नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिँदै गएको अधिक तरलतालाई व्यवस्थापन गर्न नयाँ मौद्रिक व्यवस्था लागू गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग रहेको अतिरिक्त तरलता ६ महिनासम्मका लागि केन्द्रीय बैंकमा निक्षेप राख्न पाउने भएका छन्।
राष्ट्र बैंकले बुधबार १ सय ७५ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलनको प्रस्ताव आह्वान गरेको थियो । यसअघि कात्तिक ९ गते मात्र राष्ट्र बैंकले ९० अर्ब रुपैयाँको ४२ दिने निक्षेप संकलनका लागि आह्वान गरेको थियो।
विगतमा केन्द्रीय बैंकले अधिकतम ६४ दिनसम्मका निक्षेप संकलन गर्दै आएकोमा यो पहिलो पटक ६ महिनासम्मको अवधिका लागि निक्षेप लिन लागेको हो। सामान्यतया ४, ७, १०, ११, १२ र २१ दिनका लागि निक्षेप संकलन गर्दै आइँदै आएको थियो।
राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्माका अनुसार खुला बजार व्यवस्थापन समितिले गरेको अध्ययन र प्रक्षेपणका आधारमा निक्षेप संकलनको समयावधि बढाइएको हो।
उनका अनुसार अबको केही समय बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहिरहने प्रक्षेपणका आधारमा यो व्यवस्था गरिएको हो । अहिलेलाई ४० अर्ब रुपैयाँ मात्रै छ महिनासम्म राख्न मिल्ने व्यवस्था गरिएको छ, तर आवश्यकता परे फेरि पनि लामो अवधिका लागि निक्षेप लिन सकिनेछ ।
राष्ट्र बैंकले लामो अवधिको निक्षेप संकलन गर्दा ब्याजदर कोरिडोरलाई सीमा भन्दा माथि जानबाट रोक्न सहज हुने देखिएको छ। राष्ट्र बैंकका तथ्यांक अनुसार, हाल ७ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम बैंकिङ प्रणालीमै थुप्रिएको छ।
व्यवसाय बढाउन नसकेपछि मुद्दती निक्षेपमा बैंकहरुको अनिच्छा
बैंक तथा वित्तीय संस्थाले लगानी बढाउन नसकेर तरलता थुप्रिएपछि संस्थागत निक्षेपमा रुची देखाउन छोडेका छन्।
ब्याजदर घटेर तल्लो विन्दुमा आएका बेला लागत कम पर्ने भए पनि कर्जा लगानी बढाउन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत निक्षेपमा अनिच्छा देखाउन थालेका हुन्। बैंकहरुको अनिच्छाका कारण मुद्दतीमा संस्थागत निक्षेप खुम्चिएको छ। चालु आर्थिक वर्ष पछिल्लो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दतीमा संस्थागत निक्षेप ६ अर्ब ५८ करोड रुपैयाँ खुम्चिएको हो।
कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदी मुद्दती निक्षेपमा लगानी गर्नका लागि प्रस्ताव माग गर्दा बैंकहरुले रुची नै नदेखाएको बताउँछन्। ‘संस्थागत मुद्दतीको ब्याजदर व्यक्तिगतमा १ प्रतिशत कम हुनुपर्ने भन्ने छ। तर, अहिले बैंकहरुले व्यक्तिगतमा ५/६ प्रतिशत ब्याजदर दिए पनि संस्थागतमा २.७५ प्रतिशतमा झारेका छन्,’ सुवेदीले भने, ‘त्यही ब्याजदरमा लगानी गर्नका लागि प्रस्ताव आह्वान गर्दा पनि बैंकहरुले बिड गरिरहेका छैनन्।’
चालु आर्थिक वर्ष दुई महिनामा कोषको मुद्दती निक्षेपमा लगानी ९ अर्ब ८९ करोड रुपैयाँले खुम्चिएको छ। बैंकहरुले मुद्दतीमा निक्षेपमा पैसा राख्न नचाहेपछि कोषले सरकारी सुरक्षणपत्र र सञ्चयकर्तामा लगानी बढाइरहेको छ। ‘हाम्रा सञ्चयकर्ता धेरै छन्। उनीहरुलाई विभिन्न ६ प्रयोजनका लागि कर्जा दिइरहेका छौं,’ सुवेदीले भने, ‘सञ्चयकर्तालाई न्यून ब्याजदरमा लगानी गरिरहेका छौं।’ सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई स्पेशल कर्जा, घर कर्जा, शैक्षिक कर्जा, सजिलो कर्जा, घर मेन्टिनेन्स कर्जा र जग्गा खरिद कर्जा दिने गरेको छ।
मुद्दती निक्षेपमा लगानी नागरिक लगानी कोषको २ अर्ब ३५ करोड र अन्य संस्थागत लगानीकर्ताको ८ अर्ब २६ करोडले खुम्चिएको छ। सामाजिक सुरक्षा कोषका एक कर्मचारीले बैंकहरुले पैसा लिन नमानेपछि सरकारी र अन्य संस्थाको ऋणपत्रमा लगानी बढाउन थालेको बताए। ‘बैंक तथा वित्तीय संस्थाहरुले थोरै थोरै रकमका लागि मात्र बिड गर्ने, त्यसमा पनि एकदमै कम ब्याजदरमा,’ ती कर्मचारीले भने, ‘त्यही कारण अहिले ऋणपत्र लगायत अन्य इन्स्ट्रुमेन्टमा लगानी बढाइरहेका छौं।’
बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको लगानी भने बढेको छ। पछिल्लो दुई महिनामा मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको लगानी १३ अर्ब ९३ करोडले बढेको छ। तर यो रकम पोहोरको वृद्धिको तुलनामा भने कम हो। पोहोर दुई महिनामा बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा १४ अर्ब ९९ करोड रुपैयाँ लगानी गरेका थिए। कर्जा लगानी बढाउन नसकेर लगानीयोग्य रकम थुप्रिएका कारण संस्थागत निक्षेप स्वीकार गर्न चासो नदिएको एक बैंकका सीइओले बताए।
‘अहिले कर्जाको माग छैन। तरलता निरन्तर बढिरहेको छ। तरलता थुप्रिंदा हाम्रो लागत बढ्छ,’ ती सीइओले भने, ‘लागत बढ्छ भनेर व्यक्तिगत निक्षेप राख्दिन भन्न पाइँदैन। व्यक्तिगत निक्षेप आइरहेके छ। हामीलाई संस्थागत निक्षेपको तुलनामा व्यक्तिगत निक्षेपको हिस्सा धेरै हुनु राम्रो पनि हो।’
चालु आर्थिक वर्ष असोज मसान्तसम्म वाणिज्य बैंकहरुले करक्जा लगानी जम्मा ४४ अर्बले बढाएका छन्। जबकि सोही अवधिमा निक्षेप झन्डै २ खर्ब रुपैयाँ थपिएको छ। अहिले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) हेर्दा प्रणालीमा झन्डै ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ। जसमध्ये ७ खर्ब ९३ अर्ब रुपैयाँ राष्ट्र बैंकले खिचिरहेको छ।
ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशत तल ब्याजदर आउन नदिन राष्ट्र बैंकले प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ।
हिमालयन एभरेष्ट इन्स्योरेन्समा डमी सिईओ
बीमाको संस्थागत सुशासन विपरित चल्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स आफन्तको भर्ती केन्द्र मात्रै बनेको छैन, कम्पनीमा डमी सिईओ राखेर अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले घरैबाट कम्पनी चलाइरहेका छन् ।
कम्पनीकी सिईओ अञ्जु श्रेष्ठले कुनै पनि काम गर्ने अधिकार नभएको भन्दै विहान, दिउँसो र साँझसम्म पनि अध्यक्षको घरको चोटाकोठा चहार्दैमा दिन बित्ने गरेको छ । कर्मचारीहरु अध्यक्षको दमनमा परेपनि जागिर जाने डरले नेपाल बीमा प्राधिकरणमा गएर उजुरी समेत गर्न सकेका छैनन् ।
सो सम्बन्धमा मौखिक रुपमा पटक पटक गुनासो गर्दा समेत नियामक बीमा प्राधिकरणले कुनै कारवाही गर्न नसकेको बुझिएको छ । प्राधिकरणका कर्मचारीहरुले दरिलो उपहारका कारण सो कम्पनीमाथि केही बोल्न नसकेको बुझिएको छ ।
बीमाको संस्थागत सुशासनविपरित तत्कालिन हिमालयन जनरल इन्स्योरेन्सको सञ्चालक, सिईओ अञ्जु श्रेष्ठदेखि विभागीय प्रमुखहरु नातेदार भएको र कम्पनीमा डमीको रुपमा मात्रै रहँदा कुनै पनि बेला कम्पनी दुर्घटनामा पर्ने जोखिम बढेको छ ।
सिईओ अञ्जु श्रेष्ठ कम्पनीको हितमा काम गर्ने भन्दा पनि अध्यक्षको एसम्यान बन्दा सम्पूर्ण कर्मचारीहरु समस्यामा पर्ने गरेको कर्मचारीहरु बताँउछन् ।यस बिषयमा बीमा प्राधिकरणमा बुझ्न खोज्दा प्राधिकरणका प्राधिकरणका एक उच्च अधिकारीलेले कर्मचारीहरु अन्यायमा परेका छन्, हामीले बुझेका छौ, तर जागिर जाने डरले प्रत्यक्ष रुपमा खुलेर बोल्न नसक्दा हामीले प्रमाण जुटाउन सकेनौ भन्ने प्रतिक्रिया दिएका छन् ।
प्राधिकरणलाई समेत यो बिषय नोटिसमा रहेको छ, तर यथेष्ठ प्रमाण र कर्मचारीहरुले सत्य बयान नदिँदा कारवाही गर्न समस्या परिरहेको छ ।
अब भिजिट भिसामा विदेश जाँदा होटल बुकिङ आवश्यक नपर्ने
विदेश जानको लागि नेपालीलाई भिजिट भिसाको प्रक्रिया सहज बनाइएको छ। भिजिटको नाममा विभिन्न मापदण्डहरु बनाउँदा बिचौलिया र सेटिङ बढेको भन्दै प्रक्रिया सहज बनाइएको हो।
यसअघि भिजिट भिसामा लागू गरिएको ६ बुँदै मापदण्ड परिमार्जित गरिएको छ। जसको लागि पहिले आवश्यक पर्ने कागजपत्र अब देखाउन नपर्ने भएको छ। गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट आजबाट नै लागू हुने गरि मापदण्ड परिवर्तन भएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।
अब भिजिट भिसामा विदेश जानको लागि होटल बुकिङ आवश्यक नपर्ने भएको छ। ट्राभल एजेन्सीदेखि नै नक्कली टिकटदेखि होटल बुकिङ बनाउने गरेकाले यसले सेवाग्राहीलाई थप समस्या परेकाले हटाएको उनले जानकारी दिए।
त्यस्तै, ५ सय रुपैयाँ डलर हुनुपर्ने मापदण्ड पनि हटाइएको छ। ६ महिनाको वैध राहदानी, भिसा, प्रस्थान गर्ने मुलुकसम्मको टिकट र नागरिक स्वघोषणा भए पुग्ने भएको छ।
महालेखा नियन्त्रक कार्यालयले बुझायो प्रतिवेदन, सरकारको नगद तथा बैंक मौज्दात ६५.८१ अर्ब
महालेखा नियन्त्रक कार्यालयले सरकारको गत आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण बुझाएको छ।
कार्यालयले शुक्रबार अर्थमन्त्री रामेश्वर खनाललाई विवरण र प्रतिवेदन बुझाएको हो। प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाख छ।
सञ्चित कोष र नगद अवस्था ऋणात्मक रहेको तर विभिन्न कोषको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमका आधारमा नगद तथा बैंक मौज्दात धनात्मक भएको महालेखाले जनाएको छ।
महालेखाको विवरण अनुसार गत आवमा सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड रुपैयाँले ऋणात्मक छ। त्यस्तै नगद अवस्था ३१ अर्ब ३४ करोडले ऋणात्मक छ।
महालेखाले हरेक आवमा एकीकृत वित्तीय विवरण र प्रतिवेदन तयार पारेर अर्थमन्त्रीसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ।
एनएसीमा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने
नेपाल वायु सेवा निगम (एनएसी)को महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा शुक्रबार समिति गठन गरेकी हुन्। समितिमा विज्ञ सदस्यका रुपमा क्याप्टेन कुलबहादुर लिम्बुलाई राखिएको छ। लिम्बु एनएसीकै पूर्वमहाप्रबन्धक हुन्।
पर्यटन मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुखले समितिमा सदस्य सचिवको रुपमा काम गर्नेछन्। समितिलाई खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न एक महिनाको समय दिइएको छ।
खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उप-प्रबन्ध निर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसैगरी एनएसीको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्ने छन्।
एनएसीमा यसअघि कार्यकारी प्रमुखका रुपमा अध्यक्ष नियुक्त गरिएको थियो। कार्यकारी अध्यक्षका रुपमा युवराज अधिकारीको चार वर्षे कार्यकाल कात्तिक ७ गते सकिएको थियो।
अधिकारीले कार्यकाल दोहोर्याउन दौडधुप गरेकामा प्रधानमन्त्री कार्कीले विभिन्न विवादमा मुछिएकालाई नबोक्ने सन्देश दिएकी थिइन्। त्यसपछि अधिकारी हच्किएका थिए।
अधिकारीले कात्तिक ४ गते उप-प्रबन्ध निर्देशक डोलेश्वर कोइरालालाई निमित्तको जिम्मेवारी दिएका थिए। कोइराला कालाखेतीभन्दा कनिष्ठ हुन्।
अधिकारीले बिहीबार एनएसीका केही कर्मचारीलाई आफू फेरि फर्किन सक्ने भन्दै टेलिफोन गरेका थिए।
यो समाचार बिजमाण्डूले सार्वजनिक गरेको भोलिपल्ट विभागीय मन्त्रीका नाताले प्रधानमन्त्री कार्कीले एनएसीको नेतृत्व खुला प्रतिस्पर्धाबाट छान्नका लागि समिति गठन गरेकी हुन्।
उनले निमित्तको जिम्मेवारी पनि अधिकारीका विश्वासपात्र कोइरालाको साटो कालाखेतीलाई दिएकी छन्।
सप्तकोशी डेभलपमेन्ट बैंक संकटमा : रित्तिदै पूँजी कोष अनुपात
विराटनगरमा मुख्य कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक अहिले आर्थिक संकटमा परेको छ । बैंकको हाल खराब कर्जाको दर उच्च छ भने पूँजी कोष अनुपात न्यूनतम मापदण्डभन्दा झण्डै २५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा बैंकको खराब कर्जा ९.१० प्रतिशत भन्दा माथि रहेको देखिन्छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही समेत गरेको छ । राष्ट्र बैंकका अनुसार, बैंकले तोकिएको न्यूनतम पूँजी कोष अनुपात कायम गर्न नसकेकाले सुधारका कार्यक्रमसहित निगरानी बढाइएको हो । केन्द्रीय बैंकले तोकेको १० प्रतिशतको पूँजी कोष अनुपातमा बैंकको अनुपात २४.९ प्रतिशतले कम हुँदा यस्तो कारबाही गरिएको हो।
यसअनुसार अब बैंकले नगद लाभांश वा बोनस सेयर घोषणा गर्न पाउने छैन, नयाँ शाखा खोल्न रोक लाग्ने छ र उच्च व्यवस्थापनको तलब, भत्ता तथा सुविधा वृद्धिमा समेत रोक लगाइनेछ । स्थलगत निरीक्षण प्रतिवेदनमा बैंकको वित्तीय स्थिति झन गम्भीर देखिएको छ । राष्ट्र बैंकका अनुसार, २०८१ असार मसान्तसम्म बैंकको पूँजी कोष अनुपात १० प्रतिशत हुनुपर्नेमा ४२.७ प्रतिशतले कम थियो । पछिल्लो विवरण अनुसार, २०८२ असार मसान्तसम्म बैंकको पूँजी कोष अनुपात ७.५१ प्रतिशतमा झरेको छ । यो न्यूनतम मापदण्डभन्दा २४.९ प्रतिशतले कमी देखाउँछ र बैंकमा तत्काल सुधारको आवश्यकता देखिन्छ ।
राष्ट्र बैंकले बैंकको वित्तीय व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको उल्लेख गरेको छ । निरीक्षणका क्रममा पूँजी योजना अपूर्ण, चालु पूँजी प्रकृतिका कर्जाहरूमा आवश्यक कागजात नलिई समय थप गरिएको, कर्जा नोक्सानी व्यवस्थाको विवरण यथार्थपरक नभएको र राष्ट्र बैंकमा गरिएको रिपोर्टिङ विश्वसनीय नभएको पाइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेललाई यस विषयमा सचेत गराइएको छ ।
स्थलगत निरीक्षण प्रतिवेदनमा बैंकको सञ्चालक समितिले नियम उल्लंघन गरी काम गरेको र सीईओबाट भएका कैफियतको जिम्मेवारी पनि सञ्चालक समितिमा पर्नेछ । साथै बैंक सञ्चालक समितिलाई लिखित निर्देशनमा भनिएको छ,‘भविष्यमा यस्तो कमजोरी दोहोरिन नदिनुहोस्।’
बैंकको पूँजी कोष अनुपात घट्नु र खराब कर्जा बढ्नु साना तथा मध्यम बैंकका लागि गम्भीर चुनौती हो । सप्तकोशी डेभलपमेन्ट बैंकले आन्तरिक मूल्यांकन र सुधारका कदम सुरु गरेको जानकारी दिएको छ । तर राष्ट्र बैंकले निगरानी बढाएपछि बैंकमाथि दबाब झन् बढेको छ । आगामी महिनाहरूमा पूँजी संरचना सुधार्न असफल भए थप कडा नियामक कदम चालिने सम्भावना रहेको छ ।
राष्ट्र बैंकमा डेपुटी गभर्नर बन्न दौडधुपः १८ कार्यकारी निर्देशक तीव्र लबिङमा
नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर बन्न तीव्र लबिङ सुरु भएको छ । हालका डेपुटी गभर्नरद्वय डा.निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको कार्यकाल आगामी फागुनमा सकिँदैछ ।
उनीहरूको कार्यकाल समाप्त हुन केही महिना बाँकी रहँदा १८ जना कार्यकारी निर्देशकहरू डेपुटी गभर्नर बन्नका लागि दौडधुप सुरु गरेका छन् । डा. ढुंगाना र मिश्रलाई तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए ।
अब उनीहरूको कार्यकाल सकिन लागेसँगै नयाँ नेतृत्वबारे चासो बढेको छ । राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर नियुक्ति कार्यकारी निर्देशकहरूकै समूहबाट गर्नुपर्ने व्यवस्था छ । गभर्नरले चार जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्छन्, र तीमध्ये दुई जनालाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गर्नेछ ।
हाल राष्ट्र बैंकमा नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरु प्रसाद पौडेल, बिमलराज खनाल, किरण पण्डित, डा. सत्येन्द्र तिमिल्सिना, चेत प्रसाद उप्रेती, रोशन कुमार सिग्देल, डा. राम शरण खरेल, डा. डिल्लीराम पोख्रेल, दीर्घराज रावल, निश्चल अधिकारी, अनुज दाहाल र दीपकराज लामिछाने कार्यकारी निर्देशक पदमा कार्यरत छन् ।
एक साताभित्रै राजन विक्रम थापा पनि राष्ट्र बैंकको ईडी बन्दैछन् । फागुनभित्र बिमलराज खनाल पनि अनिवार्य अवकाशमा गएपछि वरिष्ठताका आधारमा राजेन्द्र भट्टराई कार्यकारी निर्देशकमा बढुवा हुनेछन् । त्यसपछि उनी पनि डेपुटी गभर्नर बन्नका लागि योग्य हुनेछन् । गभर्नरले आफूले चाहेको जुनसुकै ईडीलाई पनि सिफारिस गर्न सक्ने व्यवस्था छ ।
गत भदौसम्म रामु पौडेल, गुरु पौडेल, डा. तिमिल्सिना, डा. खरेल र दीर्घराज रावल बलिया दाबेदारका रूपमा हेरिएका थिए । तर, हालैको ‘जेनजी आन्दोलन’ र त्यसपछिको राजनीतिक परिवर्तनले परिदृश्य बदलिएको छ ।
अहिले कुनै दल सत्तामा नभएकाले निर्णय अर्थमन्त्री रामेश्वर खनाल र गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हातमा सीमित रहेको छ । अर्कोतिर जेनजी आन्दोलनपछि संवैधानिक निकायमा राजनीतिक नियुक्ती खारेजीमा माग उठ्दै आएको छ ।
विगतमा डेपुटी गभर्नर नियुक्तिमा राजनीतिक भागबण्डा हाबी हुने गरेपनि अबका दिनमा भने प्रतिस्पर्धा, क्षमता, योग्यता, अनुभवका आधारमा डेपुटी गभर्नर नियुक्ति हुन सक्ने आँकलन गरिएको छ ।
अनलाइन सञ्चारमाध्यम दर्ता गर्दा ५ हजार र नवीकरण गर्दा २५ सय शुल्क
अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क लाग्ने भएको छ । सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली २०८२ अनुसार अनलाइन सञ्चार माध्यम दर्ता र नवीकरण गर्दा शुल्क लिने व्यवस्था गरेको हो ।
नयाँ संशोधन नियमावली अनुसार अनलाइन सञ्चार माध्यम दर्ता गर्दा ५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने छ भने नवीकरण गर्दा २ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ । सरकारले १३ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था गरेको हो ।
गत ९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रशारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय गरेको थियो।
जेनजी आन्दोलनपछि बनेको सरकारका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले बैठकपछि भनेका थिए, ‘छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रशारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोक्ने निर्णय भएको छ।’
यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयअनुसार गत २१ साउनमा सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको थियो।
अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य सूचना तथा प्रसारण विभागले गर्दै आएको भए पनि सरकारले केही नेपाल ऐन संशोधनमार्फत छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता र नवीकरणको अधिकार सारेको थियो।
त्यसलाई सच्याउँदै वर्तमान सरकारले अनलाइन दर्ता र नवीकरणको कार्य सूचना तथा प्रसारण विभागबाटै गराउने निर्णय गर्यो । यससँगै सरकारले दर्ता र नवीकरणको लागि शुल्कसमेत तय गरेको हो।
महानायक राजेश हमालको उपस्थितीमा नेशनल लाइफको ‘सफलता शुरुवात’ कार्यक्रम भव्य रुपमा सम्पन्न
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि १ रात २ दिनको ‘सफलताको शुरुवात’ कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८२ भाद्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको चर्चित एवं बरिष्ठ कलाकार महानायक राजेश हमालज्यूको उत्प्रेरणात्मक बिचार तथा अनुभव शेयर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको समुपस्थितीमा सम्पन्न कार्यक्रममा विभागिय प्रमुखहरु, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब ३०० जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागि हुनु भएका अभिकर्ताहरुलाई सम्वोधन गर्दै कम्पनीले आर्थिक बर्ष २०८१–८२ मा उल्लेखनिय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरुको मूख्य भुमिका रहेकोमा दुईमत नरहेको बताए उनले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनहरु प्रस्तुत गरेको र सोही क्रममा नेपाली सिने जगतका चर्चित कलाकार एवं वौद्धिक व्यक्तित्व महानायक राजेश हमालसंग साक्षात्कार गराई उनको अनुभवबाट केहि प्रेरणा लिन सकिने गरी भदौ महिनामा सफलताको शुरुवात योजना प्रस्तुत गरिएको र यो योजनाबाट अभिकर्ताहरु उत्साही भई देशैभरीबाट करिब ३०० जना अभिकर्ताहरु छनौट हुनबाट पुष्टि भएको बताए ।देशैभरीबाट कार्यक्रममा छनौट भई सहभागि हुने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान पत्रबाट सम्मानित गरेका छन् ।
यसैगरी कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्वन्धमा तालिम प्रदान गरेका थिए । कार्यक्रममा महानायक राजेश हमालले यो स्थानमा आईपुग्न आफूले सिनेजगतमा गरेको संघर्ष तथा निरन्तरताले मात्र सम्भव भएको बताउदै जुनसुकै पेशा अपनाउने व्यक्तिले पनि आफ्नो पेशालाई निरन्तरता दिँदा आपूmले लिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने बिचार व्यक्त गरेका छन् ।
मनोरञ्जनात्मक प्रस्तुती सहित सम्पन्न सो कार्यक्रममा सहभागि अभिकर्ताहरुले महानायक राजेश हमालसंग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट वृत्ति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
डिशहोम र ‘डल्ले’ बीच साझेदारी : सम्पूर्ण आउटलेटमा विशेष छुट
अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोम ले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ। यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन्। छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।
भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:
1. माइ डिशहोम एप Google Play Store बाट डाउनलोड गर्नुहोस्।
2. दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस्।
3. होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस्।
4. डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।
यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डिरेक्तर आलोक योन्जोन, डिशहोमका डपुटी चिफ प्रोडक्ट अफिसर, आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ। ‘डल्ले’ नेपाली खानाको क्षेत्रमा एउटा स्थापित नाम हो, जसले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीसहित ग्राहकहरूमाझ पुर्याइरहेको छ। शान्त वातावरण, समर्पित सेवा, र स्वादिष्ट भोजनका लागि परिचित डल्लेले हाल देशभरि थुप्रै शाखा विस्तार गरिसकेको छ।
महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित भएको छ।
गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम गत वर्षको साउन ३२ गतेदेखी लागू हुने गरी बैंक प्रमाणित भएकोमा गत भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो।
बैंकले ‘प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ्ग एक्टिभिटिज’ अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्ने विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको थियो।
अन्तराष्ट्रिय मापदण्ड अनुरूपको बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रूपमा सुधार गर्न सक्ने संस्था मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन्।
यस प्रमाण पत्र प्राप्तिको लागि महालक्ष्मी विकास बैंकको निति–नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट समेत गरिएको थियो।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करीब ८ लाखभन्दा बढी ग्राहकहरू रहेका छन्।












