दशैंको लामो बिदामा पनि वाणिज्य बैंकहरूले विभिन्न शाखा सञ्चालन गर्ने भएका छन्। दशैंका मुख्य दिनमा समेत आवश्यक वित्तीय कारोबार सहज होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा शाखा कार्यालयहरू खुला रहने बैंकहरूले जनाएका छन्।
बैंकहरूको सूचनाअनुसार दशैं बिदामा खुल्ने शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्राप्त गर्न सकिनेछ। यस अवधिमा नगद भुक्तानी तथा निक्षेप, चेक भुक्तानी, विदेशी मुद्रा विनिमय, एटिएम मर्मतजस्ता आधारभूत सेवा सहज हुने वाणिज्य बैंकहरूको संघले जनाएको छ।
यसअघि दशैंमा अधिकांश बैंकहरू पूर्ण रूपमा बन्द हुँदा व्यावसायिक तथा व्यक्तिगत कारोबारमा असुविधा हुने गरेको थियो। तर यस वर्ष ग्राहक सुविधालाई ध्यानमा राख्दै बैंकहरूले छुट्टै कार्ययोजना बनाएर शाखा तोकेका छन्।
कुन बैंकका शाखा खुल्छन् ?
एभरेष्ट बैंक – न्यूरोड, पुल्चोक, ठिमी
नेपाल बैंक – काकरभिट्टा, कृष्णनगर, न्यूरोड
राष्ट्रिय वाणिज्य बैंक – विराटनगर, इटहरी, वसन्तपुर, धनगढी, त्रिभुवन विमानस्थल
ग्लोबल आईएमई बैंक – विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड, मुग्लिन, भरतपुर, हेटौंडा, पर्सा, चरिकोटलगायत
नबिल बैंक – विराटनगर, इटहरी, धरान, दमक, जनकपुर, ललितपुर, कलंकी, ठिमी, महाराजगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत
सानिमा बैंक – काठमाडौं उपत्यकाका विभिन्न शाखा (कलंकी, नयाँ बानेश्वर, चाबहिल, गोंगबु, महाराजगञ्ज आदि) र इटहरी, दमक, जनकपुर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढी, महेन्द्रनगरलगायत
हिमालयन बैंक – हिटी दरबार, त्रिपुरेश्वर, न्यूरोड, भक्तपुर, बनेपा, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर आदि
कुमारी बैंक – इटहरी, उर्लाबारी, पुतलीसडक, कुमारीपाटी, नयाँ बानेश्वर, नारायणगढ, बुटवल, नेपालगञ्ज, सुर्खेतलगायत
प्रभु बैंक – बबरमहल, कमलादी, जावलाखेल, भक्तपुर, विराटनगर, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, बुटवल, धनगढी आदि
प्राइम कमर्सियल बैंक – कमलपोखरी, पुल्चोक, ठिमी, भरतपुर, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढीलगायत
सिद्धार्थ बैंक – हात्तीसार, न्यूरोड, विराटनगर, बिर्तामोड, जनकपुर, पोखरा, नेपालगञ्ज, बुटवल, धनगढी, महेन्द्रनगर आदि
स्ट्यान्डर्ड चार्टर्ड बैंक – ललितपुर, नक्साल, नयाँ बानेश्वर, पोखरा, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, विराटनगर, धनगढी
एनआइसी एसिया बैंक – विराटनगर, बिर्तामोड, दमक, वीरगञ्ज, जनकपुर, भक्तपुर, पुल्चोक, न्यूरोड, बुटवल, सुर्खेत, धनगढी आदि
कृषि विकास बैंक – देशभरका प्रमुख शाखा (विराटनगर, धरान, बिर्तामोड, राजविराज, वीरगञ्ज, पोखरा, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर आदि)
लक्ष्मी सनराइज बैंक – काठमाडौं उपत्यका (गैरीधारा, पुल्चोक, भृकुटीमण्डप आदि) र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज
माछापुच्छ्रे बैंक – काठमाडौं, इटहरी, जनकपुर, पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर आदि
एनएमबी बैंक – धरान, बिर्तामोड, विराटनगर, वीरगञ्ज, पोखरा, सुर्खेत, महेन्द्रनगर आदि
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – दरबारमार्ग, बत्तीसपुतली, कालिमाटी, पुल्चोक, न्यूरोड, ठमेल, पोखरा आदि
नेपाल एसबिआई बैंक – विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी आदि
बैंकहरूले तोकिएका शाखाबाट दशैं बिदामा आधारभूत सेवा सहज हुने जनाएका छन्। यसबाट रकम जम्मा–निकासीदेखि चेक भुक्तानी, एटिएम मर्मत र आवश्यक वित्तीय कारोबारमा ग्राहकलाई सुविधा हुने अपेक्षा गरिएको छ।
दशैं बिदामा समेत सरकारले भुक्तानी नरोक्ने
दशैंको बिदामा समेत सरकारले भुक्तानी नरोक्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई पत्र लेख्दै सो व्यवस्था गर्न भनेको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट दशैं बिदामा समेत राहत, उद्धार, क्षतिपूर्ति लगायत शीर्षकमा निकासा दिनुपर्ने हुन सक्ने भएको भन्दै महालेखाले सम्बन्धित निकायबाट भुक्तानी आदेश प्राप्त भएमा निकासा दिने गरी वैकल्पिक व्यवस्था गर्न भनेको छ ।
रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः सुरु : ब्याजदर घटाइयो
सरकारले दुई वर्ष रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः सुरु गरेको छ । सो कार्यक्रमलाई नयाँ कार्यविधिसहित लागू गर्नका लागि सरकारले बक्यौता करिब १० अर्ब रुपैयाँ बराबरको ब्याज भुक्तानी पनि गरेको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भने, ‘सहुलियतपूर्ण कर्जा पुनः सुरु गर्न आवश्यक प्रक्रिया पूरा भएको छ। अब नेपाल राष्ट्र बैंकले आफू मातहत बैंक तथा वित्तीय संस्थालाई कार्यान्वयनका लागि निर्देशन दिनेछ ।’ गत दुई वर्षमा बैंकहरूले सहुलियतपूर्ण कर्जा वितरण रोकेको थियो। ब्याज अनुदान नदिएकाले बैंकहरूले अनौपचारिक रूपमा कर्जा दिन रोकेका थिए। अब सरकारले बक्यौता ब्याज भुक्तानी गरेकोले बैंकहरूले नयाँ कर्जा जारी गर्न तयार हुने अपेक्षा गरिएको छ।
नयाँ कार्यविधिअनुसार, सहुलियतपूर्ण कर्जा दुरुपयोग रोक्न प्रणाली परिष्कृत गरिएको छ। कार्यविधिमा कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म, महिला उद्यमशीलता कर्जा २५ लाख, वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार कर्जा २० लाख, शिक्षित युवा परियोजना कर्जा २० लाख, दलित समुदाय उद्यम विकास कर्जा २० लाख, स्टार्टअप उद्यम कर्जा २५ लाख, उद्योगमा बोइलर प्रतिस्थापन कर्जा ५० लाख र प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा ५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने व्यवस्था गरिएको छ।
कार्यविधिअनुसार ब्याजदरमा पनि समायोजन गरिएको छ। यसअघि ५ प्रतिशतसम्मको ब्याज अनुदान उपलब्ध थियो भने अब कर्जा ब्याजको ३ प्रतिशत अनुदान दिइनेछ। कर्जा अवधि ५ वर्षको रहने व्यवस्था छ। सरकारको नयाँ पहलसँगै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र ऋणीबीच कर्तव्य र अधिकार स्पष्ट हुने गरी जिम्मेवारी छुट्याइएको छ। यसले सहुलियतपूर्ण कर्जा वितरणमा पारदर्शिता र दुरुपयोग न्यून गर्ने अपेक्षा गरिएको छ।
आर्थिक वर्ष साउनसम्म बैंक तथा वित्तीय संस्थाहरूले ७६ अर्ब ५२ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा वितरण गर्न बाँकी छ। पुरानो कर्जामा सरकारले ९ अर्ब ८० करोड रुपैयाँ बराबरको ब्याज भुक्तानी असोज पहिलो साता प्रदान गरेको छ। बाँकी करिब ३ अर्ब रुपैयाँको बक्यौता भुक्तानी छिट्टै सम्पन्न गर्ने तयारी रहेको जानकारी राष्ट्र बैंकका अधिकारीहरूले दिएका छन्।
तुइन खोलाको पहिरो हटाइयो, ७ घण्टादेखि फसेकाहरु गन्तव्य तिर लागे
नारायणगण मुग्लिन सडकखण्डमा यातायात संचालन फेरि सुरु भएको छ। आज बिहान तुइन खोलामा पहिरोका कारण सडक अवरुद्ध भएको थियो। करिब ११ बजेदेखि सडक खुलाउने प्रयास भए पनि करिब ७ घण्टापछि मात्र सडक खुलेको हो।
तुइन खोलामाथिको पहराबाट निरन्तर पहिरो झरेका कारण सवारी चल्न सकेको थिएन। सो सडक अझै अवरुद्ध हुन सक्ने अवस्था रहेकोले सतर्कता अपनाउन भनिएको छ।
गभर्नर पौडेलका लागि भाडाको घर खोजीमा राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खाेजीमा लागेको छ। जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते गभर्नर पौडेलको भैंसेपाटीस्थित घर आगजनीमा परेपछि राष्ट्र बैंकले उनका लागि भाडाको घर खाेजीमा लागेको हो।
राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले भाडाको घर खोजी गर्ने क्रममा आइतबार सार्वजनिक सूचना निकालेको छ।सूचना अनुसार राष्ट्र बैंकले गभर्नरका लागि कम्तिमा १६ आनादेखि अधिकतम २४ आनासम्मको क्षेत्रफलसहितको घर भाडामा लिन लागेको हो।
घर कम्तिमा एक हजार वर्गफुट पिलिन्थ क्षेत्रफलमा बनेको र २.५ देखि ३ तलासम्मको हुनुपर्नेछ। ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल र स्टोर रुम भएको, कम्तिमा ६ वटा कार वा जीप पार्क गर्न मिल्ने ठाउँ भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवन भएको, सुरक्षित कम्पाउन्ड वाल भएको र कालोपत्रे सडकसँग जोडिएको हुनुपर्ने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ।
घर बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रभित्र हुनुपर्नेछ। इच्छुक व्यक्ति, फर्म वा कम्पनीलाई घर भाडा सम्बन्धी प्रस्ताव पेस गर्न असोज २७ गतेसम्मको समय दिइएको छ।

राष्ट्र बैंकको खुकुलो नीति र न्यून ब्याजदरले बढ्यो घर कर्जा
राष्ट्र बैंकको लचिलो नीतिपछि बैंक तथा वित्तीय संस्थाबाट जाने घर कर्जा बढ्न थालेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले होम लोनको हकमा लोन टू भ्यालु रेसियो र कर्जाको सीमा बढाएसँगै यस क्षेत्रमा जाने कर्जा बढ्न थालेको हो।
चालु आर्थिक वर्ष साउनमा बैंक तथा वित्तीय संस्थाहरुले ६ अर्ब ३१ करोड १५ लाख रुपैयाँ घर कर्जा लगानी गरेका छन्। पोहोर सोही अवधिमा यस्तो लगानी ६९ करोड ३३ लाख रुपैयाँमा सीमित थियो। घट्दो ब्याजदरसँगै राष्ट्र बैंकको नीतिले घर कर्जा बढ्न थालेको बैंकरहरु बताउँछन्।
अहिले ब्याजदर एकल अंकमा छ भने बैंकहरूसँग लगानीयोग्य रकम ८ खर्बभन्दा धेरै छ। साउनमा समग्र कर्जा ०.३ प्रतिशत अर्थात १७ अर्ब ४६ करोड रुपैयाँले खुम्चिंदा घर कर्जा भने बढेको हो।
२०८२ साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले कूल ५५ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जसमध्ये ७.६० प्रतिशत अर्थात ४ खर्ब २३ अर्ब रुपैयाँ घर कर्जा हो।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेय आवासीय घर कर्जामा केन्द्रीय बैंकले लिएको खुकुलो नीतिका कारण बैंकहरुलाई व्यवसाय बढाउन सहज भएको बताउँछन्।
‘केन्द्रीय बैंकले आवासीय कर्जामा २ करोडको सीमा ३ करोड पुऱ्याएका कारण हामीलाई व्यवसाय बढाउन सहयोग पुगेको हो। यसमा सस्तो ब्याजदरले पनि ठूलो काम गरेको छ,’ उनले भने।
नेपाल बैंकले अहिले ५.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिइरहेको छ। यो ब्याजदर स्थिर होइन, परिवर्तित हो। बैंकको बेसरेट बढ्दा ब्याजदर पनि बढ्छ।
घरजग्गाका साथै निर्माण क्षेत्रको कर्जामा खुकुलो नीति लिएको राष्ट्र बैंक आगामी दिनमा अझै लचिलो हुने तयारीमा छ।
डेढ वर्षदेखि घर बनाउन तथा किन्नका लागि ऋण नपाएका मध्यम वर्गलाई लक्षित गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ‘लोन टु भ्यालु रेसियो’ बढाइसकेको छ। यसलाई अरू हिसाबले पनि सहजीकरण गर्न सकिन्छ कि भनेर राष्ट्र बैंकले हेरिरहेको छ।
राष्ट्र बैंकको नीति अनुसार, ३ करोडसम्मको घरजग्गा ऋण लिएर किन्न सकिन्छ। यसअघि २ करोडको सीमा थियो। साथै, पहिलो पटक ३ करोडसम्मको घर खरिद वा निर्माण गर्ने प्रयोजनको कर्जामा लोन टू भ्यालु रेसियो ८० प्रतिशत पुगेको छ। यसअघि यस्तो रेसियो ७० प्रतिशत थियो।
आवासीय घरजग्गा कर्जामा जोखिम कम भएकाले बैंकलाई लगानी गर्न पनि सजिलो हुन्छ। अन्य क्षेत्रमा माग नहुँदा सुरुमा बैंकहरुले प्रोत्साहित गर्दै आएको क्षेत्र पनि घरजग्गा हो।
अहिले वाणिज्य बैंकहरुले घरजग्गा कर्जा ६ प्रतिशत हाराहारी ब्याजदरमा दिइरहेका छन्। वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर अहिले ७.७६ प्रतिशत छ। कतिपय बैंकहरुले घर र गाडी कर्जा ६ प्रतिशतसम्म दिइरहेका छन्।
राष्ट्रिय वाणिज्य बैंकले ६.३० प्रतिशत ब्याजदरमा घर कर्जा दिइरहेको छ। एभरेष्ट बैंकले ७.४९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिइरहेको छ। नबिल र ग्लोबल आइएमई बैंकबाट घर कर्जा लिन चाहनेले ८.९९ प्रतिशत स्थिर ब्याजदर तिर्नुपर्छ।
अधिकांश बैंकले एकल अंकको स्थिर ब्याजदरमा घर कर्जा दिइरहेका छन्। परिवर्तितको हकमा भने सबैजस्तो बैंकले ६/७ प्रतिशत ब्याजदरमा कर्जा घर कर्जा दिन थालेका छन्।
प्रभु बैंकका डेपुटी सीइओ मणिराम पोखरेल भने केन्द्रीय बैंकले सहजीकरण गरे पनि घर कर्जा अपेक्षितरुपमा नगएको बताए।
‘घरजग्गाको कारोबार नै निकै सुस्त छ। अनि कसरी ऋणको माग बढ्छ?,’ उनले भने, ‘सस्तो ब्याजदरसहितको स्किम ल्याए पनि ऋणको माग सुस्त नै छ।
नेपालमा आइफोन-१७ को मूल्य १ लाख ५७ हजार २९९
नेपालमा आइफोन १७ सिरिजका लागि बुकिङ खुलेको छ। आज नेपालका आधिकारिक विक्रेताहरूले आइफोन १७ सिरिजको मूल्य सार्वजनिक गरेका छन्।
यो सिरिजको फोन हाल बजारमा भने उपलब्ध छैन। छिट्टै यो बिक्रीमा राखिने बताइएको छ। आइफोन १७ सिरिजको सबैभन्दा सस्तो भेरियन्टको मूल्य १ लाख ५७ हजार २९९ रुपैयाँ पर्ने भएको छ।
यस्तै, सबैभन्दा महँगो भेरियन्टको मूल्य ३ लाख ९७ हजार ९९९ रुपैयाँ छ।
सेयरधनीलाई सिटिजन्स बैंकको निरन्तर लाभांश, पोहोरको मुनाफाबाट ५.२६% प्रतिफल
सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ। बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले पोहोरको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतले हुने ७३ करोड ८४ लाख ५० हजार ६४८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतले हुने ३ करोड ८८ लाख ६५ हजार ८२३ रुपैयाँ नगद वितरण गर्ने निर्णय गरेको हो।
बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ छ। नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सिटिजन्सका सेयरधनीले लाभांश पाउनेछन्।
सिटिजन्स बैंकले २०६५/६६ मा आइपीओ जारी गरेदेखि नै सेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ। २०६५/६६ देखि आर्थिक वर्ष २०८१/८२ सम्मको औसत लाभांश दर ११.८७ प्रतिशत रहेको बैंकले जनाएको छ।
कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन सिमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गर्नुभएको छ ।
महासंघको गण्डकी प्रदेश समिति एवं यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरुसँग आज सो नाकाको निरीक्षणपछि उहाँले सो आग्रह गर्नुभएको हो । अध्यक्ष ढकालले भन्नुभयो “कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग समेत बन्नेछ । यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिहरु प्रवद्र्धनका लागि प्रयो गर्न सकिने छ । यसतर्फ नेपाल सरकारले ध्यान दिनु जरुरी छ ।”
अध्यक्ष ढकालले उक्त नाकाका लागि आवश्यक पर्ने पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेकाले आवश्यक पूर्वाधार निर्माण गर्न, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन, र जतिसक्दो चाँडै अध्यागमन सेवा सुरु गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “हामीले जानकारी पयौँ कि यहाँ १२ दिनमात्र अघि सुरु गरिएको भन्सार कार्यालयबाट रु १ अर्ब ४० करोड राजस्व संकलन भएको रहेछ । यसबाट पनि यो नाकाको थप व्यवस्थित सञ्चालन गर्न आवश्यक हुन आउँछ । हामीले भन्सार र अध्यागमनका लागि आवश्यक पूर्वाधार र कर्मचारी आदिको व्यवस्था गर्न सक्दा यसबाट नेपाललाई धेरै फाइदा पुग्ने कुरा स्पष्टै छ ।”
चीनको ल्हासाबाट नेपालको रसुवासम्म पुग्न दुई दिन लाग्नेमा कोरोलासम्म एकैदिनमा आउने भएकाले पनि चिनियाँ पर्यटकका लागि नेपाल आउने यो छोटो रुट हुने तथा मानसरोवर पुग्न समेत यो बाटो छोटो हुने भएकाले यस नाकाबाट हुने आवतजावतलाई सहज र व्यवस्थित गर्नुपर्ने उहाँको भनाई थियो ।
माथि कोरोला नाका वरिपरि नै सरकारी कार्यालय निर्माण गर्न, बसोबास र अन्य व्यवस्थापनका लागि सहज नभएमा केही तल रहेको निचुङमा सरकारले पूर्वाधार निर्माण गरेर स्थायी रुपमा कार्यसञ्चालन एवं बिजुली, पानी, इन्टरनेट लगायत अन्य आवश्यक व्यवस्थापनमा सहज हुने पनि अध्यक्ष ढकालको सुझाव थियो ।
गतबर्ष मात्र मुस्ताङमा करिब ७ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको तथ्यांक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले यहाँ धार्मिक पर्यटनका लागि मुक्तिनाथ, दामोदरकुण्ड लगायतका स्थानहरु रहेका र मानसरोबार जानका लागि पनि यो बाटो छोटो हुने भएकाले नेपाली र भारतीय पर्यटकहरुलाई समेत सहज हुने बताउनुभयो ।
साथै माथिल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकहरुलाई लगाइँदै आइएको रु ५०० अमेरिकी डलर अव्यवहारिक रहेकाले त्यसमा तत्कालै पुनर्विचार गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो ।
अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट कालिगण्डकी करिडोर छिटो सम्पन्न गर्न र कोरला नाकालाई व्यवस्थित तथा दिगो ढंगले सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग यसअघि पनि आग्रह गर्दै आएको बताउँदै यसका लागि निजी क्षेत्रका तर्फबाट के गर्नुपर्छ त्यसका लागि आफूहरु प्रतिबद्ध रहेको पनि बताउनुभयो
प्रभु बैंकका कर्मचारीले लोबुचे हिमाल आरोहण गरी फहराए बैंकको झण्डा
प्रभु बैंकका एक साहसी युवाले ऐतिहासिक सफलता हासिल गरेका छन् । बैंकका कर्मचारी बाेध किशोर लिम्बु ताङ्लिङले ६,११९ मिटर अग्लो लोबुचे हिमालको शिखरमा सफलतापूर्वक आरोहण गरी बैंकको झण्डा फहराएका छन् ।
आज बिहान ७:१२ बजे ताङ्लिङले लोबुचेको शिखरमा प्रभु बैंकको झण्डा फहराएकाे हो। यो ऐतिहासिक उपलब्धिको साथमा, प्रभु बैंक लोबुचे हिमालको शिखरमा आफ्नो झण्डा पुर्याउने नेपालको पहिलो बैंक बन्न सफल भएको छ।
आरोहणको यात्रा सहज भने थिएन। उचाइका कारण हुने स्वास्थ्य समस्या, अप्रत्याशित मौसमी अवस्था, र अन्य कठिन शारीरिक तथा मानसिक चुनौतीहरूको सामना गर्दै अदम्य साहस, प्रेरणा र दृढ संकल्पका साथ यो आरोहण सफल भएको हो।
”बैंकिङ्ग सीमाभन्दा पर” को नारालाई चरितार्थ गर्दै यो सफलताले बैंकिङ्ग सेवा केवल कार्यालयको डेस्कमा मात्र सीमित नभएर कुनै पनि उचाइमा पुग्न सक्छ भन्ने प्रमाणित गरेको छ।
आरोही बोध किशोर लिम्बु ताङ्लिङले प्रभु बैंकको एक गर्विलो सदस्यको रूपमा हिमालयको उचाइबाट बैंकको मूल्य-मान्यता र डिजिटल उत्पादनहरूलाई प्रवर्द्धन गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताए।
आरोही ताम्लिङ तथा प्रभु बैंकले यो सफलता सम्पूर्ण प्रभु बैंक परिवारप्रति समर्पित गरेको छ।
युनाइटेड अजोडको मुख्य काउन्टर दशैँ विदामा पनि खुला रहने
दशैँ बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले सेवाग्राहीहरुका लागि काउन्टर खुला गर्ने भएको छ । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा दशैँ बिदामा पनि काउन्टर खुला रहने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।
यो काउन्टले असोज १३, १४ र १५ गते खुला रहने कम्पनीले जनाएको छ । काउन्टर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ ।
कम्पनीको अन्य शाखाहरु भने दशैँको विदामा बन्द रहने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । दशैँको समयमा बीमा सेवालाई निरन्तरता दिनको लागि कम्पनीको प्रधान कार्यालयमा काउन्टर सञ्चालन हुने भएकोले ग्राहकले आवश्यक सेवालका लागि सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख गरेको छ ।
मुक्तिनाथ क्यापिटलले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित
मुक्तिनाथ क्यापिटल लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा असोज १० गते काठमाडौंको हात्तिसारस्थित अरण्य बुटिक होटलमा सभा बसेको हो । सभाले सेयरधनीलाई चुक्ता पूँजीको ९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, आव २०८१/८२ को नाफा-नोक्सानी हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको छ ।
साथै, आगामी आव २०८२/८३ का लागि एनविएसएम एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित गरिएको छ ।












