देशका सबै जिल्लामा उपस्थिति जनाएको ग्लोबल आइएमई बैङ्क सेवाको पहुँचसहित कुल पुँजी तथा चुक्ता पुँजीको हिसाबले पनि मुलुककै सबैभन्दा ठुलो बैङ्क हो । स्थापनाको १७ वर्षमा यो बैङ्कले मुलुकभित्र मात्र नभएर मुलुकबाहिर पनि आफ्नो उपस्थिति विस्तार गर्दै छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका सो बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग मुलुकको अर्थतन्त्र, निजी क्षेत्रको अपेक्षा र बैङ्कको भावी कार्ययोजनालगायतका विषयमा केन्द्रित रहेर गोरखापत्रले गरेको कुराकानी :
करिब दुई वर्ष लामो मन्दीपछि मुलुकको अर्थतन्त्र गतिशील बनिरहेको सरकारको दाबी छ । निजी क्षेत्रको अनुभव पनि त्यस्तै हो ?
अर्थतन्त्रमा बिस्तारै सुधार देखिन सुरु गरेको हामीले पनि अनुभव गरेका छौँ । अर्थतन्त्रका अधिकांश बाह्य सूचक सकारात्मक बनेका छन् । विदेशी मुद्रा सञ्चिति बढेको छ । विपे्रषण बढेको छ ।
विगत केही महिनाको तथ्याङ्क हेर्ने हो भने पर्यटक आगमन पनि बढेको देखिन्छ तर हाम्रो अर्थतन्त्रका आन्तरिक केही कुरामा समस्या अझै छ । बैङ्कमा तरलता बढे पनि कर्जा विस्तार हुन सकेको छैन । एकल अङ्कको ब्याजदरले लगानी प्रोत्साहन हुनुपर्ने त्यो हुन सकेको छैन । उपभोक्ता र लगानीकर्ता दुवैको ‘कन्फिडेन्स’ बढ्न सकेको छैन । अर्थतन्त्र पूर्ण गतिशील बन्न कन्फिडेन्स बढ्न आवश्यक छ ।
अर्थतन्त्रमा बारम्बार देखिने समस्याका लागि अब अल्पकालीन मात्र भन्दा पनि दीर्घकालीन समाधानको उपायमा सरकार लाग्नु पर्छ भन्ने अनुभव यस पटक भयो । किस्ता किस्तामा समस्या समाधान गरेर अर्थतन्त्रमा हामीले खोजेको सुधार पाउन कठिन हुन्छ ।
अहिलेका असहज संरचना र कानुनी प्रावधानमा निजी क्षेत्रको समेत सुझाव समेटेर सुधार गर्ने पहल सरकारले नै गर्नु पर्छ । निजी क्षेत्रसँग सम्बन्धित जति पनि समस्या छन्, त्यसको एकमुस्ट समाधानका लागि एउटा छुट्टै संयन्त्र आवश्यक छ । त्यसलाई स्थायी संयन्त्र पनि बनाउन सकिन्छ । यस किसिमका पहलले मात्र मुलुकको अर्थतन्त्र दीर्घकालसम्म गतिशील हुन सक्छ । अहिले अर्थतन्त्रमा देखिन थालेको सामान्य सुधारलाई पनि यस किसिमका उपाय प्रयोग गरेर निरन्तर राख्न सकिन्छ ।
अर्थतन्त्रका सूचकहरूमा सुधार देखाइए पनि लगानी गर्ने मनोबल खस्किएको आवाज पनि सुनिन्छन् । मुलुकको अहिलेको लगानीको वातावरणलाई तपाईंले कसरी विश्लेषण गर्नुहुन्छ ?
सुधार नै नभएको भन्ने होइन । सुधार हुन समय पनि लाग्छ । लामो मन्दीका कारण लगानीकर्ता र उपभोक्ता दुवैको मनोबल खस्किएको हो ।
परिस्थिति असहज हुँदा कोही पनि लगानी गर्न तयार हुँदैन । यो सामान्य कुरा पनि हो तर अर्थतन्त्रलाई ‘इन्जेक्ट’ गराइराख्न पनि लगानी आवश्यक पर्छ । यसका लागि सरकारले सुधारका पहललाई गति दिनु पर्छ । भएका सुधारबाट जनताको मनोबल जित्ने प्रयास गर्नु पर्छ । त्यो भनेको सरकारको काम कारबाहीमा यसको प्रतिविम्ब हुनु पर्छ भन्ने हो । अर्को कुरा निजी क्षेत्रको साथ र समर्थनबिना अर्थतन्त्रको सुधार दिगो हुन सक्दैन ।
निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सके मनोबल विस्तारै बढ्न सक्छ । निजी क्षेत्रले असहज अवस्थामा भोगेका समस्यालाई समाधान गरेर सरकारले दृढ प्रतिबद्धता देखाए सहकार्य स्वाभाविक नै हुन्छ । मनोबल बढाउन राज्य र निजी क्षेत्रले आपसी समन्वय र सहकार्यमा विशेष कार्यक्रम ल्याउन जरुरी छ । त्यसबाट मात्रै लगानीको वातावरण सिर्जना हुन सक्छ ।
विगतमा उच्च ब्याजदर र तरलता अभावकै कारण व्यवसाय गर्न कठिन भइरहेको निजी क्षेत्रको गुनासो रहन्थ्यो । अहिले अवस्था के हो ?
ब्याजदर उच्च हुँदा कर्जाको माग कम हुने र व्यवसायको लागत बढ्ने हुन्छ । त्यसले ब्याजदर उच्च हुँदा व्यवसाय गर्न कठिन हुने नै भयो तर अहिलेको हाम्रो समस्या ब्याजदरसँग मात्र सम्बन्धित छैन । ब्याजदर एउटा कारण हो । यहाँ त्यस्ता अनगन्ती कारण छन् । त्यसमध्ये धेरै कानुनी विषय र कार्यशैलीसँग पनि सम्बन्धित छन् । ब्याजदरले कुनै समय व्यवसायमा अप्ठ्यारो भएको हो, अर्थतन्त्रमा सुधारको सङ्केत देखिनासाथ यो एकल अङ्कमा झरिसकेको छ तर अब ब्याजदरलाई नै कारण देखाएर मात्र गुनासो गर्ने ठाउँ कम छ ।
अहिले मुलुकको बाह्य क्षेत्र सुदृढ हुँदा त्यसको अवसर प्रयोग गर्न हामी कतै चुकेका हौँ कि जस्तो पनि देखिन्छ । त्यस्तो अवसरलाई हामीले आन्तरिक अर्थतन्त्र सुधारमा प्रयोग गर्न सकेको भए त्यसले अर्थतन्त्रको सङ्कटलाई अलि छिट्टै सहज बनाउन पनि सक्थ्यो । समस्या एकातिर तर सधैँ ब्याजदरलाई मात्र मुख्य समस्या मान्दा त्यसले हामीलाई खास समस्याको समाधानतर्र्फ धेरै केन्द्रित गर्न सकेन ।
निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न सके मनोबल बिस्तारै बढ्न सक्छ । निजी क्षेत्रले असहज अवस्थामा भोगेका समस्यालाई समाधान गरेर सरकारले दृढ प्रतिबद्धता देखाए सहकार्य स्वाभाविक नै हुन्छ ।
देशकै ठुलोमध्येको ग्लोबल आइएमई बैङ्कको सञ्जाल र पुँजीको अवस्था के कस्तो छ ?
अहिले कुल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल धेरै सूचकमा ग्लोबल आइएमई बैङ्क मुलुकको सबैभन्दा ठुलो बैङ्क हो । सबैका लागि बैङ्क भन्ने नारालाई व्यवहारमा नै रूपान्तरण गर्नका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयमार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडि बढ्ने लक्ष्य सफलता उन्मुख रहेको छ । त्यसै गरी कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा पनि ग्लोबल आइएमई बैङ्क मुलुकको सबैभन्दा ठुलो बैङ्क रहेको छ । यो वर्ष चुक्ता पुँजीको एक प्रतिशत बोनस सेयर वितरणपश्चात् बैङ्कको चुक्ता पुँजी ३६ अर्ब १३ करोड रुपियाँ पुगेको छ । जगेडा कोषमा २३ अर्ब २८ करोड रुपियाँ रहेको छ । यसरी बैङ्कको कुल पुँजी ६० अर्ब रुपियाँ हाराहारी पुगेको छ ।
बैङ्कको सेवा विस्तार, डिजिटल आबद्धतालगायतका क्षेत्रमा अल्पकालीन र दीर्घकालीन योजना के के छन् ?
स्थापनाको छोटो समयमै ग्लोबल आइएमई बैङ्क मुलुककै सबैभन्दा ठुलो बैङ्क बन्न सफल भएको छ । आमसेवाग्राहीको सन्तुष्टिका लागि यसको सेवालाई अझै उत्कृष्ट बनाउन आवश्यक हुन्छ । त्यसमा हामीले मेहनत गरिरहेका छौँ ।
अहिले डिजिटल र भर्चुअल बैङ्किङको अवधारणाको विकास पनि द्रुत गतिमा अघि बढेको छ । समय अनुसार बैङ्किङ सेवालाई अगाडि बढाउन हामीले यससम्बन्धी पूर्वाधारमा लगानी बढाउँदै गएका छौँ । अटोमेटिक चेक डिपोजिट गर्ने, क्यास डिपोजिट गर्ने मेसिन तथा डिजिटल प्रविधिको विकास र विस्तारमा लगानी गरेका छौँ । जसले सेवाग्राहीलाई सहज र सरल रूपमा बैङ्किङ सेवा प्रदान गर्ने छ । अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको र सोको प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्तन सेवा प्रवाहमा लागिपरेका छौँ र भविष्यमा समेत थप आयाम समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्याउने लक्ष्य लिएका छौँ ।
अबको बैङ्किङ थप चुनौतीपूर्ण छ । डिजिटल र भर्चुअल बैङ्किङको विकास र विस्तार व्यापक भइरहेको छ । यसले परम्परागत बैङ्किङलाई पूर्ण रूपमा ‘अब्सोसुट’ बनाउन सक्छ । त्यसैले हाम्रा बैङ्किङ नीति, नियम पनि तदनुरूप विकास गर्न आवश्यक हुन्छ ।
अबको पाँच वर्षमा ग्लोबल आइएमई बैङ्कलाई कुन रूपमा देख्न सकिन्छ ?
ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैङ्क हो । त्यति मात्र होइन, हाम्रो सञ्जाल अन्तर्राष्ट्रियस्तरमा पनि रहेको छ । नेपाली श्रमिक रहेका धेरै मुलुकमा हाम्रो उपस्थिति छ भने संयुक्त अधिराज्य, अस्टे«लिया र भारतमा हामीले सम्पर्क कार्यालय नै स्थापना गरेर सेवा दिइरहेका छौँ । त्यसै गरी दक्षिण कोरियामा हामीले आफ्नो शाखा स्थापना गर्ने प्रक्रियामा छौँ । ग्लोबल आइएमई बैङ्कलाई मुलुकको सबैभन्दा उत्कृष्ट बैङ्क बनाउन हामीले काम गरिरहेका छौँ । अझै भन्ने हो भने ग्लोबल आइएमई बैङ्कलाई नेपालको सबैभन्दा ठुलो बैङ्क मात्र होइन, विश्वका एक हजार उत्कृष्ट बैङ्कभित्र पार्ने गरी हामीले काम गरेका छौँ ।
बैङ्किङ क्षेत्र थप सुदृढ बनाउन भविष्यमा कस्ता नियामकीय प्रावधान अथवा नीतिको आवश्यकता देख्नुहुन्छ ?
अबको बैङ्किङ थप चुनौतीपूर्ण छ । डिजिटल र भर्चुअल बैङ्किङको विकास र विस्तार व्यापक भइरहेको छ । यसले परम्परागत बैङ्किङलाई पूर्ण रूपमा ‘अब्सोसुट’ बनाउन सक्छ । त्यसैले हाम्रा बैङ्किङ नीति, नियम पनि तदनुरूप विकास गर्न आवश्यक हुन्छ ।