नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यबाट डा विश्व पौडेलले राजीनामा दिएका छन्। गभर्नरको दौडमा उनको नाम चर्चामा आएपछि पौडेलले समितिबाट अलग हुने निर्णय गरेको बजार चर्चा छ।
पौडेल गभर्नर बन्ने चर्चासंगै उनको योग्यतामाथि प्रश्न उठाउन थालिएको छ। विशेषगरि, शैक्षिक तथा अन्य अनुभवमा योग्य भएपनि कुनै राजनीतिक दलको ‘सदस्य वा पदाधिकारी’ भएकाले गभर्नर बन्न अयोग्य हुने व्यवस्थालाई टेकेर योग्यतामाथि प्रश्न उठाउन थालिएको हो।
नेपाली कांग्रेसबाट टिकेट लिएर गत चुनावमा चितवनबाट सासदमा चुनाब लडेकाले उनीमाथी राजनीतिक दलको सकृय सदस्य तथा पदाधिकारी भएको आशंका उब्जिएको हो।
तर डा पौडेलले कुराकानीमा आफु नेपाली कांग्रेस वा कुनै राजनीतिक दलको सकृय सदस्य तथा पदाधिकारी नभएको बताएका छन्। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ मा ‘राजनीतिक दलको सदस्य वा पदाधिकारी’ गभर्नर बन्न अयोग्य हुने भन्ने उल्लेख छ।
डा पौडेलको भनाईलाई आधार मान्ने हो भने गभर्नर बन्नलाई उनि सम्पूर्ण रुपमा योग्य देखिएका छन्। तसर्थ, गभर्नर सिफारिस समितिले गभर्नरको लागि उनको नाम सिफारिस गरेर मन्त्रिपरिषदबाट उनको नाम स्वीकृत भएको अवस्थामा अबको गभर्नर बन्नलाई उनको बाटो खुला देखिन्छ।
काठमाण्डौ विश्व विद्यालयका प्रोफेशर समेत रहेका डा पौडेल जनताको चुल्होचौकोमा प्रभाव पर्नेगरि नीति निर्माण गर्न सक्ने अर्थशास्त्रीको रूपमा चिनिन्छन्। डा प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनले अर्थमन्त्रालयका प्रमुख सल्लाहकार भएर बजेट निर्माणमा सहयोग गरेका थिए।
फागुन २५ गते अघि नै गभर्नर नियुक्ति भईसक्नुपर्नेमा सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसले गभर्नर नियुक्त गर्न नसक्दा आलोचना खेप्नु परेको छ। तर सरकारको नेतृत्त्व गरिरहेको नेकपा एमालेले आफुहरुले नेपाली कांग्रेसलाई गभर्नर पद दिएकाले त्यसमा कसलाई नियुक्ति दिने भन्ने अधिकारी नै कांग्रेसको भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।
नेपाली कांग्रेसमा गुटअनुसारको पात्र भएकाले पार्टी भित्रकै आन्तरिक द्वन्दका कारण नेपाली कांग्रेसले एक जना उपयुक्त पात्रलाई गभर्नर सिफारिस गर्न नसकेको एमालेको आरोप छ ।
रिलायबल नेपाल लाइफको ३६.८८%ले बढ्यो नाफा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म ४६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३४ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३६.८८ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको शेयर प्रिमियममा १ अर्ब ७५ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २० करोड ७९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा १ अर्ब ७५ करोेड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड १३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७० करोड ६४ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ११ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा महाविपत्ति कोष, रिटेन्ड अर्निङ र अन्य इक्विटीको आकार बढेको छ।
समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ९ अर्ब १६ करोड ६० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३५.७१ प्रतिशतले बढेको छ।
तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ६९ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २३.७५ प्रतिशतले बढेको छ।
कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २७.१८ प्रतिशतले बढेको छ।
शेयरपुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १३.३८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.७८ रुपैयाँ थियो।
नवलपुरको मौलाकालीमा निर्मित इला होटलको समुद्घाटन कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गर्नुभएको मन्तब्य
आइएमई हस्पिटालिटिले आजदेखि सञ्चालनमा आएको यस होटल सँगै पाँचवटा होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइसकेको छ । केही महिना अघिमात्र माननीय मन्त्रीज्यूले नै बागलुङमा इला होटलको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
यसका साथै हामीले काठमाडौँको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट तथा लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइटमा लेक साइट रिट्रिट सञ्चालन गरिरहेका छौँ ।
हामीलाई विश्वास छ मुलुकको विकास र सम्मृद्धिको प्रमुख आधार पर्यटन नै हो । त्यसैअनुसारका पर्यटन पूर्वाधारहरु निर्माण गर्ने क्रममा हामीले मुलुकका सातवटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण आयोजनाको सुरुवात गरेका हौँ ।
हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् । आजको यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ । त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् ।
त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम भइरहेको छ ।
माननीय मन्त्रीज्यू
मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । नेपाल आउने विदेशी पर्यटकको औषत खर्च तथा बसाई अहिले निकै कम छ र यो प्रतिदिन झन घट्दोक्रममा देखिन्छ । विदेशी पर्यटकहरु औषत १२ दिन नेपाल बस्ने र दैनिक औषत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्याङ्क हामीसँग छ ।
हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ । नेपालको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक विशेषतायुक्त भूगोल र अवस्थितिको अवलोकनका लागि नेपालमा पर्यटक आउने गर्छन ।
त्यसैले त्यस्ता पर्यटकीय पूर्वाधारको विकास गर्नुपर्छ भन्ने मेरो सुझाव हो । यी कार्यहरुमा सरकारले निजी क्षेत्रलाई जतिधेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुन्छ भन्नेमा हाम्रो पूर्ण विश्वास छ ।
हामीसँग अलौकिक प्राकृतिक सम्पदाहरु छन्, जुन हामीले प्राप्त गरेका बरदान हुन । यसकारण पनि पर्यटन, प्रकृति र पर्यावरणका क्षेत्रमा हामीले गर्नसक्ने सम्भावनाहरु असंख्य छन भन्दा फरक पर्दैन । त्यसमा हामीले हाम्रो भिजन सहितको इच्छाशक्ति मिसाउनुपर्छ अनि प्रविधि र पुँजी जोड्न सक्नुपर्छ । यसबाट साँच्चिकै मिराकल हुन्छ भन्ने मेरो आत्मविश्वास छ ।
यो मुलुकको निजी क्षेत्र नै विकास र परिवर्तनमा मिराकल ल्याउन सक्षम छ भन्ने कुराको पुष्टि त हामीले पटकपटक गर्दै आएकै छौं ।
माननीय मन्त्रीज्यू,
उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो ।
निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहहरुले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर यसका लागि हामीकहाँ भने लगानीकर्ताहरुलाई आह्वान गर्ने मात्र काम गरिएको छ भन्ने मलाई लाग्दछ । अब मौखिक रुपमा गरिने यस प्रकारका आह्वानहरुले मात्र पुग्दैन, निजी क्षेत्रलाई वास्तविक साझेदार ठानेर ठोस र व्यवहारिक नीति मार्फत अर्थपूर्ण रुपमा सहजीकरण गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।
सबै स्थानीय तहहरुले दीर्घकाललाई लक्षित गरी यस्ता संरचनाहरु बनाउन जरुरी छ । म पुन: दोहोर्याउन चाहन्छु कि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ ।
पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्य अनुसार पर्यटक भित्र्याउन सकिन्छ ।
पर्यटकको बसाई लम्बाउन सकिन्छ,
थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
थप रोजगारी सिर्जना गर्न सकिन्छ ।
थप राजश्व उठाउन सकिन्छ ।
पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुन्छ ।
यसले पक्कै पनि जनताको जीवनस्तर उकास्न सघाउने छ । गरिबी घटाउने छ । मुलुकमा अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि आउने छ ।
आखिर हामी सबैका अपेक्षा पनि यिनै होइनन र ?
