जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

लोन लस प्रोभिजनको हालको अबस्थामा परिवर्तन गर्न सकिन्छ : गभर्नर डा. पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कालो सूचिमा परेका व्यबसायीहरुका समस्या समाधान गर्ने उपायको खोजि भइरहेको बताएका छन् । उनले उद्यमी र व्यबसायीले लगानी गर्ने वातावरण कम्जोर भएको उल्लेख गर्दै जेन्जी आन्दोलन मात्रै यसको कारण नभएको उल्लेख गरे ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको कार्यक्रममा बोल्दै उनले सबैतिरबाट कडाइ गरेर मौ उद्यमशीलताको विकास हुन नसक्ने भन्दै बैंक वित्तीय संस्थाको स्थिति सुधार हुनका लागि पनि व्यबसायीको अबस्थामा सूधार हुन जरुरी रहेको बताए । गभर्नर पौडेलले लोन लस प्रोभिजनको हालको अबस्थामा परिवर्तन गर्ने संकेत गर्दै अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गर्दै आगामी रणनीति तयार गर्ने बताए ।

उनले सानो सानो रिटेलका कामहरू पनि राष्ट्र बैंकले गर्दै आइरहेको उल्लेख गर्दै ती कामहरु बैंक तथा वित्तीय संस्थाबाटै गर्ने व्यवस्थाको तयारी भएको पनि बताए । अहिलेको पुस्ता डिजिटलाइजेशनमा अत्याधिक रहेको हुँदा लगानीका क्षेत्र पनि त्यसतर्फ उन्मुख भएकोमा जोड दिए । व्यबसायीक वातावरण तयार गर्न र त्यसमा सहजिकरण गर्न आफू तत्पर रहेको उनको भनाई छ ।

यूनियन लाइफ चौथो बर्षमा प्रवेश

यूनियन लाइफ इन्स्योरेन्स तेश्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ। यस अवसरमा युनियन लाइफले विभिन्न कार्यक्रम गरी तेश्रो वार्षिकोत्सव मनाएको छ।

कम्पनीले आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा ब्यवसाय बृद्धि गर्ने प्रतिवद्धता जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भने कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा बिस्तार गर्दै लैजाने बताए ।

बीमा समितिबाट २०७४ असोज ४ गते कारोवार संचालनको अनुमती पाएको युनियन लाइफको जारी पुंजी २ अर्ब १५ करोड छ। जारी पुंजीको ३० प्रतिशतले हुने साधारण शेयर (आइपीओ) चाडै नै निश्कासन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीको संचालक समितिको अध्यक्षमा शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल छन् । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप छन्।

नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ४.९ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टअनुसार खुद नाफा २१ करोड ५५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २० करोड ५४ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी १३ प्रतिशत बढेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा ११ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा चालु आवको पहिलो त्रैमासमा १३ अर्ब ३६ करोड रुपैयाँ छ । विपत्ति कोषमा १ अर्ब ३४ करोड रुपैयाँ छ ।

९ अर्ब २ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी १ अर्ब ३९ करोड रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५५ पैसा छ । प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १४ पैसा छ । बिहीबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८०१ रुपैयाँ छ ।

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले रविभवन, काठमाडौंमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस बैंकका ग्राहकहरुले उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।

उक्त सुविधा उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

कामना सेवाको १९औं वार्षिकोत्सवमा नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक

कामना सेवा विकास बैंकले स्थापनाको १९औं वार्षिकोत्सव विभिन्न सामाजिक तथा आन्तरिक कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले बिहीबार नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक गरेको हो ।

१८ वर्षसम्मका बालबालिकालाई लक्षित यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरूलाई आकर्षक खुत्रुके उपलब्ध गराइनेछ । साथै, खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ, जसको प्रिमियम खातावालाले १८ वर्ष नपुग्दासम्म बैंकले नै तिर्ने जनाएको छ ।

बैंकका अनुसार ‘अल्फा ग्रो’ खाता बालबालिकामा बचतको बानी विकास गर्ने र अभिभावकहरूलाई भविष्यमुखी वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको हो । यस योजनाले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुर्याउने बैंकको विश्वास छ ।

साथै वार्षिकोत्सवको अवसरमा बैंकले देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रम केन्द्रीय कार्यालयसहित सबै क्षेत्रीय कार्यालयहरूमा एकैसाथ सम्पन्न गरिएको बैंकले जनाएको छ । विभिन्न स्थानमा सम्पन्न रक्तदान कार्यक्रमबाट जम्मा ४२९ पिन्ट रगत संकलन भएको छ ।

बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले बुटवल क्षेत्रमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए भने केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसञ्चार केन्द्रकी भावना पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको नारायणगढ शाखा, पोखरा क्षेत्रको न्युरोड शाखा, बुटवल शाखा तथा पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा सम्पन्न भएको थियो । कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यसैगरी, बैंकले वार्षिकोत्सवकै अवसरमा पाँचौं संस्करणको ‘अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप’ पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक विजयी भएको भने महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेको बैंकले जनाएको छ ।

बैंकका अमरसिंह शाखा र पोखरा न्युरोड शाखाले क्रमशः अमरसिंह उच्च मावि र पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम पनि सम्पन्न गरेका छन् ।

गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित

गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बिहीबार कास्कीको पोखरा महानगरपालिका–१४ स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

साधारणसभाले आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । साथै, आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य सामान्य प्रस्तावहरू पनि सभाले स्वीकृत गरेको छ ।

सभाले विशेष प्रस्तावहरू पनि पारित गरेको छ । ती अन्तर्गत बैंकको अधिकृत पूँजी ६ अर्ब १० करोड पुर्याउने, केन्द्रीय कार्यालयलाई काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, छाप र लोगो परिवर्तन गर्ने, तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने निर्णय गरिएका छन् ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेकोमा, यस साधारणसभाबाट पारित ६ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ ।

देशभर १२६ शाखा कार्यालय र ५१ एटिएम मार्फत सेवा विस्तार गरिरहेको गरिमा विकास बैंकले डिजिटल बैंकिङ प्रणालीमार्फत ग्राहकहरूलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

लगानीकर्तामा मनोवल खस्कीएको हुँदा बैंकवित्तमा पैसा थुप्रियो : गभर्नर डा. विश्वनाथ पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उत्पादनमा लगाउनुपर्ने रकम बैंकवित्तमा जमेर बसेको बताएका छन् । उनले वित्तीय प्रणालीमा पैसा संकलन हुनु अर्थात धेरै पैसा हुनु पनि समस्या भएको बताएका छन् । सबै क्षेत्र शिथिल भएको उल्लेख गर्दै उनले कहिले पैसा नभएर समस्या हुने र कहिले पैसा धेरै भएर समस्या छ भन्ने कुरा व्यक्त गरे ।

लगानीकर्ताहरूको मनोबलमा गिरावट आएका कारण बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप लगानी हुन नसकेको उनको भनाई छ । लगानीका लागि हरेक क्षेत्र खुला भएपनि लगानीकर्ताको मनोबल कमजोर बन्न पुगेको गभर्नर पौडेलले बताए । आर्थिक पत्रकारहरुसँगको कुराकानीमा उनले पैसा पर्याप्त भएर पनि लगानी हुन नसक्नु समस्या भएको बताए । अहिले बेंकवित्तमा पर्याप्त पैसा भएको तर लगानी हुन नसकेको उनले बताए ।

निवर्तमान आईजीपी खापुङले अनुमतिविना उपत्यका छाड्न नपाउने

निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाइएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको ‘भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’को बिहीबार बसेको बैठकबाट खापुङलाई विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’

उच्चस्तरीय आर्थिक सुधार आयोगको सिफारिस कार्यान्वयन हुन्छ : अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोगको सिफारिसलाई कार्यान्वयन गर्ने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अर्थमन्त्री खनालले सो कुरा बताएका हुन् । सो को कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आयोगले सिफारिस गरेको सुधारअनुसार राजस्व र भन्सार प्रशासनमा योग्य जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

घरबाटै यसरी भर्नुस् मतदाता नामावलीमा अनलाइन फारम

अब मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग धाउन नपर्ने भएको छ । तर त्यसका लागि राष्ट्रिय परिचयत्र भने आवश्यक पर्छ । राष्ट्रिय परिचयपत्र भएकाले घरैबाट मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आजैबाट लागू हुनेगरी राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिको हकमा अनलाइनबाट फारम मात्रै भर्न मिल्ने व्यवस्था गरेको हो । राष्ट्रिय परिचयपत्र औपचारिक रूपमा नै मतदाता नामावलीमा जोडिएसँगै सहज भएको हो ।

राष्ट्रिय परिचयपत्र भएका व्यक्तिहरूले अब नाम, ठेगाना, जन्म मिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण भरेर समय लिएर बायोमेट्रिक दिन सम्बन्धित निर्वाचन कार्यालय धाउन नपर्ने भएको हो । त्यसोभए घरमै बसेर कसरी मतदाता नामावलीमा नाम दर्ता गराउने ? घरमै बसेर मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रियाबारे यहाँ जानकारी दिइएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्न सुरुमा तपाईं निर्वाचन आयोगको अफिसियल वेबसाइट (election.gov.np) मा जानुहोस् । वेबसाइट खोल्नेबित्तिकै होमपेजमा पुगिन्छ ।

होमपेजमा ‘मतदाता नामावली प्रि–रजिष्ट्रेसन र अद्यावधिक’, ‘मतदाता नामावली’, ‘निर्वाचन परिणाम’ र ‘इ–बुलेटिन’ शीर्षकहरू राखिएका हुन्छन् । अब तपाईंले नाम दर्ता गर्नका लागि ‘मतदाता नामावली प्रि–रजिष्ट्रेसन र अद्यावधिक’ शीर्षकमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि निर्वाचन आयोगको ठूलो लोगोको दायाँपट्टि ‘नयाँ दर्ता’ र ‘नामावली अद्यावधिक’ दुई शीर्षक राखिएका हुन्छन्। त्यसमध्ये नाम दर्ता गराउनका लागि ‘नयाँ दर्ता’मा क्लिक गर्नुपर्छ।

