ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गरेको छ ।
यस सुविधापछि बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाइन मर्चेन्ट पनि अक्वायर गर्न सक्ने छ र बैंकका अनलाइन मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
एनसीएचएल र ग्लोबल आइएमई बैंकले नेपालमा ई–कमर्स ट्रान्जेक्सन प्रवर्द्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । यस पेमेन्ट गेटवले दुवै आन्तरिक र वाह्य पेमेन्टहरू सपोर्ट गर्ने भएकाले मर्चेन्टहरूलाई आफ्नो व्यवसायको दायरा विस्तार गर्न सहज हुने विश्वास गरिएको छ ।
साथै, यस पेमेन्ट गेटवले थ्रीडी सेक्योर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीलाई थप सुरक्षित बनाउँछ र अनधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ ।
अनलाइन वा ई–कमर्समा आधारित मर्चेन्टहरूले उक्त पेमेन्ट गेटवेमा आबद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रक्रिया र प्राविधिक व्यवस्था गरेपछि उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्ने हुनेछन् ।
ग्लोबल आइएमई बैंकले हाल ७७ जिल्लामा ३५५ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ३७ शाखारहित, ६९ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर एवं ३ वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी केन्द्रबाट सेवा दिँदै आएको छ ।
एनसीएचएलले हाल १२ बैंक तथा वित्तीय संस्थालाई आन्तरिक र विभिन्न अन्तर्राष्ट्रिय कार्ड कारोबार गर्न होस्टिङ, स्विचिङ र अनलाइन पेमेन्ट गेटवे लगायत सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवेमा सहभागितासँगै नेपालमा डिजिटल भुक्तानीको दायरा अझ विस्तारित हुने अपेक्षा गरिएको छ ।
१७३ करोडमा कालु गुरुङले बनाइरहेको १०० युनिट अपार्टमेन्ट करिब तयार
घरजग्गा व्यवसायी कालु गुरुङको लगानीमा पोखराको दुई स्थानमा अपार्टमेन्ट निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण अपार्टमेन्ट–मासबार र अन्नपूर्ण–लेकसाइड सेदीमा निर्माण भइरहेको एक सय युनिट अपार्टमेन्टको काम अन्तिम चरणमा पुगेको हो ।
घरजग्गा व्यवसायी कालु गुरुङले रोडसो इन्भेष्टमेन्ट कम्पनीमार्फत् उक्त अपार्टमेन्ट निर्माण गरिरहेको हुन् । कम्पनीले अन्नपूर्ण अपार्टमेन्ट–मास्बारमा ४० वटा युनिट र अन्नपूर्ण–लेकसाइड सेदीमा ६० युनिटको अपार्टमेन्टको निर्माण गरिरहेको हो । उक्त दुई स्थानमा १ लाख ३२ हजार ३ सय ५५ स्क्वायर फिटमा अपार्टमेन्ट निर्माणको कार्य भइरहेको छ ।
कम्पनीअनुसार एक सय युनिटको अपार्टमेन्ट निर्माण सम्पन्न गर्न १ अर्ब ७२ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।यसअघि कम्पनीले १ अर्ब ५० करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको थियो । तर अहिले उक्त अपार्टमेन्टको अनुमान लागत बढेको छ ।
कम्पनीले अपार्टमेन्टका लागि ग्राहकबाट लिएको अग्रिम भुक्तानी र बैंकबाट कर्जा लिई निर्माण गरेको जनाएको छ । जसमा कम्पनीले सन् २०२५ को अप्रिलसम्मा ६९ करोड ५० लाख रुपैयाँ ग्राहकबाट लिएको रेटिङमा उल्लेख छ ।
कम्पनीअनुसार हालसम्ममा ९८.६३ प्रतिशत आर्थिक प्रगति भएको छ । जसमा अन्नपूर्ण अपार्टमेन्ट सेदीको भने करिब शतप्रतिशत आर्थिक प्रगति भएको कम्पनीले जनाएको छ ।
सन् २००४ बाट रियल स्टेट क्षेत्रमा निरन्तर कार्य गर्दै आएका गुरुङको दुई कम्पनीले गत आर्थिक वर्षमा ५२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । जसमध्ये रोडशो इन्भेष्टमेन्टबाट १८ करोड ५० लाख रुपैयाँ र रोडशो रियल स्टेटबाट ३४ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
रोडशो इन्भेष्टमेन्ट कम्पनीले सन् २०२४ मा १८ करोड ५० लाख रुपैयाँको कारोबार गर्दा सन् २०२३ मा ६ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ४० करोड रुपैयाँको कारोबार गरेको थियो ।
गुरुङको शतप्रतिशत लगानी रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ८८ करोड ६७ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि ८२ करोड ५७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।
त्यसैगरी, कालु गुरुङको रोडशो रियल स्टेट कम्पनीले सन् २०२४ मा ३४ करोड २० लाख रुपैयाँको व्यापार गर्दा सन् २०२३ मा १३ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा ४९ करोड २० लाखको गरेको छ । जग्गा प्लटिङ र बिक्री कार्यमा संलग्न गुरुङको यस कम्पनीमा भने ६७ प्रतिशत हिस्सा रहेको रेटिङमा उल्लेख छ ।
रोडशो रियल स्टेटमार्फत् अहिले गुरुङसँग २० करोड ५० लाख रुपैयाँको बुक भ्यालुसहितको जग्गा रहेको जनाइएको छ । साथै १ अर्ब ३६ करोड ४० लाख रुपैयाँको कूल लागतको तीनवटा अपार्टमेन्ट तत्काल बिक्रीमा रहेको कम्पनीको भनाइ छ ।
कम्पनीले ३ वटा अपार्टमेन्टको अग्रिम भुक्तानीबाट सन् २०२४ को जुलाईसम्ममा १ अर्ब ५ करोड ५० लाख रुपैयाँ रकम संकलन गरेको छ । त्यस्तै आगामी दिनमा अपार्टमेन्टको कारोबार बढ्न गई व्यापारमा सुधार हुने अपेक्षा कम्पनीले गरेको छ ।
कम्पनीले रोडशो रियल स्टेटमार्फत् अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब १४ करोड ३३ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा अल्पकालीन कर्जाका लागि १ अर्ब ७ करोड २२ लाख रुपैयाँ र दीर्घकालीन कर्जाका लागि ७ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।
आईपीओमा कमिसन प्रकरण: इप्पान अध्यक्षसहितका पदाधिकारीसँग अख्तियारले लियो बयान
जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले कमिसन मागेको आरोप लगाएका ऊर्जा उत्पादकहरुको संस्था इप्पानका पदाधिकारीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ ।
बिहीबार दिउँसो अख्तियारले इप्पानका अध्यक्ष गणेश कार्कीसहितका केही पदाधिकारीलाई कार्यालयमा बोलाएर बयान लिएको हो । आईपीओ निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूसँग धितोपत्र बोर्डले कमिसन मागेको विषयमा अख्तियारले उनीहरुसँग सोधपुछ गरेको स्रोतको भनाइ छ ।
‘बोर्डले कमिसन मागेको विषयमा ऊर्जा उत्पादकका पदाधिकारीसँग अख्तियारले के भएको हो भनेर जान्न र बुझ्न खोजेको हो, ‘ स्रोतले भन्यो, ‘कमिसन माग भएका विषयमा प्रमाण माग्ने काम भयो ।’
यसअघि बुधबार अख्तियारले खुमलटारस्थित धितोपत्र बोर्डको कार्यालयमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको थियो। अख्तियारले आईपीओ निष्कासन प्रक्रियामा रहेका केही कम्पनीका फाइलहरू नियन्त्रणमा लिएको हो।
धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूसँग कमिसन मागेको आरोप स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले लगाएको थियो भने बुधबार र बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले यसबारे प्रश्न गर्दै छानबिनको माग गरेका थिए ।
