जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

विकास बैंकहरूले (लघुवित्त समाहितसहितको) लगानीयोग्य पर्याप्त वित्तीय स्रोत–साधन परिचालन गर्न पाए गाउँ– गाउँ र दूरदराजमा पनि सार्थक वित्तीय पहुँच वृद्धिमा उल्लेखनीय योगदान दिन सक्दछन्

संकटलाई अवसरमा बदल्न सक्दा अवश्य पनि त्यसले हरेक व्यक्ति, समाज र देशलाई हित गर्दछ। अहिले विश्व संकट बनेको कोरोना भाइरस (कोभिड–१९) पछि वित्तीय क्षेत्रको पुनर्संरचना र अर्थतन्त्रमा पार्ने असरबारे यहाँ चर्चा गर्न खोजिएको छ। यसलाई अवसरका रूपमा लागू गर्न सक्यौं भने नेपालको वित्तीय क्षेत्रलाई अनुशासित ढंगले र दिगो विकासमा टेवा पुग्नेगरि अगाडि बढाउन सकिने सम्भावनाहरू प्रशस्त छन्।
हुनत २०७२ सालको महाभूकम्पपछि व्यवस्थित एकीकृत बस्ती विकासको नमूना अगाडि बढाउने निकै राम्रो अवसर थियो, त्यो हामीबाट गुमिसकेको छ। संकटले सिर्जना गरेको अवसरलाई अनुकूल बनाउन नसक्दाको राम्रो उदाहरण हो यो।
यसैगरी, हालको वित्तीय मोडेललाई पनि कोरोना संकटपछि बदलिएको परिस्थिति सुहाउँदो हुने गरि यदि पुनर्संरचना नगर्ने हो भने देशको वित्तीय सबलता तथा गतिशील अर्थतन्त्र निर्माणमा अहिलेको वित्तीय प्रणाली प्रभावकारी नहुन सक्दछ।
वित्तीय प्रणाली अर्थतन्त्रको मेरुदण्ड हो। जसरी वित्तीय क्षेत्रको लगानी वृद्धि हुन्छ त्यसरी नै अर्थतन्त्रको विकास भएको हुन्छ। कोदो रोपेर धानको अपेक्षा गर्न सकिँदैन। सोहीअनुरुप हिजो हामीले जेजस्तो नीति बनायौं, वित्तीय संस्थाहरूलाई जसरी निर्देशित गर्यौ, आज त्यहीअनुसारको प्रतिफल पाइरहेका छौं।


नेपालको अर्थतन्त्रलाई वित्तीय ऊर्जा दिन नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमनमा रहेका चार वर्गका बैंक तथा वित्तीय संस्थाहरू र पूर्वाधार विकास बैंक छन्। यस्तै, सहकारी ऐनअन्तर्गत स्थापना भएका सहकारी संस्थाहरूले पनि वित्तीय बजारमा पुँजी प्रवाह गरिरहेका छन्। सहकारी र लघुवित्त संस्थाहरूबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरूको कार्यप्रकृति प्रायः उस्तै उस्तै छ। यसैले अब कोरोना संकटपछि यी विभिन्न वर्ग र प्रकृतिमा रहेका वित्तीय संस्थाहरूलाई विशिष्टिकृत गरी ती संस्थाहरूलाई एक अर्काका प्रतिस्पर्धी नभइ परिपूरकका रूपमा विकास गर्दै लैजानुपर्ने देखिन्छ।
कोरोना संकटपछि विश्वव्यापी आर्थिक मन्दीको प्रक्षेपण भइरहेकाले यस्तो परिवेशमा नेपालको वित्तीय बजार, सम्भावना, अन्तर्राष्ट्रिय परिवेशलाई आँकलन गरेर अघि बढ्नु आवश्यक छ। यस्तोमा देशको अर्थतन्त्र गतिशील बनाएर अघि बढाउन नेपालका वित्तीय संस्थाहरूको संरचनागत परिवर्तन र कार्यसीमा तोक्न सके देश सुहाउँदो र नमूना वित्तीय प्रणाली विकास हुन सक्नेछ।
विगतदेखि नै निजी क्षेत्रले बैंक ब्याजदर महँगो भयो भन्ने गुनासाहरू चर्को रूपमा उठाउँदै आएको छ। यद्यपि, सरकार तथा अन्य निकायबाट वित्तीय पहुँच कमजोर भयो भन्ने कुरा सुनिन्छ। ग्रामीण क्षेत्रमा शाखा खोल्नु वा बैंकमा खाता खोल्दैमा वित्तीय पहुँच विस्तारको तथ्यांक सार्वजनिक गर्नुले खासै महत्व राख्दैन। नागरिकलाई कुनैपनि प्रकारको वित्तीय आवश्यकता आइपर्दा उक्त सेवा सजिलै प्राप्त गर्न सकेका छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हो।
नागरिकले वित्तीय संस्थाहरूबाट वित्तीय आवश्यकता परिपूर्तिको सुनिश्चितता महसुस नगरेसम्म प्रभावकारी वित्तीय पहुँच मान्न सकिँदैन।
न्यून लागतमा सार्थक वित्तीय पहुँचको विस्तारका लागि हाल सञ्चालनमा रहेका वित्तीय संस्थाहरूको व्यवस्थापन र परिचालनसम्बन्धी केही अवधारणाहरूबारे यहाँ चर्चा गरिएको छ।

नेपालमा निजी क्षेत्रको अग्रसरतामा वाणिज्य बैंक खुल्दा वैदेशिक लगानी अनिवार्य गरिएको थियो, जसले गर्दा नेपाली बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय पुँजी, प्रविधि, र कार्यशैली भित्रियो। सरकारी स्तरबाट मात्र बैंक खुल्दाको सेवाग्राहीले टोकन लिनुपर्ने अवस्थाबाट गुणस्तरीय सेवा प्रवाह शुरुवात भयो। नेपाली वित्त बजारमा भित्रिएको अन्तर्राष्ट्रिय ज्ञान र सीप पछ्याउँदै निजी क्षेत्रबाट पनि बैंकिङ विज्ञहरू जन्मिन थाले।
पछि शत् प्रतिशत नेपाली लगानीमै वाणिज्य बैंक स्थापना गर्न सक्ने व्यवस्था भयो र वाणिज्य बैंक खुल्ने लहर नै चल्यो। त्यस क्रममा अत्यधिक भएका तिनै वाणिज्य बैंकहरूको संख्या घटाउन राष्ट्र बैंकलाई टाउको दुखाइ भइरहेको छ।
राष्ट्र बैंकले वित्तीय संस्थाहरू वर्गीकरण गर्दा कार्यप्रणाली र क्षेत्र तोक्नुभन्दा पनि चुक्ता पुँजीलाई महत्व दियो। लगानीकर्ता तथा व्यापारिक घरानाहरूले आ–आफ्नो बैंक स्थापना गर्ने र सो बैंकको चुक्ता पुँजीलाई आफ्नो प्रतिष्ठासँग जोड्न थाले। राष्ट्र बैंकले गाभ्ने–गाभिने नीति ल्याउँदा पनि अपेक्षाकृत रूपमा वाणिज्य बैंकहरूको संख्या घट्न नसक्नुको एउटा मुख्य कारण यही नै हो।
अहिले राष्ट्र बैंकमा नयाँ गभर्नरको आगमनसँगै सकरात्मक टिप्पणीहरू हुन थालेका छन्। अब मर्जर÷एक्विजिसन नीतिमा परिमार्जन हुने अनुमान छ। यसो गर्दा एउटा निश्चित समय र सर्त तोकि वाणिज्य बैंकहरूलाई प्रतिष्ठित विदेशी कम्पनीमार्फत न्यूनतम २० प्रतिशत वैदेशिक पुँजी लगानीको अनिवार्यता तोक्नुपर्दछ।
यसले नेपालमा वैदेशिक पुँजी भित्र्याउन योगदान गर्नुका साथै वाणिज्य बैंकहरूले वैदेशिक ऋण ल्याउन सहज वातावरण बन्दछ। अद्यावधिक प्रविधि, ज्ञान र पुँजीको दायरा अझै फराकिलो बनाउन पनि सकिन्छ।
यदि कुनै वाणिज्य बैंकले तोकिएको विदेशी लगानी ल्याउन नसके त्यस्तो बैंकलाई कि त मर्जरमा बाध्यकारी बनाउनुपर्छ वा विकास बैंकमा संकुचन गर्नु पर्दछ।
वाणिज्य बैंकहरूलाई वाणिज्य कारोबारमा बढी केन्द्रीकृत गर्नु पर्दछ। वाणिज्य बैंकहरूले ठूला र लामो अवधिका परियोजना, उद्योग, कलकारखाना, पूर्वाधार आदिमा लगानी गर्ने व्यवस्था गर्नु पर्दछ। यसो गर्नाले पूर्वाधार विकास बैंकको पनि आवश्यकता पर्ने छैन। त्यस अवस्थामा विद्यामान पूर्वाधार विकास बैंकलाई उत्पादनशील क्षेत्र प्रवर्द्धनका लागि विकास बैकहरूलाई थोक कर्जा प्रवाह गर्ने कार्यमा रुपान्तरित गर्नु पर्दछ।
वाणिज्य बैंकहरूलाई विपन्न कर्जा लगायत ससाना कर्जा लगानीका लागि बाध्य पार्नु हुँदैन। यी बैंकलाई पूर्णरूपमा रोजगारी सिर्जना, पूर्वाधार विकास जस्ता ठूला–ठूला लगानीमा केन्द्रीत गर्नु पर्दछ। यदि वाणिज्य बैंकहरूलाई वैदेशिक लगानीसहितको ठूलो बैंक बनाउने हो भने लगानीयोग्य तरलताको पनि अभाव नहुने स्थिति आउन सक्छ।
अन्य वित्तीय संस्थाहरूको भन्दा वाणिज्य बैंकहरूको ब्याजदर धेरै कम हुनु पर्दछ। त्यसका लागि उनीहरूको सञ्चालन लागत घटाउन जरुरी छ। एकातिर वाणिज्य बैंकहरूले आफ्नै कारण सञ्चालन लागत बढाइरहेका छन् भने अर्कोतिर राष्ट्र बैंकका कारण पनि लागत वृद्धि भएको छ। जस्तै, वाणिज्य बैंकलाई दुर्गम र विकट स्थानमा पनि शाखा खोल्न लगाउँदा सञ्चालन लागत बढिरहेको छ।
सानो आकारको कर्जा, बचत र रेमिट्यान्स कारोबार हुने त्यस्ता ठाउँमा खुलेका शाखाले त्यस क्षेत्रको वित्तीय आवश्यकता पूरा गर्न सकेका छैनन्, मात्र सरकारी काम चलाएका छन्। ती शाखाहरू व्यावसायिकरूपमा सबल हुने सम्भावना पनि देखिँदैन। यसैले सरकारी कारोबार गर्ने नाउँमा खोलिएका कतिपय शाखाहरू वाणिज्य बैंकहरूलाई नै बोझ बन्दै गएका छन्।
यसकारण ग्रामीण क्षेत्रका लागि विकास बैंक वा सहकारी संस्थाहरू नै उपयुक्त वित्तीय सेवा प्रदायक हुन सक्छन्। वाणिज्य बैंकहरूले आधुनिक प्रविधिको प्रयोग गरी वा आफ्नो प्रतिनिधि संस्थाहरूमार्फत् सेवा प्रदान गर्दा मात्र लागत घटाउन सक्ने सम्भावना रहन्छ।

विकास बैंकहरूले आफ्नो हैसियत नहेरी वाणिज्य बैकहरूले गर्ने प्रकृतिको कार्य गर्न खोज्दा आज विकास बैंकको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको छ।
देशको अर्थतन्त्रलाई दिगो राख्न महत्वपूर्ण योगदान दिन सक्ने सम्भावना बोकेका विकास बैंकहरूलाई पूर्णरूपमा देशको उत्पादनशील क्षेत्रको लगानीमा केन्द्रीत गराउनु पर्दछ। यसका लागि विकास बैंकहरूलाई कर्जा निक्षेप अनुपात (सिसिडी) र ब्याजदर अन्तर (स्प्रेड दर) गणनामा सहुलियत दिएर उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्दछ।
गरिब देशमा लघु, साना र मझौला उद्योग व्यवसायहरूले अर्थतन्त्रमा ठूलो योगदान दिएका हुन्छन्। यी क्षेत्रले ठूलो रोजगारी सिर्जना गरेको हुन्छ। यसर्थ, देशमा उत्पादन भइरहेका जनशक्तिलाई उद्यमशीलताको अवसर प्रदान गर्न विकास बैंकहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन्। यी बैंकहरूलाई विशेषगरि कृषि, पर्यटनका साथै आयात प्रतिस्थापन गर्ने निर्यातजन्य उत्पादनशील क्षेत्रहरूमा लगानी गर्ने दायरा तोक्नु पर्दछ।
राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन नीतिले पनि विकास बैंकको संख्यामा ठूलो कमी आयो। यसैकारण प्रस्तावित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले प्रस्ताव गरेबमोजिम ‘घ’ वर्गका लघुवित्त संस्थाहरू विकास बैंकमा स्तरोन्नति हुनसक्ने प्रावधान रहेको छ। यसमा ‘घ’ वर्गका लघुवित्तहरूलाई राष्ट्रिय स्तरका विकास बैंकहरूले मर्जर वा एक्वायर गरी आफूमा समाहित गर्ने व्यवस्था पनि गर्न सकिन्छ।
सहकारी संस्थाहरूलाई थोक कर्जा उपलब्ध गराउने उद्देश्यले स्थापित राष्ट्रिय सहकारी बैंकलाई विकास बैंकमा रुपान्तरित गर्नुपर्दछ। यसबाट विकास बैंकहरूको शाखा सञ्जाल गाउँ गाउँमा विस्तार हुनेछ। लघुवित्त संस्थाहरूमा देखिएको पुँजी तथा प्रविधि अभाव र साना लगानीमा आपसी प्रतिस्पर्धाका समस्याहरू पनि यसबाट समाधान हुनेछ।
राष्ट्र बैंकले हिजो विभिन्न कारणले चार प्रकारका लाइसेन्स दिएका विकास बैंकहरूलाई अहिले राष्ट्रियस्तर र प्रदेशस्तरमा विभाजन गरिएको छ। वर्ग एउटै तर काम र कार्यक्षेत्र फरक फरक हुँदा केन्द्रीय बैंकलाई अनुगमन गर्न र निर्देशन दिनसमेत कठिनाइ भएको देखिन्छ।
हाल सबै प्रदेश र ग्रामीण क्षेत्रहरूमा राष्ट्रियस्तरका विकास बैंकहरूको शाखा सञ्जाल विस्तार भइसकेकाले प्रदेशस्तरका विकास बैंकको औचित्यमाथि नै प्रश्न उठेको छ। तसर्थ, अब प्रदेशस्तरीय विकास बैंकलाई राष्ट्रियस्तरको विकास बैंकमा विलय गराउनु पर्छ। विकास बैंकहरूको सांगठनिक संरचना तयार भइसकेपछि लगानीको क्षेत्र र सीमा तोक्नुपर्छ।
विकास बैंकहरूको लगानीको दायरा सहकारी संस्थाहरूले गर्ने लगानी रकमभन्दा बढी र वाणिज्य बैंकहरूको लगानीको दायरामा नपर्ने बीचको वर्गलाई समेट्नेगरि तोक्न सकिन्छ। हालको व्यवस्थाले विकास बैंकलाई स्रोत संकलनमा केही अंकुश लगाएकाले पुँजी आवश्यक भएको अवस्थामा कर्जा निक्षेप अनुपातमा गणना हुनेगरी वाणिज्य बैंकहरूबाट कर्जा सापट लिन पाउने व्यवस्था गर्नुपर्दछ।
विकास बैंकहरूले (लघुवित्त समाहितसहितको) लगानीयोग्य पर्याप्त वित्तीय स्रोत–साधन परिचालन गर्न पाए गाउँ–गाउँ र दूरदराजमा पनि सार्थक वित्तीय पहुँच वृद्धिमा उल्लेखनीय योगदान दिन सक्दछन्। विकास बैंकहरू समावेशी वित्तीय प्रणालीको एउटा राम्रो नमूना बन्न सक्नेछन्।
कतिपयले लघुवित्त संस्थालाई विकास बैंकमा समाहित गर्दा उनीहरूले ग्रामीण तथा विपन्न वर्गलाई दिँदै आएको सेवा निष्क्रिय हुन सक्छ र यसले फेरि वित्तीय पहुँच बिस्तारमा संकुचन आउन सक्छ भनेर आलोचना पनि गर्न सक्छन्। यसको सफल नमूना नेपालमा मुक्तिनाथ विकास बैंकले शुरुवातदेखि नै सञ्चालन गर्दै आइरहेको छ भने अधिकांश विकास बैंकहरूले लघुवित्त डेस्क स्थापना गरी सोही प्रकृतिको सेवाहरू दिइरहेका छन्।
केही समयअघि एउटा स्थानीय निकायले लघुवित्त संस्थाको ब्याज सहकारी संस्थाको भन्दा बढी भयो भनेर लघुवित्त संस्थाहरूलाई कार्यक्रम बन्द गर्न उर्दी जारी गरेको कुरा हामी सबैलाई थाहा छ। त्यसकारण विकास बैंकहरूले ग्रामीण क्षेत्रका सहकारी संस्थालाई पुँजी र प्रविधि सहयोग गरी हाल लघुवित्त संस्थाहरूले गर्दै आएको वित्तीय सेवालाई सहकारी संस्थामा हस्तान्तरण गर्ने रणनीतिक योजनासहित काम गर्न सकेमा विकास बैंकहरूको संचालन लागत पनि घट्ने र वित्तीय पहुँच पनि अहिलेको भन्दा धेरै राम्रो हुनसक्ने देखिन्छ।
अहिलेको महामारीको संक्रमणपछि नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने एउटा उपायमा अधिकांशले कृषि क्षेत्रलाई जोड दिएको पाइन्छ। तर सरकारको अनुदान र बैंकहरूको सहुलियतपूर्ण कर्जाले मात्र कृषि क्षेत्रको व्यवसायिक विकास हुन सक्दैन भन्ने कुरा प्रमाणित भइसकेको छ। तसर्थ, कृषि क्षेत्रको उत्पादन र वितरणलाई व्यवसयिक रुपले दिगो र स्थायी बनाउन किसानहरूलाई पुँजीबाहेक अन्य आवश्यक कृषि सामाग्रीहरू, प्राविधिक सेवा र बजार व्यवस्थापन लगायतका पक्षहरूको अपरिहार्यता उत्तिकै छ।
यो परिपूर्ति गर्न न त सरकारी संयन्त्र प्रभावकारी हुन्छ न किसानहरू आफैं सक्षम हुन्छन्। तसर्थ, यसको सामन्जस्यताका लागि ठूला गैरवित्तीय कृषि कम्पनीको आवश्यकता देखिन्छ। यस्ता कम्पनीहरू विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापना गर्न सक्ने नीतिगत व्यवस्थाको खाँचो टड्कारो छ। विकास बैंकहरूले उत्पादक किसान (ग्राहक), बजार व्यवस्थापक (कृषि कम्पनी) र पुँजी प्रदायक (स्वयं) बीचमा मूल्य श्रृङ्खला तयार गरी समन्वयात्मक रुपमा आपसी हितका कार्यहरू गर्न सक्छन्।

हाल नेपालमा फाइनान्स कम्पनीहरूको संख्या र शाखा थोरै छन्। उनीहरूको कारोबार पनि शहर केन्द्रीत छ। फाइनान्स कम्पनीहरूले गर्ने र वाणिज्य तथा विकास बैंकले गर्ने कार्यहरूमा धेरै भिन्नता देखिँदैन। कार्यालयको संरचना र स्थापनामा पनि खासै फरक छैन। तसर्थ, यी कम्पनीहरूलाई वाणिज्य वा विकास बैंकमा विलय गराउँदा उपयुक्त देखिन्छ।
फाइनान्स कम्पनीका ग्राहकहरूलाई शहरी क्षेत्रमा रहेका ठूला सहकारी संस्थाहरूले पनि सेवा दिइरहेकाले यी कम्पनीहरू अरु संस्थामा विलय गराउँदा लगानीकर्ता, कर्मचारी र ग्राहकवर्गमा असन्तुष्टि आउने सम्भावना देखिँदैन।

नेपालमा अहिले लगानीकर्ताहरूको आकर्षण लघुवित्त संस्थाहरूमा रहेको छ। थोरै लगानीमा बढी प्रतिफल दिने भएकोले लगानीकर्ताहरूको आकर्षण बढ्नु स्वाभाविक पनि हो। अन्य देशका लघुवित्त संस्थाहरू धेरैजसो गैरसरकारी संस्थाको रुपमा वा मुनाफा वितरण नगर्ने गरी सञ्चालित छन्। तिनले आर्जन गरेको रकम संस्थाको सबलता, ग्राहक हित र सेवा विस्तारमा लगानी गरेको देखिन्छ।
ती देशहरूमा लघुवित्त संस्थाको व्याजदर बढी भयो भनि आवाज उठेको पनि देखिदैन। तर, जहाँ निजीक्षेत्रको प्रवेश भएको र लघुवित्त संस्थाहरूले कम्पनीका रूपमा कार्य गरेका छन्, साथै मुनाफाबाट लाभांश वितरण गर्दछन्, त्यस्तो देशमा विभिन्न प्रकारका आरोप र लान्छना लाग्ने गरेका छन्।
हाल सञ्चालित र सञ्चालनको अन्तिम स्वीकृतिको पर्खाइमा रहेका लघुवित्त संस्थाहरूको उचित व्यवस्थापन कसरी गर्ने भन्ने बारे राष्ट्र बैंक निकै गम्भीर देखिन्छ। यी संस्थालाई एकातिर बढी ब्याज लिएको, बढी नाफा वितरण गरेको, गरिबलाई झन् गरिबीमा धकेलेको, सामाजिक विकृति बढेको आदि आरोप लाग्ने गरेको छ। अर्कोतर्फ, लगानीयोग्य पुँजीको अभाव, थोक कर्जाको उपलब्ध असहज, महँगो कर्जा (ब्याजदर), कर्जामा अधिक दोहोरोपनाले कर्जा जोखिम बढेको, दक्ष जनशक्तिको अभाव, प्रविधिमा लगानी गर्न असक्षम आदि जस्ता संस्थागत समस्याहरू देखिन्छन्।
यी आरोप तथा संस्थागत समस्या समाधान गर्न राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाहरूलाई दुईवटा विकल्पहरू दिनु पर्दछ। पहिलो, लघुवित्त संस्थाहरू हाल भएका राष्ट्रिय स्तरका विकास बैंकहरूमा समाहित हुने र सोही विकास बैंकअन्तर्गत रही लघुवित्त कार्यक्रमलाई निरन्तरता दिने। दोश्रो, लघुवित्त संस्थाहरू आपसमा मिलेर केन्द्रीय बैंकले तोकेका शर्तहरू पूरा गरी विकास बैंकमा स्तरोन्नति हुने।
यो कार्य सम्पन्न गर्न लामो अवधिको समयसीमा निर्धारण गर्नु हुँदैन। हाल कतिपय राष्ट्रियस्तरका विकास बैंकहरूको शाखा सञ्जाल ठूलो रहेको तर ग्राहक र व्यवसायको आकार सानो भएकाले ती बैंकहरूमा लघुवित्त संस्था समाहित हुँदा ग्राहक र व्यवसायको आकार पनि बढ्ने र लगानीकर्ताहरूले दिगो र राम्रो प्रतिफल पनि प्राप्त गर्न सक्नेछन्।
पुराना तथा ठूला लघुवित्त संस्थाहरू आफैं विकास बैंकमा स्तरोन्नति हुँदा मुख्यतः कार्यालय निर्माण, जनशक्ति व्यवस्थापन र प्रविधिमा बढी खर्च गर्नुपर्ने हुन सक्छ। तर, विकल्पमा कार्यालय स्थापनाका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मर्जर वा एक्वायर हुँदा एउटै स्थानमा रहेका शाखा कार्यालयहरू सस्तोमा खरिद गरी कारोबार सञ्चालन सक्दछन्।
लामो समय बैंकिङ क्षेत्रमा बिताएका तर मर्जर वा एक्विजिसनका कारण जागिर छोडेका अनुभवी र योग्य जनशक्तिहरू उपलब्ध हुने भएकाले जनशक्ति व्यवस्थापनमा पनि समस्या देखिँदैन। लघुवित्त संस्थाहरू विकास बैंकमा स्तरोन्नति हुँदा ती संस्थामा कार्यरत कर्मचारी र ग्राहक सदस्यहरू हर्षित हुन्छन्। किनभने, कर्मचारीहरूले लघुवित्तको अलावा बैकिङ कार्यहरू सिक्ने अवसर पाउँछन् भने ग्राहक सदस्यले सम्पूर्ण बैंकिङ सेवाहरू एउटै संस्थामार्फत प्राप्त गर्न सक्नेछन्।

हाल महामारीको रूपमा फैलिएको कोरोनाका कारण अर्थतन्त्रलाई ठूलो असर पर्ने देखिन्छ। लाखौंको संख्यामा वैदेशिक रोजगारमा गएका युवाहरू नेपाल फर्कने सम्भावना बढ्दै गएको छ। छोटो समयमै देशलाई आत्मनिर्भर बनाउन सकिने र तत्काल रोजगारी सिर्जना गर्न सकिने वा स्वरोजगार गराउने क्षेत्र भनेको व्यवसायिक कृषि नै हो। नेपालको कृषिलाई दिगो र व्यवसायिक रूपले सञ्चालन गर्न सरकार, निजी क्षेत्र र सहकारी संस्थाहरूको सहकार्य अनिवार्य छ।
नेपालमा सञ्चालित सहकारी संस्थाहरू मुख्यगरि दुई प्रकृति छन्। शहरमा रहेका सहकारी संस्थाहरू बैंक तथा वित्तीय संस्थाहरूको प्रतिस्पर्धीको रूपमा बैंकिङ कार्य गरिरहेका छन् भने ग्रामीण क्षेत्रका सहकारीहरुमा पुँजीको अभाव छ, व्यवस्थापन कमजोर छ, प्रविधिमा पहुँच छैन। तसर्थ सहकारी संस्थाहरूलाई पूर्णरुपमा सहकारीको मर्म र नेपाली वित्तीय क्षेत्रको आवश्यकताबमोजिमको आफ्नै मोडेलमा सञ्चालन गर्न उपयुक्त देखिन्छ।
सहकारी संस्थाहरूको सीमित वित्तीय कारोबारलाई दिगो राख्न साना कारोबारहरुको अलावा आफ्ना सदस्यहरूले गरेको उत्पादन तथा सेवालाई आम उपभोक्ताहरूसँग जोड्न वित्तीय तथा गैरवित्तीय संस्थाहरूसँग निकट समन्वय आवश्यक पर्दछ। वित्तीय संस्थाका रूपमा विकास बैंक उपयुक्त साझेदार हुन सक्छन् भने गैरवित्तीय संस्थाका रूपमा बजार व्यवस्थापन गर्ने कम्पनीहरू हुन सक्दछन्।
यी कम्पनीहरूले सहकारीद्वारा उत्पादित वस्तुहरू संकलन, ग्रेडिङ र ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री–वितरणको व्यवस्था गर्न सक्छन्। नेपालका सहकारीहरुको गरिमा अन्तर्राष्ट्रिय बजारसम्म उच्च हुनजान्छ।

ग्रामीण भेगमा रहेका सहकारी संस्थाहरूलाई विशेषगरि कृषि लगायतका वस्तु तथा सेवाहरूको उत्पादन, सदस्य सहजीकरण र व्यवस्थापनमा संलग्न गराउनुपर्ने देखिन्छ। यी सहकारीहरुले ग्रामीण भेगमा रहेका उत्पादनका सम्भावनाहरू पहिचान गरी कृषि, पर्यटन, साना तथा लघु उद्यम आदिमा आफ्ना सदस्यहरूलाई व्यापक रुपमा परिचालन गर्न सक्छन्।
विभिन्न कम्पनी तथा संस्थाहरूसँग समन्वय गरी आफ्ना सदस्यहरूलाई आवश्यक पर्ने बीउ–बिजन, कच्चा पदार्थ, प्रविधि, सीप, औजार आदि आपूर्तिमा सहजीकरण गर्न सक्छन्। यस्तै, सदस्यहरूले उत्पादन गरेको वस्तुहरू संकलन गरी विभिन्न कम्पनीहरूसँगको सहकार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सक्छन्।
अहिले ग्रामीण क्षेत्रमा खाद्य वस्तुको व्यापार गर्ने प्रणाली अत्यन्त कमजोर छ। तसर्थ, सहकारीहरूले सदस्यहरूलाई पायक पर्नेगरि सर्वसुलभ र गुणस्तरीय सहकारी उपभोक्ता पसल संचालन गर्नु पर्दछ।
यो लगायत सहकारी संस्थाहरूले आवश्यकताअनुसार सरकारले गर्न नसकेका अन्य कामहरू पनि गर्न सक्छन्। सहकारीहरू भिन्न कार्यहरूमा संलग्न हुँदा उनीहरूको व्यवस्थापकीय क्षमतामा पनि वृद्धि हुन्छ।
साथै, ती संस्थाहरूले त्यस क्षेत्रको वित्तीय आवश्यकता पूरा गर्ने हेतुले सीमित बैंकिङ कारोबार पनि शुरु गर्न सक्दछन्। सदस्यहरूबाट बचत संकलन, ऋण प्रवाह, नपुग रकम विकास बैंकहरूबाट थोक कर्जा लिने र रेमिट्यान्स कारोबार इत्यादि गर्न सक्छन्।
यस्तै, बीमा कम्पनीको प्रतिनिधिको रूपमा कार्य गर्ने, प्रविधिमा आधारित रही विकास बैंकको प्रतिनिधि भइ कार्य गर्ने, विभिन्न संस्थाहरूको सहयोगमा सदस्यहरूलाई व्यवसायिक साक्षरता कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्ने आदि कामहरू ग्रामीण सहकारी संस्थाहरूले गर्न सक्नेछन्।
यसले देशको वर्तमान बेरोजगारी तथा गरिबी दरमा न्यूनीकरण हुनुका साथै बैंक तथा वित्तीय संस्थाहरूले शाखा विस्तारमा गर्ने अनावश्यक खर्च पनि नियन्त्रण हुनेछ ।

