जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

हालको खबर

वाणिज्य बैंकहरुले सेयर धितो कर्जामा बढाए लगानी

वाणिज्य बैंकहरूले सेयर धितो कर्जामा लगानी बढाएका छन् । चालु आवको ८ महिनामा वाणिज्य बैंकहरूबाट ९६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । चालु आवको आठ महिनामा सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्नेमा नबिल बैंक,ग्लोबल आइएमई बैंक र कुमारी बैंक रहेका छन् ।

नबिल बैंक – १३ अर्ब ८२ करोड ४२ लाख
ग्लोबल आइएमई बैंक – ११ अर्ब १६ करोड ५६ लाख
कुमारी बैंक – ८ अर्ब ९८ करोड ४२ लाख
सिद्धार्थ बैंकबाट ८ अर्ब ३२ करोड १५ लाख रुपैयाँ, नेपाल बैंकबाट ७ अर्ब ७२ करोड ९२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकबाट ७ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ र सिटिजन्स बैंकबाट ६ अर्ब ४० करोड ४८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ७७ करोड २९ लाख रुपैयाँ, प्रभु बैंकले ४ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ५ करोड २४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

आठ महिनामा एभरेष्ट बैंकबाट २ अर्ब ५० करोड रुपैयाँ, एनआईसी एशिया बैंकबाट २ अर्ब ४९ करोड १५ लाख रुपैयाँ, सानिमा बैंकबाट २ अर्ब ३१ करोड १८ लाख रुपैयाँ, कृषि विकास बैंकबाट २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ र हिमालयन बैंकबाट २ अर्ब २ करोड ४२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

एनएमबी बैंकले १ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड ७७ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ४७ करोड २७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

सरकारले क्या राम्रो निर्णय गर्‍यो भन्ने गरी गभर्नर नियुक्ति गरिन्छ : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम पात्रलाई नियुक्त गर्ने तयारी भइरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘बजारमा चर्चा गरिए जस्तो हुँदैन, यो विषयमा अनावश्यक चर्चा चलेका छन्, सरकारले क्या राम्रो निर्णय गर्‍यो भन्ने सन्देश जाने गर्ने गरी निर्णय छिट्टै आउँछ ।’

पौडेलले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव कार्यान्वयन गरिने बताए। अर्थमन्त्री पौडेलले सरकारले आयोगको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्ने र तत्काल सम्भव हुने सुझावलाई चाँडै कार्यान्वयन योजना बनाएर अगाडि बढ्ने बताए । ‘अर्थतन्त्रलाई चलायमान र सुधार गर्ने कुराहरूलाई तत्काल कार्यान्वयनको चरणमा लैजाने छौँ । अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउछौँ। त्यसको तयारीमा सरकार लागिरहेको छ’, उनले भने ।

अनुशासित ढङ्गले स्रोत व्यवस्थापन र परिचालन गर्ने ढङ्गले जान नसके थप समस्या हुने कुरामा सरकार सचेत रहेको धारणा राख्दै अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रूपमा अप्ठ्यारोमा पर्न नदिइने बताए । यस पटकको बजेट प्रतिफल दिने खालको हुने, निजी र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध गरिने उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला पूर्वाधार निर्माणसहित विकास र समृद्धिको अभियानमा सफलता हासिल गरिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले सरकार भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न खरो रूपमा उत्रिएको दाबी गरे ।

सबैभन्दा धेरै कर तिर्ने नबिल बैंक सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मान गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् ।

आर्थिक वर्ष २०७९/८० मा बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फबाट सबैभन्दा बढी कर दाखिला गरी मुलुकको अर्थतन्त्रमा नबिल बैंकले पुर्याएको योगदानको कदर गर्दै प्रमाणपत्रसहित बैंकलाई सम्मान गरिएको हो ।

नेपाल सरकारले पनि यस वर्षको राष्ट्रिय कर दिवसको उपलक्ष्यमा बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका तर्फबाट आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो । नबिल बैंक यसअघि आर्थिक वर्ष २०७९/८०, आव २०६७/६८, आव २०७०/७१, आव २०७१/७२, आव २०७३/७४, आव २०७५/७६, आव २०७६/७७ र आव २०७७/७८ मा पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित भइसकेको छ ।

नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

इसेवा र नेपाल एसबीआई बैंकबीच सहकार्य, मोबाइल बैंकिङ एपबाट सिधै इसेवा लोड गर्न सकिने

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबीआई बैंकबीच विद्युतीय कारोबारसम्बन्धी रणनीतिक साझेदारी भएको छ । सम्झौता पश्चात अब नेपाल एसबीआई बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् । त्यस्तै, इसेवा प्रयोगकर्ताले वालेटमा भएको रकम नेपाल एसबीआई बैंक खातामा ट्रान्सफर गर्न सक्नेछन् ।

दुवै संस्थाबीच भएको यो सहकार्यले ग्राहकलाई थप सहजता, पहुँच र डिजिटल वित्तीय कारोबारमा सुरक्षा दिने अपेक्षा गरिएको छ । एक औपचारिक कार्यक्रममार्फत दुवै संस्थाका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेका हुन् ।

यस साझेदारीसँगै इसेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या ५१ पुगेको छ। इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यस सम्झौताले ग्राहकलाई थप सरल र सहज सेवा प्रदान गर्ने बताए ।

‘यो सहकार्यले कारोबार प्रक्रियामा सहजता ल्याउने, ग्राहकको समय बचत गर्ने, र डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित र प्रभावकारी बनाउनेछ,’ खड्काले भने । उनले ग्राहक हितलाई केन्द्रमा राख्दै आगामी दिनमा यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

सिटिजन्स बैंकको १८औं वार्षिकोत्सवमा आकर्षक छुट योजनाहरु सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गतेसम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो । सो योजनाअन्र्तगत डेविट कार्ड प्रयोगकर्ताहरुले पहिलो पटक पस(पीओएस)मेसिन वा अनलाईन मार्पmत रु १ हजार वा बढी को कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यास ब्याक दिइने छ ।

यसैगरी, सिटिजन्स मोबाईल बंैकिङमार्फत क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा रु १८० क्यासब्याक प्रदान गरिने छ । साथै फोनपे मर्चेन्टले आफ्नो ब्यवसायिक कारोवार रकम क्यूआरमार्पmत प्राप्त गर्दा प्रत्येक दिन एक जना मर्चेन्टलाई रु १,८०० सम्म क्यासब्याक प्रदान गरिने छ ।

साथै बैंकले योजना अवधीभरमा इ(कम कार्ड लिई पहिलो पटक टप अप गर्दा सो टप अपमा शुल्क नलाग्ने,निःशुल्क डिम्याट खाता खोलि दिने व्यवस्था,स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाईल बैंकिङमार्फत मोबाईलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढिमा रु ५० क्यासब्याक उपलब्ध पाउनेछ । र साथै, बैंकको एक मोबाईल बैंकिङ ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाईट टिकट प्रदान गरिनेछ । वार्षिकोत्सवकै उपलक्ष्यमा बैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो बर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाहरूले आम सर्वसाधारणहरु नगदरहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङ लाई वढवा मिल्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार बैंकको १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ पुगेको छ। बैंकले आर्थिक वर्ष २०७९/८० मा बोनस र नगद गरेर ८.५ प्रतिशत प्रतिफल दिएको थियो।

प्रहरी कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सरल र सुलभ कर्जा पाउने

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच प्रहरीको तलबी बचत खाता संचालन तथा कर्जासम्बन्धी २०७८ असार १५ गते भएको समझदारीमा सेवा सुविधा थप गर्न सम्झौता भएको छ।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नेपाल राष्ट्र बैंकले तोकेको आधारभूत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले पेशाकर्मी सरल कर्जामा १.७५ प्रतिशत, घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा २ प्रतिशत, शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ।

त्यस्तै, बहालवाला प्रहरी कर्मचारी तथा अवकाश, अमर/शहीद र अशक्त प्रहरी कर्मचारी (पेन्सन खाता) बैंकको नियम अनुसार २० वर्षसम्मको ५० लाख रुपैयाँसम्म घर कर्जा तथा नयाँ सवारी साधन खरिद ७ वर्षका लागि गाडी कर्जा उपलब्ध हुनेछ। प्रहरी कर्मचारीहरूलाई वार्षिक दुर्घटना भई मृत्यु वा पूर्ण अपाङ्ग भएमा ५ लाख रुपैयाँको बीमा हुने सम्झौतामा उल्लेख छ।

नियमअनुसार बिदामा रहेका बाहेक अन्य खातावाला कर्मचारीहरू दुर्घटनाबाट घाइते भई उपचार गर्नुपर्ने अवस्थामा दोहोरो बीमा दाबी नहुने गरी बीमा प्राधिकरणबाट जारी भएको निर्देशिका बमोजिम अस्पतालको बसाई तथा खर्चको क्षतिपूर्ति लगायत सुविधा बीमा बापत उपलब्ध गराउने गरी बीमा गराउनु पर्नेछ। उक्त बीमाका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ शुल्क लिई बीमा गर्न सकिने बताइएको छ।

यसैगरी, सेवा निवृत्त भएका पूर्व प्रहरी कर्मचारीहरूलाई ३ पाङ्ग्रे अटो रिक्सा खरिद तथा संचालनका लागि बैंकको पेन्सनर कर्जा कार्यविधि बमोजिम कर्जा स्वःपूँजी अनुपात ८० प्रतिशत बैंक कर्जा र २० प्रतिशत स्वयंले व्यहोर्ने गरी कर्जा सुविधा प्राप्त हुने छ। सो कर्जा रकम सीमा कायम गर्दा ६ वर्षको पेन्सन रकम बराबर वा अटो रिक्साको परल मूल्यमा नबढ्ने गरी अधिकतम रू ५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ सोहीको आधारमा कर्जा सीमा प्रदान गरिने सम्झौता भएको छ।

साथै, कर्जा ५ वर्षको वा बढीमा ६० किस्तामा भुक्तानी हुने गरी अवधि कायम हुनेछ। नेपाल प्रहरी कल्याणकारी शाखाको सिफारिसमा प्रहरी परिवार, अमर/शहीद तथा अशक्त प्रहरी परिवार संलग्न रहने लघुउद्यम स्थापना, कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय स्थापना तथा संचालन गर्न बैंकको विद्यमान कर्जा कार्यविधिको अधिनमा रही व्यवसायको वित्तीय आवश्यकता अनुसार कर्जा उपलब्ध हुने र सो कर्जाको बैंकको आधार दरमा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ।

साथै, घर कर्जा, एसएमई तथा कृषि कर्जाका लागि कर्जा सुरक्षा बापत घररजग्गा अचल सम्पत्ति धितो रोक्का हुने तथा नेपाल प्रहरी संगठनमा सेवा गरी निवृत्तिभरण प्राप्त गरेका पूर्व प्रहरी कर्मचारीहरूको पेन्सन बचत खाता राष्ट्रिय वाणिज्य बैंकमा खोली भुक्तानी लिएको हुनुपर्ने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ। उक्त समझदारी २०८२ वैशाख १ गते बाट लागू हुनेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले यस सम्झौताले सुरक्षित र समुन्नत समाज निर्माण गर्ने पवित्र लक्ष्यका साथ अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न थप उत्प्रेरणा र हौसला मिल्नुका साथै अवकाश प्राप्त, अमर र अशक्त प्रहरी कर्मचारी तथा आश्रित परिवारजनले सरल र सुलभ कर्जा लगायतका सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गरे।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकले विभिन्न चरणमा सहकार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा समेत आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताए।

वर्ष २०८१ का प्रमुख चर्चित घटना : सत्ता फेरबदलदेखि आर्थिक अवरोधसम्म

नेपाली राजनीतिको उतारचढाव, आन्तरिक सुरक्षा चुनौती, कूटनीतिक चहलपहल, भ्रष्टाचार र सहकारी जस्ता प्रकरणले वर्ष २०८१ लाई एक अस्थिर र परिवर्तनशील वर्ष बनाएका छन्। सत्ता परिवर्तन, मुख्यमन्त्रीहरूको दोहोरिएको नियुक्ति, संसदमा विश्वासको मतको खेल, पत्रकार तथा राजसंस्थाका समर्थकबीचको झडपजस्ता घटनाले सन् २०२४/२५ को नेपाली राजनीतिको चित्रण गरेका छन्।

सत्ता परिवर्तनको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्री बने भने गठबन्धन राजनीति फेरि निर्णायक सावित भयो। यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आयोजित प्रदर्शनमा भएको हिंसात्मक झडपले गणतन्त्रबारे पुनर्विचार बहस तातियो।

कूटनीतिक क्षेत्रले पनि सन्तुलनको कसरत गरिरह्यो। राष्ट्रपति र प्रधानमन्त्री दुवैका विदेश भ्रमणहरू खास उपलब्धिविहीन रहँदा भारत, चीन, अमेरिका र बिम्स्टेक सदस्य राष्ट्रसँग सम्बन्ध व्यवस्थापन प्राथमिकतामा रह्यो। अमेरिकी सहयोग नियोग (USAID) बाट अनुदान स्थगन हुनु र एमसिसीबारे पुनः प्रतिबद्धता आउनुले नेपालको परराष्ट्र रणनीति अझ स्पष्ट हुनुपर्ने आवश्यकता देखिएको छ।

आर्थिक मोर्चामा लगानी सम्मेलन, बजेट घोषणाबाट आशा जगिए पनि सहकारी काण्ड, विदेशी मुद्रा बरामद र बाढीपहिरोले गर्दा अर्थतन्त्र दबावमा रह्यो। यता, कामिरिता शेर्पाले रचेको सगरमाथा आरोहण र टी-२० विश्वकपमा नेपालको सहभागिताले सकारात्मक ऊर्जा दिएको छ।

२०७१ को समग्र यात्रा हेर्दा शक्ति केन्द्रहरूको पुनर्संरचना, आन्तरिक कमजोरीको पुनरावृत्ति र परिवर्तनको आकांक्षाबीच समय गुज्रिएको देखिन्छ। अब २०८२ सरकार र प्रणालीप्रति जनआस्थालाई बलियो बनाउने निर्णायक वर्ष हुनसक्छ।

पोखरामा फेवा नव वर्ष महोत्सव सुरु

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव २०८२ सुरु शनिबार भएको छ। पर्यटक आकर्षित गर्न होटल संघ पोखराको अगुवाइमा बर्सेनि हुँदै आएको तीन दिने महोत्सवको यो २० औं संस्करण हो।

महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अम्बोटमा आयोजित सभामा उद्घाटन गरे। त्यसअघि खहरे र ड्यामसाइडबाट निकालिएका विभिन्न झाँकीसहितको र्‍याली सभास्थलमा पुगेको थियो। महोत्सव सडकमा सञ्चालन भइरहेको छ। पञ्चेबाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सवका आकर्षण छन्। महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा पनि छ।

पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण छन्। महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्दै छन्। अहिले पोखराका ८० प्रतिशत होटलको अकुपेन्सी ८० प्रतिशत नै पुगेको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।

उनका अनुसार महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने ठानिएको छ। आन्तरिक पर्यटन प्रवर्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको उनले सुनाए ।

महानगर प्रमुख आचार्यले पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसाबले पोखरा उत्कृष्ट रहेको बताउँदै यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको भनाइ राखे। पोखराको यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको उनले जानकारी दिए।

पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउँदै उनले नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिंदै जाने विश्वास व्यक्त गरे। पोखरामा जलन अस्पताल निर्माणका लागि कोरियाली सहयोगमा प्रारम्भिक काम अगाडि बढेको जानकारी पनि उनले दिए।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटनबाट मात्र आर्थिक समृद्धि सम्भव रहेको बताए। उनले पोखरामा पर्यटन सम्वन्धि लगानी र ब्राण्डहरु थपिंदै गएको र यो सुखद पक्ष भएको सुनाए।

होटल संघ नेपालका केन्द्रिय सदस्य एवं आयोजक संघको सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले फेवातालको माथिल्लो भागमा माटो निकाली सानो ताल बनाएर त्यहाँ जलगतिविधि संचालन गर्न सकिने सुझाव राखे। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र महिला संजाल वडा ६ कि अध्यक्ष बबिता मल्लले पनि भनाई राखेका थिए।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षणका रुपमा छन्।

गभर्नर नियुक्तिमा ढिलाईलाई लिएर सरकारको चौतर्फी आलोचना

गभर्नर नियुक्तिको विषयमा समयमै निर्णय लिन नसकेको भन्दै दुई तिहाइको बहुमत प्राप्त वर्तमान सरकार तीव्र आलोचनाको केन्द्रमा परेको छ। देश गम्भीर आर्थिक चुनौतीको सामना गरिरहेको बेलामा केन्द्रीय बैंकको नेतृत्वविहीन अवस्थाले अर्थतन्त्र थप अन्योलमा पर्ने देखिएको छ।

तर सरकार भने गभर्नर नियुक्तिमा स्पष्ट निस्कर्षमा पुग्न अझै असफल देखिएको छ। नियुक्ति प्रक्रिया लम्बिनुको पछाडि सिधै आर्थिक लेनदेन र गुटगत स्वार्थ जोडिएको आरोप सार्वजनिक रूपमा उठिरहेका छन्।

स्रोतका अनुसार गभर्नर नियुक्तिलाई लिएर सत्तारूढ दलहरूभित्र करिब एक अर्ब रुपैयाँसम्मको लेनदेन भएको आशंका समेत गरिएको छ। प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्तिका लागि आ–आफ्ना स्वार्थअनुसार उम्मेदवार अघि सारिएको देखिन्छ।

गत सोमबार मन्त्रिपरिषद्को बैठकबाट गभर्नर नियुक्त हुने भनिए पनि गभर्नर सिफारिस समितिको बैठक समेत अहिलेसम्म बसेको छैन। यसबाट नियुक्तिको प्रक्रिया अझ लम्बिने संकेत मिलेको छ। सरकारले आफैं समयमै निर्णय लिन नसक्नु र प्रक्रियागत ढिलाइ गर्दै आउनुले आर्थिक स्वार्थको असर देखिएको विश्लेषण गरिएको छ।

स्रोतका अनुसार, व्यापारिक समूह र पावर ब्रोकरहरू गभर्नर नियुक्तिलाई लिएर दुई धारमा बाँडिएपछि सरकारभित्र मतभेद चुलिएको हो। नेपाली कांग्रेसले हालैका आइजीपी नियुक्तिको शैलीमा गभर्नर नियुक्तिमा पनि सहकार्यको प्रस्ताव राखेको थियो, तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रस्ताव अस्वीकार गरेपछि विवाद झन गहिरिएको छ।

एमाले पक्षले अर्थ मन्त्रालय आफ्नो नियन्त्रणमा रहेकाले गभर्नर नियुक्तिमा समेत नेतृत्व लिने अधिकार माग्दै आएको छ। तर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु देउवाको चाहनाविपरीत कांग्रेस भित्रकै नेताहरूको असहमति देखा परेपछि सहमति जुट्न नसकेको हो।

गभर्नरको संभावित उम्मेदवारका रूपमा राजेन्द्र किशोर श्रेष्ठ क्षेत्री, डा. रबिन्द्र पाण्डे, डा. निलम ढुंगाना, ज्ञानेन्द्र ढुंगाना, डा. गुनाकर भट्ट र डा. प्रकाश श्रेष्ठको नाम अगाडि आएको छ। अर्थ मन्त्रालयले उमेरहदको मापदण्ड खुकुलो बनाएपछि श्रेष्ठ र पाण्डे मुख्य प्रतिस्पर्धी बनेका छन्। तर ज्ञानेन्द्र ढुंगानाको बलियो उपस्थिति र सम्बन्धले नियुक्ति प्रक्रिया थप जटिल बनाएको स्रोतको दाबी छ।

सुमेरु सहकारी संस्था समस्याग्रस्त घोषणा, अस्पताल, कलेज, मार्टमा पाउँदै आएको छुट पनि बन्द

पुल्चोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गर्दा संस्थाका बचतकर्ताले बचत फिर्ता पाउने बाटो मात्रै बन्द नभएर सो सहकारी संस्थाले लगानी गरेका अस्पताल, कलेज, मार्टमा पाउँदै आएको छुट पनि बन्द भएको छ ।

देशको विषम आर्थिक अवस्थाका कारण वित्तीय कारोबार गर्ने ठूला सहकारीहरुमा समस्या आउन थालेको थियो । त्यही क्रममा सुमेरु सहकारीका पूर्वअध्यक्ष भरत महर्जनलगायतका व्यक्तिहरु बेपत्ता भए पनि व्यवसायी राजबहादुर सिंहको समूहले सो सहकारीको जिम्मा लिएर बचतकर्ताको रकम भुक्तानी गर्ने प्रक्रिया सुरु गर्न लागेको बेला सरकारले बदनियतपूर्ण ढंगले तीन महिनाअघि समस्याग्रस्त घोषणा गरिदिएको थियो ।

समस्याग्रस्त घोषणासँगै आंशिकरुपमा भए पनि बचत रकम फिर्ता गर्ने क्रम बन्द हुनुका साथै सो सहकारीका सदस्यहरुले सुमेरु सहकारीमा उपचार गर्दा पाउँदै आएको छुट समेत बन्द भएको छ । अस्पतालले सरकारले समस्याग्रस्त घोषणा गरेको कुरालाई देखाउँदै आफूहरुलाई स्वास्थ्य जाँच तथा उपचारमा दिँदै आएको सुविधा बन्द गरेको एक पीडित सदस्यले बताए ।

संस्थाका पूर्वअध्यक्ष हेमराज दाहालले आफूहरुले रकम व्यवस्थापन गरेर भए पनि बचतकर्ता सदस्यहरुको रकम घटाउँदै गएको र नयाँ व्यवस्थापनले सहकारीलाई राम्रोसँग सञ्चालन गर्न लागेको बेला समस्याग्रस्त घोषणा गर्दा सदस्यहरु झन अन्यायमा परेको बताए । उनले न ऋणीबाट पैसा अशुल गर्ने काम भएको न बचतकर्तालाई रकम भुक्तानीको काम भएको भन्दै सदस्यको हितको लागि भनेर सरकारले नै उनीहरुलाई पीडा दिने काम गरेको बताए ।

अहिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले करिव दुई जर्दन समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न खोजेको देखिए पनि कुनै समस्या समाधान हुन सकेको छैन् । उल्टै समस्या जटिल बन्दै गएको छ । पुल्चोकमै व्यवस्थित र संस्थागत ढंगले चल्दै आएको लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई पनि केही व्यक्तिको उजुरीको भरमा स्पष्टीकरण नै नसोधी एकाएक समस्याग्रस्त घोषणा गरिदिएको थियो ।

अध्यययन र अनुगमनको आधारमा साँच्चै बेथिति रहेको र रकम हिनामिना भएका सहकारीहरुलाई समस्या समाधान गर्ने र दोषीहरुलाई कारवाही गर्ने कुरा जायज भए पनि सरकारले केही सहकारीलाई भने बदनियतपूर्ण ढंगले समस्याग्रस्त घोषणा गरेर बचतकर्तालाई हैरानी दिने, उनीहरुले सदस्यको रुपमा पाउँदै आएको सुविधाबाट बन्चित गर्ने काम गरेको छ ।

सुमेरुले आफ्ना सदस्यलाई एम्बुलेन्स सेवा समेत निःशुल्क दिँदै आएकोमा अहिले सो सेवा समेत बन्द भएको छ । सुमेरुका सदस्यले सो संस्थाको लगानी रहेको कलेज र सुमेरु मार्टमा समेत सुविधा दिँदै आएकोमा अहिले रोकिएको अवस्था छ । समग्र अर्थतन्त्रमा उत्पन्न समस्याको असर सहकारी संस्थाहरुमा परेको थियो । सबै मानिसहरु एकै पटक बचत फिर्ता लिन आउन थालेपछि उनीहरु भुक्तानी गर्न असमर्थ भएका थिए ।

बैंकहरुलाई संरक्षण र नियमन गर्ने नेपाल राष्ट्र बैंक जस्तो निकाय सहकारी क्षेत्रमा नहुँदा पनि समस्या उत्पन्न भएको विज्ञहरुले बताउँदै आएका छन् । सहकारी क्षेत्रको नियमनका लागि हालै सरकारले कानुन संशोधन गरेर नियमन प्राधिकरण गठन गरे पनि यसले प्रभावकारी काम गर्न सकेको छैन् । सहकारी संस्थाहरुको ऋण लिने तर पैसा नतिर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कर्जा सूचना केन्द्र स्थापना गर्ने, कर्जा तथा निक्षेपको सुरक्षणको व्यवस्था गर्ने जस्ता कुरा कानुनमा रहे पनि सो कुरालाई कार्यान्वयन गर्न सरकारले सहयोग गरेको छैन् ।

सुमेरुको अर्बौं रकम हिनामिना गरी फरार रहेको आरोप लागेका यस संस्थाका पूर्वअध्यक्ष भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ । उनी अहिले बेलायतमा रहेको बताइन्छ । महर्जन बेपत्ता भए पनि दाहालसहितका पदाधिकारीले रकम व्यवस्थापन गर्दै बचतकर्तालाई आंशिकरुपमा रकम भुक्तानी गर्दै आएका थिए । नयाँ व्यवस्थापनमार्फत उक्त सहकारीलाई निर्वाधरुपमा सञ्चालन गर्न खोजिएकोमा सरकार नै बाधक बनेको छ ।

‘सञ्चालकहरुको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासंग आज भेटवार्ता गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई भेटेर बधाई एवं शुभकामना व्यक्त गरेको हो । अध्यक्ष ओझासँगको भेटका क्रममा संघले निर्जीवन बीमा व्यवसायमा देखिएको नीतिगत कठिनाईबारे ध्यानाकर्षण समेत गराएको छ ।

सञ्चालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति संघले प्राधिकरणको ध्यानाकर्षण गराएको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको भनाई छ ।

निर्जीवन बीमा व्यवसायीसंघद्धरा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेयर विक्रीसम्वन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सवै सेयरधनी जस्तै संचालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा शेयर विक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौ, ।’संघका अध्यक्ष सहितको पदाधिकारी टोलीले बीमा प्राधिकरणका अध्यक्ष ओझालाई सो प्रावधान सच्याउनका लागि आग्रह समेत गरेको छ ।

लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र संचालकहरुको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताए । सञ्चालकहरुले अन्य सेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट संचालकहरुलाई बञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ । कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितीमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी संचालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं, ।’

सेयर विक्री सम्वन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानी समेत प्रभावित हुने अध्यक्ष मल्लको भनाई छ ।

नेपाली पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्साबारे पनि संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ । प्राधिकरणद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘बीमा ऐन २०७९ को दफा दुईमा पुनर्बीमा भन्नाले कुनै एक बीमकले आफुले धारणा गर्ने जोखिम भन्दा बढि अंशको जोखिम पुनर्बीमकले वा अर्को बीमकले ब्यहोर्नेगरी त्यस्तो बीमकसंग गरिएको करार सम्झनुपर्दछ भन्ने उल्लेख गरिएको छ । त्यसैगरी ऐनको दफा ८० मा समेत सोही व्यवस्था गरिएको छ । साथै अर्को तफमा देशभित्र स्थापित पुनर्बीमकसंग प्राधिकरणले तोकेको प्रतिशत भन्दा कम नहुने गरी अनिवार्य रुपमा पुनर्बीमा गराउनुपर्नेछ भन्ने व्यवस्थालाई आधार मानेर स्वदेशमा स्थापित दुई पुनर्बीमा कम्पनीलाई शुरुदेखिकै जोखिममा ६÷६ प्रतिशत प्रत्यक्ष हिस्सा छुट्याउनुपर्ने व्यवस्था प्रचलनमा रहेको छ ,।’ उक्त व्यवस्था ऐनको मर्म अनुकूल नभएको हुदा ऐनको व्यवस्था बमोजिम बीमा कम्पनीहरुले धारण गर्न मञ्जुर गरेको जोखिम बाहेक बाँकी हुन आउने जोखिमको मात्रै पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरदिन पनि संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ । बीमा प्राधिकरणका अध्यक्ष ओझासंगको भेटमा अध्यक्ष मल्लसहित पदाधिकारीहरु आजाद श्रेष्ठ, रमेश निरौला, बालकृष्ण श्रेष्ठ र कुनाल कयल सहभागी थिए ।