जोडिनुहोस
शनिबार, कार्तिक १०, २०८१
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकको नाफामा ४२०.५३% को उछाल

लक्ष्मी सनराइज बैंकको नाफामा ४२०.५३% को उछाल

लोनको रिकभरिमा भएको प्रगति र लचक नियामकीय व्यवस्थाका कारण लक्ष्मी सनराइज बैंकको खूद नाफामा उछाल आएको छ ।  

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो ।  

समीक्षा अवधिमा बैंकको खूद नाफा ५३ करोड ६३ लाख रुपैयाँभन्दा माथि पुगेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिमा आर्जित १० करोड ३० लाखको तुलनामा ४२०.५३ प्रतिशतको उछाल हो । 

बैंकले खराब कर्जाको प्रभिजनका लागि इम्पेयरमेन्ट चार्जको रुपमा गत वर्ष २ अर्ब १४ करोड रकम छुट्याएकोमा यो वर्ष १ अर्ब १६ करोड मात्र छुट्याउनुपर्दा नाफामा राम्रो बढोत्तरी देखिएको हो । यस्तै, केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको कतिपय नियामकीय लचक व्यवस्थाको फाइदा समेत बैंकको वित्तीय सूचकहरुमा परेको देखिन्छ ।  

बैंकको सञ्चालन मुनाफा पनि गत वर्षको तुलनामा ४२५.२३ प्रतिशतले बढेर १४ करोड ४१ लाखबाट  ७५ करोड ६९ लाखको उचाईमा पुगेको छ ।

कुल २३ अर्ब १८ करोड चुक्तापूँजी रहेको बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १ अब ४९ करोड रुपैयाँ आर्जन गरेको छ । 

अघिल्लो वर्षको तुलनामा बैंकको खूद ब्याज आम्दानीमा ६.७५ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो वर्ष २ अर्ब ८६ करोड रहेको खूद ब्याज आम्दानी घटेर २ अर्ब ६७ करोडमा सीमित बनेको हो ।  

अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा रिजर्भको आकारमा ६ प्रतिशतभन्दा बढीको बढोत्तरी गरेको बैंकले समीक्षा अवधिसम्ममा ३ खर्ब ३४ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब ५८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप संकलन १.६८ प्रतिशतले बढेको देखिएको छ भने लोनतर्फ पनि ३.११ प्रतिशतको बढोत्तरी देखिएको छ ।  

अघिल्लो वर्ष ४.६९ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर ५.४४ प्रतिशत पुगेको छ भने अघिल्लो वर्ष १.७८ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी रु.९.२५ रुपैयाँको उचाईमा पुगेको छ ।  

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८०.९५ रुपैयाँ र पीई अनुपात २८.९२ गुणा कायम भएको छ ।  

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका