समाचार
हिमालयन बैंकले सिभिललाई गाभ्ने पक्का, शुक्रबार सम्झौता, प्रति सेयर ८१ रुपैयाँमा मर्जर तय

हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने पक्का भएको छ। हिमालयनले प्रति सेयर ८१ रुपैयाँका दरले सिभिललाई गाभ्ने भएको हो।
दुबै संस्थाबीच औपचारिक सहमति शुक्रबार हुने छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर टुटेपछि हिमालयन बैंक अर्को संस्था गाभ्नै पर्ने दबाबमा थियो।
इन्भेष्टमेन्टले भने मेगा बैंकलाई गाभ्ने सहमति गरिसकेको छ। राष्ट्र बैंकले हिमालयनलाई एक बर्षको समय दिँदै अर्को बाणिज्य बैंकसँग मर्जर हुन निर्देशन दिएको थियो।
राष्ट्र बैंकले असारभित्र मर्जरमा नगए यसअघि दिइएको सुविधा खोस्ने मौखिक निर्देशन दिएको थियो। त्यही भएर पनि हिमालयनले सिभिललाई गाभ्ने प्रकृया अगाडि बढाएको हो।
मर्जरका लागि भएको प्रारम्भिक सहमति अनुसार, नयाँ बैंकमा सिभिल बैंकबाट कोही पनि सञ्चालक बन्ने छैनन्। प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउने छन्।
मर्जरपछि नाम हिमालयन बैंक हुने छ। नयाँ बैंकमा बरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत सिभिलका सुनिल पोखरेल हुने छन्। हिमालयनमा कोही पनि डेपुटी प्रमुख कार्यकारी अधिकृत नभएकाले उनीहरु अहिलेकै पदमा कायम हुने छन्।
सिभिललाई गाभ्न सुरुवातबाटै हिमालयनले प्रयास गरेको थियो। सुरुवातमा ३५ रुपैयाँ मात्रै दिएको हिमालयनले पछि इन्भेष्टमेन्टसँग मर्जर टुटेपछि सेयर मूल्य बढाउँदै लगेको थियो।
यता सिभिलले पनि वित्तीय अवस्था निक्कै सुदृढ गर्दै लगेको थियो। आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउँदै वासलातलाई ठूलो बनाएपछि सिभिलको ‘बार्गेनिङ क्यापसिटी’ बढेको थियो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































