जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

२ महिनामा भित्रियो साढे ३ खर्ब रुपैयाँ रेमिट्यान्स

चालु आर्थिक वर्षको २ महिनाको अवधिमा साढे ३ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार भदौमा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार क५८३ रहेको थियो

एनआईसी एशियाका ग्राहकलाई नवलपुरको अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले नवलपुरमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस बैंकका ग्राहक महानुभावहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

अर्थमन्त्री खनालको विश्व बैंक र आईएमएफसँग भेटवार्ता

अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उप प्रवन्ध निर्देशक बो लीसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि.सि.मा रहेका खनालले भेटवार्ता गरेका हुन् ।


विश्व बैंकका प्रवन्ध निर्देशक बेजर्डेसँगको भेटमा अर्थमन्त्री खनालले नेपालमा भएको जेन जी समुहको प्रदर्शनपछि बनेको सरकारको मुख्य काम तोकिएको समयमा निर्वाचन गराउनुका अतिरिक्त सुशासन र उत्तरदायित्व प्रवद्र्धन गर्नु भएको बताए ।

उनले वर्तमान सरकार व्यवसायिक वातावरण सुधारका लागि गर्नुपर्ने संस्थागत र प्रक्रियागत सुधारका कार्यलाई तिव्रता दिन र कानुनी सुधारका लागि पूर्वतयारी कार्य गर्न कटिबद्ध रहेको बताए ।


विश्व बैंक समुहले नेपालको विकास प्रयासमा गरिरहेको सहयोग प्रति धन्यावद व्यक्त गर्दै आगामी दिनमा बैंकसँगको सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गरे । सो अवसरमा विश्व बैंकका प्रवन्ध निर्देशक बेजर्डे अन्तरिम सरकारसँग काम गर्न विश्व बैंक इच्छुक भएको उल्लेख गर्दै आर्थिक र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका विषयमा अर्थमन्त्रीसँग छलफल गरे ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको उप–प्रवन्ध निर्देशक बो लीसँगको भेटमा अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपालको आर्थिक सुधारमा गरेको सहयोग र सहकार्य प्रति धन्यवाद दिए ।

मन्त्री खनालले हाल अन्तराष्ट्रिय मुद्रा कोषसँगको सहकार्यमा संचालित विस्तारित कर्जा सुविधा सम्बन्धी बाँकी सुधारका कार्यलाई अघि बढाइने र आगामी दिनमा कोषसँगको सहकार्य मजबुत बनाइने उल्लेख गरे । सो अवसरमा अन्तर्राष्ट्रिय मुद्रा कोष उप–प्रवन्ध निर्देशक बो लीले विस्तारित कर्जा सुविधाको छैठौं समीक्षा सफलतपूर्वक सम्पन्न भएकोमा बधाई दिदै आगामी आर्थिक सुधारका लागि कोषको निरन्तर सहयोग रहने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो। आजै अर्थमन्त्री खनाले नेपाल अमेरिका चेम्बर अफ कमर्शद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लगानीयोग्य वातावरण निर्माण गर्न सरकार दृढ रहेको जानकारी दिए । उनले कर सम्बन्धी कानुनमा देखिएका अस्पष्टता हटाइने, नाफा फिर्ता प्रक्रिया सरलीकरण गर्ने र लगानीकर्ताले लगानी स्वीकृत गराउँदा र व्यवसाय बन्द गर्दाका प्रक्रिया सजिलो पार्ने विश्वास दिलाए ।

उक्त अवसरमा विभिन्न कम्पनीका प्रतिनिधिहरुले नेपालमा कर कानुन र अन्य नियमनकारी निकायका कतिपय निर्णय र प्रावधानले लगानीकर्ताहरुलाई असहज बनाएको उल्लेख गरेका थिए ।

अर्थमन्त्री खनालले कर कानुनका विषयमा आर्थिक ऐन तर्जुमा हुने क्रममा पर्याप्त छलफल गरी टुँगो लगाइने र अन्य विषयमा समेत पर्याप्त अनुसन्धान र विकासका माध्यमबाट नीतिगत र कानुनी सुधार गरिने बताए ।

आजै अर्थमन्त्री खनालले विश्व बैंक समुहका दक्षिण एशिया हेर्ने उपाध्यक्ष जोहानेस जुटसँग भेट गरी हाल विश्व बैंकका तर्फबाट नेपालमा सञ्चालित विकास आयोजना र तीनको कार्यान्वयनमा क्रममा देखिने गरेका समस्याका विषयमा छलफल गरेका छन् ।

कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले लिए सपथ

कामना सेवा विकास बैंकको सञ्चालक समिति अध्यक्ष सुदिप आचार्यले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

बैंकको गत शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट निर्वाचित आचार्यलाई सोही दिन बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा चयन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सिना, विकास बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो ।

बैंकको साधारणसभाबाट संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।

अब सबै डिजिटल कारोबारको अन्तिम राफसाफ राष्ट्र बैंकको प्रणालीबाट हुने

सबै डिजिटल कारोबारको अन्तिम राफसाफ (सेटलमेन्ट) राष्ट्र बैंकको प्रणालीबाट हुने भएको छ। राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच सम्बन्धि सन्दर्भ प्रतिवेदन सार्वजनिक गर्दै साझेदारहरूसँग सल्लाह सुझाव मागेको छ।

यो प्रतिवेदनमा प्राप्त सल्लाह सुझावअनुसार आवश्यक संशोधन भएपछि मात्रै यो व्यवस्था कार्यान्वयनमा आउनेछ। अहिले नेपाल पे, फोन पे, एससिटी जस्ता आठ कम्पनीले भुक्तानी सेवा प्रदायकको रूपमा काम गरिरहेका छन्। अर्थात् मुलुकमा जतिपनि भुक्तानी भइरहेका छन् ती सबै यी आठ कम्पनीको प्रणाली प्रयोग गरेर भइरहेको छ।

यी प्रणालीमार्फत् हुने कारोबार उनीहरूले तोकिएको वाणिज्य बैंकमार्फत् राफसाफ हुँदै आएको छ। अब पनि कारोबारको लागि ती आठ वटै कम्पनीको प्रणालीको प्रयोग हुनेछ। तर, यस्तो कारोबारको अन्तिम राफसाफ राष्ट्र बैंकको प्रणाली रियल टाइम ग्रस सेटलमेन्टबाट हुने भएको हो।

रियल टाइम ग्रस सेटलमेन्टमार्फत् अन्तिम राफसाफ हुनुअघि यस्ता कारोबार नेशनल पेमेन्ट स्विच हुँदै राष्ट्र बैंकको प्रणालीमा आउनेछ।

हाल नेशनल पेमेन्ट स्विचको सञ्चालन नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले गरिरहेको छ। अहिले २० लाखभन्दा माथिको कारोबार रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली मार्फत् नै हुनुपर्ने व्यवस्था छ।

यो प्रणालीबाट न्यूनतम दुई लाख सम्मको कारोबार पनि गर्न सकिने व्यवस्था छ। २० लाखभन्दा कम रकमको कारोबारको लागि भने अन्य प्रणालीको समेत प्रयोग हुने गरेका छन्।

कारोबारको अन्तिम राफसाफ राष्ट्र बैंकको प्रणालीबाट हुने व्यवस्थाले मुलुकभित्र हुने कारोबारको स्पष्ट तथ्यांक आउने बताइएको छ। त्यस्तै, प्रणालीमा गर्न लागिएको यो विकासले भुक्तानी सेवा प्रदायकहरूको प्रणालीबीच अन्तरआबद्धता समेत कायम हुनेछ। अर्थात् यी जुन सुकै प्रणालीको प्रयोग गरेर जुनसुकै प्रणालीमा भुक्तानी वा कारोबार गर्न सकिनेछ।

शिखर इन्स्योरेन्सद्वारा १७ दिनमा २१८ वटा बीमा दावी भुक्तानी

गत असोज २४ गते भएको जेनजी आन्दोलनमा २३ अर्ब हाराहारीको मात्रै बीमा दावी परेकोमा शिखर इन्स्योरेन्स कम्पनीले १७ कार्यदिन भित्रैमा २१८ वटा बीमा दावी भुक्तानी गरेको छ । यस अवधीको महिनादिन भित्रमा कम्पनीले सो दावी भुक्तानी गरेर उत्कृष्ट र अब्बल सावित गर्न सफल भएको हो । दशैं तिहार र कर्फ्युका बीचमा पनि काम गरेर कम्पनीले २१८ वटा बीमा दावी बापत ४२ करोड १० लाख ७४ हजार ३३ रुपैयाँ बीमितहरुलाई दावी भुक्तानी गरेको जनाएको छ ।

कम्पनीले जेनजी आन्दोलनमा पुगेको क्षतिको बीमा दावी भुक्तानीलाई तीव्रता दिँदै आएको छ । शिखर इन्स्योरेन्स कम्पनीमा मात्रै ४३३ वटा बीमा पोलिसी बापत दुई अर्ब ४१ करोड नौ लाख ९८ हजार १५७ रुपैयाँको बीमा दावी परेको छ । कूल बीमा दावी २३ अर्ब २२ करोड मध्ये शिखर इन्स्योरेन्स मात्रै सो दावी परेको हो ।

कम्पनीका अनुसार हालसम्म ४२ वटा बीमा दावी सम्बन्धी फाइल अन्तिम भुक्तानी पश्चात बन्द भइसकेको छ । सो बापत कम्पनीले एक करोड ९२ लाख ७० हजार ३३ रुपैयाँ भुक्तानी गरेको छ । सो संख्यामा सवारी साधनहरु रहेका छन् । त्यस्तै, १७६ वटा बीमा पोलिसी अन्तर्गत परेका बीमा दावी रकम मध्ये एडभान्स बापत ४० करोड १८ लाख चार हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डेले भने, ‘हामी बीमा गरेपछि दावी भुक्तानी गर्न ढिलाई गर्दै गदैनौं । खोजी खोजी भुक्तानी गरिरहेका छौं ।’ सिईओ पाण्डेका अनुसार कम्पनीले अग्रिम भुक्तानीलाई समेत तीव्रता दिइरहेको छ । उनले भने, ‘हाम्रा सर्भेयरहरु लगातार फिल्डमा खटिइरहनु भएको छ, उहाँहरुको अनुमानित मूल्याङ्कनको ५० प्रतिशतसम्म भुक्तानी दिन मिल्छ, सोही बमोजिम पैसा दिइरहेका छौं ।’ सिईओ पाण्डेले शिखर इन्स्योरेन्सबाट अग्रिम भुक्तानी पाएर कतिपयले क्षतिभएको संरचना पुननिर्माण समेत सुरु गरिसकेका छन् ।

सिईओ पाण्डको अनुसार शिखर इन्स्योरेन्स कम्पनीलाई दावी भुक्तानीका लागि कुनै समस्या छैन । कूल दुई अर्ब ४१ करोड बीमा दावी मध्ये करिब ३७ करोड रुपैयाँ शिखर इन्स्योरेन्सको भागमा पर्ने सम्भावना रहेको र कर समेत कट्टा गर्दा चालु आवमा शिखर इन्स्योरेन्सलाई २२।२३ करोड भन्दा बढि क्षति नहुने बताए । उनले भने, ‘त्यति रकम त हाम्रो छ महिनाको कमाई त हो । हामीलाई कुनै समस्या छैन ।’

कम्पनीमा बागमति प्रदेशमा ३४८ वटा बीमा दावी परेको छ । मधेश प्रदेशमा २४ वटा, लुम्बिनीमा १४ वटा, सुदुरपश्चिममा २६ वटा, कर्णालीमा १२ वटा, कोशीमा ६ वटा गण्डकीमा ३ वटा बीमा दावी परेका छन् ।
दावी मध्ये सबैभन्दा धेरै सम्पत्ति बीमा अन्तर्गत एक अर्ब ७७ करोड, व्यक्तिगत सवारीमा २६ करोड १९ लाख, व्यापारिक सवारी साधनको २० करोड ९६ लाख, मोटरसाइकलमा ६३ लाख ३९ हजार, इन्जिनियरिङ १३ करोड २३ लाख र विविधमा दुई करोड १० लाख रुपैयाँको बीमा दावी परेको छ ।

निजि सवारीमा तीन करोड ६३ लाख, व्यापारिक सवारीमा चार करोड ९९ लाख, मोटरसाइकलमा १३ लाख पाँच हजार, सम्पत्ति बीमामा २८ करोड १९ लाख र इन्जिनियरिङमा तीन करोड २२ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ ।

जेनजी आन्दोलनमा सबैभन्दा बढी क्षति भोगेको भाटभटेनी सुपर मार्केटलाई शिखरले २५ प्रतिशत अग्रिम भुक्तानी गरिसकेको छ भने थप २५ प्रतिशत भुक्तानी गर्ने प्रक्रिया अन्तिम अवस्थामा पुर्याइसकेको जनाएको छ । भाटभटेनीको बीमा दावी शिखर इन्स्योरेन्समा एउटा मात्रै भाटभटेनीमा रहेको आउटलेटको परेको थियो ।

कम्पनीका अनुसार तिहार अघि ४० प्रतिशतसम्म बीमा दावी भुक्तानी गरिसक्ने जनाएको छ । यस अवधीमा दशैं विदा, सार्वजनिक विदा, दशैं पछिको बाढी पहिरो विदा, र घटना लगत्तै जारी कर्फ्यु आदेश समेत गणना गर्दा जम्मा १७ कार्यदिनभित्रमा उक्त दावी भुक्तानी गर्न सफल भएको हो । बीमा दावी भुक्तानीमा शिखर इन्स्योरेन्स कम्पनीले उत्कृष्ट नतिजा प्रदर्शन गर्दै आइरहेको छ । बीमा दावी छरितो हुँदा आम जनमानसमा बीमाप्रति जनविश्वास बृद्धि भई बीमा व्यवसाय विस्तारमा समेत योगदान पुग्ने मानिन्छ ।

हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्णको राजिनामा स्वीकृत

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार साझ बसेको कम्पनी सञ्चालक समितिको बैठकको निर्णयले अभिकर्ता र कर्मचारीको आन्दोलनपछि सीईओ मनोज कुमार लाल कर्णले दिएको राजिनामा स्वीकृत गरेको हो ।

हिमालयन लाइफमा केही समयदेखि बीमा अभिकर्ताहरुले बोनसदर कम्तीमा ५० रुपैयाँ वा सो भन्दा बढि हुनुपर्ने माग सहित आन्दोलन गर्दै आएका थिए । सिईओको राजीनामा माग गर्दै सोमबार देखि आन्दोलनमा उत्रिएकोमा कार्यालय समेत जाने अवस्था नभएपछि उनले आज दिउँसो राजिनामा दिएका थिए । सोमबार उनीहरुले सिईओ सहित कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

एनआईसी एशिया बैंकका ग्राहकलाई मर्क्योर होटलमा १५% सम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको सुकेधारास्थित मर्क्योर होटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट सुविधा उपलब्ध गराउन होटलसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले होटलको सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

आवास सेवा लिँदा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाइने बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। छुट सुविधा उपयोग गर्न ग्राहकले एनआईसी एशियाको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ। होटलसँगको यो सम्झौताले डिजिटल भुक्तानी प्रवर्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

भेप र १४ किलो सुन प्रकरणमा जोडिएका अभियुक्तसँग सत्तामा हुँदादेखि नै महराको सम्पर्क

पूर्व सभामुख कृष्ण बहादुर महराको नाम सुन प्रकरणमा चिनियाँ नागरिक दावजिन वाङसँग सम्पर्क भएसँगै बढेको दखिएको छ। महरा सरकारमा मन्त्री भए लगत्तै दावाजिन वाङ सम्पर्कमा आएको र सो सम्पर्कलाई निरन्तरता दिइएको प्रहरी अनुसन्धानमा खुलेको हो। वाङको तस्करीजन्य कार्यमा राजनीतिक संरक्षण र सहयोग गरी महराले प्रत्यक्ष रुपमा राज्य शक्तिको दुरुपयोग गरेको जिल्ला अदालतमा बुझाएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

हाल थुनामा रहेका राहुल महरा चिनियाँ भाषा अध्ययनको लागि सन् २०११ मा चीन गएपछि उनको मार्फत महराको सम्पर्क भएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा देखिएको छ। उनै दावाजिनले नै चीनबाट नेपालमा भेपभित्र सुन हालेर ल्याएका थिए। त्यो भेप छुटाउन महरा र उनका छोराले त्रिभुवन भन्सार कार्यालयमा कार्यरत कर्मचारीलाई फोन गरेका थिए।

अनुसन्धानमा निर्मल महराका नामको मोबाइल नम्बरबाट कृष्ण बहादुर महराको फेसबुक खोलिएको र सो नम्बरबाट हुने कल सम्पर्कमा र छोरा निर्मल दुवैको नाम समावेश कलडिटेल विवरणबाट देखिएकोले छोराको नामको मोबाइल महराले नै प्रयोग गर्ने भन्ने देखिएको छ। सो नम्बरबाट समेत दावाजिन वाङ लगायतसँग सम्पर्क भएको देखिएको हो। महराले अन्य परिवारका सदस्यको नम्बरबाट पनि फोन गर्ने गरेको खलेको हो।

दावजिन वाङसँग १७ पटक, दिपेश पुनसँग २६६ पटक, राहुल महरासँग ४ पटक, निर्मल महरासँग ८ पटक, कृष्ण बहादुर महरासँग ४१ पटक पूर्व सभामुखको सम्पर्क रहेको भन्ने कल डिटेलबाट देखिएको हो।

१४ किलो सुन प्रकरणमा महराको पनि संलग्नताको तथ्यका आधारमा मुद्दा चलिरहेका व्यक्ति जीवन कुमार गुरुङगसँग कृष्ण बहादुर महरा, छोराहरू निर्मल महरा, राहुल महरा समेतको उठबस रहेको देखिएको छ। कृष्ण बहादुर महराकी पत्नी बिरामी हुँदा उपचारका लागि भारत लैजाने सम्मको सहयोगमा गुरुङबाट भएको भन्ने तथ्य जीवनकुमार गुरुङले अनुसन्धानको क्रममा स्वीकार गरेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँजबुझ आयोग, २०८० को प्रतिवेदनको पृष्ठ ३५३ मा उल्लेख छ।

हिमालयन लाइफका सीईओ कर्णले दिए राजीनामा

हिमालयन लाइफका सीईओ मनोज कुमार लाल कर्णले राजिनामा दिएका छन् । कर्णले दिएको राजिनामा सोमबार बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो । कर्ण हिमालयन लाइफको पैसा सीमित व्यक्तिको स्वार्थमा प्रयोग गरेको भन्दै विवादित छन् ।

नेपाल पुनर्बिमा कम्पनीको २ करोड १४ लाख ७५ हजार कित्तामध्ये सबैभन्दा धेरै हिमालयन लाइफको नाममा रहेको देखिएको छ । भदौ १५ को तथ्यांकअनुसार हिमालयन लाइफले ६ अर्ब रुपैयाँ बराबरको ३६ लाख ४६ हजार कित्ता सेयर होल्ड गरेको थियो ।

हिमालयन लाइफको ७९ अर्ब रुपैयाँ लगानीमध्ये नेपाल रिमा साढे ७ प्रतिशत लगानी छ । जीवन बिमा कम्पनीले सूचीकृत संस्थाको सेयरमा १५ प्रतिशत लगानी गर्न पाइनेमा आधा एउटै कम्पनीमा देखिन्छ ।

जथाभावी लगानी गरेर कम्पनीलाई हानी नोक्सानी पुराएको आरोप कर्णमाथि छ । साथै अभिकर्तालाई प्रतिस्पर्धा कम्पनी बराबर पनि बोनस दिन नसकेको, लगानी विविधिकरण गर्दै सेयरधनीलाई पर्याप्त प्रतिफल पनि दिन नसकेको आरोप कर्णले खेप्दै आएका थिए । अभिकर्ताले सीईओ कर्णसँगै हिमालयन लाइफको अध्यक्ष सुलभ अग्रवालको पनि राजिनामा माग्दै आएका छन् ।

चौतर्फी दबाब आएपछि कर्णले राजिनामा दिएकामा सोमबारको बोर्डले स्वीकृत गरेको स्रोतले जानकारी दियो ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको दशौँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन र वार्षिक आर्थिक विवरणलाई अनुमोदन गरियो। यसमा आषाढ मसान्त २०८२ को वासलात, नाफा नोक्सान हिसाब लगायतका विभिन्न प्रमुख वित्तीय विवरणहरू पारित गर्‍यो ।

सभाले कम्पनीका शेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशतका दरले ५ कराेड बराबरकाे नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारीत गरेकाे छ ।

साथै, आव २०८२/८३ को लेखापरीक्षणका लागि मेशर्स एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकको रूपमा नियुक्ति गर्ने निर्णय पनि सभा मार्फत पारित गरिएको छ। यसका साथै, लेखापरीक्षकको पारिश्रमिक पनि निर्धारण गरिएको छ।

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला

नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्‍याउने सोच भएका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । १८ वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकहरुले आगामी कात्तिक २८ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोजकुमार ज्ञवालीले यसपटकदेखि नबिल एसएसई कार्यक्रमलाई मुलुकको विकास, गरिबी निवारण र सशक्तीकरणको लक्ष्यसहित गरिब र विपन्न वर्गलाई केन्द्रित गरिएको बताए । “मुलुकको विकासप्रति हाम्रो प्रतिबद्धता पूरा गर्नका लागि सामाजिक उद्यमीको सशक्तीकरण सबैभन्दा प्रभावकारी माध्यम बनेको छ”, उनले भने । नबिल एसएसईअन्तर्गतका कार्यक्रम उपलब्ध स्रोतलाई रणनीतिक रूपमा परिचालन गर्दै पछाडि पारिएका समुदायसम्म पुग्न तथा वित्तीय नवप्रवर्तन प्रवद्र्धन गर्दै समावेशी विकास र रोजगारी सृजनामा केन्द्रित भएको बताए ।

नबिल एसएसईअन्तर्गत दुई वटा कार्यक्रम फेलोसिप र सर्टिफिकेट कोर्स छन् । बैंकका अनुसार हाल नबिल एसएसईको फेलोसिप कोर्सको छैटौँ समूहका लागि आवेदन खुलाइएको हो । छ महिना अवधिको यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायसँगको सहकार्यमा सञ्चालन भइरहेको छ । फेलोसिप कार्यक्रम स्टार्टअप तथा नविनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरुलाई लक्षित गरिएको छ । जसमा सहभागीले ६ महिनासम्म विश्वस्तरीय प्रशिक्षण र मेन्टरसिप पाउनेछन् । साथै नेटवर्क विस्तार, वित्तीय पहुँच सुविधा पनि पाउनेछन् । फेलोसिपअन्तर्गत हालसम्म ७६ जना सहभागी भइ ६२ उद्यम सञ्चालन भइरहेका छन् ।

त्यसैगरी सर्टिफिकेट कोर्स सातवटै प्रदेशमा सञ्चालित छ । तीन महिना अवधिको यो कोर्स विभिन्न शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ । बैंकका अनुसार हाल यो कोर्स कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेस प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्ड्री इङ्लिस बोर्डिङ स्कुल र बाग्मती प्रदेशमा क्याम्पियन कलेजमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । साथै लुम्बिनी प्रदेशमा क्षितिज इन्टरनेशनल कलेज, दिव्यज्योति बहुमुखी क्याम्पस र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशको सुर्खेतस्थित सुर्खेत मोडल कलेज र सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमीमा यो कार्यक्रम सञ्चालित छ । सामाजिक उद्यमीमार्फत स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ । हालसम्म सर्टिफिकेट कोर्समा आबद्ध भइ एक हजार ६९ जनाले लाभ लिइसकेका छन् ।

बैंकले यस वर्षदेखि नबिल एसएसई सर्टिफिकेट कोर्सलाई प्रदेशअनुसार फरक फरक प्राथमिकताका क्षेत्रहरु निर्धारण गरी संचालन गर्ने भएको छ । जस अनुसार कोशी प्रदेशमा हाइ भ्यालु क्रपस्, मधेसमा एग्रो भ्यालु चेन, बाग्मतीमा डिजिटल नवप्रवर्तन तथा हरित उद्यम विकास र गण्डकीमा सामुदायिक होमस्टे र पर्यटन प्रवद्र्धन कार्यक्रमलाई मुख्य प्राथमिकता दिइनेछ । साथै लुम्बिनी प्रदेशमा एग्रो भ्यालु चेन, धार्मिक पर्यटन, संस्कृतिसँग सम्बन्धित उद्यमशीलता, कर्णालीमा पर्वतीय उद्यम अभियान – मौरीपालन, बाँस र जडीबुटीजन्य उद्यम प्रवद्र्धन र सुदूरपश्चिममा ग्राामीण पर्यटन र पशुपालन उद्यम प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ । बैंकका अनुसार नबिल एसएईका दुवै कार्यक्रममा सहभागी हुन चाहनेले नबिल बैंकको वेबसाइट, नबिल एसएईको सोसल मिडियामार्फत आवेदन दिन सक्नेछन् । बैंकले नबिल एसएसईलाई दिगो विकासमा योगदान पुर्‍याउने उद्यमशीलतालाई सुदृढ गर्न आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ । यस कार्यक्रममार्फत हालसम्म १७ हजार भन्दा बढी रोजगारी सृजनामा सहयोग पुगेको बैंकको भनाइ छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । बैंकको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौँ मानिसहरूको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको छ ।

आवेदन दिनका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।
https://www.nabilbank.com/corporate-social-responsibility/nabil-school-of-social-entrepreneurship