जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

नवगठित सरकारसँग हातेमालो गर्दै राष्ट्र निर्माण गर्न बैंक तथा वित्तीय संस्था तयारः सिबिफिन

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नवगठित सरकारसँग हातेमालो गर्दै राष्ट्र निर्माण गर्न बैंक तथा वित्तीय संस्था तयार रहेको जनाएको छ । सिबिफिनले आईतबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । सिबिफिनले आज विज्ञप्ति प्रकाशित गरी गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्याउने तत्वहरुसँग सजग हुनु पर्ने उल्लेख गरेको छ ।

‘अत्यासलाग्दो मानवीय एवं भौतिक क्षतिका बाबजुद सुशासनयुक्त नवनेपाल निर्माणको नयाँ चरणमा प्रवेशका लागि स्पष्ट सन्देश दिएको र प्रस्थान विन्दु बनेको यस आन्दोलनको जगमा उभिएर युवा पुस्ताको आवाज र आकांक्षाहरुलाई प्रतिनिधित्व गरेर नवगठित सरकारसँग हातेमालो गर्दै शान्त, सुशासित एवं समुन्नत राष्ट्र निर्माणको अभियानमा एकाकार भई अगाडी बढ्न बैंक तथा वित्तीय क्षेत्र र यस क्षेत्रको छाता संस्था सिबिफिन सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ’, विज्ञप्तीमा भनिएको छ ।

साथै जेनजी आन्दोलनको क्रममा भएको मानवीय र देशैभरी सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति सिबिफिनले गहिरो दुःख प्रकट गरेको छ । विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तंग्रिदै र अर्थतन्त्रले गति लिँदै गर्दाको समयमा नयाँ नेपालको सपना बोकेका युवाहरुको पवित्र उद्देश्यसहित आह्वान भएको आन्दोलनको क्रममा भएको मानवीय र निहीत स्वार्थप्रेरित आक्रमणबाट देशैभरी सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति सिबिफिन स्तब्ध छ र गहिरो दुःख प्रकट व्यख्त गरेको छ ।

यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ पहिलो महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २० अर्ब ३ करोड पुगेको छ । यस्तो सञ्चिति १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिब क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ साउन मसान्तमा ४.० प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ साउन मसान्तमा १२.० प्रतिशतले वद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ । २०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको छ ।

२०८२ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४५.९ प्रतिशत, १३८.३ प्रतिशत र ३६.० प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

राष्ट्र बैंकका अनुसार यसअवधिसम्म चालु खाता ७८ अर्ब १४ करोड र शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड बचतमा रहेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता ७८ अर्ब १४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता.३३ अर्ब ८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको छ ।

त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २९.९ प्रतिशतले र अमेरिकी डलरमा २५ प्रतिशतले बढेको छ। २०८२ साउन महिनाको विप्रेषण आप्रवाह १ खर्ब ७७ अर्ब ४१ करोड रहेको छ । आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रहेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । निर्यात ९५.७ प्रतिशतले र आयात ११.४ प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च ४६ अर्ब ३१ करोड र राजस्व परिचालन रु.८४ अर्ब ४७ करोड रहको छ ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ। विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६५ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.७६ प्रतिशत रहेको छ ।

दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक खुला रहने

दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने भएको छ। अर्थ मन्त्रालयले मंगलबार निजी क्षेत्रका प्रतिनिधिसँग गरेको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार आयात–निर्यात र वित्तीय कारोबारमा अवरोध नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको हो। उपाध्यायले हालैको पहिरोका कारण अवरुद्ध तातोपानी नाका खुलाउन सरकार गम्भीर रहेको पनि बताए।

मंगलबार अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा मन्त्रालयमा उद्योगी तथा व्यवसायीहरूसँग विस्तृत छलफल भएको थियो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपलगायतका प्रतिनिधिहरू सहभागी थिए।

