शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.को १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
८ अर्ब अधिकृत पुँजी तथा जारी र चक्ता पुंजी समान ४ अर्ब ७३ करोड ३६ लाख रहेकोमा बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी ४ अर्ब ८७ करोड पुग्ने छ ।
साधारणसभाले संस्थापक शेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती र विरेन्द्र भुसाल तथा सर्वसाधारण शेयरधनीबाट विरेन्द्र विष्ट,नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालक निर्वाचित गरेको थियो । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए ।
सभापश्चात बसेको सञ्चालक समितिको वैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
सञ्चालक समितिमा डा. हिमाल भट्टराई र विरेन्द्र भुसाल नयाँ हुन् भने बाँकी यसअघिकै सञ्चालक समितिमा रहेका हुन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले शहरी क्षेत्रसंगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुंच बढाउने उद्देश्यले बैंकले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरु विस्तार गरेको र डिजिटल बैकिङलाई थप प्राथमिकता दिएर अगाडि बढ्ने बताए । बुटवलमा केन्द्रीय कार्यालय भएको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैक हो ।
बैंकका ८८ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर, १६ वटा एटीएम मेशिन सञ्चालनमा छन् । ७ लाख ५ हजार ५८ जना वचतकर्ता रहेको बैंकले १७ हजार १३५ जनालाई विभिन्न प्रकृतिका कर्जा प्रवाह गरेको छ ।
बैंकमा ७३८ जना कर्मचारी कार्यररत छन् । बैंकको पछिल्लो वित्तीय विवरण अनुसार कूल निक्षेप ६७ अर्ब १७ करोड,९५ लाख,कर्जा तथा सापट ५५ अर्ब ९२ करोड १० लाख र प्रति शेयर आम्दानी १४.४८ रहेको छ । बैंकको पूजिकोष अनुपात १२.५६ प्रतिशत छ ।
बैंकले गत वर्ष इमर्जिङ एशिया बैकिंङ अवार्ड अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि र नेपालमा दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ ।