जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छ

जनताको दशकौं लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा सुनौलो इतिहास रच्न सफल डा. रामवरण यादवलाई संविधानसभाबाट तयार नेपालको समावेशी संविधान जारी गर्र्ने अभूतपूर्व अवसर जु¥यो । मधेशी समुदायको सामान्य मध्यम वर्गीय परिवारमा जन्मनु भएका उहाँ पेशाले चिकित्सक हुनुहन्छ । लोकतन्त्रप्रतिको अविचलित आस्थाका कारण उहाँ राजनीतिमा पनि त्यत्तिकै सक्रिय रहनुभयो । डा. यादव २०६२÷६३ को जनआन्दोलनको बलमा २४० वर्ष लामो निरङ्कुश राजतन्त्र ढलेसँगै राष्ट्रपतिमा निर्वाचित हुनुभयो ।

मुलुकमा एक राजनीतिक प्रणाली अन्त्य भएको र अर्काे स्थापित भई नसकेको अत्यन्त तरल राजनीतिक अवस्थामा भिन्न भिन्न राजनीतिक आन्दोलन र पृष्ठभूमिका दललाई काखापाखा नगरी अभिभावकत्व प्रदान गर्दै दुई पटक संविधानसभाको निर्वाचन गराएर सहजरुपमा राजनीतिक अवतरण गराउन उहाँले खेल्नुभएको भूमिकाको सर्वत्र प्रशंसा हुँदैआएको छ ।

नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा गरेको अवसरमा पूर्वराष्ट्रपति यादव संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा लोकतन्त्रको मर्म र संविधानको भावना बुझेर काम गर्न विधायिका, सरकार र राजनीतिक दललाई सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ – “असन्तुष्टिका स्वरलाई विधायिकाले सहिष्णु भएर संविधान सम्मतरुपमा कानून बनाई सम्बोधन गर्ने प्रयत्न गर्नुपर्छ ।”

संविधान दिवस र समसामयिक विषयमा केन्द्रित रहेर राष्ट्रिय समाचार समितिका समाचारदाता नारायण न्यौपाने र भीष्मराज ओझाले उहाँसँग गर्नुभएको कुराकानीको अंश यहाँ प्रस्तुत छ ः

O सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भइरहँदा यो दिनलाई यहाँले कसरी स्मरण गर्नुहुन्छ ?
संविधान जारी भएको दिन सम्पूर्ण नेपाली जनताका लागि ऐतिहासिक दिन हो । यस दिनमा सबैभन्दा पहिला म नेपाली जनतालाई सम्झन चाहन्छु । जनताको ठूलो सङ्घर्ष र बलिदानकै कारण संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी गर्न सफल भएको हो । यस दिन म खासगरी देश र समाजका लागि त्याग र बलिदान गर्ने शहीदहरु, नेपाली जनता तथा यस सङ्घर्षमा संलग्न राजनीतिक दल र तिनका नेताहरुलाई स्मरण गर्न चाहन्छु ।

O नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट संविधान जारी गर्ने त्यो ऐतिहासिक क्षणलाई स्मरण गर्दा यहाँले विशेष गरी कसलाई स्मरण गर्नुहुन्छ ?
यो संविधान नेपाली जनताको सङ्घर्षको उपज हो । संविधान करिब सात दशक लामो प्रजातान्त्रिक आन्दोलनपछि हासिल भएको उपलब्धि हो । नेपाली जनताका प्रतिनिधिले जनताका लागि पहिलो पटक लेखेको संविधान जारी गर्ने अवसर मैले पाएको थिएँ । विस २००७ देखि २०६२÷०६३ सालसम्म भएका प्रजातान्त्रिक आन्दोलन र राजनीतिक सङ्घर्षको फलस्वरुप हामीले यो संविधान पाएका हौं । तसर्थ म यो दिनमा सबै आन्दोलन र सङ्घर्षमा बलिदान र योगदान गर्ने सबैलाई विशेष स्मरण गर्न चाहन्छु । निश्चय नै २०६२÷६३ सालको आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइराला तथा तत्कालीन सात दल र पछि थपिएको अर्को एउटा दलका नेताहरुको सङ्घर्ष, योगदान र त्यागबाट नै यो उपलब्धि हासिल भएकाले यसमा सबैलाई सामूहिक रुपमा स्मरण गर्न चाहन्छु ।

O संविधान कार्यान्वयनको अवस्था अहिले कस्तो पाउनुभएको छ ? जनताले अपेक्षाअनुसार लाभ प्राप्त गर्न सकेका छन् त ?
यो संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हो । समानुपातिक समावेशीता, सङ्घीयता, धर्मनिरपेक्षतालगायत धेरै विषय समेटिएको यो संविधान लचिलो संविधान हो । कार्यान्वयनको चरणमा निश्चय नै यो संविधान आफ्नो ‘लिक’मा छ भन्ने मलाई लाग्छ । संविधान जारीपछि तीन तहका निर्वाचन सम्पन्न भई अहिले तीनै तहका सरकारमा निर्वाचित जनप्रतिनिधि छन् । सबैले आ–आफ्ना स्थानबाट काम गरिरहेका छन् ।

यो संविधानका प्रावधान कार्यान्वयन गर्दै जाने जिम्मेवारी राजनीतिक दल र जनप्रनिधिहरुको हो । लोकतन्त्रका अवयवहरु विधिविधानअनुसार चलेमा अवश्य पनि जनताको आकाँक्षा पूरा हुनेछन् । तर लोकतन्त्रको बाटो अभ्यास गर्दै जाँदा लामो समय लाग्दो रहेछ । जनप्रतिनिधिले इमान्दारीपूर्वक जनताको सेवक भएर आफूलाई समर्पण गरे लोकतान्त्रिक पद्धति अगाडि बढ्छ । मेरो आग्रह छ, संविधान र कानूनअनुसार शासन सञ्चालन होस् । यो विषयलाई जनप्रतिनिधिले मनन गरेन भने लोकतन्त्र मात्र लोकतन्त्रको नाममा सीमित रहन पुग्छ । त्यसैले हामी सबै आजको दिनमा आशा गरौ कि संविधान कार्यान्वयन हुँदै जाओस्, देश र समाज उन्नति पथमा लम्कोस्, लोकतन्त्र बलियो होस् । यही शुभकामना छ ।

O नेपालको संविधानमा जनताको अपार समर्थन हुँदाहुँदै पनि कतिपय बुँदामा अझै असन्तुष्टि र विरोधाभासका स्वरहरु बेलाबखत सुनिने गरेका छन् । असन्तुष्टिका स्वरहरुलाई सम्बोधन कसरी गर्न मुनासिब होला ?
सङ्घीय विधायिका र कार्यपालिकाले सबै पक्षको असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सुन्नुपर्छ । विधायिकामा लगेर छलफल गरी सर्वस्वीकार्य समाधान खोज्न लोकतन्त्रले बाटो देखाउँछ नै । असन्तुष्टिका कुरालाई सम्बोधन गर्न संविधानले ठाउँ दिएको छ । त्यसलाई वार्ताद्वारा हल खोज्ने प्रयत्न हुनुपर्छ । सहिष्णु भएर सबै समस्यालाई सुन्ने, व्यवस्थापिकामा लगेर खुला रुपमा छलफल गर्ने र त्यसको समाधान खोज्ने हो । लोकतन्त्रको विधिमार्फत सबै विवाद मिल्दै जाने अपेक्षा गरेको छु ।

O संविधान जारी भएपछि जनअपेक्षित स्थायित्व, विकास र समृद्धि हासिल गर्ने दिशामा सरकार र दलहरुको भूमिका कस्तो पाउनुभएको छ ?
संविधान र कानून अनुसार देश अघि बढिरहेको छ । राजनीतिक दलहरु तथा जनप्रतिनिधिहरु सहिष्णु भएर लोकतान्त्रिक संस्थाहरुमार्फत नै जनताका समस्या र आवश्यकता समाधान गर्दै गए भने विकास र समृद्धि हासिल गर्न सकिन्छ । मैले त सिद्धान्तको कुरा भन्ने हो । अरु कुरा त तपाईहरु जस्ता सञ्चारमाध्यम, नागरिक समाज र बुद्धिजीवी वर्गले औँल्याइदिने हो ।

O संविधानअनुसार तीनै तहका सरकारको भूमिका र सेवा प्रवाहलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? तीन तहका सरकारबीचको आपसी सहयोग र सहकार्यमा तादाम्यता रहेको कतिको पाउनुभएको छ ?
राज्यको पुनःसंरचनापछि संविधानले तीन तहका सरकारको व्यवस्था गरेको छ । साथै, संविधानमा तीनै तहका सरकारबीच सहअस्तित्व र समन्वयकारी भूमिकासहित अधिकारहरु उल्लेख छन् ।

संविधानले एकल र साझा अधिकार प्रदान गर्नुका साथै आवश्यक कानून बनाएर अघि बढ्ने व्यवस्था गरेको छ जुन अभ्यासको क्रममा छ । सङ्घीयताको मर्म र भावनालाई आत्मसात गरेर संविधान अनुसार लोकतान्त्रिक बाटोबाट सबै तहका सरकार अघि बढेमा तादाम्यता कायम हुन्छ भन्ने लाग्छ । यसो भइदिए कसैले पनि चित्त दुखाउनु पर्दैन, विवाद पनि हुँदैन ।

O सङ्घीयता कार्यान्वयनमा तालमेल नपुगेको भन्ने प्रश्न बेलाबखत बाहिर आउने गरेको छ । प्रदेश सरकारले संविधानअनुसारको अधिकार प्रयोग पूर्णरुपमा गर्न नपाएको भन्ने गुनासो पनि छ । यसमा यहाँको केही टिप्पणी छ ?
जहाँ असन्तुष्टिका स्वर हुन्छन्, त्यहाँ विधायिकाले छलफल गरेर संविधान सम्मतरुपमा कानून बनाएर व्यवहारमा ल्याउने काम गर्नुपर्छ । सरकार र विधायिकालाई आवश्यक कानून बनाउने प्रशस्त ठाउँ संविधानले दिएको छ । लोकतन्त्रको मर्म र संविधानमा अन्तर्निहीत भावनालाई बुझेर अघि बढेको खण्डमा सबै समस्या समाधान हुँदै जाने छन् भन्ने मेरो विश्वास छ ।

O कतिपय घटनालाई अघि सारेर जनादेशको अवमूल्यन गर्ने काम भयो भन्ने चिन्ता व्यक्त भइआएको पाइन्छ । यस्ता क्रियाकलापले संविधानले आत्मसात गरेको सङ्घीय लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्न पक्कै बल पुग्दैन होला । यस विषयमा यहाँको दृष्टिकोण के छ ?
जनप्रतिनिधिले संविधानले निर्दिष्ट गरेको प्रणालीलाई अघि बढाउँदै जानुपर्छ । विकृतिहरु क्रमशः हट्दै जान्छन् । संविधानको भावनाअनुसार लोकतन्त्रलाई जनप्रतिनिधिले आत्मसात गर्दै लग्यो भने कहीँ कतै त्रुटि भएको छ भने पनि सुधार हुँदै जान्छ । जनमतकोे अवमूल्यन भयो भने पाँच वर्षपछि जनताले चुनावका माध्यमबाट जनप्रतिनिधिलाई सुधार्दै जान्छन् ।

लोकतन्त्रको गाडी अगाडि–अगाडि बढ्नुपर्छ । सर्वाेच्च स्थानमा रहेका जनता, चेतनशील नागरिक समाज र सञ्चारमाध्यमले ‘वाच डग’को रुपमा काम गरिरहनुपर्छ । मिडिया स्वतन्त्र होस्, कुनै प्रकारको अङ्कुश नहोस्, जनताको अधिकारमा कहीँ हस्तक्षेप नहोस्, कहीँ कतै कमीकमजोरी भइहाले सुधार गर्दै जाने काम होस् ।

O संविधानमा दलित, महिला, मधेशी, आदिवासी, जनजाति, अपाङता भएका व्यक्ति, सीमान्तकृत वर्ग र समुदायको अधिकार सुनिश्चित गरिएको भए पनि व्यवहारमा अझै कतिपय विषय लागू भइरहेका छैनन् भन्ने गुनासा सुनिन्छ, यसप्रति यहाँको के भनाइ छ ?
विभिन्न सञ्चारका माध्यमबाट यस्ता कुरा सुनिन्छन्, संविधानले त्यस्ता समुदायका हकहितका विषयलाई सम्बोधन गर्न विभिन्न आयोगको व्यवस्था गरेको छ । संवैधानिक निकायका रुपमा संविधानले निर्दिष्ट गरेका त्यस्ता आयोगलाई पूर्णता दिएर कार्यान्वयनमा लैजानुपर्छ । त्यहाँबाट तत् तत् समुदायका गुनासा सुन्ने र समस्या समाधान गर्ने पहलकदमी लिइनुपर्छ । उनीहरुको समस्या समाधान गर्ने दायित्व प्रथमतः सरकार र राजनीतिक दलकै हो । संविधानले प्रत्याभूत गरेका अधिकारलाई प्रयोग गरी अघि बढेमा समस्या समाधान हँुदै जानेछन् । सम्बोधन गर्न विलम्ब गरियो भने चाहीँ विकृति उत्पन्न हुन्छ । ठूलो बलिदानपछि पाएको संविधान प्रभावकारी रुपमा लागू हुदै जाओस् । संविधान सफल भएपछि राष्ट्र सफल हुन्छ र नेपाली जनताको भविष्य पनि उज्ज्वल हुन्छ । यो तथ्यलाई सबैले मनन गर्नुपर्छ ।

O यहाँको कार्यकालमा शुरु भएको राष्ट्रपति तराई–मधेस चुरे संरक्षण कार्यक्रमले लिएको लक्ष्य र कार्यान्वयनको वर्तमान अवस्थाप्रति यहाँ कतिको सन्तुष्ट हुनुहुन्छ ?
मुलुकमा समाजको जस्तै भूगोलको पनि विविधता छ । संसारमा चरमरुपमा प्रकृतिको दोहन भएको छ जसका कारण जलवायु परिवर्तनको असर विश्वभर देखिएको छ । जलवायु परिवर्तनको असरबाट उत्पन्न विषालु जीवाणुबाट कोभिड–१९ जस्ता महामारीको समस्या आएको छ र त्यसको सङ्क्रमणबाट ठूलो मानवीय क्षति व्यहोर्नुपर्ने स्थिति देखापर्दैछ । चुरे क्षेत्रमा वन, बोटबिरुवा, वनस्पति, जीवजन्तु, पशुपन्छी, खोलानाला, पानीका स्रोत प्रकृतिले दिएको छ ।

त्यो क्षेत्रको जल, जङ्गल र जडीबूटी जोगाउन यो कार्यक्रम ल्याइएको हो । चुरे जैविक विविधताको धनी क्षेत्र हो, त्यसले तराईलाई धनधान्य बनाएको थियो । पहिले चुरेमा ठूलो जङ्गल थियो, जसका कारण तराईमा कृषि, पशुपालन, बालीनाली र फलफूलको उब्जनी राम्रो ढङ्गबाट हुन्थ्यो, त्यो अवस्था अहिले रहेन । मरुभूमिमा परिणत हुने अवस्था देखिँदै छ, अहिले त्यहाँ ।

अहिलेको चुरे संरक्षणको कार्यप्रति म सन्तुष्ट छैन । तराई–मधेश हाम्रो हिमालको कवच हो । चुरेको संरक्षण गर्न गुरुयोजना बने पनि कार्यान्वयनका लागि कानून बनाउने कुरा लथालिङ्ग अवस्थामै छ । जुन उद्देश्यले हामीले कार्यक्रम ल्याएका थियांै, त्यस अनुरुप काम भएको छैन । प्रकृतिलाई सन्तुलित गर्दै विकासका पूर्वाधार अघि बढाउनुपर्छ, त्यस लक्ष्य प्राप्तितर्फ हामी अघि बढ्नुपर्छ ।

O अन्त्यमा, संविधान दिवसका अवसरमा जनता, सरकार र राजनीतिक दललाई के सन्देश दिन चाहनुहुन्छ ।
विधायिका, जनप्रतिनिधि, सरकार र राजनीतिक दलहरु मुलुकमा सुशासन र पारदर्शीता कायम गर्दै लोकतान्त्रिक विधिमार्फत अघि बढोस् भन्ने सम्पूर्ण नेपाली जनताको चाहना छ । म एक नागरिकको हैसियतले कहीँ कतै कसैप्रति विभेद नहोस् र सबै समस्याको विधिपूर्वक समाधान गर्न प्रेरणा प्राप्त होस् भन्ने कामना गर्न चाहन्छु ।

