
हालको सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी) तत्कालिन सगरमाथा इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा कन्भर्जनमा गोलमाल गरेको भेटिएको छ । संस्थापक शेयरलाई सर्वसाधारण समुहमा परिवर्तन गर्दा आफुखुशी सीमित व्यक्तिहरुको परिवर्तन नगरी अन्यको मात्रै गरेको भेटिएको हो ।नियामक नेपाल बीमा प्राधिकरणबाट लिएको स्वीकृति बिपरित मर्जरको अन्तिम समयमा तत्कालिन सगरमाथा इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरधनीहरुको संस्थापक शेयरहरु सर्वसाधारण समुहमा रुपान्तरण गर्दा हेराफेरी गरेको भेटिएको छ ।
बीमा प्राधिकरणले २०७९ साल माघ ७ गते तत्कालिन सगरमाथा इन्स्योरेन्स कम्पनीलाई दिएको लिखित निर्देशनमा कम्पनीको संस्थापक शेयरधनी कूल ७१ प्रतिशत मध्ये २० प्रतिशत सेलिन्को श्रीलंकाको बाहेक नेपाली लगानीकर्ताको नाममा रहेका ५१ प्रतिशत संस्थापक शेयरलाई ३१ प्रतिशतमा झारेर अनुपात कायम गर्न प्राधिकरणले अनुमति दिएको थियो ।हालको सलिकोको शेयर संरचनामा तोकिएको ५१ः४९ प्रतिशतको रेसियो मिलाइएको भएपनि केही शेयरधनीहरुको शेयर कन्भर्जन नगरिएको र केही शेयरधनीहरुको २० प्रतिशतभन्दा बढि संस्थापक शेयर पब्लिक शेयरमा कन्भर्जन गरिएको भेटिएको छ । बीमा प्राधिकरणले तोकिएको भन्दा बढि शेयर शेयर कन्भर्जन गरिएको सम्बन्धमा कम्पनीले सबै नियामकलाई गुमराहमा राखेको पाइएको छ ।
सो निर्णय अनुसार नेपाली संस्थापक लगानीकर्ताहरुको २९ करोड ९७ लाख ९९ हजार ७९९ रुपैयाँ संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण हुनुपर्ने थियो । तर, कम्पनीले शेयर कन्भर्जन गर्दा तोकिएकै रकमको त गर्यो तर सबै शेयरधनीहरुको समान तरिकाले गर्नुपर्नेमा त्यसो गरिएन । कम्पनीले २०८० जेठ ११ मा प्रकाशित सूचनाले समेत सो कुराको पुष्टि गर्दछ । गैर कानुनी रुपमा कम्पनीका लगानीकर्ताहरु मध्ये कसैको गर्दै नगरेको र कसैको बढी गरेको पाइएको छ ।
नियामक बीमा प्राधिकरणबाट स्वदेशी लगानीकर्ताहरुको २० प्रतिशत शेयर पब्लिकमा रुपान्तरण गर्न स्वीकृति लिएको थियो । कार्यान्वयनमा जाँदा भने केही लगानीकर्ताहरुको २० प्रतिशत भन्दा बढि शेयर कन्भर्जन गरेको भेटिएको छ ।स्वदेशी संस्थापक शेयरको शेयर हिस्सा ५१ प्रतिशत मध्येबाट २० प्रतिशत सर्वसाधारण शेयरमा परिणत गर्न स्वीकृति लिएको थियो । तर कार्यान्वयन गर्ने बेलामा भने कम्पनीले सूचनामार्फत कन्भर्जन गर्न नचाहनेहरुलाई निवेदन दिन भनेर २०८० जेठ ११ गते सार्वजनिक सूचना नै प्रकाशित गरेको भेटिएको छ ।
सो सूचना अनुसार उक्त व्यवस्था अनुसार २० प्रतिशत शेयर कन्भर्जन गर्न नचाहनेहरुलाई निवेदन दिन भनिएको थियो । सो अनुसार केहीले निवेदन दिएनन् र उनीहरुको सट्टा अन्य व्यक्तिको शेयर रेसियो मिलाउन भन्दै २० प्रतिशतभन्दा बढि कन्भर्जन गरिएको हो ।
बीमापोष्टको सम्पर्कमा आएका एक संस्थापक लगानीकर्ताले भने, ‘राम्रो नियत थियो र समानुपातिक रुपमा प्राधिकरणको निर्णय कार्यान्वयन गर्ने हो भने २०८० जेठ ११ गतेको सूचना किन निकालियो ?’सबै नियामक निकायलाई गुमराहमा राखेर गरिएको तत्कालिन सगरमाथा इन्स्योरेन्स कम्पनीको सो कार्य गैर कानुनी भएको शेयर सम्बन्धमा जानकार अधिकारीहरुको भनाई छ । सो सम्बन्धमा नियामक बीमा प्राधिकरणका प्रबक्ता निर्देशक सुशिवदेव सुवेदीसँग जिज्ञाशा राख्दा सो सम्बन्धमा थप अध्ययन गरेर मात्रै केही बताउन सक्ने बताए ।
उता, सगरमाथा लुम्बिनी इन्स्योरेनस कम्पनीका सिइओ चंकी क्षेत्रीले शेयर कन्भर्जनको बिषय उतिबेला नै मिलिसकेको बताए । अध्यक्ष मनोहर दास मुलले भने आफू लुम्बिनी जनरल इन्स्योरेन्स अध्यक्ष भएकोले सगरमाथा इन्स्योरेन्स कम्पनीले शेयर कन्भर्जनबारे थाहा नभएको र मिलाएर गरेको हुनुपर्ने जवाफ दिए ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































