जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • एभरेष्ट बैंकमा प्रमुख कार्यकारीसहित ६ जनाको वार्षिक तलब ४ करोड ८८ लाख

एभरेष्ट बैंकमा प्रमुख कार्यकारीसहित ६ जनाको वार्षिक तलब ४ करोड ८८ लाख

एभरेष्ट बैंकले प्रमुख कार्यकारी अधिकृतसहित माथिल्लो पदका कर्मचारीहरुलाई एक वर्षमा ४ करोड ८८ लाख रुपैयाँ तलब सुविधा दिएको छ। अघिल्लो वर्ष ४ करोड ११ लाख रुपैयाँ दिएको थियो।

यो तलब सुविधा बुझ्ने ६ जना हुन्। बैंकले प्रमुख कार्यकारीको मात्र तलब सुविधा छुट्याएर वार्षिक प्रतिवेदनमा राखेको छैन।

प्रमुख कार्यकारी अधिकृत, तीन जना नायब महाप्रबन्धक र दुई जना सहायक महाप्रबन्धकले यो तलब सुविधा पाएका हुन्। अहिले प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगी छन्। नेगीको हातमा भने यो पैसा परेको छैन। उनी भर्खरै आएका हुन्। यसअघिका प्रमुख कार्यकारी सोमेश्वर सेठले यो रकम बुझेका हुन्।

नायब महाप्रबन्धकहरुमा गिरिश कोहली, राजिव जैन र डा. सुधीर कुमार छन्। सहायक महाप्रबन्धकमा केशव पौडेल र आशुतोष शर्मा छन्।

एभरेष्ट बैंकले पुस २७ गते वार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदनमा सबैको तलब सुविधा राखिएको हो।

सभाले १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने छ। बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बोनस सेयर पारितपछि चुक्ता पुँजी ४२ करोड ३५ लाख रुपैयाँले बढ्ने छ।

बैंकले प्रस्ताव गरेको लाभांश अहिलेसम्मकै कम हो। यद्यपि एभरेष्टले हरेक वर्ष लाभांश वितरण गर्दै आएको छ। एभरेष्टले पछिल्लो १० वर्षमा ७० प्रतिशतसम्म पनि लाभांश वितरण गरेको छ। बैंकले यो अवधिमा एक पटक ३३.३३ प्रतिशत हकप्रद सेयर वितरण गरेको थियो।

एभरेष्टले गत वर्ष एक अर्ब ३६ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १३ करोड ५९ लाख रुपैयाँ छ। गत वर्ष यो बेलाको नाफा ३० करोड ८४ लाख रुपैयाँ थियो। कोभिडका कारण ब्यापार ब्यवसाय समस्यामा गएको र राष्ट्र बैंकले पनि ऋण भुक्तानीमा केही नरम नीति लिएका कारण बैंकको नाफा उल्लेख्य घटेको हो।

कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणमा छ। संस्थापक सेयरधनीतर्फ भारतको पञ्जाब नेशनल बैंकको हिस्सा २०.०३ प्रतिशत छ।

4515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका