![](http://aarthikbazarnews.com/wp-content/uploads/2024/07/960x-100.gif)
![पाँच जीवन बीमा कम्पनीको पुगेन चुक्ता पूँजी](http://aarthikbazarnews.com/wp-content/uploads/2019/08/Life-insurance-1024x456.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
बीमा कम्पनीहरुले चुक्ता पूजी पुर्याउन आलटाल गरेर पुँजी बृद्धि गर्न अटेर गर्ने बिदेशी बीमा कम्पनीहरुलाई बीमा समितिले लाभांश लैजान नदिने, स्वदेशी नै बीमा कम्पनीहरुलाई पनि पुँजी बृद्धि नगरी अन्य नयाँ योजनामा काम गर्न नदिने बताए पनि नेपालका कतिपय बीमा कम्पनीहरुको चुक्ता पनि पुगेको छैन तैपनि बीमा समिति मौन बसेको छ ।
गत असार मसान्तसम्म तोकिएको चुक्ता पुँजी पुर्याउने समय सीमा बमोजिम ८ जीवन बीमा कम्पनीमध्ये ३ वटाले मात्र पुर्याएका छन् । नेपाल विभिन्न बीमा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्सले मात्र तोके बमोजिम चुक्ता पुँजी पुर्याएका देखिन्छ ।
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६० लाख ६० हजार छ । त्यस्तै एसियन लाइफले २ अर्ब १ करोड ७ लाख ६० हजार चुक्ता पुँजी कायम गरेको छ भने नेसनल लाइफ ३ अर्ब ७४ लाख ४० हजार पुर्याउन सफल भएको छ ।
असार मसान्तपछिको अवस्थामा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले पनि तोके बमोजिम चुक्ता पुँजी कायम गरेको छ । कम्पनीले साउन २४ गते वार्षिक साधारणसभा सम्पन्न गरी आव २०७४र०७५ को मुनाफाबाट ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले निर्धा्रित चुक्ता पुँजी पुर्याएको हो । उक्त बोनसपश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ९९ लाख ५९ हजार पुगेको छ ।
हालसम्म सबैभन्दा कम चुक्तापुँजी राष्ट्रिय बीमा संस्थानको छ । १८ करोड १० लाख चुक्ता पुँजी रहेको संस्थानले पुँजी वृद्धिका लागि बोनस, हकप्रद शेयर र आईपीओको बाटो रोजेको छ । आव २०७४र०७५ मा संस्थापक र सर्वसाधारणतर्फको शेयर स्वामित्व कायम भएपछि हुने चुक्ता पुँजी ४५ करोड ८५ लाखको १ बराबर ३ दशमलव ३७ को अनुपातमा १ अर्ब ५४ करोड ५१ लाख ४५ हजार बराबरको हकप्रद शेयर जारी गर्ने योजना संस्थानको छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्ने तयारीमा संस्थान रहेको हो ।
हकप्रदपश्चात् संस्थानको चुक्तापुँजी २ अर्ब ३६ लाख ४५ करोड पुग्नेछ । संस्थानले बीमांकीय मूल्यांकनबाट प्रक्षेपित अनुमानित बोनस शेयरमा थपघट हुन गएमा हकप्रद शेयर प्रतिशतमा पनि हेरफेर हुन सक्ने बताएको छ । गत कात्तिक १७ गतेको ३०औं वार्षिक साधारणसभाबाट आव २०६५र०६६ सम्मको वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गरेको संस्थानले त्यसपछिको वार्षिक साधारणसभा गर्न सकेको छैन ।
९२ करोड ९४ लाखभन्दा बढी चुक्तापुँजी रहेको गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । साउन २० गते कम्पनीले बिक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटललाई नियुक्त गरेको हो । यो हकप्रदपश्चात् गुराँसले तोकेबमोजिम चुक्तापूँजी कायम गर्नेछ । सूर्या लाइफले भदौ ८ गतेदेखि ७० प्रतिशत हकप्रद जारी गर्दैछ । उक्त हकप्रदपश्चात् कम्पनीको पनि तोकेबमोजिम चुक्ता पुँजी पुग्ने देखिन्छ ।
प्राइम लाइफले भने अघिल्लो आव २०७४र०७५ को वार्षिक साधारणसभा गर्न सकेको छैन । हाल १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार चुक्तापुँजी रहेको यस कम्पनीलाई तोकेबमोजिम पूँजी कायम गर्न २१ करोड ५१ लाख ६५ हजार थप पुँजी आवश्यक छ । बीमा समितिले जीवन बीमा कम्पनीको हकमा २ अर्ब चुक्तापुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ । पुराना ९ जीवन बीमा कम्पनीले भने बोनस शेयर र हकप्रदमार्फत पुँजीवृद्धि योजना अघि सारेका थिए । नयाँ १० जीवन बीमा कम्पनीले पनि सञ्चालनपूर्व नै सर्वसाधारणलाई आईपीओ जारी गरी तोकेबमोजिम चुक्तापुँजी कायम गर्ने शर्तमा स्वीकृति पाएका हुन् । कतिपय नयाँ जीवन बीमा कम्पनी आईपीओका लागि साधारणसभामार्फत प्रस्ताव पारित गरी प्रक्रियामा गइसकेका छन् ।