जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

नेपाल एसबीआईमा नयाँ अध्यक्ष, गभर्नरसँग लिए सपथ

नेपाल एसबिआई बैंकका संचालक समिति अध्यक्ष वेंकट वंसीधर कुंचाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गत शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो । उनी स्टेट बैंक अफ इण्डियाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन् । उनलाई सर्वसम्मत अध्यक्ष चयन गरिएपछि आइतबार नेपाल राष्ट्र बैंक पुगेर गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

अध्यक्ष कुंचा स्टेट बैंक अफ इण्डिया (एसबीआई)को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य–महाप्रबन्धकको पदमा कार्यरत छन् । उनले एसबीआईको २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्ने गरेको नेपाल एसबीआईले जनाएको छ ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सीना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक राजनविक्रम थापा, निर्देशकहरु राजेन्द्र भट्टराई, ईश्वरीप्रसाद भट्टराई र शरणकुमार अधिकारी तथा नेपाल एसबिआई बैंकका संचालकहरु रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती र डा. गोपालप्रसाद भट्ट सहभागी थिए ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा तथा बैंकका कम्पनी सचिव खगेश्वर भट्ट पनि शपथ कार्यक्रममा साक्षि थिए ।

राजीनामा माग्दै सेबोन अध्यक्ष श्रेष्ठलाई कार्यालय प्रवेशमा रोक

कर्मचारीले प्रवेशमा रोक लगाएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठ कार्यालय गएका छैनन् । सेबोन कर्मचारीले ४१ औं दिनसम्म पनि आफ्नो आन्दोलन जारी राख्दै अध्यक्षलाई प्रवेश निषेधको घोषणा गरेसँगै अध्यक्ष श्रेष्ठ कार्यालय नगएका हुन् । शुक्रबार नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यालय प्रवेश गर्न नदिने बताउँदै अध्यक्षको राजीनामा माग गरेका थिए ।

जसअनुसार अध्यक्ष श्रेष्ठको कार्यालयको ढोकामा ‘अक्षम अध्यक्ष राजीनामा गर, बोर्ड अध्यक्षलाई प्रवेश निषेध’ लेखेर कर्मचारीले पम्प्लेट टाँसेका छन् । शुक्रबार कर्मचारी र अध्यक्षबीच भएको अनौपचारिक छलफलमा श्रेष्ठले अदालत जान नसक्ने जानकारी गराएसँगै कर्मचारी थप आक्रोसित बन्दै कार्यालय प्रवेन गर्न नदिने निर्णयमा पुगेका हुन् ।

कर्मचारीले अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष सम्बन्धमा मन्त्रालयको २०८२ भदौ ३१ को निर्णय (राजस्व सचिव स्तरीय) बमोजिम कार्यान्वयन गर्न भन्दै लेखेको पत्रविरुद्ध सञ्चालक समिति अदालत जानुपर्ने विषय उठाइरहेका छन् । तर, अध्यक्ष श्रेष्ठले उक्त विषयमा अदालत जान नसक्ने विषय उल्लेख गरेसँगै कर्मचारीले कार्यालय प्रवेशमा रोक लगाउँदै राजीनामा माग गरेका हुन् ।

यद्यपि, अध्यक्ष श्रेष्ठले भने आफूले राजीनामा नदिने बताएका छन् । ‘राजीनामा दिनेगरी मैले त्यस्तो केही गल्ती गरेको छैन । यो समस्या मैले खडा गरेको पनि होइन र मैले समाधान दिने अवस्था पनि छैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘तर, पनि मैले केही समाधान निस्किन्छ कि भनेर प्रयास गरिरहेको छु ।’ उनले, आफूले प्रयास गर्दा पनि कर्मचारीले प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै कार्यालय नगएको जानकारी दिए ।

कर्मचारीले भने बोर्ड अध्यक्ष र संचालक बोर्डबाट समस्या समाधान केन्द्रीत ठोस प्रयास नभएको र अध्यक्ष मार्फत संचालक बोर्डबाट कुनै निकास आउने नदेखिएको हुँदा राजीनामा दिनुपर्ने विषय उठाइरहेका छन् । ‘कर्मचारीको हित र संचालक बोर्डको विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसक्ने बोर्ड अध्यक्ष नैतिकताको आधारमा एक मिनेटका लागि सो पदमा बस्न योग्य छैनन भन्ने हाम्रो ठम्याई रहेको छ,’ शुक्रबार जारी विज्ञप्तिमा कर्मचारीले भनेका छन्, ‘यसर्थ, बोर्ड अध्यक्षले आफ्नो पदबाट राजिनामा दिई मार्ग प्रसस्त गर्नु पर्दछ, सो नगर्दासम्म बोर्ड अध्यक्षलाई बोर्डको कार्यकक्षमा समेत प्रवेश गर्न दिइने छैन ।’

कर्मचारीले यसरी निरन्तर ४१ औं दिनसम्म सबै कामकाज ठप्प राखेर बस्दा पनि सरकारले समेत समस्या समाधानमा पहल गरेको छैन । अर्थ मन्त्रालयले भदौ ३१ को निर्णय कार्यान्वयन गर्न भन्दै लेखेको पत्रमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्त सम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरित जारी भएका नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने उल्लेख छ ।

पत्रमा प्रचलित कानून विपरित बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्ने पनि भनिएको थियो । यसका अलावा कुनै पनि आर्थिक दायित्व पर्ने विषयमा निर्णय गर्नुपूर्व अनिवार्य रुपमा अर्थ मन्त्रालयको सहमति लिनु पर्ने व्यवस्था कार्यान्वयन गर्ने पनि पत्रमा समावेश अर्थको पत्रमा उल्लेख छ ।

उक्त कदमलाई लिएर असन्तुष्ट सेबोन कर्मचारीहरु सबै काम ठप्प पारेर आन्दोलनमा छन् । नियामकको रुपमा रहेको सेबोनमाथि सचिव स्तरीय निर्णय गरेर कार्यविधि खारेज गर्न नमिल्ने र उक्त कदम बोर्डको स्वायत्ततामाथिको गम्भिर उल्लंघन भएको कर्मचारीको भनाइ छ ।

हबिबको सेयर नेसनलमा हस्तान्तरण

हिमालयन बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर पाकिस्तानी हबिब बैंकले दुई कारोबार दिनमा हस्तान्तरण गरेको छ। हबिबले हिमालयन बैंकमा आफ्नो नाममा रहेको संस्थापक सेयर बिहीबार र आइतबार दुई कारोबार दिनमा नेसनल लाइफ इन्स्योरेन्सलाई हस्तान्तरण गरेको हो। नेसनल लाइफ इन्स्योरेन्सले हबिबको २ करोड ८० लाख १२ हजार ४४८ कित्ता सेयर खरिद गरेको छ।

हबिबको सेयर किन्न नेसनल लाइफले भदौ पहिलो साता सेयर खरिद-बिक्री सम्झौता (एसपीए) गरेकामा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कारोबारमा आएको हो। हिमालयन बैंकमा रहेको आफ्नो १२.९३ प्रतिशत सेयर स्वामित्व नेसनल लाइफलाई बेचेर हबिब बाहिरिएको छ। हबिबका प्रतिनिधले आइतबार नै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर बिदाबारी माग्ने तयारी छ।

हबिबको सेयर विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालले हिमालयन रि इन्स्योरेन्समार्फत खरिद गर्न चाहेकामा उनीहरुको चलाखीलाई माथ खुवाउँदै नेसनल लाइफ इन्स्योरेन्सले किन्ने प्रस्ताव गरेको थियो। त्यसपछि नेसनल लाइफका सञ्चालक तथा प्रवर्धकसँग दीपक-सुलभ रिसाएका थिए। हिमालयन बैंकका प्रवर्धक मनोजबहादुर श्रेष्ठ पनि यो डिलको विपक्षमा थिए।

यसविरुद्ध अदालत जाने श्रेष्ठ पक्षको योजना छ। श्रेष्ठले आफ्ना ज्वाइँ पर्ने एक जनालाई सञ्चालक समितिमा ल्याउन चाहेका छन्। यो चाहना पूरा नहुने भएपछि उनले मुद्दामा जाने जनाउ बाँकी सञ्चालक र हबिब-नेसनल लाइफका प्रतिनिधिलाई दिइसकेका छन्। यसअघिका दुई वटा डिल मनोजबहादुर पक्षले भाँडेका कारण हबिब र नेसनल लाइफका अधिकारी सशंकित भएका छन्। नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुने भनिएको मर्जर पनि मनोजसहित प्रचण्डबहादुर श्रेष्ठ समूहले भाँडेको थियो।

