जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

सिभिल बैंक खाता ’खल्ती’ मा लिङ्क गर्दा रु. १०० बोनस र स्मार्टफोन उपहार

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ले सिभिल बैंक खाता ‘’खल्ती’’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि रु. १०० बोनस अफर ल्याएको छ छ । साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन् ।

यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ’खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । प्रयोगकर्ताले लिंक गर्न अगाडी केवाईसी भेरिफाइ गराउन पर्नेछ । केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ’खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ ।

यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न ल्याइएको हो ।

एक पटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ । रु. १०० बोनस अफर पौष ३० देखि फागुन १ सम्म लागु हुनेछ ।

सिभिल बैंक खाता ’खल्ती’मा लिङ्क गर्न

’खल्ती’ को होमस्क्रिनमा रहेको ‘ीष्लप द्यबलप ब्अअयगलत’ मा ट्याप गर्ने र त्यहाँ “लिंक बैंक टु खल्ती“ मा ट्याप गरे पछि सिभिल बैंक छानी बैंक खाता नम्बर हाल्नुहोस् र सब्मिटमा गर्नुपर्नेछ ।
जानकारी ठिक छ भने ‘लिंक बैंक’ मा ट्याप गरी आफ्नो मोबाइलमा प्राप्त गर्नुभएको ओटिपी (भेरिफिकेसन कोड) भर्नुहोस् र भेरिफाइ गर्नुहोस् ।
तपाईंको ‘’खल्ती’’ बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ ।

एशियन लाईफ इन्स्योरेन्सले २७% लाभांश माघ २१ गते पारित गर्दै

हालसम्म सार्वजनिक जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक लाभांश प्रस्ताव गरेको एशियन लाईफ इन्स्योरेन्सले माघ २१ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीको पुस २८ गतेको सञ्चालक समितिको बैठकले होटल दियालो लर्डस प्लाजा, आदर्शनगर, वीरगञ्जमा बिहान ११:३० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ प्रतिशत नगद लाभांशलाई पनि वितरण योग्य बनाउँनेछ । कम्नपीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । 

बोनस पश्चात चुक्तापूँजी वृद्धि हुने हुँदा सोही बमोजिमको पूँजी वृद्धि गर्ने प्रस्तावलाई पनि सभाले स्वीकृति प्रदान गर्नेछ । यस कम्पनीको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न नियामक निकायसँग स्वीकृति लिने र सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

गुडवील फाइनान्सको २७औं साधारण सभा सम्पन्न, १३% लाभांश पारित

गुडवील फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बिहीवार होटल क्राउन इम्पेरियल रविभवन काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । 

सभाले ९ दशमलव १ प्रतिशत बोनस शेयर र ३ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको हो । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको हो । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

सानिमा जनरल इन्स्योरेन्सको चौथो साधारण सभा सम्पन्न

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा शुक्रवार स्मार्ट क्याफे एण्ड ब्याक्वेट, धुम्वाराही चोक काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । 

सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १८ गतेसम्म कायम शेयधरनीले साधारण सभामा सहभागिता जनाएका हुन् । 

समृद्धि फाइनान्सको साधारण सभा सम्पन्न, अध्यक्षमा ठाकुर प्रसाद भट्टराई चयन

समृद्धि फाइनान्सको २०औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । कम्पनीले होटल अर्किड रिसोर्ट, मकवानपुर हेटौडामा सभा सम्पन्न गरेको हो । 

कम्पनीले सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै ६ जना सञ्चालकहरु निर्वाचित समेत गरेको छ ।

सभाले संस्थापक समूहतर्फबाट ठाकुर प्रसाद भट्टराई, दिपक अधिकारी, गुप्त बहादुर राना र सुजन अधिकारीसँगै सर्वसाधारण समूहबाट बिनोद कुमार सुवेदी र शिवलाल पुरीलाई सञ्चालकमा निर्वाचित गरेको हो । 

निर्वाचित सञ्चालकहरुको शुक्रवार नै बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा ठाकुर प्रसाद भट्टराईलाई चयन गरेको छ । यसका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको छ ।

कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि भने कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गरेको छ । 

बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् । हकप्रद निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरेको छैन ।

यस कम्पनीले साउन १५ गते २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो । हाल रू. ५४ करोड ५९ लाख ४१ हजार चुक्तापूँजी कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । 

कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ५०० पुग्नेछ । यसअघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार ३०० को आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । 

कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८/७९ भित्र चुक्तापूँजी रू. ८० करोड कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी वृद्धि गर्न लागेको हो । 

पोखरा फाइनान्स लिमिटेडको सभाले पारित गर्‍यो लाभांश

 पोखरा फाइनान्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट ८दशमलव शून्य ७ प्रतिशतका दरले बोनस शेयर र प्रतिशेयर शून्य दशमलमव ४२ प्रतिशतका दरले नगद लाभांश गरी कुल ८ दशमलव ५०प्रतिशत लाभांश वतरण गर्ने प्रस्ताव पारित गरेको छ ।

 बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १ दशमलव शून्य ४ अर्ब रुपैयाँ पुगेको छ ।

साथै सभाले आव २०७८/ ७९ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/ गाभिने(मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियमत तथा कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदानगर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिएका छन् ।

कम्पनीले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि बताएको छ ।

सेन्ट्रल फाईनान्सको ११ % लाभांश पारित

सेन्ट्रल फाईनान्स लिको २५ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट शेयरधनीहरुलाई ७ दशमलव ७ प्रतिशत बोनश शेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २४ वर्षदेखि बैंकिङ्ग सेवा दिंदै आएको कम्पनीले देशका विभिन्न भागमा १४ ओटा शाखा र भक्तपुरको सल्लाघारीमा एउटा एक्सटेन्सन काउण्टर सञ्चालन गरिरहेको र कम्पनीले छिट्टै नै झापाको बिर्तामोड र रुपन्देहीको भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताए ।

कम्पनीले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

उनले साधारण सभाबाट पारित ७ दशमलव ७ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ, निक्षेप ५ अर्ब ८२ करोड ५७ लाख ४८ हजार रुपैयाँ र कर्जा लगानी  ५ अर्ब १ करोड २२ लाख ६२ हजार रुपैयाँ रहेको बताए ।

एनआरएन र नेपालमा बस्ने विदेशीले कृषि बैंकमा अनलाइनबाटै डलर खाता खोल्न पाउने

कृषि विकास बैंकले गैरआवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्दती खाताको प्रोडक्ट जारी गरेको छ । बैंकको आउँदो माघ ७ गते हुने ५५ औं वार्षिकोत्सवका अवसरमा अनलाइनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको शुरुवात पछि विदेशमा रहेका नेपालीहरुले अनलाइनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शून्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ ।

यसबाट गैर आवासीय नेपाली तथा विदेशी मुद्रामा तलव भत्ता प्राप्त गर्ने नेपालमा रहेका विदेशी नागरिकले आफ्नै घर वा कार्यालयमा बसी बैंक खाता खोल्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक, सुरक्षित र सरल रहेको एवं खाता खोल्नको लागि बैंकको वेबसाइटमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको शाखा व्यवस्थापन विभागका का।मु। विभागीय प्रमुख रुक्मिणी भट्ट उपाध्यायले जानकारी दिइन् ।

सरकारी बैंकहरुमा निक्षेप तथा कर्जाका सेवामा विविधिकरण गर्दै प्रतिस्पर्धि वित्तीय वजारमा दिगो सेवा विस्तार गर्न कृषि विकास बैंक लागि परेको छ । यो सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाता खोल्न सकिनेछ ।

विदेशबाट शुन्य मौज्दातमा खाता खोली स्विफ्ट मार्फत रकम पठाई खातामा जम्मा गर्न सकिने व्यवस्था बैंकले गरेको छ । विदेशी मुद्राको खातामा प्रदान गरिने ब्याजमा समेत यो कृषि विकास बैंक अन्य बैंक भन्दा अगाडी रहेको छ ।

हालका लागि विदेशी मुद्राको मुद्धती खातामा ५।५ प्रतिशत र बचत खातामा ४।७५ प्रतिशत ब्याज दिन सकिने कुरा बैंकले प्रकाशित गरेको ब्याजदर सम्वन्धि सुचनामा उल्लेख गरेको छ । यस अघि रेमिट्यान्स बचत खाता र रेमिट्यान्स मुद्धती खाता समेत सुरु गरी सेकेको र रेमिट्यान्स बचत खातामा ७।१० तथा रेमिट्यान्स मुद्धती खातामा ११।०५ प्रतिशत ब्याज प्रदान गरिरहेको बैंकले जनाएको छ । यसका साथै विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउने प्रयोजनका लागि विदेशबाटै अनलाइनका माध्यमबाट नेपाली मुद्रामा बचत तथा मुद्धती खाता खोल्न सकिनेछ ।

कृषि विकास बैंक लिमिटेडका सेवाहरु विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न बैंक आक्रामक रुपमा प्रस्तुत भएको छ । वर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको नेतृत्व सम्हाले देखिनै बैंकले प्रविधिमा आधारीत सेवा प्रवाहमा जोड दिएको छ ।

अनलाइनका माध्यमबाट समेत खोल्न सकिने उक्त खाताहरु सुरुवात भएपश्चात देशमा विदेशी मुद्राको सञ्चित वृद्धि हुने तथा बैंकको निक्षेपमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ । बैंकका सबै जसो सेवाहरुमा सूचना प्रविधिको प्रयोग भइरहेको छ । प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउदै बैकिङ्ग कारोवारको दायरा फराकिलो वनाउन बैंक सधै दत्तचित रहेको हाल बैंकर्स एसोसियसन समेतको नेतृत्व सम्हालेका बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए ।

नबिल बैंकले प्राप्ति गर्ने भएसँगै नेपाल बङ्गलादेश बैंकको शेयर कारोबार रोक्का

नेपाल बङ्गलादेश बैंकको शेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले प्राप्ति गर्ने भएसँगै कम्पनीको शेयर कारोबार रोक्का भएको हो । 

बिहीवार यी दुवै कम्पनीले प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट उदय कृष्ण उपाध्य र नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् । 

प्राप्तिका लागि नेपाल बंगलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर हुने गरी सहमति भएको हो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले माघ २७ गते बोलायो साधारण सभा 

महालक्ष्मी लाइफ इन्स्योरेन्सले माघ २७ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ ।

सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने बताइएको छ । कोरोना भाइरस संक्रमणका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब गर्ने लगायतका प्रस्ताव रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि रहेको छ । 

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । बीमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्तापूँजी पुयाउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि उक्त पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

चालु पुँजी कर्जा: टर्न ओभरको २०% ऋण सीमा कति ब्यवहारिक?

नेपाल राष्ट्र बैंकद्वारा हालै सरोकारवालाहरुको सुझावका लागि प्रस्तावित ‘चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन २०७८’ को मस्यौदा पढेर यस पङ्तिकारलाइ आफ्नो भारतमा सेकेन्डमेन्टमा सन् १९९४ तिर ‘ए एन जेड ग्रिण्ड्लेज बैंक’ को कोलकाता शाखामा रहेर काम गर्दाको पुनरावृत्ति भयो र केही लेख्ने जमर्को गर्दैछु।
हाल विद्यमान कर्जा प्रवाह सम्बन्धि व्यवस्था र विश्लेषणमा एकरूपताको कमीले विभिन्न वित्तीय संस्थाहरुद्वारा व्यापकरूपमा अधिक कर्जा प्रवाह गर्ने होडबाजी हुने, चालु पुँजी कर्जा हरित्करण (एभर ग्रिनिङ) हुने, कर्जा अन्तिमरूपमा घर जग्गामा तथा अघोषित क्रियाकलापमा प्रवाहित हुने गरेको प्रथा नकार्न सकिन्न। तसर्थ प्रस्तुत मस्यौदाको प्रभावकारी कार्यान्वयन भएमा कर्जा जोखिम व्यवस्थापन र वित्तीय सुशासनमा एउटा महत्वपूर्ण कोसे ढुंगा प्रमाणित हुनसक्छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको वित्तीय व्यवस्था तथा अवस्थामा प्रश्न उठाउदै आएको धेरै भयो। हामीकहाँ घर जग्गा जस्ता स्थिर सम्पत्ति धितो धेरै हुने, कालोसूचीको व्यवस्थाले ऋणीहरुले जसरी पनि डिफल्ट हुन नदिने भन्ने तर्क केही हदसम्म सही पनि छन्।

तर लिएको कर्जा कहिल्यै टुंगिन नपर्ने र फितलो कर्जा संरचना (जस्तै: ओभरड्राफ्ट, रिभल्विङ प्रकृतिका कर्जाहरु) द्वारा प्रवाह गरिनुले हाम्रो कर्जा व्यवस्थालाई अन्तर्राष्ट्रिय बजारमा विश्वसनीय बनाउन वा बराबरीमा उभ्याउन कदापि मद्दत गर्दैन।

मापदण्डमा एकरूपताको अभावले ‘स्ट्याण्डर्ड चार्टर्ड’ जस्ता वित्तीय विवरण र नगद प्रवाहमा आधारित कर्जा प्रवाह गर्ने बैंकहरुलाई बिगतमा समान प्रतिष्पर्धाको वातावरण (लेबल प्लेइङ फिल्ड) नहुने अवस्था थियो।

तसर्थ मेरो विचारमा प्रस्तावित मापदण्डलाई केन्द्रिय बैंकको अग्रगामी कदमको रूपमा लिनुपर्छ र साँचो अर्थमा नगद प्रवाहमा आधारित लगानीको विधिवत सुरुआत भएको मान्नुपर्छ।

हुन त नेपाल राष्ट्र बैंकले क्रमशः लिएका कदमहरु जस्तै: सूक्ष्म निगरानी कर्जाको व्यवस्था, कर्जा पुँजीको अनुपात सम्बन्धि मापदण्ड, बाह्य रेटिङ एजेन्सीद्वारा कर्जा रेटिङ गराउनपर्ने व्यवस्था, प्रवर्तक तथा निर्देशकद्वारा ऋणी कम्पनीबाट विभिन्न बहानामा ऋण झिक्नमा रोक जस्ता प्रावधानले सो ग्यापमा केही कमी गराउँदै लगेको छ।

तर सहवित्तीयकरण कर्जामा फितलो नियमन हुँदा उक्त कर्जा, सुरक्षणको बाँडफाँटमा मात्र सीमित हुने अवस्था विद्यमान छ भने अर्को ठूलो कुप्रथा भने एक अर्का वित्तीय संस्थाको कर्जा कम ब्याजदर र उदार सर्तमा सजिलै सारिनु रहेको छ।

कर्जामा आक्रामक वृद्धि गर्न सो कर्जाको वास्तविक म्याचुरिटी (तिर्नुपर्ने समय)लाई बेवास्ता गरी आफूखुसी कर्जा तिर्ने समय तय गर्नुले ऋणीको वास्तविक साख लुक्नुका साथै कर्जा सधैं एभर ग्रीन भइरहने अवस्था विद्यमान छ, जसलाई पनि रोक्नु आवश्यक देखिन्छ।

प्रस्तुत मस्यौदाका राम्रा पक्षमा चर्चा गर्दा अनिवार्य ३ वर्षको लेख परीक्षण गरिएको वित्तीय विवरण तथा यथार्थ प्रक्षेपणका आधारमा कर्जा सीमा तय गर्नु, प्रक्षेपण र यथार्थ विवरणको विश्लेषण गरिनु, स्थायी प्रकृतिको चालु पुँजीको अवधारणा, यसलाई चालु सम्पत्तिले नै धान्नुपर्ने, चालु सम्पत्ति निरीक्षणको नीति, नगद झिक्न मा नियन्त्रण, अन्य कर्जा र ब्याज तिर्न कर्जा प्रवाहमा नियन्त्रण इत्यादि प्रमुख छन्।

भारतमा पनि नब्बेको दसकमा साना स्तरका कर्जालाइ (एसएसआइ भनिने) १ करोडसम्मका कर्जामा टर्नओभरको २० प्रतिशतसम्म चालु पुँजी कर्जा सीमा तोकिएको थियो। ठुला कर्जामा यस्तो सीमा तोकिएको थिएन।

बिगतको लेखापरीक्षण गरिएको वित्तीय विवरण र प्रक्षेपणको आधारमा अधिकतम चालु पुँजी कर्जा सीमा (Maximum Permissible Bank Finance) गणना गर्ने विधि तोकिएको थियो। आरबीआइद्वारा गठित टन्डन कमिटी र चोबे कमिटीको सुझावका आधारमा सो प्रावधान लागू गरिएको बुझिन्छ।

ठुला कर्जामा २० प्रतिशतको सीमा नतोकिँदा पनि अन्य मापदण्डले नियन्त्रण गरिने हुँदा यो प्रावधान नगर्दा पनि उचित नै देखिन्छ। व्यवसायको प्रकृति अनुसार हाम्रा धेरै उद्योगहरु आयातित कच्चा पदार्थमा निर्भर छन्, धेरै थरीका कच्चा पदार्थ पर्याप्त मौज्दात राख्नुपर्ने व्यवसायको आवश्यकता जायज हुनसक्छ, मौसमी व्यवसाय, धेरै उधारोको प्रचलन, आदिले टर्न ओभरको २० प्रतिशत चालु पुँजी सीमा त्यति व्यवहारिक देखिँदैन।

चालु पुँजीको अस्थायी र स्थायी वर्गीकरणको सुरुआत र प्रभावकारी कार्यान्वयन यहाँ महत्त्वपूर्ण हो। २० प्रतिशतको मापदण्डले सबैखाले उद्योग व्यवसायलाई नसमेट्ने हुँदा विवादास्पद हुने अवस्था आउन दिनु हुँदैन।

प्रस्तावित, वर्षमा एकपटक ७ दिन लगातार चालु पुँजी शून्य हुनुपर्ने प्रावधान अन्तर्राष्ट्रिय मापदण्ड (एनुअल क्लिन अप) को सिद्धान्तमा आधारित छ। तर यो प्रचलन हाम्रो परिवेशमा अलि कठोर होला कि ? विदेशमा पनि यो प्रचलनमा कमी आइसकेको बुझिन्छ। कर्जाको प्रयोगमा र ओभरड्राफ्ट खातामा लचकता (स्विङ) को मापदण्डले पनि कट्टर (hard core) चालु पुँजी कर्जालाई निरुत्साहित गर्न सक्छ।

६ महिनासम्म कर्जा सीमा थप गर्न र अन्य कर्जा तिर्न प्रयोग गर्न नपाइनुले वित्तीय संस्था तथा कर्जा अधिकृतलाई कर्जा आवश्यकताको राम्रो विश्लेषण गरि कर्जा सीमा तय गर्न उत्प्रेतित गर्दछ। तर कुनै कारणबस ‘एड हक’ कर्जा प्रदान गर्न पाइने व्यवस्थाले व्यवहारिक पक्षको बचाउ गर्छ।

प्रक्षेपण र वास्तविक विवरणमा १०-१५% सम्म फरकलाई व्यवहारिक नै मान्नु पर्ला। तर सधैं अधिक तथा उदार प्रचेपणको आधारमा चालु पुँजी प्रदान गर्न र वास्तविकताको विश्लेषण नगर्ने परिपाटीमा भने नियन्त्रण हुन आवश्यक छ।

दोहोरो धितोको अवस्था आउन नदिन सुरक्षण राखिएको बैंकको बोर्ड राख्न अनिवार्य गरिनु उचित छ। नेपालमा पनि यो व्यवस्था सुरुका दिनहरुमा प्रचलित थियो। पछि बैंकहरुको संख्या धेरै थपिएपछि यो प्रथाले निरन्तरता पाउन सकेन।

आवधिक कर्जाको विषयमा प्रावधान हेर्दा कम्तिमा ५ वर्षको प्रक्षेपण व्यवस्था गरिँदा यसमा आउन सक्ने विकृतिलाई पनि विचार गर्नु उचित होला। हाल वित्तीय संस्थाहरुले प्रक्षेपण गर्दा कर्जाको साँवा केही वर्ष नघट्ने वा सामान्य १ या २ प्रतिशतमात्र घट्ने प्रथा छ।

यसले निकट भविष्यमा ऋण नघट्ने र स्वपुँजीद्वारा बिस्तारै कर्जा घट्नुपर्ने अवधारणा सफल नहुन सक्छ। यसैले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुमा कर्जाको साँवा चुक्ता बेलुनिङ (बढ्दै जाने) वा एकै पटक तिर्ने (बुलेट री-पेमेन्ट) प्रथामा कडाइका साथ रोक लगाइएको हुन्छ।

अनिवार्य बीमा सम्बन्धि व्यवस्था पुरानै र मौज्दात निरीक्षणका क्रममा थप प्रावधान स्वागतयोग्य छ। ५ करोडभन्दा बढी चालु पुँजी कर्जाको अर्ध-वार्षिक रूपमा स्वतन्त्र लेखा परीक्षकद्वारा प्रमाणित गर्नुपर्ने प्रावधानले कति सघाउ पुर्याउला हेर्नुपर्ने हुन्छ। साधारणतया लेखापरीक्षण भएको र ऋणीद्वारा प्रस्तुत मौज्दात विवरणमा फरक हुने र भ्याट आदि बिभिन्न कारण दिइने हुँदा सोही कुरा दोहोरिने हो कि ?

यो व्यवस्थाको सफलता जिम्मेवार र यथार्थपरक लेखा परीक्षणको अवधारणामा निर्भर हुने हुँदा निश्चित समयभित्र लेखापरीक्षण गरिएको वित्तीय विवरण अनिवार्य गरिएमा सबै वित्तीय संस्थाको कर्जा जोखिम व्यवस्थामा एक हदसम्म एकरूपता कायम गर्न र नियमन गर्न मद्दत पुर्याउँछ।

अन्त्यमा, प्रस्तुत चालु पुँजी सम्बन्धि मार्गदर्शन नेपाल राष्ट्र बैंकद्वारा लिन खोजिएको एउटा सशक्त कदमको रुपमा लिनुपर्छ। केही मापदण्डमा परिमार्जन र क्रमिक अवलम्बन गरिँदा सम्बद्ध सरोकारवालाहरुको स्वतस्फुर्त सहभागिता हुनुको साथै अपेक्षित उद्देश्यले प्राप्ति सहज हुन सक्ला। यसले अनावश्यक कर्जाको मागमा कमी आइ तरलताको समस्या पनि केही हदसम्म सम्बोधन गर्न सक्छ।

(गिरी पूर्व बैंकर हुन्, उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकलगायतमा तीन दसकभन्दा बढी बैंकिङ अनुभव बटुलेका छन्)

अर्थ सचिव मरासिनीद्वारा अख्तियारलाई चुनौती एफपिओको कर उठाऊ भने अख्तियार प्रमुख आयुक्त राई को हुन् ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इन्भेष्टमेण्ट बैंक देखि शिखर इन्स्योरेन्स लगायत दर्जनौ बैंक र वित्तिय संस्थाहरुले एफपिओ (शेयर) खरिदमा छली गरेको कर उठाउन अर्थमन्त्रालयलाई पत्राचार गरेको भेटिएको छ । तर अर्थ सचिव मधुकुमार मरासिनीले कर उठाउ भन्ने अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई को हो भन्दै सार्वजनिक अभिव्यक्ति दिनुको अर्थ के हो अर्थमन्त्रीज्यू ? हेक्का होस् । नेपाल इन्भेष्टमेण्ट बैंक देखि शिखर इन्स्योरेन्स कम्पनी लगायत १ दर्जन बैंक र वित्तिय संस्थाले करिब ८ अर्ब कर छली गरेको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी संस्थाहरुले छली गरेको कर उठाउन अर्थमन्त्रालयमा पत्र पठाए पनि अर्थसचिव मरासिनीले अटेर गरेको फेला परेको छ । अर्थमन्त्रीज्यू हेक्का होस् । महालेखा परिक्षकको कार्यालयले प्रतिवेदनमा उल्लेख गरेका अर्बै रकमको कर उठाउने दायित्व अर्थमन्त्रालयको हो कि होइन ? जनताको करबाट चर्को तलब भत्ता लिने अर्थ सचिव मधुकुमार मरासिनीले राज्यले उठाउनु पर्ने कर उठाऊ भने अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई को हुन भन्नुले के अर्थ राख्दछ हेक्का होस् । कर उठाउने दायित्व अर्थसचिव मरासिनीको हो कि होइन । यसको खोजी हामीले शुरु गरेका छौं ।

अर्थसचिवज्यू एफपिओमा लाग्ने कर छली गरेकै कारण हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जर साधारण सभाबाटै फेल भएको हो । त्यसकारण राज्यको कर तपाईको सम्पत्ती होइन, राज्यको हो । कर उठाउने दायित्व तपाईको हो हेक्का होस् । अर्थसचिवज्यू तपाईलाई कर उठाउने अधिकार छ तर कर छली गर्नेलाई छुट दिने अधिकार छैन । के नेपाल इन्भेष्टमेण्ट बैंकको यत्रो कर छलीलाई तपाईले साथ दिनु भएको नीतिगत भ्रष्टाचार हो हेक्का होस् । यस बारेमा हामीले अनुसन्धान जारी राखेका छौं । पद ठूलो कुरो होइन, काम ठुलो कुरा हो । अर्थसचिव मरासिनीज्यू भोलि जो पनि आउन सक्दछ । हेक्का होस् ।