बजारमा आर्थिक गतिविधि विस्तारै बढ्दा तथा राष्ट्र बैंकको खुकुलो नीतिले ऋणको माग बढ्न थालेको छ। न्यून ब्याजदर र अधिक तरलताबीच राष्ट्र बैंकले खुकुलो नीति लिएर लगानीलाई प्रोत्साहन गरेपछि कर्जाको माग बढ्न थालेको हो।
नजिकिएको दसैंका कारण ऋणको माग बढेको बैंकरहरुले बताएका छन्। बैंक तथा वित्तीय संस्थाले करिब एक महिनामा ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। साउन १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाबाट कूल ५५ खर्ब ६४ अर्ब कर्जा प्रवाह भएकामा त्यस्तो रकम भदौ ११ गतेसम्म आइपुग्दा ५६ खर्ब नाघेको छ।
पोहोर साउन र भदौ २ महिनामा बैंकहरुले जम्मा ३१ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। यसपालि भदौ १२ देखि मसान्तसम्म पुग्दा कर्जाको आकार ३९ अर्बबाट ५० अर्ब नाघ्ने बैंकरहरुको अनुमान छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका लिएको खुकुलो व्यवस्थाका कारण कर्जा लगानी बढाउन सहयोग गरेको बैंकरहरु बताउँछन्। साथै, नजिकिंदै गरेको दसैं तिहारका लागि उपभोग्य वस्तुको माग बढेका कारण पनि कर्जा लगानी बढ्न थालेको उनीहरुको भनाइ छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ राष्ट्र बैंकले लिएको लचिलो नीतिले कर्जा बढाउन मद्दत गरेको बताउँछन्।
‘राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानी बढोस् भनेर घर कर्जा, रियल इस्टेट कर्जामा सहुलियत दिएको छ,’ उनले भने, ‘पहिले घर कर्जा व्यक्त्ति विषेश हुन्थ्यो। अहिले रियल इस्टेटलाई पनि सहुलियत दिएको छ। जसले गर्दा कर्जा विस्तारमा मद्दत पुगेको छ।’
यस्तो कर्जामा लोन टू भ्यालु रेसियो बढाइएका कारण माग बढेको खालिङले बताए। घर कर्जामा लोन टू भ्यालु रेसियो बढाइनुका साथै सीमा वृद्धि गरी ऋणा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा लगानीलाई प्रोत्साहन गर्न नीतिगत दर घटाएको छ। खराब कर्जाले नोक्सानी बढेर समस्यामा परेका बैंक तथा वित्तीय संस्थालाई पुँजीकोषमा सहुलियत दिएको छ।
पर्याप्त लगानीयोग्य रकम भएपनि पुँजीकोष दबाबका कारण ऋण लगानी विस्तार गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै रेगुलेटरी रिजर्भलाई २ वर्षका लागि पुँजीकोषमा गणना गर्ने सुविधा दिइएका कारण बैंकहरुलाई लगानी बढाउन सहयोग पुगेको छ।
कृषि र एसएमई कर्जा विस्तारमा देखिएको समस्यालाई अवधि सारेर पुरानो कर्जालाई पुनर्संरचना गर्ने सुविधा दिइएका कारण पनि बैंकहरुको नाफा बढेर लगानी क्षमता बढेको छ।
बैंकरहरुका अनुसार सेयर धितो र अटो कर्जाको पनि माग बढेको छ। नजिकिंदै गरेको चाडपर्व लक्षित गर्दै उपभोग कर्जा पनि देखिएको बैंकरहरुको भनाइ छ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले कर्जा ८.२ प्रतिशतले विस्तार गरेका थिए। कर्जा वृद्धि २०८०/८१ मा ५.९ प्रतिशत र २०७९/८० मा ३.६ प्रतिशतमा सीमित थियो।
सानिमा बैंकका सीइओ निश्चलराज पाण्डेय पछिल्लो समय कर्जा लगानी बढिरहेको बताउँछन्।
राष्ट्र बैंकले घरजग्गा लगायत क्षेत्रलाई चलायमान बनाउने गरी लिएको नीति, घट्दो ब्याजदर र नजिकिएको दसैंले कर्जा विस्तार भएको उनको भनाइ छ।
‘मौद्रिक नीतिमा आवासीय घर निर्माणलाई बढावा दिने व्यवस्था गरिएको छ। यस्तै तरलता धेरै रहेका कारण ब्याजदर पनि अझै घट्ने देखिन्छ। त्यसो हुँदा कर्जाको माग बढ्छ,’ पाण्डेले भने, ‘अहिले पनि कर्जाको माग विस्तारै बढिरहेको छ। गत वर्ष ८.२ प्रतिशतले कर्जा ग्रोथ भयो। यो भनेको बजारमा आर्थिक गतिविधि बढेको सूचक हो।’
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझ उच्च
अमेरिकी डलरसँगै युरो र पाउण्डको विनिमय दर बढेको छ। शनिबार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य पनि अझ उच्च भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिद दर १४० रुपैयाँ ९३ पैसा र बिक्री दर १४१ रुपैयाँ ५३ पैसा पुगेको छ। शुक्रबार खरिद दर १४० रुपैयाँ ७४ पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसा थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ३५८६.७६ डलर पुगेको छ भने चाँदी ४१.०१ डलर ले किनबेच भइरहेको छ। सुनको मूल्यमा एकै दिन ३७.४६ डलरको बढोत्तरी भएको हो।
युरोपियन युरोको खरिद दर १६४ रुपैयाँ ६६ पैसा र बिक्री दर १६५ रुपैयाँ ३६ पैसा भएको छ। शुक्रबार खरिद दर १६३ रुपैयाँ ८७ पैसा र बिक्री दर १६४ रुपैयाँ ५७ पैसा थियो। पाउण्ड स्टर्लिङको खरिद दर १८९ रुपैयाँ ९२ पैसा र बिक्री दर १९० रुपैयाँ ७३ पैसा भएको छ। शुक्रबार खरिद दर १८९ रुपैयाँ ०८ पैसा र बिक्री दर १८९ रुपैयाँ ८९ पैसा थियो।
स्वीस फ्रयांकको खरिद दर १७५ रुपैयाँ ४० पैसा र बिक्री दर १७५ रुपैयाँ १४ पैसा भएको छ। शुक्रबार खरिद दर १७४ रुपैयाँ ६८ पैसा र बिक्री दर १७५ रुपैयाँ ४३ पैसा थियो। अष्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ २२ पैसा र बिक्री दर ९२ रुपैयाँ ६२ पैसा भएको छ। शुक्रबार खरिद दर ९१ रुपैयाँ ७३ पैसा र बिक्री दर ९२ रुपैयाँ १३ पैसा थियो।
क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाइ भाट, यूएई दिराम, मलेसियन रिंगेट, कोरियन वोन, स्वीडिश क्रोनर, डेनिश क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहरेन दिनार, ओमानी रियाल लगायत सबैजसोमा बढोत्तरी छ।
एससीटीले सुरु गर्यो ३डीएस एक्सेस कन्ट्रोल सर्भर सेवा, ग्लोबल आइएमई र एनएमबीमा उपलब्ध
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले ३डीएस एक्सेस कन्ट्रोल सर्भर (एसीएस) सेवा सुरुवात गरेको छ।
एसीएस विश्वव्यापी थ्रीडी सेक्युर प्रोटोकलको महत्वपूर्ण अंग हो। यसले कार्डबाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रियालाई सहज बनाउँछ र ठगीविरुद्ध उच्च स्तरको सुरक्षा सुनिश्चित गर्ने जनाइएको छ।
ग्लोबल आइएमई बैंक नेपालमा एससीटीको ३डीएस एसीएस सेवामा आबद्ध हुने पहिलो बैंक हो। त्यससँगै, एनएमबी बैंकमा पनि यो सेवा संचालन भइसकेकोफ छ। यी सहकार्यहरुमार्फत ग्लोबल आइएमई बैंक र एनएमबी बैंकका कार्डबाहकहरूले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सहज प्रमाणीकरण सुविधा पाउने जनाइएको छ।
एससीटीले सुरु गरेको एसीएस सेवा नेपालमा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ प्रगतिका रुपमा स्थापित भएको कम्पनीको विश्वास छ। यसले अनलाइन कारोबार गर्दा रियल–टाइम प्रमाणीकरण र ठगी रोकथाममा सहयोग प्रदान गर्ने भएकाले अनलाइन किनमेल, टिकटिङ, र अन्य भुक्तानी अनुभवलाई अझ सुरक्षित र विश्वासिलो बनाउने जनाइएको छ।
यसले ग्राहकको डिजिटल च्यानलमा विश्वास बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रादायक संस्थाहरूको सुरक्षाका मापदण्डसँग नजिक ल्याउँदै नगदविहीन अर्थतन्त्रतर्फको यात्रालाई पनि टेवा पुर्याउने विश्वास कम्पनीको छ।
माछापुच्छ्रे बैंकले तीन अर्बको अग्राधिकार सेयर जारी गर्ने
माछापुच्छ्रे बैंकले २७औं वार्षिक साधारण सभा असोज १० गतेका लागि तय गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारण सभाको मिति र त्यसका एजेण्डा तय गरेको हो।
बैंकले साधारण सभामा ६ वटा समान्य र ५ वटा विशेष प्रस्ताव पेस गर्दैछ। सञ्चालक समितिले निर्णय गरे बमोजिम चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पेस हुनेछ।
लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ २७ गते बुक क्लोज तोकेको छ। बुक क्लोजअघि कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन्।
सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहका तर्फबाट रिक्त सदस्य पदमा साविक सञ्चालकको बाँकी कार्यकालसम्मका लागि गरिएको नियुक्ति अनुमोदन गरिने बैंकले जनाएको छ।
बैंकले अंकित मूल्य १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने तालिका छ। बैंकले अधिकृत पुँजी १५ अर्बबाट २० अर्ब रुपैयाँ पुऱ्याउने भएको छ।
शेयरधनीलाई दशैंको उपहारः आधा दर्जन बैंकले लाभांश दिँदै
दशैंअघि आधा दर्जन बैंकहरुले लाभांश घोषणा गर्ने भएका छन् । एभरेष्ट बैंकले बिहीबार मात्रै लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भइ वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।
बैंकले गत वर्ष ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ थियो । यस आधारमा बैंकले ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । तर, बैंकले केही रकम जगेडामा राखेर २० प्रतिशत मात्रै वितरण गर्ने निर्णय गरेको हो ।
यसैबीच माछापुच्छ्रे बैंकले असोज १० मा बस्ने गरी पोखरामा २७औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्नेछ।
साधारणसभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस्तै, प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अग्राधिकार सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनी समूहमा रिक्त सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्तलगायत प्रस्ताव पारित गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भदौ २७ मा बुक क्लोज गरिने बैंकको सूचनामा उल्लेख छ।
यस्तै नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले पनि लाभांश घोषणा गरेको छ । बैंकको भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
बैंकका अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रहेको छ। नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
एभरेष्ट, सानिमा, सिटिजन्स, निफ्रा र कामना सेवा विकास बैंकसँगै मञ्जु श्री फाइनान्सले लगानीकर्तालाई दशैंअघि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न आवश्यक प्रक्रिया सुरु गरेका हुन् ।
सेयरधनीलाई दशैंअघि प्रतिफल घोषणा गर्न बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरणको अन्तिम लेखापरीक्षण गराई नेपाल राष्ट्र बैंकमा वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति (प्रिलिमनरी अप्रुभल) का लागि जानुपर्ने हुन्छ । हाल बैंक घोषित लाभांशमा राष्ट्र बैंकको अन्तिम स्वीकृति लिने प्रकृयामा छ ।
अन्तिम स्वीकृति लिएर पछि बैंकले वार्षिक साधारण सभाको मिति तय गर्ने छ। बाँकीमध्ये निफ्रा, कामना सेवा विकास बैंक र मञ्जुश्री फाइनान्सले गत आवको सम्बन्धित सुपरिवेक्षण विभागमा प्रिलिमनरी अप्रुभलको लागि पुगेका छन्। सानिमा र सिटिजन्स बैंकले पनि अन्तिम लेखापरीक्षण समाप्त गरी त्यसमा थप रिभ्यु गरिरहेका छन्।
एचएन्डबी विकास बैंक घोटाला : साढे ११ करोड रुपैयाँ जरिवाना तोकिएका दुईजना पक्राउ
तत्कालीन एचएन्डबी डेभलपमेन्ट बैंक घोटलामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले दुईजनालाई भक्तपुर र ललितपुरबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र ५० वर्षीय अरबिन्द्र श्रेष्ठ रहेको सीआइबीका एसपी युवराज खड्काले जानकारी दिए।
२०८१ साल जेठमा सर्वोच्च अदालतले प्रधानलाई ९ करोड २१ लाख रुपैयाँ बिगो र ७ वर्ष कैद सजाय सुनाएको थियो। उनलाई भक्तपुरबाट नियन्त्रणमा लिइएको हो।
त्यस्तै श्रेष्ठलाई भने २ करोड ५० लाख बिगो सहित ३ वर्ष कैद सुनाइएको थियो। उनी ललितपुरबाट पक्राउ परेका हुन्।
दुवै जनालाई फैसला कार्यान्वयको लागि अदातलमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
यो बैंकको नाम परिवर्तन गरेर सोसाइटी डेभलपमेन्ट बैंक राखिएको थियो। हिमचुली विकास बैंक र वीरगञ्ज फाइनान्स मर्ज भएर राष्ट्रिय स्तरको विकास बैंक एचएन्डबी बनेको थियो। २०७१ सालमा एचएन्डबी डेभलपमेन्ट बैंककी पूर्व प्रमुख कार्यकारी अधिकृत जसोदा सैंजुलाई ठगी आरोपमा प्रहरीले अनुसन्धान गरेको थियो।
तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाले सैंजु र पूर्वसञ्चालक पुष्पज्योति ढुंगानालाई पनि नियन्त्रणमा लिएको थियो । दुवैजनालाई ग्राहकको चार करोड ७७ लाख रुपैयाँ गठी गरेको उजुरीको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।
एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाण्डौबीच साझेदारी
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाण्डौ होटलसँग नयाँ साझेदारी गरेको छ । यस साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाण्डौ होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् । जसले बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुको बसाई अझ किफायती र सहज हुनेछ ।
साथै, बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त गर्नेछन् ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने
माछापुच्छ्रे बैंकको लाभांश पाउन भदौ २६ गतेभित्रै सेयर किन्नुपर्ने भएको छ । बैंकले असोज १० गतेका लागि आह्वान गरेको साधारणसभाका लागि भदौ २७ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्न लागेको हो ।
बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश प्रस्तावसहित साधारणसभा बोलाएको हो ।
२६ गतेसम्म सेयर खरिद गर्नेहरुले लाभांश पाउने मात्र नभएर साधारणसभामा भाग लिन तथा मतदान गर्न पाउनेछन् ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६.३२ प्रतिशत नगद लाभांश दिने
नेपाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ६.३२ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्तापुँजीको ६.३१५८ प्रतिशत अर्थात् १ अर्ब ३४ करोड ४२ लाख रूपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो ।
बैंकको चुक्तापुँजी २१ अर्ब ६० करोड रूपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको अनुमोदनपछि वितरण हुनेछ ।
ग्लोबल आइएमई बैंक बन्यो उत्कृष्ट बैंक, पायो युरो मनी बेस्ट बैंक अवार्ड
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ ।
सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई उक्त अवार्ड हस्तान्तरण गरे ।
सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।
युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।
यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेश्रो पटक बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो ।
यस अघि ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेष्ट बैंकको रुपमा सम्मानित भएको थियो ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
प्रतिक्रिया
झापा इनर्जीको आईपीओ खुला
झापा इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएको हो ।
यसअघि कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीयलाई र ५७ हजार २९ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।
अब दोस्रो चरणमा सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याई, बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको छ। यी शेयर प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरका हुनेछन्।
न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन भदौ २४ गतेसम्म बन्द हुन सक्छ भने ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ ।
लुम्बिनीमा सिटिजन्स बैंकको ‘लिडरसिप फर ट्रास्फर्मेसन’ सेमिनार
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “लिडरसिप फर ट्रास्फर्मेसन इन् लुम्बिनी: अ सेमिनार अन् ड्राइभिङ्ग पर्फरमेन्स एण्ड रिजनल एक्शिलेन्स” कार्यक्रम आयोजना गरेको छ ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल , नायव प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
सेमिनारमा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको छ ।
हालै अन्य प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरता स्वरूप लुम्बिनी प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ , फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ उत्पादन सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ३४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।












