
लघुवित्त संस्थाहरुले पुरानो ऋण उठाउन नयाँ ऋण दिने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकले गरेको अनुगमनबाट लघुवित्तहरुले असुली प्रभावित भई नाफा बिग्रिने देखिएपछि पुरानो ऋण उठाउन नयाँ कर्जा दिने गरेको पाइएको हो। लघुवित्तहरुले असुलीमा सुधार भएको देखाउन पुराना ऋणीहरुलाई नयाँ ऋण दिएको पाइएको अनुगमनमा संलग्न राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन्।
‘ऋण असुलीमा सुधार हुन सकेको छैन। नयाँ ऋणको माग पनि बढेको छैन,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘खराब कर्जा बढेर नाफा प्रभावित हुने देखिएपछि लघुवित्तहरुले ऋणीहरुलाई थप कर्जा दिई साँवा ब्याज असुलेर पुरानो कर्जा चुक्ता भएको देखाएको पाइयो।’
ऋणको साँवा ब्याज तिर्न थप कर्जा दिन पाइँदैन। पुरानो ऋण तिर्न नयाँ कर्जा दिन नपाउने भएपछि लघुवित्तले चुक्ता भएको देखाएर नयाँ लोन दिएको पाइएको ती अधिकारीले जानकारी दिए।
‘लघुवित्तहरुले ६/८ महिनादेखि साँवा ब्याज असुल नभएका ऋणीहरुले एकैदिन पुरानो ऋण चुक्ता गरी नयाँ लोन लिएको देखाएका छन्,’ उनले भने, ‘पुरानो चुक्ता भएको देखाएर खराब ऋण म्यानेज भएको देखाइएको छ। नयाँ लोनलाई असल वर्गमा राखेपछि नोक्सानी व्यवस्था कम गर्न पाइयो। उनीहरुले नोक्सानी घटाएर पहिले गरेको प्रोभिजनिङ राइट अफ गरेर नाफा बढाउने फण्डा गरेका छन।’
लघुवित्तहरुले डरलाग्दोरुपमा एभरग्रिनिङ गरेको राष्ट्र बैंकको निष्कर्ष छ। पुरानो ऋण चुक्ता भएको देखाएर नयाँ कर्जा दिँदा राष्ट्र बैंकको आँखा नाजाने बुझाइमा लघुवित्तहरुले एभरग्रिनिङ गरेको अनुगमनमा संलग्न अर्का अधिकारीले बताए।
नयाँ कर्जा दिंदा सेवा शुल्कसमेत पाइन्छ। लघुवित्तहरुले पुराना ऋणीलाई नयाँ ऋणको भार बोकाएर सेवा शुल्कका नाममा ७४ करोड रुपैयाँभन्दा धेरै उठाएकोपनि राष्ट्र बैंकको अनुगमनबाट भेटिएको छ।
लघुवित्तहरुमा कैफियत देखिएपछि राष्ट्र बैंकले कर्जा चुक्ता गरेको एक साता नभएसम्म पुराना ऋणीलाई नयाँ ऋण दिन नपाउने व्यवस्था गर्न लागेको छ।
‘कर्जा चुक्ता गरेपछि नयाँ लोन लिन पाइन्छ। अहिले लघुवित्तले नयाँ कर्जा दिएर पुरानो कर्जा चुक्ता भएको देखाएका छन्,’ ती अधिकारीले भने, ‘पुरानो ऋण भुक्तानी गरेको कति समयपछि नयाँ कर्जा दिन पाउने भन्ने व्यवस्था नभएको छिद्रमा लघुवित्तले खेल्ने काम गरे। ऋणीमाथि बदमासी गरे। त्यसकारण अब पुरानो कर्जा चुक्ता गरेको १ सातापछि मात्रै नयाँ लोन दिन पाउने व्यवस्था गर्न लागेका छौं।’
लघुवित्त बैंकर्स संघका अध्यक्ष रामप्रसाद यादव पुरानो कर्जा चुक्ता गर्न नयाँ कर्जा दिनु गलत भएको बताउँछन्। केही लघुवित्तले निष्कृय कर्जा व्यवस्थापनका लागि यस्तो बद्मासी गरेको उनको भनाइ छ।
‘केही लघुवित्तहरुले निष्कृय कर्जा व्यवस्थापनका लागि नयाँ कर्जा दिएर पुरानो कर्जा चुक्ता भएको देखाएका छन्,’ उनले भने, ‘सबै लघुवित्तले यस्तो गरेका छैनन्। केही लघुवित्तको बदमासीलाई एउटै डालामा राखेर हेर्न मिल्दैन।’
कतिपय लघुवित्तका सीइओहरुले असुली प्रभावित भएका कारण नोक्सानीका लागि छुट्याउनुपर्ने रकम कम गर्न बाध्य भएर नयाँ ऋण दिएर पुरानो कर्जा चुक्ता गर्न लगाएको बताए।
‘ऋण असुली सुस्त छ। जसले गर्दा खराब कर्जा बढ्ने भयो। खराब कर्जा बढ्दा कर्जा नोक्सानी थपिंदा त्यसको प्रभाव ब्यालेन्ससिटमा पर्छ,’ उनले भने ,’त्यसैले ब्यालेसन्सिट राम्रो देखाउन बाध्य भएर ऋण तिर्न ऋण दिएका हौं।’
सम्बन्धित समाचार
लोकप्रिय समाचार




































































