जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

कर्णाली डेभलपमेन्ट बैंकका सात सय खाता बन्द : निक्षेपलाई सेयरमा परिणत गरिँदै

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका करिब चार सय ऋण खाता र तीन सय जति निक्षेप खाता बन्द गरेको छ। राष्ट्र बैंकले ९ महिनाअघि बैंकलाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएपछि यस अवधिमा असुल भएको ऋण र साना निक्षेप खाता बन्द गरिएको हो।

राष्ट्र बैंकको व्यवस्थापन टोलीका संयोजक तथा उपनिर्देशक टीकाराम खतिवडाका अनुसार निक्षेपकर्ताको हित जोगाउन ‘निक्षेपलाई सेयरमा परिणत गर्ने’ विकल्पमाथि छलफल भइरहेको छ।

उनका अनुसार बैंकको कुल सम्पत्ति २ अर्ब ४५ करोड मात्र रहेकाले चार अर्ब ३३ करोड रुपैयाँ दायित्व धान्न नसक्ने अवस्था देखिएको छ। यसले गर्दा करिब १ अर्ब ८८ करोड रुपैयाँ बराबरको खाडल परेको हो।

२०८१ पुस १० गते समस्याग्रस्त घोषणा गरिएको बैंकको व्यवस्थापन पुस ११ गतेदेखि राष्ट्र बैंकको प्रत्यक्ष नियन्त्रणमा आएको हो। बैंकमा करिब १ लाख ७ हजार निक्षेपकर्ताले चार अर्ब ६४ करोड रुपैयाँ राखेका छन् भने एक हजार ६५ जना ऋणीले २ अर्ब ९० करोड रुपैयाँ ऋण लिएका छन्।

यसबीचमा राष्ट्र बैंकले कर्जा असुलीलाई प्राथमिकता दिँदै हालसम्म ६० करोड रुपैयाँ उठाइसकेको छ। यो रकम १ करोड रुपैयाँभन्दा कम ऋण लिएका करिब साढे ४ सय ऋणीबाट असुल गरिएको हो। ठूला ऋणमध्ये १४ करोडसम्मका ऋण पनि असुली प्रक्रियामा रहेका छन्।

निक्षेपकर्तालाई असुल भएको रकमबाट आंशिक फिर्ता दिने कार्य पनि भइरहेको छ। हालसम्म प्रत्येक निक्षेपकर्तालाई न्यूनतम ५ हजारदेखि अधिकतम ३० हजार रुपैयाँसम्म फिर्ता गरिएको छ। सामान्य अवस्थाका लागि ५ हजार रुपैयाँसम्म र स्वास्थ्य उपचारजस्ता विशेष अवस्थामा ३० हजार रुपैयाँसम्म फिर्ता गरिएको हो। यसैगरी, एक लाखभन्दा कम निक्षेप भएका ३०० खाता बन्द गरिएको छ।

यसैबीच, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानले बैंकमा करिब तीन अर्ब २० करोड रुपैयाँको अपचलन भएको देखाएको छ। यसमा १ अर्ब ८० करोड कर्जा, १ अर्ब ६० करोड नगद तथा सेयरबाट हिनामिना भएको उल्लेख गरिएको छ। यसबारे मुद्दा जिल्ला अदालतमा दायर भइसकेको छ।

करिब ४ करोडसहित गोंगबुबाट पक्राउ परेका श्रेष्ठ मिटरब्याजी

आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ ।

उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनाल भन्छन्, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी मिटरब्याजी रहेको देखिन्छ । सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको देखिन्छ ।’

७७ वर्षीय श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड राखेका थिए । अहिलेसम्म बरामद रकमअनुसार ३ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले बताएको छ ।

त्यसैगरी प्रहरीले सुनका गरगहनाहरू पनि बरामद गरेको छ भने बरामद सुनको जाँच गर्न र तौल गर्न बाँकी रहेको प्रहरीले बताएको छ ।

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन् । पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको पाइएको छ।

राष्ट्र बैंकद्वारा ‘एसआईपीएस फ्रेमवर्क’ जारी, भुक्तानी प्रणाली थप व्यवस्थित

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ्ग सिस्टमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम’ जारी गरेको छ। पछिल्लो चरण तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय भुक्तानीलाई नियमन गर्ने उद्देश्यसहित उक्त फ्रेमवर्क सार्वजनिक गरिएको हो।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि भुक्तानी प्रणाली सञ्चालकहरूलाई प्रणालीगत रूपमा महत्त्वपूर्ण प्रणाली पहिचान गरिने उल्लेख गरिएको थियो। सोही नीतिलाई कार्यान्वयन गर्दै केन्द्रीय बैंकले नयाँ व्यवस्था ल्याएको हो।

राष्ट्र बैंकका अनुसार प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरू वित्तीय प्रणालीका अत्यावश्यक अवयव हुन्। यस्ता प्रणालीहरूले ठूलो मूल्यका साथै संवेदनशील भुक्तानी समेट्ने भएकाले यसको दिगोपन, सुरक्षा र कार्यक्षमता महत्वपूर्ण मानिन्छ।

नयाँ फ्रेमवर्कको मुख्य उद्देश्य यस्ता प्रणालीहरूको पहिचान र नामांकनका लागि स्पष्ट तथा समग्र मापदण्ड तय गर्नु रहेको छ। यसले भुक्तानी प्रणाली सञ्चालकहरूलाई नियामक निगरानी र जोखिम व्यवस्थापनको दायरामा ल्याई वित्तीय क्षेत्रमा प्रणालीगत अवरोध हुन नदिने केन्द्रीय बैंकले जनाएको छ।

विशेषगरी, उच्च मूल्यका भुक्तानीहरू सुरक्षित गर्ने, प्रणाली सञ्चालनमा पारदर्शिता बढाउने, तथा सम्पूर्ण भुक्तानी पूर्वाधारलाई सुदृढ बनाउन यस फ्रेमवर्कले योगदान गर्ने अपेक्षा गरिएको छ।

सिटीपे अब फोनेपेको क्युआर नेटवर्कमा, १७ लाखभन्दा बढी आउटलेटमा भुक्तानी सम्भव

नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक फोनेपेले सिटीपे डिजिटल वालेटलाई आफ्नो पारिस्थितिकी प्रणालीमा एकीकृत गरिएको दशौँ वालेटका रूपमा औपचारिक रूपमा स्वागत गरेको छ।

यस महत्वपूर्ण साझेदारीले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल कारोबार प्रणाली निर्माण गर्ने फोनेपेको अभियानमा नयाँ उचाइ थपेको छ।

अबदेखि सिटीपे वालेट प्रयोगकर्ताहरूले फोनेपेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्युआर ९त्तच्० नेटवर्कमा पहुँच प्राप्त गर्नेछन्। यसको अर्थ, उनीहरूले देशभर १७ लाखभन्दा बढी व्यापारी आउटलेटहरूमा सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्नेछन्।

हाल फोनेपेले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूलाई जोडेको छ र डिजिटल वालेटहरूलाई पनि आफ्नो प्रणालीमा समेट्दै आएको छ। यसले लाखौँ प्रयोगकर्ताहरूलाई सुरक्षित, भरपर्दो र तत्काल डिजिटल कारोबारको सेवा दिन सक्षम भएको छ।

सिटीपेलाई स्वागत गर्दै, फोनेपेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिवस कुमारले भने, ‘हाम्रो पारिस्थितिकी प्रणालीमा सिटीपे स्वागत गर्नु हाम्रो यात्रामा एक महत्वपूर्ण कदम हो। प्रत्येक नयाँ एकीकरणले नेटवर्कलाई बलियो, समावेशी र जनताका लागि अझ उपयोगी बनाउँछ। हाम्रो उद्देश्य केवल वालेट र बैंकहरूलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्ति र व्यवसायलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास अनुभव गराउनु हो।’

त्यसैगरी, सिटीपेका सीइओ बिनय रेग्मीले उक्त साझेदारीको महत्वबारे भनाइ राख्दै भने, ‘यो केवल प्रविधि सम्बन्धी सहकार्य होइन। यो लाखौं रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउने प्रयास हो। सिटीपे र फोनेपे सँगै लाखौं प्रयोगकर्ता र व्यापारीहरूलाई सहज, सुरक्षित र तुरुन्त कारोबार गर्न सक्षम बनाउनेछन्।’

यस साझेदारीको अवसरमा, सिटीपेले फोनेपे नेटवर्कमार्फत गरिने कारोबारमा आधारित विशेष ‘पर्व अभियान’ पनि सार्वजनिक गरेको छ। सेप्टेम्बर २ देखि नोभेम्बर २, २०२५ सम्म सिटीपे वालेटमार्फत गरिने प्रत्येक कारोबारले स्वचालित रूपमा भाग्यशाली चिट्ठामा सहभागिता जनाउनेछ।

अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुईवटा सामसङ टेलिभिजन जित्न सक्नेछन्। विजेताहरू मासिक रूपमा सार्वजनिक गरिनेछन्।

त्यसैगरी, रु ५०० भन्दा माथिको हरेक क्युआर कारोबारमा सिटीपेले २० रिवार्ड पोइन्ट दिनेछ, जुन प्रयोगकर्ताले कम्पनीको नीति अनुसार नगद वा वस्तुमा रूपान्तरण गर्न सक्नेछन्।

सिटीपेको यो समावेशीकरणले डिजिटल भुक्तानी पारिस्थितिकी प्रणाली अझ मजबुत बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ। नेपाल नगद रहित अर्थतन्त्रतर्फ तीव्र रूपमा अग्रसर भइरहेका बेला यस्ता सहकार्यहरूले प्रविधिमा नवप्रवर्तन, सेवाको अन्तरसञ्चालन, र सबै वर्गलाई वित्तीय पहुँच दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको भनाइ छ।

यसरी, फोनेपे र सिटीपेको सहकार्यले डिजिटल कारोबारलाई थप सुरक्षित, समावेशी र प्रयोगकर्तामैत्री बनाउँदै नेपालमा फिनटेक क्रान्तिको गति अझ तीव्र बनाउने देखिन्छ।

एनएमबि बैंकंद्वारा श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण

एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रम बिच विद्यार्थीहरुलाई स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पु¥याउने आफ्नो प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरेको हो ।

बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँच पु¥याउन सहयोग गर्ने लक्ष्य राखेको छ । यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृड बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेलको प्रमुख आतिथ्य रहेको थियो। उहाँले एनएमबि बैंकको यस पहलको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए।

त्यस्तै, एनएमबि बैंकका तर्फबाट मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्रज्यू र लालबन्दी शाखाका प्रबन्धक अरुण आचार्यको विशेष उपस्थिति रहेको थियो। उनीहरूले बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।सबै सहभागीहरूले बैंकको यस उदाहरणीय कार्यको सराहना गरेका थिए । एनएमबि बैंकले भविष्यमा पनि समाज र राष्ट्रको हितका लागि यस्तै रचनात्मक र सामाजिक रूपमा जिम्मेवार कार्यक्रमहरू सञ्चालन गर्ने वाचा गरेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक तथा बित्तिय संस्थाहरुलाई प्रदान गरिने बाणिज्य बैंक तर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ । बैंकले Best Performance on Risk
Management, Best Bank and Best Performance on Assets Quality बिधामा उक्त सम्मान प्राप्त गरेको हो ।

भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफ कमर्शद्धारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले उक्त पुरस्कारहरू ग्रहण गर्नुभएको थियो । यी प्रतिष्ठित पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापनका अभ्यासहरु, सञ्चालन उत्कृष्टता तथा बैंकको सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई जोड दिन्छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स सिइओ प्रसाईज्यू भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका छन् । छैठौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका हुन् ।

बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समितिदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा उहाँले गरेको योगदानको कदर स्वरुप यो सम्मान गरिएको हो । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको नेतृत्वमा आर्थिक वर्ष २०८१/८२ मा गर्विलो व्यवसाय बृद्धि गरी नेपाली बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरिलो उपस्थिति रहन गएको छ ।

सोमबार एक कार्यक्रमका बीच प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित गरेका हुन् । एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न पेशा व्यवसायमा अब्बलता हासिल गरेका व्यक्तिहरुलाई विविध विधाहरुमा सम्मान प्रदान गरिदै आएको छ । नेपाल लगायत एसियाका विभिन्न देशका आफ्नो पेशा व्यवसायमा छुट्टै पहिचान बनाउन सफल व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सिटी एक्सप्रेसको दसैँ–तिहार अफर सार्वजनिक, हरेक हप्तामा १ लाख उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दसैँ, तिहार र छठलाई लक्षित गरी नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।
“यो दसैँ तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख” भन्ने नारासहितको यो योजना लगातार ९ हप्तासम्म सञ्चालन हुनेछ । उपहार योजनाको घोषणा कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपाल उपस्थित थिए ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत हरेक हप्तामा लक्की ड्रमार्फत एक जनाले नगद १ लाख रुपैयाँ जित्नेछन्। साथै, दैनिक रूपमा सिटी पे प्रयोग गर्ने सबै सेवाग्राहीले क्यास ब्याक पाउने व्यवस्था गरिएको छ ।

