

दाङको तुलसीपुर-५ मा रहेको एनएमबि बैंकको शाखामा चोरी गर्न पुगेका एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालयको टोलीले शनिबार राती डेढ बजेतिर उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा २७ वर्षीय सन्तोष चौधरी रहेको इप्रका तुलसीपुरका डीएसपी अनिल ठकुरीले बताए। ‘चोरीका घटना बढेपछि रातिको समयमा हाम्रो टोली परिचालन भएका थिए। उनलाई चोरी गर्न लागेको अवस्थामा नियन्त्रणमा लिएका हौं,’ डीएसपी ठकुरीले भने।
राती सुरक्षा गार्ड नभएको मौका छोपेर चौधरी बैंकभित्र छिरेको देखिन्छ। शाखा कार्यालय भवनको भेन्टिलेटरबाट उनी पैसा राख्ने कोठासम्म पुगेका थिए। तर, त्यहाँबाट पैसा लिएर भने उनी निस्कन भने पाएनन्। आफूसँग भएका १० वटाभन्दा बढी चाबीले ढोका नखुलेपछि चोर्न असफल भएको उनले प्रहरीमा बयान दिएका छन्।
‘पहिले नै अनुमान गरेर विभिन्न चाबी बनाएर बैंकमा छिरेको देखिएको छ। उसँग भएको कुनै पनि चाबीले ढोका खुलेन,’ एक अनुसन्धान अधिकृतले सुनाए। प्रहरीले ढोका तथा ताल्चा काट्न प्रयोग हुने सामाग्री समेत बरामद गरेको छ। त्यस्तै चौधरीले प्रयोग गरेको रा५प ९७९ नम्बरको स्कुटर समेत बरामद गरेको छ। प्रहरीसँग उनले खाना खान खर्च नभएपछि बैंकमा पैसा हुन्छ भनेर चोर्न गएको बताएका छन्।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।