जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • गोविन्द ढकाल:‘विद्रोहले’ डोर्‍याएको पेसामा ३३ वर्ष

गोविन्द ढकाल:‘विद्रोहले’ डोर्‍याएको पेसामा ३३ वर्ष

२०२७ साल असार १९ गते स्याङ्जाको फापरथुंगामा जन्मिएका थिए, गोविन्दप्रसाद ढकाल । कक्षा ४ सम्म गाउँ नजिकैको भगवती प्राविमा पढेका उनी त्यसपछि भने घरबाट करिब आधा घण्टा हिँडेर पद्म पनेरू माविमा पुग्न थाले । त्यहाँ १० कक्षासम्म अध्ययन गरेपछि २०४४ सालमा एसएलसी सकेर उनी पोखरा पुगे ।

उच्च शिक्षाका निम्ति पोखरामा उनले विज्ञान, वाणिज्य र वन गरी तीन वटा विषयमा फारम भरेका थिए । तीनै वटा विषयमा उनको नाम निस्कियो । घरपरिवारको चाहना सकेसम्म वन, त्यसो नभए पनि विज्ञान पढोस् भन्ने थियो । तर ‘सङ्गत गुनाको फल’ भनेजस्तै उनी साथीहरूको लहैलहैमा व्यवस्थापन पढ्न भर्ना भए ।

यो खबर जब घर पुग्यो, त्यसपछि बुबाको रिसको पारो नतात्ने कुरै थिएन । उनले घरबाट केही समय खर्चपर्च नै पाएनन् । ‘पोखरामा बस्न, खान पैसा लाग्थ्यो । तर आफैँ जान्ने भएर म्यानेजमेन्टमा भर्ना भएपछि आफैँ पढ् भन्ने खालको कुरा घरबाट आयो’ उनी सम्झन्छन् । तर बुबासँग विद्रोह गरेर उनले रोजेको त्यही पढाइले उनलाई आज एक बैंकको सीईओमा १५ वर्षसम्म अनवरत रहने सुगम भविष्यको ढोका खोलिदिएको थियो ।

ढकालले पोखराको पृथ्वी नारायण क्याम्पसबाटै आईकम, बीकम र एमबिए पनि गरिभ्याए । २०५३ सालमा उनको एमबिए सकियो । २०४५ सालमा मरीचमान श्रेष्ठ प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी नलगाइदिएको भए उनको पढाइ पनि एक वर्ष पहिले नै सकिन्थ्यो । नाकाबन्दीले गर्दा २ वर्षको कोर्स पुरा गर्न ३ वर्ष लागेको थियो ।

‘नेभर सेकेन्ड ब्याइ’

स्याङ्जाको एक शिक्षित स्थान हो फापरथुंगा । अहिले आँधिखोला गाउँपालिका पर्छ । ‘उही जमानामा हाम्रा हजुरबाले बुबाहरूलाई काठमाडौँ ल्याएर पढाउनु भएको थियो । जबकि त्यो बेला बाटोघाटोसम्म पनि थिएन’, आफ्नो परिवारको शैक्षिक विरासत कोट्याउन पनि भ्याए उनले । त्यो जमाना थियो, विक्रम संवत् १९८४ तिरको । राणा कालको त्यो अन्धकार युगमा पनि ढकालका हजुरबाले छोरा पढाउन थालिसकेका रहेछन् ।

‘मेरो परिवारमा नपढ्ने भन्ने नै कोही थिएन’, उनी भन्छन्, ‘त्यो गाउँमै पढ्नुपर्छ र पढाउनु पर्छ भन्ने सन्देश नै हाम्रो परिवारबाट गएको हो ।’ यस्तो ‘पायोनियर’ परिवारको सन्तान भएकैले पनि होला, ढकाल स्कुले जीवनमा ‘नेभर सेकेन्ड’ रहे । अर्थात् उनी हरेक कक्षामा पहिलो भइरहे ।

उनका दाइ पनि सधैँ पहिलो हुन्थे । घरमा पढाइको माहौल उम्दा थियो । यसको असर पोखरामा पनि देखियो । उनले पोखरा आएर आईकममा पनि सबै साथीलाई उछिने । बीकममा गएपछि उनी जीवनमा पहिलो पटक ‘दोस्रो’ हुन पुगे ।

परिवारको सुझाव विपरीत व्यवस्थापनको पढाइ रोजेका उनीसँग बुबा खुसी थिएनन् । ‘केही समय बुबाले चित्त पनि दुखाउनु भयो’ उनी सम्झन्छन् । पछि त बिस्तारै कुरा मिल्दै गयो ।

जागिरका ३३ वर्ष

पोखरामा बीकम पढ्दापढ्दै उनले त्यहाँको एउटा ठुलो होटेलमा ३–४ महिना लेखापालको काम गरे । आफ्नो खर्चिलो स्वभावका कारण घरबाट दिएको पैसाले खर्च धान्न नपुगेपछि उनी जागिरको मेसोमा जोडिएका थिए । त्यसताका जागिर खाएको कुरा घरमा चाहिँ भनेनन् । तर छोटो समयमै १२० जना कर्मचारी भएको त्यो होटेलमा उनी ‘म्यानेजर’ बनिहाले ।

सायद उनको भाग्यले पनि उनलाई तल्लो तहमा खासै टिक्नै दिएन । सधैँ उनी व्यवस्थापकीय भूमिकामा उक्लिहाले, पछिसम्मै । झन्डै ५–६ वर्ष उनले त्यो होटेलमा काम गरे ।

जागिर थियो–होटेलको म्यानेजर । छिट्टै नै स्नातकको पढाइ पनि सकियो । अब के चाहियो र ? बीकम सकिएपछि उनी बेहुलो बन्न हतारिए । बिहेवारि गरे । जिन्दगीले एउटा नयाँ खुड्किलो पार गर्‍यो । उनले जागिर, परिवार र पढाइलाई सन्तुलनमा राखे । चाँडै एमबिएको डिग्री पनि हात लागिहाल्यो ।

त्यसपछि भने उनको पाइला बैंकको हिसाबकिताबतिर खिँचियो । पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा सातौँ तहको जागिर खुल्यो । ‘त्यसमा मैले होटेलमा काम गर्दागर्दै परीक्षा दिएँ । मेरो नाम निस्कियो र म त्यता (बैंकिङ)तिर सिफ्ट भएँ’, उनले आफ्नो पेसा बदलेको इतिहासलाई उकेरा लगाए ।

त्यो २०५४ सालको कुरा थियो ।

त्यस बेला पनि बुबा खुसी हुनु भएन । ‘नेपाल सरकारको सेवामा प्रवेश गरोस् भन्ने बुबाको चाहना थियो’, उनी भन्छन् ।

उनले सरकारी सेवामा जाने कोसिस नै नगरेको भने होइन । आइकम पास गर्ने बित्तिकै उनले सुब्बामा आवेदन दिएका थिए । परीक्षा पास गरेर पनि अन्तरवार्तामा फालिए । गाउँभरि सुब्बा, खरीदार र अधिकृत थिए । सबै मान्छे निजामती सेवामा जाने प्रवृत्ति थियो ।

गाउँमा पढाइको महत्त्व बुझाउनजस्तै सरकारी सेवाको विकल्प खोज्नमा पनि ढकालकै परिवारले अग्रसरता लियो । भलै उनका तीन जना दाजुभाइ निजामती सेवामा रहे पनि जेठा दाइ र उनले सरकारी सेवाभन्दा अलग्गै करियर बनाउने कोसिस गरे । यसमा परिवार राजी थिएन । तर सुब्बाबाट फालिएपछि उनले फेरि कहिल्यै लोकसेवाको परीक्षा दिएनन् । बरु बुबालाई बुझाउने चेष्टा गरे ।

पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा सुरुको ३ वर्ष उनले शाखा प्रबन्धकको रूपमा काम गरे । त्यसपछि उनी क्षेत्रीय प्रबन्धक बनेर अर्को ८ वर्ष काम गरे ।

बहुदलीय प्रजातन्त्रको पुनः स्थापनापछि ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न भनेर खोलिएका यस्ता ग्रामीण विकास बैंकहरुको सेवा सुविधा अरू सरकारी कर्मचारीको भन्दा धेरै राम्रो थियो । २०५४ सालमा ग्रामीण विकास बैंकमा जोडिँदा उनको तलब भत्ता ८,५०० रुपैयाँ थियो । जबकी, त्यस बेला नेपाल सरकारको अधिकृतको तलब ४,२०० थियो ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको मात्रै लगानी भएकाले त्यो पनि सरकारी बैंक नै हो भन्ने बुझाइ थियो । सरकारी संस्था, त्यसमा पनि निकै आकर्षक तलब भत्ता देखेर नै उनी र उनका सहकर्मीहरूले ग्रामीण विकास बैंकको जागिर रोजेका थिए ।

तर पछि परिस्थिति फेरियो । ‘हामीले काम गरेको पश्चिमाञ्चल ग्रामीण विकास त सधैँ राम्रो भयो । तर अरू क्षेत्रका बैंकहरु नाफामा नजाने, घाटामा जाने समस्याहरू देखिए,’ उनी भन्छन् ।

करिब ११ वर्ष लामो ग्रामीण विकाससँगको सहयात्रा २०६५ मा आएर टुङ्गियो ।

वि.सं. २०६४ मङ्सिरमा स्याङ्जाको वालिङमा गरिमा विकास बैंक स्थापना भएको थियो । त्यसको ८ महिनापछि २०६५ भदौमा प्रबन्धकको पदमा ढकाल यो बैंकमा प्रवेश गरे । सुरुको ३ महिना जति प्रबन्धकको रूपमा काम गरेपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृतले जागिर छाडे ।

त्यसपछि ढकाल एकै पटक सीईओ बन्न पुगे । उनले केही समय कायम मुकायम भएर काम गरे र लगत्तै उनलाई सीईओको जिम्मेवारी मिल्यो । त्यसरी २०६५ मा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका ढकाल विगत १५ वर्षदेखि अनवरत त्यही कुर्सीमा छन् ।

अरू बैंकरहरु ‘करियर’ बनाएर ‘सीईओ’ बन्छन् । तर उनले सीईओमै ‘करियर’ बनाएका छन् ।

ढकाल गरिमा विकास बैंक आउँदा सीईओ बन्नका लागि आएका थिएनन् । काल चक्रले उनलाई यो जिम्मेवारीको बोझ थमाइदियो । ‘सुरुमा सञ्चालक समितिले मलाई सीईओ बन्न आग्रह गर्दा मैले नै मेरो सीईओ बन्ने उमेर भएको छैन भनेको थिएँ’ उनी डेढ दशक अघिका ती दिन सम्झन्छन् । उनले तत्कालीन अध्यक्ष जलेश्वर पाण्डेलाई नयाँ सीईओ खोज्न आग्रह पनि गरे ।

अझै २–४ वर्ष काम गरेर आफूलाई तयार पार्नुपर्छ भन्ने मान्यतामा ढकाल थिए । तर सञ्चालक समितिले उनलाई यो भारी अपेक्षाभन्दा चाँडै थमाइदियो । उनी ३६–३७ वर्षको उमेरमै सीईओ बन्न ‘बाध्य’ भए ।

गरिमामय यात्रा

आजको दिनमा गरिमा विकास बैंक जुन स्थितिमा छ, त्यो अवस्थामा पुग्न सकिन्छ भन्ने सोच स्वयम् ढकाललाई पनि थिएन, जति बेला उनी सीईओ बनेका थिए । सुरुमा ३ जिल्लामा कारोबार गर्ने यो बैंकले आफ्नो कार्यक्षेत्रमा राम्रो पकड बनाएपछि क्षेत्रीय स्तरको सहारा विकास बैंकलाई मर्जर गर्‍यो । त्यसपछि बैंकको व्यवसाय १० जिल्लामा फैलियो ।

मर्जर अघिको १–२ वर्ष आफूहरू पछि पर्नुपरेको तीतो अनुभव पनि ढकालसँग छ । ‘त्यसताका हामीले सेयर धनीलाई नगद लाभांश बाँड्यौँ । तर पुँजी कम हुनाले शाखा विस्तार गर्न सकेनौँ’ ढकाल सम्झन्छन्, ‘त्यो हाम्रो गलत निर्णय थियो । त्यस बेला नाफाको पुँजीकरण गरिएको भए हामी अझै छिटो व्यवसाय विस्तार गर्न सक्ने अवस्थामा पुग्थ्यौँ ।’

तर पछि राष्ट्रिय स्तरको विकास बैंक बन्नमा गरिमालाई बेर लागेन ।

सफलताको सूत्र

पन्ध्र वर्षदेखि सीईओको कुर्सीमा रहँदा ढकालले कयौँ मुद्दामा सञ्चालक समितिसँग असहमति राखेका र खेपेका छन् । ‘काम गर्दै जाँदा सहमति र असहमति आइरहन्छन्’, उनी भन्छन्, ‘तर हामी टेबलमा आफ्ना तर्क राख्छौँ । वादविवाद वा छलफल भएर एउटा निर्णयमा पुगिसकेपछि हामी सबै मिलेर त्यसलाई कार्यान्वयन गर्छौँ । हाम्रो सफलताको सूत्र नै त्यही हो ।’

८–९ वर्षअघि एक खराब उदाहरणको रूपमा समेत चित्रित भएको गरिमा विकास बैंक आज देशकै नेतृत्वदायी विकास बैंकको रूपमा उदाएको छ । यो अवस्थामा आउनुको कारण नै ‘टिम ओर्क’ भएको उनी मान्दछन् । यसमा इन्धन भर्ने काम चाहिँ सञ्चालक समिति र व्यवस्थापनको बिचको साझेदारी र हातेमालो भएको उनी बताउँछन् ।

सुरुका दिनमा नेपाल राष्ट्र बैंकको नीति निर्देशनको पालना गर्ने सन्दर्भमा केही कमी कमजोरी भएका थिए । त्यसै कारणले केही बैंक वित्तीय संस्थामाथि प्रश्न पनि उठे । यद्यपि, संस्थागत सुशासनमा बस्नुपर्छ र व्यक्तिगत स्वार्थमा काम गर्नु हुँदैन भन्नेमा ढकाल चाहिँ सुरुदेखि नै कटिबद्ध थिए । ‘व्यक्तिगत लाभ र स्वार्थलाई अगाडी आउन दिनु हुँदैन भन्ने यही ध्येय पनि बैंकलाई आज यो उचाइमा पुर्‍याउने थप एक कारण हो’, ढकाल भन्छन् ।

उनका अनुसार बैंकको मजबूतीको अर्को पाटो चाहिँ सम्पत्तिको गुणस्तर हो । सुरुमा बैंकले निकै ससानो आकारको कर्जा लगानी गर्दै गयो । ‘अहिले पनि हाम्रो ७५ प्रतिशत कर्जा १ करोडभन्दा कमका छन्’, उनी भन्छन् । १ करोडदेखि ४० करोडसम्मका कर्जाको कुल आकार बैंकको कुल कर्जाको केवल एक चौथाई मात्र छ ।

सानो आकारको कर्जा दिँदा ‘सञ्चालन लागत बढ्छ’ भन्ने कतिपय बैंकरको मान्यता विपरीत गरिमाले यस्तो बाटो लियो । जसले गर्दा कर्जाको जोखिम कम भयो । यही कारण विगतमा लामो समयसम्म बैंकको निष्क्रिय कर्जाको दर १ प्रतिशतभन्दा कम रहन गयो ।

कोभिडपछिको अवस्थामा भने बिस्तारै निष्क्रिय कर्जा बढेर अहिले पौने ३ प्रतिशत हाराहारी पुगेको छ । ‘यो पनि हाम्रा लागि व्यवस्थापन योग्य छ । हामीले अहिलेसम्म कुनै पनि फाइल टप अप गरेर ऋण उठाउनु परेको छैन’, उनी थप्छन् ।

कर्मचारीहरू सन्तुष्ट हुनु पनि सफलताको अर्को कारण हो । मान्छे खुसी भएन भने उसले सेवा राम्रो दिँदैन । अभाव, तनाव वा बेखुस भएको मान्छेले उत्पादकत्व दिन सक्दैन । संस्थामा काम गर्दागर्दै पनि घरका दैनिक गतिविधिको दबाब खेप्नु परेको छ भने त्यस्तो कर्मचारीबाट ‘आउट पुट’ प्राप्त हुँदैन । सेवा राम्रो दिन सक्दैन ।

सेवा राम्रो नभएपछि त्यो संस्थामा ग्राहकले कारोबार गर्न छाड्छन् । ‘हाम्रा १२३ वटै शाखाका कर्मचारीले आफ्ना ग्राहकलाई पूर्ण रूपमा सन्तुष्ट पारेको हामीले पाएका छन् । यो हाम्रो असाध्यै ठुलो सम्पत्ति हो’, उनले भने ।

‘आजको दिनसम्म हामीले नेपाल राष्ट्र बैंक र सबै नियामक निकायलाई यो बैंकले सुशासन बाहिर गएर काम गर्दैन भन्ने छाप छोड्न सफल भएका छौँ’ उनले थपे, ‘सञ्चालक समितिको पारदर्शिता र हस्तक्षेपरहित व्यावसायिकताले यो सम्भव भएको हो । यो पक्ष हाम्रो अर्को ठुलो सम्पत्ति हो ।’

कार्यालय सहयोगीदेखि सञ्चालक समितिसम्म सबैको प्रभावकारी र सकारात्मक भूमिकाले बैंकलाई आज यो अवस्थामा पुर्‍याएको उनी बताउँछन् ।

‘व्यापार होइन, आचरण’

बैंकलाई बलियो बनाउन व्यापार बढाउनेभन्दा आचरण सुधार्नुपर्नेमा ढकालले बढी जोड दिँदै आएका छन् । ‘मैले आफ्नो परिवारभन्दा पनि संस्थालाई बढी प्राथमिकता दिएँ’, उनी भन्छन्, ‘संस्थाबाहेक मैले कुनै पनि काम गरिन र कतै पनि हेरिन ।’ उनी आफ्ना कर्मचारीलाई पनि यही कुरा सिकाउँछन् ।

व्यक्तिगत होइन, संस्थाको स्वार्थमा काम गर्न उत्प्रेरित गर्छन् । संस्थागत सुशासन र कर्मचारीहरूको आचरणलाई बलियो राख्ने बित्तिकै कुनै पनि संस्थाले फड्को मार्ने उनको बुझाइ छ । ‘जानेर वा नजानेर कहिलेकाहीँ सञ्चालक समितिमा केही विषयहरू नआउने होइन, आउँछन्’, उनी भन्छन्, ‘तर त्यहाँ कुनै गलत प्रस्ताव आइहाल्यो भने त्यसलाई कार्यकारी प्रमुखले रोक्न सक्नुपर्छ ।’

विधान, कानुनहरू देखाएर सञ्चालक एवम् प्रबद्र्धकहरुलाई ‘यो कुरा गर्दा यसले संस्थालाई यसरी अहित गर्छ’ भनेर बुझाउनु पर्ने ढकाल बताउँछन् । ‘एकाध घटनामा त छोटो समयका लागि बैंकलाई नाफा नै हुने खालले सञ्चालक समितिले गरेका निर्णयहरू पनि मैले कार्यान्वयन नगरेका उदाहरण छन्’, उनी एक दशक अघिका घटना सम्झन्छन् । ‘कहिलेकाहीँ हामीले आफूलाई जोखिममा राखेर भए पनि संस्थालाई बचाउने ढङ्गले काम गर्नु पर्ने हुन्छ’ उनी भन्छन् ।

नियामक नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणले दिएका निर्देशनहरू आफूहरूले अत्यन्त छिटो पालना गरेका कारण पनि बैंकलाई सुदृढ राख्न मद्दत पुगेको उनको बुझाइ छ । व्यवस्थापनले गर्ने अर्को निर्णय चाहिँ उचित ठाउँमा उचित मान्छेलाई राख्नु पनि हो । हरेक व्यक्तिले हरेक ठाउँमा राम्रो काम गर्न सक्दैन । कसैले ‘ब्याक अफिस’मा राम्रो काम गर्छ त कसैले ‘फ्रन्ट अफिस’मा राम्रो काम गर्छ ।

‘हामीले आफूसँग उपलब्ध कर्मचारीमध्ये उनीहरूको क्षमता पहिचान गरेर उचित जिम्मेवारी दियौँ’ उनले थपे, ‘समस्याहरू देखिएपछि त्यसलाई सल्टाउन पनि उत्तिकै तदारुकता देखायौँ । यस्ता कारणले हामीलाई अघि बढ्न प्रेरित गरिरह्यो ।’

विद्यमान समस्याको निराकरण

कोभिड सुरु भएयता नेपाली वित्तीय प्रणालीमा केही समस्या सिर्जना भएको देखिएको छ । कोभिडको बेलामा सरकार र नियामकले हतारोमा धेरै सुविधा बजारलाई प्रवाह गर्दा त्यसले वित्तीय स्थायित्वमा नै दक्खल पुगेको छ । अहिलेको तथ्याङ्कहरूले पनि वित्तीय क्षेत्र र अधिकतर सिङ्गो अर्थतन्त्रमै केही समस्याहरू छन् भन्ने तथ्य उजागर गरेको छ ।

तर यसको मतलब अवस्था बिग्रिएरै गइसक्यो, अब सुधारको गुञ्जायस नै छैन भन्ने खालको स्थिति नभएको ढकाल बताउँछन् । ‘अव हामी सुधारको बाटोमा अग्रसर हुनुपर्ने छ । यो समस्या समाधान गर्नका लागि कुन कुन क्षेत्रले केके काम गर्ने भनेर सोच्नुपर्ने बेला भएको छ’, उनी भन्छन् ।

अहिलेको अवस्थामा नेपाल सरकार, केन्द्रीय बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्रबिच एक साझा मञ्च तयार गर्नुपर्ने उनको राय छ । त्यस्तो मञ्चमा सामूहिक प्रयासको खाका तयार पारेर सोही बमोजिम आआफ्नो क्षेत्रमा सुधारका प्रयासलाई आक्रामक रूपले विस्तार गर्नुपर्ने उनी बताउँछन् ।

अहिले स्वदेशमा रोजगारी सिर्जना हुन नसकेका कारण युवा पलायन बढेको र यसले उपभोगमा समस्या खडा गरिरहेको उनको बुझाइ छ । यस्तो बेला हामीले अर्थतन्त्रको प्राथमिकता नै बदल्नुपर्ने धारणा ढकाल राख्छन् । ‘हामी अहिले कृषि, कृषि भनिरहेका छौँ । कृषि पनि गर्नु पर्छ । तर योभन्दा बढी प्राथमिकता पर्यटनलाई दिने हो भने हामी छिट्टै नै अहिलेको समस्या समाधान गर्न सक्छौँ’ उनले थपे ।

अन्त्यमा,

आफ्नो जीवनको ३३ वर्ष जागिरमा बिताइसकेका उनी अझै पनि गरिमा विकास बैंकको सीईओ नै छन् । उनलाई यो जुनीले बैंकिङको हिसाबकिताब नै सिकाएको छ । त्यसैले उनी बाँकी भविष्य पनि यसकै वरिपरि देख्छन् ।

‘आफूलाई आफ्नो क्षमताले यो क्षेत्रमा यसरी काम गर्न सक्छु भन्ने लाग्यो भने त्यतैतिर जान सक्ने सम्भावना अझै बाँकी छ’ उनी भन्छन्, ‘कहिलेकाहीँ अब जागिर खाएर बस्दिन भन्ने मनमा त लाग्छ । यस्तै गर्छु भनेर खाका कोरेर बसेको छैन ।’

945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?