इप्पानका पदाधिकारीहरुले धितोपत्र बोर्डले प्रवर्द्धकहरूसँग ५० करोडभन्दा कम चुक्ता पुँजी भएका लागि ७ प्रतिशत र ५० करोडभन्दा बढी चुक्ता पुँजी भएकालाई ७ प्रतिशतभन्दा बढी कमिसन मागेको आरोप लगाएका छन् ।
हाल धितोपत्र बोर्डमा ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १३२ रुपैयाँ बराबरको ४० करोड ४७ लाख ६ हजार ५४० कित्ता आईपीओ निष्काशनका लागि अनुमतिको पर्खाइमा छन् । जसमध्ये जलविद्युत समूहका मात्र ४३ कम्पनीको १९ अर्ब ४४ करोड ३४ लाख २४ हजार ३३६ रुपैयाँ बराबरको १९ करोड ३ लाख ६१ हजार ५९५ कित्ता सेयर अनुमतिको पर्खाइमा छ ।
महालक्ष्मी विकास बैंकद्धारा स्क्यान टु क्यास सेवा सुरु
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले फोन पे को सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक बनेको छ ।
यस अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा यस बैंकको दरबारमार्ग शाखा र थापाथली शाखाबाट सुरु गरिएको यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिनेछ । यस सुविधाको विस्तार सँगै परम्परागत रुपमा चेक वा ऐटिएम कार्डको प्रयोग मार्फत नगद झिक्न पर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
डिजिटल नवप्रवर्तन प्रतिको आफ्नो प्रतिबद्धतालाई थप मुजबुत बनाउँदै बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सहकार्यमा अलि पे प्लस ९ब्ष्उिबथ ं० नेटवर्क मार्फत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा समेत यस अघि सुरु गरिसकेको छ । यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतका मुलुकबाट आएका पर्यटकहरुले नेपाल पे क्यूआर स्क्यान गरी आफ्नो देशको डिजिटल वालेटबाट नेपालमा सहज रुपमा भुक्तनी गर्न सक्नेछन् ।
लगानी विविधिकरण, बीमा कोष लगानीको प्रस्थानबिन्दु :सिईओ पराजुली
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको लगानीमा नेपाल लाईफ इन्भेष्टमेन्ट कम्पनीको ओैपचारिक रूपमा सुरूवात गरेको छ । सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ प्रविन रमण पराजुलीले लगानी विविधिकरण नेपाली जीवन बीमा क्षेत्रमा नयाँ लगानीको लागि प्रस्थानबिन्दु भएको बताएका छन् ।
लगानीलाई विविधिकरण गर्नको लागि नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड ५ अर्बको आधिकारिक पुँजी र आजको दिनको १ अर्ब ८० करोडको चुक्ता पुँजी भएको पब्लिक कम्पनीको रुपमा स्थापित गरेका छौं ।
बीमा क्षेत्रमा हामीले नेपाली परिवेश अनुसारको बीमा योजना लिएर बीमा बजारमा प्रवेश गरेका र बीमितको बचतलाई सही सदुप्रयोग गर्न हामीले इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेको कम्पनीका सिईओ पराजुलीले बताएका छन् ।
बीमित र लगानीकर्ताहरुको हितको लागि कम्पनीले सुरक्षित क्षेत्रमा लगानी विविधीकरण गर्न हिसाबले उचित रिटर्न आउने तबरबाट काम गर्ने कम्पनीले जनाएको छ।
स्टेकहोल्डर र सेयरधनीहरुलाई प्रतिफल दिने हिसाबले लगानी गर्नेछ ।
गभर्नर सिफारिस समितिः महाप्रसादको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट
सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य एवं निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ।
अधिवक्ता नवीन धितालले सरकारले गठन गरेको ३ सदस्यीय सिफारिस समितिमा अधिकारी बस्नै नमिल्ने र उनी समेत संलग्न समितिले गरेको सिफारिस गैरकानुनी हुने जिकिर गर्दै रिट दायर गरेका हुन्।
रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले समय अभाव देखाउदै दर्ता भने गर्न नभ्याएको बताइएको छ । बहाल रहेकै बेला गठन भएको समितिमा पूर्वगभर्नरको हैसियतमा अधिकारी नियुक्ति गर्नु गैरकानुनी रहेको निवेदकको दाबी छ। नेपाल राष्ट्र बैंकको गभर्नरबाट अधिकारीले उमेरहदका कारण गत २४ चैतमा अवकाश पाएका थिए।
सरकारले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा चैत १६ मै गभर्नर सिफारिस समिति बनाएको थियो। सो समितिमा राखिएका पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई नियुक्त गरिएको हो।
यसरी पदमा बहाल रहकै बेला गठन भएको समितिले काम थालिसकेको अवस्थामा अवकास लगत्तै गरिएको नियुक्ति कानुन विपरीत र स्वार्थ बाझिने खालको भएको निवेदकको जिकिर छ।
निवेदकले यसरी गैरकानुनी रुपमा नियुक्त सदस्य रहेको समितिले गरेको सिफारिस कार्यान्वयन नगर्न, सिफारिस अनुसार सरकारले निर्णय गरेको भए सो निर्णय बदर गर्न र तत्काल अन्तरिम आदेशमार्फत समितिलाई सिफारिस गर्न रोक लगाउन माग गरेका छन्।
कार्यकारी निर्देशकको राजीनामा पूर्ण गभर्नर आएपछि स्वीकृत हुन्छ
नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम तिम्सिना ढुंगानाले आफूले कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नगर्ने बताएकी छन् ।
उनलाई भेट्न गएका नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीसँग उनले भनिन्,‘कार्यकारी निर्देशकको तहभन्दा तलका कर्मचारीको राजीनामा आयो भने स्वीकृत गर्छु, कार्यकारी निर्देशकको चाहिँ पूर्ण गभर्नर आएपछि स्वीकृत हुन्छ । मैले स्वीकृत गर्न मिल्दैन भन्नुभयो ।’
ढुंगाना आफू पनि गभर्नरको प्रतिस्पर्धी भएकाले भट्टको राजीनामा स्वीकृत गरेर बाटो खोलिदिने पक्षमा नभएको आशय व्यक्त गरेकी थिइन् ।
संघले एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंक ऐनअनुसार बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा नियुक्त गर्नुपर्नेमा रिक्त भएको एक महिनासम्म नयाँ गभर्नर नियुक्त नहुनु लज्जास्पद भएको बताएको छ ।
वित्तीय क्षेत्रको नियामक राष्ट्र बैंकलाई राजनीतिक दाउपेच, बिचौलियाको चलखेल तथा सिमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बनाउनु र केन्द्रीय बैंकलाई नेतृत्वविहीन राखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।
‘मुलुक एफएटीएफको ग्रे लिस्टमा रहेको अवस्थामा केन्द्रीय बैंकको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा नेपाल राष्ट्र बैंक विगत एक महिनादेखि नेतृत्वविहीन अवस्थामा छ । सामान्य निर्णयहरू बाहेक नीतिगत निर्णयहरू हुन नसकिरहेको अवस्था छ । बजेट निर्माणको समयमा सरकारको आर्थिक सल्लाहकारको रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा केन्द्रीय बैंकको भूमिका प्रभावहीन देखिन्छ,’ संघले जनाएको छ ।
विद्यमान चुनौतीहरूलाई सहज रूपमा सम्बोधन गर्न सक्ने सक्षम व्यक्तिलाई यथाशीघ्र गभर्नरको रूपमा नियुक्ति गर्न संघले माग पनि गरेको छ ।
‘आफूलाई काबिल भन्दै गभर्नरको दाबेदारी प्रस्तुत गरिरहेको वर्तमान कार्यवाहक नेतृत्वबाट एकजना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले लाचारीपन व्यक्त भइरहेको महसुस हामीलाई भएको छ र नेतृत्वको नैतिकता एवम् क्षमतामा नै प्रश्न उठेको छ,’ संघले विज्ञप्तिमा भनेको छ ।
