जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

एनबीलाई गाभ्ने नबिलको निर्णयले २ दिनमा सेयर मूल्य ६८ रुपैयाँले बढ्यो

नेपाल बंगलादेश(एनबी) बैंकलाई गाभ्ने निर्णयलाई सेयर बजारले स्वागत गरेको छ ।

नबिल बैंकले बिहीबार एनबी बैंकलाई गाभ्ने सम्झौता गरेको थियो । एनबी बैंकको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता हुने गरेर गाभ्ने सम्झौता भएको छ ।

नबिल बैंकमा एनबी बैंक गाभिने भएको हुँदा दोस्रो बजारमा एनबी बैंकको मात्र सेयर कारोबार रोक्का छ । मर्जरमा जाने दुवै संस्थाको सेयर कारोबार रोक्का हुने गर्छ । एक्विजेशनमा भने एक्विजेशनमा जाने संस्थाको मात्र सेयर कारोबार हुने गर्दैन ।

नबिल बैंकको सेयर मूल्य बिहीबार बजार बन्द हुने बेला १११० रुपैयाँ थियो । आइतबार र सोमबार नै नबिल बैंकको सेयर मूल्य बढेको छ । सोमबार बजार बन्द हुँदा नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ११७८ रुपैयाँ पुगेको छ ।

यसरी हेर्दा सेयर बजारले नबिल बैंकले एनबीलाई गाभ्ने निर्णयको स्वागत गरेको देखिएको छ । नबिल बैंकलाई एनबी बैंक गाभ्दा ५ अर्ब ७४ करोड रुपैयाँ सेयर स्वापबाट रिजर्बमा आउने छ । जुन रकम बोनस बाँड्न मिल्छ ।

एनआईसी एशिया बैंक र वल्ड रेमिटबिच रेमिट्यान्स पठाउन सम्झौता

एनआईसी एशिया बैंक र वल्ड मर्चेन्टबीच मलेसियाबाट रकम पठाउने विषयमा सम्झौता भएको छ ।

वल्ड रेमिट मार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुबै पक्षबीच सम्झौता भएको छ ।

यसबाट मलेसियामा रहेका नेपालीहरूले बिना झन्झट वल्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नेछन् ।

यसका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको छ ।

यो सम्झौताले मलेसियामा लाखौंको संख्यामा रहेका नेपालीले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै नेपालमा रहेका आफ्ना परिवारजन तथा आफन्तहरूलाई तत्काल सुरक्षित रुपमा रकम पठाउन सक्नेछन् ।

साथै, अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको छ ।
बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कृषि विकास बैंकको कर्पोरेट कार्यालयमा क्यूआर टेलर सेवा

कृषि विकास बैंकबाट क्यूआर टेलर सुरुवात भएको छ । बैंकको ५५ औं बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुखकार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कर्पोरेट बैंकिग कार्यालय, रामशाहपथमा क्यूआर टेलरबाट कारोबार शुरुवात गरेका छन् ।

उक्त कार्यक्रममा उपमहाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दिर्घबहादुर अर्याल, बाबुकाजी थापा, विभागीय प्रमुखज्यूहरु अजयकुमार रिमाल, पप्पु बाबु श्रेष्ठ, सुन्दर प्रसाद खतिवडा, सरोज कुमार शाह तथा डिजिटल बैंकिग विभागका बरिष्ठ शाखा प्रमुख प्रज्वल भट्टराई लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकको मोवाइल र्बैकिग सेवा लिएकाग्राहकहरुले चेक बिनानै सहज तथा सुरक्षित रुपमा क्यूआर टेलरबाट क्यूआर स्क्यान गरी आफ्नो खाताको रकम भुक्तानी लिन सकिने सेवाको शुभारम्भसँगै ग्राहकहलाई थप डिजिटल सेवाप्राप्त गर्ने अवसर मिलेको बैंकले जनाएको छ ।

सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत (ब्राण्ड एम्बेसेडर) मा आदरणीय व्यक्तित्व द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापना काल देखी नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध थिए ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हस्ताक्षर रहेको छ । यस सम्झौतापछि ब्राण्ड एम्बेसडर महजोडीले सिटिजन लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन् ।

हस्ताक्षर समारोहमा कलाकार द्वय श्रेष्ठ र आचार्यले नेपालीहरुको जीवन बीमा गराएर उनीहरुको जीवन सुनिश्चित गरि पुण्यको काम गर्ने, सरल तथा सुलभ सेवा पुर्याउन र नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणीे सिटिजन लाइफ इन्स्योरेन्स जस्तो संस्थाको ब्राण्ड एम्बेसेडर हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताउँदै जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पुयाई सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यमा सधैँ साथ दिने प्रतिवद्दता जनाए ।

यसै क्रममा व्यवसायिक करोवार शुरुवात गरेको छोटो समयमानै देशभर स्थापना गरिएका १४० भन्दा बढी शाखा र उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेकामा सिटिजन लाइफलाई बधाई दिए । साथै देशभरी रहेका सिटिजन लिडरहरुले बीमा दुतको रुपमा समाजमा पुर्याएको योगदानको कदर गर्दै उनीहरु सम्पुर्णलाई धन्यवाद पनि व्यक्त गरे ।

सिटिजन्स बैंकद्वारा जनपुरको विद्यापती चोकमा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा सुरु

सिटिजन्स बैंकले विद्यापती चोक, जनकपुरमा आफ्नै भवनबाट सेवा सुरु गरेको छ । 

आज सोमबार भवनमा पूजा पाठ गरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरी सेवा शभारम्भ गरेका हुन् । 

हाल जनकपुर उपमहानगरपालिका ४ मा संचालनमा रहेको विद्यापती चोक शाखा अब हालको भवनबाट करिब ३ सय मिटरको दूरीमा रहेको बैंकको आफ्नै भवनमा स्थानान्तरण भएको छ । 

बैंकले हाल १७४ शाखा,  १२३ ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

महालक्ष्मी विकास बैंकलाई साधारणसभा गर्ने बाटो खुल्यो

महालक्ष्मी विकास बैंकलाई साधारणसभा र संचालकको निर्वाचन गर्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले यस विषयमा परेको मुद्दामा अन्तरिम आदेश दिन अस्विकार गरेपछि बैंकलाई साधारणसभा गर्ने र संचालकको निर्वाचन गर्ने बाटो खुलेको हो ।

बैंकका शेयरधनी गिरिराज पोख्रेल र प्रमोद श्रेष्ठले बैंकको साधारणसभा र निर्वाचन कार्यक्रम रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले  बैंकको साधारणसभा र निर्वाचन कार्यक्रम रोक्न आदेश दिएको थियो । यस समबन्धि मुद्दामा आज पनि सुनुवाई भएकोमा अदालतले अन्तरिम आदेश नहुने फैसला गरेको हो । न्यायाधीश विपुल न्यौपाने र निलम पौडेलको संयुक्त इजलाशले निवेदकको माग बमोजिमको अन्तरिम आदेश नहुने फैसला गरेको हो । यस संगै बैंकलाई साधारणसभा गर्ने र संचालकको निर्वाचन गर्ने बाटो खुलेको हो । 

बैंकले पुस २५ गते आइतबारको लागि साधारणसभा आह्वान गरेको थियो । सो सभामा अदालतले निर्वाचनको कार्यक्रम नगर्न आदेश दिएको थियो । तर गणपुरक संख्या नपुगेपछि सो दिनको सभा स्थगित भएर माघ ३ गतेको लागि सभा आह्वान भएको थियो । अदालतको आदेशपछि आज माघ ३ दिने गतेको लागि तोकिएको सभा पनि स्थगित भएको छ । 

अदालतको आदेश संगै अब बैंकले साधारणसभाको अर्को मिति तोक्ने छ ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५२६ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

राष्ट्रिय वाणिज्य बैंक ५७ औं वर्षमा: डिम्याट दर्ता शुल्कमा शतप्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई मोबइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट दिने भएको छ।

बैंकले वार्षिकोत्सवको अवसरमा माघ १ दखि आगामी चैतमसान्तसम्म लागू हुने गरी मोबाइल बैंकिङ, डेबिट/क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा शतप्रतिशत छुट दिने बैंकले जनाएको छ। आगामी माघ १० बाट वाणिज्य बैंक ५६ वर्ष पूरा गरी ५७औं वर्षमा प्रवेश गर्दैछ।

बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङबाट सेवा दिँदै आएको छ।

एभरेष्ट बैंकको डिबेन्चर २०८६ आजबाट

आठ बर्ष अवधि तथा बार्षिक ८.५ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र रु. १००० अंकित मूल्यका २० लाख कित्ताले हुन आउने रु.२ अर्ब बराबरको ऋणपत्र मध्ये ६०% अर्थात १२ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु.१२० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट विक्री गरिने तथा ४०% अर्थात ८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. ८० करोड ऋणपूँजी रकम (सो मध्ये ५% अर्थात ४०,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट विक्री गरिने ।

यो ऋणपत्र निष्काशन माघ ३ बाट खुल्ला रहने र निष्काशन बन्द छिटोमा माघ ६ हुनेछ ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा लाखौ सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३८ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

अजोड इन्स्योरेन्स लिमिटेडको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको गत पौष २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊपालिका वडा नं. ७, धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको हो ।

जलजला गाउपालिका वडा नं. ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए । कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए ।

सो कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।

बैंक अफ काठमाण्डूले ल्यायो गैरआवासीय नेपाली लक्षित निक्षेप खाता

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । बैंकले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको हो ।

विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहेका ग्राहकहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिन बैंकले अनुरोध गरेको छ ।

गैरआवासीय नेपालीहरुले यस बैंकमा USD, EUR, GBP, AUD, CAD तथा JPY मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन् । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरुले अधिकतम् ५.५ प्रतिशत सम्मको वार्षिक ब्याजदर पाउनेछन् । साथै, गैरआवसीय नेपालीहरुले यस निक्षेप खाता खोलेमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्नेछन् ।

बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीहरुले आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

कामना सेवा विकास बैंकको ‘इन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्राम’ सुरुवात

कामना सेवा विकास बैंकद्वारा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि ‘इन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्राम’को सुरुवात गरेको छ । माघ २ देखि ६ गते सम्म जुम मिटिङ मार्फत अनलाइनमा सञ्चालन हुने कार्यक्रममा २५ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुकहरुले भाग लिएका छन् ।

उक्त कार्यक्रममा सहभागीहरुले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारी प्राप्त गर्नेछन् । उनीहरुले समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप प्राप्त गर्न सक्नेछन् ।

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रम मार्फत व्यवसायको लागि सम्भावित क्षेत्रहरुको पहिचान गरी आफ्नो लागि कुन व्यवसाय उपयुक्त हुन्छ भन्ने थाहा पाउने र व्यवसय सञ्चालनमा मात्र सिमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससँग समेत जोडिएको छ ।

यसरी व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जा तथा लगानीका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन सहयोग पुर्याउनेछ । यो कार्यक्रमले उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानी योग्य बनाउने तथा सानाभन्दा साना सीप र रोजगारी गरी जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यमी बनाउन एक नयाँ सुरुवात हुनेछ ।

सिद्धार्थ बैंकको लाभांश पारित

सिद्धार्थ बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभाले शुक्रबार सम्पन्न भएको छ। १४.२५ प्रतिशत बराबर बोनस शेयर तथा ०.७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ को १४.२५ प्रतिशत बराबर बोनस शेयर तथा ०।७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।