त्यसअघि हबिबको सेयर बेलायती संस्थाले किन्ने डिल पनि भाँडिएको थियो। त्यसैले अहिले अन्तिम कारोबार भइसक्दा पनि मुद्दा मामिला गरेर भाँडिने डर पाकिस्तानी र नेसनल लाइफ पक्षलाई भएको हो। तर दीपक-सुलभले भने भाँजो नहाल्ने जनाउ दिइसकेका छन्।

चेक बाउन्सका कारण कालोसूचीमा पर्ने बढ्दो

सरकारले चेक बाउन्सका कारण कालोसूचीमा राख्ने अवधि बढाए पनि कालोसूचीमा पर्ने व्यक्तिहरूको संख्या भने झनै बढेको पाइएको छ । नेपाल राष्ट्र बैंक र सरकारले आर्थिक कारोबार प्रभावित नहोस् भनेर कानुनी व्यवस्था मार्फत सहजीकरण गरे पनि सुधार देखिएको छैन । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दोस्रो संशोधनअनुसार खातामा रकम नभए जानीजानी चेक जारी गर्न नहुने व्यवस्था छ ।

यदि चेक पेश गर्दा खातामा रकम नभएमा बैंकले ४५ दिनभित्र खातावाललाई जानकारी दिनुपर्छ। सो अवधिमा रकम जम्मा नगरे चेक अनादर गर्न सकिने व्यवस्था छ । तर खातावालले जुनसुकै बेला भुक्तानी गरेर चेक फिर्ता लिन सक्ने प्रावधान राखिएको छ ।

पहिले चेक बाउन्स हुँदा फरक दिनमा तीनपटकसम्म साटेर पनि रकम नभए कालोसूचीमा राख्ने व्यवस्था थियो । सरकारले यो प्रणाली परिमार्जन गरे पनि कर्जा सूचना केन्द्रका तथ्यांकले सुधार नभएको देखाउँछ ।

कर्जा सूचना केन्द्रका अनुसार कात्तिक १३ सम्ममा कुल १३ हजार ६ सय ७४ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । यसमध्ये बैशाखदेखि कात्तिकसम्म मात्रै ६,४३६ छन् । गत बैशाख २ सम्म कुल संख्या ७ हजार २ सय ३८ थियो । कालोसूचीमा परेका करिब ८० प्रतिशत व्यक्ति चेक बाउन्सका कारण हुन्।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजारभन्दा बढी बैंकिङ कसुरका जाहेरी परेको थियो । प्रहरी अधिकृतका अनुसार अधिकांश उजुरीकर्ताले कालोसूचीमा राखेर समस्या समाधानको प्रयास गर्ने गरेको पाइन्छ।

नेपाल राष्ट्र बैंकले पनि अर्थतन्त्रमा असर नपरोस् भनेर कालोसूची व्यवस्थामा सहजता ल्याइरहेको भए पनि चेक बाउन्सका कारण परेका संख्या लगातार बढ्दै गएको अधिकारीहरूले जनाएका छन्।

कालोसूचीमा परेका व्यक्तिहरू खातामा निक्षेप बाहेक अन्य बैंकिङ कारोबारबाट वञ्चित हुने हुँदा आर्थिक कारोबारको चक्र नै प्रभावित हुने खतरा बढेको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाः ६ महिनासम्म निक्षेप सुविधा

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिँदै गएको अधिक तरलतालाई व्यवस्थापन गर्न नयाँ मौद्रिक व्यवस्था लागू गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग रहेको अतिरिक्त तरलता ६ महिनासम्मका लागि केन्द्रीय बैंकमा निक्षेप राख्न पाउने भएका छन्।

राष्ट्र बैंकले बुधबार १ सय ७५ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलनको प्रस्ताव आह्वान गरेको थियो । यसअघि कात्तिक ९ गते मात्र राष्ट्र बैंकले ९० अर्ब रुपैयाँको ४२ दिने निक्षेप संकलनका लागि आह्वान गरेको थियो।

विगतमा केन्द्रीय बैंकले अधिकतम ६४ दिनसम्मका निक्षेप संकलन गर्दै आएकोमा यो पहिलो पटक ६ महिनासम्मको अवधिका लागि निक्षेप लिन लागेको हो। सामान्यतया ४, ७, १०, ११, १२ र २१ दिनका लागि निक्षेप संकलन गर्दै आइँदै आएको थियो।

राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्माका अनुसार खुला बजार व्यवस्थापन समितिले गरेको अध्ययन र प्रक्षेपणका आधारमा निक्षेप संकलनको समयावधि बढाइएको हो।

उनका अनुसार अबको केही समय बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहिरहने प्रक्षेपणका आधारमा यो व्यवस्था गरिएको हो । अहिलेलाई ४० अर्ब रुपैयाँ मात्रै छ महिनासम्म राख्न मिल्ने व्यवस्था गरिएको छ, तर आवश्यकता परे फेरि पनि लामो अवधिका लागि निक्षेप लिन सकिनेछ ।

राष्ट्र बैंकले लामो अवधिको निक्षेप संकलन गर्दा ब्याजदर कोरिडोरलाई सीमा भन्दा माथि जानबाट रोक्न सहज हुने देखिएको छ। राष्ट्र बैंकका तथ्यांक अनुसार, हाल ७ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम बैंकिङ प्रणालीमै थुप्रिएको छ।

मुद्धति निक्षेपमा २ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूसँग ब्याजदरसहितको प्रस्ताव आह्वान गरेको छ ।

सूचना अनुसार यो लगानी ३६६ दिन (२०८२ मंसिर २४ देखि २०८३ मंसिर २४ सम्म) का लागि हुनेछ । कुल लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि सबैभन्दा धेरै २ अर्ब ८ करोड रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरूका लागि ३९ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि १३ करोड रुपैयाँ लगानी गरिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र त्यसमा प्रस्ताव गर्ने ब्याजदर खुलाई २०८२ कात्तिक १८ गते साँझ ७ बजेभित्र प्रस्ताव पेस गरिसक्नुपर्नेछ ।

राष्ट्र बैंकको कोषबाट लगानी प्राप्त गर्न बैंक तथा वित्तीय संस्थाहरूले केही महत्त्वपूर्ण सर्तहरु पूरा गरेको हुनुपर्नेछ । जसमा सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जाको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा कम भएको, पछिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको र सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्नेछ ।

वाणिज्य बैंक बन्दै मुक्तिनाथ, सञ्चालक समितिले प्रक्रिया अघि बढाउने

मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ । बैंकको हालै पोखरामा सम्पन्न भएको १९ औं वार्षिक साधारणसभाले वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको हो । अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा बसेको साधारणसभाले चुक्ता पूँजी ९ अर्ब ३ लाख रुपैयाँ पुर्‍याउने र वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको हो ।

‘पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने र नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नतिको लागि प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइएको छ’ अध्यक्ष मल्लले भने ।

त्यस्तै सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव स्वीकृत गरेको छ । उक्त लाभांस मध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांस (बोनस सेयर र नगद लाभांसको कर सहित) रहेको छ ।



नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले कम्पनीको लगानीका दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी कोषहरुसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ ।

साथै, कम्पनीले सम्भाव्यता देखिएका जलविद्युत, पर्यटन, सूचना प्रविधि जस्ता ठूला शहरी परियोजनाका अतिरिक्त कृषि, घरेलु, साना तथा मझौला उद्योगहरुमा लगानी विस्तार गरी ग्रामिण क्षेत्रमा रोजगारी सृजना गर्ने, एनडीपी भेन्चर तथा एनडीपी डेभलपर नामका छुट्टै संरचना खडा गरी पीईभीसी तथा शहरी पूर्वाधार तथा आवास क्षेत्रमा लगानी गर्ने निर्णय गरेको छ । साधारणसभामा कम्पनीको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले कम्पनीले आफ्नो लगानीलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न प्रणालीहरुको विकास गरी लगानी विविधीकरण र जोखिम व्यवस्थापनका विभिन्न प्रयासहरु गरेको बताउनुभयो ।

उहाँले अहिलेको विशिष्ट परिस्थितिमा व्यवसायीहरुको मनोबल खस्किएको र थप लगानीको लागि तयार हुन समय लाग्न सक्ने भएकोले राज्यले व्यवसायी र व्यवसायको सुरक्षाको प्रत्याभूति गरी लगानीको वातावरण बनाउन जरुरी भएको बताउनुभयो ।
अध्यक्ष ढकालले शिथिल अर्थतन्त्रलाई लयमा ल्याउन, उत्पादन तथा रोजगारी बढाउन र समग्र उद्यमी व्यवसायीहरुको मनोबल बढाउँदै मुलुकलाई आर्थिक विकास र सम्मृद्धिका यात्रामा अघि बढाउन यस लगानी कम्पनीले विशेष भूमिका खेल्न सक्ने बताउनुभयो ।

“अहिले मुलुकको अर्थतन्त्र विशिष्ट अवस्थाबाट गुज्रिएको छ । बजारमा मागमा भएको कमीले आर्थिक गतिविधिहरु सुस्ताएका छन् । व्यवसायीहरुमा थप र नयाँ लगानी गर्ने आँट र मनोबल खस्किदो छ । यस्तो बेलामा हामीले यस लगानी कम्पनीमार्फत ठूला र रणनैतिक उद्योग÷व्यवसायमा लगानी गर्दै मुलुकको अर्थतन्त्र लयमा ल्याउन, आर्थिक गतिविधिलाई अघि बढाउन, रोजगारी सृजना गर्न सक्छौ,” अध्यक्ष ढकालले भन्नुभयो ।

अध्यक्ष ढकालले यस लगानी कम्पनीमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट व्यापक चासो व्यक्त भएको बताउनुभयो ।
“म हालै आईएमएफको एउटा कार्यक्रममा भाग लिन संयुक्त राज्य अमेरिका पुगेको थिए । त्यहाँ मसँगको भेटमा त्यहाँ रहेका नेपालीहरुको नेपालको अहिलेको अवस्था, लगानी सम्भावना र यस लगानी कम्पनीको बारेमा धेरै चासो राख्नुभएको थियो । यस अघि पनि विभिन्न देशमा पुग्दा धेरै नेपालीहरुले यस कम्पनीका बारेमा चासो राख्नुभएको छ । हामीले लगानीका लागि राम्रा परियोजनाहरु पहिल्याउँदै जानुपर्छ । धेरै स्वदेसी लगानीकर्ता तथा गैर आवासीय नेपालीहरुले यसमा लगानी गर्न तयार हुनुहुन्छ,” उहाँले भन्नुभयो ।

साथै, उहाँले यस कम्पनीले स्वदेस तथा विदेशमा रहेका व्यवसायी तथा लगानीकर्ताहरुलाई नेपालमा उद्योग/व्यवसाय स्थापना, सञ्चालन तथा विस्तार गर्नका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने, रुग्ण तथा समस्याग्रस्त उद्योग व्यवसायहरुको पुनर्उत्थान र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने परियोजनाहरुलाई आवश्यक परामर्श सेवा उपलब्ध गराइने बताउनुभयो ।
अध्यक्ष ढकालले यस कम्पनी मार्फत लगानी गरी मुलुकको आर्थिक सम्मृद्धि र विकासमा साझेदारी गर्न सबै उद्योगी, व्यवसायी तथा गैर आवासीय नेपालीहरुलाई आग्रह समेत गर्नुभयो । एक वर्ष अघि स्थापना गरिएको यस कम्पनीको कूल पुँजी १० अर्ब रुपैयाँ रहेको छ । हाल यस कम्पनीमा ४६ जिल्लाका २४६ जना शेयरधनी रहेका छन् ।

यो कम्पनी छरिएर रहेको पुँजी एकत्रित गरी उत्पादन वृद्धि तथा रोजगारी सृजना गर्न मुलुकका ७७ वटै जिल्लामा रहेका सानादेखि ठूला उद्यमी÷व्यवसायी तथा गैर आवासीय नेपालीहरुको समेत लगानीमा स्थापना गरिएको हो । बागलुङको ढोरपाटनमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको बैठकले देशभर छरिएर रहेका उद्यमी व्यवसायीहरुलाई समेटी राष्ट्रियस्तरको लगानी कम्पनी स्थापना गर्ने र यसको माध्यमबाट देशमा एक सबल, सक्षम र सहभागितामुलक इक्यूटी बजारको विस्तार गर्ने प्रस्ताव अघि सारेको थियो । जसअनुसार, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्स, गैर आवारीय नेपाली संघ र यिनमा आवद्ध सदस्यहरुलाई संलग्न गरी यो कम्पनी स्थापना गरिएको हो ।

सेबोन अध्यक्षलाई राजीनामा दिन कर्मचारीको माग

कर्मचारीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई पदबाट राजीनमा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

‘सङ्घर्ष टुङ्गाउदै काममा फर्किन बोर्डका कर्मचारीहरू, बोर्डमा क्रियाशिल यूनियन संगठन पूर्णरूपमा लचक भएता पनि बोर्ड अध्यक्ष र संचालक बोर्डबाट समस्या समाधान केन्द्रीत ठोस प्रयास नभएको र अध्यक्ष मार्फत संचालक बोर्डबाट कुनै निकास आउने नदेखिएको हुँदा, कर्मचारीको हित र संचालक बोर्डको विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसक्ने बोर्ड अध्यक्ष नैतिकताको आधारमा एक मिनेटका लागि सो पदमा बस्न योग्य छैनन भन्ने हाम्रो ठम्याई रहेको छ,’ कर्मचारीले भनेका छन्, ‘यसर्थ, बोर्ड अध्यक्षले आफ्नो पदबाट राजिनामा दिई मार्ग प्रसस्त गर्नु पर्दछ, सो नगर्दासम्म बोर्ड अध्यक्षलाई बोर्डको कार्यकक्षमा समेत प्रवेश गर्न दिइने छैन ।’

उनीहरुले बोर्ड अध्यक्ष तथा संचालक बोर्डलाई समस्या समाधान तर्फ उन्मुख भई उचित निकास दिनका लागि पर्याप्त समय र अवसर हुँदा हुदै पनि ३९ दिनमा जम्मा एक पटक संचालक समितिको बैठक बसेको, संचालक बोर्ड समस्या समाधान गर्न उदासिन रहेको, एक पटक भन्दा बाहेक अनौपचारिक छलफलको प्रयास समेत नगरेको (सो बैठकमा समेत बोर्ड अध्यक्ष सहित जम्मा तीन जना संचालक उपस्थित भएको) हुँदा संचालक समितिको भूमिका समस्या समाधान तर्फ केन्द्रीत नभएको बताएका छन् ।

‘अर्थ मन्त्रालयको निर्णयले बोर्डको संचालक बोर्डले गरेको निर्णय खारेज गरेको हुँदा यसबाट कानूनी दुविधा सृजना भएको र यस्तो परिस्थितिमा कानूनको अन्तिम व्याख्या गर्ने निकाय अदालत भएको हुँदा, सृजित वर्तमान परिस्थितिको न्यायिक निरुपणका लागि संचालक बोर्डले निर्णय गरेमा कर्मचारी यूनियन र संगठन तथा कर्मचारीहरूले आन्दोलन टुङ्गाउदै काम फर्किने प्रतिवद्धता जनाए पनि बोर्ड अध्यक्ष र संचालक बोर्ड न्यायिक निरुपणको लागि अदालत जान सक्ने संविधान तथा ऐन प्रदत्त अधिकार प्रयोग नगर्ने अडान प्रति खेद प्रकट गर्दछौं,’ कर्मचारीले भनेका छन् ।

‘नेपाल सरकार, अर्थ मन्त्रालयबाट समेत धितोपत्र बोर्डमा सिर्जित बिषम परिस्थितिलाई संबोधन गर्ने यथोचित प्रयास नभएको र पूँजीबजारको नियामक बन्द गरेर पूँजी बजारको विकास र विस्तारको सरकार लक्ष्य प्राप्त हुन नसक्ने लगानीकर्ताहरूलाई जानकारी गराउदै, धितोपत्र बोर्डको संचालक बोर्डले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिव स्तरिय निर्णय अविलम्ब फिर्ता लिई बोर्डको स्वयात्तता अक्षुण्ण राख्न नेपाल सरकारसंग जोडदार माग गर्दछौं,’ कर्मचारीले भनेका छन् ।

लुम्बिनी विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले तोकिएको मापदण्ड पूरा नगरेको भन्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकमाथि कारबाही गरेको छ। राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणपछि तयार गरिएको प्रतिवेदन अनुसार, बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति गर्ने क्रममा तोकिएको नियम उल्लंघन गरेको पाइएको हो।

प्रतिवेदनमा उल्लेख अनुसार, पुनर्नियुक्ति गर्दा तोकिएको मितिमा उल्लेख गरिएको सेवा सुविधा छोटो समयमै वृद्धि गरिएको र यसरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ७ को व्यवस्था उल्लंघन भएको जनाइएको छ।

सो कारण राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको तत्कालीन सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ को खण्ड (क) बमोजिम सचेत गराउने निर्णय गरेको हो।
राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले आगामी दिनमा यस्ता कार्य दोहोर्‍याए थप कडा नियामक कदम चालिने चेतावनी समेत दिइएको छ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाः ६ महिनासम्म निक्षेप सुविधा

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिँदै गएको अधिक तरलतालाई व्यवस्थापन गर्न नयाँ मौद्रिक व्यवस्था लागू गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग रहेको अतिरिक्त तरलता ६ महिनासम्मका लागि केन्द्रीय बैंकमा निक्षेप राख्न पाउने भएका छन्।

राष्ट्र बैंकले बुधबार १ सय ७५ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलनको प्रस्ताव आह्वान गरेको थियो । यसअघि कात्तिक ९ गते मात्र राष्ट्र बैंकले ९० अर्ब रुपैयाँको ४२ दिने निक्षेप संकलनका लागि आह्वान गरेको थियो।

विगतमा केन्द्रीय बैंकले अधिकतम ६४ दिनसम्मका निक्षेप संकलन गर्दै आएकोमा यो पहिलो पटक ६ महिनासम्मको अवधिका लागि निक्षेप लिन लागेको हो। सामान्यतया ४, ७, १०, ११, १२ र २१ दिनका लागि निक्षेप संकलन गर्दै आइँदै आएको थियो।

राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्माका अनुसार खुला बजार व्यवस्थापन समितिले गरेको अध्ययन र प्रक्षेपणका आधारमा निक्षेप संकलनको समयावधि बढाइएको हो।

उनका अनुसार अबको केही समय बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहिरहने प्रक्षेपणका आधारमा यो व्यवस्था गरिएको हो । अहिलेलाई ४० अर्ब रुपैयाँ मात्रै छ महिनासम्म राख्न मिल्ने व्यवस्था गरिएको छ, तर आवश्यकता परे फेरि पनि लामो अवधिका लागि निक्षेप लिन सकिनेछ ।

राष्ट्र बैंकले लामो अवधिको निक्षेप संकलन गर्दा ब्याजदर कोरिडोरलाई सीमा भन्दा माथि जानबाट रोक्न सहज हुने देखिएको छ। राष्ट्र बैंकका तथ्यांक अनुसार, हाल ७ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम बैंकिङ प्रणालीमै थुप्रिएको छ।

व्यवसाय बढाउन नसकेपछि मुद्दती निक्षेपमा बैंकहरुको अनिच्छा

बैंक तथा वित्तीय संस्थाले लगानी बढाउन नसकेर तरलता थुप्रिएपछि संस्थागत निक्षेपमा रुची देखाउन छोडेका छन्।
ब्याजदर घटेर तल्लो विन्दुमा आएका बेला लागत कम पर्ने भए पनि कर्जा लगानी बढाउन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत निक्षेपमा अनिच्छा देखाउन थालेका हुन्। बैंकहरुको अनिच्छाका कारण मुद्दतीमा संस्थागत निक्षेप खुम्चिएको छ। चालु आर्थिक वर्ष पछिल्लो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दतीमा संस्थागत निक्षेप ६ अर्ब ५८ करोड रुपैयाँ खुम्चिएको हो।

कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदी मुद्दती निक्षेपमा लगानी गर्नका लागि प्रस्ताव माग गर्दा बैंकहरुले रुची नै नदेखाएको बताउँछन्। ‘संस्थागत मुद्दतीको ब्याजदर व्यक्तिगतमा १ प्रतिशत कम हुनुपर्ने भन्ने छ। तर, अहिले बैंकहरुले व्यक्तिगतमा ५/६ प्रतिशत ब्याजदर दिए पनि संस्थागतमा २.७५ प्रतिशतमा झारेका छन्,’ सुवेदीले भने, ‘त्यही ब्याजदरमा लगानी गर्नका लागि प्रस्ताव आह्वान गर्दा पनि बैंकहरुले बिड गरिरहेका छैनन्।’

चालु आर्थिक वर्ष दुई महिनामा कोषको मुद्दती निक्षेपमा लगानी ९ अर्ब ८९ करोड रुपैयाँले खुम्चिएको छ। बैंकहरुले मुद्दतीमा निक्षेपमा पैसा राख्न नचाहेपछि कोषले सरकारी सुरक्षणपत्र र सञ्चयकर्तामा लगानी बढाइरहेको छ। ‘हाम्रा सञ्चयकर्ता धेरै छन्। उनीहरुलाई विभिन्न ६ प्रयोजनका लागि कर्जा दिइरहेका छौं,’ सुवेदीले भने, ‘सञ्चयकर्तालाई न्यून ब्याजदरमा लगानी गरिरहेका छौं।’ सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई स्पेशल कर्जा, घर कर्जा, शैक्षिक कर्जा, सजिलो कर्जा, घर मेन्टिनेन्स कर्जा र जग्गा खरिद कर्जा दिने गरेको छ।

मुद्दती निक्षेपमा लगानी नागरिक लगानी कोषको २ अर्ब ३५ करोड र अन्य संस्थागत लगानीकर्ताको ८ अर्ब २६ करोडले खुम्चिएको छ। सामाजिक सुरक्षा कोषका एक कर्मचारीले बैंकहरुले पैसा लिन नमानेपछि सरकारी र अन्य संस्थाको ऋणपत्रमा लगानी बढाउन थालेको बताए। ‘बैंक तथा वित्तीय संस्थाहरुले थोरै थोरै रकमका लागि मात्र बिड गर्ने, त्यसमा पनि एकदमै कम ब्याजदरमा,’ ती कर्मचारीले भने, ‘त्यही कारण अहिले ऋणपत्र लगायत अन्य इन्स्ट्रुमेन्टमा लगानी बढाइरहेका छौं।’

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको लगानी भने बढेको छ। पछिल्लो दुई महिनामा मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको लगानी १३ अर्ब ९३ करोडले बढेको छ। तर यो रकम पोहोरको वृद्धिको तुलनामा भने कम हो। पोहोर दुई महिनामा बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा १४ अर्ब ९९ करोड रुपैयाँ लगानी गरेका थिए। कर्जा लगानी बढाउन नसकेर लगानीयोग्य रकम थुप्रिएका कारण संस्थागत निक्षेप स्वीकार गर्न चासो नदिएको एक बैंकका सीइओले बताए।

‘अहिले कर्जाको माग छैन। तरलता निरन्तर बढिरहेको छ। तरलता थुप्रिंदा हाम्रो लागत बढ्छ,’ ती सीइओले भने, ‘लागत बढ्छ भनेर व्यक्तिगत निक्षेप राख्दिन भन्न पाइँदैन। व्यक्तिगत निक्षेप आइरहेके छ। हामीलाई संस्थागत निक्षेपको तुलनामा व्यक्तिगत निक्षेपको हिस्सा धेरै हुनु राम्रो पनि हो।’

चालु आर्थिक वर्ष असोज मसान्तसम्म वाणिज्य बैंकहरुले करक्जा लगानी जम्मा ४४ अर्बले बढाएका छन्। जबकि सोही अवधिमा निक्षेप झन्डै २ खर्ब रुपैयाँ थपिएको छ। अहिले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) हेर्दा प्रणालीमा झन्डै ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ। जसमध्ये ७ खर्ब ९३ अर्ब रुपैयाँ राष्ट्र बैंकले खिचिरहेको छ।

ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशत तल ब्याजदर आउन नदिन राष्ट्र बैंकले प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ।