सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउने औपचारिक सम्झौता गरेको छ।
प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारमा योगदान गर्ने उद्देश्यले गरिएको यो सहकार्यले देशभरका समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कम्पनीका अनुसार, “‘वान मिलियन ट्रीज क्याम्पेन’ ले देशभर हरियाली विस्तारमा दीर्घकालीन टेवा पुर्याउने छ। एक मिलियन रूख लगाउने लक्ष्य नै आफैँमा वातावरणीय सन्तुलन, कार्बन उत्सर्जन न्यूनीकरण र तापक्रम नियन्त्रणतर्फको महत्वपूर्ण कदम हो। यसले भविष्यका पुस्तालाई सुरक्षित वातावरण दिई दिगो जलवायु व्यवस्थापनमा ठूलो योगदान पुर्याउने अपेक्षा छ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देश भरि बाट १४८ वटा शाखा तथा उप शाखा बाट सेवा सुविधा दिदै आइरहेको छ।
एनपीएलको फ्रेन्चाइज टिम विराटनगर किङ्ग्सको प्रायोजकमा एभरेस्ट बैंक
नेपाल प्रिमियर लिग क्रिकेटको फ्रेन्चाइज टिम विराटनगर किङ्ग्सको प्रायोजकका रूपमा एभरेस्ट बैंक भित्रिएको छ। विराटनगरका ४ कर्पोरेट औद्योगिक घराना एमएम ग्रुप, अरिहन्त ग्रुप, देवेनरा ग्रुप र जयश्री ग्रुपको संयुक्त लगानीमा रहेको विराटनगर किङ्ग्समा एभरेस्ट बैंक प्रायोजकका रूपमा आएको हो। विराटनगर किंग्स र एभरेस्ट बैंकले आइतबार साँझ आयोजित समारोहमा प्रायोजनको सम्झौतामा हस्ताक्षर गरे।
सम्झौतापत्रमा विराटनगर किंग्सका तर्फबाट देवनरा ग्रुपका वेंकटेश मुन्दडा र एभरेस्ट बैंकका क्षेत्रीय प्रबन्धक सुधीर गौतमले हस्ताक्षर गरे। समारोहमा विराटनगर किंग्सका सञ्चालक एवम् पूर्व राष्ट्रिय क्रिकेट खेलाडी पारस लुनियाँले एनपिएलले राष्ट्रलाई एकताबद्ध गर्दै मुलुकको प्रतिष्ठा पनि वृद्धि गरिरहेको धारणा प्रकट गरे।
सञ्चालक लुनियाँले भने, ‘एनपिएलका ८ वटा टिममा विदेशबाट ४८ खेलाडी र अम्पायरसमेतको समूह सहभागी हुनुहुन्छ। यसले मुलुकको प्रतिष्ठा र साख उचो भएको प्रमाणित हुन्छ। राजनीतिले देशलाई अप्ठ्यारो पारिरहेका बेला खेलले सबैलाई एक ठाउँमा ल्याइरहेको छ।’
लुनियाँले खेलाडीले जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै हार नमान्ने उल्लेख गर्दै हारेको खेलाडी उठेर फेरि खेलेर जित्छु भन्ने साहसका साथ अघि बढ्ने बताए। उनले विराटनगर किंग्सले गत वर्षको खेलमा छैठौँ स्थान हासिल गरेको र यस पटक विजेता हुने विश्वास व्यक्त गरे।
‘यसका लागि हामी यथेष्ट मेहनत गरेका छौँ। खेलाडीलाई मुम्बईसम्म लगेर अत्याधुनिक प्रशिक्षण गराएका छौँ। कोशी प्रदेशका १४ प्रदेशमै ट्यालेन्ट हन्ट गराएका छौँ। अनि योग्य र उत्कृष्ट खेलाडीको समूह तयार गरेका छौँ’, उनले भने।
लुनियाँले सन् १९८३ मा भारत विश्वकपमा विजयी हुँदा धेरै भारतीयले आफ्ना छोराको नाम कपिलदेव राखेको स्मरण गर्दै हामीले एउटा मात्र सर्वोत्कृष्ट खेलाडी उत्पादन गर्नसक्यौँ भने त्यसले विश्वभरि मुलुकको नाम र प्रतिष्ठा वृद्धि गर्ने चर्चा गरे।
बैंकका क्षेत्रीय प्रबन्धक गौतमले खेलले विकास र अनुशासनको भावनालाई सुदृढ बनाउने उल्लेख गर्दै बैंक कठिन परिस्थितिमा पनि विराटनगर किंग्सको प्रायोजकका रूपमा आएको बताए। प्रबन्धक गौतमले एभरेस्ट बैंक स्थापनाकालदेखि नै कठिनभन्दा कठिन समयमा पनि आफ्नो सामाजिक दायित्वबाट टाढा नगएको जिकिर गरे।
कामना सेवा विकास बैक र होटल सब्रिनाबीच सम्झौता
कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठ स्थित होटल सब्रिनासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरे ।
विदेशी मुद्रा सञ्चिती २९ खर्ब ७९ अर्ब नाघ्याे
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब रूपैयाँ नाघेकाे छ ।
२०८१ असार मसान्तमा रु.२६खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा रु.२९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको राष्ट्र बैंकले जनाएकाे छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १०.५ प्रतिशतले वृद्धि भई रु.२६६७ अर्ब ७० करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई रु.३१२ अर्ब १० करोड कायम भएको छ । २०८२ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२÷८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
रेमिट्यान्समा रेकर्ड ब्रेक : एक महिनामै नेपाल भित्रियो २ खर्ब
नेपाल भित्र्ने रेमिट्यान्स (विप्रेषण आप्रवाह) उच्च दरमा वृद्धि भएको छ । तीन महिनामै साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को असोजसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणले यस्तो देखाएको हो ।
चालु आवको तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल आएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ३४.४ प्रतिशत धेरै हो । गत आवको असोज मसान्तसम्म कुल ४ खर्ब ८ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ मात्रै भित्रिएको थियो । गत आवको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर १९.९ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार असोजमा मात्रै २ खर्ब १ अर्ब २२ करोड बढी रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च हो । मासिक रुपमा यति ठुलो आकारमा रेमिट्यान्स हालसम्म आएको छैन् । गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ मात्रै रेमिट्यान्स आएको थियो ।
विशेषगरि नेपालीहरुको ठुला दुई चाडपर्वका कारण पनि रेमिट्यान्स उल्लेख्य बढेको हो । यो वर्षको दशैं असोज १६ गते थियो । तिहार पनि कात्तिकको पहिलो साता नै परेको थियो । नेपालका दुई ठुला पर्वका कारण पनि रेमिट्यान्स वृद्धि भएको हो ।
गत भदौमा पनि १ खर्ब ७४ अर्ब ६७ करोड र साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको आँकडा छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशत बढेर ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०।६ प्रतिशत बढेको थियो ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या पनि उत्तिकै बढ्दो छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्सको आकार पनि बढ्दै आएको हो ।
तीन महिनामै १ लाख २३ हाजर ४५९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको देखिन्छ । यो संस्थागत र व्यक्तिगत नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या हो । नयाँ श्रम स्वीकृति लिनेको संख्या गत वर्षको तुलनामा ११.५७ प्रतिशत वृद्धि भएको छ । जबकि, गत वर्षको असोज मसान्तसम्म कुल १ लाख १० हजार ६५४ जनाले श्रम स्वीकृति लिएका थिए ।
यता, पुन: श्रम स्वीकृति लिनेको संख्या पनि २८.८९ वृद्धि भई ७७ हजार २५७ पुगेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो संख्या ५९ हजार ९३९ जना रहेको थियो ।
नबिल बैंकले ल्यायो नयाँ मास्टर डेबिट कार्ड
बिल बैंकले मास्टर कार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड जारी गरेको छ । ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले नयाँ मास्टर डेबिट कार्ड जारी गरिएको बैंकले जनाएको छ । काठमाडाैंमा आयोजित कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई स्तरीय सुविधा दिने प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, ‘बैंकले सुरुवातदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेबिट कार्ड जारी गरिएको हो ।’
मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले नयाँ डेबिट कार्ड जारी गरी नबिल बैंकसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा खुसी लागेको बताए ।
नयाँ डेबिट कार्डमार्फत ग्राहकले मास्टरकार्डको विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैंकिङ सेवाको अनुभव लिन पाउने बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ डेबिट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ । जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतीक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ ।
मास्टरकार्डको नयाँ डेबिट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधा पाउनेछन् । जसमा विभिन्न रेष्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुनेछ ।
नबिल बैंक मास्टरकार्डको एक प्रमुख सदस्य हो । नबिल बैंक मास्टर क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बैंक पनि हो । बैंकले मास्टर क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको छ। कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैंकको कुनै पनि शाखा वा एनबैंक एपमार्फत आवेदन दिन सक्ने जनाइएको छ ।
एनएलजी इन्स्योरेन्सको आम्दानी बढ्यो
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जस अनुसार गत आवको तीन महीनामा १३ करोड ५१ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवको सोही अवधिमा १७ करोड ५७ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीमा समेत वृद्धि भएको तथ्यांकले देखाएको छ। गत आवको असोज मसान्तसम्म ३१ करोड १४ लाख ३६ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालू आवको असोज मसान्तसम्म ३९ करोड ४० लाख ८८ हजार रुपैयाँ कुल आम्दानी गर्न सफल भएको छ।
आम्दानीसँगै कम्पनीको कुल खर्चमा पनि वृद्धि भएको देखिएको छ। गत आवको तीन महीनामा कम्पनीले २३ करोड ८४ लाख ५५ हजार रुपैयाँ कुल खर्च गरेकोमा चालू आवको तीन महीनामा भने ५२ करोड २७ लाख १० हजार रुपैयाँ खर्च गरेको छ।
खर्चमा वृद्धि आएसँगै कम्पनी घाटामा पुगेको छ। गत आवको तीन महीनामा ४८ करोड ९० लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालू आवको तीन महीनामा भने १० करोड १० लाख ५२ हजार रुपैयाँ खुद घाटा बेहोरेको छ। कम्पनी घाटामा पुगेसँगै प्रतिशेयर आम्दानी पनि १२.७१ रुपैयाँबाट घटेर १५.७६ रुपैयाँ ऋणात्मक भएको छ। प्रतिशेयर नेटवर्थ भने १६८.७६ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी २ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम २७ करोड १९ लाख १६ हजार रुपैयाँ, स्पेशल रिजर्भमा १ अर्ब ३८ करोड २७ लाख २५ हजार रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ५७ लाख ३९ हजार रुपैयाँ सञ्चिति रहेको छ भने जगेडा कोषमा १५ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
गत वर्षको असोज मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ३८ करोड ६५ लाख ९९ हजार रुपैयाँ रहेकोमा चालू आवको असोज मसान्तसम्म बढेर ४ अर्ब ५० करोड ४ लाख ४३ हजार रुपैयाँ कायम भएको छ।
शिखर इन्स्योरेन्सद्वारा १७ दिनमा २१८ वटा बीमा दावी भुक्तानी
गत असोज २४ गते भएको जेनजी आन्दोलनमा २३ अर्ब हाराहारीको मात्रै बीमा दावी परेकोमा शिखर इन्स्योरेन्स कम्पनीले १७ कार्यदिन भित्रैमा २१८ वटा बीमा दावी भुक्तानी गरेको छ । यस अवधीको महिनादिन भित्रमा कम्पनीले सो दावी भुक्तानी गरेर उत्कृष्ट र अब्बल सावित गर्न सफल भएको हो । दशैं तिहार र कर्फ्युका बीचमा पनि काम गरेर कम्पनीले २१८ वटा बीमा दावी बापत ४२ करोड १० लाख ७४ हजार ३३ रुपैयाँ बीमितहरुलाई दावी भुक्तानी गरेको जनाएको छ ।
कम्पनीले जेनजी आन्दोलनमा पुगेको क्षतिको बीमा दावी भुक्तानीलाई तीव्रता दिँदै आएको छ । शिखर इन्स्योरेन्स कम्पनीमा मात्रै ४३३ वटा बीमा पोलिसी बापत दुई अर्ब ४१ करोड नौ लाख ९८ हजार १५७ रुपैयाँको बीमा दावी परेको छ । कूल बीमा दावी २३ अर्ब २२ करोड मध्ये शिखर इन्स्योरेन्स मात्रै सो दावी परेको हो ।
कम्पनीका अनुसार हालसम्म ४२ वटा बीमा दावी सम्बन्धी फाइल अन्तिम भुक्तानी पश्चात बन्द भइसकेको छ । सो बापत कम्पनीले एक करोड ९२ लाख ७० हजार ३३ रुपैयाँ भुक्तानी गरेको छ । सो संख्यामा सवारी साधनहरु रहेका छन् । त्यस्तै, १७६ वटा बीमा पोलिसी अन्तर्गत परेका बीमा दावी रकम मध्ये एडभान्स बापत ४० करोड १८ लाख चार हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।
शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डेले भने, ‘हामी बीमा गरेपछि दावी भुक्तानी गर्न ढिलाई गर्दै गदैनौं । खोजी खोजी भुक्तानी गरिरहेका छौं ।’ सिईओ पाण्डेका अनुसार कम्पनीले अग्रिम भुक्तानीलाई समेत तीव्रता दिइरहेको छ । उनले भने, ‘हाम्रा सर्भेयरहरु लगातार फिल्डमा खटिइरहनु भएको छ, उहाँहरुको अनुमानित मूल्याङ्कनको ५० प्रतिशतसम्म भुक्तानी दिन मिल्छ, सोही बमोजिम पैसा दिइरहेका छौं ।’ सिईओ पाण्डेले शिखर इन्स्योरेन्सबाट अग्रिम भुक्तानी पाएर कतिपयले क्षतिभएको संरचना पुननिर्माण समेत सुरु गरिसकेका छन् ।
सिईओ पाण्डको अनुसार शिखर इन्स्योरेन्स कम्पनीलाई दावी भुक्तानीका लागि कुनै समस्या छैन । कूल दुई अर्ब ४१ करोड बीमा दावी मध्ये करिब ३७ करोड रुपैयाँ शिखर इन्स्योरेन्सको भागमा पर्ने सम्भावना रहेको र कर समेत कट्टा गर्दा चालु आवमा शिखर इन्स्योरेन्सलाई २२।२३ करोड भन्दा बढि क्षति नहुने बताए । उनले भने, ‘त्यति रकम त हाम्रो छ महिनाको कमाई त हो । हामीलाई कुनै समस्या छैन ।’
कम्पनीमा बागमति प्रदेशमा ३४८ वटा बीमा दावी परेको छ । मधेश प्रदेशमा २४ वटा, लुम्बिनीमा १४ वटा, सुदुरपश्चिममा २६ वटा, कर्णालीमा १२ वटा, कोशीमा ६ वटा गण्डकीमा ३ वटा बीमा दावी परेका छन् ।
दावी मध्ये सबैभन्दा धेरै सम्पत्ति बीमा अन्तर्गत एक अर्ब ७७ करोड, व्यक्तिगत सवारीमा २६ करोड १९ लाख, व्यापारिक सवारी साधनको २० करोड ९६ लाख, मोटरसाइकलमा ६३ लाख ३९ हजार, इन्जिनियरिङ १३ करोड २३ लाख र विविधमा दुई करोड १० लाख रुपैयाँको बीमा दावी परेको छ ।
निजि सवारीमा तीन करोड ६३ लाख, व्यापारिक सवारीमा चार करोड ९९ लाख, मोटरसाइकलमा १३ लाख पाँच हजार, सम्पत्ति बीमामा २८ करोड १९ लाख र इन्जिनियरिङमा तीन करोड २२ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ ।