नेपाल राष्ट्र बैंकलगायत अन्तर्राष्ट्रिय निकायहरुले समेत नेपालमा वित्तीय क्षेत्रमा आउनसक्ने जोखिमको एउटा कारण सहकारी संस्थाहरू हुन सक्छ भनेर लिखित प्रतिवेदन नेपाल सरकारलाई बुझाएको पाइएको छ। कतिपय सहकारी संस्थाका सञ्चालकहरूबाट वर्तमान ऐन कानूनले गर्दा सहकारी संस्था सञ्चालनमा कठिनाई भएको गुनासो पनि सुनिएको छ।
सहकारी ऐन २०७४ ले सम्पत्ति शुद्धीकरणसम्बन्धी पक्षलाई पनि कडाईका साथ पालना गर्नुपर्ने र नियामक निकायले पनि सोको नियमित जाँच र अनुगमन गर्नुपर्ने भएकाले नियमक निकायलाई यो कार्य निकै चुनौतिपूर्ण छ।
सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूलाई गर्ने कर्जा लगानीको सीमा सानो रकममा सीमित गर्दा सम्पत्ति शुद्धीकरणको निगरानीको व्यवस्थालाई खुकुलो बनाउन सकिन्छ। यसो गर्दा आगामी दिनमा यी सहकारी संस्थाहरूको कारोबारमा संकुचन आउँछ भने संस्थाको नाफामा पनि असर गर्दछ । यसैले कतिपय संस्थाहरू बन्द हुने अवस्थामा पुग्न सक्छन्।
त्यसैले शहरी सहकारी संस्थाहरूले सानो आकाराको सीमित बैंकिङ कारोबारबाहेक सदस्यहरूलाई अत्यावश्यक अन्य सेवाहरू दिनेतर्फ केन्द्रीकृत हुनुपर्दछ। शहरी सहकारी संस्थाहरूले ग्रामीण भेगका सहकारी संस्थाहरूले उत्पादन गरेको वस्तुहरूको बजार व्यवस्थापन पनि गर्न सक्छन्।
शहरमा रहेका शिक्षण संस्था र अस्पतालहरू विभिन्न कारणले पटक–पटक विवादमा आउने गरेका छन्। यस परिवेशमा शहरका सहकारी संस्थाहरूले पुँजी वृद्धि गर्न सहकारी संस्थाहरू एकीकरण पनि गरेर विद्यालय, क्याम्पस, प्राविधिक शिक्षालयहरू र अस्पतालहरू पनि सञ्चालन गर्न सक्दछन्।
शहरका सहकारी संस्थाहरू बैंकिङ कारोबारमा मात्र केन्द्रीत भएकाले बढी जोखिम देखिएको हो। यी संस्थाहरूको जोखिम न्यूनीकरण गर्न सरकारले जारी गरेका ऐन नियमहरूलाई पूर्ण रूपमा पालना गर्नु पर्दछ भने सञ्चालकहरू स्वनियममा बस्ने प्रणालीको विकास गर्नु अति आवश्यक रहेको छ।
सहकारी संस्थाहरूलाई विकास बैंकको प्रतिनिधि संस्थाको रूपमा काम गर्न नीतिगत व्यवस्था हुनुपर्दछ। सहकारीहरूले आफ्नै कार्यालयबाट सदस्यहरूलाई आधुनिक बैंकिङको आवश्यकता भएमा आधुनिक प्रविधिको माध्यमद्वारा विकास बैंकमा खाता खोल्ने, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डेविट कार्ड, ठूलो कर्जाका लागि आवश्यक कागजात संकलन गरी कर्जा सिफारिस लगायतका सुविधाहरू उपलब्ध गराउन सक्छन्।
फलस्वरुप सहकारी संस्थाका सदस्यहरूलाई पूर्ण बैंकिङ सेवा प्रदान गर्दा सदस्यहरूको विश्वास पनि बढ्ने र संस्थाले थप आम्दानी पनि गर्नसक्ने देखिन्छ। यसरी सहकार्यमा सेवा प्रदान गर्दा विकास बैंकको संचालन लागत घट्न सहयोग पुग्नेछ।
यसरी वित्तीय क्षेत्रको संरचनागत परिवर्तनका आधारमा देशमा अब संयुक्त लगानीका वाणिज्य बैंकहरू, राष्ट्रियस्तरका विकास बैंकहरू र सहकारी संस्थाहरूलाई वित्तीय क्षेत्रमा परिचालन गर्न सके हाल वित्तीय प्रणालीमा विद्यमान केही मुख्य समस्याहरूको समाधान गरेर भविष्यमा सबल र उत्पादनमुखी दिगो वित्तीय क्षेत्र बनाउन मद्दत पुग्नेछ। वित्तीय क्षेत्रको सबलताले नै समाजवादउन्मुख अर्थतन्त्रको बाटो तय गराउनेछ।
हालको कोरोना संकटले आउँदा दिनमा पार्ने असरहरूबारे अहिले नै पूर्णरूपमा आँकलन गर्न नसकिए पनि उल्लेखित सुझाइएका संरचनागत परिवर्तनले अपेक्षित संकट समाधान तथा देशको वित्तीय क्षेत्रको विकासमा मार्ग बन्न सक्नेछ। विश्वव्यापी कोरोना संकटबाट माथि आउन वित्तीय प्रणालीलाई पनि सिर्जनशील शैलीबाट परिवर्तन आवश्यक छ।
परम्परागत प्रणालीबाट अहिलेकोभन्दा बढी उपलब्धी अपेक्षा गर्न सकिँदैन। तसर्थ, विगतमा विविध कारणले बिग्रिएको वित्तीय प्रणाली सुधार गरी अर्थतन्त्रलाई गति दिन सकारात्मक कठोर निर्णय लिने सही बेला यही हो।

राष्ट्रियसभाको सदस्यमा अर्थमन्त्रीमा खतिवडाको निरन्तरता ?

सचिवालयको बैठक अनुसार अब राष्ट्रपतिबाट नियुक्त हुने राष्ट्रियसभाको सदस्यमा अर्थमन्त्री डा युवराज खतिवडाले नै निरन्तरता पाउने छन् । यो पटक राष्ट्रियसभाको सदस्यमा नियुक्त भएमा सांसद्को रुपमा खतिवडाको कार्यकाल ६ वर्षको हुने छ । उनको २ वर्षे कार्यकाल फागुनमा सकिएको थियो । त्यसपछि उनले मन्त्रीबाट राजीनामा गरेर पुनः नियुक्ति भएका थिए । अहिले खतिवडाले अर्थ तथा संचारमन्त्रीको जिम्मेवारी समालेका छन् ।

राहत दिने, छुट दिने बैंक र वित्तिय संस्था मात्रै हुन्, राज्य छैन, २ प्रतिशत छुट भनेको २५/३० अर्ब हुन्छ

० अध्यक्षज्यू राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रलाई समेटेर २ प्रतिशत ब्याजको छुट दिने निर्देशन नै गरेको अवस्थ छ नि ?
सही हो । तर, राहत पीडितले पाउनु प¥यो । जागिर खाने, रेगुलर तलब बुझ्ने हुने खानेहरुले राहत किन चाहियो प्रश्न यो हो ? पर्यटन, हवाईजहाज, होटल, यातायात जस्ता पूर्ण बन्द भएको लागि राहत भनौ वा २ प्रतिशत छुट दिने हो । होइन र ?

० त्यसो भए २ प्रतिशत राहत ग्राहकहरुले नपाउने नै भए त ?
कसैले भन्यो पाउदैनन् भनेर ? राष्ट्र बैंकले निर्देशन नै दिएपछि बैंक र वित्तिय क्षेत्रले दिन्न भन्न पाइन्छ ? तर, हाम्रो भनाई चाहि के हो भने पीडितले २ प्रतिशत छुट पाउनु पर्दछ भन्ने मात्रै हो नि ।

० डिपोजिटका ब्याज केही दिन अगाडी घटाउनु भयो फेरि २ प्रतिशत घटाउने प्रस्ताव सहित राष्ट्र बैंक जानु भएको खबर छ नि ?
२ प्रतिशत ब्याज छुट दिनु पर्ने भएपछि महंगोमा किनेर सस्तोमा बेच्ने नीति छैन होलानि ? १२÷१३ प्रतिशतका फिक्स डिपोजिट हामी कहाँ छन् । अब लगानी कतिमा गर्ने ? हामीलाई चाही राहत चाहिदैन के हामी यस समाजका मान्छे वा संस्था होइनौ त ?

० होइन अध्यक्षज्यू यो त विषम र अप्ठ्यारो अवस्था हो । यो बेला नाफा नोक्सान खोज्ने कि राहत दिने हो त?
सर नदिने भनिएकै छैन, दिने हो । तपाईलाई एउटा उदाहरण दियौं । भोक लागेकालाई खान दिने हो । अघाएकालाई किन दिनु प¥यो । सबैलाई दिने कुरा त चन्दा होइन र । पर्यटन कहाँ पुग्यो ? एयरलाइन्स कहाँ पुग्यो ? यातायत होटल कहाँ पुग्यो ? यी र यस्तालाई राहत चाहिएको हो । सधै आम्दानी भैरहेका र चलिरहेकालाई किन राहत ?

० बैंकहरु नाफामुखी भएको र टाई लगाएका गुण्डा हुन भन्ने आरोप पनि छ नि ?
आरोप लगाउदैमा हुन्छ । हामीले राज्यलाई कति कर तिरेका छौं । योगदान कति छ । जे पनि भन्ने, अर्को कुरा नाफा कमाउन नै व्यवसाय चलाएको हो । कसले घाटामा काम गर्दछ त ? लगानीकर्तालाई प्रतिफल दिने दायित्व पनि त होला नि ।

० राज्यले नै सबैलाई समेटेर राहत ल्याउने कुरा सहि हो त ?
सहि हो । सबै पीडित छन् । भने सबैलाई बैज्ञानिक तरिकारले राहत कार्यक्रम ल्याउनु प¥यो । बैंकले पनि त सबै शुल्क मिनाह गरेका छन् । आम्दानी यो ३०/३५ दिनमा के छ त ? बैंक मात्रै हो राहत दिने ? राज्य पनि होला नि ?

० त्यसो भए २ प्रतिशत छुट पाउदैनन त ?
तपाईले कुरा बुझ्नु भएन । किन नपाउने बाबुले देउ भनपछि छोराले खल्तीमै राख्न मिल्दछ । दिने हो यो बेला तर पीडितलाई दिनु प¥यो भन्ने कुरा हाम्रो चाहि हो ।

करिब ८० प्रतिशले २ प्रतिशतको ब्याज छुट पाउँदै छन् । नेपालका बैंकर वित्तिय क्षेत्रबाट मात्रै २५÷३० अर्ब राहतको नाममा छुट हामी दिदैछौं । यसले भविष्यमा बैंक र वित्तिय क्षेत्रलाई कस्तो असर पर्दछ । तपाई अकडा निकाल्न पनि सक्नु हुँदैन नि । यसबाट राज्यको करमा पनि ठूलो असर गर्ने देखिन्छ ।

चौरजहारी अस्पताललाई सेञ्चुरी बैकंद्वारा पीपीई हस्तान्तरण

सेञ्चुरी कमर्सियल बैकं लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान PPE  सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैकं लिमिटेडका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उक्त PPE रुकुमका  कुमार कठायतलाई हस्तान्तरण गरेका हुन ।

साथै सेञ्चुरी कमर्सियल बैकं लिमिटेडले COVID-19 को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच/ पाँच लाख र संघीय  सरकारलाई पचास लाख गरि कुल पचासी लाख प्रदान गरिसकेको छ ।

बैंक र वित्तिय संस्थाबाट २५ अर्ब पैसा २ प्रतिशत छुटको नाममा बाँडिदैछ यो चाहि बैज्ञानिक भएन

अजय कुमार मिश्र नेपालको बैंक र वित्तिय क्षेत्रमा चिनाई राख्नु पर्ने नाम होइन । १६ वर्षको अवधीमा १३ भन्दा बढि बैंक र वित्तिय कम्पनीको व्यवस्थापकीय भूमिकामा काम गरेका मिश्र सालिन स्वभाव र सोच विचार गरेर मात्रै निर्णय दिने बैंकरहरुको सूचिमा पर्दछन् ।
अजय कुमार मिश्र अहिले नेपालकै सबल र सक्षम फाइनान्स कम्पनी यूनाईटेड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छन् ।
राजा सुरेन्द्र बिर बिक्रम शाहको पालामा सात पुस्ते हजुरबुवा सुब्बा दामोदर मिश्र नेपाल सरकारको ढुकुटी प्रमुख थिए । सातपुस्ता अगाडी सुब्बा मिश्रको कामबाट प्रशन्न भई तत्कालिन महाराजअधिराजबाट रौतहट र सर्लाहीको बिर्ता बक्स भएर स(परिवारको त्यहाँ बसाइसराइ भयो । त्यसपछिका पाँच पुस्ताले सरकारी सेवा गरेनन । पाँच पुस्ता अलिकति राजनीति, अलिकति किसानीमा नै रमायो उनी भन्दछन् ।

त्यसपछि सरकारी सेवाको पृष्ठभूमि भएर पनि सफल बैंकरका पहिचान बनाएका अजय मिश्रका बुवा रामानन्द मिश्रले सरकारी सेवामा प्रवेश गरे । उनले झन्डै ६५ बर्ष नेपाल सरकार र काठमाडौं बिश्वबिद्यालयमा सेवा गरे । त्यसयता मिश्र परिवारका सबै सदस्य सरकारी सेवामा छन् । अजय मिश्र परिवारका एक्ला सदस्य हुन् जसले बैंकिङ क्षेत्रलाई आफ्नो कर्मथलो बनाए र बनाईरहेका पनि छन् ।
जागिरे मानसिकताबाट माथि उठ्न नसकेको परिवार भएका कारण मिश्रले अध्ययनको क्रममा अमेरिका रहेका छोरा र छोरीपनि भविष्यमा जागिर नै खाने बिश्वास उनीको छ ।

परिवारका अन्य सदस्यलाई पछ्याउदै मिश्रले सरकारी सेवाबाट नै आफ्नो करियरको सुरुवात गरे । २०४७ सालमा प्राविधिक शिक्षा तथा तालिम व्यवसायिक परिषदमा लेखा अधिकृतबाट जागिर सुरु गरेका मिश्रसँग फरक फरक प्रकृतिका ठाउँमा काम गरेको अनुभव काफी छ ।
शिक्षा मन्त्रालयमा शाखा अधिकृतको रुपमा समेत काम गरेका मिश्र सरकारी काम गर्ने शैलीप्रति सन्तुष्ट हुन् सकेनन र सरकारी सेवा छाडेर बिदेशी नियोगमा काम गर्न पुगे ।

२०६२ सालमा तत्कालिन माओवादीको आन्दोलन चर्किएको बेला राजधानीबाहिर काम गर्न सुरक्षाको हिसाबले चुनौतिपूर्ण थियो । सुरक्षाका कारण देखाउदै परिवारले जागिर छाड्न भनेपछि उनले फेरि टेलिभिजनमा काम सुरु गरे ।
टिभीमा रहरले आए, यो २८ बर्षको व्यवसायिक जीवनमा संधै व्यवस्थापकीय भूमिकामा रहेर काम गरे तर टिभीमा बजार प्रबन्धकको रुपमा काम गरे ।

केहीपछि माछापुच्छ्रे बैंकका सहायक प्रबन्धकको रुपमा काम सुरु गरेसंगै बैंकिङ क्षेत्रमा प्रवेश गरेको इतिहास देखिन्छ ।
मिश्रसंग क बर्गको बाणिज्य बैंकमा मात्र नभई ख बर्गको विकास बैक, ग बर्गको फाइनान्स र घ बर्गको लघुवित्त गरि सबै तहका बैंक वित्तीय संस्थामा काम गरेको अनुभव छ। सम्भवत बैंकिङ उद्योगमा सबै बर्गका बैंक वित्तीय संस्थामा काम गरेको अनुभव बटुल्ने बैंकर मिश्र मात्रै होलान । नेपालमा लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन र हुँदैन पनि ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको सक्षम र सबल वित्तिय संस्था युनाईटेड फाइनान्स कम्पनी लिमिटेडले धेरै भन्दा धेरै शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ यूनाईटेड फाइनान्स कम्पनी लिमिटेडले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न प्राय सबै शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा फाइनान्स कम्पनी खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ।
शाखा खुलेको मात्रै छ कि कारोबार पनि भएका छन् । फाइनान्स कम्पनीेको कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र केही दिन पछि आउने फाइनान्स कम्पनीहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ ।

नेपालको अर्थतन्त्र र नेपालको बैकिङ्ग प्रणालीलाई यसले कस्तो असर पर्ला, यी र यस्तै विषयमा युनाईटेड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० नेपाल विगत एक महिना देखि लकडाउनमा छ । यस्तो विशम र अप्ठ्यारो बेला युनाईटेड फाइनान्स कम्पनी लिमिटेडले चाही कस्तो सेवा दिएको छ ?
हामीले रेगुलर बैकिङ्ग नै दिएको अवस्था छ । सबै हाम्रा शाखा सञ्जाल खुल्ला नै छन् । विहान ११ देखि २ बजेसम्म सेवा दिएका छौं । कर्जाका ग्राहक आउनु भएको छैन । पैसा राख्ने र झिक्ने काम चाही चलिरहेको छ अर्को कुरा । त्यसमा पनि फाइनान्स कम्पनीमा निक्षेप जम्मा गर्नेभन्दा धेरै झिक्नेको संख्या बढी छ । फाइनान्स कम्पनीहरुका ग्राहक ठूला व्यवसायीभन्दा बढी साना तथा मझौला उद्योगका क्षेत्रहरुका हुन्छन् ।
भविष्यमा फाइनान्स कम्पनीहरुको व्यवसायीक अवस्था कस्तो रहन्छ भन्नेमा लकडाउनको अवधि र आर्थिक गतिविधिलाई सरकारले कसरी अगाडि बढाउँछ त्यसमा भर पर्ने देखिन्छ नि ।

० कोरोना भाईरसको महामारीका बेला काम गर्ने कर्मचारीहरुको स्वास्थ्य व्यवस्था चाहि कस्तो गर्नु भएको छ ?
हामीले दुईवटा काम चाही गरेका छौं । सबै कर्मचारी साथीहरुलाई अफिसमा बोलाएका छैनौ । २५ प्रतिशत कर्मचारी मात्रै काममा हुनुहुन्छ । अर्को कुरा दिन फरक गरेर काम गर्नु भएको छ । साथै कोरोना भाईरसका रोगथामका सबै उपकरणको व्यवस्था गरिएको छ । जस्तै माक्स, सेनिटाईजर, पञ्जा त्यो अफिसले नै व्यवस्था गरेको अवस्था छ ।

० राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रका ग्राहकहरुका लागि २ प्रतिशत ब्याजको सुविधा लागु गर्न बैंक र वित्तिय क्षेत्रलाई निर्देशन दिएको अवस्था छ नि ?
हामीलाई २ प्रतिशत छुट दिन कुनै गाह्रो छैन । तर, कुरा यस्तो चाहि हो । ऋणीहरुले यो विपतमा मागे राज्यले दिनु भन्यो । यो आफ्नो ठाउँमा छ । तर, सबै सरोकारवाला पक्षसंग छलफल गरेर पूर्ण राहत ल्याउनु जरुरी थियो । किस्ता बन्दमिा किन चैत्रमा १० प्रतिशत छुट वैशाखमा २ प्रतिशत छुट यो राम्रो होइन ।

सरसल्लाह भएन किस्ताबन्दी आयो एकमुष्ठ भएर आए राम्रो हुने थियो भन्ने कुरा हाम्रो हो । यसले ऋणीलाई राहत हुदैन जो पीडित छन् । हाम्रो ऋणीलाई राहत दिने कुरामा आपत्ती पक्कै छैन । यो बेला दिनु पर्दछ । तर साच्चै मर्कामा परेका क्षेत्र पर्यटन, होटल, हवाईजहाज र यातायतलाई दिने हो । यसले त सबैले राहत पाउने भए । जागिर खाएकाले पनि कमक्षती भएकाले पनि एकरुपमा देखिदैन । राहतको नाममा ८० प्रतिशत ऋणीहरुले छुट पाउदैछन् । यसले बैंक र वित्तिय क्षेत्रको नाफामा ठूलो चोट पुग्ने छ । हाम्रो फाइनान्स कम्पनीको कुरा गर्ने हो भने हामीले ४ देखि ५ करोडको छुट दिनु पर्ने देखिन्छ नि ।

० लकडाउनमा डिजिटल बैकिङ्ग र अरु सूचना प्रविधिका माध्यामबाट कस्तो कारोबार भएका छन् त ,
यो बेला सुचना प्रविधिका कुरा सिक्ने बेला पनि हो । अहिले डिजिटल प्रणालीबाटै प्रसस्तै कारोबार भएका छन् । यो बैशाखको १७÷१८ दिनमा हाम्रो कम्पनीमा मात्रै ५३७ जना आउनु भयो अरु सबै डिजिटलबाटै कारोबार भएको देखिन्छ नि ।

० कोरोना भाईरसका कारण १ महिना देखिको लकडाउनले बैंक र वित्तिय क्षेत्रलाई कस्तो असर गर्ला त ?
यसको सबैभन्दा ठूलो असर पर्यटन उद्योग, हवाई उद्योग, यातायात उद्योग नै हो । पसल खुलेकै छन् । बिजुली बलेकै छन् । अरु सानातिना व्यवसाय चलाएकै छन् । यी मैलेभनेका तीनवटा क्षेत्रलाई बढि राहत चाहिएको थियो । तर, यहाँ त व्यक्तिगत कर्जा लिने, सुन पसलका ऋणी देखि जागिर खाने ऋणीहरुलाई समेत राहतको नाममा छुट दिइयो । यसले बैंक र वित्तिय क्षेत्रमा ठूलो भविष्यमा असर गर्ने निश्चित छ । भूपेन्द्रजी । तपाईलाई थाहा छ । कोरोना राहतका नाममा बैंक र वित्तिय क्षेत्रबाट २५ अर्ब रुपैया २ प्रतिशत छुटको नाममा बाडिदै छ नि ।

० बैंक र वित्तिय क्षेत्रको अबको रिजल्टलाई यो २ प्रतिशतको छुट राहतले चाहि कस्तो असर गर्ला त ?
पक्कै पनि वित्तिय बिवरणलाई २ प्रतिशत छुटले असर पर्दछ । यसले कर्जाका ब्याज उठ्दैनन् । यो चाहि पक्का पक्की नै छ । खुद नाफा राम्रो भए पनि बितरण योग्य नाफामा चाहि ठूलो असर पर्दछ । नाफामा हाम्रो टाउँको दुखाई छैन । ग्राहक बचाउनु प¥यो । राहत पक्कै दिनु पर्दछ । तर, यो २ प्रतिशत छुट वा राहत बैज्ञानिक भएन भन्ने गुनासो मात्रै हो हाम्रो ।

० राज्य कोषमा चाहि कस्तो सहयोग गर्नु भयो त ?
वित्तिय सेवा यो विशम र अप्ठयारो अवस्थामा दिनु नै पहिलो र ठूलो राहत हो । अर्को कुरा राज्यलाई कर तिरेका छौं । अरु राहतका कुरा लकडाउनको अवस्था हेरेर निर्णय गर्ने पक्षमा छौं । हामी हेर र पर्खको अवस्थामा छौं । अर्को कुरा यो २ प्रतिशत ब्याज छुटले हाम्रो यूनाईटेड फाइनान्सबाट मात्रै ४ देखि ५ करोडसम्म ब्याज छुट हुन्छ । यो राहत नैहो होइन र भूपेन्द्रजी ?

० अहिले ठूलो दक्ष जनशक्ति नेपाल आएको छ र राजधानीबाट करिब ४÷५ लाख मान्छे गाउँ पुगेका छन् । उनीहरुलाई के भन्नु हुन्छ त ?
बाहिरबाट आएका जनशक्ति कही समय पछि फेरि विदेश नै जाने बातावरण पक्कै हुने नै छ । अब चाहि धेरै कुरा परिवर्तन होला । कोरोना रोकथाम पछि ती राष्ट्रले त जनशक्ति लाने नै छन् । केही समय चाही लाग्ने नै छ । जाने अवसर नपाएका र घर पुगेको ठूलो जनशक्तिले चाही आधुनिक कृषि र उत्पादनमुलक क्षेत्रमा लाग्नु पर्ने देखिन्छ । वैदेशिक रोजगारीमा गएका कतिपय युवाहरु नेपाल फर्किसकेका पनि छन्, भने लकडाउन खुल्ने बित्तिकै वैदेशिक रोजगारीमा रहेका ५० प्रतिशतभन्दा बढी नेपाल फर्किने पनि निश्चित देखिन्छ ।

त्यो हुँदा पनि अब रेमिट्यान्स घट्छ । रेमिट्यान्स घट्ने वित्तिकै निक्षेप संकलनमा असर गर्ने हुँदा कर्जा विस्तार पनि खुँम्चिन्छ । पहिलेबाटै लगानी गरिरहेको क्षेत्रमा पनि बैंक वित्त कम्पनीहरुले काम गर्न सक्दैनन् । त्यसकारणले सरकारले नै सबै क्षेत्रलाई बचाउन सहुलियत र राहतका प्याकेज ल्याउनुपर्छ र्। बैंकलाई मात्रै छुट देउ भन्दा हामीलाई चाहि कसले दिने हामी यहि समाजका मान्छे होइनौ त ?
कोरोना संक्रमण भएका धेरै देशहरुले पनि साना तथा मझौला उद्यमी तथा उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम तथा राहतका प्याकेजहरु ल्याएका छन् नि ।

नेपालले पनि अब त्यस्तै प्रकारका सहुलियतका कार्यक्रम, तथा राहत प्याकेज दिनुपर्छ । जसमा पुँजी, लगानी, सहुलियत कर्जा, ब्याज अनुदान तथा नीतिगत छुट दिएर संकटमा परेका क्षेत्र वा उत्पादनशील क्षेत्रमा लगानी गरी आन्तरिक रोजगारी र उत्पादन बढाउन सरकारले प्रभावककारी भूमिका निर्वाह गर्नु नै पर्छ । पीडितले चाहि पाउनु पर्दछ । यो २ प्रतिशत राहतको नाममा राज्यलाई जाने कर घट्ने देखिन्छ ।

० अब अर्थतन्त्रको कुरा गरौं । कोराना भाईरसले देशको अर्थतन्त्रमा चाहि कस्तो असर पर्ला त सीइओ साब ?
विश्व बैंक् र आईएमएसएसले १ प्रतिशत भनेको छ । हामी ७ प्रतिशतको ग्रोथमा थियौ । यसबाट अहिले नै २ प्रतिशत ग्रोथमा झ¥यो । राजश्व उठेको छैन । खर्च रोकिएको छैन । अर्को कुरा नेपाल रेमिट्यान्सबाट चलेको देश हामीले भन्ने गरेका छौं र थियो अब रेमिट्यान्सको ठूलो असर नेपालमा देखिन्छ । यसले बैंक, वित्तिय क्षेत्र मात्रै हान्दैन । राज्यको ढुकुटीमा समेत ठूलो असर गर्ने मैले देखेको छु । यसको असर बैंक र वित्तिय क्षेत्रको तरलतामा हुनेछ । अनि कर्जा दिन सकिदैन । एकातिर भने अर्को तिर २ प्रतिशत ब्याज छुट छ । यसले नाफा घट्ने छ । अब कसरी काम गर्ने हो । त्यो अहिले भन्न सक्ने अवस्था छैन ।

० विदेशी निकायहरुबाट सहयोग आउने कुरा कति छ त ?
कोरोनाले उनीहरुकै अर्थतन्त्र कमजोर भएको छ । तरपनि निक्षेप तथा लगानीका आन्तरिक स्रोतहरु संकुचित भएमा विदेशी निकायबाट नेपालमा लगानी तथा निक्षेप भित्र्याउने वातावरण सरकार तथा सम्बन्धीत निकायले बनाउनु पर्दछ । यो चाही सत्य हो । पहिलेबाटै नै रहेको विदेशबाटमा ऋण ल्याउन पाउने व्यवस्थाको दायरा तथा नीतिलाई केही खुकुलो गर्नुपर्छ । नेपालमा वैदेशिक लगानी, कर्जा र निक्षेप ल्याउने सहज नीति सरकार तथा राष्ट्र बैंकले गरिदिनु आवश्यक अब चाही छ । विदेशी बैंकबाट नेपाल ऋण ल्याएर सबै बैंक तथा वित्तीय सस्थाहरुले लगानी गर्न पाउनु पर्छ । पहिलेको व्यवस्थामा केही झन्झटिला नीतिगत प्रक्रिया सहज बनाउनु पर्छ । बैंक र बित्तीय क्षेत्रलाई पनि राहत दिनु प¥यो नि ।

० अन्त्यमा केही भन्नु छ ?
अब बैंक र वित्तिय क्षेत्रले तरलता कसरी राख्ने चिन्ता बढेको छ । अर्को कुरा वाहिरबाट आएको जनशक्तिलाई कसरी व्यवस्थापन गर्ने, रोजगारी दिने र सबै पक्षलाई बचाउँदै अर्थतन्त्रलाई पहिलाकै बाटोमा ल्याउने चुनौती सबै पक्षमा बढेको छ । त्यसका लागि सबै सरोबारवाला एउटै ठाउँमा बसी दीर्घकालिन नीति बनाउनु पर्दछ । नत्र कोरोना भाईसर मान्छेबाट अर्थतन्त्रतिर जाने संकेत देखिन्छ नि ।जय होस् ।

नाफा आउँदा पनि बाँडौला र घाटा हुँदा पनि दायित्वबोध हुनुपर्छ

कोरोनाको संक्रमणको जोखिम न्यूनिकरण गर्न चालेका कदम सरकारले रहरले चालेको होइन । सबैको जीवन रक्षाका लागि चालेको हो ।

मानवीयसँगै बैंक तथा वित्तीय संस्थालगायतका आर्थिक क्षेत्रसँग सरोकार राख्ने सबैको जीवनरक्षाका लागि सरकारले चालेको कदमको सर्वस्वीकार्यता हुनुपर्छ । र, आजका दिनसम्म त्यो भएको पनि छ ।

यो साझारुपमा हामीले अपनाएको लकडाउनलगायतका उपायबाट अर्थतन्त्रमा पार्ने असरलाई परिपूर्ण गर्दै आर्थिक उत्थानको बाटोमा अगाडि बढ्नेमा सबैको दायित्व रहन्छ । त्यसमा आफ्नो दायित्व र जिम्मेवारीबाट पछि हट्ने र दायित्व अरुमा सुम्पने कुरा न्यायपूर्ण हुँदैन ।

वित्तीय प्रणालीका बारेमा कुरा गर्दा कोभिडका कारण आवगमन बन्द हुँदा कुन क्षेत्र प्रभावित भए भन्ने लेखाजोखा भइरहेको छ । यसमा श्रम, निर्माण, व्यापार, उद्योगमा के परेको छ र यसले वित्तीय क्षेत्रमा कस्तो असर पर्छ भन्ने कुरा हुन्छ । त्यसैले बैंकका ऋण र निक्षेपकर्ताको बीचमा साझेदारी मिलाए जानुपर्छ । नाफा आउँदा पनि बाँडौला र घाटा हुँदा पनि दायित्वबोध हुनुपर्छ ।

यसलाई एकाउन्टिङ सेन्समा मात्रै नबुझेर सीएसआरका रुपमा पनि बुझ्नुपर्छ ।

लकडाउन पनि पूर्णरुपमा पालना गराउनु पर्ने र आर्थिक गतिविधि सामान्य बनाउनका लागि सामान्य बनाउन शतप्रतिशत कार्यान्वयन गर्ने कुरा एकैपटक सम्भव हुने कुरा होइन । तर पनि सामान्य बनाउनका लागि सरकारले क्रमशः काम गर्दै जान्छ । आर्थिक गतिविधि खुकुलो बनाउँदा पनि व्यवसायिक व्यक्तिको आगमन हुन्छ र संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ । त्यसैले सरकारले सोचेर काम गरिरहेको छ ।

अहिले अन्तर्राष्ट्रिय नाका बन्द गर्दा पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो असर परेको छ । पर्यटनको गतिविधि बढ्ने भनेको टाउको र खुट्टा नै हिँड्नुपर्ने विषय हो । यसलाई पनि ध्यान दिनुपर्ने भएको छ ।

त्यसैगरी निजी क्षेत्रलाई समस्या भयो र सरकारले जिम्मेवारी र दायित्व बहन गर्नुपर्छ भन्ने कुरा पनि आएको छ । यस हिसाबमा निजी क्षेत्रबाट आएको राजस्वबाटै राज्य चल्ने हो । त्यसमा पनि कर उठाएर राहत दिने, सुविधा दिने विषयमा पनि निजी क्षेत्र जोडिएको हुन्छ ।

अहिले विभिन्न क्षेत्रबाट २/३ प्रतिशतमा ब्याजमा कर्जा दिनुपर्छ भन्ने पनि आएको छ । बैंकले पैसा छापेर बाँडदैन । त्यसको लागत हुन्छ । बैंकले उद्योग व्यवसायलाई २/३ प्रतिशतमा ब्याज दिने हो भने निक्षेपकर्तालाई कति दिने हो भन्ने पनि छ । निक्षेपकर्तालाई दण्डित गरेर दिने कुरा पनि बुझ्नु आवश्यक छ ।

अर्को केन्द्रीय बैंकबाट छुट चाहियो, सीआरआर घटाउनु पर्योलगायतका कुरा गरेर हामीले खोजेको स्थायित्व कहाँ जान्छ भनेर पनि सोच्नु पर्छ । केन्द्रीय बैंकले पनि आउट अफ बक्स सोच्नुपर्छ । त्यसो हुँदा अत्यधिक लचकता के हुन सक्छ भनेर केन्द्रीय बैंकले सोच्नुपर्छ । त्यसो गर्दा निक्षेपको सुरक्षालगायतका विषयमा पनि सोच्नुपर्छ ।

त्यसबाहेक कर्जा लिनेको छुट दिने कुरामा ऋणको साँवा र ब्याजमा असार मसान्तसम्म जान सकिन्छ । र आवश्यक परेको अवस्थामा त्योभन्दा पछाडि पनि जान सकिन्छ । जसरी राहत दिने विषयको कुरा त्यसमा पनि हामीले सोच्नुपर्ने हुन्छ ।

जसरी राहत लिँदा लिनपर्ने र नपर्ने सबैले लिएको अवस्था छ । त्यसैगरी व्यवसाय राम्रोसँग चलिरहेको छ र ऋण तिर्ने क्षमता छ भने समयमै ऋण तिर्नुहोस् । यस विषयमा पनि केन्द्रीय बैंकले पनि सोच्नुपर्छ । अहिले पुनरकर्जाको सीमा पनि १ खर्ब पुर्याएको छ । त्यसका पनि आफ्नै सीमा हुन्छन् ।

तथापी अहिले बैंकिङ क्षेत्रमा चुनौती छ । निस्क्रिय कर्जा बढ्ने चुनौती पनि छ । केन्द्रीय बैंकले केही खुकुलो बनाउनुपर्ने होला, अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने कुरामा कसरी तलरता बढाउनका लागि काम गर्नुपर्ला ।

अहिले तत्काल देखिएको समस्या बीमाको दायरामा पनि छ । समस्या पर्दा काम नलाग्ने, जोखिममा परेको बेलामा बीमा सेवा नै दिन्न भन्ने हो भने हाम्रो सेवामा पनि प्रश्न उठ्न सक्छ । एसमई क्षेत्रको बीमा गरिदिनुपर्छ । म महामारीको बीमा गरौं भनेर तोकेरै पन भन्दिन् ।

हामी धितोपत्र बजारलाई लकडाउन गरिराख्न गर्न सक्दैनौं । पुँजी चलायमान बनाउनुपर्छ । लकडाउन खुल्ने वित्तिकै खोल्नुपर्छ । यसका लागि धितोपत्र बोर्डले पनि काम गर्नुपर्छ ।

अहिले निजी क्षेत्रको वासलात बिग्रन सक्छ । तर त्यो भन्दैमा अकाउन्टेन्टहरुले पनि बिगार्नु भएन । आइक्यानले पनि उहाँहरुलाई माफी दिनु भएको । प्रोफेसनलबाटै यस्तो काम भयो भने विश्वस्तीयता कायम हुँदैन । आइक्यालने पनि सदस्यहरुलाई विभेदरहित व्यवसायिक रुपमा अनुगमन र अनुशासनलाइ मर्यादामा राखेर काम गर्नुपर्छ ।

यहाँहरुका सुझावहरु नीति तथा कार्यक्रम बनाउँदा पनि सम्बोधन गर्नेछौं ।

अहिले क्यासबेसबाट डिजिटलमा जाँदैछौं र यसका लागि आइक्यानको भूमिका हुन्छ । अन्तर्राष्ट्रिय अडिटिङको मापदण्डमा पछि पर्नु हुँदैन । विदेशी लगानीलाई विश्वासमा ल्याउनका लागि काम गर्नुपर्छ । अहिलेको समस्यासँग जुध्नका लागि सरकारलाई पनि के गर्न सक्छ त्यसमा पनि सुझाव दिनुहोला ।

अर्थमन्त्री खतिवडाले नेपाल चाटर्ड एकाउन्टेन्स संस्था(आइक्यान) गरेको भिडियो कन्फ्रेन्समा क्रमा व्यक्त गरेको बिचार

मेगा बैंकका ग्राहकहरुलाई २४ घण्टाभित्रै घरमा सामान

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् ।

मेगा बैंक नेपाल लिमिटेड र होम सप्लाइजबीच मेगा बैंकका ग्राहकहरुलाई अर्डर गरेको २४ घण्टाभित्रै अत्यावश्यक घरायसी सामानहरु घरमै पुर्याउने सम्झौता भएको हो । खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरी लगायतका सामाग्री खरिदमा ग्राहकहरुले १० प्रतिशत अथवा बढीमा ५ सय रुपैंयासम्म छुट पाउने सहमति भएको छ । सामान खरिदका लागि होम सप्लाईजको वेभसाइट, भाइबर तथा ह्वाट्सएपमार्फत अर्डर गर्न सकिनेछ ।

लकडाउनका समयमा ग्राहकहरुलाई कुनै अप्ठेरो झेल्न नपरोस् भनेर मेगा बैंकले यसअघि पनि औषधी र खाद्यान्नका लागि बिभिन्न सेवा प्रदायकसँग सम्झौता गरिसकेको छ । मेगा बैंकका ग्राहकहरुले फुडमाण्डू र किरानाबाट खाद्यान्न तथा घरायसी सामान प्राप्त गर्न सक्नेछन् भने केन फार्मेसीबाट औषधि तथा इजी केयरमार्फत औषधि र स्वास्थ्य सेवा घरमै बसेर प्राप्त गर्न सक्नेछन् । अन्य कम्पनीसँग पनि सम्झौता गरेर ग्राहकहरुलाई सहज तथा सुरक्षित रुपमा घरमै बसी डिजिटल तथा स्मार्ट मोबाइल बैंकिङबाट सामान खरिदको व्यवस्था मिलाइने मेगा बैंकले जनाएको छ ।

६० अर्बको पुनरकर्जा कोष १ खर्बको बनाइयो

सरकारले पुनरकर्जाको १ खर्ब रुपैयाँ पुर्याएको छ । कोरोना प्रभावका कारण राहत प्याकेज अन्तर्गत ४० अर्ब रुपैयाँ थप गरी पुनरकर्जा १ खर्ब रुपैयाँ पुर्याइएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले पुनरकर्जा कोषको आधार एक खर्ब रुपैयाँको बनाएको बताए । सरकारका प्रबक्ता समेत रहेका उनले कोरोना प्रभावित व्यवसायीलाई सहुलियत ब्याजदरमा ऋण दिनका लागि पुनकर्जाको कोष बढाएको बताए । बैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सुनाउने क्रममा विहीबार मन्त्री खतिवडाले ६० अर्बको पुनरकर्जा कोषलाई १ खर्बको बनाउने निर्णय गरिएको बताए । सरकाको निर्णयअनुसार राष्ट्र बैंकले काम अघि बढाउने बताइएको छ ।