संविधान दिवस सन्दर्भः साझा अधिकारलाई सङ्कुचित बनाइनुहुँदैन

नेपालको संविधान जारी भएको दिन असोज ३ गते पाँच वर्ष पूरा हुँदैछ । जारी संविधानअनुरुप मुलुकमा तीन सरकार अस्तित्वमा छन् र ती तीनै सरकारको कार्य सम्पादनद्वारा सङ्घीय प्रणालीको अभ्यास भइरहेको छ । सङ्घीय प्रणाली कार्यान्वयनका चरणमा सबै प्रदेशहरुले आआफ्नो हिस्सा राख्छन् । नयाँ संविधानअनुसार राज्य पुनःसंरचनाका क्रममा सात प्रदेश स्थापना भए, जसमा कर्णाली प्रदेश पनि एक हो । प्रदेश सरकार गठनपछि संविधानप्रदत्त अधिकारहरुको केकति उपयोग भएको छ ? ऐन, कानून तथा नीतिनिर्माण र तिनको लागु एवं कार्यान्वयनमा देखिएका चुनौती केकस्ता छन् ? सङ्घीय सरकारसँग राखिएको अपेक्षा र भएको सम्बोधनलगायत सन्दर्भमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग राष्ट्रिय समाचार समिति कर्णाली प्रदेश प्रमुख शुरबहादुर सिंह र उपसमाचारदाता प्रकाश अधिकारीले लिएको अन्तर्वार्ताको सम्पादित अंश ः

O नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा हुँदैछ । लामो समयको राजनीतिक परिवर्तनपछि प्राप्त संविधानले गरेको परिकल्पना र मर्मबमोजिम सङ्घीय प्रणाली व्यवहारतः लागू भयो भन्ने ठान्नुहुन्छ ?
मुख्यमन्त्रीः मूलतः जनयुद्ध, जनआन्दोलन र मुलुकका विभिन्न क्षेत्रमा भएको विद्रोहको उपलब्धि नै संविधान र सङ्घीयता हो । यसले लामो समयदेखिको केन्द्रीकृत एकात्मक शासन व्यवस्था अन्त्य गरी नयाँ शासन व्यवस्थाको बीजारोपण ग¥यो । यसमा जनताको सङ्घर्षपूर्ण बलिदान र त्याग तपस्याबाट प्राप्त संविधानको परिकल्पना र मर्मबमोजिम मुलुक सङ्घीय प्रणालीमा गएको छ । संविधानतः इतिहासमा पहिलो पटक नेपालले सङ्घीयताको अभ्यास गर्दैछ । यो व्यवहारतः लागु हुने क्रममा, कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको छ ।

O गाउँगाउँमा सिंहदरबार भन्ने गरिँदै आएको छ । के सिंहदरबारको अधिकार गाउँमा पुगेको अनुभूति जनताले गरेको पाउनुभएको छ ? यसलाई संस्थागत गर्न के गर्नुपर्ला ?
मुख्यमन्त्रीः हामी केन्द्रीकृत राज्य व्यवस्था नै बदलेर सङ्घीयता संरचनामा आएका छौंँ । परिणामस्वरुप मुलुकमा तीन तहका सरकारहरु अस्तित्वमा छन् । जनताको सबैभन्दा नजीकको सरकार भनेको स्थानीय तह र प्रदेश सरकार हुन् । स्थानीय तहहरुले पनि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अभ्यास गरिरहेका छन् ।

विगतमा सानो कामका लागि जिल्ला, क्षेत्र र केन्द्रबाट सेवा लिन बाध्य जनताले आज ती सेवा आफ्नै घरआँगनबाट लिन पाइरहेका छन् । शक्ति विकेन्द्रीकरणले नागरिकका थुप्रै समस्या नजीकको सरकारबाट हल भएका छन् । यसले नागरिकहरुलाई सिंहदरबारको अधिकार गाउँगाउँमा आएको अनुभव भइरहेको छ । यो नै सङ्घीय व्यवस्थाको सबल पक्ष हो ।

समाजवादोन्मुख संविधान र यसले परिकल्पना गरेको सङ्घीय व्यवस्था कार्यान्वयन प्रक्रियाका हिसाबले यो सङ्क्रमणकालीन अवस्थामा नै छ । केन्द्रीकृत राज्य व्यवस्थाका अवशेषहरुले यो व्यवस्था कार्यान्वयनमा केही अवरोध खडा गरेको पाउन सकिन्छ । यो मोडेल असफल पार्नका लागि प्रयासहरु भइरहेका पनि छन् । यद्यपि जनताबाट निर्वाचित तीनै तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु इमान्दार, जवाफदेही र जिम्मेवार बनेर काम गर्न सके यो व्यवस्था संस्थागत गर्न सकिन्छ ।

O संविधानबमोजिम गठित कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने पहिलो अवसर यहाँले पाउनुभएको छ । संविधानले दिएका अधिकार उपयोग गर्ने क्रममा देखिएका समस्या वा कठिनाइ केके अनुभव गर्नुभएको छ ?
मुख्यमन्त्रीः हो, मुलुकको व्यवस्था परिवर्तनका लागि हामी लामो सङ्घर्ष गर्दै आयौंँ । फलतः मैले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको छु । एउटा कुर्सी र टेबलबाट शुरु भएको प्रदेश सरकार अहिले एउटा आकारमा आएको छ । हामीले एकल अधिकारभित्रका तीन दर्जनभन्दा कानून बनाइसकेका छौंँ । प्रदेश सरकारअन्तर्गत १० जिल्लामा एकाइ कार्यालय निर्माण भइसकेका छन् । चालु आर्थिक वर्षको प्रारम्भदेखि हामीले प्रदेश लेखा नियन्त्रक एकाइ कार्यालय स्थापनाको काम अघि बढाएका छौंँ र चार जिल्लामा कार्यालय पनि स्थापना भइसकेका छन् ।

सङ्गठनात्मक संरचना पनि प्रदेश सरकारले बनाएको छ । यद्यपि सङ्घले धेरै कानून बनाई नसकेकाले भने साझा अधिकारका कानून निर्माण गर्न र त्यहीअनुरुप काम गर्न कठिन भइरहेको छ । संविधानमा स्पष्ट उल्लेख भएका अधिकार पनि सङ्घीय सरकारले प्रत्यायोजन नगर्दा केही समस्या छन् । प्रदेशले अहिलेसम्म प्रहरी परिचालन गर्ने अधिकार पाएको छैन । प्रदेश सरकारको भौतिक संरचना निर्माण गर्न भूमि प्राप्तिमा पनि त्यस्तै कठिनाइहरु छन् ।

O संविधान कार्यान्वयनको चरणमा गएपछि सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुग्यो भनिएको छ । तपार्ईँहरु केन्द्रले अझै अधिकार प्रत्यायोजन गरेको छैन भन्दै हुनुहुन्छ । केन्द्रसँग तपाईंहरुको माग केके हो ?
मुख्यमन्त्रीः खासगरी संविधानमा व्यवस्था भएका अधिकारको प्रयोग र तिनको प्रत्यायोजन पूर्णतः अहिले पनि भएको छैन । सङ्घमा बन्ने कानून अझै बनेका छैनन् । संविधानको अनुसूचीमा व्यवस्था गरिएबमोजिमका कानून बनेका छैनन् । सङ्घीय सरकारले ऐनकानून निर्माणमा देखिएका उदासीनताले प्रदेशका काम प्रभावित भएका छन् । जनअपेक्षाअनुरुप काम भएको छैन ।

कानूनी अड्चनले कतिपय कुरामा अन्योल सिर्जना गरेको छ । विशेषगरी प्रदेश तथा स्थानीय सरकारहरुलाई सहज तरिकाले काम गर्ने बाटो खुला गर्न सङ्घीय सरकार गम्भीर बन्नुपर्छ ।

राससः संविधानका कतिपय बुँदामा अझै असन्तुष्टि र विरोधाभासका स्वर बेलाबखत सुनिने गरेका छन् । सबै नेपालीले संविधानप्रति अपनत्व महसुस गर्न सकेका छैनन् । असन्तुष्टिका स्वरलाई सम्बोधन गर्न संविधानलाई संशोधन गर्न आवश्यक देख्नुहुन्छ ?
मुख्यमन्त्रीः मलाई लाग्छ, संविधान अक्षरशः कार्यान्वयन हुँदा नागरिकहरुका लागि त्यही काफी हुन्छ । संविधानले मौलिक अधिकारको व्यवस्था गरेको छ, जहाँ समानुपातिक, समावेशी र समाजिक न्याय दिलाउने गरी अधिकारको व्यवस्था भएको पाउन सक्छौंँ । पुरातनवादी एवं केन्द्रीकृत सोचबाट मुखरित स्वरहरुका बारेमा ठ्याक्कै भन्न सकिँदैन । दस्तावेजमा व्यक्त तर व्यवहारमा लागु हुन नसकेर निस्किएका असन्तुष्टिका स्वरहरु संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयनबाट स्वतः सम्बोधन हुने कुरामा दुईमत छैन ।

O संविधानमा दलित, महिला, अपाङ्गता भएका, सीमान्तकृत वर्गको अधिकार प्रत्याभूत गरिएको छ तर व्यवहारमा लागू भइरहेको दैखिँदैन । यसमा कसको कमजोरी देख्नुहुन्छ ?
पुरानो राज्य व्यवस्था परिवर्तन भई नयाँ व्यवस्था लागू हुँदा त्यहाँ केही हदसम्म सङ्क्रमणकालीन अवस्था सिर्जना हुन्छ । लामो समयसम्म जकडिएको पुरातनवादी सोच र शासन व्यवस्थाका अवशेषहरु कहीँ न कहीँ रहँदा हाल निर्माण भएका कानूनहरु लागु गर्नमा अवरोध पुगेको जस्तो महसुस हुन्छ । तथापि त्यो भनेर टार्ने छुट कसैलाई छैन ।

संविधानमा दलित, महिला, आदिवासी÷जनजाति, अपाङ्गता भएका, अल्पसङ्ख्यक र सीमान्तकृत वर्गको अधिकार प्रत्याभूत गरिएको छ । यद्यपि ती वर्गले संविधानप्रदत्त अधिकारको अनुभव र अनुभूति गर्न पाएका छैनन् । यसको मूल कारण भनेकै प्राप्त अधिकारलाई कानूनद्वारा व्यावहारिक जीवनमा लागु गर्ने कुराको कमी हो । यसमा सङ्घीय सरकारसहित सबै सरकार गम्भीर बन्नुपर्छ ।

O  संविधानबमोजिम प्रदेश र सङ्घबीचका साझा अधिकारका विषयमा बन्नु पर्ने ऐन, कानून, नीतिहरु समयमै बन्न नसक्दा प्रदेशस्तरमा संविधान कार्यान्वयनको सवालमा केही अन्योल देखिएको भन्ने भनाइ पनि कतिपयको छ । यो सवालमा यहाँले कस्तो अनुभव गर्नुभएको छ ?
वास्तवमा प्रदेशको समृद्धिविना नेपालको समृद्धि असम्भव छ । साझा अधिकारलाई सङ्कुचित बनाइनु हुँदैन । यसमा साझा सोच, अवधारणा र बुझाइ आवश्यक छ । संविधानले स्पष्ट व्याख्या गरेका कुरामा पनि अन्योल आउनु दुर्भाग्य हो । यसमा सङ्घीय सरकार संवेदनशील बन्नुपर्छ । कर्णाली प्रदेश सरकारले एकल सूचीका कानून निर्माण गरिसकेको छ । हामीलाई आवश्यक हुनेसम्मका ऐन, कानून बनाइसकेका छाँै । कागजमा धेरै कानूनका चाङ बनाउन आवश्यक छैन । मुख्य कुरा भनेकै बनेका ऐन, कानूनहरुको प्रभावकारी कार्यान्वयन र नागरिकहरुलाई त्यसको प्रत्याभूति गराउनु नै हो ।

O विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण समुदायमा पुगिसकेको छ । अब यसको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
कर्णालीमा कोरोना सङ्क्रमण छ तर कोरोना लागेर मर्नेको सङ्ख्या धेरै छैन । अहिलेसम्म मृत्यु भएका छ जना कोरोना भाइरस लागेर अस्पतालमा उपचार गर्दागर्दै मरेका पनि होइनन् । कोरोनाले भन्दा आत्महत्या गरेर मर्ने मान्छेको सङ्ख्या महामारीको अवधिमा बढिरहेको छ । यो चिन्ताजनक अवस्था हो । हो, यहाँले भने झँैं अहिले कोरोना संक्रमण समुदायस्तरसम्म पुगेको छ । अब प्रदेश सरकारले लक्षण देखिएकाबाहेक अन्यको कोरोना परीक्षण नगर्ने योजना बनाएको छ । जोजसलाई त्यस्तो खालको लक्षण देखिन्छ, तिनलाई निःशुल्क परीक्षण गर्ने नीति बनाएका छौंँ ।

पछिल्लो समयमा हामीले आइसोलेशन, आइसियु र भेन्टिलेटरको सङ्ख्या बढाएका छौंँ । कोरोनाका कारण हुन सक्ने गम्भीर समस्याबाट बिरामीलाई बचाउने हेतुले प्रदेश सरकारले कर्णालीका सबै जिल्लामा आइसियु र भेन्टिलेटरको व्यवस्था गरेको हो । स्वास्थ्यका विभिन्न मेसिनरी उपकरण आपूर्तिका लागि सङ्घीय सरकारसँग अनुरोध गरेका छौंँ भने व्यवस्थापकीय पाटोलाई चुस्त बनाउन यहाँका स्थानीय तहसँग समन्वय गरी देखिएका समस्यामा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । मुख्यगरी कोभिड–१९ को प्रतिकार्य, रोकथाम र नियन्त्रणमा सङ्घीय व्यवस्थाले औचित्य पुष्टि गरेको छ ।

O अन्त्यमा संविधान दिवसका अवसरमा नेपाली जनता र मूलतः कर्णाली प्रदेशवासीलाई के सल्लाह र आग्रह गर्न चाहनुहुन्छ ?
मुलुकले चाहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ र कर्णाली चाहेको ‘सुखी कर्णाली, सुखारी कर्णालीबासी’ हो । यी दुवै लक्ष्य प्राप्तिको अभियानमा हामी लागिपरेका छौंँ । ती लक्ष्यहरुलाई संविधानले दिएको अधिकार क्षेत्रमा रहेर हासिल गर्नुपर्नेछ । तसर्थ सरकारले लिएको लक्ष्यलाई सार्थक उचाइमा पु¥याउन समग्र नेपाली तथा कर्णालीबासीमा पाँचौंँ संविधान दिवसले एकताको भाव पैदा गरोस् भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु । साथै कोभिड–१९ ले उत्पन्न गरेको विश्वव्यापी महामारीबाट जोगिन सबै नेपालीलाई आत्मानुशासित भई सरकारद्वारा निर्दिष्ट जनस्वास्थ्यका मापदण्ड पूरा गर्न हार्दिक आग्रह गर्दछु ।

संविधान इमान्दारीका साथ कार्यान्वयन गर्दै समस्या परेमा संशोधन गरेर जान सकिन्छ

संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएसँगै शुरु भएको कार्यान्वयन प्रक्रिया क्रमिक रुपमा अघि बढेको छ । प्रत्येक वर्ष असोज ३ गतेलाई राष्ट्रिय पर्वकै रुपमा संविधान दिवस मनाइँदै गरिरहेका सन्दर्भमा यसको कार्यान्वयनको अवस्थालगायत विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेल र समाचारदाता हरि बाँस्तोलाले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः

O नेपालको संविधानबमोजिम गठित गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहँदा संविधानप्रदत्त अधिकारको उपयोगका क्रममा देखिएका समस्या वा कठिनाइ केके छन् ?
मुख्यमन्त्रीः संवैधानिक प्रावधानका आधारमा नेपालमा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । तीन तहका सरकारको छुट्टाछुट्टै एकल अधिकारको सूचीभन्दा सङ्घ र प्रदेश सरकारबीचको साझा अधिकारको सूचीका साथै सङ्घ, प्रदेश र स्थानीय तहबीचको साझा अधिकारको सूची बढी हुनु संविधानमा कमजोरीका रुपमा देखिएको छ ।

कतिपय साझा अधिकारमा रहेका विषयमा सङ्घले प्रदेश र स्थानीय तहसँग समन्वय, सहकार्य र छलफल नगरी ऐनकानून बनाउँदा समस्या पैदा गर्ने गरेको छ । दोस्रो कुरा, एकल अधिकार सूचीमा रहेका कुराहरूको प्रबन्ध जसरी हामीले गर्नुपर्ने हो, त्यो गर्न सकिएको छैन । एकल अधिकारको सूची भनेको सम्बन्धित तहको सरकारको आफ्नो अग्रअधिकारको कुरा भएकाले तल वा माथिको सरकार वा एउटा वा अर्को सरकारको अधिकारको कुरामा अर्को सरकारले कुनै हस्तक्षेप र नियन्त्रण गर्न सक्दैन तर यो कुराको सम्मान नगरी सङ्घीय सरकारले कतिपय स्थानीय र प्रदेशका एकल अधिकारका सूचीमा पनि कहिलेकाहीँ हस्तक्षेप गरेको देखिन्छ । यसका कारण कहिलेकाहीँ संविधानको प्रावधान र मर्मअनुसार काम हुन समस्या आउने गरेको छ ।