यो अफर भदौ १६ देखि कार्तिक १५ गतेसम्म लागू हुनेछ। यस अवधिमा विदेशबाट सिटी एक्सप्रेसमार्फत पठाइने सम्पूर्ण रेमिट्यान्स सेवाग्राही स्वचालित रूपमा योजनामा सहभागी हुनेछन् । विजेताको छनोट विद्युतीय प्रणालीद्वारा हुने र योजना सिटी एक्सप्रेसका कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १९ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा दिँदै आएको छ । हालै कम्पनीले ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी र रेमिट्यान्स भुक्तानी सेवा सुरु गरेको छ ।

वर्षदिनमा ६० अर्ब खर्चिए वाणिज्य बैंकहरुले कर्मचारी तलबमा

वर्षदिनमा वाणिज्य बैंकले आफ्ना कर्मचारीहरुलाई ६० अर्बभन्दा बढी तलब भुुक्तानी गरेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१।०८२ मा कर्मचारीहरुको तलब बापत ६० अर्ब ३ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेका हुन् ।

बैंकले कर्मचारीहरुलाई भुक्तानी गरेको तलब अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुुलनामा ७.४० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले कर्मचारीहरुलाई ५५ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेको थियो । वर्षदिनमा १६ वटा बैंकले तलब बापतको भुक्तानी बढाएका छन् भने ४ बैंकले घटाएका हुन् ।

समिक्षा अवधिमा कर्मचारी तलबका लागि सर्वाधिक भुक्तानी गर्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ । बैंकको कर्मचारी तलब २७.१० प्रतिशतले बढेर ४ अर्ब ८० करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ७८ करोड २ लाख रुपैयाँ रहेको थियो ।

सर्वाधिक कर्मचारी तलब बापत भुक्तानी गर्ने दोस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले वर्षदिनको अवधिमा कर्मचारी तलब २.०३ प्रतिशतले बढाएर ४ अर्ब ५० करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

गत वर्ष कर्मचारी तलब कृषि विकास बैंकको २१.७६ प्रतिशतले बढेर ४ अर्ब २६ करोड, नबिल बैंकको १०.९४ प्रतिशतले बढेर ४ अर्ब ७ करोड ८६ लाख, प्रभु बैंकको १.६३ प्रतिशतले घटेर ३ अर्ब ९२ करोड ७ लाख, ग्लोबल आइएमई बैंकको २.९७ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड ६३ लाख, कुमारी बैंकको २.७३ प्रतिशतले घटेर ३ अर्ब ८६ करोड, नेपाल बैंकको २.२९ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड, एनआईसी एशिया बैंकको ९.७२ प्रतिशतले घटेर ३ अर्ब ५२ करोड र हिमालयन बैंकको २४ प्रतिशतले बढेर ३ अर्ब ४० करोड रुपैयाँ भुक्तानी भएको छ ।

त्यस्तै, कर्मचारी तलब बापत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.५ प्रतिशतले बढेर ३ अर्ब १७ करोड, सिद्धार्थ बैंकको ९.६२ प्रतिशतले बढेर २ अर्ब ६८ करोड, एनएमबि बैंकको १२.२३ प्रतिशतले बढेर २ अर्ब ५७ करोड, माछापुच्छ्रे बैंकको १३.७७ प्रतिशतले बढेर २ अर्ब १६ करोड, सिटिजन्स बैंकको ७.३४ प्रतिशतले बढेर १ अर्ब ७७ करोड, एभरेष्ट बैंकको ५.५२ प्रतिशतले बढेर १ अर्ब ७५ करोड, प्राइम बैंकको १३..१५ प्रतिशतले बढेर १ अर्ब ७० करोड र नेपाल एसबिआई बैंकको ६.६९ प्रतिशतले बढेर १ अर्ब ६३ करोड रुपैयाँ भुक्तानी गरेको देखिएको छ ।

वाणिज्य बैंकमा सानिमा बैंक र स्टान्र्डड चार्टड बैंकले सबैभन्दा कम कर्मचारी तलबमा भुक्तानी गरेका छन् । सानिमाले १ अर्ब ५८ करोड र स्टान्र्डडले १ अर्ब ४ करोड रुपैयाँ कर्मचारी तलबमा खर्च गरेको देखिएको छ ।

ऋण लिँदै हुनुहुन्छ ? यी हुन् सस्तो कर्जा पाउने बैंकहरु

घर, गाडी वा व्यक्तिगत खर्चका लागि ऋण लिँदै हुनुहुन्छ भने अब कर्जा पाउन सजिलो र सस्तो भएको छ। वाणिज्य बैंकहरूको आधार दर घट्दै गएपछि घर तथा गाडी कर्जा लगायत व्यक्तिगत कर्जाको ब्याजदर पनि उल्लेखनीय रूपमा कम भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको औसत आधार दर (बेस रेट) ५.९६ प्रतिशत पुगेको छ। गत दुई वर्षयता घट्दो निक्षेप ब्याजदरका कारण बैंकहरूको लागत कम भएको हो। यसले औसत आधार दर घटाएर ऋणको ब्याजदर सस्तो बनाएको छ।

सस्तो कर्जा दिने बैंकहरू

भदौमा दुई वटा वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा तल झरेको छ। यसमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर ४.६८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.८० प्रतिशत रहेको छ। यस अर्थमा यी दुई बैंकबाट ऋण लिनु हाल सबैभन्दा सस्तो विकल्प हो।

साथै, सात वाणिज्य बैंकको आधार दर ५ देखि ६ प्रतिशतको दायरामा छ। सबैभन्दा बढी आधार दर भने एनआईसी एशिया बैंकको ७.०४ प्रतिशत रहेको छ। आधार दर घट्नु भनेको कर्जा ब्याजदर सस्तो हुनु हो। प्रायः बैंकहरूले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिने गर्छन्। तर, हाल ऋणको माग कम भएका कारण केही बैंकहरूले ०.२५ प्रतिशत प्रिमियममै ऋण उपलब्ध गराउन थालेका छन्।

ऋण सस्तो हुनुको कारण

ऋणको ब्याजदर घट्नुमा मुख्य भूमिका खेलेको छ निक्षेपको लागत कम हुनु। पछिल्ला वर्षमा बैंकहरूले निक्षेप ब्याजदर घटाउँदै आएका छन्। औसत निक्षेप ब्याजदर अहिले ४.१९ प्रतिशत पुगेको छ। निक्षेपको लागत कम भएपछि बैंकले आधार दर घटाएर ऋण सस्तो बनाउन सकेका छन्।

त्यसैगरी, ऋणको माग कम भएका कारण लगानीयोग्य रकम बैंक प्रणालीमा थुप्रिएको छ। यसले बैंकहरूलाई ऋणको ब्याजदर घटाएर नयाँ ऋणी र पुराना ऋणी दुवैलाई लाभ दिन सहज बनाएको छ।

घर र गाडी कर्जा सस्तो

हाल घर तथा गाडी कर्जा ब्याजदर उल्लेखनीय रूपमा कम भएको छ। यसरी घटेको आधार दरले ऋण लिनेहरूको लागि ठूलो राहत भएको छ। उदाहरणका लागि, स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट घर कर्जा लिँदा आधार दर ४.६८ प्रतिशत भएकाले प्रिमियम जोड्दा पनि कुल ब्याजदर धेरै सस्तो छ।

अर्कोतर्फ, एनआईसी एशिया बैंकमा आधार दर बढी भएकाले त्यहाँ ऋणको कुल ब्याजदर केही उच्च रहन्छ। यसले ऋणीहरूले ऋण लिनुअघि बैंकको आधार दर र प्रिमियम दुवै तुलना गरेर निर्णय गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

ऋणी र लगानीकर्ताका लागि संकेत

हालको आधार दरको अवस्था ऋणीहरूका लागि लाभदायी छ। तर, ऋण लिनुअघि आधार दर, प्रिमियम, वार्षिक ब्याजदर र मासिक किस्ता गणना गरेर मात्र ऋण लिनु उपयुक्त हुन्छ।

त्यसैगरी, बैंकहरूले पनि ऋण प्रवाह बढाउन अब प्रोत्साहन योजना ल्याउने, डिजिटल भुक्तानीमार्फत सजिलो प्रक्रिया अपनाउने र ग्राहकलाई सुरक्षित सेवा दिनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ।

कुन बैंकको आधार दर कति ?

कर्जा वा ऋण के हो ?

निश्चित अवधिपछि व्याजसहित साँवा फिर्ता गर्ने शर्तमा अन्य व्यक्ति वा निकायसँग लिइएको रकम नै कर्जा वा ऋण हो । आफ्नो रकम प्रयोग गर्दा विस्तारै वचत गर्दै गए अनुसार जम्मा भइसकेपछि मात्र लगानी गर्न सकिन्छ भने ऋणबाट लगानी गर्दा एकैपटक तरुन्तै रकम प्राप्त गर्न र लगानी गर्न सकिन्छ ।

आफ्नो रकम कुनै दायित्व विना नै प्रयोग गर्न सकिन्छ भने ऋणले दायित्व सिर्जना गर्ने र त्यसको लागत व्यहोर्नु पर्ने हुन्छ । कर्जा सामान्यतया चालु पुँजी कर्जा, सम्पत्ति खरिद कर्जा, उपभोग कर्जा, लगानी कर्जा आदि गरी विभिन्न प्रकारका हुने गर्दछन् ।

कुनै पनि उद्यम व्यवसाय गर्नका लागि वित्तीय श्रोतको व्यवस्था गर्नु पर्ने हुन्छ । जस्तै, गाई–भंैसी पाल्न, रिक्सा किन्न, सानो ठुलो व्यापार गर्न, उद्योगधन्दा स्थापना गर्ने लगायतका कुनै पनि किसिमका आय आर्जनमुलक कारोबार गर्नका लागि सर्वप्रथम पैसा चाहिन्छ । पैसा आफुसँग नहुन पनि सक्दछ । पहिला पहिला परम्परागत रूपमा साहु महाजनहरूले पैसा उपलब्ध गराउने गर्दथे र तिनले ऋणीसँग चर्को व्याज असुल उपर गर्दथे । त्यसकारण बैंक तथा वित्तीय संस्थाहरुको स्थापना भएको र गरिब तथा धनी जसलाई पनि बैंकले सहुलियत रुपमा ऋण उपलब्ध गराउँदै आएका छन् ।

बैंक तथा वित्तयि संस्थाहरू कानुन बमोजिम स्थापना र सञ्चालन हुने हुँदा कानुन बमोजिम मात्र व्याज असुल गर्दछन् । यी संस्थाहरुले पनि फाइदा लिन खोजेमा सुपरिवेक्षण गर्ने संस्थाले सुपरिवेक्षण गर्दछ र कानुनी दायरामा मात्र सीमित हुन निर्देशन दिन्छ । यदि नमानेमा बैंक तथा वित्तीय संस्थाले कारवाहीको भागीदार बन्नु पर्दछ ।

बैंकबाट ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरु

-तिर्न सक्ने क्षमताभन्दा बढीको कर्जा वा ऋण लिनु हुँदैन ।

-भविष्यमा ऋण चुक्ता गर्न नसकेमा व्यक्तिगत जमानीका आधारमा सो चुक्ता गर्नु एकाघर परिवारको समेत दायित्वभित्र पर्न सक्ने हुँदा ऋण लिनु पुर्व परिवारका सदस्यहरूसँग समेत सरसल्लाह गर्नु पर्छ ।

-नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त औपचारिक संस्थाहरूबाट मात्र ऋण लिने गरेमा अनावश्यक ठगी हुनबाट र चर्को व्याजदरबाट बच्न सकिन्छ ।

-ऋण लिनु पुर्व तुलनात्मक रूपमा महँगो व्याजदर नलगाउने, अन्याय पुर्ण शर्तहरू नराख्ने, सजिलै कम मार्जिनमा धितो राख्न सकिने, व्याजका अतिरिक्त अन्य थप शुल्कहरू कम मात्र लिने, ऋण प्रक्रिया छिटो एवम् सरल भएका र किस्ता बुझाउन ढिलो भएमा चर्को जरिवाना तिर्नु पर्ने या नपर्ने जस्ता विषयहरू सोधपुछ गरेर वा जानकारी लिएर मात्र बैंक तथा वित्तीय संस्थाको छनौट गरी सो संस्थाबाट ऋण लिनु उपयुक्त हुन्छ ।

-ऋणको साँवा र व्याजको किस्ता कहिले–कहिले र कति–कति रकम तिर्नुपर्ने हो सोबारे प्रष्ट जानकारी लिनु पर्छ ।

-तपाईंको स्थायी आम्दानीको एउटा निश्चित अंशले ऋणको साँवा र व्याज तिर्न पुग्ने हुनुपर्छ ।

-मुख्यतः उपभोगका लागि ऋण लिने बानीलाई घटाउँदै जानु पर्दछ । अर्थात् पछि आम्दानी दिने काममा लगानी गर्नका लागि मात्र ऋण लिनु उपयुक्त हुन्छ ।

-ऋण लिएर लगानी गरेको परियोजनाबाट तुरुन्तै आम्दानी हुँदैन भने त्यस्तो आम्दानी नहुञ्जेल ऋणको साँवा व्याज कसरी भुक्तानी गर्ने हो सोको योजना पनि बनाउनु पर्छ ।

-जुन कामका लागि ऋण लिएको हो सोही काममा लगानी गरी आय आर्जन गर्नु पर्दछ । यदि त्यस्तो काममा लगानी गरिएन भने कर्जा दरुपयोग भएको मानिनुका साथैपछि कर्जा भुक्तानी गर्न सकिन्न ।

-समयमा ऋण तिर्न नसकेमा हर्जाना तिर्नु पर्ने, धितो लिलामी हुन सक्ने, कानुनी कारवाहीको सामना गर्नुपर्ने हुन सक्छ ।

-सामुहिक जमानीमा ऋण लिएको भए समुहका अन्य सदस्यले समेत ऋण लिन नपाउने हुँदा दबाव व्यहोर्नु पर्ने हुन्छ ।

-हरुबैंकबाट लिएको ऋणको साँवा व्याज समयमा बुझाउन नसक्दा अनन्तः कर्जा सुचना केन्द्रको कालो सुचीमा समेत पर्न जाने र ऋण लिने व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने हुँदा समयमै कर्जाको किस्ता बुझाउनेतर्फ सधैँ सजग रहनु पर्छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू

नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेका बैठकका निर्णय सार्वजनिक गरिएका छन् । सोमबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले आगामी असोज १९ देखि २३ गतेसम्म दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने २५औँ ‘फिगो वल्ड कंग्रेस अफ गाइनेकोलोजी एन्ड अब्स्ट्रेक्टिस’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. रामपदारथ विच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, असोज ८ देखि ९ गतेसम्म जापानको टोकियोमा आयोजना हुने ‘द फोर्टिन हाइ–लेवल टाक्स कन्फ्रेन्स फर एसियन एन्ड स्पेसिफिक कन्ट्रिज्’ विषयक सम्मेलनमा सहभागिताका लागि अर्थ मन्त्रालयका सचिव (राजस्व) दिनेश घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।

यस्तै, यही भदौ २२ देखि २८ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने ‘आइसिआइडीयुएस मेगा इभेन्ट’, चौथो ‘वर्ल्ड इरिगेसन फोम तथा ७६ औँ इनटरनेसनल एक्जुकेटिभ काउन्सिल’ आइसी’ को बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (जलस्रोत तथा सिँचाइ) सरिता दवाडीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय रहेको छ ।

यसैगरी भदौ २३ देखि २५ गतेसम्म भारतमा आयोजना हुने ‘डाइलग नेक्स्ट’ कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मालाई स्वीकृति दिने निर्णय भएको छ।

यस्तै, नेपालमा सञ्चालन हुने गैर नाफामूलक सङ्घ संस्था (एनपिओ) हरूको एकीकृत विवरण राख्ने प्रयोजनका लागि गृह मन्त्रालयले तयार गर्ने ‘एनपिओ पब्लिक पोर्टल सफ्टवेयर’ सञ्चालनका लागि आवश्यक विवरण प्राप्त गर्न उक्त पोर्टललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग ‘एप्लिकेसन प्रोग्राम इन्टरफेस (एपिआइ)’ मार्फत आबद्धता प्रदान गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।

बुमन पोलिटिकल लिडर्स (डब्लुपिओ) ले नेपाललाई प्रदान गर्ने ‘डब्लुपिएल कन्ट्री अवार्ड २०२५’ प्राप्त गर्ने र मोन्टिनिग्रोमा आयोजना हुने उक्त अवार्ड वितरण कार्यक्रममा सहभागी हुन (असोज १२ देखि १४ गते) परराष्ट्रमन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

यसैगरी, विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश उमेश कोइरालालाई तोक्ने निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिए ।

बैठकले राजस्व न्यायाधीकरण नेपालगञ्जको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीलाई तोक्ने, श्रम अदालतको सदस्य पदमा अधिवक्ता कुमारी खरेल, झापालाई नियुक्त गर्ने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि आर्थिक वर्ष २०८२/८३ का लागि अधिकृतस्तरका ५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णग गरेको छ।

बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आर्थिक वर्ष २०८२/८३ का लागि ८७ अधिकृतस्तरका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, विर्ता उन्मूलन (नवौँ संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, आव २०८२/८३ मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्, फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति र राष्ट्रिय ‘एन्टिडोपिङ ऐजेन्सी’मा २१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

पुरातत्व विभागमार्फत सञ्चालित भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम आव २०८२/८३ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दीहरू स्वीकृत गर्ने सरकारले निर्णय गरेको छ ।

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको गोन्जाउ र साङ्घाईमा भदौ २७ देखि असोज ४ गतेसम्म हुने १२ औँ बेजिङ साङ्घाई फोरममा सहभागी हुन प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई स्वीकृति प्रदान गर्ने, कात्तिक ११ देखि १३ गतेसम्म लण्डनमा आयोजना हुने ‘ग्लोबल हायर एजुकेसन’ सम्बन्धी ‘रिलाइन्स, भ्यालुस्, इनोभेसन सर्भाविङ एन्ड थ्रिभिङ इन अ भोलाटाइल वर्ल्ड’ विषयक सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) चूडामणि पौडेललाई भाग लिन स्वीकृति दिने निर्णय गरिएको छ।

यसैगरी ललितपुरमा रहेको नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा र छाप्रो निर्माणका लागि १२३५ दशमलव ७४ क्युफिट काठ उपलब्ध गराउने प्रयोजनार्थ उक्त काठको राजस्व रोयल्टी रकम रु १० लाख १९ हजार ४६९ मिनाहा गर्ने, ‘कोस्क्याप साउथ एसिया प्रोजेक्ट’ छैटौँ चरणको कार्यक्रम स्वीकृत गर्ने, नेपाल सरकार र साउदी अरेबिया सरकारबीच ‘एग्रिमेन्ट अन जेनरल वर्कस् रिक्रुट्मेन्ट बिटविन द गर्भमेन्ट अफ नेपाल एन्ड द गर्भमेन्ट अफ द किङडम अफ साउदी अरेविया’ विषयक श्रम सम्झौता गर्ने सरकारले निर्णय गरेको छ।

यसका साथै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्रको सिमाना हेरफेर र छायाँनाथ राष्ट्रिय निकुञ्ज एवम् मध्यवर्ती क्षेत्र घोषणा गर्ने, तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२ २०८७) स्वीकृत गर्ने र राष्ट्रिय खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०६२ स्वीकृत गर्ने निर्णय गरिएको छ ।

आइएमएफसँगको प्रतिबद्धता कार्यान्वयनः १० ठूला बैंकको कर्जा गुणस्तर परीक्षण हुँदै

नेपाल राष्ट्र बैंकले संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये कुल सम्पत्तिका आधारमा १० ठूला बैंक छनौट गरी तिनको स्वतन्त्र लेखापरीक्षण गर्ने जिम्मेवारी बंगलादेशी ‘हउलदार युनुस एण्ड कम्पनी’लाई दिएको छ ।

राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले दोस्रो चरणमा सो कम्पनीलाई छनौट गर्दै आशयपत्र जारी गरेको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषको सुझाव तथा सहयोगमा अघि बढाइएको यस प्रक्रियाअनुसार कम्पनीलाई करिब ६२ लाख ५४ हजार रुपैयाँ र २ लाख ७१ हजार अमेरिकी डलर (झण्डै ३ करोड ७१ लाख रुपैयाँ) भुक्तानी दिइनेछ ।

लेखापरीक्षणका लागि छनौट भएका १० बैंकहरूमा ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, एनएमबि बैंक र प्रभु बैंक रहेका छन्।

स्वतन्त्र लेखापरीक्षणमार्फत यी बैंकहरूले प्रवाह गरेका कर्जाको गुणस्तर मूल्यांकन गरिनेछ । यस क्रममा कर्जा भुक्तानीकै लागि कर्जा लिने प्रवृत्ति, समूहगत कर्जा वितरण, कर्जा केन्द्रीकरण, असल–नराम्रो कर्जाको अवस्था लगायतका पक्षको विश्लेषण गरिनेछ ।

सरकारले सन् २०२१ डिसेम्बर २२ मा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा लिँदा १० ठूला बैंकको स्वतन्त्र लेखापरीक्षण गर्ने प्रतिवद्धता जनाएको थियो। त्यसै अनुसार अहिले बंगलादेशी कम्पनीमार्फत लेखापरीक्षण प्रक्रिया सुरु हुन लागेको हो ।