जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बिग मर्जर आवश्कता की बाध्यता ?

बिग मर्जर आवश्कता की बाध्यता ?

नेपाली बैंक तथा वित्तिय संस्थाहरुमा अहिले बिग मर्जरको चर्चा मात्रै छैन । को कससंग बिग मर्जर गर्ने बारे छलफल र बहस नै शुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट मार्फत बैंक र वित्तिय संस्था बिग मर्जर गर्न चाहनेहरुलाई आय करमा छुट दिने प्रस्ताब गरेका थिए । यसैमा टेकेर असार तेस्रो साता आउने नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा बिग मर्जरलाई महत्वका साथ ल्याउने भएपछि विशेषगरी वाणिज्य बैंक र विकास बैंकका सञ्चालक र बैंकरहरुबीच बिग मर्जर बारे गहन छलफल शुरु भएको देखिन्छ । के बिग मर्जको आवश्यकता छ त भन्ने प्रश्न गर्दा नेपाल बैंकर संघका पूर्व अध्यक्ष एवं नबिल बैंकका सीइओ अनिल केशरी शाह भन्दछन्ः सर्वप्रथम बिग मर्जर के को लागि हो मौद्रिक नीति मार्फत प्रस्ट आउनु प¥यो । डण्डा लगाएर होइन सहुलियत दिएर बिग मर्जर हुनु पर्दछ । अनुभवी बैंकर शाहले थपेः– मेरो संस्था नबिल बैंकलाई बिग मर्जरको आवश्यकता छैन । नबिल बैंकले मर्जर पनि गर्दैन । नेपाली २८ बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघले समेत औपचारिकरुपमै मर्जर नीति ल्याउन राष्ट्र बैंकको मौद्रिक नीति मार्फत माग गरेर सुझव दिएको अवस्था छ । संघले यस कामको लागि दर्जनौ सुविधा समेत माग गरेका छन् । सिसिडी रेसियो मेन्टेन देखि बोर्ड सदस्य सख्यामा समेतको सुविधा माग गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालको कार्यकाल आगामी चैतमा सकिँदैछ । गर्भनर नेपालसंग ८ महिनाको समय बाँकी छ । ८ महिनाको समयभित्र कम्तिमा मर्जरको ‘सैद्धान्तिक स्वीकृति’ सक्ने मुड गभर्नर छन् । यस अवधिमा केही बैंकलाई ‘अन्तिम स्वीकृति’ दिएर एकिकृत कारोबार गराउन पनि सकिने बुझाइ राष्ट्र बैंक देखिन्छ । जाँदा जाँदै गर्भनर डा. नेपालले बिग मर्जरको जस लिएर जान चाहेको प्रस्टै छ ।
यसको संकेत राष्ट्र बैंकका अधिकारीहरुले बैंक ब्यवस्थापन र सञ्चालक समिति सदस्यहरुलाई दिइसकेका छन् । त्यसैले पनि बैंकरहरु मर्जरका लागि उपयुक्त पार्टर खोज्न छलफलमा जुटेको एक सञ्चालकले राजतिलक साप्ताहिकसंग बताए ।
कतिपय बैंकको सञ्चालक समितिले कुन बैंक उपयुक्त हुन्छ भनेर विश्लेषण गर्ने जिम्मा व्यवस्थापनलाई दिइसकेको ती सञ्चालकको दाबी छ । ती बैंकहरुले वासलातको चिरफार गरेर ‘हाम्रा लागि यो उपयुक्त हुन्छ’ भनेर ‘पावर पोइन्ट प्रिजेन्टेसन’ पनि दिन थालेको भेटिएको छ ।
एक सीइओले नाम नलेख्ने सर्तमा भनेः– भर्खरै केही विकास बैंकलाई गाभ्ने सहमति गरेको प्राइम कमर्सियल बैंकको सेञ्चुरी बैंकसँग कुराकानी चलिरहेको छ । यी दुई बैंकमा केही साझा लगानीकर्ता पनि छन् । अहिले प्राइम बैंक ठूलो समस्यामा छ । एकातिर जुनसुकै बेला अर्को बैंकमा सर्नसक्ने कल डिपोजिटको हिस्सा ठूलो छ भने दृष्टीबन्धक गरिसकेको अवस्थामा पनि कबुल गरेको ऋण रकम दिन सकेको अवस्था छैन । त्यसैले प्राइम बैंकले अहिले तरलता सहज हुने र कल डिपोजिटको मात्रा कम हुने गरी मर्जरका लागि पार्टनर खोजिरहेको सञ्चालकले दाबी गरे ।
चन्द्र ढकालको ग्लोबल आईएमई बैंकले पनि पार्टनर खोज्न जुटेको छ । आधा दर्जन संस्थालाई गाभेको ग्लोबल आईएमईको पहिलो रोजाइमा मेगा बैंक देखिन्छ ।
सानिमा बैकको पहिलो रोजाइमा भने बैंक अफ काठमाण्डू (बिओके) छ। उसको दोस्रो विकल्प भने लक्ष्मी बैंक हो । लक्ष्मीमा राजेन्द्र खेतान समूहको बहुमत शेयर भएकाले त्यहाँ अल्पमतमा परिने हो कि भन्ने डर सानिमा पक्षलाई छ । नबिल बैंकले सानिमालाई केही समयअघि मर्जरका लागि अनौपचारिक प्रस्ताव गरिसकेको खुलेको छ । अहिले अधिकांस बैंकको आँखा भने बिओकेमाथि छ । प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त ‘फर्स्ट जेनेरेसन बैंकर’ भएकाले अब निरन्तरता नदिने भएकाले अर्को बैंकलाई व्यवस्थानपन ‘टेकअप’ गर्न सहज हुने बुझाइ बैंकरहरुको रहेको छ । तरलता अभाव र केही ठूला ऋणमा समस्या परेका कारण मेगा बैंक पनि यतिबेला मर्जर पार्टनर खोजिरहेको छ। मेगाले कोसँग मर्जर गर्ने भनेर प्रकृया भने अगाडि बढाएको छैन। सञ्चालक समितिभित्रै रहेको पुरानो मर्जर समितिले विकास बैंकहरुसँग मर्जर गर्दा सजिलो हुने भन्दै केहीको नाम सिफारिस गरेको देखिन्छ ।
सिभिल बैंकले आधा दर्जन संस्थालाई प्रस्ताव गरिरहेको छ। सिटिजन्सदेखि जनता बैकसम्म सिभिलको अनौपचारिक कुराकानी भएको छ । प्राइम बैंकसँग मर्जर टुटेपछि ओमलाई गाभ्न खोजेको सिटिजन्स पनि पार्टनरको खोजीमा छ। ओमले एनएमबी बैंकसँग मिसिने निर्णय गरिसकेको छ। ऋणको गुणस्तरमा आश्वस्त हुन सके संभवत सिटिजन्स र सिभिलको कुराकानी अगाडि बढेको एक सञ्चालकको दाबी छ ।
मर्जरको चर्चामा सँधै रहने तर प्रकृया नथाल्ने नेपाल बंगलादेश बैंकले पनि ग्लोबलपछि सिटिजन्ससँग कुराकानी गरेको दाबी गरेको छ ।
बैंकरहरुका अनुसार, केही बैंकबाहेक बाँकी सबैको सबैसँग कुनै न कुनै रुपमा मर्जरको बिषयमा कुराकानी भइरहेको छ। मर्जरको सूचीमा सरकारी तीन बैंकका साथै, स्टान्डर्ड चार्टर्ड र नेपाल एसबिआइ बैंक भने छैन भन्दा फरक पर्दैन । कुराकानी गर्ने तर मर्जर नगर्ने चरित्रको भन्दै एभरेष्ट बैंकलाई पनि कसैले मर्जरको सूचीमा राखेका छैनन् । आफ्नै हिसाबले वासलात ठूलो बनाएको एनआइसी एसिया बैंकसँग पनि कसैको नाम जोडिएको पाइदैन । यस बाहेक सबै बैंक मर्जरका लागि युद्धस्तरमै छलफलमा छन् भन्दा फरक पर्दैन । ठूला भनिएको नबिलसँग सानिमाको नाम जोडिएको छ भने नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जर हुन सक्ने आँकलन गरिएको छ । तर दुबै बैंकले मर्जरका लागि कुनै पनि छलफल नभएको दाबी गरेका छन् । माछापुच्छ्रे बैंक सकभर विकास बैंकलाई गाभ्ने नभए मात्र बाणिज्य बैकलाई गाभ्ने रणनीतिमा देखिएको छ ।
प्रभु र जनता बैकबीच पनि अनौपचारिक कुराकानी भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक मर्जरका लागि इच्छुक देखिए पनि कसैले पनि उसलाई मर्जरको प्रस्ताब भने गरेको छैन। सनराइज बैंकको सञ्चालक समितिमा रत्नराज बज्रचार्य प्रमुख कार्यकारी हुँदा सामान्य छलफल भएपनि पछिल्लो समय कुराकानी अगाडि बढेको छैन । स्रोतहरुका अनुसार बज्राचार्यका पालामा सिद्धार्थ बैंक उपयुक्त हुने बारे छलफल भएको हो ।
कुन बैंकले कसलाई भित्र्याउने र किन र कसरी भित्र्याउने भन्ने बारे अहिले ठूलो बैंकका ठूला माछाहरुले साना नयाँ बैंकका साना माछा कसरी खाने भन्ने बारे छलफल र बहस भएको समाचार हेर्न र पढ्न पाइन्छ ।
बिग मर्जर आवश्यकता हो कि बाध्यता यी दुवै पक्षलाई गम्भिररुपमा लिनु पर्दछ । साना बैंकहरुका लागि बिग मर्जर बाध्यता नै हो तर ठूला बैंकका लागि सबै कुरा पु¥याउन आवश्यकता बिग मर्जर हुन पनि सक्दछन । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बिग मर्ज गर्न निर्देशन दिए कसले कसरी मर्जर गर्ने हो त्यो भने हेर्न बाँकी छ । तर, नेपालमा बिग मर्जर आवश्यकता होला तर फोर्स मर्जर हुन भने हुँदैन । सचेत भया । राजतिलक साप्ताहिक

5290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका