जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • श्री लालीगुराँस सहकारी ठगीमा नौ विरुद्ध मुद्दा दायर

श्री लालीगुराँस सहकारी ठगीमा नौ विरुद्ध मुद्दा दायर

ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी सहित नौ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले नेपाली कांग्रेस सहकारी विभागका पूर्वसचिव समेत रहेका भण्डारी सहित नौविरुद्ध मुद्दा दायर गरेको हो ।

सहकारी अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष हजुरी विष्ट, सचिव तथा सीईओ सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल, सञ्चालकहरू कदम जोशी (प्रधान) र भोलाकुमार श्रेष्ठलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको हो ।

त्यसैगरी सहकारीका लेखा समिति संयोजक पूण्यप्रसाद पोखरेल, लेखा समिति सदस्य विद्यादेवी पाण्डे र तिमिला रञ्जितलाई प्रतिवादी बनाउँदै रिट दायर गरेको हो ।

प्रतिवादीमध्ये प्रहरीले सहकारी अध्यक्ष अमरदास श्रेष्ठ, सचिव सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल, सञ्चालकहरू कदम जोशी (प्रधान) लाई प्रक्राउ गरी बयान समेत लिएको छ । अन्य प्रतिवादी फरार छन् ।

विभिन्न तथ्य र प्रमाण तथा प्रहरी प्रतिवेदन समेतका आधारमा ‘श्री लालीगुराँसको भविष्य उज्वल छ, आर्थिक अवस्था असाध्यै सबल छ भनी संस्थाकै गतिविधि झल्काउने गरी प्रतिवेदन सहित हाम्रो संस्थामा लगानी गर्नुहोस्’ भनी आकर्षक ब्याजको प्रलोभन देखाउने गरेको पाइएको सरकारी वकिलको कार्यालयले दायर गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवादीहरूले बचतकर्तालाई खाता खोल्न लगाइ बचत गरेको रकम फिर्ता माग गर्दा विभिन्न बहाना बनाइ फिर्ता नदिएको र जाहेरीकर्ता महेश थापाको २ करोड १४ लाख २४ हजार ४ सय ५१ रुपैयाँ ठगी गरेको देखिएको उल्लेख छ ।

जाहेरीकर्ताको करिब २ करोडभन्दा बढी ठगी गरेकाले कानुनी कारबाही र ठगी गरेको रकम फिर्ता गराइपाउँ भन्ने जाहेरीको आधार अनुसन्धान भए पनि २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोडभन्दा धेरै बचत फिर्ता नगरेको देखिएको प्रतिवेदनमा छ ।

सहकारीको रकम अपचलन गर्न नक्कली ऋणी, सेयरमा लगानी

‘प्रतिवादीहरूको सहकारी तथा विभिन्न बैंक तथा कम्पनीमा ठूलो मात्राको सेयर रहेको सीडीएस एन्ड क्लियरिङ लिमेटडबाट प्राप्त सेयर विवरण तथा विभिन्न बैंकबाट प्राप्त पत्रबाट देखिन्छ,’ सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा छ, ‘संस्थामा झुटो ऋण लगानी गरेको देखाइ प्रतिवादीहरूको मिलेमतोमा संस्थाका पदाधिकारी, सेयर सदस्यहरू, आफन्त तथा परिवार, सहकारीका कर्मचारी लगायतका नाममा ऋण लिएको देखाइ उक्त रकम संस्थावाट निकाली पर्याप्त धितो संरक्षणविना कतिपय अवस्थामा धितो सुरक्षण बेगर नै ऋणको बहानामा संस्थाको खाताबाट रकम निकाली व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको पुष्टि हुन्छ ।’

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट प्राप्त बैंक स्टेटमेन्ट समेतको आधारमा संस्थाका अध्यक्ष, सञ्चालक र व्यवस्थापकले नै सहकारीको बचत रकम ठगी गरेको पुष्टि हुने अभियोग पत्रमा उल्लेख छ ।

‘सहकारी संस्थाको नेतृत्व गर्ने अध्यक्ष, संस्थालाई दिशानिर्देश गर्ने सचिव तथा कार्यकारी अधिकृत, संस्थाको आर्थिक नियन्त्रण र कारोबारको विवरण राख्ने कोषाध्यक्ष र सञ्चालक सदस्य जस्तो संस्था सञ्चालनको केन्द्रीय भूमिकामा रहेकाहरूको समेत योजना, मिलेमतो र संलग्नतामा बचतकर्ताको बचत रकम ठगी गरेको पुष्टि हुन्छ,’ अभियोग पत्रमा छ ।

फरार प्रतिवादीहरू उपाध्यक्ष हजुरी विष्ट, सञ्चालक सदस्यहरू भोलाकुमार श्रेष्ठ, लेखा समिति संयोजक पूण्यप्रसाद पोखरेल, लेखा समिति सदस्य विद्यादेवी पाण्डे, तिमिला रञ्जित समेतका नाममा ठूलो परिमाणमा सेयर लगानी गरेको देखिएको अभियोग पत्रमा उल्लेख छ ।

‘अनुसन्धानको क्रममा उपस्थित भई आफ्नो बयान दिनुको सट्टा फरार भएका सञ्चालकहरूको नाममा विभिन्न बैंक, वित्तीय संस्था, कम्पनीमा ठूलो मात्राको सेयर रहेको सीडीएस एन्ड क्लियरिङ लिमेटडको सेयर विवरण तथा विभिन्न बैंकबाट प्राप्त पत्रबाट देखिन्छ,’ अभियोग पत्रमा छ ।

सहकारी सञ्चालक र व्यवस्थापकले एउटा उद्देश्य देखाएर संकलन गरेको बचत रकम संस्थाको उद्देश्य विपरीत लगानी गरी ठगी गरेको प्रहरी अनुसन्धानको निष्कर्ष देखिन्छ ।

सहकारी सञ्चालक तथा व्यवस्थापकले उद्यमशीलता विकास गर्न कर्जा लगानी गर्ने, गाईपालनको व्यवसायिक तालिम दिने, शिक्षा क्षेत्रमा लगानी गर्नेजस्ता बयान प्रतिवादीले दिए पनि त्यस अनुसार कार्य भएको नदेखिएको अभियोगपत्रमा उल्लेख छ ।

उनीहरूले पर्सामा गाई फार्म, ललितपुर गोदावरीमा दुग्ध प्रशोधन सेन्टर, सिन्धुपाल्चोकमा भैरवकुण्ड हाइड्रोपावर, ललितपुरमा लालीगुराँस अस्पताल तथा विभिन्न परियोजनामा लगानी गरेको बयानबाट देखिएको उल्लेख छ ।

तर, सहकारीले बचतकर्ताबाट संकलन भएको रकम विभिन्न परियोजनामा लगानी गरे पनि लगानीबाट प्राप्त हुन आएको रकम बचतकर्ताको हितमा प्रयोग नभएको देखिएको बताएको छ ।

‘यस्तो लगानीबाट प्राप्त रकम, संस्थाका सञ्चालक र पदाधिकारीको व्यक्तिगत हित र फाइदाका लागि प्रयोग भएको देखिन्छ,’ जिल्ला अदालत ललितपुरमा दायर अभियोग पत्रमा छ ।

महेश थापाको जाहेरीका आधारमा २ करोड १४ लाख २४ हजार बिगो रकम तथा प्रतिवादीहरूबाट मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम जाहेरवालाहरूलाई दिलाई भराई पाउन साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसुरदारहरूबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन माग गरिएको छ ।

सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

सहकारीका बचतकर्ताको रकम अपचलन गरी अकुत सम्पत्ति आर्जन गरेका सहकरी सञ्चालक तथा व्यवस्थापक माथि सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान भइरहेको छ ।

सहकारी ठगीमा प्रतिवादीहरूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार समेत अनुसन्धान भइरहेको अभियोगपत्रमा उल्लेख छ । सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्ने देखिए सोही समयमा अभियोग पत्र पेस हुने समेत अभियोग पत्रमा उल्लेख छ ।

320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?