O नेपालको संविधान कार्यान्वयनका चरणमा गइरहेका अवस्थामा केन्द्र, प्रदेश र स्थानीय तहबीचको अन्तरद्वन्द्व पनि कायमै छ । केन्द्रले प्रदेश एवम् प्रदेशले स्थानीय तहलाई अधिकार नदिएको भन्ने कुरा पनि बेला बेलामा आउने गरेको छ, खास समस्या के हो ?
मुख्यमन्त्रीः प्रदेशबाट स्थानीय तहलाई दिनुपर्ने धेरै कुरा छैन । कतिपय थोरै कुरा प्रदेश कानूनबमोजिम हुने भनिएको छ । हामीले स्थानीय तह सञ्चालनका लागि सहजीकरण र सहयोग गरिरहेका छौंँ । कतिपय मामलामा अझै पनि यथेष्ट सहयोग गर्न सकेको अवस्था छैन । त्यसले स्थानीय तहको सरकार सञ्चालनमा पनि केही न केही प्रभाव प¥यो होला ।

स्थानीय तहबाट कानूनमा यो अप्ठेरो प¥यो भन्ने विषय आउँदैन । बजेट दोहोरोतेहोरो प¥यो, हामीले गर्न पाउनुप¥यो भन्ने कुरा आउने गरेको छ । स्थानीय तहमा विशेष गरी सङ्घीयताको मर्मअनुसार काम गर्नुभन्दा पनि परम्परागत रुपमा नै बाटो खन्ने वा केही बनाउने जस्ता कुरामा मात्र बढी ध्यान जाने गरेको देखिन्छ । सङ्घीयताको मर्मअनुसार स्थानीय तहले आफ्नो क्षमताको अभिवृद्धि कसरी गर्ने भन्ने हिसाबले जनशक्ति, विकास समृद्धिका काम कसरी गर्न सकिन्छ भन्नेभन्दा पनि निश्चित आवधिक योजनाको लक्ष्यका साथ चल्ते चलाते शैलीमा परम्परागत रुपमा धेरै चलेको पाइन्छ ।

यसमा गण्डकी प्रदेश सरकारले धेरै मात्रामा वैचारिक सहयोग गरिरहेको छ । कानूनी रुपमा वा संरचनागत रुपमा पनि हामी सहयोग गरिरहेका छौंँ । त्यस्तै सङ्घीय सरकार र युरोपेली युनियनबीचको सम्झौताअनुसार प्रदेश–स्थानीय तहका बीच शासन सहयोग कार्यक्रममार्फत स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्ने, संरचनागत सुधारहरू गर्ने, संस्थागत सबलीकरणका कामहरू गर्ने काम हामीले गरिराखेका छौंँ ।

योजना निर्माण गर्दा प्रदेश र सङ्घको आवधिक लक्ष्यलाई लिएर त्यससँग तादात्म्य हुने किसिमले बनाउने भनेका छौंँ । त्यसको सहजीकरण प्रदेश सरकारले गर्छ । त्यसमा आवश्यक कानूनहरूको व्यवस्थापन कसरी गर्ने र जुन प्रणाली छ त्यसअन्तर्गत नगरसभा, गाउँसभा प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, ऐनकानूनको ड्राफ्ट कसरी गर्नेलगायतमा धेरै सहयोग गर्ने कुरा हामीले उठाएका छौंँ । खासगरी गण्डकी प्रदेशलाई डिजिटल प्रदेश बनाउँदै गर्दा सँगसँगै स्थानीय तहलाई पनि डिजिटलाइज कसरी गर्ने भन्नेतर्फ सोचेका छौंँ । सुशासनको अभाव एवम् समावेशी ढङ्गले नचल्दा हाम्रो गणतन्त्र सुदृढ बन्न सक्दैन ।

O संविधानमा संशोधन हुनुपर्ने माग पनि उठिरहेका सन्दर्भमा यहाँले प्रतिनिधित्व गरिरहनुभएको पार्टी नेतृत्वले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्नुपर्ने कुरा गर्दै आएको छ, नेतृत्वले भन्ने गरेको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने समय कहिले आउँछ ?
मुख्यमन्त्रीः यो विषय घडी पला हेरेर आउने होइन । तत्काल काम गर्दै जाँदा के के कुराले हामीलाई अप्ठेरो पा¥यो, त्यसका आधारमा संविधानमा आवश्यक सुधार हुनुपर्छ । संविधान आफैंँमा जीवित दस्तावेज हो, यो संशोधनीय, परिमार्जनीय, सुधारणीय हुन्छ । संविधान एक पटक लेखेपछि ढुङ्गाको अक्षर हो भनेर बुझ्नेको पनि कमी छैन ।

त्यस्तो संविधानले मुलुकको नेतृत्व गर्न सक्दैन । समयअनुकूल देशकाल, परिस्थिति एवम् आवश्यकताअनुसार हाम्रो समस्या समाधानका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ । उदाहरणका लागि गण्डकी प्रदेशको एउटा जिल्ला नवलपरासी (बर्दघाट सुस्तापूर्व) छ । संविधानमा नै उल्लेख भएकाले प्रदेशको नयाँ जिल्लाको नाम नवलपुर राख्नका लागि जिल्ला समन्वय परिषद्ले सर्वसम्मत निर्णय गरेको छ, प्रदेश सरकारले निर्णय गरेर पठाएको छ । त्यस्तै रुकुम(पूर्व)लाई पनि केही नाम बनाउनुप¥यो, त्यसका लागि पनि संविधान संशोधन हुनुप¥यो । त्यस्तै तीन तहको सरकार हुँदा त्यसअनुरुप बजेट गइरहेको छ ।

विशेष, सशर्त, समानीकरण जे भने पनि जेजे रकम माथिबाट आएको छ त्यसको कसरी खर्च भइराखेको छ भन्ने सम्बन्धमा प्रदेश सरकारमा खासै समस्या देखिएको छैन । स्थानीय तहमा बजेट कार्यान्वयनको स्थिति, विकासनिर्माण कार्यको स्थिति भद्रगोल छ । त्यसको अनुगमन गर्ने कुनै संरचना वा सरकार नहुँदा अराजकता देखा परेको छ । त्यसैले तलको शासनलाई अझै सुशासनमुखी, पारदर्शी, जवाफदेहीपूर्ण बनाउनका लागि स्थानीय तहका सरकारहरूको बजेट कार्यान्वयन, खर्चको अनुगमन गर्ने काम प्रदेश सरकारलाई दिनुपर्छ, त्यसका लागि पनि संविधान संशोधन जरुरी छ ।

आधारभूत शिक्षादेखि लिएर माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ । यो आफैंँमा अव्यावहारिक निर्णय थियो । किन अव्यावहारिक छ भने कक्षा १२ सम्म परीक्षा लिँदा यसमा एकरुपता आवश्यक छ, जुन ७५३ पालिकाबाट सम्भव छैन । कमसेकम सात वटा प्रदेशलाई दिएमा प्रदेशप्रदेशमा एकरुपता हुन्थ्यो, समन्वय गर्न पनि सजिलो हुन्थ्यो, जसले पाठ्यक्रम पाठ्यपुस्तकमा पनि एकरुपता हुन्छ । विद्यमान संवैधानिक प्रावधानअनुसार पालिकापालिकाका पाठ्यक्रम, पाठ्यपुस्तक बन्ने अवस्था रहेका कारण यसमा संशोधन गर्नुपर्ने देखिएको छ । यो संवैधानिक प्रबन्धका कारणले शिक्षा क्षेत्र अस्तव्यस्त बनेको छ । त्यसैले माध्यमिक तहको शिक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा पनि संविधान संशोधन जरुरी छ ।

O कतिपय कानून निर्माणका लागि अझै पनि सङ्घबाट आधार र मापदण्ड नआउँदा समस्या पर्दै गएको भन्ने सुनिन्छ, यस सम्बन्धमा यहाँको अनुभव के छ ?
मुख्यमन्त्रीः प्रदेश प्रहरी सङ«गठन प्रदेशको एकल अधिकारको कुरा हो । संवैधानिक प्रबन्धअनुसार विद्यमान नेपाल प्रहरीको पनि सङ्घीय सेक्टरमा कोको रहने, त्यसको परिचालन कसरी गर्ने सम्बन्धमा नयाँ कानून आवश्यक छ । त्यसबाट छुट्टिएर आएको प्रदेशलाई वितरण गरिएको जुन सङ्ख्या छ त्यो सङ्ख्याका भरमा मापदण्ड, विधिप्रक्रिया कानून मुताबिक हुनेछ भनिएको छ । त्यसकारण प्रहरी ऐन आइसके पनि सङ्घीय सरकारले प्रदेश प्रहरी सङ्गठन परिचालनका लागि मापदण्ड निर्धारण नगर्दासम्म हामीले काम बढाउन सकेका छैनौंँ ।