बैंकहरुले निक्षेपमा घटाएको नयाँ व्यणजदर
वाणिज्य बैंकहरुले धमाधम निक्षेपको व्याजदर घटाइरहेका छन् । बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दतिको ब्याज दर एक प्रतिशतले झारेर बढीमा ८.७५ प्रतिशत कायम गरेका छन् । यसअघि बैंकहरुले ९.७५ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए । त्यसैगरी बचत खातामा बढीमा ५.५ प्रतिशत व्याजदर दिने भएका छन् । यसअघि ६.५ प्रतिशत व्याज दिँदै आएका थिए ।

विकास बैंकहरुले पनि निक्षेपमा व्याजदर घटाएका छन् । विकास बैंकहरुले व्यक्तिगत मुद्धतिमा नौ प्रतिशत र संस्थागत मुद्धतिमा आठ प्रतिशत व्याज दिने सहमित गरेर अगाडि बढेका छन् । त्यस्तै, बचतमा छ प्रतिशत व्याज दिने विकास बैंकहरुको सहमति रहेको छ ।

फाइनान्स कम्पनीहरुले पनि व्याजदर घटाका छन् । फाइनान्स कम्पनीहरुले एक वर्षसम्मको निक्षेपमा ९.५ प्रतिशत, दुई वर्षभन्दा बढीको ९.७५ प्रतिशत र बचतमा ६.५ देखि ७.२५ प्रतिशत व्याज दिने निर्णय गरेका छन् । निक्षेपको ब्याजसँगै आधार दर पनि घट्ने भएकाले सोही अनुसार ऋणको ब्याज पनि घट्ने अपेक्षा छ ।

अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद्

करिव दुई हप्तादेखि पार्टीभित्रको विवादले चरमोत्कर्ष रुप लिएपछि नेकपा अध्यक्ष र प्रधानमन्त्री पद नै धरापमा पर्ने गरि देखिएको गुटगत ध्रुबिकरण देखिएकोले खेमाको गठजोडमा लागेका  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बोलेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैँ अघि सरेर समस्याको सामना गर्न सक्ने श्रमजीवी वर्ग नै भएको उल्लेख गरेको छ ।

आज नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोना महामारीविरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयास गरिनु दुःखद् कुरा हो ।”

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “आप्mना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।”

कोरोना भाइरसको महामारीविरुद्ध अग्रपङ्क्तिमा रहेर जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइलगायतका सेवामा क्रियाशील श्रमजीवीहरु यसका उदाहरण भएको उल्लेख गर्दै उनले ‘काम, मनोरञ्जन र आराम’ बीच सन्तुलन कायम गर्न माग स्थापित श्रमिक दिवसमा श्रमिकको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनका लागि भएका सबै आन्दोलनको स्मरण गरिँदै आएको उल्लेख गरेको छ । उनले भनेका छन्, “श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रमबिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ  ।”

कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेको उल्लेख गर्दै उनले यसबाट सिर्जना भएको पीडाप्रति आफू जानकार तथा संवेदनशील रहेको जनाएको छ ।

विगत दुई वर्षयता श्रमिकको न्यूनतम पारिश्रमिक, इतिहासमै उच्च अर्थात् ३९ प्रतिशतले वृद्धि भएको, आर्थिक वृद्धि दोहोरो अङ्कको लक्ष्य हासिल गर्नेतर्फ लम्किएको, श्रम क्षेत्रमा बजेट दोब्बर गरिएको, दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रम सञ्चालित हुँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २२ लाख श्रम दिन बराबरको रोजगारी सिर्जना आदि उपलब्धिको चर्चा सन्देशमा गगरेका छन् ।

कोरोना महामारीविरुद्धकोे अग्रमोर्चामा रहेका सबैका लागि रु २५ लाख रकम बराबरको बीमा गरिएको, व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थाका साथै उनीहरुको भत्तामा शतप्रतिशतसम्म थप गरिएको र लकडाउनको अवधिको पारिश्रमिक कायम गर्न र महिला स्वास्थ्य स्वयंसेवीलाई एकमुष्ट रु एक हजार ५०० थप भत्ताको व्यवस्था गरिएको पनि उनले दोहो¥याउन भ्याएका छन् ।

सन्देशमा  दैनिक गर्ने कामबाट जीवन धानिरहेकाहरुलाई भोकै पर्न नदिन नेपालमा ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारको नीतिअन्तर्गत स्थानीय तह, प्रदेश तथा केन्द्रीय प्रशासनको संयोजनमा राहतको व्यवस्था गरिएको उल्लेख छ । उनले भने  “तर घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।”

उनले अबका हाम्रा सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने जनाउँदै भूकम्पपछिको यस दशकलाई हामीले पुनःनिर्माणको दशक भनेझैँ, अबको हाम्रो पहिलो लक्ष्य कोरोनाबाट हाम्रो समाजलाई मुक्त बनाउनु हुने स्पष्ट पार्नुभएको छ । स्वस्थ नागरिक निर्माण गर्न स्वास्थ्य बीमासहितको जनस्वास्थ्य र सीपयुक्त नागरिक निर्माणका लागि शिक्षामा लगानी वृद्धि गर्दै ‘आजको लागि स्वास्थ्य, भोलिका लागि शिक्षा’ अबको हाम्रो दिशा हुने जनाएको छ ।

नेपालको राजनीतिक आन्दोलनले ट्रेड युनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको तर नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको छ  भन्दै उनले अप्ठ्यारोमा नहड्बडाउने, अनिकालमा मिलेर बीउ जोगाउने, सहकालमा भएका नाफाको न्यायोचित वितरणमा सामाजिक संवाद गर्ने, अनि विविधताबीच एकता कायम गरी अघि बढ्ने कुराहरु आन्दोलनको सिकाइ भएको उल्लेख गरे । सन्देशमा भनिएको छ, “कमीकमजोरी भए सच्याउनुपर्छ तर अराजक होइन, अनुशासित हुनुपर्छ ।”

करछुट तथा सुविधा स्वीकृत गर्दै कर तिर्ने अवधि थप

सरकारले कर तिर्ने अवधि थप गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड १९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत, करछुट तथा सुविधा स्वीकृत गर्दै कर तिर्ने अवधि थप गरेको हो ।

जस अनुसार ७६ साल फागुन र चैत्रको मासिक , ७६ साल माघ-फागुनको द्वीमासिक र दोस्रो चौमासिकको भ्याटको विवरण र भ्याट तिर्ने अवधि ७७ साल जेठ २५ गतेसम्म कायम भएको छ । त्यस्तै भ्याट फिर्ताको लागि निवेदन दिन पाउने अवधि पनि ७७ साल जेठ २५ गतेसम्म कायम भएको छ । फागुन र चैत्र महिनाको बुझाउने पर्ने अन्तशुल्कको विवरण र सो विवरण बमोजिमको कर तिर्ने समय पनि ७७ साल जेठ २५ गतेसम्म कायम भएको छ ।

त्यस्तै आयकर अन्तर्गत ७६ साल फागुन र चैत्र महिनाको बुझाउनु पर्ने अग्रिम कर कट्टी, अग्रिम कर कट्टीको विवरण बुझाउनु पर्ने म्याद र सो विवरण अनुसारको कर तिर्ने अवधि पनि ७७ साल जेठ २५ गतेसम्म कायम भएको छ । आयकर अन्तर्गत नै २०७६ चैत्र महिनामा बुझाउने पर्ने आव ७६/७७ को अनुमानित कर विरण र दोस्रो किस्ता वापतको रकम दाखिला गर्ने म्याद ७७ साल जेठ मसान्तसम्म कायम भएको छ ।

निर्जिवन बीमा कम्पनीहरुले नौ महिनामा आर्जन गरे १९ अर्ब बीमाशुल्क

१९ वटा निर्जिवन बीमा कम्पनीहरुले चैत महिनाको अन्त्य सम्ममा १९ अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीे समितिले तथ्याङ्कमा समावेश गरेको छैन । सो तथ्याङ्क समेत गर्दा करिब २० अर्ब पुग्ने अनुमान छ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा दुई अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा एक अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा एक अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ५० करोड रुपैयाँ, एनलजी इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्स एक अर्ब ३० करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले एक अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा आइएमई जनरल इन्स्योरेन्सले ९९ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ८७ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ४२ करोड रुपैयाँ, हिमालयन जनरलले ८६ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ८६ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ८३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, ओरियन्टल इन्स्योरेन्स कम्पनीले ७९ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६१ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ७४ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ६१ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ५६ करोड रुपैयाँ, र सानिमा जनरल इन्स्योरेन्सले २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

चैत्र मसान्तसम्म १९ जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ६३ अर्बमाथि

हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७६।०७७ को चैत मसान्तसम्ममा कुल बीमाशुल्क आर्जन ६३ अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले बीमा समितिलाई बुझाएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ९ महिनामा सो रकम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

आर्थिक बर्ष २०७६।०७७ को चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क मार्फत २१ अर्ब २२ करोड रुपैयाँ, नविकरण बीमाशुल्क आर्जनबाट ४१ अर्ब ३ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्क आर्जनबाट १ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । सबै रकम गरेर ६३ अर्ब पुगेको हो ।

बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुमध्ये तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा १८ अर्ब ७0 करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेका छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा १० अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा ६ अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । चौथोमा नेशनल लाइफ इन्स्योरेन्सले ५ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नयाँमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नयाँ कम्पनी भएपनि पूराना कम्पनीहरुलाई उछिन्दै कम्पनीले चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब १९ करोड रुपैयाँको बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी, एशियन लाइफले ३ अर्ब १० करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब २१ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ७५ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ४० करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ३७ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब २७ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब २५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

ज्योति लाइफले १ अर्ब १४ करोड रुपैयाँ, आइएमई लाइफले ८८ करोड रुपैयाँ सन नेपाल लाइफले ८५ करोड रुपैयाँ, रिलायन्स लाइफले ७३ करोड रुपैयाँ, प्रभु लाइफले ५७ करोड रुपैयाँ, सानिमा लाइफले ५७ करोड रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।