‘नामावली अद्यावधिक’ लेखिएको शीर्षक भने नामावलीमा रहेका त्रुटि सच्चाउन र नामावली सार्नका लागि प्रयोग गरिन्छ ।

तर हामीलाई नाम दर्ता गर्नुपर्ने भएकाले हाल ‘नयाँ दर्ता’मा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि एकातर्फ राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गरेका व्यक्तिले मतदाता परिचयपत्रमा दर्ता गर्नका लागि एउटा सानो फारम राखिएको हुन्छ भने अर्को तर्फ राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता नभएकाहरूका लागि मोबाइल नम्बर राख्ने विकल्प राखिएको हुन्छ।

हामी जाऔं राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गरेका व्यक्तिले भर्ने मतदाता परिचयपत्रको फारमतर्फ। जहाँ एनआइडी नम्बर, जन्ममिति, नाम र एउटा प्रश्न सोधिन्छ । सो विवरण मिलाएपछि मतदाता परिचयपत्रका लागि आफ्नो विवरण राख्ने प्रक्रिया सुरु हुन्छ। त्यहाँ आफ्नो नाम, ठेगाना, जन्म मिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण हुन्छन्। ती विवरण भरेर सबमिट गर्नुपर्छ। यो प्रक्रिया राष्ट्रिय परिचयपत्र भएका नागरिकका लागि हो।

राष्ट्रिय परिचयपत्र नभएका नागरिकले यसअघि राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता नभएकाहरूका लागि दिइएको मोबाइल नम्बरको विकल्पमा गएर दर्ता गर्न सकिन्छ। राष्ट्रिय परिचयपत्र नभएकाहरूले मोबाइल नम्बर राखेपछि निर्वाचन आयोगले तपाईंको मोबाइल नम्बरमा चार अंकको ओटीपी कोड पठाउँछ ।

ओटीपी कोड राखेपछि त्यसपछि उक्त फारममा ‘हालसम्म मेरो नाम मतदाता नामावलीमा समावेश भएको छैन’ भन्नेमा ठीक चिन्ह लगाएर ‘सुरु गर्नुहोस्’मा क्लिक गरी आफ्नो विवरण भर्नुपर्छ । त्यहाँ तपाईंले क्रमसँग आफ्नो स्थायी ठेगाना, व्यक्तिगत विवरण, नागरिकताको विवरण, अपाङ्गता भए/नभएको, सम्पर्क स्थानलगायत खुलाएर विवरण राखेर अन्त्यमा सबमिट गर्नुपर्छ ।

त्यसपछि तपाईंले भरेको विवरण तपाईंको मतदाता केन्द्रका लागि पुग्छ। यसरी राष्ट्रिय परिचयपत्र नभएकाहरूले भने अनलाइन फारम भरिसकेपछि प्राप्त हुने संकेत नम्बर सहितको प्रिन्ट कपी र आवश्यक कागजात लिएर बायोमेट्रिक दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने हुन्छ।

एनएमबि बैंकले ल्यायो भीआरएस सुविधा, ८० कर्मचारीले जागिर छोड्दै

एनएमबि बैंकले कर्मचारीहरुको लागि स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याएको छ । बैंकले कर्मचारीहरुको लागि तह अनुसार २४ देखि ३० महिनासम्मको सेवासुविधा सहित भीआरएस योजना ल्याएको हो । बैंकको उक्त योजना २ साताको लागि ल्याएको थियो । कात्तिक २५ गतेसम्म रहेको उक्त योजनामा करिब ८० जनाले आवेदन दिएका छन् ।

बैंकको तह अनुसार अफिसरदेखि तलका कर्मचारीलाई ३० महिनाको सेवासुविधा सहित भीआरएस योजना ल्याएको हो । त्यस्तै
अफिसर र सिनियर अफिसरलाई २७ महिना र सिनियर अफिसरदेखि माथि डिजीएमसम्मका लागि २४ महिनाको सेवासुविधा दिनेगरी भीआरएस योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बताए ।

उक्त योजनामा करिब ८० जनाले आवेदन दिएका छन् । बैंकबाट जागिर छोड्न चाहनेहरुका लागि एउटा अप्सन दिएर नयाँ युवालाई बैंकले ल्याउन खोजेको प्रमुख कार्यकारी अधिकृत घिमिरे बताउँछन् । कतिपय विभागमा नयाँ कर्मचारी आवश्यक नहुन पनि सक्ने र आवश्यक भएको ठाउँमा युवाले अवसर पाउने उनले बताए ।

बैंकले मर्जरको समयमा मर्जर भएर आउने बैंकका कर्मचारीलाई भीआरएस दिएको थियो भने मर्जरपछि भीआरएस दिएको थिएन । बैंकले ओम डेभलमेन्ट बैंक र त्यसअघि पनि केही साना बैंकलाई मर्जर गरेको थियो ।

नबिल बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत 

नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । १,००० रुपैयाँ अंकित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको यस ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ । ऋणपत्र रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।