जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाउनुभएको उहाँका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिनुभयो ।

“शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो”, उहाँले भन्नुभयो, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।” विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिनुभएको छ ।

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा हुने भएको छ । एनआरएनए उच्चस्स्तरीय समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौँको हायात होटलमा महाधिवेशन हुने जानकारी दिइयो ।

समितिका संयोजक डा शेष घलेले लामो समयदेखि विवादमा अल्झिएको सङ्घलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधान हुने बताउनुभयो । “विवादरहित संंस्था बनाउन सर्वोच्चले दिएको परामदेशका आधारमा संस्थालाई आवश्यक सुधार गर्न महाधिवेशन हुँदैछ”, उहाँले भन्नुभयो, “निष्पक्षताका लागि लड्नैपर्ने रहेछ । अब नयाँ ढङ्गले एनआरएनए बनाएर अगाडि बढ्ने छौँ ।”

एकता महाधिवेशनमा बढीभन्दा बढी एनआरएनको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गर्नुका साथै सदस्यताका लागि आवेदन दिने मिति पटकपटक थप गरिएको घलले बताउनुभयो ।

एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका सदस्य सचिव रविना थापाले एनआरएनए उच्चस्तरीय समितिको वेभसाइटमा १६ हजारभन्दा बढीले सदस्यताका लागि आवेदन दिएको जानकारी दिनुभयो । “उच्चस्तरीय समितिलाई पठाइएको सङ्ख्या हेर्दा उक्त सङ्ख्या ४७ हजार बढी रहेको छ । उच्चस्तरीय समितिको वेभसाइट र एनसीसीहरूबाट आएको सङ्ख्या जोड्दा ६३ हजारभन्दा बढी सदस्य बन्नुभएको छ”, उहाँले भन्नुभयो, “एकता महाधिवेशनमा प्रतिनिधिको रूपमा सहभागी हुन आइतबारसम्म दुई हजार पाँच सयभन्दा बढीले निवेदन दिइसकेका छन् । आवेदनका लागि मङ्गलबारसम्म समय रहेको छ ।”

थापाले सन् २००३ मा स्थापना गरिएको एनआरएनए अहिले एउटा महत्वपूर्ण मोडमा आइपुगेको बताउनुभयो । यस अवधिमा नेपालमा लगानी बढाउने, नेपाल सरकारसँग निकट सम्पर्कमा रही प्रवासमा रहेका गैरआवासीय नेपालीको हकहित संरक्षण गर्ने तथा अन्य सामाजिक कल्याणकारी काम सम्पन्न भएको थापाको भनाइ छ ।

सङ्घले कानुनी सर्वोच्चताको पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा काठमाडौँमा भेला भएर एकता महाधिवेशनलाई सफल बनाउन आह्वान गरिएको छ ।

सदस्य सचिव थापाले भन्नुभयो, “ऐतिहासिक एकता महाधिवेशन आयोजना गर्नका लागि विभिन्न उपसमिति गठन गरी तयारीको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । हालसम्म १४ पटक उच्चस्तरीय समितिको बैठक बसिसकेको छ । यसमा नेपाल सरकारका प्रतिनिधिहरू समेत सहभागी हुनुहुन्थ्यो ।”

सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाहरु बीच सम्झौता भएको छ । सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात सूर्यज्योति इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन् । यस अन्तर्गत सूर्यज्योति लाइफ इन्स्योरेन्सले एनसीएचएल–आईपीएस र आरपीएस प्रणालीहरु मार्फत आफ्ना प्रिमियम भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरु तथा एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खातामा सोझै गर्न सक्नेछन ।

साथै,भविष्यमा अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू हुने योजना रहेको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथाअर्ध–सरकारी संस्थाहरु लगायतका ११० भन्दा बढिगैर—बैंकिङ संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

शिखर इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय गुणस्तर ISO/IEC 27001:2022 प्रमाणपत्र

शिखर इन्स्योरेन्सले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय गुणस्तर ISO/IEC 27001:2022 को प्रमाणपत्र प्राप्त गरेको छ । यस उपलब्धिले कम्पनीको संवेदनशील जानकारीको सुरक्षा, जोखिम व्यवस्थापन, तथा सूचना सुरक्षा प्रणालीप्रति उच्च प्रतिबद्धता दर्शाउँछ ।
प्रमाणपत्रले शिखर इन्स्योरेन्सको प्रणाली, सूचना सुरक्षा, नीति, र कार्यपद्धतिहरूले विश्वस्तरीय मापदण्डहरू पूरा गरेको पुष्टि गर्ने कम्पनीले जनाएको छ ।

ISO/IEC 27001:2022 ले कम्पनीको सूचना प्रणालीको व्यवस्थापन, कार्यान्वयन तथा निरन्तर सुधार तथा कम्पनीको जोखिम व्यवस्थापन नीतिमा कम्पनीको प्राथमिकता पुष्टि गर्ने समेत कम्पनीको भनाई छ । शिखर इन्स्योरेन्स साइबर सुरक्षालगायत हरेक किसिमको नविनतम जोखिमको व्यवस्थापन तथा निरन्तर सुधारमा सदैव अग्रसर रहँदै आइरहेको कम्पनीले जनाएको छ ।

यस सूचना प्रविधिको युगमा कम्पनीको सुचना प्रणालीको सुरक्षा तथा ग्राहकहरुले प्रदान गर्ने हरेक सूचनाको गोपनियता तथा सुरक्षा कायम गर्नुका साथै साइबर रिस्कको व्यवस्थापन गरी कम्पनीको सेवाको निरन्तरतालाई कायम गर्नु महत्वपूर्ण पाटोका रुपमा रहेको छ ।

ISO/IEC 27001:2022 ले कम्पनीको सुचना प्रणालीको सुरक्षा तथा कम्पनीको ग्राहकहरुको गोप्य सूचनाको सुरक्षाका साथै कम्पनीबाट प्रदान हुने उच्चस्तरको गुणस्तरीय सेवाको निरन्तरताको प्रत्याभुति प्रदान गर्ने समेत कम्पनीको धारणा छ । यसले कम्पनीप्रति कम्पनीका ग्राहकहरूको थप विश्वास बढाउने विश्वास गरिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

सामाजिक उत्तरदायित्व अन्तर्गत, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल नेपालको कर्णाली प्रदेश स्थीत बादी समुदायका करिब १३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘बादी सरोकार मञ्च नेपाल’लाई महिना दिन भन्दा बढी समयसम्म पर्याप्त हुने खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ ।

यस सहयोग कार्यक्रम अन्तर्गत कम्पनीले चामल, दाल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराएको छ, जसले संस्थामा आश्रित बालबालिकाहरूको पोषणमा प्रत्यक्ष सहयोग पु-याउने अपेक्षा गरिएको छ ।

बादी समुदाय नेपालको सबैभन्दा सीमान्तकृत र ऐतिहासिक रूपमा उत्पीडित तथा अहिले पनि सामाजिक–आर्थिक रूपले कमजोर समुदायहरू मध्ये एक हो । हिक्मत बादीद्वारा सञ्चालनमा ल्याइएको बादी सरोकार मञ्च नेपालले उक्त समुदायका महिला, बालबालिका तथा परिवारहरूलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ ।

हाल संस्था मार्फत १३० भन्दा बढी बालबालिकालाई सुरक्षित आवास, पोषण तथा शिक्षाको सुविधा प्रदान गरिँदै आएको छ ।

आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै प्रमुख व्यवसाय अधिकृत धोज बहादुर खड्का साथमा कार्यालयका अन्य अधिकारीहरूद्वारा बादी सरोकार मञ्च नेपालका संचालक हिक्मत बादीलाइ खाद्यान्न सामग्री हस्तांतरण गरिएको थियो ।

सिटिजन लाइफको यस सहयोगले बादी सरोकार मञ्च नेपाललाई सञ्चालन गर्न केहि मद्दत हुने अपेक्षा गरिएको छ ।

सिटिजन्स बैंकको १८ औं वार्षिकोत्सव सम्पन्न, ‘क्रस बैंक टेलर क्युआर’ सेवा र ‘फ्रील्यान्सर सेभिङ्ग अकाउन्ट’ सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्थापना भएको १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा १८ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। २०६४ साल वैशाख ७ गते वाणिज्य बैंकको रूपमा स्थापना भएको सिटिजन्स बैंकले हालसम्म १८ लाख ७९ हजार ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

हाल देशभर २०० शाखामार्फत सेवा दिइरहेको बैंकको निक्षेप रकम चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब २ खर्ब २ अर्ब पुगेको छ भने कर्जातर्फ १ खर्ब ७३ अर्ब परिचालन भएको छ। सातै प्रदेशमा आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालन गर्दै आएको बैंकले देशभर पहुँच विस्तार गर्दै आएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले आज बिहानै सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ, जसमा करिब ९२१ कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रभातफेरी कार्यक्रमले वित्तीय साक्षरताका लागि जनचेतना फैलाउने अपेक्षा लिइएको बैंकले जनाएको छ।

त्यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान नै जीवनदान” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलको सहकार्यमा सातवटै प्रदेशका ३३ शाखाबाट करिब ९१३ जना रक्तदाताको सहभागितामा एकैदिन रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

डिजिटल बैंकिङ्गमा अग्रसर सिटिजन्स बैंकले “Brick Banking to Click Banking” भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै नेपालमै पहिलो पटक ‘Cross Bank Teller QR’ सेवा सुरू गरेको छ। यस सेवाबाट अब अन्य बैंकका ग्राहकहरूले पनि सिटिजन्स बैंकको नजिकको शाखामा गई आफ्नो बैंकको मोबाइल बैंकिङमार्फत ‘Cross Bank Teller QR’ स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन्। यसले भुक्तानी प्रक्रियालाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास बैंकले लिएको छ।

साथै, बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि Tap & Pay सेवा पनि सञ्चालनमा ल्याएको छ। अब ग्राहकले Offline माध्यमबाट मोबाइलमार्फत नै रू ५,००० सम्मको भुक्तानी सजिलै गर्न सक्नेछन्।

वार्षिकोत्सवकै अवसरमा बैंकले ‘Save Local, Earn Global’ नारासहित ‘Citizens Freelancer Saving Account’ को सुरुवात गरेको छ। विशेष गरी फ्रील्यान्सरहरूलाई लक्षित गरी तयार पारिएको यो खाताबाट ग्राहकले नेपाली रुपैयाँ तथा अमेरिकी डलर (USD) दुबैमा खाता खोल्न सक्ने छन्। यस खातामा उच्च ब्याजदर प्रदान गरिनेछ।

त्यसैगरी, खातामा निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, डिम्याट खाता सुविधा उपलब्ध गराइएको छ। साथै, पहिलो वर्षका लागि OPD सेवामा रू ५,००० सहित रू २५,००० सम्मको स्वास्थ्य बीमा तथा दुर्घटना मृत्यु बीमा पनि प्रदान गरिने बैंकले जनाएको छ।

१८ वर्षे यात्रामा ग्राहकहरुको साथ र विश्वासप्रति आभार प्रकट गर्दै बैंकले आगामी दिनमा अझ नवीनतम प्रविधिसहित सहज, द्रुत र सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

एनएमबि हाइब्रिड फण्ड एल-२ नेप्सेमा सूचीकृत

सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल-२’ नेप्सेमा सूचीकरण भएको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र एनएमबि क्यापिटलबीच सूचीकरण सम्झौता भएको हो।

एनएमबि क्यापिटलले १० रुपैयाँ दरको १३ करोड ६४ लाख ८४ हजार इकाइ सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल-२’ निष्कासन गरेको थियो।

क्यापिटलले सार्वजनिक निष्कासनपछि इकाइ बाँडफाँट गरेर कारोबारका लागि नेप्सेमा सूचीकरण गराएको हो। कोषको इकाइ भोलिदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ।

आईएमई लाइफको प्रडक्ट एम्बासडरमा सुशिला रोका

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सरल सावधिक जीवन बीमा योजना’ अन्तर्गत आफ्नो नयाँ सद्भावना दूत (प्रडक्ट एम्बासडर) को रूपमा सुशिला रोकालाई नियुक्त गरेको छ । कम्पनीका उच्च व्यवस्थापन र देशभरका अभिकर्ताहरूको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा रोकालाई ‘सरल सवाधिक जीवन बीमा योजना–२०२५’ को सद्भावना दूत घोषित गरिएको हो ।

मासिक स्किमअन्तर्गत देशभरका अभिकर्ताहरूबीच उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्दै उनले यो उपाधि हात पार्न सफल भएकी हुन् । कार्यक्रममा कम्पनीले उनको ब्यानर तथा प्रचार सामग्री पनि सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यस कदमले अभिकर्ताहरूमाझ स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै थप प्रतिबद्ध भएर उत्कृष्ट सेवा प्रवाह गर्न प्रेरणा दिनेछ । कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले अभिकर्ताहरूलाई बीमा सेवा सम्बन्धी ज्ञान, दक्षता तथा व्यक्तित्व विकासमा निरन्तर प्रशिक्षित गरिरहेको बताए । उनले बीमितहरूलाई सरल, सहज र स्तरीय सेवा उपलब्ध गराउने उद्देश्यमा कम्पनी दृढ रहेको पनि बताए ।

आईएमई लाइफले बीमा व्यवसायमा नविनतम सोच, प्रविधि र सेवा प्रवाहमार्फत स्थायी विश्वास कायम गर्न ‘सरल सावधिक जीवन बीमा योजना’लाई देशभर विस्तार गरिरहेको छ ।

सेयर निष्कासन गर्ने तयारीमा मुक्तिनाथ फुड बैंक

मुक्तिनाथ फुड बैंकले प्राथमिक सेयर निष्कासन प्रक्रिया अघि बढाउने तयारीस्वरूप मुक्तिनाथ क्यापिटल लिमिटेडसँग परामर्श सेवा सम्झौता गरेको छ ।

संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको मुक्तिनाथ क्यापिटलले कम्पनी स्थापनाकालदेखि सेयर निष्कासनसम्मको समग्र प्रक्रिया सहज बनाउन सहयोग गर्ने मुक्तिनाथ फुड बैंकले जनाएकाे छ ।

सम्झौतामा मुक्तिनाथ फुड बैंकका तर्फबाट सञ्चालक मोहनकुमार बस्नेत र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार कम्पनीले पूँजी संरचना परिमार्जन, हकप्रद सेयर निष्कासन, पूँजी संकलन लगायतका विषयमा आवश्यक परामर्श प्राप्त गर्नेछ । यस्तै, कम्पनीको प्रबन्धपत्रअनुसार व्यावसायिक विस्तारका लागि आवश्यक सहजीकरण पनि सम्झौतामार्फत गरिनेछ ।

मुक्तिनाथ फुड बैंकले आउँदो वैशाख १७ गते विशेष साधारण सभा आह्वान गरी हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने तयारी गरेको छ । उक्त प्रस्ताव पारित भएपछि चालु आर्थिक वर्ष २०८१/८२ भित्रमा चुक्ता पूँजी ४० करोड पुर्याउने र आगामी आर्थिक वर्ष २०८२/८३ भित्र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

प्राइम बैंकको नाफा ६४ करोडले घट्यो

प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा २२.५६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ नाफा रहेको थियो ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोड ३८ लाख रुपैयाँबाट १५.१७ प्रतिशतले बढेर ६ अर्ब ६६ करोड १३ लाख रुपैयाँ पुगेको छ । इम्पेयरिमेन्ट चार्ज ८९ करोड ५० लाख रुपैयाँबाट बढेर २ अर्ब ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

१९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४.६३ रुपैयाँ छ । बैंकको खरा बर्जा ५.६५ प्रतिशत पुगेको छ ।

प्रभु बैंकको १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ नाफा

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा प्रभु बैंकले १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ३.५१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ८१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंक कर्जा खासै बढ्न सकेको छैन भने स्प्रेड दर पनि केही घट्दा खुद ब्याज आम्दानी १ अर्ब भन्दा धेरैले घटेको हो । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा वृद्धि भए पनि खुद ब्याज आम्दानी घट्दा बैंकको कुल सञ्चालन आम्दानी घटेको छ । तर, बैंकको निष्कृय कर्जा बढे पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ । जसले बैंकको नाफा सामान्य बढेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको कर्जा २ अर्बले मात्रै बढेको छ । २०८१ असार मसान्तमा २ खर्ब २१ अर्ब ४ करोड ५६ लाख रहेको बैंकको कर्जा चैत मसान्तमा आउँदा २ खर्ब २३ अर्ब ३४ करोड २१ लाख पुगेको छ । बैंकको निक्षेप भने १५ अर्बभन्दा धेरैले बढेको हो । गत असार मसान्तमा ३ खर्ब ५ अर्ब १ करोड २८ लाख ५२ हजार रहेकोमा चैत मसान्तमा ३ खर्ब २० अर्ब ५२ करोड ५ लाख पुगेको छ ।

कर्जा बढाउन नसकेको बैंकको स्प्रेड दर घटेको कारण खुद ब्याज आम्दानी घटेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.९६ प्रतिशत रहेको बैंकको स्प्रेड दर चालु आवको तेस्रो त्रैमासमा ३.९० प्रतिशतमा झरेको हो । जसले बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ भन्दा धेरैले घटेको छ । गत आवको तेस्रो त्रैमासमा ८ अर्ब ४३ करोड ९७ अर्ब रहेको बैंको खुद ब्याज आम्दानी चालु आवको तेस्रो त्रैमासमा ७ अर्ब ८ करोड ५७ लाखमा सिमित भएको छ । यस्तै खुद फि तथा कमीसन आम्दानी १ अर्ब ३३ करोड ८५ लाखबाट बढेर १ अर्ब ६५ करोड ३० लाख पुगेको हो ।

बैंकको नेट ट्रेडिङ आम्दानी २७ करोड ४३ लाखबाट बढेर ४१ करोड ७४ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी १३ करोड ८९ लाख रुपैयाँबाट बढेर ४६ करोड ६७ रुपैयाँ पुुगेपनि कुल सञ्चालन आम्दानी भने १० अर्ब १९ करोड १४ लाख रुपैयाँबाट घटेर ९ अर्ब ६१ करोड ९० लाखमा घटेको हो ।

निष्क्रिय कर्जा बढेसँगै बैंकले चैत मसान्तसम्म सम्भावित कर्जा नोक्सानीको लागि १ अर्ब २३ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । गत आवको यस अवधिमा बैंकले सम्भावित कर्जा नोक्सानीको लागि १ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानी घटे पनि र कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम घट्दा बैंकको नाफामा वृद्धि भएको हो । चैत मसान्तमा बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २८ लाखबाट घटेर ३ अर्ब ४३ करोड ५३ लाख रुपैयाँमा झरेको हो । गत वर्षको तेस्रो त्रैमासमा बैंकको २० करोड ४९ लाख रुपैयाँ गैर सञ्चालन खर्च रहेको बैंकको चालु आवमा त्स्तो खर्च नहुँदा सामान्य नाफा बढेको देखिन्छ ।

बैंकको सञ्चित नोक्सानी भने बढ्दै गएको छ । चालु आवको तेस्रो त्रैमाससम्म ३७ करोड ६६ लाख वितरणयोग्य नोक्सानीमा रहेको बैंक गत आर्थिक वर्षका ३ अर्ब २ करोड ५५ लाख सञ्चित नोक्सानीले बैंकको कुल सञ्चित नोक्सानी ३ अर्ब ४० करोड २३ लाख रुपैयाँ पुगेको छ ।

बैंकक चुक्ता पूँजी २३ अर्ब ५४ करोड २५ लाख रुपैयाँ छ । बैंकको जगेडाकोषमा १४ अर्ब ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
नाफा सामान्य बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसाबाट बढेर १० रुपैयाँ ६३ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात १९.५२ गुणा छ । चैत मसान्तमा बैंकको प्राथमिक पूँजीकोष अनुपात ८.६७ प्रतिशत सहित पुँजीकोष अनुपात १२.८४ प्रतिशत छ । त्यस्तै निष्क्रिय कर्जा अनुपात ४.८१ प्रतिशतबाट बढेर ५.०९ प्रतिशतमा पुगेको छ । सीडी रेसियो ७३.३३ प्रतिशत र तेस्रो त्रैमासको औसत आधारदर ६.८२ प्रतिशत छ

कुमारी बैंकको नाफा घट्यो

चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा कुमारी बैंकको नाफा ७२.८५ प्रतिशतले घटेर २८ करोड ५८ लाख २३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५ करोड २७ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५४ करोड ३६ लाख रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

यस्तै बैंकको खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ७५.३१ प्रतिशतले घटेर ५५ करोड ८३ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ६ अर्ब ५० करोड ऋणात्मक छ ।

चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १.४५ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३४.४३ रुपैयाँ रहेको छ