जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

वाणिज्य बैंकबाट लुटिएको ५ करोड र १८ किलो सुन अझै भेटिएन

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भएको महिना दिन पुग्दा समेत लुटिएको रकम र सुनबारे केही पत्ता लाग्न सकेको छैन । आन्दोलन हिंसात्मक बन्दै आगजनी, तोडफोड र लुटपाटमा परिणत हुन थालेपछि लुटेराको समूहले बैंक नै तोडफोड गरेर लुटपाट गरेको थियो ।

बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीकाअनुसार नयाँ बानेश्वरको यो शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबर लुटपाट भएको थियो । उनका अनुसार उक्त बैंकबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ । लुटिएको यो सुन कसले कहाँ पुर्‍यायो भन्ने अहिलेसम्म केही खुलेको छैन । यो घटनाबारे अहिले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंले अनुसन्धान गरिरहेको छ । परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराई अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको बताउँछन् ।

पक्राउ पर्नेहरुमा सिरहाका नरेशकुमार यादव र दोलखाका दीपक श्रेष्ठ छन् । उनीहरुले २४ भदौको प्रदर्शनका बैंक लुटपाट गरेको आरोप छ । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरुविरुद्ध चोरी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी भट्टराई बताउँछन् । उनीहरुबाट करिब चार लाख र केही सुन पनि बरामद भएको प्रहरीले बताएको छ ।

सुन र नगद गरी करिब साढे ३८ लाख लुटपाट भएको बताइए पनि पक्राउ परेकाहरुबाट सुन र नगद गरी ५/६ लाख रुपैयाँ बराबर मात्रै भेटिएको छ । बाँकी रकम, सुन कसले कहाँ पुर्‍यायो केही खुल्न सकेको छैन । पक्राउ परेकाहरुले पनि बरामद सुन र नगद बाहेक आफूहरुले अरु नलगेको दाबी गर्दै आएका छन् । उनीहरुले अन्य व्यक्तिलाई आफूहरुले नचिन्ने पनि बताउँदै आएका छन् ।

प्रहरीले अहिले म्यानुअल्ली र प्राविधिक कोणबाट घटनाको अनुसन्धान गरिहेको छ । भिडिओ फुटेजहरु, सार्वजनिक तस्बिर, सीसीक्यामेराका फुटेजहरुलाई आधार मानेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यसरी लुटिएका सुन किनबेच हुनसक्ने भन्दै प्रहरीले बिल बिजक बिनाका सरसामानहरु खरिद नगर्न आग्रह पनि गरेको छ ।

बैंकमा धितो राखेर कर्जा लिएका सुन लुटेराहरुले लुटेका थिए । उक्त सुनहरु किनबेच हुनसक्ने भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ । सुन पसलमा ती सुनहरु किनबेच हुनसक्ने सुनचाँदी पसलहरुमाथि पनि प्रहरीले निगरानी राखेर अनुसन्धान अघि बढाएको छ ।

५ लाख बुझाउने भन्छन्–मान्छे चिन्दिनँ

यो बैंक लुटपाट भएको पाँच दिनपछि २९ भदौमा ललितपुर घर भएका सुरेश देउलाले प्रहरीमा ५ लाख १० हजार ५ सय रुपैयाँ बुझाएका थिए । जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुर पुगेर उनले तत्कालीन एसएसपी श्यामकृष्ण अधिकारीको रोहबरको उक्त रकम बुझाएका थिए ।

उक्त रकम नयाँ बानेश्वरकै राष्ट्रिय वाणिज्य बैंकको रहेको उनले बताएका थिए । कसरी कसरी प्राप्त भयो भन्ने प्रहरीले सोधपुछ गर्दा उनले लुटेराले पैसाको बिटो आफूतिर फालिदिएको बताएका थिए ।

‘बैंक लुटपाट हुँदै गरेको भिडिओ मोबाइलमा खिच्न थालेपछि तैले यही खोजेको होला भन्दै पैसाको बिटो फालेर उनीहरु गए’ देउलाले प्रहरी समक्ष भनेका छन् । पैसा बुझाउने देउलालाई प्रहरीले लुटपाटमा संलग्नहरुबारे पनि सोधपुछ गरेको थियो । तर उनले कोही कसैलाई पनि नचिन्ने बताएको प्रहरी अधिकारीहरु बताउँछन् ।

आन्दोलनपछि राजधानीमा आगजनी, तोडफोड र लुटपाट मच्च्नि थालेपछि नेपाली सेनाले सम्पूर्ण सुरक्षाको कमाण्ड गर्दै फिल्डमा खटिएको थियो । सो क्रममा लुटपाट गर्ने खोज्नेहरुलाई पक्राउ समेत गरिएको थियो । त्यतिबेला सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्न खोजेको आरोपमा ५ जना पक्राउ गरेको बताएको थियो ।

‘हालको परिस्थितिको अनुचित फाइदा उठाएर’ लुटपाट गर्ने कोसिस भएको सेनाले बताएको थियो । लुटपाट गर्न खोजेको आरोपमा समातिएका उनीहरुविरुद्ध भने मुद्दा चलेन । प्रहरी स्रोतले भन्यो, ‘उनीहरुले लुटेको देखिएन । लुटपाट गर्न खोजेको भनेर सेनाले भनेको थियो । कुनै प्रमाण फेला नगरेपछि उनीहरुविरुद्ध मुद्दा चलेन’ प्रहरी स्रोतले भन्यो ।

सरकारको म्याण्डेट नै प्रतिनिधि सभाको निर्वाचन हो: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघले आइतबार आफ्नो स्वागतमा गरेको कार्यक्रममा सञ्चारमन्त्री खरेलले प्रतिनिधि सभाको निर्वाचन गराउनु नै सरकारको ‘म्याण्डेट’ भएकाले चुनाव हुनेमा आशंका नगर्न आग्रह गरे।

उनले सरकार निर्वाचन गराउनेतर्फ केन्द्रित रहेको बताए। ‘सरकारको म्याण्डेट नै प्रतिनिधि सभाको निर्वाचन हो। त्यसैले हामी म्याण्डेट अनुसार नै चुनावमा केन्द्रित छौं,’ उनले भने, ‘निर्वाचन प्रक्रियामा सहभागी हुन सम्पूर्ण राजनीतिक पार्टीलाई सरकारको आग्रह छ।’

मन्त्री खरेलले शान्तिपूर्ण रुपमा निर्वाचन गराउनका लागि सरकारले सुरक्षा निकायलाई आवश्यक सहयोग गर्ने बताए।

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषमा डेढ करोड रुपैयाँ योगदान

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सरकारको पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ योगदान गरेको छ। अर्थमन्त्रालयमा मंगलबार कम्पनीका तर्फबाट सहयोग रकमको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले हस्तान्तरण गरेका हुन्।

अर्थमन्त्री रामेश्वर खनालले चेक बुझ्दै कम्पनीलाई धन्यवाद दिए। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा सिंहदरबारसँगै सरकारी भौतिक संरचनामा ठूलो क्षति भएको थियो। आगजनी र तोडफोडबाट सार्वजनिक तथा सरकारी भौतिक संरचनामा भएको क्षतिपछि पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गर्दै योगदान गर्न सबैलाई आह्वान गरेको छ।

‘राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग स्वरुप १ करोड ५० लाख प्रदान गर्ने निर्णयअनुसार सहयोग गरिएको’ कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

१० वाणिज्य बैंकको ‘अफ साइट’ लेखा परीक्षण सुरु

बंगलादेशी लेखापरीक्षण फर्म हाउलादर एण्ड युनुसले १० वाणिज्य बैंकको कर्जा केन्द्रित लेखापरीक्षण ‘अफ साइट’ रुपमा सुरु गरेको छ । दुई चरणमा हुने उक्त लेखापरीक्षणको पहिलो चरणको काम सुरु भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार हाउलादारले उक्त कर्जा केन्द्रित लेखापरीक्षणलाई ‘अफ साइट’ र ‘अन साइट’ गरेर दुई चरणमा गर्नेछ । नेपालीकोको चाडबाड समय भएकाले पहिलो चरणमा ‘अफ साइट’ लेखा परीक्षण गरिरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘लेखा परीक्षकका लागि अहिले कुनै कार्यालय नतोकी यथास्थानबाट अफ साइट काम भइ रहेको छ,’ ती अधिकारीले भने,‘त्यसका लागि उनीहरु सम्बन्धित बैंक र नेपाल राष्ट्र बैंकसँग सम्पर्क गर्दै काम गरिरहेको अवस्था हो ।’ हाउलादरले बैंकहरुको छनोट गर्दा गत आर्थिक वर्ष २०८१/८२ को चैतसम्मको तथ्याङकको आधारमा धेरै कर्जा लगानी भएका १० बैंकको छनोट गरेको छ ।

सो तथ्याङकका आधारमा ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, हिमालयन, एनआईसी एसिया, एनएमबी र प्रभु बैंकको ‘अफ साइट’ लेखापरीक्षण चलिरहेको ती अधिकारीको भनाइ छ ।

‘हाउलादरले धेरै कर्जा लगानी गरेका १० बैंकको लेखापरीक्षण सुरु गरेको हो,’ ती अधिकारीकाले भने, ‘अन्य १० बैंकको सन्दर्भमा केन्द्रीय बैंकले नियमित निरीक्षण गर्ने हो ।’ हाउलादारले कर्जामा केन्द्रित लेखापरीक्षण गर्दा अफ–साइट र अन–साइटलाई क्वालिटेटिभ र क्वान्टिटेटिभ भनेर गरेको उनको भनाइ छ । ‘अहिले हाउलादरको काम भनेको पोलिसीसँग सम्बन्धित डकुमेन्ट तथा सूचना संकलन गर्ने र विश्लेषण गर्ने भएको छ,’ उनले थपे । लेखापरीक्षणको काम अनसाइट अर्थात् स्थलगत गर्दा राष्ट्र बैंकका प्रतिनिधि सहित सबै बैंकमा एकै पटक काम हुने ती अधिकारीको भनाइ छ ।

हाउलादारले पनि नमुना छनोटको माध्यमबाट नै लेखापरीक्षण गर्ने उनले बताए । त्यसमा नमुना छनोट क्याटगोरी भने धेरै रहेको उनको भनाइ छ । कर्जा केन्द्रित लेखापरीक्षण हाउलादारले प्रोडक्ट, सेक्युरिटी, सेक्टर, टप टेन बिग बरोअर्स, धेरै खराब कर्जा, धेरै गैर बैंकिङ सम्पत्तिलाई वर्गीकरण गरेर नमुना छनोट गर्ने ती अधिकारीको भनाइ छ ।

‘यो लेखापरीक्षणमा बैंकको जोखिम हुन सक्ने क्षेत्रहरु सबैमा हेरिन्छ,’ ती अधिकारीले भने,‘कर्जामा केन्द्रित हुने भएपनि लोनसँग सम्बन्धित बोर्ड डिसिजन र पोलिसी पनि हेर्छ ।’ सरकारले विस्तारित कर्जा लिने क्रममा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई वित्तीय क्षेत्रको कर्जाको गुणस्तर हेर्न १० वाणिज्य बैंकको कर्जा केन्द्रित लेखा परीक्षण गर्ने घोषण गरेको थियो ।

सो अनुसार नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय लेखापरीक्षक छनोट प्रक्रिया सुरु गर्यो । पहिलो प्रक्रियामा लेखापरीक्षक छनोट हुन नसकेपछि केन्द्रीय बैंकले पुन दोस्रो पटक सुरु गर्यो । दोस्रो पटकको प्रक्रियामा बंलादेशको हाउलादर एण्ड युनुस लेखापरीक्षण फर्म छनोट भएको छ । उक्त फर्मले नेपाल १० ठूला बैंकको लेखापरीक्षणको काम सुरु गरेको छ । त्यसका लागि हाउलादरले करिब साढे ४ करोड शुल्क लिनेछ ।

राष्ट्र बैंक स्रोतका अनुसार स्थालगत लेखापरीक्षण सबै बैंकमा एकै पटक गर्न २२ जना जनशक्ति आवश्यक पर्छ । त्यसका साथै केन्द्रीय बैंकका २ जना कर्मचारी पनि थप समावेश हुनेछन् । हरेक बैंकमा फर्मका २ जना र केन्द्रीय बैंकका २ गरी ४ जनाले काम गर्नेछन् । हाउलादरलाई लेखा परीक्षण सम्पन्न गर्न ३ महिना समय अवधि दिइएको छ । केन्द्रीय बैंकको सुपरीवेक्षण विभागसँगको सहकार्यमा हुने लेखा परीक्षण दुई महिना अफसाइट अर्थात गैर स्थलगत हुने छ । त्यसपछिको समयमा स्थलगत लेखापरीक्षणको काम हुनेछ । यसरी गरिएको लेखापरीक्षण प्रतिवेदन भने सार्वजनिक हुने छैन । रिपोर्ट सार्वजनिक नहुने सर्तमा मात्रै बैंकहरुले उक्त लेखापरीक्षणका लागि सहमति जनाएको थिए ।

त्रिविको २ हजार बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्मका १८ संघसंस्थाको रजाइँ

त्रिभुवन विश्वविद्यालयको दुई हजार बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्मका १८ वटा संघ संस्थाको रजाइँ रहेको पाइएको छ । त्रिविको जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनमा १८ वटा संघसंस्थाको रजाइँ रहेको उल्लेख गरिएको छ ।

‘पदाधिकारी र कर्मचारीको मिलेमतोमा त्रिविको २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्म गरी १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा रहेको जमिन अपचलन शृङ्खलामा शैक्षिक माफियाको दादागिरी चलेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

त्रिविको स्वामित्वमा रहेको कीर्तिपुर स्थित झन्डै १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसावले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख छ ।

‘तीन हजार ६ सय १३ रोपनी जग्गाको लालपुर्जा त्रिविसँग भए पनि मुस्किलले २ हजार ५ सय रोपनी जमिन त्रिविले भोगचलन गरेको छ भन्ने जस्ता समाचारहरू विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको,’ प्रतिवेदनमा भनिएको छ ।

हिमालयन बैंकमा रहेको हबिबको सेयर किन्न नेसनल लाइफलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्न नेसनल लाइफ इन्स्योरेन्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ। हबिबको सेयर खरिद गर्न नेसनल लाइफ इन्स्योरेन्स कम्पनीलाई आइतबार अन्तिम स्वीकृति दिएको राष्ट्र बैंकको नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिए।

राष्ट्र बैंकले अन्तिम स्वीकृत दिएसँगै नेसनल लाइफ इन्स्योरेन्सले हबिबको २ करोड ८० लाख १२ हजार ४४८ कित्ता सेयर किन्नेछ। हबिबले प्रति कित्ता ११२.८० रुपैयाँका दरमा सेयर बिक्रीमा राखेकामा नेसनल लाइफले ११८.८ रुपैयाँका दरले किन्ने प्रस्ताव गरेको थियो।

हिमालन बैंकमा हबिबको १२.९३ प्रतिशत सेयर स्वामित्व छ। हबिब त्यो सेयर नेसनल लाइफलाई बेचेर अब बाहिरिनेछ।

हबिब बैंकको सेयर किन्न नेसनल लाइफले भदौ पहिलो साता सेयर खरिद-बिक्री सम्झौता (एसपीए) गरेको थियो।
हबिबले ७ वर्षअघि नै आफ्नो सेयर बिक्री गर्न चाहेको थियो। कहिले विदेशी लगानीकर्तासँग बीचमै ‘डिल ब्रेक’ भएर त कहिले पुँजीगत लाभकरको विषय उठेर सेयर बिक्री गर्न सकिरहेको थिएन।

पछिल्लो समय हिमालयन रि इन्स्योरेन्सलाई बिक्री गर्न उसले सम्झौता गरेको थियो। अरु कसैले सेयर नपाउने गरी हिमालयन रिले खरिद गर्ने सम्झौता भएको थियो। तर, बिक्रीका लागि सार्वजनिक आह्वान भएपछि नेसनल लाइफको प्र‍वेश भएको थियो।

हिमालयन बैंकको सेयर आफूबाहेक अरुले नपाउन् भनेर हिमालयन रि-इन्स्योरेन्सको आडमा २५ व्यावसायिक घरानालाई मिलाएर ‘प्रिपेड बिचौलिया’ समूह तयार पारेका विवादास्पद व्यवसायी दीपक भट्टले तानाबाना बुनेका थिए।

बीमा, पुँजी बजार, क्रेडिट रेटिङलगायत कम्पनीहरुमार्फत ‘फाइनान्सियल एम्पायर’ बनाउन सफल भट्टको नेतृत्वमा संगठित २५ भन्दा बढी घरानाको व्यावसायिक समूहले बुनेको षड्यन्त्रलाई चुनौती दिंदै नेसनल लाइफले बढी मूल्य तिरेर सेयर खरिद गर्न आवेदन दिएको थियो। नेसनल लाइफको प्रस्तावका कारण भट्टको षड्यन्त्र विफल हुन पुगेको थियो।

सिटिजन्स बैंकले नेपालमै पहिलो पटक ‘क्रस बैंक टेलर क्युआर’ प्रणाली भुक्तानीकाे सुरुवात

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालमै पहिलो पटक ‘क्रस बैंक टेलर क्युआर’ प्रणालीको सुरुवात गरेको छ । यस सेवामार्फत अन्य बैंकका ग्राहकहरूले पनि नजिकैको सिटिजन्स बैंक शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाइल बैंकिङ प्रयोग गरेर क्रस बैंक टेलर क्युआर स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार यो प्रविधिले भुक्तानी प्रक्रिया अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने लक्ष्य लिएको छ । नयाँ प्रणालीले डिजिटल भुक्तानीको दायरा विस्तार गर्दै ग्राहकलाई बैंकिङ सेवामा सहज पहुँच र समयको बचत गराउने विश्वास सिटिजन्स बैंकले व्यक्त गरेको छ ।

खातामा ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह

लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकका ग्राहक महानुभावहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ्ग एप (एनआईसी एशिया मोबैंक) मा रहेको माइ प्रोफाइलमा ट्याप गरी चेञ्ज इमेल विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सकिने छ ।

साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

पूर्वसभामुख महरा पक्राउ

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । भेप (विद्युतीय चुरोट) प्रयोग गरी सुन तस्करी गरेको आरोपमा महरा आइतबार काठमाडौंबाट पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने गिरोहसँग महरा र उनका छोरा राहुलको सम्पर्क रहेको कल रेकर्ड सार्वजनिक भएपछि उनी अनुसन्धानको घेरामा आएका थिए ।

चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँगको निरन्तर संवादले महराको संलग्नता पुष्टि गर्दै आएको छ । केही दिनअघि मात्र उनीसँग बयान लिइएको थियो ।

यसअघि पनि महरा अनुसन्धानको दायरामा परेका भए पनि राजनीतिक दबाबका कारण छानबिन अघि बढ्न सकेको थिएन।

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीलाई ८ प्रतिशत नगद दिने

ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शनिबार (असोज २५ गते) बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) दिने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि विरतण हुनेछ ।

राष्ट्र बैंकद्वारा रेमिट्यान्स नीतिमा परिवर्तन

नेपाल राष्ट्र बैंकले विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्स (विप्रेषण) रकमको सीमा वृद्धि गरेको छ। अबदेखि फिर्ता नगर्ने गरी पठाइने रेमिट्यान्स रकम २० लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँसम्म ल्याउन सकिने भएको छ।

केन्द्रीय बैंकका अनुसार नेपाली वा विदेशी नागरिक, साथै नेपालमा दर्ता भएका फर्म तथा कम्पनीहरूले सम्पत्ति बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका प्रयोजनका लागि विदेशबाट पठाएको रकम विप्रेषण कम्पनीमार्फत खातामा जम्मा गर्न सक्नेछन्।

यस अन्तर्गत अब दैनिक २५ लाख रुपैयाँसम्मको रकम फिर्ता नहुने रेमिट्यान्सका रूपमा नेपाल ल्याउन पाइने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले विप्रेषण कम्पनीहरूलाई रकम संकलन र भुक्तानी गर्दा प्रचलित कानुनअनुसार ग्राहक पहिचान (KYC) सम्बन्धी कागजात अनिवार्य रूपमा लिनुपर्ने स्पष्ट गरेको छ।

यसबाहेक, यसरी आएको रेमिट्यान्सबारे प्रत्येक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित विभाग, सुपरीवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।

केन्द्रीय बैंकका अधिकारीहरूका अनुसार रेमिट्यान्स सीमा वृद्धिले वैदेशिक आय औपचारिक माध्यमबाट भित्र्याउने प्रवाह बढाउने तथा आर्थिक क्षेत्रको पारदर्शिता र विश्वसनीयता थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।

अब दैनिक २५ किलो सुन आयात गर्न सकिने

नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिमाण २५ किलो बनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक परिमाण २० किलोबाट २५ किलो बनाएको हो ।

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र २०८१ को शंसोधन गरी सुन आयातको दैनिक परिमाण बढाएकाे हाे

राष्ट्र बैंकले तोकेको दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी वाणिज्य बैंकहरुले सुन आयात गर्न सक्नेछन् ।