नेपाल पुनर्बीमा कम्पनीले ६२ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बिहीबार सार्वजनिक गरेको कम्पनीको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत वर्षभन्दा यस वर्ष ११ दशमलव ७४ प्रतिशत बढी भएको हो । गत वर्ष कम्पनीले ५५ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो ।
यो नाफा कम्पनीको जीवन र निर्जीवन दुवैतर्फको नाफा हो । यस अवधिसम्म कम्पनीले नीर्जिवन बीमा व्यवसायबाट ५६ करोड ३२ लाल रुपैयाँभन्दा बढी नाफा गरेको छ भने जीवन बीमा व्यवसायबाट ६ करोड १ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ ।
यस वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले२ अर्ब ८१ करोड रुपैयाँ भन्दाबढी निर्जीवन व्यवसायबाट र १९ करोड ९८ लाख रुपैयाँभन्दा बढी जीवन व्यवसायबाट गरी कुल ३ अर्ब १ करोड ७१ लाख रुपैयाँ भन्दा बढी खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष यसै अवधिसम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड २० लाख रुपैयाँ भन्दा बढी र जीवन व्यवसायबाट १९ करोड ८६ लाख भन्दा बढी गरी २ अर्ब ९९ करोड ६ लाख रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको थियो ।
८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा. २ अर्ब ५ करोड ६४ लाख रुपैयाँभन्दा बढी रकम र जीवन व्यवसायतर्फ ४८ करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम रहेको छ । कम्पनीको विवरणमा निर्जीवन तर्फको मात्र बीमा कोष रकम उल्लेख छ । उक्त रकम १ अर्ब ४७ करोड ५० लाख रुपैयाँभन्दा बढी छ ।
गत वर्ष निर्जीवन व्यवसायतर्फ ४५ करोड ९९ लाख रुपैयाँभन्दा बढी र जीवन वीमा व्यवसायतर्फ ६ करोड रुपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको यो कम्पनीले यस वर्ष निर्जीवन तर्फ ६९ करोड ३१ लाख रुपैयाँभन्दा बढी र जीवन तर्फ रू. ६ करोड ६१ लाखभन्दा बढी खुद दाबी भुक्तानी गरेको छ । गत चैत ४ देखि ७ गतेसम्म रू. १ अर्ब ६० करोड बराबरको आईपीओ जारी गरि चैत २६ गते बाँडफाँट गरेको भएपनि लकडाउनका कारण हालसम्म सूचीकृत हुन सकेको छैन् ।