जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • आईजीपीको रेसमा थापा की ज्ञावली ?

आईजीपीको रेसमा थापा की ज्ञावली  ?

नेपाल प्रहरी प्रमुखको बढुवा भनौ वा नियुक्ती बिगत केही वर्षदेखि विवादित बन्दै आएको छ । संगै जागिर खाएका एउटै ब्याजका प्रहरी अधिकृत तहहरुमा एउटा आईजीपी बन्दा अर्कोले राजीनामा दिएका घटना हामी सामू छन् । यस अगाडी सर्वेन्द्र खनाल आईजीपी बन्दा रमेश खरेलले राजिनामा नै दिए यी त पात्र मात्रै हुन् ।

नेपाल प्रहरीमा जागिर खाएपछि प्रहरीको प्रमुख पद आईजीपी बन्ने सपना सबैमा हुन्छ । तर, त्यो पद समय, परिस्थिति र भाग्यले नै निर्धारण गर्ने गरेको देखिन्छ ।
अहिले नेपाल प्रहरीको आईजीपीमा ठाकुर प्रसाद ज्ञवली छन् । उनीको पदावधी केही दिन मात्रै बाँकी छ । नेपाल प्रहरीमा अहिले दुई जना एआईजीलाई भावी आईजीपीका रुपमा हेरिन थालिएको छ ।
असार २५ गते पछि प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) शैलेश थापा (क्षेत्री) र हरि बहादुर पाल मध्ये १ जनाले आईजीपी पद पाउने पक्का पक्की नै छ । २८ औं आईजीपी को बन्ला कसले सो पदमा बाजी मार्ला अहिले प्रहरी अधिकृतहरु बीच नै चासो र चर्चा शुरु भएको छ ।

तर दुई जनाका बीचमा आईजीपी बन्नकै लागि एकले अर्कोलाई बदनाम नगर्ने र जो आईजीपी बनेपनि भोलीका दिनमा मिलेर काम गर्ने समझदारी बनिसकेको प्रहरी उच्च स्रोतको दाबी छ ।
आईजीपीको दौडमा लागेपछि एकले अर्कोलाई बदनाम गराउने प्रहरीभित्र नियमजस्तै बनिसकेको छ । त्यसमा हालका आईजीपीको पालामा ब्रेक लागेको देखिन्छ । नेपाल प्रहरीमा यस्तो दृश्य कमै देख्न पाइन्छ । तर, यस पटकको प्रतिस्पर्धा विवादरहित हुने स्रोतको दाबी छ ।

‘आईजीपी बन्न आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने कुरा त भै नै हाल्यो तर जो बने पनि एक अर्कालाई सहयोग गर्ने हामीले सहमति नै गरेका छौँ’ एआईजी हरि बहादुर पालले पंक्तिकारसंग भने ‘आफू नेतृत्वमा पुग्न अरुलाई बदनाम गराउन लाग्नु भनेको सिंगो संगठनका लागि नराम्रो हो नि ।

संगठनको प्रमुखले कसैलाई काखा, कसैलाई पाखा नगरेर काम गर्नुपर्छ भन्दै पालले आफ्नो प्रतिस्पर्धी नठानेर सेकेन्डमेनसँग पनि आवश्यक सुझाव सल्लाह लिएर काम गर्दा राम्रो काम हुने तर्क गरे ।
अर्का प्रतिष्पर्धी एआईजी शैलेश थापा क्षेत्रीले पनि दुबै जनामा अस्वस्थ प्रतिस्पर्धा नगर्ने सहमति भएको बताए । ‘हामी दुबै एकदमै मिल्ने साथी हौँ, मित्रवत सम्बन्ध छ,’ थापाले भने, ‘जो भए पनि मिलेर काम गर्छौँ नि ।’
आईजीपीको दौडमा लाग्दालाग्दै एकले अर्कोलाई नस्वीकार्ने बरु जागिरै छोड्नेसम्मका घट्ना नेपाल प्रहरीमा विगतमा भए गरेका हुन । तर, यसपटक त्यस्तो किचलो नहुने उच्च प्रहरी अधिकृतहरु कै दाबी छ । नेपाल प्रहरीमा यसपटक लामो समयपछि एआईजीबाट आईजीपी छानिँदैछन् । यसअघि प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट सीधै आईजीपी बनाउनु पर्ने अवस्था थियो ।

माघ २८ गते आईजीपी भएका ज्ञवालीको कार्यकाल सकिन अब केही दिनमै सकिदै छ । पहिलो नम्बरमा एआईजीमा बढुवा भएका तारिणीप्रसाद लम्साल पनि सेवा हदका कारण ज्ञवालीसँगै घर जाँदै छन् ।
भावी आईजीपीका प्रतिस्पर्धी एआईजीद्वय पाल र थापा दुबैले एकैसाथ २०४९ बैशाख १९ गते जागिर प्रवेश गरेका हुन् । जागिर प्रवेशसँगै जागिर अवधिभर भएका हरेक बढुवामा पनि दुबै जना सँगसँगै बढुवा भएको देखिन्छ ।
डिएसपी बढुवादेखि एआईजी बढुवासम्म सँगै रहेका यि दुई जना अबको बढुवामा भने सँगैसँगै हुने छैनन् । एक जना करिब २२ महिना संगठन प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् भने एक जनाले एआईजीबाटै सेवाबाट विदा हुनुपर्ने प्रस्टै देखिन्छ ।

सुदूरपश्चिमको दार्चुलाका एआईजी पालले सुदूरपश्चिमबाटै सेवा सुरु गरे भने भक्तपुरका थापाले प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सेवा सुरु गरेका देखिन्छ ।
प्रहरी निरीक्षकमा पहिलो नम्बरमा भर्ती भएका शैलेश थापा क्षेत्री धेरै पटक वरियतामा पछि परे । ११ औं नम्बरमा भर्ती भएका हरि बहादुर पालले आफूभन्दा माथिल्लो बरियतामा रहेका धेरैलाई उछिनेर अगाडि आएको देखिन्छ ।
२०५८ वैशाख १८ गते डीएसपीमा बढुवा हुँदा थापा २ नम्बर र पाल १३ औं नम्बरमा थिए । तर त्यसको आठ वर्षपछि २०६६ साल पुष २० गते एसपी बढुवामा थापा तेस्रो नम्बर र पाल पाँचौं नम्बरमा थिए । २०७४ साउन १९ गते भएको एसएसपीमा बढुवा हुँदा थापा पहिलो नम्बरमा र पाल चौथो नम्बरमा थिए । जसमा निरज शाही दोस्रो र प्रद्युम्न कार्की तेश्रो नम्बरमा एसएसपी भएका थिए ।
२०७५ असोज २० गते सरकारले ११ डीआईजी बढुवा गर्दा थापा छैठौं र पाल सातौं नम्बरमा थिए । उनीहरुभन्दा पछाडि शाही र कार्की आठौं र नवौं नम्बरमा बढुवा भए । ६० जनाले सँगै जागिर सुरु गरेकामा डिआईजीसम्म पुग्ने उक्त व्याजका यि चार जना मात्र हुन् ।

२०७६ फागुन १५ गते सरकारले एआईजीपीको बढुवा सूचि सार्वजनिक गर्दा थापा दोस्रो र पाल तेस्रो नम्बरमा एआईजीमा बढुवा भएका थिए । आईजीपीका प्रतिस्पर्धी दुबै जना व्यवसायीक र क्षमातावान अधिकृतका रुपमा चिनिन्छन । पालले जागिर अवधिको अधिकांश समय फिल्डमै बिताएका छन् भने थापा अनुसन्धान र अप्रेसनमा अब्बल मानिन्छन् ।
पालले डीएसपी हुँदा अपराध महाशाखा, जिल्ला प्रहरी परिसर काठमाडौं, बौद्ध, नुवाकोट र डडेलधुरामा काम गरे । एसपी हुँदा महानगरीय प्रहरी कार्यालय काठमाडौं, जनकपुर, रुपन्देही र कास्कीमा काम गरेका थिए ।
एसएसपी हुँदा अञ्चल प्रहरी कार्यालय कोसी र डीआईजी हुँदा प्रदेश २ को नेतृत्व गरेका छन् । यस्तै, विशेष ब्युरोमा रहँदा उनको भूमिका प्रशंसनीय छ । एआईजीमा बढुवा भएपछि कार्य एवं अनुसन्धान विभागको नेतृत्व सम्हालिरहेका छन् ।
पाल पूर्वी टिमोर र इराक गरी दुई देशमा मिसनमा गएका गएका थिए । थापा बोस्निया, पूर्वी टिमोर र सुडान गरी तीन देशमा मिसनमा गएका थिए । जागिरको अधिकांश समय प्रहरी प्रधान कार्यालय र प्रशिक्षण प्रतिष्ठानमा बिताएका थापा डीएसपी हुँदा धादिङ र एसपी हुँदा कास्की तथा झापा प्रहरीको नेतृत्व सम्हालेका थिए ।

प्रहरी प्रवक्ता भएका थापाले महानगरीय प्रहरी कार्यालयको नेतृत्व पनि सम्हालेका छन् । एआईजीमा बढुवा भएपछि थापा मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन् ।
जे भए पनि यस पटक यी दुई एआईजी पाल र थापाबाट एक जनालाई सरकारले नेपाल प्रहरीको प्रमुख प्रहरी महानिरिक्षक (आईजीपी) बनाउने देखिन्छ ।
जानकारहरु भन्दछन् ः– यसपटक यी दुई मध्ये थापाको पल्लाभारी हुने छ । थापाको केही उच्च राजनीतिक नेताहरुसंग उठबस रहेको छ ।
पाल सुदुरपश्चिमका हुन् । उनीको पनि नेताहरुसंग उठबस रहे पनि उनीलाई प्रतिपक्ष पाटीसंग नजिक रहेको आरोप लगाउने गरिन्छ । सचेत भया । (राजतिलक साप्ताहिकबाट)

7800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका