नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदबहालीसँगै चारवटा मुख्य एजेण्डा अगाडि सारेका छन्। निजामती प्रशासनको बागडोरमा रहँदा निष्कलंक हुन सफल खनालले भ्रष्टाचार नियन्त्रण, फजुल खर्च घटाउँदै चुनावी बजेटको जोहो, पुनर्निर्माण र निजी क्षेत्रसँगको सहकार्यलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका हुन्।
मन्त्री खनालले राजस्व बढाउन अर्थ मन्त्रालय केन्द्रित हुने बताएका छन्। ‘राजस्व असुलीमा ज्यादै ठूलो प्रयत्न भएर लाग्नुपर्ने छ। यसका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्नेछ,’ उनले भने।
पहिलो : भ्रष्टाचार अन्त्य
अर्थमन्त्री खनालले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्ने भन्ने विश्वासका साथ आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको बताए।
‘भ्रष्टाचार नियन्त्रणका लागि ज्यानै गुमाएर युवाहरूले बलिदान दिएका छन्। त्यो सपना पूरा गर्ने जिम्मेवारी हामीले पाएका छौँ। युवाहरूको विश्वास लिएर आएको छु। यसलाई पूरा गर्नु हामी सबैको दायित्व र कर्तव्य हो,’ उनले बुधबार पदभार् ग्रहणपछि मन्त्रालयका कर्मचारीसामु भने। मन्त्री खनालले विगतमा गल्ती गरेको भए कानुन बमोजिम सजाय हुने र अब आइन्दा नजानेर पनि कर्मचारीलाई गल्ती गर्ने छुट नहुने बताए।
‘गल्ती गरेका रहेछौँ भने निश्चित रुपमा कानुनी प्रक्रियामा सहभागी हुनुपर्छ। सजाय भोग्नका निम्ति तयार हुनुपर्छ। अब आइन्दा नजानेर पनि गल्ती गर्ने कुनै गुन्जयास नराख्नुहोला,’ उनले भने।
कुनै विषयमा शंका लागे, आफूले गरेको कामको परिणाम नराम्रो हुन्छ भन्ने लागे, करदाताको पैसाको सदुपयोग हुँदैन वा सार्वजनिक सम्पत्तिको दुरुपयोग हुँदैन कि भन्ने लाग्छ भने सच्च्याएर जान तयार हुनुपर्ने मन्त्री खनालले बताए। ‘सार्वजनिक सम्पत्तिको प्रयोगमा अब हामी सच्चिनै पर्छ। सच्चिएर अगाडि बढ्नुहोला भन्ने मेरो आग्रह छ,’ उनले भने।
भनसुन, अनुचित लाभजस्ता विषय अब नचल्ने मन्त्री खनालले बताए।
‘कतैबाट केही आयो भने त्यसमा सचिवज्यूले आफ्नो जिम्मेवारी पूरा गरेर एक्सन लिनुहुनेछ। म प्रशासनबाट आएको हुनाले थाहा छ प्रशासकीय अधिकार मन्त्रीको दायरामा पर्दैन। कारबाहीको दायरा मन्त्रीको हुँदैन। त्यसकारण मैले सचिवज्यूलाई भनेको छु- यस्तो खालको घटना भए तत्काल एक्सन लिनुस्। हामीले लामो समय अल्झाएर राख्नु हुँदैन,’ उनले भने।
गल्ती गर्ने कसैलाई पनि संरक्षण नगर्ने अर्थमन्त्री खनालले बताए। ‘यो मेरो व्यक्तिगत एजेण्डा होइन, अहिले राष्ट्रको एजेण्डा हो,’ उनले भने।
उनले जति समय लागे पनि काम कार्यालयमै गर्न कर्मचारीहरूलाई निर्देशन दिए। ‘होटल, रेस्टुरेन्ट,घरमा गएर काम गर्ने प्रयास नगर्नुहोला,’ खनालले भने।
उनले कुनै पनि कामका लागि आफ्नो घरमा कोही पनि नआइदिन आग्रहसमेत गरे। ‘मेरो घरमा नआउनुहोला। जे काम छ सबै कार्यालयमै बसेर गरौँ। मेरो घर चिन्नुभएन भने निकै खुशी हुनेछु,’ उनले भने।
दोस्रो : चुनावी खर्चको जोहो
आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गराउने म्यान्डेट पाएको सरकारले त्यसका लागि बजेटको जोहो गर्नुपर्ने भएको छ। चालु आवको बजेटले चुनावी खर्चको परिकल्पना नगरेकाले अन्तरिम सरकारले त्यसको व्यवस्थापन गर्नुपर्नेछ।
यसका लागि पूरक बजेट ल्याउने पक्षमा नरहेको मन्त्री खनालले बताए। बजेटभित्रै रहेर फजुल खर्चका निम्ति गरिएको विनियोजन कटौती गर्ने र प्रोजेक्ट बैंक बाहिरबाट राजनीतिक दबाबमा छिराइएका आयोजना कार्यान्वयन नगर्ने योजना मन्त्री खनालले सुनाए।
‘६ महिनाको संवैधानिक दायरा रहेको र त्यसपछि म्याद थप नहुने भएकाले यो अवधिमा जसरी पनि निर्वाचन सम्पन्न गराउनु छ। यसका लागि खर्चको जोहो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो,’ उनले भने।
टुक्रे आयोजना कार्यान्वयन नगर्ने, फजुल खर्च घटाउने र हुँदै नहुने काममा छुट्याइएको बजेट निर्वाचनमा उपयोग गर्ने आफ्नो रणनीति रहेको मन्त्री खनालले बताए। उनले भने, ‘यति गर्दा १०० अर्ब जति निकाल्न सकिन्छ कि भन्ने सचिवज्यू र मेरो बुझाइ छ।’
तेस्रो : तत्काल उठ्दैछौँ भन्ने सन्देश
खनालले सिंहदरबार छिर्न थालेको ४६ वर्षमा यस्तो भयावह अवस्था कहिल्यै नदेखेको बताए। ‘कतै युद्धभूमिमा आएकोजस्तो लाग्ने भएको छ। त्यसकारण कम्तीमा अर्थ मन्त्रालय परिसरमा भएका भग्नावशेष तुरुन्तै हटाऔँ। धुँवाले भएको कालो तुरुन्तै पोतेर सेतो बनाऔं। हामी उठ्यौँ है भन्ने सन्देश प्रवाह गरौँ,’ उनले भने।
सार्वजनिक सम्पत्ति क्षति भएकाले वित्तीय प्रणाली र संयन्त्रबाट अत्यावश्यक पुनर्निर्माण तत्काल सुरु गर्न पनि मन्त्री खनालले निर्देशन दिएका छन्।
‘सार्वजनिक सम्पत्तिको बिमा नहुने भएकाले क्षति ठूलो छ। तर तुरुन्तै गर्नुपर्ने काम सुरु गरिहालौँ। सार्वजनिक निकायहरू दुरुस्त भएर काम गर्न सक्ने भए भन्ने खालका बनाऔँ,’ उनले भने।
खनाल अर्थ मन्त्रालयका लागि तत्काल कुनै सवारीसाधन खरिद गर्ने पक्षमा छैनन्। ‘कतिपय सवारी आवश्यकताभन्दा बढी थिए होलान्, कुनै काम नलाग्ने हुन लागेका थिए होलान्। त्यसकारणले कम्तीमा ६ महिना अर्थ मन्त्रालयले भएकै सवारी साधनबाट काम चलाउनुपर्छ। सार्वजनिक खर्चमा ज्यादै निर्मम हुनुपर्ने बेला छ।’
चौथो : निजी क्षेत्रसँग सहकार्य
मन्त्री खनालले अर्थतन्त्रको बलियो आधार निजी क्षेत्र भएकाले उसँगको सहकार्यलाई बलियो बनाएर जाने प्रतिबद्धता जनाएका छन्। तोडफोड, आगजनी, लुटपाटबाट निजी क्षेत्रले ठूलो क्षति बेहोरेको भन्दै उनले भने, ‘यकिन विवरण नआएको भए पनि निजी क्षेत्रमा ठूलो क्षति भएको छ। व्यावसायिक प्रतिष्ठानमा आक्रमण भएको छ। उहाँहरूको मनोबल उकास्ने काम सरकारले गर्छ।’
मन्त्रालयका हरेक निर्णय निजी क्षेत्रमा गएर ठोक्किने र मन्त्रालयका हरेक निर्णयले निजी क्षेत्र प्रभावित हुने भएकाले मिलेर अगाडि बढ्ने खनालले बताए।
‘निजी क्षेत्रको मनोबल बढाउन तत्काल हामीले कदम चाल्नु छ। केही प्रणालीगत विषय पनि सुधार गर्नु छ। निजी क्षेत्रको विश्वास लिएर काम गर्नु छ। सबै मिली अर्थतन्त्र उकास्नु छ,’ उनले भने।
अर्थमन्त्रीमा रामेश्वर खनालको नियुक्ति
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अर्थ मन्त्रीमा रामेश्वर खनाललाई नियुक्त गरेको छ । त्यसैगरी गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङलाई पनि नियुक्त गरेको छ । देश आर्थिक रुपमा जर्जर भएको छ । अहिले आर्थिक संकटको अबस्था छ । यस्तो विषम परिस्थितिमा अर्थमन्त्री बनेका रामेश्वर खनालबाट धेरै सुधार हुने अपेक्षा गरिएको छ । अर्थसचिवको कार्यभार संहालीसकेका खनाल पूर्व प्रधानमन्त्री डा. वाबुराम भट्टराईका आर्थिक सल्लाहकार थिए । लामो समय अर्थ मन्त्रालयका विभिन्न पोजीशनमा रहेर प्रशाशनीक काम गरेका खनाल सक्षम र लोकप्रिय व्यक्ति मानिन्छन् । उनी अर्थशास्त्रका विद्यार्थी पनि हुन् । अर्थ मन्त्रालयबाट अवकास पाएपछि खनाल अध्ययन र अनुसन्धान कार्यमा मात्रै सिमित थिए । त्यसैक्रममा यस अघिको सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्दा उनी त्यसको अध्यक्ष भएर काम गरिसकेका छन् ।
आशा, अपेक्षा र चुनौती
बर्षौदेखि जनतामा शाशन गर्दै आएका लोकतन्त्राकि दलहरुले जनतामाथि शाशन त गरे तर विकास, समृद्धि, नागरिकले पाउनुपर्ने आधारभूत शिक्षा र स्वस्थ्य पनि दिन सकेनन् । यसैको मार अहिले भोग्नुपरेको छ । विगतका सरकारले आम नागरिकलाई उद्यमशीलता, उत्पादन, अर्थतन्त्र, वित्तीय शिक्षा आदिका विषयमा कहिल्यै राम्रो योजना दिन सकेनन् । राजनीतिक नेताहरुले व्यबयायी र अर्थतन्त्रसँग सम्बन्धित व्यक्तिलाई सहजीकरण गर्न समेत सकेनन् । न त देश र जनतालाई धनी बनाउने विषयमा बृहत छलफल नै गर्न सके, बरु उल्टै लगानीका प्रकृया झन्झटीला, उच्च राजश्व, उच्चदरको कर नीति आदी इत्यादीसँगै व्यबसाय गर्दा घुस समेत दिनुपर्ने बाटाहरु बनाए ।
नेपालमा लगानी मात्रै चाहिने, रोजगार मात्रै चाहिने, अनि नेतालाई चन्दा पनि चाहिने तर लगानीकर्तालाई सहजीकरण दिनु नपर्ने ? लगानीकर्ताले नाफा कमाएको देख्न पनि नचाहने । यही कारण हो नेपालमा प्रजातन्त्र आएको यत्तिका बर्षसम्म देश आर्थिक रुपमा समृद्ध हुन नसक्नु र युवाहरुले देशमा भविश्य देख्न नसक्नु । यसका साथै दलका नेताहरुले केही काम नगर्ने, चन्दा र घुसकै भरमा धनी हुने पद्धतिको विकास भयो । यही विचमा खनाल अर्थमन्त्री बनेका छन् ।
नेपालमा उद्यमशीलता गर्न कठिन छ । अझ कठिन छ लगानी गरेर उद्यमी बन्न अनि अरुलाई रोजगारी दिन । यहाँका कानून, नीति र सिष्टम लगानीमैत्री छैनन् । यसै कारण विदेशी लगानीकर्ता नआएका हुन् । यहाँका राजनीतिक दलका नेताहरुले कहिल्यै पनि आर्थिक विकासका लागि सरल नीतिहरु बनाउन सकेनन् । अनि यी राजनीतिक दलबाट विकास र समृद्धिको आशा धेरैले गर्न छोडे । यसै कारण कैयौं युवाले देश छोडे, भोलि हामीले पनि देश छोड्न नपरोस्, देश राम्रो बनोस्, यहीँ देशमा रोजगार मिलोस, उद्यमी बन्न पाइयोस् भनेर नै अहिले जेनजी पुस्ताले लोकतान्त्रिक सरकारमाथि हस्तक्षेप गरेका हुन् ।
हाल निर्माण हुँदै गरेको सरकारबाट आम युवा पुस्ताले राखेका अपेक्षा र सिंगो देशले गरेको अपेक्षा अलि धेरै नै छ । सरकारको नेतृत्वतहले चाहेको अबस्थामा यी समस्या समाधानमा त्यति कठिन पनि छैन । जे जति अहिले समस्याहरु छन् कम्तिमा ती समस्यामाथि आशाको रेखा मात्रै कोर्न सकेपनि खनाल सफल अर्थमन्त्रीको दर्जामा पर्नेछन् ।
दशैंको मुखैमा बैंकिङ र सुरक्षा चुनौती
यहि भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित अस्थिर परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट कैदीबन्दी फरार रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार आइतबारसम्म तीन हजार ७ सय २३ कैदीबन्दी पक्राउ गरी कारागारमा फर्काइएको छ भने अझै १० हजार ३ सय २० कैदीबन्दी फरार रहेका छन् । प्रहरीले फरार कैदीबन्दीको खोजी जारी राखेको छ र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रवक्ता घिमिरेका अनुसार कतिपय फरार कैदी भारततर्फ भाग्न खोजिरहेका थिए, तर भारतीय प्रहरीले समातेर फिर्ता पठाएका छन् । केही फरार कैदीलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका छन् भने कतिपय आफैं फिर्ता भएर कारागार आएका छन् । घिमिरेले भने, ‘कसैले फरार कैदीबन्दीको बारेमा जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायमा तुरुन्त जानकारी दिनुहोस् । हामीले खोजी अभियान जारी राखेका छौं ।’
यस्तै सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट १ सय ३९ जना थुनुवालाई पक्राउ गरिएको छ । तर, अझै दुई हजार १०० थुनुवा फरार छन् । प्रवक्ता घिमिरेले भने, ‘फरार थुनुवाको खोजी जारी छ । सबै सुरक्षाकर्मी, प्रहरी र स्थानीय प्रशासनले सतर्क रहनु आवश्यक छ ।’ यसरी दशैंको मुखैमा ठुलो संख्यामा कैदी र थुनुवा फरार हुँदा सुरक्षा चुनौती थपिएको छ ।
बैंकिङ र सार्वजनिक सुरक्षा चुनौती
फरार कैदीबन्दीको घटना बैंकिङ क्षेत्रका लागि पनि चुनौती बनिरहेको छ। देशभरका बैंक तथा वित्तीय संस्थाहरुले सुरक्षालाई उच्च प्राथमिकतामा राख्न थालेका छन्। कैदीबन्दीको अस्थिर गतिविधि, तोडफोड र आगजनीका घटनाले बैंक र वित्तीय संस्थाको नियमित काममा असर पारेको छ।
विशेषतः दशैंको चहलपहल सुरु हुन लाग्दा यस्तो सुरक्षा चुनौती थप चिन्ताजनक भएको छ। बैंकहरु, सरकारी कार्यालय तथा बजार क्षेत्रमा पनि सतर्कता अपनाउन सुरक्षाबलहरुलाई निर्देशन दिइएको छ।
जेनजी प्रदर्शनपछि कैदीबन्दी फरार हुनु देशको सुरक्षा प्रणालीका लागि गम्भीर चुनौती बनेको छ । दशैंँको चहलपहलका बेला बैंकिङ, व्यापार, सार्वजनिक सुरक्षा र नागरिक जीवनमा असर पर्न सक्ने भएकाले सुरक्षा निकायले सबै उपाय अपनाइरहेको छ । नागरिकको सहयोग र सतर्कता नै यस संकट व्यवस्थापनको प्रमुख आधार हुने देखिन्छ ।
फरार कैदीबन्दीको खोजी जारी रहँदा सरकार, प्रहरी र सुरक्षा निकायले सार्वजनिक सुरक्षा र वित्तीय क्षेत्रमा थप सतर्कता अपनाउने तयारीमा छन् ।
साउनमा भित्रियो पौने २ खर्ब रेमिट्यान्स
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा १ खर्ब ७७ खर्ब ४१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो गत आव पहिलो महिनाको तुलनामा २९.९ प्रतिशतले धेरै हो ।
गत आव साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । त्यसबेला रेमिट्यान्स आप्रवाह वृद्धिदर १७.७ प्रतिशत थियो ।
चालु आव साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आव पहिलो महिना खुद द्वितीय आय १ खर्ब ९३ अर्ब ८५ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । गत आव सोही अवधिमा यस्तो आय १ खर्ब ४८ अर्ब ८ करोड थियो ।
गत साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४ सय ६६ र पुन: श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६ सय ४४ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमश: ३६ हजार ९ सय २८ र २२ हजार ६ सय ४७ थियो ।
सेयरधनीको लगानी सुरक्षित गर्न मौलाकाली केबलकार छिट्टै पुनः सञ्चालनमा आउने
जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण मौलाकाली केबलकारमा ठूलो क्षति पुगेको छ । सार्वजनिक कम्पनीका रूपमा सञ्चालन हुँदै आएको यो केबलकार गण्डकी प्रदेशको साझा गौरव, स्थानीय पहिचान र राष्ट्रिय सम्पत्तिको प्रतीक मानिँदै आएको थियो ।
कम्पनीले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका दुःखद घटनामा परी ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मौलाकाली केबलकार कुनै व्यक्तिगत सम्पत्ति होइन, यो हजारौँ स्थानीय सेयरधनीहरूको संयुक्त लगानी र मेहनतको जगमा बनेको हो । यसले पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, स्थानीय रोजगारी र उत्पादनको बजार विस्तारमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।’
केबलकारमा भएको क्षतिले केवल साना लगानीकर्तामात्र होइन, गैँडाकोट र चितवनका स्थानीय बासिन्दा, कर्मचारी, परिवार तथा सम्पूर्ण पर्यटन क्षेत्रलाई गहिरो पीडा दिएको कम्पनीले जनाएको छ ।
आगजनी नियन्त्रण र क्षति न्यूनिकरणका क्रममा सक्रिय सहयोग पुर्याउने सुरक्षाकर्मी, स्थानीय समुदाय र कर्मचारीहरूप्रति आभार प्रकट गर्दै कम्पनीले भनेको छ, ‘यति ठूलो क्षति भए पनि हाम्रो सपना र अठोट भाँचिएका छैनन् । हामी छिट्टै सेवा सुचारु गर्दै अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिनेछौँ ।’
कम्पनीले स्थानीय समुदायसँग निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
सरकारी भुक्तानी प्रणाली सुचारु, कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने
आजदेखि नेपाल सरकारको भुक्तानी प्रणाली पुनः सुरु भएको छ । दशैं लगायतका चाडपर्व नजिकिएसँगै सरकारले आजदेखि भुक्तानी दिन सुरु गरेको हो ।
यससँगै अब सरकारी कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने भएका छन् ।
यस्तै आजदेखि राजस्व संकलन समेत सुरु भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो ।
उक्त कार्यालयहरु धमाधम सञ्चालनमा आउन थालेका छन् । अर्थ मन्त्रालय पनि सुरक्षित अवस्थामा छ । शनिबारसम्म सरकारले १ खर्ब ४४ अर्ब ५८ करोड राजश्व संकलन गरेको छ ।
महालक्ष्मी विकास बैंकका सबै शाखा सञ्चालनमा
हालसालै घटेका विभिन्न दुःखद घटनाहरुमा ज्यान र सम्पत्तिमा पुगेको क्षतिप्रति महालक्ष्मी विकास बैंकले शोक प्रकट गरेको छ । बैंकले प्रेस विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
साथै, उपचाररत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि गरेको छ । बैंकले घटनाबाट सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ । साथै, सुरु भइसकेको सरकार गठन प्रक्रिया चाँडै टुंगिएर मुलुकको असामान्य अवस्था सामान्यतर्फ जाने, शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास बैंकले व्यक्त गरेको छ ।
विज्ञप्तिमा बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यहाँका ग्राहकले नजिकैका शाखामार्फत बैंकिङ सेवा लिन सकिने जानकारी दिइएको छ । बैंकले लेकसाइड पोखरा शाखा बाहेक अन्य १०२ शाखा कार्यालयमा सेवा नियमित रुपमा सञ्चालन भइरहेको र सम्पूर्ण डिजिटल सेवा पनि सुरक्षित रुपमा निरन्तर चलिरहेको जनाएको छ ।
जेनजी प्रदर्शनः बैंकका कर्मचारीको टाउकोमा गोली !
भदौ २२ गतेदेखि सुरु भएको जेनजी आन्दोलनको निशानामा बैंक तथा वित्तीय संस्था पनि समेत परेका छन् । भदौ २३ गते भएको आन्दोलनका क्रममा देशभर रहेका बैंक तथा वित्तीय संस्थामा क्षति पुगेको पाइएको छ ।
केही बैंकका शाखा कार्यालय, एटिएम मेसिन तथा गाडीहरुमा क्षति पुगेका छन् भने कृषि विकाश बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई गोली समेत लागेको पाइएको छ ।
कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । उनका अनुसार बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले हान्दा बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको थियो । उनको अन्नपूर्ण अस्पतालमा लगेर उपचार गरिएको छ । घाइते श्रेष्ठको परिवारसहित उपस्थितिमा शल्यक्रिया गरेर गोली निकालिएको छ ।
भाटभटेनीमा अर्बौको क्षति, आईजीआईमा मात्रै साढे दुई अर्ब बढिको बीमा
गत मंगलबार जेनजी आन्दोलनको क्रममा क्षति पुगेको भाटभटेनी सुपरस्टोरमा अर्बौ रुपैयाँको क्षति पुगेको छ । सो क्षति मध्ये करिब साढे दुई अर्ब रुपैयाँको बीमा पोलिसी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
भाटभटेनी सुपरस्टोरका देशैभरिका २८ वटा शाखाहरु मध्ये २१ वटा शाखा कार्यालयको भवन समेतका अर्बौ मूल्यका सामानहरु तोडफोड लुटपाट र आगजनी भएको छ । आईजीआई प्रुडेन्सियलले भाटभटेनीका १६ वटा शाखाको बीमा गरेको छ ।
१२ वटा शाखामा लुटपाटपछि आगो समेत लगाएर ध्वस्त पारिएको छ भने ९ वटामा तोडफोड र लुटपाट गरिएको कम्पनीका अधिकारी पानु पौडेलले जानकारी दिएका छन् । भाटभटेनीका देशभर छरिएका सात वटा शाखामा मात्र कुनै क्षति पुगेको छैन ।
देशैभरिका २१ वटा शाखामा क्षति पुग्दा सबैभन्दा धेरै बीमा पोलिसी जारी गर्ने आईजीआई प्रुडेन्सिल इन्स्योरेन्समा सबैभन्दा धेरै बीमा दावी पर्ने देखिएको छ । कम्पनीले भाटभटेनीका साढे दुई अर्ब रुपैयाँ जति बीमा दावी पर्ने प्रारम्भिक रुपमा अनुमान गरिएको छ । भाटभटेनीले फरक फरक बीमा पोलिसी जारी गरेकोले क्षति नभएका ७ वटा शाखा बाहेकका शाखाहरुको बीमा दावी आईजीआई, सलिको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससहितका अन्य कम्पनीमा पर्नेछ । । प्रारम्भिक रुपमा प्राप्त विवरण अनुसार भवन मर्मत सम्हाल र स्टकको क्षति यस पटक मुख्य रुपमा बीमा दावीमा समेटिने छन् ।
यस पटकको बीमा दावी हूलदंगा तथा आतंकवाद अन्तर्गत पर्नेछ । हुलदंगा तथा आतंकवाद अन्तर्गतको बीमाको ३५ प्रतिशत सम्बन्धित बीमा कम्पनी र ६५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले दावी भुक्तानी गर्नुपर्नेछ व्यवस्था गरिएको छ । सो मध्येमा पनि केही कम्पनीहरुले भने १० करोडसम्म मात्रै पनि राखेर बाँकी पुनर्बीमा गराइएको पाइएको छ ।
उता, कतिपय कम्पनीहरुले आफूले धारण गरेको ३५ प्रतिशत बीमा जोखिम पुनर्बीमा नगराएको समेत हुनसक्ने देखिएको छ । भाटभटेनीको बीमा गराएका एक बीमा कम्पनीका सिईओले भने, ‘पुनर्बीमा कतिपयले गराएका होलान् कतिपयले छैन होला, कतिपयले १० करोड रुपैयाँसम्मको मात्रै जोखिम लिएका होलान्, एउटै छैन फरक फरक अवस्था छ ।’
केही वर्षदेखि नेपालमा हुलदंगा तथा आतंकवादको सम्भावना नै नभएको भन्दै बीमा प्राधिकरणले अनिवार्य गरेको हुलदंगा तथा आतंकवादको अतिरिक्त भार हटाउनु पर्ने भन्दै बीमा कम्पनीहरुले लबिङ गरिरहेका थिए । २०६३ पछि यस्तो शिर्षकमा बीमा दावी परेको थिएन । गत वर्ष तीनकुने घट्नामा कोटेश्वरमा रहेको भाटभटेनीमा लूटपाट भएको थियो । सो क्रममा ८० लाख रूपैयाँको क्षति भएको थियो ।
भाटभटेनीमा आगोलागी भई व्वस्त भएकोका शाखाहरुमा कोटेश्वर, महाराजगन्ज, बौद्ध, बालुवाटार वयरहाउस, बिराटनगर, धरान, दमक, पोखरा, चितवन, हेटौंडा, विर्तामोड रहेका छन् । त्यस्तै सामान लूटपाट र तोडफोड गरिएको तथा भवन पूर्ण रुपमा क्षति नभएका शाखाहरुमा बालाजु, भैरहवा, कलंकी, ठिमी, जनकपुर, बीरगन्ज, इटहरी, बुटवल र धनगढी रहेका छन् ।
भाटभटेनीले बार्षिक ३१ अर्ब रुपैयाँ भन्दा बढिको आर्थिक कारोबार गर्दै आएको छ । गत वर्ष कम्पनीका अध्यक्ष मिन बहादुर गुरुङले एमालेलाई काठमाडौंको कीर्तिपुरमा १० रोपनी जग्गा दान गरेका थिए । जसको मूल्य दुई अर्ब भन्दा बढि हुन आउँछ । सोही आक्रोस आन्दोलनकारीहरुले भाटभटेनीमाथि पोख्दै आक्रमण गरेको विश्वास गरिएको छ ।
गभर्नर पौडेलसामु उद्योगीले मागे मनोबल उकास्ने प्याकेज
नेपाल राष्ट्र बैंकले जेनजीको आन्दोलनले क्षति ब्यहोरेका उद्योगी व्यवसायीलाई सहुलियतका कार्यक्रम ल्याउने भएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार बैंक तथा वित्तीय संस्था सम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीसँग अलग-अलगरुपमा छलफलका क्रममा यसका लागि कार्यदल बनाएर अध्ययन गर्ने बताएका छन्।
जेनजीको आन्दोलनले वित्तीय क्षेत्र र उद्योग व्यवसायमा परेको असर र यसबाट सिर्जित चुनौतीमा केन्द्रित रहेर छलफल गर्न व्यवसायी र बैंकरलाई बोलाएको थियो। उद्योगी व्यवसायीले तोडफोड र आगजनीका कारण व्यावसायिक क्षेत्रले ठूलो क्षति ब्यहोरेको उल्लेख गर्दै मनोबल उकास्न राज्यका निकायले सहयोग गर्नुपर्ने बताए।
‘गाडीका शोरुमदेखि डिपार्टमेन्टल स्टोर र होटल आगजनीले ध्वस्त भएका छन्। जसले गर्दा हाम्रो मनोबल खस्किएको अवस्था छ। त्यसैले राष्ट्र बैंकले मनोबल उकास्ने खालका सहुलियतका प्याकेज ल्याउनुपर्छ,’ छलफलमा सहभागी व्यवसायीलाई उद्यृत गर्दै राष्ट्र बैंकका एक कर्मचारीले भने।
छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल लगायत उद्योगी सहभागी थिए। सहयोग मागेका उद्योगी व्यवसायीलाई गभर्नर पौडेलले घटनाबाट प्रभावित उद्योग-व्यवसायको पुनरुत्थानका निम्ति आवश्यक नीतिगत सहजीकरण गर्ने आश्वासन दिए।
जेनजीले गरेको प्रदर्शनका क्रममा भदौ २४ गते व्यावसायिक प्रतिष्ठानहरुमा तोडफोड र आगजनी भएको थियो। कतिपय व्यावसायिक प्रतिष्ठान पूर्णरुपमा नष्ट भएका छन्। कतिपय उद्योगी व्यवसायीका निजी निवासलाई पनि प्रदर्शनकारीले निशाना बनाएका थिए।
गभर्नर पौडेलले व्यवसायीहरुको चासोका विषयमा बैंकरहरुसँग छलफल गरेका छन्। उनले प्रतिकूल परिस्थितिमा बैंक तथा वित्तीय संस्थाबाट आन्दोलनको निशानामा परेका व्यवसायीलाई के कस्तो सहयोग गर्न सकिन्छ भनेर जिज्ञासा राखेका थिए।
गभर्नरसँगको छलफलमा बैंक तथा वित्तीय संस्था सम्बद्ध एसोसिएसनका पदाधिकारी
जवाफमा बैंकरहरुले तोडफोड र आगजनीमा परेका व्यवसायीलाई केही राहतका प्याकेज ल्याउनुपर्ने बताए। नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्तले आन्दोलनका कारण कतिपय व्यवसायीले ठूलो क्षति व्यहोरेकाले उनीहरुका लागि राहतका प्याकेज चाहिने बताएको जानकारी दिए।
‘गभर्नरसाबले आन्दोलनको मारमा परेका उद्योगीलाई के कस्तो सहयोग दिन सकिन्छ भनेर चासो राख्नुभएको थियो। हामीले अप्ठेरोमा परेका व्यवसायी सहयोग नपाए उठ्न सक्दैनन् भन्यौं,’ पन्तले भने, ‘गभर्नरसाबले टास्कफोर्स बनाएर क्षतिबारे अध्ययन गरी सहुलियतको प्याकेज ल्याउने बताउनुभएको छ।’
गभर्नर पौडेलले प्रतिकूल परिस्थितिमा बैंक तथा वित्तीय संस्थाबाट भइरहेको सेवा प्रवाहबारे चासो राख्दै डिजिटल बैंकिङ र भुक्तानी सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए। बैंकरहरुले दिउँसोको समयमा कर्फ्यू हटेकाले आइतबारबाट सबै शाखा सञ्चालनमा आउने बताएका थिए।
छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, नेपाल वित्तीय संस्था संघका अध्यक्ष पन्त लगायत उपस्थिति थिए।
जेनजी प्रदर्शनः यस्तो छ बैंकवित्तमा भएको क्षतिको पछिल्लो अपडेट
भदौ २२ गतेदेखि सुरु भएको जेनजी आन्दोलनको प्रमुख निशानामा बैंक तथा वित्तीय संस्था समेत परेको छ । भदौ २३ गते भएको आन्दोलनका क्रममा देशभर रहेका बैंक तथा वित्तीय संस्थामा क्षति पुगेको पाइएको छ ।
केही बैंकका शाखा कार्यालय, एटिएम मेसिन तथा गाडीहरुमा क्षति पुगेका छन् भने कृषि विकाश बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई गोली समेत लागेको पाइएको छ ।
कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । उनका अनुसार बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले हान्दा बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको हो ।
उनका अनुसार बुधबारनै अन्नपूर्ण अस्पतालमा लगेर उपचार गरिएको छ । साथै, घाइते श्रेष्ठको परिवारसहित उपस्थितिमा अप्रेशन गरेर गोली निकालिएको उनले बताए । उनका अनुसार बैंकको कीर्तिपुर शाखामा रहेको एटीएम मेसिनमा तोडफोड, लहानमा खाद्य संस्थानको डिपो जलाउन खोज्दा बैंकको शाखामा समेत क्षति पुगेको छ भने धनगढी शाखामा गाडीमा क्षति भएको छ ।
एनआईसी एशिया बैंकका १४ वटा एटीएम मेसिन, ५ वटा शाखा कार्यालय, ६ वटा काउण्टरमा क्षति पुगेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीले जानकारी दिए । उनका अनुसार भौतिक संरचनामा क्षति पुर्याएको भएपनि पैसा भने चोरी नभएको उनले बताए । उनले कर्मचारीहरू भने सुरक्षित रहेको जनाए ।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालका अनुसार दुलेगौंडा शाखामा ढुुगामुढा हुँदा सिसा फुटेको छ भने हेटौंडाको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिन ड्यामेज भएको छ ।
हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रुपमा क्षति भएर खरानी भएको सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खालीले जानकारी दिए । तर, लकर र भल्टमा भने क्षति नभएको उनको भनाइ छ । उनका अनुसार बैंकको न्युरोड शाखा, भैरहवा एयरपोर्ट, आईटी प्लाजा कमलादी, हिलटन होटल परिसर, विराटनगरको भाटभटेनीको र बुटवलको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको छ । तर, नगद भने सुरक्षित रहेको उनले बताए ।
ग्लोबल आइएमई बैंकका अनुसार कान्तिपुर भवनमा रहेका बैंकका २ वटा विभागमा क्षति पुगेको छ । भवनमा आगो लगाउँदा बैंकको सेन्ट्रल ट्रेड र इन्टरनल अडिट विभागमा क्षति पुगेको बैंकका चिफ फाइनान्स अफिसर चन्द्रराज शर्माले जानकारी दिए । यस्तै, आन्तरिक राजस्व विभाग, यातायात व्यवस्था विभाग, मालपोत कार्यालय लगायतमा रहेको बैंकको राजस्व संकलन काउन्टरमा भौतिक क्षति पुगेको छ । देशभर के कति क्षति भएको छ भनेर भोलीसम्म तथ्यांक आउन सक्ने उनले बताए ।
राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी तथा उप–कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बैंकको बानेश्वर शाखा, दुहबी शाखा, भैरहवा शाखा र केही एटीएम मेसिन तोडफोड भएको सूचना आएको छ ।
नेपाल बैंकका सीईओ तिलकराज पाण्डेयका अनुसार बैंकको काँकडभिट्टा, गौरादह, ताप्लेजुङमा गरी ३ वटा काउण्टर र एउटा एटिएम मेसिनमा क्षति भएको छ ।
माछापुच्छ्रे बैंकको भरतपुर मालपोत, सिंहदरबार परिसर, अख्तियार दुरूपयोग अनुसन्धान आयोग परिसर गरी ३ वटा एटीएम मेसिनमा क्षति पुगेको बैंकका सीईओ सन्तोष कोइरालाले जानकारी दिए ।
सिटिजन्स बैंकको नक्सालस्थित भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको जनाएको छ । प्रभु बैंकको लैनचौर शाखामा पनि तोडफोड भएको बैंकले जानकारी दिएको छ ।
गभर्नरको घरमा तोडफोड र आगजनी
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको भैसेपाटीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् भने चितवनस्थित पुरानो घरमा तोडफोड गरिएको छ । जेनजी आन्दोलनकारीहरुले कांग्रेसको नेता भएका कारण नै गभर्नरको जिम्मेवारी पाएको भन्दै तोडफोड र आगजनी गरेका थिए ।
गभर्नर पौडेलले भैसेपाटीको घर योजना आयोगको उपाध्यक्ष हुनु अघि नै छात्रवृत्ति तथा विदेशमा काम गरेर संकलन गरेको आम्दानीबाट निर्माण गरेका र श्रीमती र नौ वर्षीया छोरीसँग बस्दै आएको उक्त घरमा प्रदर्शनकारीले प्रवेश गरी पुस्तकमात्र होइन, ऐतिहासिक सामग्री, कलाकृति, देवदेवताका मूर्ति, दुर्लभ पुस्तकहरू लगायत सबैमा आगो लगाएको बताएका छन् ।
उनका अनुसार छोरीलाई नतर्सियोस् भनेर सधैंसँगै सुत्न दिने ‘मन्त्रेको खेलौना’ समेत कुल्चेर जलाइएको थियो । ‘त्यो रात हामी सबै शरणार्थी भयौं,’ गभर्नर पौडेलले भनेका छन् । आगजनीपछि ढिलो रातीसम्म घर जलिरहेको र बीच–बीचमा ढुंगामुढा तथा चोरीसमेत भएको छिमेकीले जानकारी दिएको उल्लेख गरिएको छ ।
यस्तै चितवनमा रहेको घरमा समेत आक्रमण भएको उनले बताएका छन् । कान कम सुन्ने र मुटुको अपरेसन गरेको ८२ वर्षीय आमाको कोठामा आक्रमण गरिएको उनले बताए । गभर्नर भएपछि पनि हरेक हप्ता एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गरेको उनले बताएका छन् ।
चितवनस्थित घरमा भएको आक्रमणको भिडियो सेयर गर्दै पौडेलले भने, ‘यस भिडियोमा शुरूमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षीय बुढी आमाको सुत्ने कोठा हो । वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो । यो मेरो गाउँको घर हो । गभर्नर भएपछि पनि हरेक हप्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे । बा ले लगभग १५ वर्ष अघि म विद्यार्थी छँदा नै बनाएको घर हो ।’
गभर्नर पौडेलका बुवा ८७ वर्षका भएका छन् । भैँसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् भन्दै भिडियो सेयर गरेका छन् ।
‘अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केही अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्न कि जस्तो भएकोमा अहिले सन्चो हुँदै थियो । ६७ वर्षअघि चितवन झर्नुभएका बाका सबै सन्तान यही जन्मेका हुन्,’ उनले भने, ‘जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सिधै कक्षामा फस्ट हुन्थे । गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएँ । बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ । मेरो रिस मेरो भैँसेपाटीको घर जलाएर नपुगि मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथिहरुको फलोस् फुलोस् ।’
भौतिक सम्पत्ति जल्छ, तर उद्यमीको आत्मबल र सपना नजल्ला, हामी फेरि उठ्नेछौं: चन्द्र ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा उद्यमी चन्द्र ढकालले हालैको आन्दोलनमा उद्योग–व्यवसायमा पुगेको क्षति निजी क्षेत्रका लागि ठूलो आघात भए पनि फेरि सम्हालिएर अघि बढ्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत् शनिबार प्रतिक्रिया दिंदै उनले दसौं हजार रोजगारी संकटमा परेको र अर्बौं लगानी खरानी भए पनि निजी क्षेत्र देशको अर्थतन्त्रको इन्जिन भएकाले निराश हुन नहुने बताएका छन्। ‘आगोले इँटा र काठ जलाए पनि हाम्रो आत्मबल कहिल्यै जल्दैन,’ उनले भनेका छन्।
उनले उद्योग–व्यवसायको पुनर्निर्माण, थप लगानी र रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। ‘सुनौलो बिहानी आउने नै छ। फेरि उठ्नुछ, निर्माण गर्नुछ र भविष्यको पुस्तासम्म प्रेरणा छर्नुछ,’ उनको भनाइ छ।
यस्तो छ उनको पोस्ट-
सबैमा नमस्कार
जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिइन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिँउ पुँजी नै थिएन मसँग । तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो । वास्तवमा भन्नुपर्दा मसँग आफ्नै माटोमा केही गरौँ, नेपालकै उर्भर माटोमा सिँचाई गरौँ र यहीँ सुन फलाउँ भन्ने भावना थियो । र अहिले पनि छँदैछ ।
त्यसका लागि आवश्यक पर्ने इमान्दारिता र कुनै पनि काममा निरन्तरता अर्थात् मेहनत आवश्यक छ भन्ने कुराको हेक्का राम्रैसँग थियो जुन हामीसँगै थिए । मलाई लाग्छ, चार दशक पुराना यिनै प्रतिबद्धता, भावना र अठोटको जगबाट आज हामी यहाँसम्म आइपुगेका छौँ । हाम्रो मेहनत, इमान्दारिता र कर्मले कोरेको सानो व्यावसायिक गोरेटो आज हाम्रा सामु एउटा फराकिलो राजमार्गका रुपमा अवस्थित छ ।
मैले कुनै पनि व्यवसायको सोच बनाउँदा यी ती कुरामा ध्यान दिने गर्दथेँ । राज्यको प्राथमिकता, आमजनताको आवश्यकता र दीर्घकालीन व्यवसाय बन्नसक्ने सम्भावना । यिनै क्षेत्रमा हामी अघि बढ्दै जाँदा आज हाम्रो व्यवसाय २० हजारभन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको प्रत्यक्ष रोजगारीसँग जोडिन पुगेको छ । अप्रत्यक्ष त लाखौँ होला, अहिले म त्यता जान चाहन्न ।
हामीले सुरु गरेको व्यवसाय जुन–जुन क्षेत्रमा विस्तार भयो, ती सबै केवल रोजगारी सिर्जना गर्न मात्र नभएर तीमार्फत् मुलुकमा साझेदारी र सेवाको संस्कृति निर्माण भएका छन् । अनि जेजहाँ स्थापित र विस्तारित छन् ती सबैमा स्थानीयसँगको बलियो हातेमालो छ । किनभने ‘व्यवसायबाट मैले मात्र आर्जन गरेर मुलुक समृद्ध हुँदैन’ भन्ने भावनाले प्रेरित हाम्रा पाइला सबैसँग लगानी साझेदारी गर्दै अघि बढेका हुन् ।
प्रत्येक आयोजनामा स्थानीय र सर्वसाधारणको अपनत्व रहोस् भनेर हामीले शेयर मार्फत् स्थानीय साझेदारिताको मोडेल अपनाएका छौँ । रोजगारीमै पनि उहाँहरु पहिलो प्राथमिकतामा हुनुहुन्छ । त्यसकारण त हाम्रा पर्यटन लगायतका स्थानीय पूर्वाधारहरु सबैका साझा सम्पत्तिका रुपमा स्थापित र सेवारत रही आएका छन् ।
हिजोका दिनमा रोजीरोटीकै लागि विदेश पुगेका निम्न आय भएका नेपालीहरुकलाई विदेशमा पैसा कमाउन भन्दा घर पठाउन गाह्रो थियो । उहाँहरुको त्यही दु:ख देखेर उहाँहरुले दु:ख जिलो गरेर जम्मा गरेको दुईचार पैसा औपचारिक माध्यमबाट उहाँहरुका घर आफन्तसम्म पुर्याउने अठोटका साथ मलेसियाबाट सुरु गरेको व्यवसाय आजको विस्तारित स्वरुप उहाँहरुकै आशीर्वादको परिणाम हो भन्ने लाग्दछ । उहाँहरुको यही आशीर्वाद, समग्र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सद्भावमा हाम्रो मेहनत एवं पसिना मिसाउँदा लागेको फलले नै हाम्रोे व्यवसायिक जग र ब्राण्डमा मुलुकमा कैयौँ व्यावसायिक राजमार्ग निर्माण हुन सकेको हो । मलाई हरेक पलमा आनन्द दिने माध्यमहरु पनि यिनै हुन् ।
तर आज भने मेरो मन भारी भएको छ । देश बनाउने सपना साँचेर शून्यबाट सुरु गरेको यात्रामा म यतिखेर जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण मोडमा छु । अर्बौं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति भइरहँदा गहभरी आँशु पारेर टोलाइरहन मन लागेर पनि मलाई त्यसो गर्ने छुट छैन । मैले यसो गर्दा एकातिर हामीसँगै पारिवारिक रोजीरोटी जोडिएका २० औँ हजारको आत्मबलमा ठेस पुग्ला भन्ने डर लाग्छ भने अर्कातर्फ मजस्तै क्षति पुगेका अरु व्यवसायीहरुलाई मैले नै अमिलै मनले भए पनि सान्त्वताको धाप मार्नुपर्ने अवस्था छ ।
म मुलुकका उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारीमा छु । हरेक तह, समूह या सर्कलले अप्ठेरोमा अभिभावकको खोजी त गरिनै हाल्छ । सायद मुटुमाथि ढुंगा राखी हास्नु पर्या छ भनेको यस्तै समय र परिस्थितिमा होला । सम्पूर्ण निजी क्षेत्रलाई हौसला दिनुपर्ने ठूलो जिम्मेवारी मेरो सामु छ ।
हिजोका दिनमा भूकम्पले धरहरासँगै व्यावसायीका मनहरु ढलिरहँदा पनि मैले मुलुकका उद्योगी व्यवसायीहरुलाई धुलो टक्टकाएर उठौँ र आफ्ना काम, व्यवसायमा लागिहालौँ भनेर हौसला दिएको अहिले सम्झँदैछु । कसैले कहिल्यै कल्पनै नगरेको कोरोना महामारीले देश र व्यवसाय थिलथिलो पर्दा र आफैँ कोरोनाको कहरमा हुँदा पनि मैले व्यवसायीहरुलाई सटर बन्द नगरौँ, हामी उठ्नुपर्छ भनेर हौसला प्रदान गरेको सम्झँदैछु । अहिले पनि अब खरानी टक्टकाएरै उठ्नुपर्नेछ, हाम्रा मन र आत्मबललाई दरो बनाउनुपर्ने छ र उठ्नैपर्ने छ । यी हरेक दु:खमा म आफैँ पनि घाइते छु तर व्यावसायिक नेतृत्वमा रहेकाले साथीहरुलाई मलम लगाएर उठ्न हौसला दिइरहेको छु ।
भदौ २३ र २४ गते जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घुसपैठमा मुलुकभर धेरै उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि आक्रमण भयो । त्यसक्रममा हामीले लगानी गरेका उद्योग व्यवसायमा समेत तोडफोड र आगजनी भयो । ठूलो क्षति पुर्याइएको छ ।
मुलुकको अर्थतन्त्र सुधार गर्न, वैदेशिक लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउन लागिरहेको म एउटा उद्योगी र मुलुककै निजी क्षेत्रको ठुलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको मेरो आफ्नै व्यवसाय सुरक्षित नहुँदा आम स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल गिर्ने र नकारात्मक सन्देश प्रवाह हुने भयले मन अमिलो भयो । त्यसैले क्षतिग्रस्त आयोजनाका फोटो र भिडियो शेयर नगर्न कर्मचारीहरूलाई आग्रह पनि गरेँ ।
तर, सामाजिक सञ्जालमा फोटो र भिडियो सार्वजनिक भएपछि, आम उद्योगी–व्यवसायीलाई निराश हुन नदिऊँ, मनोबल खस्कन नदिऊँ भन्ने उद्देश्यले केही कुरा भन्न आवश्यक देखेँ ।
हो, सुशासन र भ्रष्टाचारविरुद्धको प्रदर्शनका क्रममा देशभर धेरै उद्योगी व्यवसायी साथीहरूको उद्योग, व्यवसाय र निजी आवास तथा सम्पत्तिमा ठूलो क्षति पुगेको छ । हजारौंको रोजगारी संकटमा परेको छ, अर्बौंको संरचना खरानी भएको छ, लगानी धरापमा परेको छ । यसले हामी सबैलाई मर्माहत बनाएको छ ।
दशक लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोभिड महामारी खेपेर बल्लतल्ल उठेका हामी हालैको आर्थिक मन्दीबाट तङ्ग्रिने प्रयासमा थियौँ । अस्तिको प्रदर्शनका क्रममा धेरै सार्वजनिक तथा निजी सम्पत्तिको क्षति भएको छ ।
तथापि, यावत् प्रतिकूलताका बाबजुद हामी फेरि सम्हालिएर अघि बढ्नुपर्ने बाहेक हामीसँग अर्काे विकल्प छैन । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा देशभरका उद्योगी, व्यवसायी र उद्यमशील मनहरूलाई एक सन्देश दिन चाहन्छु कि साथीहरू, हामी नआत्तिऔँ, नथाकौं । आजैबाट क्षतिग्रस्त उद्योग–व्यवसायको पुनर्निर्माणमा होमिऔँ । थप लगानी गरी रोजगारी सिर्जनामा लागौँ । हरेक पटक आउने यस्ता चुनौतीहरुलाई मुलुकको आर्थिक सुधारको नयाँ अवसरको रूपमा लिऔँ र अघि बढौँ ।
नयाँ पुस्तालाई बुझाऔँ—निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन हो, उद्यमशीलता भनेको रोजगारी हो, राज्यले प्राप्त गर्ने राजस्वको स्रोत हो र समृद्धिको वाहक हो । ८१ प्रतिशत बढी मुलुकको अर्थतन्त्रमा योगदान रहेको र ८६ प्रतिशत बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बिना मुलुकको समृद्धि सम्भव छैन । निजी क्षेत्र पनि मुलुक बनाउने अभियानमा सक्रिय छ र निजी क्षेत्रसँग होस्टेमा हैसे नगरी हामीले अपेक्षा गरेको विकास, समृद्धि र नयाँ नेपाल निर्माण गर्न सकिदैंन।
उद्यमी व्यवसायी साथीहरू, अहिलेको कठिन परिस्थितिमा मनोबल कमजोर पार्ने, थाक्ने वा हार्ने सुविधा हामीलाई उपलब्ध छैन । जब मुलुकको समृद्धि नै हाम्रा हात एवं भनौँ कर्ममा छ भने हामीले नै बनाउनु छ देश र जेन–जीहरूमा पनि आशा हामीले नै भर्नु छ । यसरी सोचौँ कि भावी पुस्ताले रोजगारी खोज्दै खाडी र मलेसियाको यात्रा तय गर्न नपरोस् । उनीहरूको जीवनमा यस्तो कठिन समयको महसुस आगामी दिनमा कहिल्यै नहोस् ।
आदरणीय व्यवसायी साथीहरु
तपाईंले आफ्नो जीवनभरको पसिना, सपना र समर्पणका इँटाले बनाएको घर र व्यवसाय आफ्नै आँखा अगाडि दन्दनी जल्दै खरानी भएको देख्नुपर्दा पीडा त हुन्छ नै । सायद मेरा यी शब्दहरुले यहाँहरुको त्यो पीडा उतार्न र सान्त्वना भर्न सक्दैनन् । किनभने यो क्षण भनेको केवल आफ्ना हातले सिर्जना गरेका भौतिक सम्पत्तिको क्षति मात्र होइन कि मन, समर्पण र सपनामाथि लागेको अपुरणीय चोट पनि हो ।
तर पनि यसरी चित्त बुझाउँ कि आगोले ईँटा र काठ जलाए पनि तपाईं हामीभित्रको हौसला र आत्मबल छँदै छन् । हाम्रा मन मस्तिष्क, श्रमको मूल्य र तपाईं हामीले सदा बोकिरहेको आत्मबल कहिल्यै जल्दैन । तपाईं हामीले गुमाएका सामग्री हाम्रा आत्मबल र हौसलाले फेरि जुटाउन सकिन्छ । हाम्रो धैर्यता, संघर्ष र मेहनत गर्ने हाम्रो नियमितता र क्षमता नै हामी सबैको वास्तविक सम्पत्ति हो । यसैले भौतिक सम्पत्ति जोड्नुपर्छ, र अहिले लागेको घाउचोटलाई पनि सबै मिलेर पुर्नुपर्छ ।
हामी उद्यमी, व्यसायीहरुले आफूलाई कदापि एक्लो नठानी सबैको दु:खलाई आफ्नै ठानेर फेरि अझै सबल भएर उठ्न र अघि बढ्न लाग्नुपर्दछ । विश्वास गरौँ, भोलि सुनौलो विहानी आउने नै छ । फेरि उठ्नुछ, अघि बढ्नुछ, निर्माण गर्नुछ र हाम्रा साहस र आत्मबलले भविष्यको पुस्तासम्म नै प्रेरणा छर्नुछ ।आउनुहोस् सबैको प्रयास र निजी क्षेत्रको साहसले सुनौलो नेपालको मार्गचित्र कोर्ने सन्देश दिन सकिने गरी काम गरौँ।’