यो कार्य नेपालको संविधानको धारा २९, श्रम ऐन २०७४ को दफा १४१, सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ३५ तथा नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को समेत उल्लंघन भएको संघले जनाएको छ ।
आईपीओ प्रक्रिया विवादमा जलविद्युत् क्षेत्र : इप्पान विरुद्ध उभिए प्रवद्र्धक कम्पनीहरू
नेपालको जलविद्युत् क्षेत्रभित्र आन्तरिक विवाद चुलिएको छ। उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुले केही दिनअघि धितोपत्र बोर्ड (सेबोन)ले आइपीओ निष्काशनका क्रममा कमिसन मागेको आरोप लगाएपछि उर्जा प्रवद्र्धक कम्पनीहरूकै तर्फबाट त्यसको खण्डन गर्दै इप्पानको भनाइलाई अस्वीकार गर्न थालिएको छ।विकास हाईड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको विज्ञप्तिमा कम्पनीले आइपीओ निष्काशनका लागि कुनै पनि व्यक्ति वा निकायलाई कमिसन नबुझाएको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस प्रक्रियामा हामीले कुनै पनि व्यक्तिलाई अनुचित लाभ हुने कार्य नगरि नियमानुसार स्वीकृति प्राप्त गरेको व्यहोरा जानकारी गराउँदछौं।’ कम्पनीले सञ्चारमाध्यममा आइपीओ अनुमतिमा कमिसन बुझाएको भन्ने भ्रामक समाचारप्रति आपत्ति जनाएको छ।
त्यस्तै पियोर इनर्जी कम्पनीले पनि इप्पान पक्षबाट उठाइएको आरोपलाई कपोकल्पित भनेको छ। कम्पनीले उक्त विषयमा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको जनाउँदै प्रेस काउन्सिल नेपालमा उजुरीसमेत दिएको जनाएको छ।
यसअघि केही सञ्चारमाध्यमले सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि जलविद्युत् प्रवद्र्धकहरूसँग कमिसन लिएको आरोपसहित समाचार प्रकाशित गरेका थिए। सोही आरोपपछि इप्पानले आकस्मिक बैठकसमेत बसेको थियो।यता, सेबोनले मंगलबार विज्ञप्ति जारी गर्दै आइपीओ निष्काशन प्रक्रियामा कुनै किसिमको अनुचित लाभ लिएको छैन भनी स्पष्ट पारेको छ। साथै आरोप प्रमाणित गर्न चुनौती दिँदै नियामकको भूमिकामा प्रश्न उठाइनु दुर्भाग्यपूर्ण रहेको बताएको छ।जलविद्युत् क्षेत्रको विकाससँगै देखिएको विकृति, आरोप र प्रत्यारोपका कारण यस विषयमा संसददेखि सरकारी निकायहरूसमेत चासो व्यक्त गरिरहेका छन्। आइपीओ प्रक्रिया पारदर्शी बनाउन दबाब बढिरहेको यो अवस्थामा क्षेत्रीय समन्वय र स्पष्ट मापदण्डको आवश्यकता झनै देखिएको छ।
राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।
नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन बुझाएको मन्त्रालयले जनाएको छ ।
कामु गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन् । अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्याउने बताए ।
राष्ट्र बैंक कर्मचारी संघले उठायो कावा गभर्नरको क्षमतामाथि प्रश्न
गभर्नरका प्रत्याशी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेको भन्दै राष्ट्र बैंककै कर्मचारी रुष्ट बनेका छन्। नेपाल वित्तीय कर्मचारी संघले विज्ञप्ति निकालेर राजीनामा रोकेको भन्दै विरोध जनाएको हो।
उनीहरूले कायममुकायम गभर्नर डा. नीलम ढुंगानाप्रति आक्रोश पोखेका हुन्। मंगलबार संघले विज्ञप्ति जारी गर्दै राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानासँग माग गरेको छ। संघले एक महिना बैंक गभर्नरविहीन भएको अवस्थामा पनि प्रत्याशीको राजीनामा स्वीकृत नगरी नियुक्ति प्रक्रियालाई लम्ब्याउनु गलत भएको उल्लेख गरिएको छ।
‘गभर्नरका दाबेदार वर्तमान कार्यवाहक नेतृत्वबाट एक जना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले नेतृत्वको क्षमतामाथि नै प्रश्न उठेको छ’, विज्ञप्तिमा भनिएको छ। कामु डा. ढुंगानाको क्षमतामा प्रश्न उठाउँदै संघले नेपालको श्रम ऐन धारा २९ , श्रम ऐन २०७४, सुशासन नियमावली २०६५ र नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को ठाडो उल्लंघन गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकिङ कसुर मुद्दामा १ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ
बैंकिङ कसुरको मुद्दामा एक करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० बस्ने ४७ वर्षीय अमीत अग्रवाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वयम्भूबाट मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेका अग्रवाललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनीविरुद्ध २२ जेठ २०८० मा बैंकिङ कसुरको मुद्दामा ३० दिन कैद र एक करोढ ५० लाख जरिवानाको फैसला भएको थियो । त्यसैगरी २१ असार २०८० मा चेक अनादार मुद्दामा तीन हजार जरिवानाको फैसला सुनाइएको थियो । २४ फागुन २०८० मा चेक अनादारकै चार हजारको फैसला सुनाइएको थियो ।
सन्तोषनारायणले पठाएको भन्दै हाकाहाकी आइपीओ स्वीकृतिमा ७% कमिसन लिँदै
जलविद्युत कम्पनीको आइपीओ २२ महिनादेखि रोकिएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रमुख राजनीतिक दलका नेतालाई भेटे। इप्पानको टोली सार्वजनिक लेखा समितिदेखि अर्थ समितिका सभापति भेट्दा पनि समस्या समाधान नभएपछि प्रधानमन्त्री ओलीसम्मलाई गुहार्न पुगेको थियो। प्रधानमन्त्रीलाई गुहार्दा पनि आइपीओ स्वीकृति भएन। बरु एकाएक नेपाल धितोपत्र बोर्ड(सेबोन) अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नजिकको भन्दै केही समूहले ऊर्जा उद्यमीलाई भेट्नका लागि टेलिफोन गरे। उनीहरुले जलविद्युत कम्पनीको कार्यालयमै पुगेर उद्यमीहरुलाई आइपीओ स्वीकृति गर्ने भए केही प्रतिशत कमिसन दिनुपर्ने सर्त राखे।
स्रोतका अनुसार उनीहरुले सन्तोषनारायणको सहमतिमै आफूले काम गर्दै आएको जिकिर गर्दै अधिकतम ७ प्रतिशतसम्म कमिसन मागे। ‘हेर्नुस तपाईंहरु प्रधानमन्त्रीसम्म पुग्नुभयो। तर, तपाईंहरुको काम भएन। काम गर्ने चाहना छ भने कमिसन दिनुस्, आइपीओ तत्कालै एप्रुभ हुन्छ,’ ती बिचौलियालाई उद्यृत गर्दै एक ऊर्जा उद्यमीले भने।
स्रोतका अनुसार केही उद्यमीले प्रधानमन्त्रीलाई भन्दा पनि काम नभएको भन्दै बिचौलियालाई ७ प्रतिशतसम्म पैसा तिरे। पैसा तिरेको केही दिनमै तीनवटा जलविद्युत कम्पनीले आइपीओ निष्कासनको अनुमति पाए।
अहिले सेबोनमा ८९ वटा कम्पनीले आइपीओका लागि आवेदन दिएका छन्। तीमध्ये सबै कम्पनीका प्रमुख लगानीकर्तासम्म सन्तोषनारायणको नाम लिँदै पैसा उठाउने बिचौलिया पुगिरहेको स्रोतले बतायो। सन्तोषनारायणको नाम लिँदै बिचौलियाको बिगबिगी भएपछि इप्पानको टोलीले स्पस्ट जवाफ खोज्न श्रेष्ठलाई सेबोनमै गएर भेट्न खोज्यो। तर, सेबोनको कार्यालयमा गेटपालेले अध्यक्षको अनुमति विना भेट्न मिल्दैन भन्दै फर्काए।
स्रोतका अनुसार इप्पानको तर्फबाट अध्यक्ष सन्तोषनारायणलाई भेट्नका लागि पटकपटक टेलिफोन र म्यासेज गर्दा पनि कुनै रेस्पोन्स भएन। जलविद्युत कम्पनीमा सेबोन अध्यक्षको नाम लिँदै कमिसन उठाउन सक्रिय हुने र त्यसबारे जानकारी गराउनका लागि भेट्न खोज्दा सम्पर्कमै आउन नचाहेपछि इप्पानले दबाब दिनकै लागि मंगलबार काठमाडौंमा भेला गर्यो।
भेलामा सहभागी अधिकांश प्रवर्धकहरुले ५ देखि ७ प्रतिशत कमिसन दिए आइपीओ निष्कासनको अनुमति दिने भनेर बिचौलियाहरु आफ्ना कार्यालयमा आउन थालेको बताए। इप्पानका उपाध्यक्ष उत्तम भ्लोनले सेबोनले आइपीओ निष्कासनको अनुमति रोकेको अवस्थामा बिचौलियाहरुले कमिसन मागेको विषयलाई अब सामूहिक रुपमा प्रतिवाद गर्नुपर्ने बताए।
‘हामीले आइपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएको लामो समय भयो। तर, किन अनुमति दिइएन भन्नेबारे सेबोनबाट अहिलेसम्म जवाफ पाइएको छैन। यसबारेमा बुझ्न जाँदा सेबोनका गेटपालेले भित्र छिर्नै दिंदैनन्,’ भेलामा भ्लोनले भने, ‘तर अमूक व्यक्तिहरु कमिसन पाए आइपीओको अनुमति दिलाइदिन्छौं भनेर आइरहेका छन्। यसलाई हामीले टुलुटुलु सहेर बस्नु हुँदैन। अब सामूहिकरुपमा प्रतिवाद गर्न आवश्यक छ।’
भ्लोनलाई अरु प्रवर्धकरुले पनि साथ दिए। उनीहरुले सामूहिक प्रतिवाद नगर्ने हो भने कमिसनविना आइपीओ निष्कासनको अनुमति नै नपाउने भन्दै इप्पानले दबाबमूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। उनीहरुले बिचौलियाको बिगबिगी भएकाले अब विद्रोह गर्नुपर्ने र आवश्यक परे सरकारलाई दबाबका लागि पिक आवरमा आयोजना बन्द गर्नुपर्ने समेत बताए। त्यसपछि इप्पानका अध्यक्ष गणेश कार्कीले बिचौलियामार्फत मागिएको कमिसन दिन नसकिने स्पस्ट पारे।
‘जलविद्युत कम्पनीलाई आइपीओ निष्कासन गर्न दिने/नदिने भन्ने सेबोनको तजबिजीमा पर्दैन। हामीले कानुनी व्यवस्था अनुसार नै निवेदन दिएका हौं। तर, सेबोनले अनुमति रोक्दा पुँजी अभावमा जलविद्युत आयोजनाको निर्माण नै अवरुद्ध हुन पुगेको छ। धेरै साथीबाट कमिसन मागिएको कुरा आएकाले अब हामी यसविरुद्ध सशक्तरुपमा आवाज उठाउनेछौं,’ कार्कीले भने।
इप्पानको भेलाले बिचौलियाले कमिसन मागेको विषयमा सेबोन अध्यक्ष श्रेष्ठको ध्यानाकर्षण गराउने र त्यति गर्दा पनि सहज रुपमा आइपीओ निष्कासनको अनुमति नपाए दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ। यसका लागि भेलाले एउटा समिति समेत बनाएको छ।
सेबोनमा आइपीओ निष्कासनको अनुमति माग्दै ८९ कम्पनीले आवेदन दिएकामा तीमध्ये ४३ वटा जलविद्युत कम्पनी हुन्। सेबोन अध्यक्षमा श्रेष्ठको नियुक्तिपछि जम्मा ७ कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएका छन्। सान्भी इनर्जी, विकास हाइड्रोपावर र उद्योगी पवन गोल्यानको पियोर इनर्जी बाहेकका जलविद्युत कम्पनीले आइपीओ निष्कासनको अनुमति पाउन सकेका छैनन्।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २०८० पुस दोस्रो साता ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आइपीओ निष्कासनको अनुमति नदिन सेबोनलाई निर्देशन दिएको थियो। सेबोनमा निवेदन दिएका जलविद्युत कम्पनीमध्ये केहीको मात्र नेटवर्थ ९० भन्दा कम छ। तर, सेबोनले विना कारण ९० भन्दा बढी नेटवर्थ भएका कम्पनीको आइपीओ पनि रोकिरहेको छ।
४३ वटा जलविद्युत कम्पनीले १९ अर्ब ४४ करोड ३४ लाख मूल्य बराबरको आइपीओ निष्कासनका लागि आवेदन दिएका छन्।
सेबोनले आइपीओ निष्कासनको अनुमति नदिंदा आफूहरुले ठूलो नोक्सानी बेहोर्नु परेको जलविद्युत आयोजना प्रवर्धकहरुले बताएका छन्। उनीहरुका अनुसार बैंकको ब्याज तिर्नमा मात्र ४ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ।
यसअघिका सेबोन अध्यक्ष रमेश हमालका पालामा पनि बिचौलिया पठाएर कमिसन मागिएको थियो। कमिसन दिएकालाई सजिलै आइपीओ स्वीकृति दिने र नदिनेलाई रोक्ने काम भएको थियो।