त्यसैले हामीले मापदण्ड र कार्यविधिको ऐन चाँडो आइदिनुप¥यो भनेका हौंँ । त्यस्तै निजामती सेवा ऐनअनुरुप कार्यविधि नहुँदा प्रदेश लोकसेवा आयोगहरूले काम गर्ने अवस्था बनेको छैन । लोकसेवा आयोगले काम गर्ने भनेको त प्रदेशलाई र त्यसअन्तर्गतको स्थानीय तहलाई चाहिने सबै किसिमको जनशक्ति व्यवस्था गर्ने हो । परीक्षा लिने, भर्ना गर्ने, तालीम दिने, उनीहरूलाई ठाउँ ठाउँमा पठाउने सबै जिम्मा प्रदेश लोकसेवा आयोगको हो । त्यससँग सम्बन्धित सङ्घीय कानून नआउँदा समस्या पैदा भएको छ ।

O कोरोना महामारीले विश्व नै तहसनहस बनाइरहेका अवस्थामा यसले नेपालमा पनि ठूलै प्रभाव पारेको छ । कोरोना महामारीसँग जुधिरहेको विद्यमान अवस्थामा वर्तमान संविधानले दिएका जिम्मेवारी तथा अधिकारले काममा कत्तिको सहजता महसुस गर्नुभएको छ ?
मुख्यमन्त्रीः हाम्रो संविधानले महामारीको परिकल्पना नै गरेको रहेनछ । महामारी आयो भने के गर्ने, प्रदेशले के गर्छ, स्थानीय तहले के गर्छ भन्ने कार्यविभाजन छैन । प्राकृतिक विपत्ति वा त्यस्तै केही भयो भने यो गर्ने भन्ने मात्रै भएका अवस्थामा हामीले यो महामारीलाई महाविपद् मानेर तत्कालीन परिस्थितिमा जेजे कुराको कानूनी प्रबन्ध गरेर जान सकिन्छ, जनशक्ति, बजेट व्यवस्था गरेर जान सकिन्छ, त्यो गरेका छौंँ । यस सम्बन्धमा सङ्घीय सरकारले पनि समन्वय गर्ने काम, नीतिनिर्देशन गर्ने काम गरेकै छ ।

ढिलोचाँडो जे भए पनि कामहरू भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारबीच केही बढी समन्वय भएको छ भने यही महामारीमा नै भएको छ । स्थानीय तहसँग सहकार्य गर्ने कुरा, माथिल्लो तहसँग समन्वय गर्ने कुरामा प्रदेश सरकारले पुलको भूमिका निर्वाह गरेको छ । यो महामारीको बेलामा प्रदेश सरकारको भूमिका अत्यन्त महत्वपूर्ण छ । सङ्घको भन्दा पनि व्यवस्थित काम हामीले गरेका छाँैं । महामारीको रोकथाम नियन्त्रण र यसको व्यवस्थापनमा प्रदेशको आफ्नो तहबाट अत्यन्त चुस्तदुरुस्त भएर काम गरिएको छ ।

ऐनकानूनले नछेक्ने कुरामा हामीले कुनै सीमा बाँकी राखेका छैनाँैं, क्षमताको भरपूर प्रयोग गरेर काम सम्पन्न गरेका छाँैं । त्यसैले पनि महामारीको रोकथाम, नियन्त्रण र व्यवस्थापनमा यसले ठोस नतिजा दिन थालेको हो । जिल्ला अस्पतालहरू सबै प्रदेश मातहत भएको हुनाले यिनीहरूको सुदृढीकरणमा लाग्नेबित्तिकै कोरोनाको रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । जनशक्ति परिचालन, नमूना सङ्कलन सबै तयार गर्ने काम जिल्ला अस्पतालहरूले गरे ।

स्थानीय तहका स्वास्थ्यचौकी, एकाइमा रहेका कर्मचारीको परिचालन जिल्लाहरूले गरे । कोरोनाको रोकथाम, नियन्त्रण व्यवस्थापन र उपचारका बारेमा तलका जनशक्तिलाई मसिनो गरी परिचालन गर्न सङ्घ सरकारले सक्दो रहेनछ जुन काम हामीले ग¥यौंँ । सहकार्य गरी स्थानीय तहबाट क्वारेन्टिन निर्माण भए, उहाँहरूले समस्या पर्दा हामीलाई गुहार्नुभयो । जिल्लाको सिसिएमसी, प्रदेशको क्राइसिस म्यानेजमेन्ट सेन्टर, कोभिड – १९ क्राइसिस म्यानेजमेन्ट गर्ने टिमलाई निरीक्षण, निर्देशन गर्ने काम हामीले ग¥याँैं ।

त्यस्तै स्थानीय तहलाई पनि हामीले परिचालन, समन्वय गर्ने काम ग¥यौंँ । त्यससँगै ठोस व्यवस्था भई आइसोलेशनको व्यवस्था प्रदेशले गर्ने, डेडिकेटेड अस्पतालको व्यवस्था सङ्घले गर्ने, क्वारेन्टिनको व्यवस्थापन स्थानीय तहले गर्ने तय भएको छ । बन्दाबन्दीका कारणले अर्थतन्त्र तहसनहस बनेका अवस्थामा त्यसलाई चुस्तदुरुस्त बनाउने, रिभाइवल गर्नेदेखि राहत वितरण, सर्भाइबल फण्डका साथै कोभिड – १९ मैत्री बजेट ल्याउने कुरा हामीले ग¥यौंँ । सङ्घले नीतिनियम बनाउने, नेपालभर एकै किसिमको मापदण्ड बनाउने कुरामा समन्वय गरिराखेको छ । यदि नेपाल सङ्घीय शासन प्रणालीमा नगएको भए, सङ्घीयतामा गएर तीन तहका सरकार नबनेको भए त्यो हालतमा त्यति छिटो त्यो सङ्ख्यामा क्वारेन्टिन बन्न सक्ने थिएन । त्यसको व्यवस्थापन, नियन्त्रण गर्ने कुरामा प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।

प्रदेश सरकारले सारा आइसोलेशन केन्द्रहरूको व्यवस्थापन ग¥यो सङ्घीय प्रणाली नभएको नभए त्यो तहमा त्यो मात्रामा सम्भव नै थिएन । रोकथाम, नियन्त्रण र व्यवस्थापनमा जुन रकमको व्यवस्थापन भयो तीन तहका सरकार भएका कारण त्यो सम्भव भएको हो । हामी संसारको दोस्रो कोरोना प्रभावित मुलुक भारतसँग जोडिएका छाँैं ।

खुला सिमानाका कारण भइरहेको आवतजावतका कारण कोरोना फैलिरहेको छ, जसका कारण गरेको सारा काम पनि नगरेको जस्तो भएको छ । यो परिस्थितिका कारणले भएको हो भन्ने बुझ्नुप¥यो । नेपालका तीन तहका सरकारले भरमग्दुर गरेको छ । अहिले पनि हामी साह्रै बिग्रेको भयावह भएको मुलुकको रुपमा छैनौंँ । हामीले आफ्नो लेभलमा जुन प्रबन्ध गरेका छौंँ, त्यो नराम्रो होइन । पछिल्लो कालमा सङ्क्रमण बढेको देख्दा केही नगरेको भन्ने भ्रम प्रचार भइरहेको छ, त्यसमा सचेत हुनुपर्छ, वस्तुनिष्ठ भएर त्यसको मूल्याङ्कन गर्नुपर्छ ।

O अन्त्यमा संविधान दिवसका अवसरमा नेपाली जनता र विशेषगरी प्रदेशवासीलाई के भन्न चाहनुहुन्छ ?
मुख्यमन्त्रीः संविधानको खेस्रा बनाउने क्रममा पहिलो संविधानसभामा सङ्घीयता कस्तो होला, मुलुकमा किन सङ्घीयता चाहियो, हाम्रो सामाजिक द्वन्द्वको व्यवस्थापन कसरी गर्ने, बहुलताभित्र एकताको व्यवस्था कसरी गर्ने, असमावेशी समाजलाई कसरी समावेशी बनाउने, हाम्रो सरकारलाई कसरी जवाफदेही बनाउने भनी लामो छलफल चलायौंँ । हाम्रो शासन प्रणालीले राम्रो परिणाम नदिएको, असमावेशी समाजका कारण विभिन्न जातजाति, भाषाभाषी लामो समयसम्म भेदभावमा रहेकाले त्यसबाट उत्पन्न हुने द्वन्द्व कम गर्ने एउटा मात्र उपाय सङ्घीयता हो । त्यो सङ्घीयता भनिरहँदा हामीले भनेजस्तो सङ्घीयता त आएन तर यसले हाम्रा समस्या समाधान गर्ने कुरामा केही न केही भूमिका निर्वाह ग¥यो । त्यसैले यो कसैलाई मन पर्ला नपर्ला यो संविधान आफैंँमा ऐतिहासिक संविधान हो ।

