जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह

सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै सरकारले ‘लकडाउन’ को घोषणा गरेको भए पनि औषधि र स्वास्थ्य उपकरण वा सामग्री, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरेको हो ।

ती उद्योग सञ्चालन गर्दा सङ्क्रमणको जोखिमलाई मध्यनजर राखी कर्मचारी र कामदारका लागि स्यानीटाइजर, मास्क लगाउने, भीडभाड नगर्ने, २५ जनाभन्दा बढी एक स्थानमा नरहने, कोही शङ्कास्पद बिरामी देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । त्यस्ता उद्योगले उत्पादित सामग्री नियमित रुपमा बजारमा पठाउने प्रबन्ध मिलाउन तथा उत्पादन नियमित तुल्याउन आवश्यक कच्चा पदार्थको अधिकतम मौज्दातको व्यवस्था गर्न आह्वान गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रालयले औषधि र स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक सरकारी र निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग तथा कलकारखानामा काम गर्ने श्रमिक, कार्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

अत्यावश्यक वस्तुको उत्पादन गर्ने उद्योगलाई नियमित पूर्ण क्षमतामा उत्पादन थाल्न निजी क्षेत्रको छाता संगठनलाई आह्वान गरिएको मन्त्रालयले जनाएको छ । अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको सञ्चालनमा कुनै बाधा अवरोध उत्पन्न भएमा मन्त्रालयमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ ।

काँग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् ।

सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा काँग्रेसका संघीय सांसदले उक्त रकम दिने निर्णय भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक भएको उल्लेख गर्दै काँग्रेस संसदीय दलले सो निर्णयलाई पूर्ण रुपले पालन गर्न सबैलाई आग्रह गरेको छ ।

लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा श्रमिकलाई सहजरुपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि सकारसँग आग्रह गर्दै काँग्रेस ससंदीय दलले वर्तमान विषम परिस्थितिमा सम्पूर्ण नेपाली एक जुट भई धैर्यसाथ चुनौतीको सामना गर्न अपिल समेत गरेको छ ।

पोखरामा लक डाउनको प्रभाव

सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । सरकारले आज बिहान ६.०० बजेदेखि यही चैत १८ गते साँझ ६.०० बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको हो ।

यसअघि पोखराका विभिन्न स्थानबाट प्रातःभ्रमणका लागि घरबाट निस्कनेहरूका कारण चहलपहल हुने गरेको यहाँका सडक तथा स्थान आज भने सुनसान बनेका छन् । प्रातःभ्रमणमा फाट्टफुट्ट निस्कनेहरूलाई सुरक्षाकर्मीले सम्झाएर घरमा नै सुरक्षित भई बस्न आग्रह गर्दै फर्काउने गरेको कास्की प्रहरीका प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयो । सुरक्षित रही समाचार सम्प्रेषण गर्न आग्रह नेपाल पत्रकार महासङ्घ कास्कीले सुरक्षित रही सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेको छ ।

शाखाका तर्फबाट सञ्चारकर्मी एवम् सञ्चारगृहका लागि अपिल जारी गर्दै अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार कोरोना सङ्क्रमणविरुद्ध अग्रपङ्क्तिका योद्धा भएको उल्लेख गर्दै समाचार सम्प्रेषण गर्दा यसका लक्षण, सर्ने माध्यम एवम् बच्ने उपायबारे सही कुरा बुझेर जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्नुभएको छ । सर्वसाधारण मानिसले बुझ्ने भाषामा सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने र अधुरो जानकारीले त्रास र सङ्क्रमितप्रति विभेद बढाउने उल्लेख गर्दै अपिलमा आधिकारिक स्रोत र विषयविज्ञबाट मात्र सूचना लिन आग्रह गरिएको छ ।

कसैलाई पनि कोरोना भाइरसको शङ्का भएकै आधारमा र अस्पतालमा भर्ना भएकै भरमा कोरोना सङ्क्रमित वा कोरोना शङ्कास्पद जस्ता शब्द प्रयोग नगर्न र सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा असर नपुग्ने गरी समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ । सङ्क्रमणबाट बच्नका लागि गर्नुपर्ने प्रभावकारी रोकथामका उपायका बारेमा सूचना सम्प्रेषण गर्न र शीघ्र स्वास्थ्य जाँच र उपचारले हुने फाइदाका बारेमा समाचार प्रकाशन प्रसारण गर्न महासङ्घले भनेको छ ।

कार्यालय एवम् समाचार सङ्कलनस्थलमा जाँदा रोकथामका आधारभूत उपाय अपनाउन आग्रह गर्दै महासङ्घले सकेसम्म इमेलमार्फत रिपोर्ट फाइल गर्ने, अत्यावश्यकबाहेकका भेटघाट नगर्ने, प्रत्यक्ष भेटघाट हुने पत्रकार सम्मेलन जस्ता कार्यक्रमका सट्टामा प्रेस विज्ञप्ति र सामाजिक सञ्जालको प्रयोग गरी प्रत्यक्ष प्रसारण तथा भिडियो कन्फरेन्स जस्ता वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ ।

महासङ्घले सञ्चारगृहलाई सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाउन, समाचार र समाचारमूलक कार्यक्रमबाहेकका मनोरञ्जनात्मक÷साङ्गीतिक कार्यक्रम सकेसम्म कटौती गरी पत्रकार –कर्मचारीलाई बिदा दिन, पत्रपत्रिकाका हकमा पनि प्रत्यक्ष वितरणको सट्टा वैकल्पिक उपाय खोज्न र अनलाइन माध्यमबाट सूचना अद्यावधिक गर्न आग्रह गरेको छ ।

सञ्चारगृहकाम कार्यालय एवम् समाचार कक्षमा स्प्रे गरी ‘डिस्इन्फेक्स’ गर्दै सेनिटाइजर अनिवार्य प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । महासङ्घले सञ्चारकर्मीको पारिश्रमिक तथा सेवासुविधा नियमित रूपमा उपलब्ध गराउन तथा पत्रकार –कर्मचारीको सुरक्षालाई प्राथमिकता दिन सञ्चारगृहसँग आग्रह गरेको छ । —

बैंकिङ सुविधा सुचारु गर्न एउटा बैंकलाई एउटा पास

सरकारले सात दिनसम्म लकडाउन गरेको हुँदा बैंकका सम्पूर्ण काउन्टर बन्द हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।

नेपाल बैंकर एसोसिएसनको समन्वयमा कुन बैंकका कुन कर्मचारीलाई पास दिइने भन्ने तय हुने भएकाले जम्मा एउटा पास दिइने भट्टले जानकारी दिए। आइतबार एसोसिएसनले विद्युतीय कारोबार निःशुल्क बनाउने निर्णय गरेको थियो।

काउन्टर बन्द भए पनि एटिएममा पैसा राख्ने, विद्युतीय कारोबारका लागि प्रणाली अपडेट गर्नु पर्ने भएकाले कर्मचारीहरु कार्यालयसम्म जानु पर्ने हुन्छ। यसका लागि पनि हरेक बैंकका केही कर्मचारीलाई पासको व्यवस्था गरिने भएको हो।

उपत्यका बाहिरको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर आवश्यक काम गरिने तयारी गरिएको छ। तर अहिले नै उपत्यकाबाहिर के–कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय भैसकेको छैन।

बैंकहरुले मुख्य–मुख्य ठाउका केही काउन्टर आकस्मिक सेवाका लागि खुला गर्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए। बैंकहरुको एटिएममा पैसा राख्नका लागि र विद्युतीय कारोबार सुचारु गर्नका लागि केही कर्मचारीहरुलाई पास दिने कुरा भएको उनले जानकारी दिए।

सरकारले अत्यावश्यक सामग्रीका लागि रोक नलगाएको हुँदा केही बैंकका काउन्टर खुला गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल भैरहेको हिमालयन बैकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए।

‘असहज अवस्था छ। त्यसैले हामी काठमाडौंमा २/३ वटा शाखा निष्चित समयका लागि खोल्छौं’ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘जिल्लामा पनि निष्चित शाखा खुला हुने छन्। एटीएम भने सँधै चलिरहने छ।’

यता माछापुच्छ्रे बैंकले भने एटीएम मात्र खुला राख्ने भएको छ। एटीएमलाई ‘मोनिटर’ गर्न एउटा टिम खटिएको छ.। ‘सिस्टमबाटै कुन बुथमा पैसा अभाव छ भन्ने थाहा भइहाल्छ’ बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने, ‘अभाव भएको ठाउँमा हाम्रो मोवाइल टिमले पैसा राख्छ।’

सबैभन्दा बढि शाखा सञ्जाल भएको एनआइसी एसिया बैंकले पनि निष्चित शाखाहरु मात्र खोल्ने भएको छ। बैंकले काठमाडौैैंभित्र ८/१० वटासम्म शाखा खोल्ने प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए। काठमाडौंसहित देशभर ३५ वटा जति शाखा खोल्ने बैंकको योजना छ।

‘हामी स्थानीय प्रशासनसँग कुराकानी गरिरहेका छौं’ उनले भने, ‘सेवा रोक्न गाह्रो होला। त्यही भएर सबै होइन केही शाखा खोल्ने निष्कर्षमा पुगेका हौं।’

सबै शाखा खोल्न गाह्रो हुने भएपछि बैंकहरुले आफ्ना सबै एटीएममा पैसा भरेका छन्।

लकडाउन र बैंकिङ्ग

मनोज ज्ञवाली । हिजो नेपाल सरकारले अत्यन्त सुझबुझका साथ चैत्र 18 गतेसम्मका लागी lockdown गर्ने ब्यबस्था गर्यो। यो ब्यबस्था संक्रामक रोग ऐन, 2020 को दफा 2 बमोजिम गरिएको हो। ऐन बनेको 56 बर्षमा पहिलो पटक यो ब्यबस्था प्रयोग गर्नुपर्ने स्थीती किन आयो भनेर मनन गर्नु पर्ने देखिन्छ। सरकारको पहिलेको निर्णयमा आवश्यक सेवा संचालनमा राख्ने गरी आएको थियो भने अहिले केहि सेवाहरु तोकेर निर्णय गरिएको छ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामानहरु ओसार पसार गर्ने यातायात सेवा पनी आवश्यक सेवामा पर्दछन तर बन्द गरिएको छ। बैकिङ भन्दा अती आबश्यक सेवा पनी यसरी बन्द गरिएको संक्रामक रोग ऐन 2020 अन्तर्गत हो तर बैकिङ खोल्ने नखोल्ने भनेर हिजोबाट यति धेरै  confusion भएको अबश्था छ।

यस सन्दर्भमा संक्रामक रोग ऐन, २०२० को दफा  मा विशेष व्यवस्था गर्ने अधिकार को उपदफा 3 मा निम्न कुरा उल्लेख छ।

” सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लगिने वा ल्याइने सफरगर्ने यात्रुको जांचबुझ गर्न र त्यस्ता पशु, पंक्षी वा यात्रुलाई कुनै संक्रामक रोग लागेकोछ भन्ने शङ्का लागेमा जांचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो यात्रुलाई अस्पताल तथा अन्य स्थानहरूमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान वा  सफर गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नको लागि आवश्यक आदेशहरू जारी गर्न सक्नेछ ।”

आवश्यक सेवा सञ्चालन ऐन, 2014 को दफा 7 मा अरु नेपाल कानूनसँग बाझिएमा गर्ने सम्बन्धमा यस्तो ब्यबस्था छ:
“प्रचलित नेपाल कानूनमा जे सुकै लेखिएको भए तापनि यो ऐन र यस ऐन अन्तर्गत निकालिएको आदेशमा लेखिएकोमा सोही बमोजिम रअरुमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।”

यति प्रष्ट ब्यबस्था र सरकारी निर्णय हुदाहुदै पनी COVID -19 सर्ने धेरै सम्भावना भएको नगद समात्न र दिन बैकका कर्मचारी पैदल भएपनी पठाउनु पर्ने जस्तो देखिनु  र कर्मचारीहरुमा त्रास र अन्यौलको स्थीती सृजना हुनु  राम्रो देखिदैन।

बैक खोले पनी हिजो भएको सरकारी निर्णयमा ‘पैसा निकाल्न र जम्मा गर्न आवत जावत गर्न पाईने’ उल्रेख छैन मतलब उक्त प्रयोजनको लागी बैंक ग्राहक पुग्ने स्थीती छैन भने किन बैंकको शाखाहरु कर्मचारीको त्रास र भाईरसको जोखिम सहित खोल्नु पर्ने भो र?  भुक्तानी सेवा महत्वपुर्ण छ तर त्यसकोलागी बैकल्पीक उपायहरु धेरै दिईसकिएको छ। ATM मा withdrawl limit बढाईसकिएको छ भने राष्ट्र बैकले पनी digital payment को सिमा बढाएर निर्दैशन जारी गरिसकेको छ। आपदविपदमा उधारो मै लिएर पनी सामान किन्न सक्ने स्थीती हुन्छ भने सबै अस्पतालहरुमा     debit card र credit card मार्फत भुक्तानी हुन्छ नै। चेकको भुक्तानी पनी राष्ट्र बैकले गरेको व्यबस्था पश्चात विश्वसनीय भैसकेको छ। जम्मा गर्नुपर्ने पैसा 6-7 दिन घरमा राख्दा आपद नै पर्दैन यसैले COVID-19 को सम्भावित जोखिम र हाम्रो सेवा सुचारु सम्बन्धी व्यबस्थामा छलफल गरी निर्णय गर्नुपर्छ; यदि गर्ने परेमा। हालको निर्णय अनुसार स्वास्थ र खाधान्न को प्रयोजन बाहेक नागरिक हरु बाहिर निस्किन मिल्दैन। यदि  बैंक खोल्नु नै पर्ने भएमा तत्सम्बन्धमा ब्यबस्था गरेर  राष्ट्र बैंकको विवेकी र प्रष्ट निर्दैशन जरुरी देखिन्छ।

समयमै सचेत होउं, पछि पछुताएर केहि हुने छैन। सरकारको निर्णय स्वागत योग्य छ, सबै नागरिकले पालन गरौं।
जय पशुपतिनाथ!! लेखक ज्योति विकास बैंकका सीइओ हुनुहन्छ ।

कोरोना भाइरस (कोभिड–१९) बाट बुढानिलकण्ठ नगरवासीलाई सुरक्षित राख्न र्यापिड रेस्पोन्स टिम

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नगरवासीलाई सुरक्षित राख्नका लागि ढिलै भएपनी बुढानिलकण्ठ नगरपालिकाले तयारी तीव्र पारेको छ।बजारमा मास्क्, दैनिक उपभोग्गय बस्तुमा कालो बजारी हुँदा समेत बूढानिलकण्ठ नगरपालिकाले उचित कदम चाल्न सकेको थिएन । ढिलै भएपनी नगरपालिकाले चालेको यस कदमले नगरवासीलाई केहि राहत भने मिल्नेछ ।

कोरोना भाइरस कोविड १९ संक्रमण हुन नदिने बिषय संवेदनशिल बिषय होपुर्व तयारी बिना बस्नु भनेको जोखिमको बिन्दु उच्च अंकमा पुर्याउनु हो तसर्थ नगरवासीको हितको लागी र  यस महामारीबाट नगरवासीलाई सुरक्षित राख्नका लागि नगरपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताउदै नगर प्रमुख उद्धव  खरेलले त्यसका लागि सबै पक्षको सहकार्य र सहभागितामा आवस्यक तयारी र काम अगाडी बढाएको बताएका छन ।

आफ्नो नगरपालिकाम वसोवास गर्दै आएका नगरवासीले यस्तो समयमा कुनै पनि किसिमको समस्या भोग्न नपरोस भनेर सबै किसमका संयन्त्र परिचालन गर्ने योजना बनाएको र त्यसको लागि काम समेत थालनी गरेको जानकारी दिदै नगर प्रमुख खरेलले यसलाई मध्य नजर गरेर कार्यपालिका र सर्वदलीय बैठक समेत आयोजना गरेर योजना कार्यन्वयनमा लगेको बताए।

यसैको तयारीका लागि र आम जनतामा यस भाइरसका वारेमा  आवस्यक सचेतना अपनाउन पर्चा वितरणको काम गरिसकेको जानकारी दिदै प्रमुख खरेलले यस विचमा नगरपालिकामा संचालनमा रहेका अस्पताल र स्वास्थ्य सेवा प्रदायक संस्थाको भेला सम्पन्न गरेर परेको समयमा परिचालन गर्नेगरी तयारी अवस्थामा राखेको बताए ।

त्यस्तै नगरपालिकामा आउने विपत्तिको सामना गर्न आवस्यक तयारी गर्नका लागि विपद व्यवस्थापन समितिको बैठक र र्यापिड रेस्पोन्स टिमको बैठक सम्पन्न गरेर योजना निर्माण गरेको जानकारी दिदै नगर प्रमुख खरेलले  ज्वरो मापन यन्त्र र कोरोना परिक्षण विशेष  पोशाक १० वटा अर्डर गरेको बताए ।

त्यस्तै नगर प्रमुख खरेलले यस्तो जटिल परिस्थितिमा कसैले पनि कालो बजारी गरेको थाहा पाएका कारवाही गर्न र त्यसको सम्बन्धित निकायमा  उजुरी गर्नका लागि जनप्रतिनिधि ,नगर प्रहरी र संचारकर्मी सम्मिलित टिम परिचालन गर्ने तयारी थालेको बताउदै त्यस्तो अवान्छित गतिविधि देखिए नगरपालिकामा खवर गर्न नगरवासी संग अनुरोध समेत गरेका छन  ।

नगरपालिकामा कुनै शंकास्पद घटना वा विरामी देखिए आइसोलेसनमा राखेर उपचार गर्नका लागि विभिन्न अस्पताल र स्थानको तयारी गरिएको बताउदै नगरप्रमुख खरेलले नगरपालिकाका कर्मचारीलाई पनि पूर्ण रुपमा परिचालन गर्ने योजना बनाएको जानकारी दिएका छन ।

लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले लागू गरेको लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका  १० जना चितवनबाट प्रहरीले पक्राउ गरेको छ ।

ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

काठमाडौँ उपत्यका सुनसान

विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो । सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।

‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यकाका सडकमा एकदमै कम मात्रामा सवारी साधन चलेको बताउनुभयो । “लकडाउन गरेसँगै अत्यावश्यक र पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन चलेका छैनन् ”, उहाँले भन्नुभयो । सरकारले अत्यावश्यक कामबाहेक अन्य व्यक्ति घरबाट निस्कन निषेध गरेसँगै बाहिर हिँड्ने मानिसको सङ्ख्यामा नगण्य छ । लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला नियुक्त

माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले हालसम्म बैंकको कामु सिइओको जिम्मेवारीमा रहेका सन्तोष कोइरालालाई सिइओ बनाउने निर्णय गरेको हो ।

‘नवनियुक्त सीइओ सन्तोष कोइरालाले आर्थिक बजार न्यूजडटकमसंग टेलिफोनमा भनेः मलाई प्रमुख कार्यकारी अधिकृत बनाउने बैंक सञ्चालक समिलिते निर्णय गरेको छ । तर, यो निर्णय आउदो बैशाख १ गतेबाट मात्र लागु हुन्छ । मैले नयाँ बर्षको सरुवातबाट ४ वर्षका लागि माछापुच्छ्रे बैंकको कार्याभार सम्हाल्ने भएको छु । कोइराला विगत १७ वर्षदेखि बैंकिङ क्षेत्रमा छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्म्को अध्ययन गरेका छन् ।

अहिलेको तत्कालीन अवस्थाका बारेमा नवनियुक्त सीइओ सन्तोष कोइरालासंग प्रक्रिया बुझ्दा उनी भनेः अहिलेको अवस्था आपतकालिन अवस्था हो । यो समयमा हामिले राष्ट्र बैंक भन्दा पनि सरकारको आदेश पालना गर्नुपर्ने हुन्छ । सरकारले आम जनताहरुको अवस्थालाई बुझि बैंक खोल्न निर्देशन दिएको अवस्थामा हामी बैंक खोल्न मञ्जुर छौं । तरपनि हाम्रो बैंकका काउण्टहरु बन्द रहेपनि बैंकको एटिएम मेसिनहरु र अनलाईन बैंकिङ्ग सेवाहरु त बन्द गरेका छैनौं । विश्व नै आतिएको यस्तो अवस्थामा हामीले सरकारलाई सहयोग गर्नु पर्छ ।

कोभिड–१९ विरोधी लडाईंमा भाटभटेनी समूहबाट एक करोड सहयोग

मुलुकको प्रतिष्ठित व्यापारिक घराना भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमार्फत उक्त रकम खर्च गर्ने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताउनुभएको छ । ‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ,’ गुरुङले सोमबार साँझ भन्नुभयो, ‘हामी उक्त रकमको चेक तत्काल कोषलाई उपलब्ध गराउनेछौं, कोषले आवश्यकता अनुसार परिचालन गर्नेछ ।’

विपत्को घडीमा समूहले थप सहयोगको विषयमा पनि सोच बनाएको उहाँले बताउनुभयो । ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं । यसपालि पनि त्यसका लागि तयार छौं,’ उहाँले भन्नुभयो ।

विश्वव्यापी महामारी कोभिड–१९ को दोस्रो बिरामी नेपालमा समेत देखिइसकेको सन्दर्भमा यसको थप संक्रमण रोक्न र संक्रमितको उपचारमा सहयोग पु¥याउन समूहले उक्त रकम उपलब्ध गराउन लागेको गुरुङको भनाइ छ ।

भाटभटेनी समूहले विपत्को अवस्थामा यस किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ । विगतमा मुलुक भूकम्प, बाढी–पहिरो जस्ता दैवी विपत्तिको चपेटामा परेको बेला पनि सहयोग गर्दै आएको छ । यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई मेडिकल साइन्स अध्ययनका लागि छात्रवृत्ति समेत उलब्ध गराउँदै आएको छ ।

भोलिदेखि एकसाता घर बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

यस्तै सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन ।

निर्णयहरु

१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।

२. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा -२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।

८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।

पत्रपत्रिका यही चैत २१ गते सम्मका लागि बन्द

जिल्लामा सञ्चालनमा रहेका छापा माध्यम यही चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ । कोभिड–१९ को त्रासका कारण जिल्लामा समाचार सङ्कलन गर्न नियमित काममा खटिन र खटाउन नसक्ने अवस्था आएका कारण छापामाध्यम बन्द गरिएको जिल्लाबाट सञ्चालित १५ पत्रिकाले आज एक विज्ञप्ति जारी गरेका छन् ।

पत्रपत्रिकाका माध्यमबाटसमेत कोभिड–१९ सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने खतरा भएका कारण छापा माध्यम बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “पत्रपत्रिका बन्दका कारण निरन्तर सूचना पाउने पाठकको हक कुण्ठित हुन नदिन अनलाइन संस्करण निरन्तर गरिने छ ।”