जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

जाँचबुझ आयोगले भन्यो- फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन

जेनजी आन्दोलनमा भएको मानवीय क्षति र विध्वंशबारे छानबिनका लागि गठित जाँचबुझ आयोगले फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सरकारी संयन्त्रले आफ्नो प्रतिवेदन कुर्नु नपर्ने बताएको छ। गृह मन्त्रालयले असोज ९ गते आयोगलाई देखाएर विध्वंशमा संलग्नलाई कारबाही प्रक्रिया अगाडि नबढाउन भनेको थियो।

तर आयोगले मंगलबार प्रेस विज्ञप्ति निकालेर सरकारका संयन्त्रले फौजदारी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाउन आफ्नो प्रतिवेदन कुर्नु नपर्ने बताएको हो।

‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ,’ आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।



बैधानिक ठगीको माध्यम बन्दै आइपीओ

पछिल्लो समय आइपीओ मार्फत बजार हडप्ने र सर्बसाधारणको रकम असुल्ने कार्यमा ठुला घरानीया कम्पनीहरु उद्धत हुन थालेका छन् । नेपालमा प्राथमिक शेयर (आइपीओ) जारी गर्ने प्रवृत्ति पछिल्ला वर्षहरूमा अत्यन्तै बढेको छ । धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई व्यवस्थित बनाउने जिम्मेवारी पाएको भएपनि घाटामा रहेका कम्पनीहरूले झुटा विवरण पेश गरेर सर्वसाधारणको रकम उठाउने मुख्य माध्यमका रूपमा आइपीओलाई प्रयोग गर्दै आएका छन् । नियामक निकाय, राजनीतिक दबाब, र रेटिङ एजेन्सीहरूको मिलेमतोका कारण लाखौँ लगानीकर्ताको पूँजी डुब्ने खतरा बढ्दो छ । घाटामा गएका जलविद्युत् आयोजनादेखि टाट पल्टिने अवस्थामा पुगेका कम्पनीहरु अहिले झुटो मुनाफा देखाएर आइपिओ जारी गर्ने तरखरमा छन् । बाजेको सेकुवादेखि कमलादीको स्काई वाकसम्मले आइपीओको लागि प्रयास गरीरहेका छन् ।

नियमन फितलो
विगतलाई हेर्ने हो भने कैयौं घाटा खाएका कम्पनीले यसैगरी आइपीओ जारी गरेका थिए । नेपाल रिपब्लिक मिडिया कम्पनीले विसं २०८० जेठ २६ गतेबाट असार १ गतेसम्म आमसर्वसाधारणमा आइपीओ जारी गरेको थियो । चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । अहिले कम्पनीको जगेडा कोष १० करोड ९३ लाखले ऋणात्मक अवस्थामा छ ।
रिलायन्स स्पिनिङले वित्तीय विवरण नै झुटो पेस गरी अंकित मूल्यमा ७ सय २० रुपैयाँ ८० पैसा प्रिमियम थप गरी प्रतिकित्ता ८ सय २० रुपैयाँमा प्राथमिक सेयर (आइपिओ) जारी गर्न गतवर्ष असारमै धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको थियो ।

तर बोर्डले झुटो विवरण पेश गरेको रिलायन्सलाई प्रतिकित्ता ७ सय २० रुपैयाँ प्रिमियम थपेर आइपिओे जारी गर्न अनुमति दिन लागेको उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा परेपछि छानबिनको लागि कागजात माग गर्यो । र, रिलायन्सको आइपिओ जारी हुनबाट रोकिएको छ । डेडिकेटेड र ट्रंकलाइनको करिब ८० करोड रुपैयाँ बक्यौता तिर्नुपर्ने नलेखी झुटो वित्तीय विवरण देखाएर अंकित मूल्यमा ७ सय २० रुपैयाँ ८० पैसा प्रिमियम थप गरी प्रतिकित्ता ८ सय २० रुपैयाँमा आइपिओ जारी गर्न लागेपछि सिआइबीले छानबिन सुरु गरेको थियो । यस्ता धेरै कम्पनीले अहिले सेवोनमा आइपीओ जारी गर्न निवेदन दिएका छन् ।

यी कम्पनीहरुको मूल्यांकन कसले गर्छ ? कसरी तयार गरिन्छ ? मुनाफा सही हो कि झुटो हो, त्यो छानबिन कसले गर्ने ? भन्ने प्रश्न सबैमाझ छ । तर आइपिओ जारी गर्नुअघि सरकारले हरेक कम्पनीहरुको निष्पक्ष रुपमा मूल्यांकन गर्नुपर्ने आवश्यकता बोध सरकारी निकायले गर्न नसक्दा गरिब जनताको अरबौं रकम आइपिओको नाममा डुबाउने काम हुँदैआएको छ । आवेदन दिएकामध्ये कतिपय घाटामा गएका र जान लागेका कम्पनीको उद्देश्य नै सेबोनबाट झुटो विवरण पेश गरी आइपिओेको अनुमति लिने र लाखौं सर्वसाधारणबाट अरबौं उठाउने र आफ्नो लगानी उठाउने, जनता डुबाउने मात्र रहेको देखिन्छ ।

चर्चामा रहेका केही कम्पनीहरु
आइपीओ भर्ने र आइपीओ खोल्ने होडबाजी अत्याधिक बढेको छ । अहिले आइपीओको माग गर्दे सेवोनमा निवेदन दिनेहरुमा कैयौं कम्पनीहरु छन् । कतिपयको अबस्था कम्जोर छ भने कतिपयको ठिकै । निवेदन दिएका मध्ये करिव छ दर्जन कम्पनीहरू आईपीओ निष्कासन गर्ने अन्तिम तयारीमा छन् । यीमध्ये आशा गरिएका केही कम्पनीहरु पनि छन् । आइपीओको पाइपलाइनमा रहेका मुख्य कम्पनीहरुमा सिउरी न्यादी हाइड्रोपावरले ३ करोड ३ लाख कित्ता आईपीओ बिक्रीको अनुमति मागेको छ । यसैगरी युनाइटेड मेवाखोलाले १ करोड २३ लाख कित्ता, शुभश्री अग्रि सिमेन्टको २ करोड २ लाख कित्ता, जगदम्बा स्टिलको २ करोड कित्ता, महाशक्ति सिमेन्टको १ करोड ७८ लाख, सौर्य सिमेन्टको १ करोड ५९ लाख कित्ता, रिद्धिसिद्धि सिमेन्टको १ करोड २१ लाख र मारुति सिमेन्टको १ करोड १६ लाख कित्ता आईपीओ माग छ । डिस मिडिया नेटवर्कले १ करोड ३५ लाख ८४ हजार कित्ता, शिवम् होल्डिङले १ करोड १६ लाख कित्ताको लागि अनुमति मागेको छ । सोलु हाइड्रोपावरले २ करोड कित्ताका लागि अनुमति मागेको छ ।

स्रोत नखुलेको नगद कहीँ कतै भेटिए कानुन बमोजिम कारबाही गरिने !

अर्थ मन्त्रालयले तोकिएको रकम बाहेकको रकम वा स्रोत नखुलेको रकम भेटिए कानुन बमोजिम कार्बाही गर्नेगरी सवै निकायलाई निर्देशन गरेको छ ।अर्थ मन्त्रालयले विश्वका कुनै पनि देशबाट नेपाल आउने कुनै पनि देशी वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको रकम ल्याउन पाउने व्यबस्था गरेको छ ।

मन्त्रालयका अनुसार सो रकम भन्सार घोषणा बिना ल्याउन सकिन्छ । तथापी ५ हजारभन्दा बढी रकम ल्याउँदा भन्सार घोषणा आवश्यक पर्ने छ । अर्थ मन्त्रालयले हरेक नागरिकले अधिकतम अमेरिकी डलर १,५०० भन्दा बढी कुनै पनि मुद्रा नगदमा नराख्न सूचना जारी गरेको छ । यत्र तत्र एकहजार र पाँचसय रुपैयाँको नोट बन्द गर्ने हल्ला फैलीएकै बेला सरकारले यस्तो सूचना जारी गरेको हो । नेपाल आउने जो कोही नागरिकले अमेरिकी डलर ५ हजारसम्म मात्रै ल्याउन सक्ने छन् । सो भन्दा बढी रकम ल्याउनुपरेमा भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने छ ।

स्रोत नखुलेको नगद कहीँ कतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रिय गराइएको पनि अर्थ मन्त्रालयले जनाएको छ । कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दशलाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको कारोबार गर्दा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने छ।

प्रधानमन्त्रीको सिग्नलपछि ओली र लेखकविरुद्ध प्रहरीले लियो किटानी जाहेरी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीले किटानी जाहेरी लिएको छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलपछि प्रहरीले मंगलबार अपराह्न जाहेरी लिएको हो। भदौ २३ गते जेनजीको प्रदर्शनमा ज्यान गुमाएका युवाका परिवारका सदस्यले जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका हुन। जाहेरीमा ओली र लेखकलाई तत्काल पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।

जेनजीले भदौ २३ गते गरेको प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो। त्यसदिन २१ जनाले ज्यान गुमाएका थिए। स्कुल ड्रेसमा रहेका युवाको समेत गोली लागेर मृत्यु भएको थियो। आन्दोलन नियन्त्रणका लागि अरु उपायले काम नलागे घुँडामुनि गोली हान्न सकिने भए पनि टाउको र छातीमा गोली प्रहार गरिएपछि सरकारी दमनको चर्को विरोध भएको थियो। त्यसदिन ३०० भन्दा बढीलाई गोली लागेकामा ३० जना घाइते अझै विभिन्न अस्पतालमा उपचाररत छन्।

मृतकका परिवारका सदस्यले बुझाएको किटानी जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ। ‘हामीले प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूको सिग्नल पाएपछि मृतकका परिवारका सदस्यले ल्याएको किटानी जाहेरी दर्ता गरेर जाँचबुझ आयोगमा पठाएका छौं,’ परिसरका एक अधिकृतले बिजमाण्डूसँग भने।

जेनजी समुहका अगुवा भनिएका सुदन गुरुङ लगायतको समूहले सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर ओली र लेखकलाई पक्राउ गर्नका लागि जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो। प्रहरीले जाहेरी लिन नमानेपछि गुरुङको टोली सोमबार साँझ नै गृहमन्त्री अर्याललाई भेट्न सिंहदरबार पुगेको थियो।

गृहमन्त्री अर्याल जाहेरी लिने पक्षमा देखिएका थिए। प्रहरी भने कसैले जाहेरी दिएको भरमा नै दर्ता गरेर अनुसन्धान गर्न नमिल्ने तर्क गरेर पन्छिन खोजेको थियो। त्यसपछि गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

बालुवाटारमा सुरक्षा निकायका अन्य संगठनका प्रमुख पनि थिए। बालुवाटारको बैठकमा सुरक्षा अधिकारीहरुले भदौ २३ र २४ गतेको घटनाबारे न्यायिक जाँचबुझ आयोगले छानबिन गरिरहेको अवस्थामा प्रहरीले किटानी जाहेरी लिंदा स्थिति जटिल बन्न सक्ने बताएका थिए।

भदौ २३ मा भएको दमन र २४ गते भएको विध्वंसको छानबिन गर्न सरकारले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको थियो। त्यो आयोगले यसअघि नै ओली, लेखकसहितका पाँच जनालाई काठमाडौं उपत्यका नछाड्न भनिसकेको छ।

जेनजीको आन्दोलनमा अधिक बल प्रयोगका कारण चर्को आलोचना भएपछि लेखकले २३ गते राति राजीनामा दिएका थिए भने ओलीले २४ गते दिउसो राजीनामा दिएर बालुवाटार छोडेका थिए।

अस्थायी आवास निर्माणका लागि तत्काल अनुदान दिइने

सरकारले असाेज १७ गतेदेखि परेकाे अविरल वर्षा र त्यसबाट आएको बाढीपहिराेबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ ।

मंगलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं बैठकले अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने र लाभग्राही पहिचान भइ आएपश्चात अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गरेकाे हाे।


यसैगरी बैठकले विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरू यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था सम्बन्धित निकाय (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तह)ले मिलाउने निर्णय भएको छ।

यस्तै अवरुद्ध खानेपानी, विद्युत, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू सञ्चालन गर्न क्रमशः खानेपानी सेवा प्रदायक संस्था, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले यथाशीघ्र गर्ने गरी सम्बन्धित मन्त्रालयले व्यवस्था मिलाउने निर्णय भएको छ।


तीनै तहका सरकारहरूले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने व्यवस्था समेत गरेकाे छ ।

यस्तै उक्त घटनाका मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानुन बमोजिम तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने, विपद्पश्चात फैलिन सक्ने महामारीको आकलन गरी महामारीजन्य रोग फैलन नदिन खानेपानी मन्त्रालयले स्वच्छ खानेपानीको व्यवस्था र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविर, मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।

काठमाडौं नेशनल मेडिकल कलेज र आइजिआई प्रुडेन्सियलबीच सम्झौता

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र घट्टेकुलोमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरबीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत जहान्गिर अन्सारीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरले आफना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत जहान्गिर अन्सारीले अस्पतालसँग सन्तुष्ट ग्राहकमहानुभावहरुको संख्यामा वृद्धि हुँदै गएको । कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।

९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज मंगलबार राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले आइतबार र बुधबार नियमित पैसा झिक्दै आएकामा दसैं बिदापछि कार्यालय खुलेको पहिलो दिन मंगलबार भए पनि बजारबाट पैसा खिच्न लागेको हो । बजारबाट पैसा निकाल्नका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न आह्वान गरेको छ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी छलफल

हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा दाबी भुक्तानीको अवस्था, दाबी भुक्तानीमा आइपरेका समस्या र दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन गर्नुपर्ने कार्य लगायतका विषयमा नेपाल बीमा प्राधिकरणले आज निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ ।

छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले हालैको आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानीयोग्य भएको र दाबी भुक्तानी गर्ने दायित्व बीमा कम्पनीहरूको हुनेहुँदा दाबी भुक्तानी मार्गदर्शन बमोजिम छिटोभन्दा छिटो दाबी भुक्तानी दिन बीमकहरूलाई निर्देशन दिनुह्ँदै दाबी भुक्तानीका सम्बन्धमा बीमकहरूलाई कानूनी तथा व्यावहारिक समस्यमा भएमा प्राधिकरणले सहजीकरण गर्ने बताए।

कार्यकारी निर्देशक सुवेदीले भने, “बीमकले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्दै जानुप¥यो, बीमितले पैसा पाएको अनुभूति गर्नुप¥यो, दाबी भुक्तानी दिएको बारेमा आम रूपमा जानकारी दिनुप¥यो, बीमकले बीमितलाई र पुनर्बीमकले बीमकलाई समयमैं एड्भान्स रकम दिनुप¥यो ।”

बीमकले प्रवाह गर्ने बीमा दाबी र दाबी भुक्तानी सम्बन्धी तथ्याङ्क सही हुनुपर्ने र गलत तथ्याङ्क दिने बीमकमाथि प्राधिकरण कडाईका साथ प्रस्तुत हुने उल्लेख गर्दै कार्यकारी निर्देशक सुवेदीले तरलतालाई उच्च प्राथमिकतामा राखेर बजारमा अविलम्ब तरलता प्रवाह गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिए।

छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी दिने र यसमा कुनै समस्या नरहेको बताए ।

साथै, उनीहरूले साना बीमा दाबीहरूको भुक्तानी गर्दै आएको, ठूला दाबीको हकमा नगद प्रवाह आवश्यक भएकाले पुनर्बीमा कम्पनीहरूले सक्रिय रूपमा सहयोग गर्नुपर्ने र तरलता व्यवस्थापनमा समेत पुनर्बीमले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दैै कम्पनीहरूले क्षतिको प्रतिवेदन तयार गर्न फिल्डमा बीमा सर्भेयरहरू खटाइसकेको र सर्भेयरहरूबाट प्रतिवेदन आउनेक्रम समेत जारी रहेको जानकारी दिए ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुनर्बीमा वापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम रहेको जानकारी दिनुहुँदै पुनर्बीमा वापतको रकम आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई यथाशीघ्र उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी, निर्देशक ध्रुब तिमिल्सिना, निर्देशक शाम्भराज लामिछाने तथा निर्देशक निर्मल अधिकारी र निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी तथा प्ुनर्बंीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

सूर्यज्योति लाइफद्वारा ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’को लागि १ करोड ५० लाख सहयोग

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सदैव राष्ट्र र समुदायका लागि आवश्यक परेको समयमा विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राजधानीलगायत देशैभरिका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको छ।

सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहातलगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन कम्पनीबाट ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएबमोजिम १ करोड ५० लाख रुपैयाँबराबरको चेक कम्पनीका सञ्चालक चुडामणि देवकोटा तथा प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले आजै अर्थमन्त्री रामेश्वर खनालसमक्ष हस्तान्तरण गरेका छन्।

कम्पनीले विगतमा समेत विशेषगरी शिक्षा र स्वास्थको क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ। हालको अवस्थामा समेत नेपाल सरकारले स्थापना गरेको उक्त भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा कम्पनीबाट भएको सहयोगले क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहातलगायतका कार्यका निम्ति सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

यसका साथै विपदको घडीमा राष्ट्रले आह्वान गरेका यस प्रकारका अभियानमा सूर्यज्योति लाइफको निरन्तर साथ रहने प्रतिबद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले व्यक्त गरेका छन्।

स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध

लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने छन् ।

साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ ।

उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण (E-TDS) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।

ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले स्पष्ट पारेको छ ।

साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन हुन अनुरोध गरिएको छ ।

माइतीघरमा शीर्ष नेताहरुको तस्विर राखेर लेखियो ‘भ्रष्टाचारी’, प्रदर्शनकारीलाई समाउन नहुने माग

माइतीघर क्षेत्रमा अहिले पनि केही व्यक्ति प्रदर्शन गरिरहेका छन्। दसैंको समयमा पनि माइतीघरमा जेनजी प्रदर्शन दमन गर्नेलाई पक्राउ गर्नुपर्ने भन्दै केही प्रदर्शन गरिरहेका छन्। यसबीच त्यहाँ राजनीतिक दलका शीर्ष नेताहरुको तस्विर राखेर प्रदर्शन गरिएको छ। पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओलीलाई ‘हत्यारा’ भनेर लेखिएको छ भने शेरबहादुर देउवा, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालको तस्विरमा ‘भ्रष्टाचारी’ लेखेर टाँगिएको छ।

यस्तै, पूर्व गृहमन्त्रीलाई नरसंहरकारकर्ता, पूर्व परराष्ट्र मन्त्री आरजु देउवा भ्रष्टाचारी र पूर्व मन्त्री महेश बस्नेतलाई ‘झोले’ लेखेर टाँगिएको छ। पहिला यस्ता ब्यानर प्रहरीले राख्न दिँदैन थियो। केही युवा समूहले जेनजी प्रदर्शनमा सहभागीहरुलाई पक्राउ गर्न नपाउने भन्दै नारा पनि लेखेका छन्। विध्वंस मच्चाउनेबाहेक प्रदर्शनकारीलाई समाउन नहुने माग उनीहरुको छ।

प्रहरीले तोडफोड, आगजनी र लुटपाटमा संलग्न केहीलाई पक्राउ गरेको थियो। तर, गृहमन्त्रालयले प्रहरीको प्रक्रियामा हस्तक्षेप पुर्‍याउँदै तत्काल कुनै गिरफ्तारी नगर्न भनेको छ। यसको अहिले सर्वत्र विरोध भइरहेको छ।

सुमेरु पोलिमर्सले आईपीओ निष्काशन गर्ने

सुमेरु पोलिमर्स लिमिटेडले सर्वसाधारणलाई लक्षित गर्दै प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो।

यस अन्तर्गत कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ। आईपीओ निष्काशनसम्बन्धी सम्झौता २०८२ साल आश्विन १२ गते काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो। सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्।

सुमेरु पोलिमर्स लिमिटेडले हालसम्म निर्माण क्षेत्रमा प्रयोग हुने विभिन्न पाइप तथा फिटिङ्ग उत्पादित गर्दै आएको छ। कम्पनीले विशेषगरी पीभीसी पाइप तथा फिटिङ्ग्स, एचडिपिई पाइप, र सिपिभिसी पाइप तथा फिटिङ्ग्सको उत्पादन गर्दै आएको छ। यी उत्पादनहरू निर्माण, सिँचाइ र औद्योगिक प्रयोजनमा प्रयोग हुने प्रमुख सामग्री मानिन्छन्।

कम्पनीको दर्ता कार्यालय काठमाडौंको कुलेश्वरमा रहेको छ भने मुख्य फ्याक्ट्री काभ्रेको पनौती नगरपालिका–९ मा करिब ११ रोपनी क्षेत्रफलमा स्थापना गरिएको छ। वि.सं. २०७४ सालमा प्राइवेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको यस कम्पनीले हाल व्यवसायिक उत्पादनलाई विस्तार गर्दै आएको छ।

आईपीओ निष्काशनमार्फत कम्पनीले आम लगानीकर्तालाई आकर्षित गर्नुका साथै व्यवसाय विस्तारका लागि आवश्यक पूँजी संकलन गर्ने लक्ष्य राखेको जनाएको छ। यससँगै कम्पनी पूँजी बजारमा प्रवेश गर्ने तयारीमा रहेको छ, जसले यसलाई दीर्घकालीन व्यवसायिक योजनामा सशक्त बनाउने अपेक्षा गरिएको छ।