आफैँमा समावेशी, लोकतान्त्रिक शासन प्रणालीलाई व्यवस्था गरेको संविधान महत्वपूर्ण र मूल्यवान् छ । यसको संरक्षण, सम्बद्र्धन गर्नुपर्छ । इमान्दारीका साथ कार्यान्वयन गर्दै जाने र समस्या परेका खण्डमा यसको संशोधन गरेर पनि जान सकिन्छ । दुईवटै अतिवादबाट बचेर संविधानलाई गति दिनुपर्छ । यसको बचाउका लागि हामी सबै लाग्नुपर्छ । दुनियाँका अरु सङ्घीय शासन व्यवस्था भएका देशक संविधानको कार्यान्वयनको अवस्थालाई हेर्दा हामी निराश हुनुपर्ने अवस्था छैन । हाम्रो आवश्यकता अनुसार चित्त नबुझे पनि निराश हुनुपर्ने देखिँदैन । दुईतीन वर्षभित्र आधारभूत रुपमा प्रदेश सरकार तथा स्थानीय सरकारको आधार तयार भएको छ । जनशक्ति व्यवस्थापन, संरचना निर्माणको हिसाबले पनि आधार तयार गरेका छौंँ, हामी सही ट्रयाकमा छौंँ । स्वदेशमा वा विदेशमा जहाँ रहे पनि ६७ वर्षको नेपालको राजनीतिक सङ्घर्षले ल्याएको यो संविधानलाई पालना गर्ने हाम्रो कर्तव्य हो । यसको मर्मलाई कुल्चने काम नगरौँ ।

व्यक्तिगत लोभ,आकाङ्क्षा जे भए पनि त्यसलाई तिलाञ्जलि दिएर नेपालीको मूल महान् ग्रन्थका रुपमा रहेको संविधानलाई कसरी सफल पार्ने भन्ने सोच्नुपर्छ । प्रदेशवासीले सरकार सञ्चालनमा जसरी सहयोग समर्थन गर्दै आउनुभएको छ, त्यसका लागि सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।

प्रदेश सरकार आएर कमसेकम हामीले खानेपानी पायाँै, पालिकापालिकामा मोटरबाटो पुग्यो, फेवाताल, वेगनास ताल बच्यो, गरीबलाई रासन कार्ड वितरण ग¥यो, स्वास्थ्य बीमाको प्रबन्ध सबैलाई ग¥यो, कोही पनि गरीब जनता उच्च शिक्षा प्राप्त गर्ने कुरामा वञ्चित हुनु परेन, स्वास्थ्य सुविधाबाट वञ्चित हुनुपरेन भन्नेलगायतका कुराको अनुभूति गराउँदै जनतालाई दुई हजार अमेरिकी डलर प्रतिव्यक्ति आय भएको अवस्थामा पु¥याउन सके समृद्धि सङ्घीय शासन व्यवस्थाबाट सम्भव रहेछ भन्ने पुष्टि हुन्छ । यसले नेपाली जनताले गरेको निर्णय सही थियो भन्ने कुरालाई प्रमाणित गर्दछ । प्रदेश सरकार जनताप्रति नुनको सोझो चिताएर जनता र सरकारबीच हातेमालो गरेर अघि बढ्छ, देशले समृद्धि हासिल गर्छ । सबैलाई सफलता मिलोस् यही शुभकामना ।

सिद्धार्थ बैंकको नँया शाखा तिनचुलीमा

सिद्धार्थ बैंकले असोज १ गते (बिहीबार) काठमाडौं स्थित तिनचुलीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुयाउने उद्देश्यका साथ उक्त शाखा संचालनमा ल्याएको हो ।

अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरीरहेको छ ।
सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरि जारी गरिएको छ ।

त्यस्तै क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको जनाएको छ ।

नेपाल बैंकले असोज १९ मा बोलायो विशेष साधारणसभा

नेपाल बैंक लिमिटेडले असोज १९ मा विशेष साधारणसभा डाकेको छ। बैंकले अनलाइनबाटै आयोजना हुनेगरी बिहान ११ बजेबाट सभा सुरु हुने जनाएको छ ।

जुमको माध्यमबाट हुने उक्त सभामा बैंकले दुईवटा प्रस्ताव लैजाँदै छ । विशेष सभाले बैंकमा नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने संचालकको संख्या हालको चार जनाबाट घटाएर तीन बनाउने र सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने संचालकको संख्या दुईबाट बढाएर तीनजना बनाउने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, बैंकले प्रबन्धपत्र र नियमावलीलाई पनि समयानुकूल अद्यावधिक गर्नुपर्ने भएकाले उक्त प्रस्तावसमेत सभामा पेश गर्ने भएको छ । प्रबन्धपत्र र नियमावली परिमार्जन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

बैंकले विशेष सभा प्रयोजनका लागि असोज ८ लाई बुक क्लोज मिति तोकेको छ । यसअनुसार असोज ७ सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

नबिल बैंकको नबिल चाडपर्ब योजना

कोविड १९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा हुनुहुन्छ । यस कठिन समयमा नबिल बैंकले सँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरुप, सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाज प्रती उत्तरदायी हुन चाहन्छ ।

तसर्थ, सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पु¥याउनेछ भन्ने बैंकले आशा गरेको छ ।

यस योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९% ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ वर्ष सम्मको मुद्दती खातामा बैंकले ८.५ % ब्याजदर प्रदान गर्दैछ । २ वर्ष भन्दा माथि र ५वर्ष सम्मका व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५% ब्याजदर र ५ वर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५०% ब्याजदर प्रदान गरिनेछ ।

बैंकले घर कर्जामा ७.४९%, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९% , साना तथा मझौला कर्जामा रु एक करोड सम्मको कर्जामा ७.४९%, रु एक करोड भन्दा माथिको कर्जामा ७.९९% ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय गरेको छ । यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन गरिने छैन ।

सन् १९८४ देखि आफ्ना आदरणीय ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दैआएको यस नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा यस बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा रहेको छ । नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।

दिगोले शुरू गर्यो इ८ कारको बुकिङ

दिगोले आफ्नो विद्युतीय सिटी कार दिगो इ८ को बुकिङ शुरू गरेको छ । यो वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार हो । दिगो इ८ नविन डिजाइन र उन्नत प्रविधिको मिश्रण हो, जसले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्छ ।

नयाँपन प्रयोगमा अग्रणी र आधुनिक डिजाइनको दिगो इ८ निकै चित्ताकर्षक छ । इ८ मा रातिको समयमा उत्तम खालको प्रकाश दिने ठूला हेडल्याम्प र दिउँसोको लागि शानदार एलइडी ल्याम्प छन् । शानदार डुअल–टोन डाइमन्ड कल अलो ह्विल र बडी प्यानलको फुर्तिलो क्रिजले गाडीलाई आफ्नो सेग्मेन्टमा अग्रणी, स्पोर्टी र आधुनिक स्वरुप दिएको छ ।

अग्लो ढक्कन (बोन्नेट)ले इ८ लाई अझ साहसी मुद्रा प्रदान गर्नुका साथै ड्राइभिङमा भरोसा प्रदान गर्दछ । इ८ को अगाडिपट्टि कठिन मौसमी अवस्थामा पनि स्पष्ट प्रकाश दिने फगल्याम्प छन् । यो फिचर यस सेग्मेन्टका कारमा पहिलोपटक आएको हो । अगाडिको बम्परले दुवैतिर फराकिलो सेन्टर एयर–ड्याम र एयर डक्टसको भल्को दिन्छ, जसले गाडीलाई चौडा रुप दिएको छ । पछाडिपट्टि मजबुत बम्पर र एलइडी टेललाइट छन् ।

आधुनिक, कुशल र मनोहर बनावटले इ८ भित्र पस्दा ‘वाह १ भन्नुपर्ने बनाउँछ । ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिटसहितको पूर्ण नियन्त्रण व्यवस्था बुझ्न र प्रयोग गर्न सजिला छन् । यसको डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर, परिष्कृत स्पर्श अनुभूति र प्रिमियम उपकरणको प्रयोगले भविष्यको प्रिमियम वातावरणमा रहेको अनुभूति दिलाउँछ ।

स्पोर्ट र इको ड्राइभ मोडमा बदल्न मिल्ने अप्सन र अटोमेटिक ट्रान्समिसनले ड्राइभिङ अनुभवलाई सहज र आनन्दित बनाउँछ । सहरी यात्राका लागि यसको स्वचालित गेयर पर्याप्त छ । यसमा न त गेयर बदलिरहनुपर्ने झन्झट छ न कम गतिमा कार अड्किने सम्भावना नै ।

पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन गेयर लिभरले इ८ को भित्री परिवेशलाई अझ मोहक बनाएको छ । यसको रेयर क्यामेराले पछाडिको नदेखिने भाग (ब्लाइन्ड स्पट)लाई कम गराउँदै गाडी ब्याक गर्दा ठोक्किने सम्भावना न्यून बनाएको छ ।

चेप्टो स्टेरिङ ह्विल र आरामदायी लेगरुमरहेडरुमले प्रवेश र गमनलाई आरामदायी बनाउँछ । यसमा कुशलतापूर्वक डिजाइन गरिएको १८ स्टोरेज स्पेस छ, जुन यात्राका क्रममा तपाईंका सरसामान तथा अति आवश्यक वस्तु राख्न पर्याप्त हुन्छ ।

पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभिएम त यसमा नहुने कुरै भएन । समग्रमा यसको भित्री भाग निकै व्यवहारिक छ, जसले यसका निकै महँगा प्रतिस्पर्धी गाडीमा रहेका सबै फिचरहरु समेटेको छ ।

दिगो इ८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ । यसमा   थ्री फेज एसिंक्रोनस मोटर छ जसले १८० एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ ।

यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ । दिगो इ८ को ‘हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ ।

दिगो इ८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ । सामान्य ड्राइभिङ कन्डिसनमा दिगो इ८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा८ मात्रै बिजुली खर्च हुन्छ ।

दिगो इ८ को बुकिङ खुला गर्न आयोजित कार्यक्रममा बोल्दै दिगोका सिइओ हेमन्त पुरानिकले भने, ‘आज हामीले नेपालको अटो उद्योगमा नयाँ अध्याय लेख्न सुरु गरेका छौं । दिगो इ८ को लक्ष्य यात्राको लागि आरामदायी तर मोटरसाइकलको भन्दा कम सञ्चालन खर्चमा गुड्ने कार दिँदै नेपालको अटो उद्योगको नियमलाई पुनः परिभाषित र पुनस्र्थापित गर्नु हो ।

विद्युतीय सवारी साधनको आयात गर्दा लाग्ने महसुल र करहरु ह्वात्तै बढे पनि दिगोले इ८ आकर्षक मूल्यमा सार्वजनिक गरेको छ ।

कामना सेवाद्वारा अटो रिक्सा धिताे कर्जामा ब्याज छुट

कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको र विशेष गरी यसबाट यातायात व्यवसाय सबैभन्दा बढि प्रभावित भएको हुंदा कामना सेवा विकास बैक लिमिटेडबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा तथा अटो रिक्सा कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका हरुलाई कर्जामा ब्याज छुट दिने र्भको छ ।

ग्राहकहरुलाई विशेष राहत दिने उद्देश्यका साथ ब्याजमा भारी बैंकले छुट दिदै आएको बैंकले जनाएको छ । बैंकले यातायात व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ५० प्रतिशत तथा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ७० प्रतिशत छुट दिइ कोभिड–१९ बाट प्रभावित व्यवसायीहरुलाई सहुलियत प्रदान गरी सकिएकोछ ।

यो योजनामा यातायात व्यवसायीहरुले गर्नुभएको अपेक्षालाई मध्यनजर गदैं उहाँहरुको मागलाई सम्बोधन गरी राहत प्रदान गर्ने उद्देश्यले  बैंकले पुनः भाद्र महिनाको ब्याजमा छुटको योजना समेत ल्याएको छ । बैकले स्वरोजगारको लागि अटो रिक्सा लिएका  न्यून आयका भएका ऋणीलाई बैंकको हालसम्म साँवा तथा ब्याज बक्यौता चुक्ता गरेमा भाद्र महिनाको ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ ।

साथै यातायात व्यवसायीहरुलाई समेत सम्पूर्ण बक्यौता  चुक्ता भुक्तान गरेमा भाद्र महिनाका पाकेको ब्याजमा ३० प्रतिशतले छुट दिने योजना ल्याएकोछ । साथै आफ्नो  सम्पूण बक्यौता चुक्ता भुक्तान गर्ने यातायात व्यवसायी तथा अटो रिक्सा व्यवसायीलाई ब्याजदरमा परिमार्जन गरी यस त्रैमासको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने समेत बैंकले जनाएको छ । यो योजनाले यातायात व्यवसायी र न्यून आय भएका अटो रिक्सा व्यवसायीहरुले अधिकतम लाभ प्राप्त गरी व्यवसाय सञ्चालनमा थप सहजता हुने समेत बैंकले विश्वास लिएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABs, SMs, Banking, Moblie Banking, C-ASBa, Online Banking, लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेकोे छ ।

सानिमा बैंकको दुई नयाँ शाखा ताप्लेजुङ्ग र कोहलपुरमा

सानिमा बैंक लिमिटेडले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१औं र ८२औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर  क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले गरेका हुन् ।

यसैगरी बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एनटिभि रोडस्थित कोहलपुर शाखाको समुद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले संयुक्त रुपमा गरेका हुन् ।

यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ । सानिमा बैंकले हाल ८२ वटा शाखा कार्यालय, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

मुक्तिनाथ विकास बैंकद्धारा “ E-TELLER ’’ सेवा सुरु

मुक्तिनाथ विकास बैंक लि.ले कोरोनाको महामारीको विषम परिस्थितीमा ग्राहकहरुले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी E-TELLER सेवा सञ्चालनमा ल्याएको छ ।

E-TELLER मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग(इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् । यो सेवा बैंकको सबै शाखाहरुमा उपलब्ध हुनेछ । उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गर्नुभएको थियो ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले E-TELLER सेवा सञ्चालनमा ल्याइएको हो ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्ने

माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । आज (बिहिबार) बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष (२०७६/७७) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त लाभांश अन्तर्गत बैंकले ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने समेत निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा रु.१ अर्व २६ करोड ५१ लाख रुपैया खुद नाफा गरेर प्रतिशेयर आम्दानी रु.१४ रुपैया ९६ पैसा कायम गरेको थियो । चुक्ता पूँजी रु.८ अर्व ४५ करोड ८४ लाख रहको माछापुच्छ्रे बैंकको साधारण जगेडा कोषमा रु.१ अर्व ७० करोड रुपैया संचित रहेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फतबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।

एन आई सी एशिया बैंकमा भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम चुक्ता भुक्तान गरेमा ब्याजदर ८.९९ प्रतिशत कायम गरिने

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरूमाझ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले कोभिड–१९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा विभिन्न किसिमको सहुलियत प्रदान गर्दै आइरहेको सर्वविदितै छ ।

यस असाधारण समयमा वहाँहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले २०७७ आश्विन मसान्तका लागि समेत पुनः आकर्षक सहुलियत योजना बैंकले ल्याएको छ । जस अनुरुप २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिनेछ । यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण योग्य ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्नुहुनेछ ।

यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि मुलुकको बैंकिङ्ग इतिहासमै पहिलो पटक कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो । उक्त योजनाबाट कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात् देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुगी आम ग्राहक महानुभावहरूको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ । नेपालको बैंकिङ्ग इतिहासमा दुर्लभ रुपमा उपलब्ध हुने यस ब्याज सहुलियत योजना अनुसार चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ आश्विन मसान्तभित्रै चुक्ता भुक्तानी गरी समयमै मौकाको फाइदा उठाउन सक्नुहुनेछ ।

बैंकले यसअघि समेत ग्राहक महानुभावहरूको बृहत्तर हितको रक्षा गर्नका निमित्त ब्याज सहुलियतका विभिन्न योजनाहरू कार्यान्वयन गरिसकेको छ । नेपाल राष्ट्र बैंकद्वारा मिति २०७६÷१२÷१६ गते निर्दिष्ट गरिएअनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गर्नुभएका ऋणीहरूको कर्जाको साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहक महानुभावहरूको बैंक खातामा जम्मा समेत गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट २०७७÷०१÷ १६ गते २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । जसमा ग्राहक महानुभावहरूको उत्साहपूर्ण सहभागिता भएपछि उक्त योजना अनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहक महानुभावहरूको खातामा जम्मा समेत बैंकले गरेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको उक्त निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गर्दै सो को अलावा २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम सोही मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुहुने ग्राहक महानुभावहरूको उक्त कर्जाको तत्कालिन ब्याजदरलाई १ श्रावण २०७७ देखि लागू हुने गरी ९.९९ प्रतिशत बैंकले कायम गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।