जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

मुक्तिनाथ क्यापिटलको सिईओमा जोशी नियुक्ति

मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतकमा कविन्द्र विक्रम ध्वज जोशी नियुक्त भएका छन । बिहीबार उनलाई मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लबाट पदभार ग्रहण गराएका थिए । जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत थिए । उनले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत मर्चेन्ट बैकिङ क्षेत्रमा दुई दशक भन्दा बढी अनुभव रहेको छ ।

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापित मुक्तिनाथ क्यापिटल लिमिटेडले DMAT, PMS, Share Register, Issue Management, Underwriting, Advisory लगायतका मर्चेन्ट बैकिङ सम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको छ ।

भाटभटेनीलाई एक हजार जरिवाना र एक महिना कैद

मौका छोपी कालोबजारी गरेको अभियोगमा चितवनको भाटभटेनी सुपर मार्केटलाई स्थानीय प्रशासनले एक हजार जरिवाना र एक महिना कैदको सजाय सुनाएको छ ।उपभोक्ताको गुनासोपछि प्रशासनले गरेको अनुगमनका क्रममा भाटभटेनीले प्रचलित मूल्यभन्दा बढीमा सामग्री बेचेको भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार तरकारीमा बजारको प्रचलित मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि भाटभटेनीलाई कारवाही गरिएको हो।

भाटभटेनीका तर्फबाट भरतपुरका व्यवस्थापक जमुना गुरुङलाई सो सजाय सुनाइएको थियो । निज गुरुङले कैद बराबरको जरिवाना रकम तिरेर छुटेको उनले जानकारी दिए।

यसैगरी रत्ननगरमा रहेको पौडेल पुस्तक महलका सञ्चालक हरिनारायण उपाध्यायलाई बढी मूल्यामा पुस्तक बेचेपछि एक महिना कैद र एक हजार जरिवाना गरिएको छ । निजले पनि कैदवापतको जरिवाना तिरी रिहा भएको प्रशासनले जनाएको छ ।

यस्तै महङ्गो मूल्यमा फलफूल बिक्री गर्ने चार व्यवसायीलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा काठमाडौँ फ्रुड्स र आचार्य फ्रुड्स नारायणगढलाई रु २५/२५ हजार र हिमालय फ्रुड्स तथा सुभम फ्रुड्सलाई रु १०/१० हजार धरौटी तोकिएको उनले जानकारी दिए ।

बजार अनुगमनका क्रममा उनीहरुले उपभोक्तालाई बजार मूल्यभन्दा महङ्गो मूल्यमा बिक्री गरेको पाइएपछि धरौटी तोकी तारेखमा छाडिएको सिम्खडाले बताए ।

उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा (९५) बमोजिम कारवाही गरिएको उनले जानकारी दिए । लकडाउनको मौका छोपी महङ्गोमा सामान बिक्री गर्नेलाई स्थानीय प्रशासनले कडाइका साथ अनुगमन गर्ने काम गरिरहेको छ ।

कांग्रेसले बनायो विनोद चौधरीको नेतृत्वमा विशेष समिति

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असर अध्ययन गर्नका लागि उद्योगपति विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ ।

लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समितिका सदस्यहरुमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा रहेका छन् ।त्यस्तै छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा पनि सदस्य छन् । समितिमा सदस्य संख्या २१ जना नबढ्ने गरी थप्न सकिने नेपाली कांग्रेसले विज्ञप्ति निकालेर जनाएको छ ।

यो समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ लाई सुझाव दिनेछ ।

त्यस्तै दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने पनि कांग्रेसले जनाएको छ ।

अजोड इन्स्योरेन्स सँग क्लबमा आबद्ध ३५  सदस्यको   बीमा

लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवा क्षेत्रका पत्रकारका लागि कोरोना बीमा गरेको छ ।  अजोड इन्स्योरेन्स कम्पनीसँग  क्लबमा आबद्ध ३५  सदस्यको आज बीमा गरिएको क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिनुभयो । उहाँका अनुसार सीमाक्षेत्रमा रहेर जोखिमपूर्ण पत्रकारिता गर्नेको  बीमा गरिएको छ  ।

बीमा गरेको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीम कम्पनीले रु एक लाख  दिने क्लबका महासचिब सम्झना शर्माले बताए । कोरोना परीक्षणमा गर्दा पिसिआर माध्यमबाट गराएको रिपोर्टका आधारमा बीमा रकम दावी गरेको अवस्थामा इन्सुरेन्स कम्पनीले रकम भुक्तान गर्ने  कम्पनीका भैरहवा शाखा प्रमुख  प्रकाश शर्माले जानकारी दिए ।

सीमाक्षेत्रमा पत्रकारिता गर्ने धेरै पत्रकार सदस्य रहेको क्लबको सो कार्यले पत्रकारलाई अझ जिम्मेवार भएर अगाडि बढ्न हौसला थपिएको क्लबका सदस्य पशुपति यादवले बताए । पत्रकारका लागि पहिलो चरणको  राहत सहयोग वितरण गरिसकिएको र तिनको सुरक्षाका लागि थप काम गर्दै जाने क्लबका उपाध्यक्ष नरेश केसीले बताए ।

प्रभु इन्स्योरेन्सको  १४ करोड २ लाख नाफा  

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रभु इन्स्योरेन्सल १ अर्ब २० करोड ९५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरको छ । यो रकम गत वर्षको यसै अवधिसम्म  १४ करोड २ लाख रुपैयाँभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले ७० दशमलव ६६ प्रतिशत बढी बीमाशुल्क आर्जन गरेको हो । यस वर्ष गतवर्षभन्दा ८ दशमलव ५८ प्रतिशत बढी कम्पनीले गरेको छ ।

गत वर्ष यस अवधिसम्म यो नाफा १४ करोड २ लाख रुपैयाँभन्दा बढी थियो । यस वर्ष ५० हजार ७७७ वटा बीमालेख जारी गरेको कम्पनीले गत वर्षभन्दा करिव ३० प्रतिशत कम २० करोड ५६ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ ।

गत वर्ष २३ करोड ४४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष २५ करोड ३८ लाख रुपैयाँभन्दा बढी गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी ८ दशमलव २७ प्रतिशत बढी भएको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० लाख ७६ हजार रुपैयाँ छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी  १५ रुपैयर प्रतिशेयर नेटवर्र्थ रू. १९७ रुपैयाँ रहेको छ ।

प्रिमियर इन्स्योरेन्सको खुद नाफा १९ करोड ४ लाख रुपैयाँ

प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४ करोड १ लाख रुपैयाँले बढी हो । गत वर्षको यही अवधिमा कम्पनीले १५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद नाफा बढेपनि खुद बीमाशुल्क भने घटेको छ । कम्पनीको खुद बीमाशुल्क ७ करोड ६० लाख रुपैयाँले घटेर ५२ करोड ९६ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ६० करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यो तेश्रो त्रैमाससम्ममा कम्पनीले पुनर्बीमा कमिशनबापत १६ करोड १६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य स्रोतबाट ६ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २६ करोड ७ लाख रुपैयाँ, बीमा कोषमा ५९ करोड ७ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ४९ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिसम्ममा इन्स्योरेन्सको जारी बीमालेख संख्या एक लाख ९ हजार ७०९ रहेको छ भने कुल बीमाशुल्क आर्जन एक अर्ब ३० करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले सो अवधिसम्ममा ५ हजार २८५ दाबीबापत ७२ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ७३१ दाबीबापत १ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६३ पैसा, प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात २०.४० गुणा छ ।

मेट लाईफ इन्स्योरेन्सको नाफा २१ करोड ६८ लाख २० हजार रुपैयाँ

मेट लाईफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७६/७७को तश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २१ करोड ६८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २० करोड ४६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस्तै, कम्पनीको खुद बीमा शुल्क तथा जीवन बीमा कोषमा रकम बृद्धि भएको छ । अमेरिकन जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालयले चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँले जीवन बीमा रकम वृद्धि गर्न सफल भएको छ । प्रकाशित विवरण अनुसार कम्पनीले तीन अर्ब २१ करोड ९१ लाख सात हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष जम्मा दुई अर्ब ९६ करोड ५४ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको जीवन बीमा कोषमा झण्डै डेढ अर्ब रुपैयाँ थप भएको छ । गत चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ८३ करोड ६६ लाख ९३ हजार पुगेको छ । अघिल्लो वर्ष १६ सोही अवधीमा १६ अर्ब ३४ करोड २१ लाख ४९ हजार रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा दुई अर्ब २९ करोड ५० लाख १० हजार रुपैयाँ दाखिला गरेको छ भने महाविपत्ति कोषमा २० करोड ५७ लाख ८० हजार रुपैयाँ जम्मा गरेको छ । जीवन बीमा कम्पनीको मुनाफा भने लेखा परिक्षणको क्रममा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

मेटलाईफले कूल बीमा शुल्क आर्जन तीन अर्ब ३० करोड भन्दा बढि आर्जन गरेको छ भने दुई अर्ब आठ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यस्तै कम्पनीले अझै ६२ करोड ८९ लाख ५२ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ

प्रभु लाइफ इन्स्योरेन्सको ३ करोड ८० लाख रुपैयाँ खुद नाफा

प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष कम्पनीले ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद बीमाशुल्क १०३.१६%ले बढेको छ । गत वर्षको यहि अवधिमा २४ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधीमा ५० करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो । बैंकको खुद बीमाशुल्क बढेसंगै खुद नाफा बढेको देखिन्छ ।
यो तेश्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ५७ लाख रुपैयाँ लगानी, कर्जा तथा अन्य आयबाट आर्जन गरेको छ । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १५ करोड ८८ लाख रुपैयाँ, जीवन बीमा कोषमा ६२ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती जगेडामा एक करोड ३७ लाख रुपैयाँ सञ्चित छ ।
हालसम्ममा ७८ हजार ९१७ बीमालेख जारी गरी एक अर्ब २२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ । यस अवधिमा इन्स्योरेन्सले ८८ वटा दाबी बापत १ करोड ११ लाख ३८ हजार रुपैयाँ भुक्तानी गरेको छ

जापानबाट इसेवा मनिट्रान्सफरको सेवा सुरु

इसेवामनि ट्रान्सफरले   जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनिट्रान्सफरका प्रबन्धनिर्देशक अजेश कोइरालाले दिए ।

यो सँगै अब जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफर मार्फत सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन् । आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने प्रबन्ध निर्देशक कोइरालाले बताए ।

जापानबाट कारोबार सुरु भएसँगै प्रबन्ध निर्देशक कोइरालाले भने ‘ हामी जापान बाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दै छौँ, अबदेखि कुनै पनि ठाँउमा रहनु भएका नेपालीहरुले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्नु हुनेछ । अब हामी नयाँ सोच, प्रविधि र समय अनुसार अगाडि बढ्नु पर्ने बाध्यात्मकअवस्थाआएको छ ।

डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ । ’ इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको कम्पनीको भनाई छ ।

इसेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।

एनएमबि बैंकमा   फेसबुक म्यासेन्जरबाटै   खाता   

फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भए संगै एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खातारमुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको र घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख हुने क्रममा भाइबरबाट खाता खोल्ने सेवा सुरु गरेको हो ।

ग्राहकहरुलाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महसुस गर्न भाइबरकै प्रयोगले खातारमुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो ।

वर्तमान परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पुर्याउने एक महत्वपूर्ण योजना हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मूलतः ठूला सक्षम ऋणीबाटै ब्याज रकम आएन। नियामक निकायले जुन वर्गको लागि राहत ल्याएको थियो, त्यसमा विचलन आएको देखिन्छ

बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय विवरणमा उल्लेख गरेका बिषयहरु सत्य र तथ्यपरक छन् भनेर स्वघोषणा गरेका हुन्छन्। यसपालि बैंकहरुले प्रकाशित गरेका तेस्रो त्रैमासको वित्तीय विवरण (माघदेखि चैतसम्मको) मा अलिकति बढी विविधता वा भिन्नता देखिन्छ। कसरी यस्तो भयो ? यसका तीनवटा पक्षहरु छन्।

एक, आइएफआरएस/एनएफआरएस (IFRS/ NFRS, फाइनान्सियल रिपोर्टिङ स्टान्डर्डस्) लेखामानको व्यवस्था र नेपालको आयकर प्रणाली जुन, कोभिड-१९ जस्तो विषम आर्थिक अवस्थामा कल्पना गरिएको थिएन।

दोस्रो, सम्बन्धित बैंकहरुको कोभिड-१९ ले आ–आफ्नो बैंकको वासलातमा वा वित्तीय अवस्थामा भविष्यमा ल्याउन सक्ने प्रभावबारेको आकलन। तेस्रो, नियामक निकायले कोभिड-१९ को लागि ल्याएको केही छुटका व्यवस्था। यसलाई केही उदाहरण र विश्लेषणमार्फत प्रष्ट पारौं-

(१) आइएफआरएस/ एनएफआरएस लेखामान र कोभिड-१९ को प्रभाव बारेमाः
(क) उदाहरणका लागि कुनै एउटा बैंकले लाग्ने आयकर र कर्मचारीलाई छुट्याउनु पर्ने बोनस (नाफाबाट) समेत छुट्याइ सकेपछि मानौं १४० करोडको खुद नाफा हुन आयो। तर, सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा २०/३० करोड रुपैयाँले नकारात्मक हुनसक्छ। कसरी भन्दा, नगद नउठेको ब्याजमा कर पनि तिर्ने, कर्मचारी बोनस पनि हिसाब हुने तर नउठेको ब्याज जति नियामकीय जगेडा कोष (रेगुलेटरी रिजर्भ) मा पठाउँदा सेयरधनीले पाउने वितरणयोग्य मुनाफा नकारात्मक हुने अवस्था सिर्जना भएको छ। जबकि सेयरधनी पनि मूल सरोकारवाला पक्ष हुन्।

यो अवस्थामा सेयरधनीका लागि विभेद भएको ठहर्छ। यो ठीक हुँदैन। कि त नगद आम्दानीलाई मात्र आम्दानीमा देखाउनु पर्छ वा असल ऋणको ब्याजलाई रेगुलेटरी रिजर्भमा ट्रान्सफर (स्थानान्तरण) नगरी ‘रिटेन अर्निङ’ मा नै देखाउनु पर्छ। मेरो विचारमा पाकेको ब्याजमध्ये नगद प्राप्त ब्याजलाई मात्र आम्दानीमा देखाउनु उपयुक्त हुन्छ।

(ख) विद्यमान लेखा प्रणालीअनुसार पाकेको तर ऋणीबाट नगद भुक्तानी नभएको ब्याज पनि आम्दानीमा देखाउँदै जाने र आम्दानी देखाएपछि कर लगायतका विभिन्न दायित्व ब्यहोर्दै जाने अवस्था अहिले छ। नियामकीय व्यवस्थाले व्याज तिर्न ऋणीलाई छुट दिएका कारण ७०/८० प्रतिशत व्याज (नगद असुलीमा आधारित) नउठ्ने अवस्था छ। तर सरकारलाई बुझाउनु पर्ने कर लगायतका दायित्वको भुक्तानी गर्ने नगद प्रवाहको स्रोत यदि निक्षेपकर्ताको पैसा (निक्षेप) हुने अवस्था भएमा बैंकिङ कसरी अगाडि बढ्न सक्छ ? किनभने सरकारले वा नियामक निकायले निक्षेपकर्ताको ब्याज भुक्तानीको समय पछि सार्न छुट दिएको छैन। सम्पूर्ण निक्षेपकर्तालाई चैत मसान्तमै ब्याज भुक्तानी भइसकेको छ। यो पाटो पनि विश्लेषण गर्न योग्य छ भन्ने देखिन्छ।

किनभने निक्षेपकर्ताको पैसाबाट कथम् यी सबै दायित्व र व्ययभार वहन गर्ने अवस्था हुने र बैंकको पुँजी क्षयीकरण (इरोड) हुँदै जाने हो भने अन्ततोगत्वा वित्तीय संकट (बैंकिङ क्राइसिस) हुने सम्भावना हुन्छ। त्यसैले बैंक बेलआउट (उद्धार) सम्मको असहज बाटोमा लम्किनु उपयुक्त नहोला।

(ग) २००७/०८ को बैंकिङ क्राइसिसपछि बैंकहरुले ‘इनकर्ड लस’ लाई मात्र नोक्सानी (देखाउने) गर्ने व्यवस्था दूरगामी अथवा दूरदर्शी भएन भनेर अतिरिक्त जोखिम ब्यवस्थापन गर्न भनेको छ।

आइएफआरएस (९) को मूल मर्म भनेको बैंकहरुले लोन लस प्रोभिजनिङ (नोक्सानी ब्यवस्थापन) गर्दा राष्ट्रिय वा अन्तर्राष्ट्रिय कारणले आर्थिक सुचकांक बिग्रिने अवस्थाको आधारमा ‘फर्वार्ड लुकिङ’ व्यवस्था गर्नुपर्ने र त्यसबाट सृजना भएको नकारात्मक आर्थिक परिदृश्यका आधारमा ‘एक्सपेक्टेड क्रेडिट लस’ (इसीएल) को खर्च व्यवस्था गर्नुपर्ने ब्यवस्था हो।

हामीले एनएफआरएस त लागू गर्‍यौं, तर यो पाटो लागू नगर्दा कोभिड-१९ ले सृजना गरेको विषम अवस्थामा हाम्रो लेखामान व्यवस्था भने अधुरो भयो। तत्कालको मुनाफा हेर्ने वा फर्वार्ड लुकिङ जोखिम ब्यवस्थापन गर्ने भन्ने विषय कोभिड-१९ ले ल्याएको परिस्थितिजन्य अवस्थामा विचार गर्न आवश्यक छ।

२) वित्तीय अवस्थामा कोभिड-१९  ले पार्न सक्ने असर बारे बैंकहरुको आ–आफ्नो आकलनः
कोभिड-१९ को प्रभाव योभन्दा अगाडिको महाभूकम्पको परिस्थिति, नाकाबन्दीको प्रभाव वा माओवादी आन्दोलनको बेलामा परेको आर्थिक प्रभावभन्दा भिन्न छ। द्रुत गतिमा आर्थिक क्रियाकलाप बन्दाबन्दी (लकडाउन) भएको छ। कोभिड-१९ को प्रभाव भिन्न, जटिल र लामो प्रभाव पार्ने खालको हुने परिदृष्य स्पष्टै भइसकेको छ।

नेपालको जीडीपीको वृद्धि ८.५ प्रतिशतको आकलनबाट खस्केर २.२८ प्रतिशतमा झर्ने अनुमान तथ्यांक विभागले गरिसकेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले त १ प्रतिशतमा ओर्लिने प्रक्षेपण गरेको छ।

पर्यटनसँग सम्बन्धित सम्पूर्ण व्यवसाय बन्द छन्। यो अवस्थाबाट रिकभर हुन (तैरिन) डेढदेखि दुई वर्ष लाग्ने आकलन छ। पर्यटनसँग सम्बन्धित क्षेत्रमा बैंकहरुको झन्डै ४–५ प्रतिशतको ऋण लगानी छ। सार्वजनिक यातायात कसरी अगाडि बढ्छ, त्यो अनिश्चित छ। नेपालको आर्थिक क्रियाकलापको जगका रूपमा रहेको विप्रेषणको गिरावटले खुद्रा उपभोगसँग सम्बन्धित किस्ता भुक्तानीमा प्रतिकूल अवस्था आउने छ। निक्षेपको परिचालनमा पनि असर पर्ने निश्चित छ।

केही दशक अगाडि नेपालकै केही ठूला ब्लु बर्ड होटेल, शेर्पा होटेल जस्ता धेरै होटेलहरु बन्द भए। होटेल र्‍याडिसन र तारा गाउँ (ह्यात् रेजेन्सी) जस्ता होटेलहरुलाई बचाउन पनि बैंकहरुले धेरै संघर्ष गर्नु परेको थियो। अहिलेको परिस्थिति योभन्दा अझ गम्भीर बाटोबाट अगाडि बढ्दै छ।

पर्यटन लगायतका अधिकांश उद्योग व्यवसायमा साधारणतया ३०/४० प्रतिशत स्वपुँजी होला, बाँकी ६०/७० प्रतिशत बैंकहरुकै ऋण लगानी रहेको छ। उद्योगी/व्यवसायीहरु ‘हामी त थला पर्‍यौं’ भनेर बन्द गर्ने अवस्थामा हुनु हुन्छ। तर, ६०/७० प्रतिशत ऋण लगानी रहेको वित्तीय क्षेत्रलाई यसको असर पर्छ कि पर्दैन भन्ने मान्यतामा हामी हिंड्ने ?

अहिले आर्थिक बर्ष २०७६/७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण हेर्दा दुई धार देखिएको छ। एउटा विचारधारा, कोभिड-१९ ले आफ्नो वित्तीय स्थितिमा खासै प्रभाव पर्दैन भन्ने छ।

बैंकको अधिकांश परियोजनामा ६०/७० प्रतिशत ऋण लगानी रहेको हुन्छ। बैंकहरु पनि यही इकोसिस्टम भित्रका संस्थाहरु हुन्। परिणामस्वरुप उद्योगी-व्यवसायीलाई पर्ने असर वित्तीय क्षेत्रमा कुनै न कुनै रूपमा पर्छ नै। तसर्थ यो ‘एक्सपेक्टेट क्रेडिट लस’ (सम्भावित जोखिम) लाई अहिले नाफा आर्जन भएको अवस्थामा केही ‘लोन लस’ (जोखिम ब्यवस्थापन) गर्दै जानु उपयुक्त हुन्छ भन्ने अर्को विचारधारा छ।

यही दुई विचारधाराको प्रभाव तेस्रो त्रैमासको वित्तीय विवरणमा देखिएको हो। र, यो नितान्त सम्बन्धित बैंकहरुको विषय हो।

कुनै पनि जुरिस्डिक्सन (क्षेत्राधिकार) मा नियामकीय निर्देशन भनेको न्यूनतम प्रावधान हो। सम्भावित जोखिमको आकलन र त्यसको खर्च व्यवस्था गर्ने पहिलो दायित्व सम्बन्धित बैंककै निर्णयको कुरा हो। यी आ–आफ्नै प्रुडेन्स (विवेक) का विषय हुन्। यसकै प्रभाव बैंकहरुको वित्तीय विवरणमा प्रतिबिम्वित भएर फरक हुन गएको हो।

३) कोभिड-१९ को असर कम गर्न नियामक निकायले गरेको व्यवस्था बारेः
पहिलो कुरा त बैंकहरु पनि कोभिड-१९ बाट पीडित अर्थतन्त्रको एउटा पक्ष हुन् भन्ने विषयमा हामी सबैको बुझाइ अलिकति कम भयो जस्तो लाग्छ। बैंकको आम्दानीको केही स्रोत घटाएर ऋणीलाई राहत दिने भन्ने विषयमा नियामक निकाय प्रवेश गर्ने कि नगर्ने भन्ने कुरा अहिले चर्चामा आएको छ। मूलतः राहत राज्यको स्ट्रक्चर्ड प्याकेज (संरक्षण) बाटै आएको देखिन्छ।

नियामक निकाय मौद्रिक पक्ष, तरलता तथा कर्जा प्रवाह र पुनर्संरचना कसरी सुदृढ गर्ने भन्ने तिरै बढी केन्द्रित हुने हो। तर ऋणीलाई कति छुट दिने भन्ने कुरा बैंक र ऋणी आफैंले तय गर्दा राम्रो हुन्छ। फेरि हाम्रो हक (नेपालको सन्दर्भ) मा कतिपय ठूला (साना पनि) ऋणी विभिन्न बैंकका ठूलै सेयरधनी पनि छन्। यो अर्थमा वहाँहरुलाई दुवै पक्ष (बैंक र ऋणी) को बाध्यता पूर्ण रूपमा जानकारी रहेको अवस्था छ।

नियामक निकायबाट (अहिलेसम्म दुई चरणमा) बैंकले दिनु पर्ने छुटको घोषणापछि ६० देखि ८० प्रतिशत ब्याज असुल भएन। मूलतः ठूला सक्षम ऋणीबाटै ब्याज रकम आएन। नियामक निकायले जुन वर्गको लागि राहत ल्याएको थियो, त्यसमा विचलन आएको देखिन्छ।

नियामकीय छुट (राहत) ले बैंकको नगद प्रवाहमा ठूलै असन्तुलन आउन सक्छ। किनभने बैंकका निक्षेपकर्तालाई तिर्ने ब्याजको मिति पर सरेको छैन। सबै खर्च (ब्याज भुक्तानीलगायत) लागेकै छ, नगद प्राप्त नभएको ६० देखि ८० प्रतिशत ब्याज आम्दानीमा पनि सरकारलाई कर भुक्तानी गरिसकिएको छ।

आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासपछि पनि बैंकको नाफा बढेकै छ भन्ने तर्क पनि आएका छन्। तर यो विद्यमान लेखा प्रणालीले देखाएको र कोभिड-१९ को असन्तुलित अवस्थामा विद्यमान लेखा प्रणालीमा आएको चुनौतीले मात्र भएको हो। सही परिदृश्य सेयरधनीहरुका लागि छुट्याइने वितरणयोग्य मुनाफाबाट स्पष्ट देखिन्छ। जुन निक्कै घटेको छ।

बिओकेले कसरी ७७ करोडको कर्जा नोक्सानी व्यवस्थाको अंक निकाल्योः
क) बैंक अफ काठमाण्डू (बिओके) ले विद्यमान कर्जा नोक्सानी सम्बन्धि व्यवस्थाअनुसार जुन जुन ऋणीको चैत मसान्तमा साँवा-ब्याज भुक्तानी भएन, त्यो नभए जतिको प्रुडेन्सियल नियमअनुसार गर्दा ७७ करोड रुपैयाँ प्रोभिजनिङ निकालिएको हो।

ख) कोभिड-१९ ले कुन कुन क्षेत्रमा कति असर पर्छ भनेर हामीले सुक्ष्म अध्ययन गरी ‘हिट म्याप’ अनुसार असर परेका क्षेत्रहरुको मूल्यांकन गर्‍यौं। हाम्रो अध्ययनमा यदि कोभिड-१९ को असर अझै धेरै लम्बिएको अवस्थामा पर्यटनसँग सम्बन्धित क्षेत्रमा रहेको बैंकहरुको झण्डै ४/५ प्रतिशतको पोर्टफोलियो प्रभावित हुन सक्छ भन्ने देखिएको छ।

कोभिड-१९ लम्बिदा र कच्चा तेलको मूल्यमा आएको गिरावटले गर्दा नेपाल विप्रेषण भित्रिने मुलुकहरुको अर्थ व्यवस्थामा चुनौती थपिने छ। यसले विप्रेषणमा थप घट्ने छ र बैंकको खुद्रा उपभोग क्षेत्रको कर्जाको ‘डिफल्ट रेट’ (बिग्रिने सम्भावना) बढ्ने छ। यसले गर्दा बैंकको समग्रमा ५ प्रतिशत पोर्टफोलियोमा असर पर्ने प्रक्षेपण हाम्रो छ। अर्थात हामीले आगामी ४/५ वर्ष कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने खराब अवस्था (वर्स्ट केस सिनारियो) रूपमा लिएका छौं।

त्यसैले निक्षेप र लगानीकर्ताहरुको हित सुरक्षण प्रयोजनार्थ प्रुडेन्सियल बैंकिङ प्राक्टिसका आधारमा बैंकलाई अझ सुदृढ गर्दै दीर्घकालीन हितका लागि कर्जा नोक्सानी व्यवस्था गरेका हौं। यही कारण नोक्सानी ब्यवस्थापन रकम बढेको देखिन्छ।
(पन्त बिओकेका प्रमुख कार्यकारी अधिकृत हुन्।)

एनआईसी एशिया बैंकले जेष्ठमा पनि ऋणीहरुलाई ब्याजमा १०% छुट दिने

कोभिड १९ महामारीबाट सम्पूर्ण ऋणीहरुलाई परेको असरको मूल्याङ्कन गर्दै एनआईसी एशिया बैंक (NICA) ले आफ्नै प्रयासबाट ऋणीहरुलाई जेष्ठ महिनामा समेत कर्जाको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा २ प्रतिशत ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम सोही मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना बैंकले आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले २०७७ वैशाख १६ गते कोरोनाबाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको कार्यान्वयन गर्दै बैंकले २ प्रतिशत ब्याज सहुलियतको अलावा ऋणीहरुले वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता÷ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट दिएको थियो।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले यस्तो योजना ल्याएको हो । यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । बैंकले २०७७ जेष्ठ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ ।

यसरी प्राप्त गर्नुपर्ने छुट रकम असार महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहक महानुभावको बैंक खातामा जम्मा गरिनेछ । बैंकले प्रदान गर्ने १० प्रतिशत छुट बैंकको चैत्र महिनाको आधार दर (९.६१ प्रतिशत) मै कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र महिनाको आधार दर ९.६१ प्रतिशत भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ । साथै, उक्त ब्याज छुट ऋणीहरुको उपभोग गर्न बांकी कर्जा तथा लिमिट थप गरी ब्याज भुक्तानी गरिएको कर्जा सुविधाको हकमा भने नपाउने व्यवस्था गरिएको छ ।

यस विपतको घडिमा आफ्ना आदरणीय ग्राहक महानुभावहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले यसअघि नै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न पनि उत्प्रेरित गरिएको छ । ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ ।

उक्त सेवाहरूका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न सकिने जनाइएको छ।