जेनजी आन्दोलनमा सबैभन्दा बढी क्षति भोगेको भाटभटेनी सुपर मार्केटलाई शिखरले २५ प्रतिशत अग्रिम भुक्तानी गरिसकेको छ भने थप २५ प्रतिशत भुक्तानी गर्ने प्रक्रिया अन्तिम अवस्थामा पुर्याइसकेको जनाएको छ । भाटभटेनीको बीमा दावी शिखर इन्स्योरेन्समा एउटा मात्रै भाटभटेनीमा रहेको आउटलेटको परेको थियो ।
कम्पनीका अनुसार तिहार अघि ४० प्रतिशतसम्म बीमा दावी भुक्तानी गरिसक्ने जनाएको छ । यस अवधीमा दशैं विदा, सार्वजनिक विदा, दशैं पछिको बाढी पहिरो विदा, र घटना लगत्तै जारी कर्फ्यु आदेश समेत गणना गर्दा जम्मा १७ कार्यदिनभित्रमा उक्त दावी भुक्तानी गर्न सफल भएको हो । बीमा दावी भुक्तानीमा शिखर इन्स्योरेन्स कम्पनीले उत्कृष्ट नतिजा प्रदर्शन गर्दै आइरहेको छ । बीमा दावी छरितो हुँदा आम जनमानसमा बीमाप्रति जनविश्वास बृद्धि भई बीमा व्यवसाय विस्तारमा समेत योगदान पुग्ने मानिन्छ ।
सिटिजन लाइफको खुद बीमाशुल्क २८ प्रतिशतको वृद्धि
सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीको कुल बीमशुल्क आर्जन गत बर्षको तुलनामा २७ प्रतिशतले वृद्धि भएर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ , गत बर्षको सोहि कम्पनीले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क गर्न सफल भएको छ ।
पहिलो त्रैमाससम्म्मा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब १२ करोड रुपैयाँ रहेको छ । गत बषको तुलनामा कम्पनीकोे खुद बीमाशुल्क आर्जन १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । गत बर्षको तुलनामा कम्पनीको खुद बीमशुल्क आर्जन २८.७३ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको मुनाफा पहिलो त्रैमाससम्ममा ०.४३ प्रतिशतले वृद्धि भएर १३ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ , गत बर्षको सोहि अवधिमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
कम्पनीको जीवन बीमामा रहेका संचिति गत बर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा २१ अर्ब ५९ करोड रुपैयाँ रकम संचिति रहेको छ ।
गत बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब ६३ करोड रुपैयाँ रकम संचिति रहेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी १०.५२ रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १४८.९३ रुपैयाँ रहेको छ।
—
प्रभु महालक्ष्मीको व्यवसाय र मुनाफा दुबै वृद्धि
प्रभु महालक्ष्मी लाइफको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन १८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ३८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएकोे छ । कम्पनीले १ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा १ अर्ब २० करोडरुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको तुलनामा कम्पनीका बीमाशुल्क आर्जन १९ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा ५० प्रतिशतले वृद्धि भएर कम्पनीले ६ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
जीवन बीमा कोषमा ३५ प्रतिशतले वृद्धि भएर १४ अर्ब ८४ करोडरुपैयाँ रहेको छ।गत बर्षको सोहि अवधिमा जीवन कोषमा १० अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ रहेको छ र प्रतिशेयर नेटवर्थ १ सय १६ रुपैयाँ ५६ पैसा रहेको छ।
भू-उपयोग नियमावलीमा तेस्रो संशोधन : कित्ताकाटमा नयाँ व्यवस्थादेखि ‘भूमि बैंक’ स्थापनासम्मका व्यवस्था
सरकारले भूउपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै भूउपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ जारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको तर्फबाट जारी गरिएको यो नियमावलीले जग्गाको कित्ताकाट, वर्गीकरण र उपयोगमा महत्त्वपूर्ण परिवर्तनहरू गरेको छ ।
विशेषगरी, आवासीय जग्गाको कित्ताकाटको लागि न्यूनतम क्षेत्रफल तोकिनु र स्थानीय तहमा ‘भूमि बैंक’ स्थापनाको अवधारणा ल्याइनुलाई महत्त्वपूर्ण मानिएको छ । यो संशोधन राजपत्रमा प्रकाशित भएसँगै तुरुन्त प्रारम्भ भएको छ ।
कित्ताकाटमा नयाँ नियम
संशोधित नियमावलीले आवासीय वा व्यावसायिक क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई कित्ताकाट गर्दा न्यूनतम एक सय तिस (१३०) वर्ग मिटरभन्दा कम क्षेत्रफल हुने गरी गर्न नपाइने व्यवस्था गरेको छ। यसले अव्यवस्थित र साना घडेरीमा हुने खण्डीकरणलाई निरुत्साहित गर्ने देखिन्छ ।
तर, एउटै वडामा एउटै भूउपयोग क्षेत्र वा एकै प्रकृतिका दुई वा सोभन्दा बढी कित्ताहरुबाट कित्तकाट गरी एकै जग्गाधनीको नाममा कायम हुने जम्मा क्षेत्रफल र कित्ताकाट भई दाताको नाममा बाँकी रहने जग्गाको क्षेत्रफल यो नियमावली अनुसारको न्यूनतम क्षेत्रफलमा नघट्ने गरी कित्ताकाट गर्न सकिने व्यवस्था मिलाइएको छ ।
साथै, विद्युतीय प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) क्षेत्रको कित्ताकाट गर्न पनि बाटो खुला गरिएको छ । सम्बन्धित जग्गाधनीलाई क्षतिपूर्ति दिएर त्यस्तो जग्गामा परेको बिद्युतीय प्रसारण लाइनको मार्गाधिकार(राइट अफ वे) क्षेत्रको कित्ताकाट गरिदिन प्रचलित कानून बमोजिम सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखि आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको छ ।
‘भूमि बैंक’ को स्थापना र सञ्चालन
तेस्रो संशोधनको सबैभन्दा महत्त्वपूर्ण प्रावधान ‘भूमि बैङ्क’को स्थापना हो । नियमावलीमा परिच्छेद ४ ‘क’ थप गरी ‘भूमि बैंक’ सम्बन्धी विस्तृत व्यवस्था गरिएको छ । सरकारले सम्बन्धित स्थानीय तहको माग अनुसार त्यस्तो स्थानयि तहमा भूमि बैंकको स्थापना गर्न सकिने व्यवस्था गरिएको छ ।
यसका लागि भूमि बैंक सञ्चालन समिति गठन गर्न सकिने व्यवस्था गरिएको छ । बैंक सञ्चालनका लागि सम्बन्धित नगरपालिकाको प्रमुख वा गाउँपालिकाको अध्यक्षको संयोजकत्वमा एक समिति गठन हुनेछ । समितिमा प्रमुख प्रशासकीय अधिकृत र भूमि सम्बन्धी विषय हेर्ने शाखा प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ ।
जग्गा उपयोगको प्रक्रिया
स्थानीय तहले आफ्नो जग्गा भूमि बैंकमार्फत उपयोग गर्न चाहने जग्गाधनीहरूका लागि कम्तीमा ३५ दिनको समय दिएर सार्वजनिक सूचना प्रकाशन गर्नेछ । सूचना प्रकाशित भएपछि भूमि बैंकमार्फत जग्गाको उपयोग गर्न चाहने जग्गाधनीले त्यस्तो जग्गाको स्वामित्व, जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जगगा उपयोग गर्न दिने अवधि तथा ऐन र यो नियमावली बमोजिम वर्गीकरण गरिएको क्षेत्रभित्रको जग्गा भए वर्गीकरणको व्यहोरा समेत खुलाई सोही सूचनामा उल्लेखित अवधिभित्र तोकिएको ढाँचामा निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
निवेदन प्राप्त भएपछि स्थानीय तहले उपयुक्त व्यक्ति वा संस्थासँग सम्झौता गरी जग्गा उपयोगको अनुमतिपत्र दिन सक्ने व्यवस्था गरिएको छ । जग्गा उपयोग गर्न निवेदन दिनेहरूमध्ये अल्पसंख्यक, सीमान्तकृत समुदाय तथा आर्थिक रूपले विपन्न व्यक्ति वा परिवारलाई प्राथमिकता दिइनेछ । नियमावलीअनुसार जग्गा रोक्काको बिषयमा भूमि बैंकमा राखिएको जग्गा सम्झौता अवधिभर बिक्री वितरण गर्न नपाउने गरी सम्बन्धित मालपोत कार्यालयमार्फत रोक्का राखिने व्यवस्था गरिएको छ ।
प्रतिफल र विवाद समाधानको बिषयमा नियमावलीले जग्गाधनीले सम्झौता बमोजिम वार्षिक रूपमा प्रतिफल पाउनेछन् । जग्गा उपयोग गर्ने र प्रतिफल लिने(दिने सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा त्यसको निरुपण स्थानीय न्यायिक समितिबाट हुनेछ । यो व्यवस्थाले उपयोगमा नआएका जमिनलाई उत्पादनशील काममा लगाउन र भूमिहीन वा कम जमिन भएकाहरूलाई खेतीपाती वा अन्य व्यवसायका लागि जग्गा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ । साथै, दुई वा दुईभन्दा बढी स्थानीय तहले मिलेर संयुक्त रूपमा पनि भूमि बैंक सञ्चालन गर्न सक्ने व्यवस्था नियमावलीले गरेको छ ।
महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवम् छैठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि निरन्तर लागि परेको बताए।
“हामी (महासंघ)ले उद्यमी व्यवसायीका हरेक अफ्ठ्यारा र समस्या समाधानका लागि प्रयत्न गर्दै आएका छौँ । चाहे त्यो उद्योगको श्रम समस्या होस्, वा डेडिकेटेड तथा ट्रंकलाइन विवादको विषय होस् । लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तनको कुरा होस्, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको कुरा होस्, वा कालाबजारी ऐन संशोधनको कुरा, हामी उद्यमी व्यवसायीका समस्या समाधानका लागि राज्यसँग छलफल, सम्वाद र वार्ता गरी त्यसको समाधान निकाल्ने प्रयत्न गरेका छौँ,” उनले भने ।
अध्यक्ष ढकालले लामो समयदेखि बल्झिरहेको डेडिकेटेड तथा ट्रंकलाइन विवादको समाधानका लागि आफूले प्रधानमन्त्री सुशिला कार्की तथा ऊर्जा मन्त्री कुलमान घिसिङ्गलाई गरेको आग्रहलाई उनीहरुले गम्भिरतापूर्वक लिएको बताउँदै समस्याको समाधानका लागि पहल लिएकोमा प्रधानमन्त्री तथा ऊर्जामन्त्रीलाई धन्यवाद समेत व्यक्त गरे ।
उनले मुलुकमा उत्पादन वृद्धि तथा रोजगारी सृजनाका लागि ठूलो मात्रामा स्वदेशी तथा विदेशी पुँजीको आवश्यकता रहेको बताउँदै त्यसका लागि मुलुक तथा मुलुक बाहिर छरिएर रहेको सानोसानो पुँजी संकलन गरी ठूला र बहुआयामिक आयोजनाहरुमा लगानी गर्न आवश्यक रहेका उल्लेख गरे ।
उनले त्यसका लागि महासंघको नेतृत्वमा अन्य निजी क्षेत्रसँग आवद्ध संघसंस्थाहरु र त्यसका सदस्यहरुको समेत सहभागितामा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीको स्थापना गरिएको जानकारी दिए ।
त्यस कम्पनीमार्फत ठूला र बहुआयामिक आयोजनाहरुमा लगानी गरि पूर्वाधार विकास, रोजगारी सृजना र उत्पादन तथा सेवा प्रवाहमा सहजता गराउन आफूहरु लागेको बताए ।
महासंघ अध्यक्ष ढकालले हालैको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठमा ठूलो मात्रामा निजी क्षेत्र र निजी सम्पत्तिमाथि प्रहार गरिएको बताउदै उक्त विध्वंशमा संलग्नहरुलाई कानुनी दायराभित्र ल्याउन सरकारसँग आग्रह गरे ।
उनले हामी सबैको साझा उद्देश्य मुलुकको विकास र सम्मृद्धि रहेका उल्लेख गर्दै त्यसमा सबैको हातेमालो जरुरी रहेको बताए ।












