समाचार
भारतको मुथुट फिनकर्प र आइएमईबीच रेमिटेन्ससम्बन्धी सम्झौता, भारतबाट सहजै पैसा पठाउने मिल्ने
इन्डो नेपाल रेमिटेन्स प्रवर्द्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता भएको छ। सम्झौता पत्रमा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सीइओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका छन्।
भारतमा बुधबार आयोजित उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको आइएमईले जनाएको छ।
‘हाम्रा ३६०० शाखाहरू मार्फत भारतमा बसोबास गर्ने र आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोमा सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम हो,’ मुथुट फिनकर्पका सीइओ वर्गीसले भने।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले भारतमा आइएमईको पहुँच विस्तार भएको बताए। आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इण्डो नेपाल रेमिटेन्स सेवा विस्तारका लागि महत्त्वपूर्ण हुने बताएका छन्।
‘मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो–नेपाल रेमिटेन्स सेवामा अर्को कोसेढुङ्गा थपिनेछ जहाँ ग्राहकहरूले दुवै कम्पनीको फराकिलो नेटवर्कबाट फाइदा लिन सक्नेछन्। यो साझेदारीले आफ्नो मेहेनतको कमाइ नेपालका परिवारहरूलाई घर फर्काउनको लागि भरपर्दो र सुरक्षित प्ल्याटफर्म प्रदान गर्नेछ,’ आइएमईका गौतम नैथानीले भने।
नेपाली आप्रवासीहरूले मुथुट फिनकर्प लिमिटेडको ३६०० भन्दा बढी शाखाहरू मध्ये कुनै पनि शाखाबाट नेपालमा तत्काल पैसा पठाउन सक्ने बताइएको छ।
नेपाल भित्रिने कुल रेमिटेन्सको १५ प्रतिशत भारतबाट आउने अनुमान आइएमईको छ। आइएमई सन् २००१ देखि रेमिटेन्स व्यवसायमा सक्रिय छ। यो सुविधाबाट ५० लाख नेपाली आप्रवासी लाभान्वित हुने अपेक्षा आइएमईको छ।