जोडिनुहोस
आइतवार, जेष्ठ २०, २०८१
आइतवार, जेष्ठ २०, २०८१
  • होमपेज
  • पिपुल्स हाइड्रोपावरको आईपीओ असोज ३० गतेसम्म विक्रीमा रहने

पिपुल्स हाइड्रोपावरको आईपीओ असोज ३० गतेसम्म विक्रीमा रहने

पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३० गतेदेखि विक्री खुला गरेको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको हो । यो आईपीओ विक्रीको लागि छिटो अवधि असोज १४ गतेसम्म तोकिएको थियो । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि असोज ३० गतेसम्मको मिति तय गरिएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रू. ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आईपीओ स्थानीयमा वितरण गर्न लागेको हो । कुल कित्ता आईपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका (तत्कालीन ढोढेनी र फलेनी गाविस) का वडा नं. ६ र ७ का स्थानिय बासिन्दाका लागि ३० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात् २२ लाख ४० हजार कित्ता छुट्याईएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिने सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
यसका साथै ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्स्टेन्सन काउण्टर, एनएमबि बैंकको भोटेओडार शाखा, सिद्धार्थ बैंकको बेंसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट समेत भौतिक रुपमा आवेदन दिन सकिने व्यवस्था रहेको छ । आयोजना प्रभावित स्थानीयले आस्बा सेवामार्फत आवेदन दिन नसकिने जानकारी कम्पनीले दिएको छ ।

यस कम्पनीले लमजुङ्ग जिल्लामा ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजना “ख” को निर्माण कार्य गरिरहेको छ । साउन मसान्तसम्मको आयोजनाको निर्माण कार्य ९२ प्रतिशत सम्पन्न भैसकेको जानकारी कम्पनीले आव्हानपत्र मार्फत गराएको छ । यस आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसहित रू. १० अर्ब ३९ करोड हुने अनुमान गरिएको छ ।

प्रतिमेगावाट लागत भने रू. १९ करोड २४ लाखभन्दा बढी हुने अनुमान कम्पनीको छ । हाल संस्थापक तर्फ रू. २ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीले सर्वसाधारण शेयरधनीतर्फ आयोजना प्रभावित स्थानीयमा पहिलो चरणमा आईपीओ जारी पश्चात् दोस्रो चरणमा कम्पनीको कर्मचारी सहित सर्वसाधारणमा आईपीओ जारी गर्नेछ । संस्थापक तर्फ ७५ प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा १५ प्रतिशत शेयर वितरण गर्नेछ । दुई चरणमा आईपीओ विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब २० करोड कायम हुनेछ ।

2185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका