जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • अदालतको अवहेलना मुद्दापछि झस्कियो बीमक, मोरङका पत्रकारलाई कोरोना बीमाको भुक्तानी

अदालतको अवहेलना मुद्दापछि झस्कियो बीमक, मोरङका पत्रकारलाई कोरोना बीमाको भुक्तानी

नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमावापतको भुक्तानी पा‍एका छन् । कोरोना बीमावापतको भुक्तानी पाउन बाँकी रहेका २९ जनाले १-१ लाखका दरले भुक्तानी पाउने भएका हुन ।

बीमक युनाइटेड अजोड इन्स्योरेन्सले नेपाल पत्रकार महासंघ मोरङलाई दाबी भुक्तानीवापतको रकम बराबरको चेक हस्तान्तरण गरेको हो । अदालतको अवहेलनामा कारवाही मुद्दाको फैसला आउनुअघि नै बीमा कम्पनीले भुक्तानी हुन बाँकी २९ जनाको भुक्तानी पठाएको हो ।

महासंघका सदस्यको कोरोना बीमावापतको रकम भुक्तानीमा अटेर गरेपछि नेपाल पत्रकार महासंघ मोरङका तर्फ सचिव नेत्र पी अधिकारीले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो । कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासंघ मोरङ र साबिक अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई २ सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बिमा गरिएको थियो ।

बीमा अवधिसम्म संक्रमित भएका मध्ये २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए । बीमा अवधिसम्म संक्रमित भएका र सम्पूर्ण कागजात पुगेपनि अन्य २९ जनाले भुक्तानी पाउन बाँकी रहेको थियो ।

२०७९ जेठ १६ गते उच्च अदालत विराटनगरका तत्कालिन कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बिमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा परामादेश दिएको थियो ।

अदालतको अवहेलना मुद्दा दर्ता अघि उच्च अदालत विराटनगरले गत वैशाख २५ गते आदेश बमोजिम भुक्तानीका लागि बीमा कम्पनीलाई पत्र पठाएको थियो । अदालतको परमादेशलाई पनि अटेर गरेपछि पत्रकार महासंघ मोरङले अजोड इन्स्योरेन्सविरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै गत असार १० गते मुद्दा दर्ता गरेको थियो । उच्च अदालत विराटनगरले असार ११ गते अदालतको अवहेलना मुद्दामा युनाईटेड अजोडलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका