सामाजिक उत्तरदायित्व अन्तर्गत, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल नेपालको कर्णाली प्रदेश स्थीत बादी समुदायका करिब १३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘बादी सरोकार मञ्च नेपाल’लाई महिना दिन भन्दा बढी समयसम्म पर्याप्त हुने खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ ।
यस सहयोग कार्यक्रम अन्तर्गत कम्पनीले चामल, दाल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराएको छ, जसले संस्थामा आश्रित बालबालिकाहरूको पोषणमा प्रत्यक्ष सहयोग पु-याउने अपेक्षा गरिएको छ ।
बादी समुदाय नेपालको सबैभन्दा सीमान्तकृत र ऐतिहासिक रूपमा उत्पीडित तथा अहिले पनि सामाजिक–आर्थिक रूपले कमजोर समुदायहरू मध्ये एक हो । हिक्मत बादीद्वारा सञ्चालनमा ल्याइएको बादी सरोकार मञ्च नेपालले उक्त समुदायका महिला, बालबालिका तथा परिवारहरूलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ ।
हाल संस्था मार्फत १३० भन्दा बढी बालबालिकालाई सुरक्षित आवास, पोषण तथा शिक्षाको सुविधा प्रदान गरिँदै आएको छ ।
आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै प्रमुख व्यवसाय अधिकृत धोज बहादुर खड्का साथमा कार्यालयका अन्य अधिकारीहरूद्वारा बादी सरोकार मञ्च नेपालका संचालक हिक्मत बादीलाइ खाद्यान्न सामग्री हस्तांतरण गरिएको थियो ।
सिटिजन लाइफको यस सहयोगले बादी सरोकार मञ्च नेपाललाई सञ्चालन गर्न केहि मद्दत हुने अपेक्षा गरिएको छ ।
सिटिजन्स बैंकको १८ औं वार्षिकोत्सव सम्पन्न, ‘क्रस बैंक टेलर क्युआर’ सेवा र ‘फ्रील्यान्सर सेभिङ्ग अकाउन्ट’ सुरु
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्थापना भएको १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा १८ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। २०६४ साल वैशाख ७ गते वाणिज्य बैंकको रूपमा स्थापना भएको सिटिजन्स बैंकले हालसम्म १८ लाख ७९ हजार ग्राहकहरूलाई सेवा दिँदै आएको छ।
हाल देशभर २०० शाखामार्फत सेवा दिइरहेको बैंकको निक्षेप रकम चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब २ खर्ब २ अर्ब पुगेको छ भने कर्जातर्फ १ खर्ब ७३ अर्ब परिचालन भएको छ। सातै प्रदेशमा आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालन गर्दै आएको बैंकले देशभर पहुँच विस्तार गर्दै आएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले आज बिहानै सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ, जसमा करिब ९२१ कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रभातफेरी कार्यक्रमले वित्तीय साक्षरताका लागि जनचेतना फैलाउने अपेक्षा लिइएको बैंकले जनाएको छ।
त्यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान नै जीवनदान” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलको सहकार्यमा सातवटै प्रदेशका ३३ शाखाबाट करिब ९१३ जना रक्तदाताको सहभागितामा एकैदिन रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
डिजिटल बैंकिङ्गमा अग्रसर सिटिजन्स बैंकले “Brick Banking to Click Banking” भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै नेपालमै पहिलो पटक ‘Cross Bank Teller QR’ सेवा सुरू गरेको छ। यस सेवाबाट अब अन्य बैंकका ग्राहकहरूले पनि सिटिजन्स बैंकको नजिकको शाखामा गई आफ्नो बैंकको मोबाइल बैंकिङमार्फत ‘Cross Bank Teller QR’ स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन्। यसले भुक्तानी प्रक्रियालाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास बैंकले लिएको छ।
साथै, बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि Tap & Pay सेवा पनि सञ्चालनमा ल्याएको छ। अब ग्राहकले Offline माध्यमबाट मोबाइलमार्फत नै रू ५,००० सम्मको भुक्तानी सजिलै गर्न सक्नेछन्।
वार्षिकोत्सवकै अवसरमा बैंकले ‘Save Local, Earn Global’ नारासहित ‘Citizens Freelancer Saving Account’ को सुरुवात गरेको छ। विशेष गरी फ्रील्यान्सरहरूलाई लक्षित गरी तयार पारिएको यो खाताबाट ग्राहकले नेपाली रुपैयाँ तथा अमेरिकी डलर (USD) दुबैमा खाता खोल्न सक्ने छन्। यस खातामा उच्च ब्याजदर प्रदान गरिनेछ।
त्यसैगरी, खातामा निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, डिम्याट खाता सुविधा उपलब्ध गराइएको छ। साथै, पहिलो वर्षका लागि OPD सेवामा रू ५,००० सहित रू २५,००० सम्मको स्वास्थ्य बीमा तथा दुर्घटना मृत्यु बीमा पनि प्रदान गरिने बैंकले जनाएको छ।
१८ वर्षे यात्रामा ग्राहकहरुको साथ र विश्वासप्रति आभार प्रकट गर्दै बैंकले आगामी दिनमा अझ नवीनतम प्रविधिसहित सहज, द्रुत र सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
एनएमबि हाइब्रिड फण्ड एल-२ नेप्सेमा सूचीकृत
सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल-२’ नेप्सेमा सूचीकरण भएको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र एनएमबि क्यापिटलबीच सूचीकरण सम्झौता भएको हो।
एनएमबि क्यापिटलले १० रुपैयाँ दरको १३ करोड ६४ लाख ८४ हजार इकाइ सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल-२’ निष्कासन गरेको थियो।
क्यापिटलले सार्वजनिक निष्कासनपछि इकाइ बाँडफाँट गरेर कारोबारका लागि नेप्सेमा सूचीकरण गराएको हो। कोषको इकाइ भोलिदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ।
आईएमई लाइफको प्रडक्ट एम्बासडरमा सुशिला रोका
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सरल सावधिक जीवन बीमा योजना’ अन्तर्गत आफ्नो नयाँ सद्भावना दूत (प्रडक्ट एम्बासडर) को रूपमा सुशिला रोकालाई नियुक्त गरेको छ । कम्पनीका उच्च व्यवस्थापन र देशभरका अभिकर्ताहरूको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा रोकालाई ‘सरल सवाधिक जीवन बीमा योजना–२०२५’ को सद्भावना दूत घोषित गरिएको हो ।
मासिक स्किमअन्तर्गत देशभरका अभिकर्ताहरूबीच उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्दै उनले यो उपाधि हात पार्न सफल भएकी हुन् । कार्यक्रममा कम्पनीले उनको ब्यानर तथा प्रचार सामग्री पनि सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यस कदमले अभिकर्ताहरूमाझ स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै थप प्रतिबद्ध भएर उत्कृष्ट सेवा प्रवाह गर्न प्रेरणा दिनेछ । कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले अभिकर्ताहरूलाई बीमा सेवा सम्बन्धी ज्ञान, दक्षता तथा व्यक्तित्व विकासमा निरन्तर प्रशिक्षित गरिरहेको बताए । उनले बीमितहरूलाई सरल, सहज र स्तरीय सेवा उपलब्ध गराउने उद्देश्यमा कम्पनी दृढ रहेको पनि बताए ।
आईएमई लाइफले बीमा व्यवसायमा नविनतम सोच, प्रविधि र सेवा प्रवाहमार्फत स्थायी विश्वास कायम गर्न ‘सरल सावधिक जीवन बीमा योजना’लाई देशभर विस्तार गरिरहेको छ ।
सेयर निष्कासन गर्ने तयारीमा मुक्तिनाथ फुड बैंक
मुक्तिनाथ फुड बैंकले प्राथमिक सेयर निष्कासन प्रक्रिया अघि बढाउने तयारीस्वरूप मुक्तिनाथ क्यापिटल लिमिटेडसँग परामर्श सेवा सम्झौता गरेको छ ।
संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको मुक्तिनाथ क्यापिटलले कम्पनी स्थापनाकालदेखि सेयर निष्कासनसम्मको समग्र प्रक्रिया सहज बनाउन सहयोग गर्ने मुक्तिनाथ फुड बैंकले जनाएकाे छ ।
सम्झौतामा मुक्तिनाथ फुड बैंकका तर्फबाट सञ्चालक मोहनकुमार बस्नेत र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार कम्पनीले पूँजी संरचना परिमार्जन, हकप्रद सेयर निष्कासन, पूँजी संकलन लगायतका विषयमा आवश्यक परामर्श प्राप्त गर्नेछ । यस्तै, कम्पनीको प्रबन्धपत्रअनुसार व्यावसायिक विस्तारका लागि आवश्यक सहजीकरण पनि सम्झौतामार्फत गरिनेछ ।
मुक्तिनाथ फुड बैंकले आउँदो वैशाख १७ गते विशेष साधारण सभा आह्वान गरी हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने तयारी गरेको छ । उक्त प्रस्ताव पारित भएपछि चालु आर्थिक वर्ष २०८१/८२ भित्रमा चुक्ता पूँजी ४० करोड पुर्याउने र आगामी आर्थिक वर्ष २०८२/८३ भित्र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
प्राइम बैंकको नाफा ६४ करोडले घट्यो
प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा २२.५६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ नाफा रहेको थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोड ३८ लाख रुपैयाँबाट १५.१७ प्रतिशतले बढेर ६ अर्ब ६६ करोड १३ लाख रुपैयाँ पुगेको छ । इम्पेयरिमेन्ट चार्ज ८९ करोड ५० लाख रुपैयाँबाट बढेर २ अर्ब ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
१९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ छ ।
प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४.६३ रुपैयाँ छ । बैंकको खरा बर्जा ५.६५ प्रतिशत पुगेको छ ।
प्रभु बैंकको १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ नाफा
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा प्रभु बैंकले १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ३.५१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ८१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंक कर्जा खासै बढ्न सकेको छैन भने स्प्रेड दर पनि केही घट्दा खुद ब्याज आम्दानी १ अर्ब भन्दा धेरैले घटेको हो । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा वृद्धि भए पनि खुद ब्याज आम्दानी घट्दा बैंकको कुल सञ्चालन आम्दानी घटेको छ । तर, बैंकको निष्कृय कर्जा बढे पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ । जसले बैंकको नाफा सामान्य बढेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको कर्जा २ अर्बले मात्रै बढेको छ । २०८१ असार मसान्तमा २ खर्ब २१ अर्ब ४ करोड ५६ लाख रहेको बैंकको कर्जा चैत मसान्तमा आउँदा २ खर्ब २३ अर्ब ३४ करोड २१ लाख पुगेको छ । बैंकको निक्षेप भने १५ अर्बभन्दा धेरैले बढेको हो । गत असार मसान्तमा ३ खर्ब ५ अर्ब १ करोड २८ लाख ५२ हजार रहेकोमा चैत मसान्तमा ३ खर्ब २० अर्ब ५२ करोड ५ लाख पुगेको छ ।
कर्जा बढाउन नसकेको बैंकको स्प्रेड दर घटेको कारण खुद ब्याज आम्दानी घटेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.९६ प्रतिशत रहेको बैंकको स्प्रेड दर चालु आवको तेस्रो त्रैमासमा ३.९० प्रतिशतमा झरेको हो । जसले बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ भन्दा धेरैले घटेको छ । गत आवको तेस्रो त्रैमासमा ८ अर्ब ४३ करोड ९७ अर्ब रहेको बैंको खुद ब्याज आम्दानी चालु आवको तेस्रो त्रैमासमा ७ अर्ब ८ करोड ५७ लाखमा सिमित भएको छ । यस्तै खुद फि तथा कमीसन आम्दानी १ अर्ब ३३ करोड ८५ लाखबाट बढेर १ अर्ब ६५ करोड ३० लाख पुगेको हो ।
बैंकको नेट ट्रेडिङ आम्दानी २७ करोड ४३ लाखबाट बढेर ४१ करोड ७४ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी १३ करोड ८९ लाख रुपैयाँबाट बढेर ४६ करोड ६७ रुपैयाँ पुुगेपनि कुल सञ्चालन आम्दानी भने १० अर्ब १९ करोड १४ लाख रुपैयाँबाट घटेर ९ अर्ब ६१ करोड ९० लाखमा घटेको हो ।
निष्क्रिय कर्जा बढेसँगै बैंकले चैत मसान्तसम्म सम्भावित कर्जा नोक्सानीको लागि १ अर्ब २३ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । गत आवको यस अवधिमा बैंकले सम्भावित कर्जा नोक्सानीको लागि १ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानी घटे पनि र कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम घट्दा बैंकको नाफामा वृद्धि भएको हो । चैत मसान्तमा बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २८ लाखबाट घटेर ३ अर्ब ४३ करोड ५३ लाख रुपैयाँमा झरेको हो । गत वर्षको तेस्रो त्रैमासमा बैंकको २० करोड ४९ लाख रुपैयाँ गैर सञ्चालन खर्च रहेको बैंकको चालु आवमा त्स्तो खर्च नहुँदा सामान्य नाफा बढेको देखिन्छ ।
बैंकको सञ्चित नोक्सानी भने बढ्दै गएको छ । चालु आवको तेस्रो त्रैमाससम्म ३७ करोड ६६ लाख वितरणयोग्य नोक्सानीमा रहेको बैंक गत आर्थिक वर्षका ३ अर्ब २ करोड ५५ लाख सञ्चित नोक्सानीले बैंकको कुल सञ्चित नोक्सानी ३ अर्ब ४० करोड २३ लाख रुपैयाँ पुगेको छ ।
बैंकक चुक्ता पूँजी २३ अर्ब ५४ करोड २५ लाख रुपैयाँ छ । बैंकको जगेडाकोषमा १४ अर्ब ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
नाफा सामान्य बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसाबाट बढेर १० रुपैयाँ ६३ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात १९.५२ गुणा छ । चैत मसान्तमा बैंकको प्राथमिक पूँजीकोष अनुपात ८.६७ प्रतिशत सहित पुँजीकोष अनुपात १२.८४ प्रतिशत छ । त्यस्तै निष्क्रिय कर्जा अनुपात ४.८१ प्रतिशतबाट बढेर ५.०९ प्रतिशतमा पुगेको छ । सीडी रेसियो ७३.३३ प्रतिशत र तेस्रो त्रैमासको औसत आधारदर ६.८२ प्रतिशत छ
कुमारी बैंकको नाफा घट्यो
चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा कुमारी बैंकको नाफा ७२.८५ प्रतिशतले घटेर २८ करोड ५८ लाख २३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५ करोड २७ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५४ करोड ३६ लाख रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
यस्तै बैंकको खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ७५.३१ प्रतिशतले घटेर ५५ करोड ८३ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ६ अर्ब ५० करोड ऋणात्मक छ ।
चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १.४५ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३४.४३ रुपैयाँ रहेको छ
सानिमाको नाफा ३० करोडले बढ्यो, लाभांश क्षमता १९ प्रतिशत
सानिमा बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ३९ करोड खुद नाफा गरेकामा २१ प्रतिशतले बढाएको हो ।
बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद फि एन्ड कमिसन आम्दानीमा वृद्धि र प्रोभिजन रकम कम हुँदा नाफा बढेको देखिन्छ ।
९ महिनामा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २८ करोड र खुद फि एन्ड कमिसन आम्दानी १ अर्ब रुपैयाँ छ । खुद ब्याज आम्दानी ३० करोडले कम भएको हो ।
यता बैंकले नोक्सानी व्यवस्थाका लागि १ अर्ब ४० करोड छुट्याएको हो जुन गत आवको यही अवधिसम्म गरेको प्रोभिजनभन्दा १९ करोड कम हो ।
नाफा बढेको सानिमाको प्रतिसेयर आम्दानी १६.३३ रुपैयाँ रहेको छ । ईपीएस १४.२७ बाट सुधारिएकामा नेटवर्थ पनि १६१.३३ रुपैयाँ छ ।
यता निष्क्रिय कर्जा १.८९ प्रतिशतबाट बढेर ३.४२ प्रतिशत पुगेको छ भने प्राथमिक पुँजीकोष ९.५४ प्रतिशत रहेको छ ।
सानिमाले चैतसम्म २ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले एक वर्षमा निक्षेप १६ अर्ब र कर्जा १४ अर्बले बढाएको हो ।
नाफा बढाएको बैंकको वितरणयोग्य नाफा २ अर्ब २० करोड रहेको छ । यो रकमले १८.९२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
नेपाल बैंकको नाफा २१ गुणाले बढ्यो
नेपाल बैंकको तेस्रो त्रैमासमा २ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यवस्था राइटब्याक गरेको छ । बैंकले दोस्रो त्रैमाससम्म गरेको कर्जा नोक्सानी व्यवस्थाबाट २ अर्ब २४ करोड रुपैयाँ राइटब्याक गरेको हो ।
यति धेरै रकम आम्दानीपट्टी देखाउँदा नाफामा व्यापक सुधार आएको छ । गत आवको चैत मसान्तसम्म १३ करोड ५ लाख रुपैयाँमात्र नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ नाफा गरेको हो ।
बैंकको खुद ब्याज आम्दानी पनि बढेर ७ अर्ब १० करोड पुगेको छ । यता खुद फि तथा कमिसन आम्दानी घटेर ७५ करोड रुपैयाँमात्र कायम हुँदा नेट ट्रेडिङ इन्कममा उच्च वृद्धि भएको छ । अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ६६ करोडभन्दा बढी कर्जा नोक्सानी व्यवस्था गरेको बैंकले यो वर्षको तेस्रो त्रैमाससम्ममा कर्जा नोक्सानी व्यवस्था २८ करोड रुपैयाँ मात्र छ । जसले नाफासँगै सबै सुचकमा सुचार भएको हो ।
नाफामा आएको भारी सुधारले बैंकको प्रतिसेयर आम्दानी १.१८ रुपैयाँबाट २५.२६ रुपैयाँ पुगेको छ । यसैगरी नेटवर्थ २६०.७४ रुपैयाँ कायम भएको छ ।
तर, निष्कृय कर्जा ५ प्रतिशत नाघेर ५.४५ प्रतिशत पुगेको अवस्था छ । यसले बैंकको सम्पत्ति गुणस्तर खस्कदै गएको देखाउँछ । गत वर्षको चैतमा बैंकको एनपीएल स्तर ४.८५ प्रतिशत थियो ।
यो तथ्यले आगामी दिनमा बैंकले रिकभरीमा प्राथमिकता दिनुपर्ने देखिन्छ ।
बैंकले १ वर्षको अवधिमा निक्षेप साडे ३३ अर्बले विस्तार गरेर थप २२ अर्ब रुपैयाँबराबरको कर्जा दिएको छ । चैत मसान्तसम्म बैंकले कुल ३ खर्ब १३ अर्ब ७२ करोड रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चैत मसान्तको तथ्यांकअनुसार बैंकको प्राथमिक पुँजी अनुपात १०.०९ प्रतिशत छ ।
नाफामा छलाङ मार्दा बैंकको वितरणयोग्य नाफा ३० करोड ६२ लाख रुपैयाँ छ अर्थात् चैतको वित्तीय विवरणले बैंकले २.७८ प्रतिशत लाभांश दिनसक्ने देखाएको छ । नेपाल बैंकसँग गत आवको यही अवधिमा लाभांश दिनसक्ने क्षमता थिएन ।
ग्लोबल आइएमई बैंकको नाफा ३७.१२ प्रतिशतले बढ्यो
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज घटेर ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ५ अर्ब २६ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी भने ५.४६ प्रतिशत घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ३४.४१ प्रतिशत बढेर ६ अर्ब ३३ करोड ६६ लाखा रुपैयाँ रहेको छ । वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ छ । ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रति सेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ। प्रति सेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा छ ।
नोक्सानी व्यवस्थाका लागि २ अर्ब छुट्याउँदा सिटिजन्सको नाफा घट्यो
चालु आर्थिक वर्षको ९ महिना सकिँदा सिटिजन्स बैंक इन्टरनेसनलले ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा २५ करोड कम नाफा गरेको हो । सिटिजन्सले गत वर्षको चैत मसान्तसम्म १ अर्ब २१ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकले नोक्सानी व्यवस्थाका लागि २ अर्ब १६ करोड रुपैयाँ छुट्याउँदा नाफामा गिरावट आएको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी, नेट फि एन्ड कमिसन, अदर अपरेटिङ इन्कम आदि बढेको छ । ब्याजदर घटेको लाभ बैंकलाई पनि मिलेको छ । खुद ब्याज आम्दानी ४ अर्ब २६ करोडबाट ४ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ ।
नाफा सामान्य घट्दा प्रतिसेयर आम्दानी पनि ११.३७ रुपैयाँबाट ८.६८ रुपैयाँ कायम भएको छ । यसैगरी नेटवर्थ १५२.७५ रुपैयाँ कायम भएको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा ३.७६ प्रतिशतबाट ५.७१ प्रतिशत पुगेको छ । सम्पत्तिको गुणस्तर कमजोर हुँदा बैंकले प्रोभिजन थप गर्नुपरेको हो भने बैंकको प्राथमिक पुँजी कोष पनि खस्किएको छ । बैंकको टियर वान क्यापिटल ८.८४ प्रतिशत कामय भएको छ ।
नाफामा हल्का गिरावट आउँदा सिटिजन्सको वितरणयोग्य नाफा भने निकै बढेको छ । बैंकसँग रहेको १६ करोड २६ लाख रुपैयाँ वितरणयोग्य नाफाले १.६९ प्रतिशत लाभांश वितरण गर्न सकिन्छ ।