सरकारले गर्ने सानो नीतिगत व्यवस्था र हौसलाले यी सबै काम गर्न सम्भव छ भने किन नगर्ने ? सरकारले बिना लगानी नै प्रतिफल प्राप्त गर्ने, विकासको डिभिडेन्ड बुझ्न पाइने भएकाले नै मैले समय समयमा सरकारलाई बिना लगानीको पार्टनर भन्ने गरेको हुँ । समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले संघीय तथा स्थानीय सरकारहरुलाई मेरो यो आग्रह तथा सुझाव छ ।
चितवन, तनहूँ र नवलपुरको यो संगम नेपालको एक धार्मिक तथा सांस्कृतिक महत्वको पवित्र भूमी हो । यतिखेर हाम्रा सामुन्ने रहेको मौलाकालिका मन्दिरको करिब साढे चार सय वर्ष पुरानो इतिहास छ । हाम्रो दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्मावलम्बीहरुको पवित्र धाम हो ।
यतिखेरै हाम्रै वरिपरिका नारायणी, देवघाट, त्रिवेणीजस्ता देवभूमि र तपोभूमिको महत्वको बयान गर्न म असमर्थ छु, मेरो क्षमताले पुग्दैन ।
तर पनि हाम्रा यी सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्याउनका लागि केबलकार र यो नयाँ पर्यटकीय संरचनाले सघाउ पुराउने छ भन्ने अपेक्षा भने गर्न सक्छु ।
किनभने ऐतिहासिक एवं आध्यात्मिक महत्व बोकेका यी सम्पदाहरुलाई जति धेरै मानिसको पहुँच पुग्नेगरी संरचना निर्माण गरिदियौँ, त्यति नै यिनको मान र महत्व पनि धेरै भन्दा धेरै फैलिन पुग्दछ ।
मलाई लाग्छ, आध्यात्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व रहेको यस्तो पुण्यभूमिमा जति धेरै पर्यटकीय संरचनाहरु निर्माण गरे पनि पुग्दैन । यसकारण पनि हामीले यो क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगम स्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न गरेका हौँ र आजको यो संरचना सम्भव भएको हो ।
प्राकृतिक सौन्दर्यले आफैँ सजिएको यस सुन्दर भूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत देशको समृद्धि हासिल गर्ने काममा हामी लाग्ने छौं, यो हाम्रो प्रतिबद्धता हो ।
मलाई लाग्छ यस्ता संरचनाहरु राष्ट्र र जनताका साझा सम्पत्ति हुन । नवलपुरको गहनाका रुपमा निर्मित यो संरचनालाई हामीले स्थानीय जनताको आफ्नै सम्पत्तिका रुपमा विकास गर्ने मोडल अघि सारेका छौँ र उहाँहरुको अधिकतम् सहभागीता गराइरहेका पनि छौँ ।
केबलकार परियोजनाको प्रारम्भिक प्रयासका रुपमा रहेको चन्द्रागिरि छोटो समयमै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनिसकेको कुरा त्यहाँ पुग्ने पर्यटकबाट हामीले सुन्ने गरेका छौँ । यसबाट देशको अर्थतन्त्र र स्थानीयको जीवनस्तर उकास्न पुगेको योगदानका बारेमा पनि मैले यहाँ भनिरहनु पर्दैन, सबै अवगत नै छ ।
आज उद्घाटन भएको यस आयोजना निर्माणमा हामीलाई सहयोग गर्नुहुने संघ, प्रदेश तथा स्थानीय सरकार, राजनैतिक दल, स्थानीयवासी, मन्दिर व्यवस्थापन समिति, वन उपभोक्ता समिति लगायत अन्य सबै सरोकारवालाहरु प्रति धन्यवाद व्यक्त गर्दछु ।
म आफू पनि गण्डकी प्रदेशको बासिन्दाको हैसियतले यस पवित्र जन्मभूमिमा यस प्रकारको सेवा गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।
जाँदाजाँदै जहाँ ढुंगा ढुंगामा देवताको बास छ भन्ने एउटा नेपाली गीत मेरो मनभित्र गुञ्जिएको छ । मलाई लाग्छ, देवताको बास रहेका ती हरेक ढुंगासम्म हरेक मानिसको सहज पहुँच पुर्याउनका लागि हरेक ठाउँमा कुनै न कुनै प्रकारको पर्यटन पूर्वाधारको आवश्यकता छ ।
त्यसैले यो गीतजस्तै मलाई पनि हर समय जहाँ डाँडा डाँडामा पर्यटनको सम्भावना छ भनेर गुनगुनाउन मन लाग्दछ ।
कार्यक्रममा उपस्थित भई हामीलाई हौसला प्रदान गर्नु भएकोमा माननीय मन्त्री ज्यू र सबै अतिथि ज्यूहरुलाई पुन: स्वागत गर्दै विदा लिन्छु ।
एनएमबिसहित ४ बैंकले लाप्चे तामाकोशी जलविद्युत् आयोजनामा ५.२५ अर्ब ऋण लगानी गर्ने
एनएमबि बैंक लिमिटेडको अगुवाइमा कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । यस आयोजनामा कुल लागत लगभग ५ अर्ब ३५ करोड रुपैयाँ रहनेछ । जसमा ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ ऋण लगानी बैंक तथा वित्तीय संस्थाहरूले गर्नेछन्।
ऋण लगानीमा एनएमबि बैंकसँगै कृषि विकास बैंक लिमिटेड र अन्य वित्तीय संस्थाहरूको सहभागिता रहेको छ। आयोजनाको प्रवर्द्धक बज्र इनर्जी भेन्चर्स हो । एनएमबि बैंकले यसअघि पनि ५० भन्दा बढी जलविद्युत आयोजनामा सफल लगानी गर्दै आएको अनुभव बोकेको बैंक हो ।
यसैबीच, सोही समूहको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रवर्द्धित २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले पनि २०७८ साल कार्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको जानकारी गराइएको छ।
उक्त आयोजनामा पनि एनएमबि बैंक, कर्मचारी सञ्चय कोष, र कृषि विकास बैंकबाट ऋण लगानी गरिएको हो । यी दुई आयोजनाले नेपालको ऊर्जाक्षेत्रमा थप ऊर्जा उत्पादन र आत्मनिर्भरता हासिल गर्न उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण हुने
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को २८औं वार्षिक साधारण सभा आइतबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा सम्पन्न भएको छ।
सभामा कम्पनीका अध्यक्ष मुलले कम्पनीको बीमा व्यवसाय, नाफा, दाबी भुक्तानी र आगामी लक्ष्यबारे विस्तृत जानकारी प्रस्तुत गरे । उनका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा ४.७९ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी, ३१ प्रतिशतले खुद नाफा वृद्धि भएको छ ।
गत वर्ष २.३८ अर्ब रुपैयाँको तुलनामा यस वर्ष २.८३ अर्ब रुपैयाँको दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णयसँगै, वित्तीय विवरण पारित गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने र सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च अनुमोदन गर्ने निर्णयसमेत पारित गरेको छ । १७ जना सेयरधनीहरुले आफ्नो धारणा राखेका थिए ।
नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएकोे छ ।
लाउञ्ज उद्घाटन गर्दै डेपुटी सिइओ पाण्डेले भने, “नबिल बैंक ग्राहकलाई विश्वस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं ।” उनले भने, “ग्राहकसँग कारोबारमा मात्रै सीमित नभइ दीर्घकालीन सम्बन्ध बनाउनेमा हामी विश्वास गर्छौ ।” नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनरिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैंंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ ।
नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइट Click link here मा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ । नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा इला होटल सञ्चालनमा आउँदै
आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउदैछ । भोलि सोमबार औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने छ ।
मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध छन् ।
केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।
आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ ।
हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन ।
लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।
त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रकृयामा छ ।
ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउन देउवा नरम
नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नभएका कारण गभर्नर नियुक्ति पेचिलो बनेको भन्दै प्रधानमन्त्रीको सल्लाहअनुसार कांग्रेसले वैकल्पिक उम्मेद्वार खोज्ने संकेत गरेको छ ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले गभर्नरका लागि विभिन्न विकल्प प्रस्तुत गरेका सुनाइएको थियो । तिनै विकल्पमध्ये कांग्रेसले डा. गुणाकर भट्टको नाममा अप्ठ्यारो परे अर्का उम्मेद्वार प्रस्तुत गर्नुपर्नेमा सहमति जुटेको हो ।
बैठकमा सहभागी कांग्रेसका एक पदाधिकारीले बताएअनुसार देउवाले आफूलाई प्रम ओलीले सुझाएका विकल्पहरुको विषयमा सुनाएका थिए । ‘पहिलो विकल्प कामू गभर्नर डा. निलम ढुंगानालाई दवाब दिएर कार्यकारी निर्देशकबाट डा. गुणाकरले दिएको राजीनामा स्वीकृत गर्न लगाउने भन्नेछ । त्यो सम्भवः नभए जोखिम मोलेरै भए पनि डा. गुणाकरलाई नै गभर्नर बनाउने दोश्रो विकल्प आएको छ ।’ देउवालाई उद्धृत गर्दै ती नेताले भने-‘कानूनी उल्झन हुने खालको जोखिम व्यहोरेर जानुभन्दा सहज र सर्वस्वीकार्य विकल्पमा जान सही हुन्छ होला । त्यसकारण ओलीजीले सुझाएअनुसार हामीले डा. भट्टको विकल्प खोजेर समेत अगाडि बढ्नुपर्ने हुनसक्छ ।’
देउवाले डा. भट्टको विकल्प खोज्नुपर्ने धारणा व्यक्ति गरिरहँदा बैठकमा रमेश लेखकले त्यस्तो गर्न नहुने, बरु कामू गभर्नर निलम ढुंगाना एमालेकै कार्यकर्ता रहेकोले ओलीमाथि दवाब सिर्जना गरेर राजीनामा स्वीकृत गर्न लगाउनुपर्ने र अर्को विकल्पमा नगई गभर्नर नियुक्तिको प्रक्रिया टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । गृहमन्त्री समेत रहेका लेखक आफन्त समेत पर्ने डा. भट्टलाई गभर्नर बनाउन सुरुवातदेखि नै लागिपरेका छन् । आफ्नो र देउवाको समेत निर्वाचन क्षेत्रबाट आएका दवाबहरुलाई देखाएर उनले डा. भट्टलाई गभर्नर बनाइछाड्ने एकसूत्रीय अजेण्डा बोकिरहेका बताइन्छ ।
बैठकमा कांग्रेसका केही नेताहरुले भने रमेश लेखकको धारणाप्रति घुमाउरो असहमति जनाउँदै एउटा व्यक्ति विशेषको नाम मात्रै लिएर पार्टी बसिरहँदा लामो समयसम्म गभर्नर नियुक्त हुन नसकेको र यसको सन्देश पब्लिकमा राम्रो नगएको भन्दै कांग्रेसले डा. भट्टको विकल्पसहित अगाडि बढ्नुपर्ने र आगामी साताभित्र गभर्नर नियुक्तिको विषयलाई टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा सहभागी नेताहरुका अनुसार डा. भट्टको विकल्प खोज्ने विषयमा पछिल्लो समय सभापति देउवा नरम हुन थालेका छन् । एउटै व्यक्तिको नामको पछाडि लाग्दा राम्रो सन्देश नजाने र कांग्रेसमा अरु योग्य मान्छे नै नरहेको भ्रमपूर्ण प्रचार समेत हुने भएकोले विकल्पका साथ अगाडि बढ्नुपर्ने उनको संकेत थियो ।
बैठकमा गभर्नरका लागि डा. भट्टलाई छाडेर विकल्पमा जानुपर्नेमा धेरै नेताहरुको सहमति भएसँगै सम्भावित नामको विषयमा समेत चर्चा भएको थियो । सो क्रममा अधिकांश नेताहरुले ज्ञानेन्द्रप्रसाद ढुंगानाको नामलाई विकल्पको रुपमा प्रस्तुत गरेका थिए । नेताहरुले ज्ञानेन्द्र ढुंगानाको नाम लिँदा देउवाले मौनता साँधेका थिए । अरु बेला डा. भट्टबाहेकको नाम नै सुन्न नचाहने देउवाले शुक्रबार बैठकमा ज्ञानेन्द्रको नाममा मौनता साँध्नुलाई धेरै नेताले सकारात्मक रुपमा लिएका छन् ।
स्रोतहरुका अनुसार पछिल्लो समय सभापति देउवाकी पत्नी तथा कांग्रेस नेतृ र परराष्ट्रमन्त्री आरजू राणा देउवाले ज्ञानेन्द्र ढुंगानाको नाममा निरन्तर अडान लिइरहेकी छिन् । गभर्नर सिफारिस समितिको सदस्य समेत रहेका अर्थशास्त्री विश्व पौडेलले समेत पटक–पटक ज्ञानेन्द्र ढुंगानालाई नै गभर्नर बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिइरहेका छन् । घरकै दवाब तथा पछिल्लो समय उत्पन्न जटिल परिस्थिति लगायतबाट सभापति देउवा ज्ञानेन्द्र ढुंगानालाई गभर्नरको रुपमा प्रस्तुत गर्न तयारजस्तो देखिएका छन् ।
आफूहरुले डा. भट्टको विकल्पसहित अगाडि नबढे चतुर ओलीले डा. निलमलाई गभर्नर बनाउनसक्ने जोखिमका विषयमा समेत नेताहरुले बैठकमा आफ्नो धारणा सुनाएका थिए ।
पछिल्लो समय कतिपय अर्थशास्त्री तथा विज्ञहरुले समेत राष्ट्रबैंकभित्र गभर्नरका लागि लडाईं रहेको र यसले निकै ठूलो गुटबन्दी र द्वन्द्वको सिर्जना गरिसकेका कारण डा. गुणाकर भट्ट वा डा. निलम ढुंगानामध्ये जोसुकैलाई गभर्नर बनाएमा त्यहाँको चेन अफ कमाण्ड थप बिग्रिने, केन्द्रीय बैंकभित्रकै गुट–उपगुटबीच हानाहान र तानातानको नयाँ तथा डरलाग्दो खेलको सुरुवात हुने र यसले राष्ट्रबैंकको नेतृत्व आफ्नो व्यवसायिक कामको साटो एकअर्कालाई पछार्ने खेलमै केन्द्रीत हुने जोखिम देखिएकोले राष्ट्रबैंकबाहिरकै व्यक्तिलाई गभर्नर बनाएर जानुपर्ने सुझाव दिइरहेका छन् ।
राष्ट्रबैंक बाहिरबाटै गभर्नर बनाएर जानुपर्ने मत बलियो बन्दै गएका कारण नवील बैंकको जागिर छाडेर गभर्नर बन्ने दौडमा होमिएका ज्ञानेन्द्र ढुंगानाको सम्भावना बलियो बन्न थालेको स्रोतहरु बताउँछन् ।
जनताले रोजे आफ्नो गभर्नर: ६८.५% ज्ञानेन्द्रको पक्षमा, गुणाकर र निलम दोश्रो र तेश्रो रोजाईमा
‘हाल रेसमा रहेका गभर्नरका दाबेदारमध्ये ढुंगाना मात्र यस्तो पात्र हुन्, जसले राष्ट्रबैंकको चेन अफ कमाण्ड र मेरिटोक्रेसीलाई भत्किन दिने छैनन् । राष्ट्रबैंकबाटै जागिर छाडेर निजी क्षेत्रको बैंकमा आएका उनलाई केन्द्रीय बैंकदेखि निजी क्षेत्रसम्मका वास्तविक समस्याहरु थाहा छ । बैंकदेखि निजी क्षेत्रका समस्यालाई वास्तविक रुपमा मिहीन ढंगले चिनेका व्यक्ति समेत हुन् ढुंगाना ।’ स्रोत भन्छ -‘ढुंगानालाई गभर्नर बनाएर जाँदा यसले लगानीकर्ता र बजारमा समेत उत्साह ल्याउँछ । ग्राउण्ड लेभलका समस्यासँग परिचित भएका कारण ढुंगानाको नेतृत्वमा राष्ट्रबैंकले मौद्रिक नीतिको राम्रो रिफर्म गर्नसक्छ र सरकारले चाहेजस्तै उचित र कार्यान्वयनमुखी सल्लाहहरु समेत दिनसक्छ।’ ज्ञानेन्द्र ढुंगानालाई सर्वसाधारण र बजारका लगानीकर्ताहरुले पनि लामो समयअघिदेखि गभर्नर बनेको हेर्न चाहेका छन् ।
ढुंगाना गभर्नर बन्ने सम्भावना बढ्दा मात्रै पनि सेयर बजारले सकारात्मक रेसपोन्स गर्दै आएको छ । सेयर बजारका लगानीकर्ता ढुंगाना गभर्नर बन्ने आशामा उत्साहित देखिन्छन् । यो क्षेत्रका दिग्गज लगानीकर्ताहरुको तर्कलाई आधार मान्ने हो भने ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाइएमा नेप्से परिसूचकमा अभूतपूर्व उछाल आउनेछ । ‘पत्याउनुस्, नपत्याउनुस ढुंगाना गभर्नर बने भने नेप्सेमा १००० अंकको बढोत्तरी सहजै हुनेछ ।’ एक पुराना लगानीकर्ता भन्छन्- ‘सेयर बजारमा ज्ञानेन्द्र जीको नामले बुल ल्याउँछ ।’
कांग्रेसनिकटका कतिपय अर्थविदहरुले देशको पूँजीबजारमा दिगो बढोत्तरीको सुरुवात हुने हो भने त्यहीँबाट अर्थतन्त्रका अन्य क्षेत्रहरुलाई समेत चलायमान गर्न सकिने धारणा राख्छन् । पूँजीबजारमा उछाल आएपछि त्यहाँको पैसा रियल स्टेटदेखि उपभोक्ता बजारसम्म आउनेछ । पूँजीबजारमा उत्साह थप्ने पात्रलाई गभर्नर बनाइएको खण्डमा त्यहीँबाट अर्थतन्त्रमा सुधारको युग सुरु हुने उनीहरुको तर्क छ । यो परिकल्पनालाई वास्तविकतामा परिणत गर्नसक्ने क्षमता भएका राष्ट्रबैंकबाहिरका पात्र समेत हुन् ज्ञानेन्द्र ढुंगाना ।
कांग्रेस बैठकमा गभर्नर छलफल : भट्टको विकल्प खोज्नु पर्ने हुनसक्छ
नेपाल राष्ट्र बैंकको कायममुकाय गभर्नर नीलम ढुंगानाले कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि दोस्रो व्यक्ति अघि सार्नुपर्ने गरी छलफल भएको छ ।
शुक्रबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको पदाधिकारी बैठकमा सहभागी एक नेताले सभापति देउवाको बोली उद्धृत गर्दै भने, ‘गभर्नर कांग्रेसलाई दिने भइसक्यो । गभर्नर हाम्रै मान्छे पठाउने हो । भट्टजीको भए हुन्छ, नभए अर्को मान्छे पठाउनु पर्यो ।’
भट्ट गभर्नर हुन नसक्ने स्थिति बने दोस्रो व्यक्ति कसलाई अघि सार्ने भन्नेबारे भने कांग्रेस टुंगोमा पुगिसकेको छैन ।
भट्टलाई गभर्नर बनाउन नसकेको अवस्थामा विकल्प खोज्नुपर्ने विषयमा भने सभापति देउवा ढुक्क देखिएको ती नेताले जानकारी गराए । ‘१/२ दिन हेरौं । भट्ट जीको भएन भने अर्को खोज्नुपर्छ भन्ने कुरा आएको छ,’ बैठकमा सहभागी नेताले भने ।
कामु गभर्नर ढुंगानाले पदीय भूमिका अनुसार जिम्मेवारी निर्वाह नगरेको भन्दै नेताहरूले असन्तुष्टि पोखेका थिए । बैठकमा सहभागी नेताका अनुसार ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्नुमा एमाले प्रति आशंका समेत गरेका छन् ।
कांग्रेसले इच्छाएको व्यक्ति गभर्नर हुने कांग्रेस–एमालेमा सहमति बनेपछि राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट भट्टले ५ वैशाखमा राजीनामा दिएका थिए ।
कामु गभर्नर ढुंगानाले हालसम्म भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । अर्थमन्त्री विष्णु पौडेलले भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिए पनि उनले टेरिनन् ।
ढुंगानाले राजीनामा नगर्ने अडान लिएपछि उनलाई एमालेले भित्रि रूपमा सघाएको आशंका कांग्रेसमा बढ्दै गएको छ । ढुंगानाले राजीनामा स्वीकृत नगर्नुमा एमालेको षड्यन्त्र रहेको शीर्ष तहका एक नेता दाबी गर्छन् ।
‘एमालेले नखेलेको भए कार्यवाहक गभर्नरले राजीनामा स्वीकृत गर्दिनँ भन्न पाइन्छ त ?’ उनी भन्छन्, ‘स्व–इच्छाले राजीनामा दिन पनि नपाइने ? एउटा व्यक्तिले राजीनामा गर्दा उनले रोक्न मिल्छ ? गभर्नर नियुक्तिमा भयंकर राजनीति र षड्यन्त्र भएको छ । षड्यन्त्र गराउने खेलमा नीलम देखिने गरेर लागिन् ।’
कांग्रेसले चाहेको व्यक्ति गभर्नर हुनेमा भने नेताहरू ढुक्क देखिएका छन् । देउवाले पार्टी बैठक र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी ओली गभर्नर कांग्रेसले चाहेको व्यक्ति हुने विश्वस्त बनाएको जानकारी गराएका छन् ।
शुक्रबारको पार्टी बैठकमा छिट्टै गभर्नर नियुक्त हुने नेताहरूलाई जानकारी गराएका थिए । बैठकपछि सभापतिको बोली उद्धृत गर्दै प्रवक्ता डा. प्रकाशरण महतले भने, ‘सभापतिले यो चाँडै टुंगिन्छ । प्रोफेसनल, व्यावसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्वमा जानुपर्दछ ।
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ ।
नयाँ वर्षका अवसरमा सुरु गरिएको यो योजना अब असार मसान्तसम्म लागु हुने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत क्रेडिट कार्ड लिन कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन । क्रेडिट कार्ड लिन ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफुलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्न सक्नेछन् ।
यो योजनाले आधुनिक बैंकिङ प्रवर्द्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त रहेको छ । ‘बाई नाउ, पे लेटर’ मार्फत ग्राहकले क्रेडिट कार्ड प्रयोग गरेर शून्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले नबिल बैंकको शाखामा गई यसबारे थप जानकारी लिन तथा लाइफटाइम फ्रि क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
साथै, https://nbankhome.nabilbank.com/digital-form/credit-card मा गई अनलाइन मार्फत पनि आवेदन पनि दिन सक्ने जनाइएको छ ।
मुक्तिनाथ विकास बैंकले गर्यो स्टार्टअप केन्द्रित वित्तीय साक्षरता कार्यक्रम
मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमी केन्द्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उद्देश्य उद्यमीलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवा पहुँच, व्यावसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायत विषयमा साक्षर गराउनु थियो ।
यस कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीको उत्साहजनक सहभागिता थियो । यस कार्यक्रम मार्फत उद्यमीहरूलाई वित्तीय ज्ञान प्रयोग गरेर व्यापार–व्यवसाय अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ । नेपाली युवालाई सशक्त बनाई बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ ।
बैंकले हालै ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
भट्टलाई गभर्नर बनाउन देउवाले दिएको अल्टिमेटम सकियो
नेपाल राष्ट्र बैंकको गभर्नरमा गुणाकर भट्टलाई नियुक्त गर्न सत्ता साझेदार नेपाली कांग्रेसले दिएको वैशाख २५ को अल्टिमेटम आज (बिहीबार) सकिएको छ ।
पटक पटकको भेटपछि प्रधानमन्त्री केपी ओलीले आजसम्मलाई समय दिन देउवासँग आग्रह गरेअनुसार देउवा तयार भएका थिए । तर आज पनि भट्ट गभर्नर नियुक्त नभएपछि नेपाली कांग्रेसलाई सरकारमै बस्ने वा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने ? नैतिक संकट परेको छ ।
देउवाले भट्टलाई गभर्नर नबनाउने संकेत देखासँगै शुक्रबार बिहानका लागि आफ्नो पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । बैठकले अनपेक्षित निर्णय गर्नसक्ने देखिएको छ । अघिल्लो गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्नेमा दुई महिना बितिसक्दा पनि कांग्रेस र एमालेको किचलोले गभर्नर नियुक्त हुन सकेको छैन् ।
गभर्नर नियुक्ति पेचिलो बन्दै जाँदा ओली प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालसँग नजिकिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि ओलीलाई समर्थन गर्ने बताएको छ । एमालेले हालकी वरिष्ठ डेपुटी गभर्नर एवं कायममुकायम गभर्नर डा. नीलम ढुंगानालाई गभर्नर बनाउने तयारी गरेको छ । गभर्नर बन्न राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टको अहिलेसम्म राजीनामा स्वीकृत भएको छैन् । राजीनामा स्वीकृत नभएसम्म उनी गभर्नरको उम्मेदवार बन्न सक्दैनन् ।
ढुंगाना आफू गभर्नरको दावेदार हुँदाहुँदै भट्टको राजीनामा स्वीकृत गरेर प्रतिस्पर्धीलाई बाटो सहज गरिदिन तयार छैनन् । आफू कामु गभर्नर भएकाले भट्टको राजीनामा स्वीकृत नगर्ने अडान राख्दै आएकी ढुंगानालाई राष्ट्र बैंकका कांग्रेसनिकट कर्मचारीहरु आएर राजीनामा स्वीकृत गर्न दबाब दिएका थिए । तर ढुंगानाले पूर्ण गभर्नर आएपछि उसैले राजीनामा स्वीकृत गर्ने भन्दै अडान राखेकी थिइन् ।
गभर्नर हुन तीन–चार बर्षदेखि नै तयारी गरेकी ढुंगाना राष्ट्र बैंकको पहिलो महिला गभर्नर बनेर इतिहास रच्ने दाउमा छिन् । तर राजनीतिक समीकरण र धेरै व्यक्ति एवं समूहको स्वार्थका कारण उनको इच्छा चुनौतिपूर्ण बनेको छ । यता भट्टले पनि गभर्नर बन्न पश्चिम क्षेत्रका सम्पूर्ण नेता, साँसद, प्रशासक, न्यायाधीशमार्फत देउवालाई दबाब दिएका छन् । पश्चिमको दबाबका कारण पनि देउवाले भट्टको पक्षमा अडान छोड्न नसकेका हुन् ।
तर एमालेले सरकार र अर्थ मन्त्रालयको नेतृत्व आफ्नै पार्टीको भएकोले गभर्नर पद आफूहरुले नछोड्ने रणनीति बनाएको देखिन्छ । सरकारमा नहुँदा पनि गभर्नर आफनो पार्टीका हुँदा समानान्तर सरकार सञ्चालन गर्न सकिने विश्वास उसको छ । यता कांग्रेसले भने यसअघि एमालेले महाप्रसाद अधिकारीलाई गभर्नर बनाएको र अहिले सरकारमा ठूलो दल आफूहरु भएकाले गभर्नर पद आफूहरुले पाउनुपर्ने तर्क गर्दै आएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक एमालेलाई दिएकाले पनि राष्ट्र बैंकको गभर्नर पदमा आफूहरुको स्वतः दावेदारी रहने कांग्रेस नेता प्रकाशशरण महतको छ ।












