरणसँग सरेण्डर गर्ने समय नपुग्दै कति बिमितले बिमा त्याग्छन् भन्ने यकिन तथ्यांक पनि छैन । तसर्थ समयमा किस्ता तिर्न नसक्ने बिमितको संख्यासँगै बिमितले तिरेको किस्ता वापतको रकमबारे पनि प्राधिकरण अनविज्ञ देखिन्छ ।
बिमा प्राधिकरणका सहायक निर्देशक बसन्त बोहोरा बिमा कम्पनीहरुले सरेण्ड गरेका बिमालेखको बारेमा मात्रै तथ्यांक राख्ने गरेको बताउँछन् ।
‘हामीले कति बिमितले बिमा पोलिसी सरेण्डर गरे र ती बिमालेख कति मूल्य बराबरका छन् भन्ने तथ्यांक मात्रै राख्ने गर्छौं,’ उनले भने । त्यसो त लेखा समितिले निर्देशन दिएपछि बिमा प्राधिकरणले यसै चालु आर्थिक वर्षदेखि बिमा पुनर्जागरण गर्ने बिमितको पनि तथ्यांक राख्ने तयारी गरिरहेको छ । यसो गरेको खण्डमा कति बिमितले पहिलो वा दोस्रो वर्षसम्म किस्ता तिरेर बीचैमा बिमा छोडे भन्ने तथ्यांक निस्किने देखिन्छ । नत्र अहिलेसम्म नियमित किस्ता तिर्न नसकेका बिमितको संख्या र उनीहरुले पहिलो र दोस्रो किस्ता वापत तिरेको रकम कति छ भन्ने विवरण प्राधिकरणसँग छैन ।
बिमा ऐनले जीवन बिमा गराएर बिमा पोलिसीको अवधिभित्र किस्ता तिर्न नसक्ने अवस्था आएमा बिमा सरेण्डर गर्न सक्ने व्यवस्था गरेको छ । यसरी सरेण्डर गर्दा बिमितले सुरुका तीन वर्ष बिमा बापतको किस्ता बुझाएको हुनुपर्ने छ ।
३ किस्ता नियमित रुपमा बुझाएका ग्राहकले बिमा अवधि ३ वर्ष पुगेपछि बिमा पोलिसीलाई पनि सरेण्डर गर्न सक्छन् । यस्ता बिमितले पोलेसी सरेण्डर गर्दा तिरेको कुल किस्ताको ४० देखि ६० प्रतिशतसम्म रकम फिर्ता पाउने व्यवस्था छ । तर एक वा दुई वर्ष नियमित बिमा वापतको किस्ता बुझाएर अर्को वर्ष बुझाउन नसकेको खण्डमा भने बिमितले तिरेको पैसा बिमा कम्पनीले फिर्ता गर्दैनन् ।
प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं बिमितले तिरेको पहिलो तीन किस्ताको रकम पुनर्बिमा, अभिकर्ता र बिमाकम्पनी कमिसनमा खर्च हुने हुँदा सो रकम फिर्ता गर्न नसकिने बताउँछन् ।
‘पहिलो दुई वर्ष बिमा अभिकर्ताले पाउने कमिसन, पुनर्बिमा कमिसन जस्ता कुरामा नै बिमितको रकम खर्च हुनाले कम्पनीले सो रकम फिर्ता गर्दैन,’ तीन वर्ष पुगेर सरेण्डर गर्न चाहनेको हकमा भने कम्पनीले करार अवधिभित्र सरेण्डर बापतको रकम बिमितलाई भुक्तानी गर्ने उनी बताउँछन् ।
नेपाल बिमा प्राधिकरणका अनुसार पुस मसान्तसम्ममा मात्रै ५३ हजारवटा बिमा पोलिसी बिमितले सरेण्डर गरेका छन् । प्राधिकरणका अनुसार ६ अर्ब बराबरको बिमा पोलिसी सरेण्डर भएको छ । गत वर्ष ४३ हजार बिमालेख सरेण्डर भएका थिए । तुलनात्मक रुपमा यस वर्ष पोलेसी सरेण्डर गर्ने विमित २३ प्रतिशतले बढेका हुन् ।
अभिकर्ताले आयस्रोतबारे अध्ययन नगरी बिमा गराइदिँदा पनि बीचमै बिमा त्याग गर्ने बढेको बिमा अध्येता ध्रुवहरी सापकोटाको भनाइ छ ।
बिमा कम्पनीहरुले अभिकर्ताको विश्वासमा आयस्रोतलाई नजरअन्दाज गरी बिमा पोलिसी स्वीकृत गर्दा सरेण्डर बढेको उनको तर्क छ । ‘निश्चित कमिसन आउने लोभमा अभिकर्ताहरुले गतल तरिकाले बिमितलाई बिमा पोलिसीबारे व्याख्या गर्दै जसरी पनि बिमा गराउने गर्छन्,’ उनले भने, ‘यसले सरेण्डरमात्रै नभएर बिमित नै सम्पर्कमै नआउने समस्या पनि बढाएको छ ।’
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईं पनि अभिकर्ताको गतल ब्याख्याले पनि बिमित समस्यामा पर्ने गरेको बताउँछन् । ‘अभिकर्ताले पनि बिमितलाई किस्ताबारे नबुझाई फाइदा मात्रै देखाएर बिमा गराउने गर्छन् भने बिमित पनि फाइदा मात्रै हेरेर आफ्नो आयस्रोत बिचार नगरी बिमा गर्छन् । यी यावत कारणले पनि पोलेसी सरेण्डर गर्ने तथा किस्ता तिर्न नआउने जस्ता समस्यालाई बढाएको छ ।’
अरुका कुरामा लागेर नबुझी बिमा गर्ने अधिकांश बिमित दोस्रो किस्ता नर्तिदै हराउने गरेको उनको भनाइ छ । प्रसाईं सरेण्डर गर्ने बिमितको हकमा भने ढिलै भए पनि भुक्तानी हुँदै आएको बताउँछन् ।
किन बढ्दै छ पोलेसी सरेण्डर ?
प्राधिकरणका सूचना अधिकृत निर्मल अधिकारी अर्थतन्त्रमा देखिएको सुस्तता तथा आर्थिक गतिविधि खुम्चदा पनि यसको असर बिमा क्षेत्रमा परेको बताउँछन् ।
‘बढ्दो महंगी, सुस्त आर्थिक गतिविधि हुँदा आयस्रोत कमजोर हुन्छ’ उनी थप्छन्,‘बिमितको क्रयशक्ती कमजोर हुँदा बिमापोलिसी वापतको किस्ता तिर्न समस्या हुने भएकैले पनि यसको असर सरेण्डर गर्नेको संख्यामा देखिएको हो ।’
अधिकारी बिमितको आयस्रोतमा पर्ने दबाबका कारण बिमा पोलिसी बापतको किस्ता समयमा तिर्न नसक्दा सरेण्डर बढेको तर्क गर्छन् ।
बिमाविज्ञ रबिन्द्र अधिकारी बिमा कम्पनीहरुले बिमितलाई समयमै दाबी बापतको भुक्तान नगर्दा बिमितको विश्वास घट्दै गएको तर्क गर्छन् । उनी भन्छन्, ‘बिमा गर्न सजिलो भएपनि भुक्तानीका लागि कम्पनीहरुले समय लगाउँछन्, अझ कतिपय बिमाको त दाबी भुक्तानी नै दिएका छैनन्, यसले बिमितमा बिमा प्रतिको विश्वासलाई कमजोर बनाएको छ ।’
यो बाहेक बिमितलाई बिमाको लगत, समयमा किस्ता नतिर्दा हुने जोखिमको बारेमा जानकारी नदिँदा पोलेसी सरेण्डर बढ्ने गरेको बताउँछन् उनी ।
गत वर्षको पुस मसान्तसम्म ४३ हजार बिमा पोलिसी सरेण्डर भएकोमा यो वर्ष सोही अवधिमा ५३ हजार वटा पोलिसी सरेण्डर भएका हुन् ।
कार्यकारी अधिकृत प्रसाईं संसारका विकसित देशहरुमा पनि १५ देखि २० प्रतिशतसम्म बिमा सरेण्डर हुने हुँदा आत्तिनुपर्ने अवस्था नरहेको धारणा राख्छन् । ‘सरेण्डर गर्ने अवस्था आउनु नै हुदैन भन्ने होइन यो समान्य नै हो, बिकसित देशहरुमा पनि १५ देखि २० प्रतिशतसम्म बिमा सरेण्डर हुँदै आएका छन्’ उनी भन्छन् ।
अभिकर्तासँगै बिमितलाई बिमाबारे सुसूचित गराउने तथा बिमा साक्षरता बढाउँदा बिमा सरेण्डरलाई कम गर्न सकिने उनको बुझाइ छ।