उद्योगी तथा व्यवसायीहरूले कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकमको शीघ्र भुक्तानी लगायतका माग राखेका थिए। जवाफमा अर्थमन्त्री खनालले व्यापार तथा उद्योग क्षेत्रलाई सहजीकरण गर्ने उद्देश्यले सरकार एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउन लागेको बताए। “कर नीति र मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि सरकार सकारात्मक छ,” उनले आश्वासन दिए।

बैंकहरुले झन् घटाए ब्याजदर, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सार्वजनिक गरेका छन्। भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुले दिने अधिकतम औसत ब्याजदर घटेको देखिएको छ।

भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशतविन्दु रहेकोमा असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ। यस अवधिमा ब्याजदर ०.११ प्रतिशतविन्दुले घटेको हो। चालु आर्थिक वर्षको असोज महिनाको ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये ८ वटाले घटाएका छन् भने १० वटाले यथावत कायम राखेका छन् ।

असोज महिनाको लागि दुई वटाले बैंकले भने ब्याजदर बढाएका छन् । असोज महिनाका लागि स्ट्याण्डर्ड चार्टड बैंक र लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएका हुन् ।

ब्याजदर घटाउनेमा हिमालयन बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक रहेका छन् ।

असोजमा कृषि विकास बैंकले ०.१८ प्रतिशत, एनआइसी एशिया बैंकले ०.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, नेपाल बैंकले ०.१५ प्रतिशत, कुमारी बैंकले ०.२ प्रतिशत, नेपाल एसबिआई बैंकले ०.२७ प्रतिशत र एभरेष्ट बैंकले ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

असोज महिनाको लागि स्ट्याण्डर्ड चार्टड बैंकले ०.०५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशतले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् । साथै, असाज महिनाको लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.२५ प्रतिशत, प्रभु बैंकले ५.३५ प्रतिशत, नबिल बैंकले ५.५ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

त्यस्तै, माछापुच्छे बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.५ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, सिटिजन्स बैंकले ५.५ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकले ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

ट्यारिफ चपेटामा एप्पल : आइफोन-१७ प्रो महँगो

एप्पलले आफ्नो नयाँ पुस्ताको आइफोन सार्वजनिक गरेको छ, जसमा नयाँ अल्ट्रा-पातलो मोडेल र उच्चस्तरीय मोडेलमध्ये एउटामा मूल्य बढाइएको छ। मंगलबारको यो घोषणाको बीचमा कम्पनी विश्वव्यापी व्यापार युद्धको चपेटामा परेको छ। आइफोन-१७ लाइनअपमा अब ‘एयर’ नाम पाएको नयाँ स्लिम मोडेल समावेश छ, जुन नाम एप्पलले पहिले नै आफ्नो पातलो आइप्याड र म्याक कम्प्युटरका लागि प्रयोग गर्दै आएको थियो। वार्षिक परम्परानुसार, सबै चार नयाँ आइफोन-१७ मोडेलमा गत वर्षको तुलनामा राम्रो क्यामरा र बढी टिक्ने ब्याट्री हुनेछ। सबै मोडेलमा कम्तीमा २५६ गिगाबाइट स्टोरेज हुनेछ, जुन अघिल्लो पुस्ताको भन्दा दोब्बर हो।

‘हामी फेरि स्तर बढाउँदैछौं,’ एप्पलका सीइओ टिम कुकले कुपर्टिनोस्थित कम्पनीको क्याम्पसमा स्टीभ जोब्सको नाममा बनेको अडिटोरियममा भेला भएका दर्शकलाई सम्बोधन गर्दै भने।

ट्यारिफको चपेटामा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस पुनरागमन र उनले लगाएको उच्च करको नीतिपछिको आइफोनका नयाँ मोडललाई बजारमा सहज छैन। आइफोनले नयाँ मोडल ल्याउनुलाई ट्रम्प प्रशासनले विदेशी उत्पादनलाई अमेरिकी बजारमा ल्याएको रूपमा हेरिरहेको छ, जसले गर्दा कुकलाई गाह्रो परेको छ।

आइफोन-१७ का सबै मोडेल चीन र भारतस्थित एप्पलका उत्पादन केन्द्रमै बन्ने भएकाले ती ट्रम्पका केही ट्यारिफको चपेटामा पर्नेछन्। विश्लेषकहरूका अनुसार आयात शुल्कले एप्पललाई मूल्य बढाउन दबाब दिएको छ, ताकि नाफा सुरक्षित गर्न सकियोस्।

कम्पनीले कुनै कारण नबताई आइफोन-१७ प्रोको मूल्य १,१०० डलर तोकेको छ, जुन अघिल्लो मोडेलको भन्दा १०० डलर, अर्थात् १० प्रतिशत बढी हो। आइफोन एयरको मूल्य १,००० डलरबाट सुरु हुनेछ, यो अघिल्लो वर्षको आइफोन-१६ प्रो बराबर हो।

सामान्य आइफोन-१७ भने ८०० डलरमै रहनेछ र आइफोन-१७ प्रो म्याक्स १,२०० डलरमै। सबै मोडेल सेप्टेम्बर १९ देखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

एप्पलको सेयर मंगलबार १.५ प्रतिशतले घट्यो, जबकि अन्य बजार बढेको थियो। यसले लगानीकर्ताहरू अझै सन्तुष्ट नभएको देखाएको छ।

नयाँ आइफोन एयर
आइफोन-१७ एयरले सबैभन्दा बढी चर्चा पायो। यसले प्रो मोडलको धेरै सुविधा समेट्दै आकर्षक डिजाइनमा आएको छ। फोरेस्टर रिसर्चका विश्लेषक दिपाञ्जन चटर्जीका अनुसार यो ट्रेन्डमा ध्यान दिने उपभोक्तालाई आकर्षित गर्नेछ। एयर मोडेल मात्र ५.६ मिलिमिटर बाक्लो छ, जब कि अन्य आइफोन १७ मोडेल ८–९ मिलिमिटर छन्। ‘त्यहाँ थुप्रै ‘क्र्याकल्स’ र एउटा ठूलो ‘पप’ थियो,’ चटर्जीले भने।

यसपटक सेल्फी संस्कृतिलाई ध्यान दिइएका नयाँ फिचरहरू पनि थपिएका छन्। आइफोन-१७ मोडलमा बढी मेगापिक्सेल भएको फ्रन्ट क्यामेरा, ‘सेन्टर स्टेज’ अप्सन, र नयाँ सेन्सर छन् जसले प्रयोगकर्तालाई फोन नघुमाइकनै ल्यान्डस्केप फोटो खिच्न दिनेछ। विश्लेषक पाओलो पेस्काटोरेका अनुसार, यद्यपि अपग्रेडहरू धेरै हदसम्म अघिल्ला वर्षझैँ क्रमिक मात्र हुन्, एप्पलले ‘लामो समयदेखि उस्तै रहेको आइफोनमा नयाँपन ल्याएको’ देखिन्छ। एप्पलले नयाँ स्मार्टवाच पनि ल्याएको छ, जसमा उच्च रक्तचाप (हाइपरटेन्सन) पत्ता लगाउन सहयोग गर्ने उपकरण छ, साथै नयाँ पुस्ताको एअरपड पनि प्रस्तुत गरेको छ।

बिक्री बढाउने प्रयास
एप्पल पछिल्ला वर्षमा बिक्री वृद्धिमा संघर्ष गर्दै आएको छ। नाफा भए पनि स्टार्टअप बिजनेसमा प्रश्न उठिरहेको छ। यही कारण कम्पनीको बजार मूल्य यस वर्ष ६ प्रतिशतले घटेको छ, जबकि नास्डाक कम्पोजिट १३ प्रतिशतले बढेको छ।

पछिल्लो वर्षको आइफोन १६ ठीकठाक चले पनि, एआई फिचर नपुगेकाले बिक्री अपेक्षा अनुसार भएन। स्मार्ट सिरि सहायक लगायतका फिचर अब अर्को वर्ष मात्र आउनेछन्।

फोरेस्टर रिसर्चका टोमस हुशानले भविष्यवाणी गरे, ‘प्रतिस्पर्धीलाई हराउन एप्पलले एआईलाई नयाँ प्रयोगकर्ता इन्टरफेसको रूपमा सफलतापूर्वक प्रयोग गर्नैपर्छ।’

विश्वव्यापी व्यापार युद्धको असर
ट्रम्प र अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले बारम्बार आइफोन अमेरिकामै बनाउनुपर्ने माग गरेका छन्। तर विश्लेषकहरूले यो असम्भव बताएका छन्, किनभने यस्तो गर्न वर्षौं लाग्नेछ र मूल्य दोब्बर वा तेब्बर हुनेछ।

कुकले अमेरिकामा ४ वर्षभित्र ५०० अर्ब डलर लगानी गर्ने वाचा गरेका थिए, पछि १०० अर्ब थपे। उनले ट्रम्पलाई २४ क्यारेट सुनको आधार भएको मूर्ति पनि उपहार दिएका थिए।

यस्तो कूटनीतिले एप्पललाई सबैभन्दा कठोर ट्यारिफबाट केही हदसम्म जोगाएको छ। तर अझै पनि अमेरिकामा भित्रिने आइफोनहरूमा करिब २५ प्रतिशत शुल्क लागिरहेको छ, जसका कारण विश्लेषकहरूले कम्पनी मूल्य बढाउने अनुमान गरेका थिए। यद्यपि स्यामसङ र गुगलजस्ता अन्य स्मार्टफोन कम्पनीहरू भने गत वर्षकै मूल्यमा टिकेका छन्। (एपी)

कार्की क्याबिनेटको पहिलो निर्णय: असोज १ गते शोक दिवस, मृतकका परिवारलाई १५ लाख दिने

सरकारले जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति प्रति दु:ख व्यक्त गर्दै असोज १ गते शोक विदा दिने निर्णय गरेको छ। आज सरकार विस्तारपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले असोज १ गते शोक दिवस मनाउने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले सहादत प्राप्तलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गरिने जानकारी दिए। यस्तै, मृतकका परिवारलाई १५ लाख दिने निर्णय पनि सरकारले गरेको छ।

यस्तै, घाइतेहरुको नि:शुल्क उपचार गर्ने र आन्दोलनका क्रममा धनजन क्षति र ज्यादती भएकोमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरिएको छ। पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाउने तयारी गरिएको भनिए पनि नाम भने तय भएको छैन।

आयोगको प्रतिवेदनको आधारमा कारबाही गर्ने अर्यालले जानकारी दिए। साहदत प्राप्तहरुको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय पनि भएको छ।

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने निर्णय

जेनजी आन्दोलनका क्रममा शाहदत्त प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

गृहमन्त्री अर्यालका अनुसार १ असोजमा शोक दिवस मनाउने र सार्वजनिक विदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ । जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् ।

गृहमन्त्री अर्यालका तीन निर्णय- काजक्रियालाई एक लाख, शव लैजान सघाउने र शोक दिवस मनाउने

नवनियुक्त गृह एवम् कानुनमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहणसँगै तीनवटा निर्णय गरेका छन्। शीतल निवासमा सपथ गरेपछि सिंदरबार पुगेर पदभार ग्रहण गरेका उनले प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई काजक्रियाका लागि सरकारले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने, शवहरु जिल्ला पठाउनुपर्नेको हकमा हेलिकप्टरको प्रयोग र पछिल्लो घटनालाई राष्ट्रिय शोकको रुपमा मनाउने निर्णय गरेका हुन्।

गृहमन्त्री अर्यालले आगामी निर्वाचन निष्पक्षरुपमा भएर गर्ने बताएका छन्। गत साता भएको आन्दोलनमा दिवंगत धेरै जनाको शव अझै उपत्यकाका अस्पतालहरुमा छन्। अब सद्गतका लागि गाउँघर लैजान सरकारले सघाउनेछ।

शोक दिवसमा राष्ट्रिय झण्डा झुकाइनेछ। उनको निर्णयलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्नेछ।

बैंकिङ सेवाहरू सहज रुपमा संचालनको वातावरण बनाउन सिबिफिनको माग

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंकिङ सेवाहरू सहज रुपमा संचालन गर्ने वातावरण बनाउन अनुरोध गरेको छ। सिबिफिनले विज्ञप्ति निकाल्दै जेनजीको आन्दोलनमा अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेशा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सिर्जना गर्न माग गरेको हो।

सिबिफिनले भनेको छ, ‘गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्‍याउने तत्वहरूसँग सजग हुँदै अर्थतन्त्रको आधारस्तम्भ र दिगो आर्थिक विकासको संवाहकको रुपमा रहेका सबल र जिम्मेवार बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना बैंकिङ सेवाहरू सहजरुपमा संचालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन समेत सिबिफिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।’

महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तंग्रिदै र अर्थतन्त्रले गति लिँदै गर्दाको समयमा जेनजीको आन्दोलनले निजी क्षेत्रमा क्षति पुर्‍याएको सिबिफिनको भनाइ छ।

व्यवसायी र ऋणीलाई जोगाउन राष्ट्र बैंकले बनायो समिति

बैंकर र व्यवसायी दुवैको कुरा सुनेपछि नेपाल राष्ट्र बैंकले व्यावसायिक प्रतिष्ठनदेखि तल्लो तहका ऋणीसम्मलाई के कसरी सहयोग गर्न सकिन्छ भनेर अध्ययन सुरु गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग र भुक्तानी प्रणाली विभागका प्रमुखहरुको संयोजकत्वमा दुई वटा समिति बनाएर अध्ययन सुरु गराएका छन्।

कोभिडमा जस्तो एकै पटक पुनर्कर्जामा जाँदा पछि जटिलता आउने भएकाले बजारको माग र आवश्यकता अध्ययन गरेर कस्तो सुविधा दिने भन्ने निर्णय राष्ट्र बैंकले गर्नेछ। गभर्नर पौडेलले गत शुक्रबार मात्र बैंकर र व्यवसायीहरुलाई डाकेर समस्या सुनेका थिए।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहणलगत्तै कर्मचारीहरुलाई सम्बोधन गर्दै निजी क्षेत्रलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने योजना सुनाएकी थिइन्।

सरकारसँग समन्वय गरेर अगाडि बढ्ने योजनामा रहेको राष्ट्र बैंकले छलफलको अवसर पाएको छैन। अर्थसचिव राष्ट्र बैंकको सञ्चालक हुन्छन्। सरकारी काममै व्यस्त भएका कारण उनी राष्ट्र बैंक सञ्चालक समितिको बैठकमा जान सकिरहेका छैनन्। अर्थमन्त्री नियुक्त नभइसकेको अवस्थामा राष्ट्र बैंक पनि अन्योलमा छ।

त्यसैले आफ्नो तर्फबाट सानादेखि ठूला ऋणीसम्म र बैंकरको कुरा बुझ्न राष्ट्र बैंकले समिति बनाएर काम थालेको हो। बैंक तथा वित्तीय संस्थामार्फत ऋणीको कुरा बुझ्न नियमन विभाग प्रमुख गुरु पौडेलको नेतृत्वमा समिति बनाइएको छ। सोझै व्यवसायीहरुको समस्या र मागका बारेमा बुझ्न भुक्तानी प्रणाली विभागका प्रमुख किरण पण्डितको नेतृत्वमा अर्को समिति गठन गरिएको छ।

जेनजी आन्दोलनमा आपराधिक समूहले घुसपेठ गर्दा गभर्नर पौडेलकै घर जलेको छ। व्यक्तिगत पीडाकै बीच पनि गभर्नरले आफैं पहल गरेर निजी क्षेत्रको कुरा सुनेका थिए।

राष्ट्र बैंक तत्कालै पुनर्कर्जा वा सहुलियतपूर्ण कर्जाको निर्णय गर्नेभन्दा पनि पहिले आवश्यकता पहिचान गर्नतिर लागेको छ। त्यसपछि कति क्षति भएको हो भन्ने यकिन गरेर कस्तो सुविधा दिँदा निजी क्षेत्रको समस्या सम्बोधन हुन्छ त्यही अनुसार अगाडि बढ्ने नियमन विभाग प्रमुख पौडेलले जानकारी बताए।

निजी क्षेत्रको मनोबल कमजोर भएकाले राजस्वमा ठूलो प्वाल पर्ने आकलन गरेको राष्ट्र बैंकले समग्र अर्थतन्त्रलाई ‘पम्पिङ’ गर्ने गरी नीति तर्जुमा गर्नु पर्नेछ।

कति छ पैसा?
प्रधानमन्त्री कार्कीले भनेजस्तै सरकारसँग सहुलियतपूर्ण कर्जा दिनका लागि १० अर्ब रुपैयाँ मात्र छ। त्यो पनि आगलागी तथा तोडफोड हुनुभन्दा अगाडिको अवस्थामा।

अघिल्लो सरकारले पुरानो अनुदान फरफारक गर्ने भनेर राष्ट्र बैंकसँग विवरण मागेको थियो। अब राजस्व उठाउने संयन्त्र कमजोर भएकाले सरकारले अनुदान ऋण उपलब्ध गराउने सम्भावना केही टरेको छ।

त्यसो हुँदा राष्ट्र बैंककै तर्फबाट केही योजना बनाउनु पर्ने हुन्छ। राष्ट्र बैंकका अधिकारीहरुका अनुसार, कोभिडकालमा जस्तै गरेर जाँदा राष्ट्र बैंकले सस्तो ब्याजदरको साढे २ खर्ब रुपैयाँ पुनर्कर्जा दिन सक्छ। त्यसबाहेक बैंकिङ क्षेत्रमा ६ खर्ब रुपैयाँ अतिरिक्त तरलता छ। यसमध्ये केहीलाई उद्योग धन्दा पुनरुत्थानका लागि आधार दर हाराहारीमा दिने व्यवस्था मिलाउन सकिन्छ।

तर, पछिल्लो समय ऋणको माग नै थिएन। पछिल्लो घटनाले माग थप घट्ने विश्लेषण राष्ट्र बैंकको छ। त्यसो हुँदा तोडफोड नभएका उद्योगहरुबाट पनि ऋणको माग हुने छैन।

तोडफोड र आगजनी भएका उद्योगहरुको क्षति धेरै हदसम्म बीमा कम्पनीहरुबाट बहन हुन्छ। क्षति भएका उद्योग तथा प्रतिष्ठान तथा ऋणीहरुलाई ऋण तिर्ने समय थप्न सकिने गरी पनि छलफल भएको छ।

कुलमानलाई प्राधिकरणमा गर्न नसकेको काम गर्ने अवसर

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका छन्। कुलमानले सोमबार अपराह्न ऊर्जा मन्त्रालय पुगेर पद्‍भार ग्रहण गर्ने क्रममा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका हुन्। डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगका नाममा सवा ८ अर्ब रुपैयाँ बक्यौता रहेको नेपाल विद्युत प्राधिकरणको हिसाब छ।

प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदा डिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने कुलमानको प्रयास असफल भएको थियो। यही विषयमा तत्कालीन ऊर्जामन्त्री दीपक खड्कासँगको विवादका कारण कुलमान गत चैत दोस्रो साता बर्खास्त भएका थिए।

प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा गर्न नसकेको काम कुलमानले अब ऊर्जामन्त्रीको जिम्मेवारीमा रहेर गर्ने भएका हुन्। उनले सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‍मा ऊर्जासहित शक्तिशाली तीन वटा मन्त्रालयको नेतृत्व पाएका छन्। उनले ऊर्जाबाहेक भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको पनि नेतृत्व पाएका हुन्।

कुलमानले प्राधिकरणमा रहँदा बक्यौता उठाउनका लागि एकपछि अर्को प्रयास गरेकामा तत्कालीन ऊर्जामन्त्री खड्काले भाँजो हालेका थिए। बक्यौता रकम उठाउने कुलमानको योजनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि असहयोग गरेका थिए। ओलीले खड्काको लहलहैमा लागेर कार्यकाल सकिनु पाँच महिनाअघि चैत ११ गते कुलमानलाई बर्खास्त गरेकामा तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेसबाट विरोध भएको थियो।

स्रोतका अनुसार खड्काले डेडिकेटेड र ट्रंक लाइनबापत ठूलो रकम तिर्नुपर्ने उद्योगी र बिचौलियाको प्रभावमा परेर अन्तिमसम्म नै बक्यौता रकम ढिसमिस बनाउने प्रयास गरेका थिए। कुलमानलाई बर्खास्त गरेपछि खड्काले चैत २९ गते प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराइ प्रशासकीय पुनरवलोकनका लागि धरौटी रकम २५ प्रतिशतको साटो ५ प्रतिशत राखे हुने निर्णय गरेका थिए।

यो निर्णयका आधारमा प्राधिकरणले सूचना निकालेपछि त्रिवेणी स्पिनिङ मिल्स, त्रिवेणी सिन्थेटिक यार्न इन्डष्ट्रिज, रिलायन्स स्पनिङ मिल्स, भलबारी स्वचालित कारखाना, एसआर स्टील उद्योग, गोयन्का फुड्स, अशोक स्टील, जगदम्बा स्टील, रघुपति जुट मिल्स, बाबा जुट मिल्स, सिद्धार्थ पेट इन्डष्ट्रिज, घराना फुड्स, एसआर फुड्स, जगदम्बा सिन्थेटिक, एभरेष्ट रोलिङ मिल्स, युनाइटेड सिमेन्ट, अर्घाखाँची सिमेन्ट, शिवम् सिमेन्ट लगायत ४६ वटा उद्योगले निवेदन दिएका थिए। तीमध्ये लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले भने किस्ताबन्दीको सुविधामा बक्यौता रकम तिर्दै आएका छन्।

पुनरवलोकन समितिबाट आफ्नो चाहना अनुसार निर्णय गराउने खड्काको योजनामा प्राधिकरणकै कर्मचारीले साथ दिन अस्वीकार गरेका थिए। खड्काले आफैंले प्राधिकरणको सञ्चालक नियुक्त गरेका श्यामकिशोर यादवको नेतृत्वमा पुनरवलोकन समिति गठन गरेकामा प्राधिकरणका कर्मचारीले समितिमा बस्नै अस्वीकार गरेका थिए।

खड्काले बक्यौता ढिसमिस गर्न खोजेको भन्दै कर्मचारीले समितिमा बस्न नमानेपछि अख्तियारले प्राधिकरण सञ्चालक समितिको निर्णयको माइन्यूट नै मागेर छानबिन अगाडि बढाएको थियो। अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले साउन अन्तिम साता प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर खड्काको योजनामा साथ नदिन निर्देशन दिएका थिए।

करणले काटेको बिल सच्याउने अधिकार पुनरवलोकन समितिलाई छ। पुनरवलोकन समितिबाट हुने निर्णय अन्तिम हुने प्राधिकरणको विद्युत वितरण विनियमावली विनियमावलीमा उल्लेख छ। त्यही व्यवस्थाका कारण खड्काले बक्यौता रकम ढिसमिस गराउन खोजेका थिए। प्राधिकरणका अनुसार ३४ उद्योगको नाममा जरिवानाबाहेक ६ अर्ब ४० करोड ९२ लाख ४० हजार रुपैयाँ बक्यौता छ

जेनजी आन्दोलनबाट बैंकहरूका ६८ वटा शाखा र ६९ वटा एटिएम आगजनीः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न बैंकका ६८ वटा शाखा र ६९ वटा एटीएममा क्षति पुगेको बताएका छन् । सोमबार अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा गभर्नर पौडेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘जेन–जी प्रदर्शनका कारण बैंकका ६८ वटा शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ, यद्यपि यो समय मानिसहरूको मनोबल बढाउने हो, जे घटना घट्यो त्यो ज्यादै दुःखद् छ । राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ ।’